नेपाल टेलिकमले ल्यायो विन्टर अफर, डाटा र भ्वाइस प्याकेजमा छुट
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरूको सुविधा र आवश्यकतालाई मध्यनजर गर्दै ‘विन्टर अफर २०८२’ सार्वजनिक गरेको छ । यसअघि सञ्चालनमा रहेको अटम अफरलाई निरन्तरता दिँदै टेलिकमले विभिन्न आकर्षक भ्वाइस, डाटा तथा कम्बो प्याकेजहरू विन्टर अफर अन्तर्गत उपलब्ध गराएको हो । टेलिकमका अनुसार एनटु–एनटु भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याकेज, अनलिमिटेड तथा कम्बो प्याकेजहरू यथावत् रूपमा उपलब्ध छन् । साथै, सजिलो अनलिमिटेड प्याकेज, अर्ली अनलिमिटेड प्याकेज, रेन्टलसहितका पोस्टपेड प्याकेज तथा सामाजिक सञ्जाल प्याकेजहरू पनि विन्टर अफर अन्तर्गत समावेश गरिएको छ । त्यसैगरी, नेपाल टेलिकमले फरक क्षमता भएका व्यक्तिहरूका लागि विशेष प्याकेज, नमस्ते वाइफाइ प्रयोगकर्ताहरूका लागि बन्डल प्याकेज तथा एफटीटीएच सेवाअन्तर्गतका प्याकेजहरू पनि निरन्तर उपलब्ध गराएको जनाएको छ । हाल पोस्टपेड मोबाइल सेवामा उपलब्ध ‘सजिलो अनलिमिटेड प्याकेज’ लाई रिकरिङ प्याकेजको रूपमा निरन्तरता दिइएको छ । यस अन्तर्गत ग्राहकले प्रत्येक महिना प्याकेज नविकरण गर्नुपर्ने झन्झट नहुने र प्याकेज स्वतः नविकरण हुने व्यवस्था गरिएको छ । उक्त प्याकेज 1415*2*4# डायल गरी, नेपाल टेलिकम एप तथा टेलिकमको वेबसाइटमार्फत पनि लिन सकिनेछ । नेपाल टेलिकमका अनुसार विन्टर अफर अन्तर्गतका प्याकेजहरू माघ ११ गतेदेखि आगामी ९० दिनसम्म उपलब्ध रहनेछन् । विभिन्न प्याकेजको जानकारी लिन *1415# डायल गर्न सकिनेछ भने नेपाल टेलिकम एप र www.ntc.net.np मार्फत विस्तृत विवरण प्राप्त गर्न सकिनेछ । ग्राहकको सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै ल्याइएको विन्टर अफर आकर्षक हुने विश्वास नेपाल टेलिकमले व्यक्त गरेको छ ।
अर्थतन्त्र सुधारका लागि ‘राइट टाइम’ आएको छ : चन्द्रप्रसाद ढकाल
काठमाडौं । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताएका छन् । विगतमा दलीय खिचातानीका कारण समयमै नीतिगत निर्णय नहुने गरेको बताउँदै वर्तमान सरकारलाई नीतिगत सुधार गर्न सहज हुने बताए । सोमबार अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विगतमा नीतिगत निर्णय गर्न मन्त्रीलाई विषयगत जानकारी समेत नहुने गर्दा अलमलमा समेत पर्ने भएकाले विज्ञ अर्थमन्त्री भएकाले नीतिगत सुधारमा लाग्न उनले आग्रह गरे । अध्यक्ष ढकालले भने–‘पोलिसिहरु सुधारका लागि यो एकदमै राइट टाइम हो । कतिपय विषयमा मन्त्री नै गर्न खोजेको के भन्नेमै जानकारी नहुने गरेको छ । तालमेल नमिलेर कतिपय गर्नैपर्ने कामहरु नहुने गरेको थियो । अहिले अर्थमन्त्रीको नेतृत्वमा जुन कामहरु भइरहेको छ, त्यो धेरै राम्रो छ ।’ अध्यक्ष ढकालले भन्सारबाट आउने रेभिन्यूलाई सरकारले प्राथमिकतामा राख्दा उद्यमशीलताको विकासमा कुनै असर नगर्ने गरी अघि बढ्नुपर्ने बताए । उद्यमशीलताको विकास गर्ने खालको पोलिसिहरु ल्याउन जरुरी रहेको उनको भनाइ छ । अध्यक्ष ढकालले होटल र पर्यटनलाई उद्योगका रुपमा सरकारले मान्यता दिएपनि उद्योगहरुले पाउने सुविधा ती होटल, पर्यटनले नपाएको गुनासो समेत गरे । यसलाई तुरुन्त कार्यान्वयन गर्ने हो भने उद्यमशीलता विकास हुनेछ । अध्यक्ष ढकालले कतिपय विषयलाई अहिले धितोपत्र बोर्डले इस्यु बनाएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराए ।
सम्पत्ति शुद्धीकरण निवारणमा कर्मचारी क्षमता विकास गर्दै सिद्धार्थ प्रिमियर
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी रोकथाम (एएमएल/सीएफटी) सम्बन्धी कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय तालिम सम्पन्न गरेको छ । कैलालीको धनगढीमा आयोजित उक्त तालिममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले विज्ञ स्रोत व्यक्तिका रूपमा प्रशिक्षण प्रदान गरेका थिए । तालिममा कम्पनीका कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत रहेका सबै शाखा कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक नवराज पराजुली तथा विभागीय प्रमुख सुदर्शन आचार्यले तालिमको आवश्यकता र महत्वबारे जानकारी गराएका थिए । तालिममा बीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान तथा रोकथाम, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू लगायतका विषयमा सहभागीहरूलाई विस्तृत जानकारी दिइएको थियो । कम्पनीले यस्ता तालिममार्फत नियामकीय अनुपालन सुदृढ गर्दै बीमा व्यवसायलाई सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य लिएको जनाएको छ ।
भू-राजनीतिक तनाव बढेसँगै सुन ऐतिहासिक उचाइमा, मूल्य प्रतिऔंस ५ हजार डलर नाघ्यो
काठमाडौं । विश्वभर भू–राजनीतिक तनाव र वित्तीय जोखिम बढ्दै जाँदा लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित भएका छन् । यही कारण सोमबार सुनको मूल्य प्रतिऔंस ५ हजार अमेरिकी डलरको सीमा पार गर्दै नयाँ सर्वकालीन उच्च विन्दुमा पुगेको छ । सोमबार सुनको मूल्य बढेर प्रतिऔंस करिब ५ हजार ९० डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी ३ प्रतिशतले वृद्धि भई प्रतिऔंस १०६.१ डलरमा पुगेको छ । औद्योगिक क्षेत्रमा बढ्दो मागले चाँदीको मूल्यलाई थप टेवा दिएको विश्लेषकहरूले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य प्रतितोलामा ६ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । ग्रीनल्यान्ड, भेनेजुएला र मध्यपूर्वलगायत विभिन्न क्षेत्रमा देखिएका तनावले विश्वव्यापी भू–राजनीतिक जोखिम बढेको संकेत गरेको छ । यस्तो अनिश्चित परिस्थितिमा जोखिमबाट जोगिनका लागि लगानीकर्ताहरूले सुनलाई ‘हेज’ अर्थात् सुरक्षाको माध्यमका रूपमा रोजिरहेका छन्, जसले सुनको आकर्षण अझ बलियो बनेको छ । एचएसबीसीले गत हप्ता जारी गरेको एक नोटमा भनेको छ, ‘सुन र चाँदीको मूल्यमा देखिएको पछिल्लो वृद्धि ग्रीनल्यान्डसँग सम्बन्धित भू–आर्थिक मुद्दाहरूको पृष्ठभूमिमा आएको हो ।’ युनियन बन्काएर प्रिभेका विश्लेषकहरूले शुक्रबार सार्वजनिक गरेको विश्लेषणमा संस्थागत तथा खुद्रा दुवै प्रकारका लगानीकर्ताबाट निरन्तर माग रहेकाले सुन र चाँदीको मूल्य उक्लिएको बताएका छन् । युबीपीले भनेको छ, ‘केन्द्रीय बैंकहरू र खुद्रा लगानीकर्ताबाट निरन्तर माग कायमै रहेकाले सुनले आगामी दिनमा पनि बलियो प्रदर्शन गर्ने अपेक्षा गरेका छौं । वर्षको अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस ५ हजार २०० डलरसम्म पुग्ने अनुमान गरिएको छ ।’ गोल्डम्यान स्याक्सका अनुसार हाल सुनको माग परम्परागत माध्यमहरूभन्दा बाहिर फैलिँदै गएको छ । सन् २०२५ को सुरुदेखि नै पश्चिमी ईटीएफहरूमा करिब ५०० टन सुन थपिएको बैंकले जनाएको छ । लगानी बैंक गोल्डम्यान स्याक्सले डिसेम्बर २०२६ का लागि सुनको मूल्य पूर्वानुमान बढाउँदै प्रतिऔंस ५ हजार ४०० डलर पुर्याएको छ । यसअघि उक्त अनुमान ४ हजार ९०० डलर थियो । विश्वव्यापी म्याक्रो आर्थिक अवस्था र नीतिगत जोखिमविरुद्धको हेज दीर्घकालीन हुने देखिएकाले यस वर्ष सुनको आधार मूल्य स्तर नै माथि सरेको बैंकको तर्क छ । केन्द्रीय बैंकहरूको सुन खरिद पनि मजबुत देखिएको छ । गोल्डम्यानका अनुसार हाल केन्द्रीय बैंकहरूले औसतमा महिनामा करिब ६० टन सुन खरिद गरिरहेका छन्, जुन सन् २०२२ अघिको औसत १७ टनको तुलनामा निकै बढी हो । उदीयमान बजारका केन्द्रीय बैंकहरूले विदेशी मुद्रा भण्डारलाई सुनतर्फ सार्ने क्रम पनि निरन्तर जारी छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको वित्तीय दिगोपनसम्बन्धी चिन्तासहितका विश्वव्यापी म्याक्रो–नीति जोखिमविरुद्धका हेजहरू सन् २०२६ भरि कायम रहने गोल्डम्यानको अनुमान हो । यो अवस्था सन् २०२४ को अन्त्यतिर अमेरिकी निर्वाचनपछि छिट्टै हटेका निर्वाचनसम्बन्धी हेजहरूभन्दा फरक रहेको बैंकले जनाएको छ । गोल्डम्यान स्याक्सले गत हप्ता भनेको थियो, ‘हामी विश्वव्यापी म्याक्रो–नीति जोखिमविरुद्धका हेजहरू स्थिर रहने अनुमान गर्छौं किनभने जोखिमहरू सन् २०२६ मा पनि पूर्ण रूपमा समाधान नहुन सक्छन् ।’
सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलामा ३ लाख ९ हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । पछिल्ला तीन दिनदेखि सुन र चाँदीको मूल्य लगातार बढ्दै नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले वृद्धि भई नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्यले पनि सोमबार नयाँ रेकर्ड बनाएको छ । चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।
कार्टस इन्टरप्राइजेज प्रालिलाई विभागले तिरायो ५० हजार जरिवाना
काठमाडौं । नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो । विभागले काठमाडौंका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो । अन्य १६ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । लगातार बजार अनुगमन गर्दै सुधारात्मक अभियान चलाइरहेको विभागले स्थानीय प्रशासन, सरोकारवाला निकाय र उपभोक्ता अधिकारकर्मीको समेत साथ लिने गरेको छ ।
गरिमा विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट सदस्यलाई बिना धितो १५ लाखसम्म कर्जा दिने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एसीएएन) मा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरूलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा संघसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार एसीएएनमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातका आधारमा ७५ हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, आवश्यक प्रक्रिया पूरा गरेपछि बिना धितो अधिकतम १५ लाख रुपैयाँसम्मको व्यक्तिगत व्यावसायिक (प्रोफेसनल) कर्जा पनि उपलब्ध गराइनेछ । त्यसैगरी, गरिमा विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई आकर्षक ब्याजदरमा आवास कर्जा तथा सवारी साधन कर्जा समेत प्रदान गर्ने जनाएको छ । हाल बैंकले 'अब आफ्नै घर' भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गर्दै आएको छ । हाल गरिमा विकास बैंक लिमिटेडको देशभर १२६ वटा शाखा कार्यालय, ५१ वटा एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकका नवनियुक्त सीईओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण
काठमाडौं । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । २१ वर्षदेखि सानिमा बैंकमा निरन्तर रूपमा विशिष्ट योगदान पुर्याउँदै आएका आचार्य पदभार ग्रहणअघि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत थिए । आफ्नो लामो सेवाकालमा उनले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गर्दै बैंकको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । शैक्षिक योग्यताका हिसाबले आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एनआईटी जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, उनले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए । उनको प्रमुख कार्य क्षेत्र कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्तमा केन्द्रित रहेको छ । हाल उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको अध्यक्षको रूपमा पनि कार्यरत छन् । बैंकिङ क्षेत्रबाहेक उनले इन्जिनियरका रूपमा चार वर्षभन्दा बढी व्यावसायिक अनुभव हासिल गर्नुका साथै पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा समेत सेवा प्रदान गरेका छन् । उनको विश्लेषणात्मक क्षमता, रणनीतिक सोच र दीर्घ बैंकिङ अनुभवका आधारमा आचार्यको नेतृत्वमा सानिमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।