पोखरामा डेंगु संक्रमण तीव्र, एक महिनामै ६ गुणाले बढ्यो
गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकामा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो ।महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताए । ‘पछिल्लो एक महिनामा डेंगु सङ्क्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा सङ्क्रमण देखिन सक्छ’, उनले भने, ‘प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगु रोकथाम चुनौतीपूर्ण छ ।’ गतवर्ष पोखरा महानगरपालिकाका ती हजार तीन सय ७० जनामा डेगु सङ्क्रमण पुष्टि भएको थियो । कात्तिक महिनासम्म सङ्क्रमणको जोखिम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेंगु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगु कारण मृत्यु भएको उनले जानकारी दिए । पोखरा महानगरपालिका–नं ५, ८ लगायतका वडा डेंगुबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ । जनघनत्व बढी भएका ठाउँमा डेंगु छिटो फैलिने हुँदा महानगरको मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र बनेको हो । सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग लाग्नबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख रामबहादुर नेपालीले सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेंगु रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै उक्त रोगबाट बच्ने उत्तम उपाय भएको बताए । प्रमुख नेपालीले असारदेखि कात्तिकसम्म डेंगुको सङ्क्रमण बढी फैलने बताए । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगुले महामारीको रुप लिनसक्ने प्रमुख नेपालीले बताए । ‘डेंगुलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्’, उनले भने, ‘डेंगु भइसकेपछि धेरै पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।’ डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको उनले बताए । उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उनको भनाइ छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको उनले बताए । डेंगु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् । डेंगु भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने उनीहरुको सुझाव छ । वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेंगुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने प्रमुख नेपालीले बताए । डेंगु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ । डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने प्रमुख नेपालीले बताए । कास्कीमा हालसम्म चार हजार पाँच सय ५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकामा पोखरा महानगरपालिकाबाहेक अन्नपूर्ण, रुपा र मादी गाउँपालिकामा नौरनौजना र माछापुछ्रे गाउँपालिकामा ३८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
चन्द्रागिरिका ८ वडा बालश्रममुक्त घोषणा
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ । नगरपालिकाले चालुआर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म चन्द्रागिरिका वडानं ३ थानकोट, वडा नं ५किसिपिडि, वडा नं ६ महादेवस्थान, वडा नं ७ चेकपोष्ट , वडा नं ८ मातातीर्थ, वडा नं ११ सतुंगल र वडा नं १४ नयाँ नैकापलाई ‘बालश्रममुक्त वडा’ घोषणा भइसकेका छन्। यसक्रममा शनिबार चन्द्रागिरि –१० सतुंगललाई बालश्रममुक्त घोषणा गरियो । हालसम्म नगरका १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका छन् । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७७ अबलम्बन गरेको छ । साथै नगरापालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा बडा निर्माणका लागि बिबिध कार्यक्रम सञ्चालन गरिरहेको छ । बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शनिबार यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि-१० लाई ‘बालश्रम मुक्त वडा घोषणा’ गरे । त्यस क्रममा उनले बालश्रम निवारणलाई नगरपालिकाले उच्च प्राथमिकता राखेको बताउँदै घोषणापछिको दिगोपनमा काम गर्नुपर्ने बताए । बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको उनले जानकारी दिए । उनका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छन् । बालश्रम मुक्त घोषणाअघि बाजागाजासहित र्याली निकालिएको थियो ।
अरनिको राजमार्ग विस्तारमा जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ । जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो । विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले सोसम्बन्धी प्रक्रिया थालेपछि विवाद सिर्जना भएको छ । उक्त क्षेत्रमा करिव चार सय मिटरमा करिब पाँच रोपनी जग्गा अधिग्रहणका लागि छलफल गर्दा स्थानीयले सरकारी मूल्याङ्कनभन्दा पाँच गुणा बढी मूल्य मागेपछि समस्या सिर्जित भएको आयोजनाले जनाएको छ । सुर्यविनायक–धुलिखेल सडक आयोजनाले बनेपा नगरपालिका–६ र धुलिखेल नगरपालिका–४ स्थित दुई नगरको सीमा क्षेत्रमा दुई वडाका ११ जग्गाधनीको १७ कित्ता जग्गा अधिग्रहणका लागि छलफल अघि बढाएको हो । सडक आयोजनाले जग्गा अधिग्रहण गर्न प्रक्रिया थालेपछि जग्गाधनीले प्रति आना जग्गाको मूल्य ६५ लाख रुपैयाँ मागेपछि थप अन्योलता भएको छ । आयोजना भने जग्गा अधिग्रहण गरेर सडक विस्तार गर्ने गर्ने की अहिले कै अवस्थामा सडक विस्तार गर्ने भन्ने विषयमा अन्यौलमा भएको छ । आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले भने, ‘सवारीको गति बढाउने उद्देश्यले सडकको मोडसुधार गर्न ती स्थानको जग्गा अधिग्रहण गर्न कठिन देखिएको छ ।’ उनका अनुसार जग्गा अधिग्रहणका लागि जग्गाधनीसँग दुईपटक छलफल गर्दा समेत कुनै समाधान निस्किएको छैन । उनका अनुसार जग्गाधनीको मागअनुसार आयोजनाले अधिग्रहण गर्न सक्दैन । हाल प्रतिघण्टा ३५ किलोमिटर भएकाले स्तरोन्नती भइरहेको सडकको ढाँचामा प्रतिघण्टा ४० किलोमिटर उल्लेख गरिएकोले मोड सुधार गर्नुपर्ने आवश्यकता देखिएको प्राविधिक खनालले बताए । मालपोत कार्यालय काभ्रेका अनुसार बनेपा क्षेत्रको जग्गाको मूल्य प्रतिआना १२ लाख ५४ हजार रुपैयाँ छ भने धुलिखेलतर्फको जग्गाको मूल्य प्रति आना १० लाख ६६ हजार रुपैयाँ कायम भएको छ । सरकारी मूल्याङ्कनअनुसार जग्गाधनीले पाँच गुणाभन्दा बढी मूल्य माग गरेका हुन् । यसैबीच आयोजनालाई हाल यस साँगा–धुलिखेल सडकखण्डअन्तर्गत आठ दशमलव ४ किमी सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना ब्यवस्थापनमा कठिनाइ भएको पाइएको छ । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनालाई विवरण उल्लेखित पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गधारा ब्यवस्थित एवं स्थानान्तरणमा समस्या देखिएको हो । यस्तै भैँसेपाटीमा दुई कुवा, ढुङ्गेधारा तथा जनागालस्थित पिपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् । यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन् । आयोजनालाई बाँकी ७ स्थानमा रहेका आठ सम्पदाको संरक्षण, ब्यवस्थापन एवं स्थानान्तरण गर्नेगरी बनाइएको वैकल्पिक ‘डिजाइनन’का विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल थालिने जनाइएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले उक्त सडकखण्डमा सम्पदा व्यस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल थालेको बताए । उनका अनुसार साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने गरी छलफल थालिने छ । यस्तै नासिका मन्दिरको कम्पाउण्ड वाल संरक्षण गरी ‘वान–वे’ सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णित भएको छ । स्थानीयले भने नासिका मन्दिरको ऐतिहासिकता महत्वपूर्ण भएकाले भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएका छन् । सडक विभागका अनुसार बिस्तारित सूर्यविनायकदेखि धुलिखेलसम्म कुल १५ दशमलव पाँच किमी सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलम्म आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको थियो । विसं २०७९ फागुन १६ गतेबाट निर्माण थालिएको आयोजनाको अवधी ३६ महिना हो । दुई लेनबाट छ लेनका लागि बिस्तारकार्य भइरहेको अरनिको राजमार्गको यस सडकखण्ड दायाँबाँया दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण हुने छ ।
सरकारको निर्देशन- घटस्थापनाअघि नै सडक मर्मतको काम सक्नू
काठमाडौं । सरकारले दसैं, तिहार र छठ पर्वमा यात्रुलाई सहज रूपमा गन्तव्य स्थलसम्म पुग्न सडक विभागअन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बिहान बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए । बैठकले बीपी राजमार्गका सडक सुरक्षाका लागि पूर्वनिर्धारित प्रकारका मात्र सवारीसाधन चलाउन एवं रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गर्न गृह मन्त्रालय, नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलसम्म जाने गरी व्यवस्थित गर्ने, वैज्ञानिक भाडा समायोजन एक वर्षदेखि तथा इन्धनको मूल्यबाहेक अन्य कारणले गर्नुपर्ने भाडा समायोजन छठपछि गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ । यस्तै, यातायात सुझाव सुधार कार्यादलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयको सम्बोधन गर्ने, यातायात व्यवस्थापनसँग सम्बन्धित सम्मानित अदालतबाट भएका आदेशरफैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरी पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, सहसचिव कृष्णराज पन्थ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सिटौला, महासचिव डेकनाथ गौतमलगायत सडक विभाग र यातायात व्यवस्था विभागका कर्मचारीको सहभागिता थियो ।
भन्सार छलेर ल्याइएको ९ लाखको सामान बरामद
कैलाली । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले शनिबार जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका नौ लाख एघार हजार एक सय १० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार धनगढीबाट करिब पाँच लाख पाँच हजार सात सय ८० बराबरको किराना सामान, तामा पित्तलका भाँडा, मिठाइ, प्याज र प्लास्टिक तथा भजनीबाट दुई लाख ३० हजार मूल्य बराबरको प्याज, मोटरसाइकल र चिनी बरामद गरिएको छ । टीकापुरबाट एक लाख ३२ हजार सात सय ३० बराबरको किरानाका सामान, प्लास्टिकका खेलौँना, शृङ्गारका सामान, चिनी र प्याज, गोदावरीबाट २६ हजार छ सय बराबरको कपडा र कैलारी गाउँपालिकाबाट १६ हजार बराबरको बोइलर कुखुरा बरामद गरिएको उनले जानकारी दिए। बरामद गरिएका अवैध मालसामानसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए।
उत्पादन बढेपछि ८ स्थानीय तहमा ‘अलैँची जोन’
गलकोट । जिल्लाका आठ स्थानीय तहलाई समेटेर ‘अलैँची जोन’ बनाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाका लागि प्रधानमन्त्री कृषि आधुनिकमा परियोजना बागलुङले तथ्यांक संकलन गर्न थालेको हो । साविकमा भएका ११ अलैँची पकेट र दुई अलैँची ब्लकलाई स्तरवृद्धि गरेर अलैँची जोन स्थापना गर्न सर्वेक्षण थालिएको हो । जिल्लामा अलैँचीको सम्भावना बढी भएकाले यहाँका किसानले ब्लक र पकेटमार्फत उत्पादन गरिरहेका परियोजनाका प्रमुख नारायण पौडेलले जानकारी दिए। ब्लक र पकेटलाई स्तरोन्नति गरी जोनमार्फत उत्पादन वृद्धि गर्ने उद्देश्यले सर्वेक्षण थालिएको उनले बताए । पकेट र ब्लक बाहेकका किसानले पछिल्लो समय अलैँची उत्पादन गर्न थालेको पाएपछि जोन स्थापनाको पहल थालिएको पौडेलले उल्लेख गरे। बागलुङका १० मध्ये आठ स्थानीय तहका केही वडालाई समेटेर तीन हजार हेक्टर क्षेत्रमा अलैँची खेती पुर्याउने उद्देश्य राखिएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा अलैँची जोन स्थापनाका लागि रु एक करोड दुई लाख बजेटसमेत विनियोजन भएको छ । जिल्लाको ताराखोला, काठेखोला, बरेङ र बडिगाड तथा जैमिनी र गलकोट नगरपालिकाका साथै निसिखोला गाउँपालिका र बागलुङ नगरपालिकाका केही वडालाई समेटेर जोन स्थापना गरिने परियोजनाका प्रमुख पौडेलले बताए। जिल्लाको ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका बाहेकका आठ स्थानीय तहका ३० वडामा यो कार्यक्रम लागू गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘साविकका ब्लक र पकेटलाई स्तरवृद्धि गर्दै नयाँ क्षेत्र विस्तार गर्नका लागि बागलुङमा तीन सय हेक्टरमा अलैँची जोन बनाउन थालिएको छ, क्षेत्रलाई बढाएर पाँच सय हेक्टर पुर्याउन पर्वतको केही क्षेत्र समेत विस्तार गर्न आवश्यक छ’, पौडेलले भने, ‘जोनले पुरानो अलैँची बगैँचा व्यवस्थित गर्ने, बिरुवा उत्पादन गर्ने र नयाँ क्षेत्र विस्तार गर्नेदेखि सिँचाइ सुविधा र उपकरण वितरण गर्नेछ ।’ अलैँचीको उत्पादन र बजारीकरणको अवस्था विस्तारै सुधार हुँदै गएकाले आलु जोन, बाख्रा जोनसँगै अलैँची जोन स्थापना गर्न लागिएको परियोजना कार्यालयले जनाएको छ । हाल जिल्लामा ४० मेट्रिक टन अलैँची उत्पादन भइरहेकामा उत्पादितमध्ये अधिकांश भारत निर्यात हुने गरेको छ । अलैँचीको बजार मूल्य भने एकनासको नभएको किसान बताउँछन् । अलैँचीमा डढेलो रोगको सङ्क्रमण बढिरहेको समयमा जोन कार्यक्रमले सहजता हुने ताराखोलाका अलैँची किसान कुलबहादुर घर्तीमगरले बताए । उनले अहिले ११ रोपनी जग्गामा अलैँचीखेती गरिरहेको जानकारी दिए । भारतीय व्यापारी अलैँची खरिद गर्न गाउँ आउने गरेका छन् । व्यापारीले प्रतिकेजी न्यूनतम रु एक हजार पाँच सयदेखि रु दुई हजार पाँच सयमा सुकेको अलैँची खरिद गरेर लैजाने गरेका किसान बताउँछन् । अलौची पर्याप्त उत्पादन गर्न सके बजारको चिन्ता नरहेको किसानको भनाइ छ । अलैँंचीको समस्या निराकरण गर्ने, बगैँचा विस्तार गर्ने, सिँचाइको व्यवस्था मिलाउने, दाना सुकाउन आधुनिक भट्टी निर्माणलगायत काम गर्ने लक्ष्य परियोजनाले राखेको छ ।
मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
गण्डकी । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष ९सोह्र श्राद्ध०का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् । यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा बृद्धि भएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । ‘सोह्र श्राद्ध सुरु भए यता देशका विभिन्न स्थानबाट आउने दर्शनार्थीहरू बढ्दै गएका छन्’, उनले भने, ‘पितृ पक्ष अवधिभर नै यहाँ दर्शनार्थी आउने गर्दछन् ।’ मुस्ताङ आएका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहीआएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताए । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उहाँले बताउँदै उनले यहाँ आएर कागवेनी श्राद्ध गरी मुक्तिनाथ भगवानको दर्शन गरेमा पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वास रहेको बताए । मन्दिरमा आइसकेपछि दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई घरघरमा तीर्थ जलका रुपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ । तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनुलाई धार्मिक महत्वका रुपमा हेरिन्छ । पछिल्लो समयमा पर्यटकको बढ्दो चापलाई लक्षित गरी मुक्तिनाथको प्रवेशद्वार रानीपौवा र आसपासका क्षेत्रमा पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्नेक्रम बढिरहेको होटल व्यवसायी जयेश गुरुङले बताए । उनका अनुसार अहिले रानीपौवा क्षेत्रमा साना तथा ठूला गरी ३२ होटेलले सेवा दिइरहेका छन् । सामान्यदेखि राम्रो अत्याधुनिक सेवा सुविधा भएका होटेलका कारण यहाँ आउने पर्यटकलाई समस्या नहुने उनले बताए । साढे चार चार दशक अघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेडी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्नुपर्दथ्यो । ठाउँठाउँबाट आएका तीर्थयात्रीले त्यहाँको रानीपौवा धर्मशाला खचाखच भरिन्थ्यो । त्यस समयमा खानेकुराका साथै ओढ्ने ओछ्याउने सामग्री पनि आफैँ घरबाट लिएर जानुपर्ने बाध्यता रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ का स्थानीय उमादेवी भट्टराईले अनुभव सुनाइन् । पछिल्ला वर्षमा बन्दै गएका सुविधा सम्पन्न होटेलले उक्त बाध्यताको अन्त्य गरिदिएको छ । यहाँस्थित रानीपौवा यहाँको ऐतिहासिकताको ज्वलन्त उदाहरण पनि हो । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुगेछन् । रानी सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गरेछन् । सोही अनुरोधकै आधारमा सुवर्णप्रभाको निर्देशनमा मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गरिएको हो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा यहाँ धर्मशाला निर्माण गर्दा कुष्मा अर्मादीका काठ प्रयोग गरिएको हो । रानीले बनाइदिएको धर्मशाला भएकाले तत्कालीन समयदेखि नै यो ठाउँको नाम रानीपौवा रहन गएको हो । तत्कालीन समयदेखि नै यो धर्मशाला मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको स्थानीयवासी बताउँछन् । मुस्ताङमा मुक्तिनाथ मन्दिरसँगै यहाँको विविधता र हिमाली जीवन अवलोकन गर्न स्वदेशी एवं विदेशी पर्यटक आउने गरेको जनप्रीय युवा क्लब ठिनी मुस्ताङका उपाध्यक्ष निरज थकालीले बताए । मुस्ताङमा सुविधा सम्पन्न होटेलसँगै ठाउँठाउँमा घरवास सुविधा पनि उपलब्ध भएको जानकारी दिदै उनले केही दिन यता ठिनीस्थित थकाली सामुदायिक होमस्टे पर्यटकले भरिभराउ हुने गरेको बताए । हिमाली संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्न सक्ने गरी होमस्टेले पर्यटकलाई लोभ्याइरहेको बताउँदै उनले परम्परागत हिमाली संस्कृतिमा आधारित घरसँगै यहाँ नजिकै रहेको हिमचितुवा गुफाले पर्यटकलाई लोभ्याइरहेको जानकारी दिए । स्थानीयले हिमाली संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यका साथ थकाली सङ्ग्रहालय पनि सञ्चालनमा ल्याएका छन् । ठिनीको पर्यटनसँग हिमचितुवा गुफालाई जोड्ने प्रयास गरिएको बताउँदै उनले यसको पूर्वाधार व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारबाट यस आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन भएको बताए । ‘सोह्र श्राद्धका कारण मुक्तिनाथ आउने पर्यटकसँगै यस क्षेत्रको अवलोकनका लागि उपयुक्त समय भएका कारण मुस्ताङभित्रने पर्यटकको संख्या बढ्दो क्रममा छ’, उनले भने, ‘यही असोज १ गते बाट स्याउ टिप्न पनि खुला भएकाले यहाँ आएका पर्यटकले स्याउ कोशेलीका रुपमा लैजान सक्नेछन् ।’
अनियमित विद्युत आपूर्तिले जनकपुरधामका उपभोक्ता समस्यामा
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा केही दिनयतादेखि जनकपुरधाममा देखिएको विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रमुख मनोजकुमार साहले अत्यधिक गर्मीको प्रकोपको बेला घण्टौँसम्म विद्युत सेवा अवरुद्ध हुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै ट्रान्सफरमर बिग्रेको बहानामा उपभोक्तालाई दुःख दिन नपाइने बताए । प्रत्येक वर्ष आयोजना हुने माँ राजदेवी, बौधीमाता तथा अन्नपूर्ण माताको पूजा व्यवस्थापनबारे आज जनकपुरधाममा सम्पन्न सर्वपक्षीय बैठकमा प्रमुख साहले एउटा होइन दुईटा ट्रान्सफर जडान गर्नु परे गरेर विद्युतको समस्या समाधान गर्नुपर्ने धारणा राखे । यता ढल्केबर जनकपुरधाम मेनलाइनको ट्रान्सफर बिग्रेको भन्दै आज महिनादिन अघिदेखि नै नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरधामले चरम लापरबाही गर्दै आएको बताउँदै उनले समस्याको समाधान चाँडपर्वअघि नै गर्न आग्रह गरे । सो बैठकमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले विद्युतको अनियमितता र पटकपटक लाइन काटिनुले उद्योगी व्यवसायीमा आक्रोश बढ्दै गएको समस्या भोलिका दिनमा प्राधिकरणकै लागि ठूलो समस्या बन्ने बताए । बैठकमा मेलामा देखिने गरेको पकेटमारी तथा चोरीको समस्यालाई निराकरण गर्नका लागि सादा पोसाकमा व्यापक प्रहरी परिचालन गरिने र स्वयंसेवकको सहकार्यमा सुरक्षा निकायले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमख भुवनेश्वर तिवारीले व्यक्त गरे । सो बैठकमा भारी सङ्ख्यामा बोका बली चढाउने र सप्तमीको दिन श्रद्धालुभक्तजनको भीडलाई व्यवस्थित पार्नका लागि विभिन्न उपसमिति निर्माण गरी काम गर्न सबै पक्षले सहकार्य गर्ने निर्णय गरिएको छ । मेलाको आयोजना गर्दै आएका राम युवा कमिटी तथा महावीर युवा कमिटीको संयुक्त तत्वाधानमा सम्पन्न बैठकमा जउनपाका पूर्वप्रमुख लालकिशोर साह, सशस्त्र प्रहरी धनुषाका प्रहरी नायव उपरीक्षक सुमन बोगटी, राम तथा महावीर युवा कमिटीका निवर्तमान एवं भूपु पदाधिकारीसहितका सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।