विकासन्युज

भारतका ९ ठूला सहरको घरजग्गा कारोबारमा मन्दी, मूल्य आकासिँदा किन्ने घटे

काठमाडौं । कोरोना महामारीपछि भारतमा घरजग्गा बजारमा आएको उछालमा अब ब्रेक लागेको तथ्यांकले देखाएको छ । लामो समयपछि भारतमा घरजग्गा बिक्री घट्ने अनुमान गरिएको छ । घरजग्गा तथ्यांक विश्लेषक कम्पनी प्रोपइक्विटीका अनुसार जुलाई-सेप्टेम्बरको त्रैमासिकमा देशका ९ प्रमुख सहरमा घर बिक्री १८ प्रतिशतले घटेर १ लाख ४ हजार ३ सय ९३ युनिट हुने अनुमान छ । अघिल्लो वर्षको सोही अवधिमा १ लाख २६ हजार ८ सय ४८ युनिट बिक्री भएको थियो । यसमा सबैभन्दा बढी गिरावट हैदराबादमा ४२ प्रतिशत हुनसक्छ । यसपछि बेंगलुरुमा २६ प्रतिशत, कोलकातामा २३ प्रतिशत, पुणेमा १९ प्रतिशत, चेन्नईमा १८ प्रतिशत, मुम्बईमा १७ प्रतिशत र ठाणेमा १० प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ। तथ्यांकअनुसार, यो वर्ष जुलाई-सेप्टेम्बरमा दिल्ली-एनसीआरमा मात्र २२ प्रतिशत र नवी मुम्बईमा ४ प्रतिशतले घर बिक्री बढ्ने अनुमान गरिएको छ । रियल एस्टेट एक्सपर्ट र प्रोपर्टी ब्रोकरका अनुसार पछिल्लो दुई वर्षमा घरजग्गाको मूल्य ५० देखि ७० प्रतिशतसम्म बढेको छ । घरजग्गा बजारमा किफायती वा कम लागतका प्रोपर्टीहरूको ठूलो अभाव छ । विकासकर्ताहरू लक्जरी परियोजनाहरूमा मात्र केन्द्रित छन् । प्रमुख सहरहरूमा २ बीएचके फ्ल्याटको मूल्य करोड पुगेको छ । जसका कारण मध्यम वर्ग वा मजदुर वर्गले चाहेमा घर किन्न पाउँछन् । लगानीकर्ताहरूले द्रुत रूपमा बढ्दो सम्पत्तिको मूल्यको फाइदा लिन ठूलो मात्रामा पैसा लगानी गरिरहेका छन् । यस्तै, एड यूजर्स बजारबाट गायब हुँदैछन् । लगानीकर्ताको एकल आधारमा कही पनि सम्पत्ति बजार लामो समयसम्म चल्न सक्दैन । त्यसैले अहिले माग घट्दै गएको छ । जनताको आम्दानीमा भएको वृद्धिको अनुपातमा घरजग्गाको भाउ नबढ्ने भएकाले भविष्यमा स्थिति झन् खराब हुनसक्छ । घरजग्गाको मूल्य अव्यवस्थित रूपमा बढेको छ । यसले गम्भीर मन्दी निम्त्याउन सक्छ । समयमै कदम नचाले भारतको घरजग्गा बजारले फेरि एकपटक लामो मन्दीको सामना गर्न सक्ने विज्ञहरूले बताएका छन् । बेंगलुरुमा २५ प्रतिशत गिरावटको आशंका बेंगलुरुमा घर जग्गाबिक्री जुलाई-सेप्टेम्बरमा २५ प्रतिशतले घटेर १३ हजार ३ सय ५५ इकाई हुने अनुमान गरिएको छ जुन अघिल्लो वर्षको अवधिमा १७ हजार ९ सय ७८ इकाई थियो । जबकि चेन्नईमा घर बिक्री १८ प्रतिशतले घटेर ४ हजार ६ सय ३४ इकाई हुन सक्छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५ हजार ६ सय २८ इकाई थियो । यस्तै, हैदराबादमा आवासीय सम्पत्तिहरूको बिक्री समीक्षा अवधिमा ४२ प्रतिशतले घटेर १२ हजार ८२ इकाई हुने अनुमान गरिएको छ । कोलकातामा बिक्री गत वर्षको सोही अवधिमा ४ हजार ६ सय ३४ युनिटको तुलनामा २३ प्रतिशतले घटेर ३ हजार ५ सय ९० इकाई हुन सक्ने अनुमान गरिएको छ । मुम्बईमा आवास बिक्री १७ प्रतिशतले घटेर १० हजार ९ सय ६६ युनिट हुने अनुमान गरिएको छ । उही समयमा, नवी मुम्बईमा बिक्री ४ प्रतिशतले बढेर ७हजार ७ सय ३७ इकाई हुने सम्भावना छ । एजेन्सी

कोरियाबाट आएका उन्नत गाईका बाछी स्थानीयलाई उपहार

सिन्धुली । करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ । शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८० औं वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेशनलले उपहार हस्तान्तरण कार्यक्रम (पासिङ अन द गिफ्ट) सम्पन्न गरेको हो । हेफरले नेपाल सरकारसँग मिलेर सिन्धुलीमा ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको छ । दक्षिण कोरिया सरकार पनि यस परियोजनाको साझेदार हो । परियोजनाका लागि दक्षिण कोरियाले सन् २०२२ डिसेम्बर र सन् २०२३ जनवरीमा होलिस्टिन प्रजातिका एक सय गाई र आठवटा साँढे उपहारस्वरूप प्रदान गरेको थियो । जसमध्ये कमलामाई नगरपालिकामा ५१ किसान परिवारलाई गाई बाँडिएका थिए । नश्ल सुधारका लागि ल्याइएका साँढे भने राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका छन् । यसरी किसानलाई बाँढिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी अहिले अरू किसानलाई हस्तान्तरण गरिएको हो । ‘मिल्की वे’ परियोजनाले पाँच लाख नेपाली साना किसान परिवारमा पुगेर जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । ‘मिल्की वे’ परियोजनाका साझेदारहरूले कमलामाई नगरपालिकामा ‘मोडेल डेरी भिलेज’ समेत स्थापना गरेका छन् । कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले ‘मिल्की वे’ कार्यक्रमले किसानको जनजीविका सुधारमा लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘स्थानीय सरकारसमेतको सहकार्यमा सञ्चालित यस कार्यक्रमले किसानको आर्थिकस्तर सुधारका लागि मात्र नभइ कृषिउपज उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने र त्यस्ता वस्तु निर्यात गर्ने मुलुकका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘उपहार प्रदान गर्ने संस्कृतिले सामाजिक एकता तथा सहकार्यको भावनालाई मजबुद बनाउँछ र यसले व्यावसयिक कृषिमा लाग्नका लागि उत्प्ररित पनि गर्छ ।’ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रले मुलुकको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि पेसामा आबद्ध रहेको उल्लेख गर्दै व्यावसायिक पशुपालन तथा नश्ल सुधारका कार्यक्रमबाट दुग्धजन्य तथा मासुको उत्पादनमा नेपाल आत्मनिर्भर भएको बताए । कृषि तथा पशुपक्षी क्षेत्रमा देखिएका विभिन्न रोग उन्मूलनका लागि सरकारले योजना बनाएको पनि उनले जानकारी दिए । कार्यक्रममा हेफर इन्टरनेशनलकी प्रमुख कार्यकारी अधिकृत सुरिता सन्दोसमले भनिन्, ‘हामीले हेफर इन्टरनेशनलको ८० औं वार्षिकोत्सव मनाउँदै गर्दा उपहार हस्तान्तरणका माध्यमबाट सामाजिक एकतासँगै रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने यो उत्कृष्ट उदाहरण हो । कमलामाई नगरपालिकामा भएको यो कार्यक्रम हाम्रो कार्यको परिवर्तनकारी शक्ति र दीर्घकालीन उदारताको भावनाको प्रमाण पनि हो ।’ यस्तै, कमलामाई नगरपालिका प्रमुख उपेन्द्र पोखरेलले कोरियाली गाई ल्याएपछि गत वर्षको तुलनामा दूध उत्पादन दोब्बरले बढेको दाबी गरे । मासिक २७ लिटरबाट बढेर ५५ हजार लिटर पुगेको उनको भनाइ छ । हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीले देशका ५३ भन्दा बढी जिल्लामा चार लाखभन्दा बढी परिवार, १६ हजार समूह र दुई सय ९२ वटा सहकारी हेफरसँग आबद्ध भएर कृषि तथा पशुपक्षी पालनमार्फत जीविकोपार्जन कार्यक्रमसँग जोडिएको बताए । आर्थिक रूपमा कमजोर परिवारलाई पशुपालनमार्फत जीवनस्तर सुधार, उत्पादित वस्तुको बजारीकरण, स्वरोजगार सिर्जनालगायत काममा हेफरले भूमिका खेलेको उनले बताए । यसबाट गरिबी र भोकमरी अन्त्य हुनेमात्र नभइ दिगो खाद्य सुरक्षा र मुलुकको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने डा. रेग्मीको भनाइ छ । कोरियाबाट उपहार पाइ दुईवटा गाई पालिरहेकी कमलामाई नगरपालिकाको तल्लो राजपानीकी रुक्मिणी अधिकारी आफ्नो घर खर्चसँगै केही बचत पनि हुन थालेको बताउँछिन् । ‘मेरो परिवारको मुख्य पेसा खेती किसानी र पशुपालन हो । पहिले पनि गाई पाल्थ्यौं तर त्यो आफैलाई खानका लागि मात्र पुग्थ्यो । अहिले कोरियाबाट आएका गाईको दूध बेचेर मैले परिवार खर्च चलाउने, छोराछोरी पढाउनेमात्र होइन, केही बचत पनि गर्न थालेकी छु,’ उनले भनिन् । अधिकारीले आफूले उपहार पाएको गाईबाट जन्मिएको बाछी स्थानीय कुसुम थापालाई दिएकी छन् । कृषि तथा पशुपालनका माध्यमबाट भोकमरी र गरिबी अन्त्य गर्ने उद्देश्य राखेको हेफरले उपहारको संस्कृतिलाई पनि प्रवर्द्धन गर्दै आएको छ । दोस्रो विश्वयुद्धपछि सन् १९४४ मा अमेरिकी नागरिक ड्यान वेस्टले कोरियाका गरिब किसानलाई १७ वटा गाई बाँडेका थिए । त्यसरी बाँडिएका गाईबाट त्यहाँको किसानको जीवनस्तर सुधारमात्र नभइ दुग्धजन्य वस्तु उत्पादनमा कोरियाले अग्रणी मुलुकका रूपमा परिचय बनाएको छ । नेपालमा पनि सुरुमा एक सय वटा गाई ल्याएर ५१ किसान परिवारलाई बाँडेकामा त्यसलाई उपहार संस्कृतिकै माध्यामबाट बढाएर पाँच लाख पुर्‍याउने र नेपालभित्र मात्र नभइक अन्य देशलाई पनि नेपालबाट उन्नत जातका गाई बाँड्ने अवस्थासम्म पुर्‍याउने लक्ष्य राखिएको हेफर एसिया प्रोग्रामका वरिष्ठ उपाध्यक्ष नीना जोशीले बताइन् । पशुपालनका क्षेत्रमा नेपालले उल्लेख्य सुधार गरेको र यहाँ सञ्चालित कार्यक्रमको प्रभावकारिता राम्रो देखिएका कारण ८० औं वार्षिकोत्सव नेपालमा मनाइएको पनि हेफर इन्टरनेशनलले जनाएको छ । यहाँ आयोजित वार्षिकोत्सव कार्यक्रममा हेफरका सहयोगदाता, विभिन्न देशका राष्ट्रिय निर्देशक, हेफरका संस्थापक ड्यान वेस्टको परिवारका सदस्यलगायतको उपस्थिति थियो । हेफरअन्तर्गतका परियोजना लागू भएका विभिन्न स्थानीय तहका प्रतिनिधि पनि वार्षिकोत्सवमा सहभागी थिए । रासस

हेराल्ड ल स्कुलले माग गर्‍यो बीए एलएलबीका लागि आवेदन, ४० विद्यार्थीको कोटा

काठमाडौं । हेराल्ड ल स्कुलले यो वर्षदेखि कानुन संकायअन्तर्गत स्नातक तहमा बीए एलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ । राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा हेराल्डले यो वर्षदेखि ४० जना विद्यार्थीलाई बीए एलएलबी पढाउने भएको हो । हेराल्ड ल स्कुल हेराल्ड एजुकेशन नेटवर्कबाट सञ्चालित हुँदै आइरहेकाे छ । काठमाडौंको बसुन्धारास्थित हेराल्ड एजुकेशन नेटवर्कले प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्ययन अध्यापन गराइरहेकाे छ । हेराल्डमा कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकाय सञ्चालन भइरहेको छ । स्नातक तहमा पनि यो वर्षदेखि बीए एलएलबी कोर्स सुरु गरिएको हो । पछिल्लो समय कानुनी शिक्षा विद्यार्थीहरूको रोजाइकाे विषय बनेको छ । कानुनमा स्नातक अध्ययनका लागि एलएलबी र बीए एलएलबी गरी दुईवटा प्रोगाम रहेको छ । एलएलबी अध्ययनका लागि कुनै पनि एक विषयमा स्नातक पास गरेको हुनुपर्छ भने बीए एलएलबीका लागि कुनै पनि संकायमा कक्षा १२ उत्तीर्ण भएको हुनुपर्छ । कानुनमा स्नातक अध्ययनका लागि अहिले निकै ठूलो प्रतिस्पर्धा हुने गरेको छ । सीमित कोटा र प्रतिस्पर्धाका कारण चाहेर पनि धेरैले कानुन पढ्न नपाइरहेको अवस्थामा हेराल्डले यो कोर्स पढाउन सुरु गरेको हो । कानुनी शिक्षामा विद्यार्थी र अभिभावकहरूको बढ्दो आकर्षणलाई ध्यान दिँदै यो शैक्षिक सत्रबाट बीए एलएलबी कोर्स सुरु गरिएको हेराल्ड एजुकेशन नेटवर्कका अध्यक्ष कपिल ज्ञवालीले जानकारी दिए । अध्यक्ष ज्ञवालीका अनुसार अहिले हेराल्ड ल स्कुल बसुन्धाराबाट प्रवेश परीक्षाको फारम वितरण भइरहेको र आगामी असोज १२ गते शनिबार दिउँसो ३:३० बजेदेखि साँझ ५:३० बजेसम्म प्रवेश परीक्षा सञ्चालन हुनेछ । प्रवेश परीक्षा उत्तीर्ण उत्कृष्ट ४० जनाले यो शैक्षिक शत्रमा भर्ना हुन पाउने छन् । उपयुक्त र आधुनिक प्रविधियुक्त शैक्षिक वातावरणमा अनुभवी प्राध्यापकहरूबाट पढाइ हुने हेराल्डको नतिजा पनि उत्कृष्ट रहेको छ । हेराल्डले उत्कृष्ट शैक्षिक क्रियाकलापसँगै विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न प्रकारका अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष जोड दिँदै आएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा दुई हजार एक सय रुपैयाँले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय २० रुपैयाँ निर्धारण भएको छ ।

प्रधानमन्त्री ओली र गुटेरेसबीच भेट, ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान मत

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालायमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ग्रिनहाउस ग्यास उत्सर्जनमा भारी कटौती र कमजोरीहरू सम्बोधनसहित नेपालजस्ता पर्वतीय देशहरूको जलवायु वित्त पर्याप्त हुनुपर्नेमा जोड दिएका थिए । गत वर्ष आफ्नो नेपाल भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनताले देखाएको सदासयताप्रति आभार व्यक्त गर्दै महासचिव गुटेरेसले अतिकम विकसित देशलगायत विकासशील देशले कार्बन उत्सर्जन न्यूनीकरण र रोकथाममा ध्यान केन्द्रित गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गहन सुधारको आवश्यकतामा जोड दिएको भेटमा सहभागी राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापाले जानकारी दिए । विकासशील देशहरूले उन्नत वित्तीय सहायताका लागि वित्तीय संरचना सरलीकृत गर्न राष्ट्रसङ्घले पहल गर्ने विश्वास दिलाउँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यमा नेपाली शान्ति सैनिकको योगदानको उच्च प्रशंसा गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरेकामा कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गरेका थिए । उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न योगदान गरिरहेका नेपाली शान्ति सेनालाई राष्ट्रसङ्घको उच्चतम् पद उपलब्ध गराउन आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपालको खुम्बु क्षेत्रमा हालै गएको हिम पहिरोप्रति राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको चासोका लागि पनि धन्यवाद दिँदै नेपालले चाँडै ‘हिमालय इकोसिस्टम’को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने जानकारी गराए । उनले उक्त संवादमा सहभागी हुन महासचिव गुटेरेसलाई निमन्त्रणासमेत दिए । ‘समृद्ध, नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासहित मुलुकको आर्थिक रूपान्तरण गरी अल्पविकासित मुलुकबाट स्तरोन्नति हुने क्रममा नेपाल रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरू हासिलका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षासमेत गरे । भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) थापा र परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई सहभागी थिए । त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसङ्घको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना आइल्याण्ड भएका मुलुकका लागि प्रतिनिधिसमेत रहनुभएका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गरेका थिए । गए राति नै प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले रात्रिभोज आयोजना गरेको थियो ।

झापामा सवारीसाधन कारबाहीबाट दुई महिनामै ६६ लाख बढी राजस्व संकलन

भद्रपुर । जिल्ला ट्राफिक कार्यालय, झापाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६६ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नौ हजार सात सय ६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए । सो अवधिमा सबैभन्दा धेरै एक हजार छ सय ८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा १० लाख पाँच हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी, एक हजार दुई सय ३१ मोटरसाइकल, छ सय ९६ ट्रक, दुई सय १० बस, एक सय ७४ टिपर, एक सय ८४ ट्रयाक्टर र तीन सय छ टेम्पो कारबाहीमा परेका छन् । कार्यालयको तथ्याङ्कअनुसार साउन १० र भदौमा छ गरी सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा दुर्घटनामा परी ३२ जना सख्त घाइते र तीन सय ६० जना सामान्य घाइते भएका थिए । प्रनानि गौतमकानुसार पछिल्लो दुई महिनामा जिल्लाभरिमा दुई सय ३६ दुर्घटना भएका छन् । यस अवधिमा दुई सय २६ मोटरसाइकल, चार ट्रक, ११ बस, ३५ जीप/कार, तीन ट्र्याक्टर, ४३ टेम्पो, एक टिपर र दुई अन्य सवारी दुर्घटनामा परेका थिए ।

मध्यभोटेकोशी आयोजना अन्तिम चरणमा, १०२ मेगावाटकाे विद्युत उत्पादन हुने

  काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी अन्तिम चरणका कामहरु भइरहेकाे हाे । बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम काम भइरहेको छ । २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैं अगाडि सकिने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरु, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच गत १३ भदौमा भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो । बाँधक्षेत्रको निर्माण सकी पानी हालेर परीक्षणसमेत भइसकेको छ । आयोजनाको ७.१२४ मिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न गरी गत वर्षको फागुनमा पानी भरी परीक्षण सुरु गरिएको थियो । परीक्षणका क्रममा मुख्य सुरुङको करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ । हाल सुरुङ सफा गर्न सुरु गरिएको छ । १५ दिनपछि सुरुङमा पानी भर्न थालिने विद्युत प्राधिकरणले जनाएकाे छ । विद्युतगृहमा सिभिल निर्माण कार्य सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवम् परीक्षण (ड्राई टेस्ट) सम्पन्न भइरहेको छ । सुरुङबाट पानी आउनसाथ उपकरणहरूको वेट टेस्ट सुरु हुने छ । बाँकी रहेका सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सम्मिलित टोलीले शनिबार आयोजना निर्माणस्थल निरीक्षण भ्रमण गरी एक महिनाभित्र जसरी पनि विद्युत् उत्पादन हुने गरी काम गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । राज्यमन्त्री तामाङले बाँकी रहेका काम द्रुत अगाडि बढाउन र आयोजना व्यवस्थापनका सम्पूर्ण कर्मचारी साइटमै बसेर काम सम्पन्न गर्न निर्देशन दिए । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ । २२०/१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युतलाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ । उक्त कार्य दशैं अगाडि सम्पन्न गर्ने गरी काम भइरहेको हाे । सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उक्त लाइनहरू सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ प्राधिकरणले जनाएकाे छ । जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत सीमानाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को प्रकोप, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनलगायतका कारणले मध्यभोटेकोशीको निर्माण प्रभावित भएको थियो । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत सेयर रहेको छ । ४९ प्रतिशत साधारण शेयरधनी समुहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५,ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) रहेका छन् । कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिकरूपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।

आशा लघुवित्तको लाभांश घोषणा, यस्तो छ इतिहास

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थाको असोज ६ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख २० हजार रुपैयाँ बोनस सेयर र ०.२५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री प्रसाद दुलालले जानकारी दिए । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७८/७९ मा १५ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा २६.३१ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १५.७८ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।