विकासन्युज

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अनुसार ४४ वर्षीय कृष्ण कुँवर, २६ वर्षीया मनिषा अधिकारी, ४४ वर्षीय भक्त प्रसाद मरासिनी र २७ वर्षीय सरल आचार्य पक्राउ परेका हुन् । चारै जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  पीडितहरूबाट कुँवरले सर्बिया पठाउने भन्दै २ लाख ५० हजार , अधिकारीले  क्यानडा पठाउने भन्दै २ लाख ५० हजार,  मरासिनीले रोमानिया पठाउने भन्दै २ लाख २५ हजार ठगेको र आचार्यले युएई पठाउने २ लाख ६२ हजार ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।     

टी–२० विश्वकपमा डेभिल्सको नयाँ अभियान 'डेभिल्स खाऔँ, मुम्बई जाऔँ’

काठमाडौं । डेभिल्सले नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ । ‘डेभिल्स खाऔँ, मुम्बई जाऔँ’ नामक यस अभियानमार्फत क्रिकेटप्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ । अभियानअन्तर्गत एक जना भाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ गते बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भ्रमण जित्नेछन् । विश्व क्रिकेटका प्रतिष्ठित रंगशालामध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु हेर्ने अवसर प्रदान गर्दै डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य लिएको छ । ‘डेभिल्स खाऔँ, मुम्बई जाऔँ’ अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ । सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेज फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्नेछ र तीन जना साथीलाई ट्याग गर्नुपर्नेछ । पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ । पुरस्कार प्याकेजमा मुम्बई आवत–जावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, प्रमुख दर्शनीय स्थल भ्रमण, पर्यटन कर तथा वानखेड़े स्टेडियम आवत–जावतको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ । अभियानबारे टिप्पणी गर्दै एसियन थाई फुडका निर्देशक आशिष जाजुले टी–२० विश्वकपका लागि नेपालको छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण भएको बताए । उनले भने, 'डेभिल्स खाऔँ, मुम्बई जाऔँ अभियानमार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्थ्यौँ । क्रिकेटले लाखौँ मानिसलाई जोड्छ, र यो अभियान विश्वमञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो ।' यस अभियानमार्फत डेभिल्सले नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझा गर्दै खेलकुदले जोड्ने भावना र उत्साहलाई अझ सशक्त बनाएको छ । 

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतदाताको चासो

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन् । मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुन लागेको आमनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरू के–कस्ता ‘एजेन्डा’ लिएर आउँछन् र कसरी प्रस्तुत हुन्छन् भन्ने विषयमा आममतदाता विभिन्न अड्कलबाजी गरिरहेका छन् । अघिल्ला निर्वाचनको तुलनामा यसपटक पुराना दल र नयाँ दल, पुराना उम्मेदवार र नयाँ उम्मेदवारका विषयमा सहर र गाउँमा मात्रै होइन, चोक र चिया पसलमा समेत आ–आफ्नो कोणबाट चर्चापरिचर्चा गरिरहेको पाइन्छ । कसिलो बन्दै गएको निर्वाचन आचारसंहिता र प्रविधिको बढ्दो प्रयोगका कारण अहिले चुनाव प्रचारमा ‘डिजिटल शैली’ अपनाउन थालिएको छ । जसले गर्दा विगतमा आमसभामार्फत आफ्ना एजेन्डा प्रस्तुत गर्ने र उठेका विषयवस्तुबारे स्पष्ट पार्ने कार्य अहिले सामाजिक सञ्जाल दह्रिलो माध्यम बनेको छ । उम्मेदवारहरूले भौतिक रूपमा सम्भव नभएको अवस्थामा सामाजिक सञ्जाललाई नै चुनाव प्रचारको माध्यम बनाएका छन् । औपचारिक रूपमा आगमी फागुन ३ देखि १८ गतेसम्म मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ । उम्मेदवारी दर्ता भएका दिनदेखि नै उम्मेदवारहरू आ–आफ्नो ढङ्गले मतदातासँगको साक्षात्कारमा पुगेका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव सापकोटा उम्मेदवारलाई मतदातालाई कसरी खुसी पार्ने भन्ने दबाबका बीच विधायिकाको भूमिका पनि बुझाउने प्रयासमा रहेको बताउँछन् । 'सहरी क्षेत्रका मतदाता परिवर्तन, सुशासनलगायत मुद्दामा केन्द्रित हुनुन्छ भने ग्रामीण क्षेत्रमा त्यहाँको पूर्वाधार र विकास निर्माणमा जोड छ । कानुन निर्माणको विषयमा कम चासो व्यक्त भएको छ', मतदातासँगको साक्षात्कारमा रहेका नेता सापकोटाले भने । उनका अनुसार नवपुस्ताले विभिन्न समृद्ध मुलुकसँग तुलना गरेर उम्मेदवारसँग प्रश्न गर्ने गरेका छन् । नयाँ पुस्ताको तीव्र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्छ । सो क्षेत्रमा स्वतन्त्र र राजनीतिक दलका गरी १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 'अघिल्लो र अहिलेको निर्वाचन नितान्त नयाँ पृष्ठभूमिमा हुन लागेकाले यो निरन्रता मात्रै नभई विशेष प्रकृतिको निर्वाचन हो,  अघिल्ला निर्वाचन निरन्ततामा नियमितता थियो । यो आकस्मिकता र विशेष परिस्थितिमा भएको हुन लागेको छ', उनले भने । मतदाता परिवर्तन र सक्षम उम्मेदवार छनोटको ‘मुड’मा रहेको आफूले पाएको नेता सापकोटाले बताए । 'वर्षौंदेखि कुनै पार्टीमा आबद्धता भएका मतदाता पनि उम्मेदवारलाई हेरेर मतदान गर्छौं भन्ने विचारमा हुनुहुन्छ', उनले भने । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं मकवानपुर निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बर्तौलाले मतदातासँगको अन्तरक्रियामा पाँच वर्षका लागि निर्वाचित गरेर पठाएकामा ३२ महिना पुग्दा नपुग्दै पुनः निर्वाचनमा फर्कने स्थिति कसका कारण बन्यो भनेर जिज्ञासा राख्ने गरेको बताए । उनका अनुसार विगतका तुलनामा पछिल्लो समय निर्वाचित जनप्रतिनिधिहरू बेलाबखत गाउँ फर्केर जनताका माझमा पुग्ने अवस्थालाई मतदाताले सकारात्मक रूपमा लिएका छन् । 'सैद्धान्तिक हिसाबले जनप्रतिनिधि कानुन र विधि निर्माता हुन् । तर सांसदलाई नै विकास निर्माणको अगुवामा मानेर खेलमैदान, धारा, पानी, सिँचाइ, मन्दिर, गुम्बा, अस्पताल, बाटो, विद्यालयलगायतको माग सम्बोधन गर्नुपर्छ भन्ने कतिपय मतदाताको भावना रहेको छ', नेता बर्तौलाले भने । मतदातासँगको अन्तरक्रियामा नवपुस्तालाई राष्ट्रिय मामिला, स्वाधीनता, भौगोलिक अखण्डताका विषयमा अझ बढी साक्षात्कार गर्नुपर्ने महसुस भएको जनाउँदै उनले शासकीय प्रबन्ध, संवैधानिक व्यवस्था, दलीय व्यवस्थाका विशेषता, कार्यप्रकृति, लोकतान्त्रिक मूल्य मान्यता, संसद्, संसदीय मामिला र सांसदको भूमिकाका बारेमा बुझाउन ठूलो मेनहत गर्नुपर्ने बताए । नेता बर्तौलाले भने, 'सहिष्णुता र हार्दिकताभन्दा कुनै दल विशेषको छाताभित्र रहेर नै पनि कतिपय दल र उम्मेदवारप्रति आलोचना, आवेग, उत्तेजना, भड्काउजस्ता दृष्टिकोण समाजमा प्रकट गर्न खोजिनु अव्यावहारिक छ । त्यसमा सुधारको खाँचो छ ।' संसद्ले बजेट बनाउने हुँदा मतदाताले उठाएका विकास निर्माणसम्बन्धी माग सम्बोधन गर्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै उनले संसद्मा रहँदा गुणस्तरीय कानुन निर्माणमा जनप्रतिनधिले कति ध्यान दियो  भन्ने प्रश्न भने अत्यन्त कमजोर रहेको छ भने । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं ३ उम्मेदवार मनिष झा निर्वाचनप्रतिको उत्साह र परिवर्तनको माहोल राम्रो देखिएको प्रतिक्रिया दिन्छन् । 'अधिकारको लडाईं लडिरहेको मधेसले कार्यकारी भूमिकामा मधेस पुत्र पुग्दै गर्दा त्यो अवसरलाई गुमाउन हुँदैन भन्ने आमबुझाइ छ', उनले भने, 'हामीले ‘डेलिभरी’ दिन तयार छौँ, त्यही कुरा मात्रै उनीहरूको माग छ ।' मतदाताको ठूलो माग नभएकाले विमानस्थल होइन, सडकमा किन खाल्डो छ भन्ने कुरा सोधिरहेको उल्लेख गर्दै नेता झाले विकास निर्माणको लागतअनुसारको गुणस्तर कामय नहुनुले भ्रष्टाचार भइरहेको छ भन्ने जनताको बुझाइ गलत नभएको बताए । भ्रष्टाचार न्यूनीकरण, सुशासनसँगै सार्वजनिक यातायात र सेवा प्रवाहमा सहजीकरण होस् भन्ने जनताको माग रहेको उल्लेख गर्दै उनले मुलुक सङ्घीयतामा गइसकेपछि केन्द्रीकृत रहेको सेवा प्रवाहलाई पनि विकेन्द्रीत गर्नुपर्छ भन्ने जनआवाज अझै आफूले पाइरहेको जानकारी दिए । सो निर्वाचन क्षेत्रमा पाँच पालिका र ३८ वटा वडा रहेको छ । नेपाली कांग्रेसका नेता एवं रौतहट निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार देवप्रसाद तिमिल्सिनाले आर्थिक अवस्था कमजोर रहेको देशमा खर्चिलो चुनाव पटकपटक हुँदा विकास निर्माणका लागि प्रयोग गर्नुपर्ने बजेट प्रभावित हुने विषयमा मतदाताबाट चासो र चिन्ता प्रकट भएको बताए । उनले भने, 'त्यो रकम विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानीमा लगानी गर्न पाए हुन्थ्यो भन्ने जनभावना छ,   पाँच वर्षका लागि चुनेर पठाएका थियौँ, बीचैमा फर्केर फेरि मत माग्न आउनुभयो । देश र जनताको पक्षमा समयमै जेजस्तो काम गर्नुपर्थ्यो, त्यो समयमै नहुँदा यो अवस्था आएको हो कि भन्ने मतदाताको जिज्ञासा छ ।' निर्वाचनमा सफलता प्राप्त भएमा जनताको भावनालाई आगामी दिनमा पनि सदनमा उठाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै नेता तिमिल्सिनाले पछिल्लो समय उम्मेदवारभन्दा पनि मतदाता हरेक हिसाबले सजग र सचेत बन्दै गएको आफूले पाएको बताए । 'शिक्षा, स्वास्थ्य, खानेपानी, आवास जिल्लाको मुख्य प्राथमिकता हुन् । निर्वाचनमा जनतामा निर्णायक भएकाले उहाँहरू रोजाइका आधारमा निर्वाचित हुने हो । नयाँ नेतृत्वसहित नयाँ एजेन्डा लिएर कांग्रेस अघि बढेको छ । यसपटक जनताको अपेक्षा पूरा गर्न सक्छौँ भन्ने विश्वास छ', उनले भने । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री एवं सल्यान निर्वाचन क्षेत्र नं १ का उम्मेदवार अनिशा नेपाली गाउँमा गएर मतदातासँग भेटघाटको क्रम चलिरहेको बताइन् । 'आफूहरूले उठाएका विकास पूर्वाधारका काम पूरा नभएको भन्ने जनगुनासो छ । भौतिक पूर्वाधार, जनजीविकाका सबाल सम्बोधन भएनन् भन्ने भागलाई आफू विजयी भएको खण्डमा पूरा गर्नेछु', उनले भनिन् । नारायण न्यौपाने/अशोक घिमिरे(रासस)

कछुवा बिक्री गर्दै हिँड्ने तिवारी ललितपुरबाट पक्राउ

काठमाडौं । कछुवा बिक्री गर्ने एक व्यक्ति ललितपुरबाट पक्राउ परेका छन् । ललितपुर महानगरपालिका ३ धोबिघाटबाट १९ वर्षीय रोहिम तिवारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।  अवैध रूपमा संरक्षित वन्यजन्तु जीवित ‘कछुवा’ ओसारपसार गरी खरिद बिक्री गर्न बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी श्यामबाबु ओलियाले जानकारी दिए। उनका अनुसार पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको छ । चितवन भरतपुर महानगरपालिका वडा नम्बर १६ का तिवारी ललितपुर महानगरपालिका वडा नम्बर ३ धोबिघाटमा बस्दै आएका थिए ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले परीक्षासम्बन्धी कामका लागि देशका जुनसुकै कुनाबाट पनि काठमाडौं नै आउनुपर्ने अवस्था अन्त्य गर्न माग गरेका छन् ।      विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीका अनुसार विश्वविद्यालयलले परीक्षा प्रणाली विकेन्द्रीकरण नगर्दा मौका परीक्षा तथा स–साना कामका लागि पनि काठमाडौं नै आउनुपर्ने विद्यार्थीको बाध्यता रहेको छ । 'खासगरी दुर्गमका र कमजोर शारीरिक अवस्थाका विद्यार्थी यसबाट बढी पीडित छन्', उनले भने ।       मागबारे ध्यानाकर्षण गराउन आजदेखि परीक्षा नियन्त्रण कार्यालयको प्रवेशद्वारमा धर्ना सुरु गरिएको सभापति जोशीले जानकारी दिए । यसको समाधानका लागि कम्तीमा आफ्ना प्रदेश भित्रै परीक्षा दिन पाउने व्यवस्था हुनुपर्ने विद्यार्थीको माग छ ।       'विश्वविद्यालय एप चलाउन पटक–पटक भन्यौँ, तर अहिलेसम्म भएको छैन । त्रिविको परीक्षा नियन्त्रण कार्यालय समयअनुरुप डिजिटल हुन नसक्नु र काठमाडौं केन्द्रित संरचनाका कारणले विद्यार्थीले अनावश्यक दुःख पाइरहेका छौँ', स्ववियु सदस्य प्रदीप कार्कीले भने । पहिलेभन्दा केही सुध्रिए पनि अधिकांश नतिजा ढिलो आउने गरेको उनको भनाइ छ ।      विद्यार्थीले हरेक प्रदेशमा मौका परीक्षा केन्द्र, परीक्षा प्रणालीको पुनःसंरचना, शोधपत्रको मूल्याङ्कन प्रदेशमै, समयमै परीक्षा र समयमै नतिजाको सुनिश्चितता, पूर्ण डिजिटल प्रणाली, प्रमाणपत्र वितरणको विकेन्द्रीकरण तथा पुनः योग र पुनःपरीक्षणको सुदृढीकरण जस्ता माग राखेका छन् ।   

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष लामा एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा लामा र जिल्ला कमिटी सदस्य विष्णु जोशीलाई पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको महसुस भएको बताएका छन् ।  

नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्तालाई एकदिने तालिम

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध भई कार्यरत अभिकर्ताहरूलाई एकदिने व्यावसायिक तालिम प्रदान गरेको छ । कम्पनीले प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको अवधारणासहित सञ्चालन गरेको मासिक योजना 'मन्थन २०८२' अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका १२० जना अभिकर्तालाई इलामको फिक्कलस्थित होटल एकोममा तालिम दिइएको हो । तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले प्रदान गरेका थिए । उनले बीमा क्षेत्रको प्रतिष्ठित उपाधि एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायबारे विभिन्न उदाहरणसहित अभिकर्ताहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताको पेशागत क्षमता अभिवृद्धिका लागि कम्पनीले निरन्तर रूपमा विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । सोही उद्देश्यका साथ मासिक योजना ‘मन्थन २०८२’ अघि बढाइएको उनको भनाइ थियो । त्यस अवसरमा कोशी प्रदेशका विभिन्न शाखामा उत्कृष्ट कार्य गरी शाखास्तरीय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरेकी थिइन् । तालिममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट सिक्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए । सम्मानित अभिकर्ताहरूले पनि आफूले गरेको मेहनतको कदर भएको महसुस भएको प्रतिक्रिया दिएका थिए ।

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।  सोमबार गृह मन्त्रालयमा भएको भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको बारेमा छलफल भएको छ। मन्त्री अर्यालले फाल्गुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव्र रूपमा काम गरिरहेको बताए। राजदूत अर्बमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैं निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताए ।