कंगोसँग बराबरीमा रोकियो पोर्चुगल
काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘के’ को खेलमा उपाधि दाबेदार पोर्चुगल कंगोसँग बराबरीमा रोकिएको छ । पोर्चुगल १-१ गोलको बराबरीमा रोकिएको हो । उसले सुरुवाती अग्रताक अग्रता जोगाउन असफल हुँदा तीन अंक गुमाउन पुग्यो । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले राम्रा अवसर गुमाउँदा गोलविहीन बन्न पुगे । उनको यो छैटौं विश्वकप हो । खेलमा छैटौं मिनेटमा पेड्रो नेटोको क्रसमा जाओ नेभेसले उत्कृष्ट हेड गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा योआने विसाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । कंगोले ५२ वर्षपछि भएको विश्वकप पुनरागमन गरेको हो । उपाधि दाबेदार पोर्चुगल गोलपश्चात लामो समयसम्म खेल नियन्त्रणमा राखे पनि दोस्रो गोल थप्न नसक्दा दबाबमा परेको थियो । क‌ंगाेसँग अंक बाँडेसँगै पोर्चुगलमाथि समूह चरणका बाँकी खेलमा दबाब बढेको छ ।
विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि ७ जना सर्टलिस्टमा, असार ६ गते अन्तर्वार्ता हुने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सात जना उम्मेदवारहरूको सर्टलिस्ट (छनोट सूची) सार्वजनिक गर्दै कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरेको छ । समितिले २०८३ जेठ ७ गते प्रकाशित सूचना अनुसार दरखास्त दिएका उम्मेदवारहरूमध्ये न्यूनतम शैक्षिक योग्यता, कार्यअनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । छनोट भएका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आगामी २०८३ साल असार ६ गते शनिबारका दिन दुईवटा सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको बैठक कक्षमा हुने सूचनामा उल्लेख छ । समितिका अनुसार असार ६ गते बिहान ९ बजे हुने प्रथम सत्रको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ललितपुरका केशवध्वज अधिकारी, सिन्धुपाल्चोकका डा. रामप्रसाद धिताल, काठमाडौंका मधुप्रसाद भेटुवाल र काठमाडौंकै मोती बहादुर कुँवर छनोट भएका छन् । यसैगरी, सोही दिन दिउँसो २ बजे हुने दोस्रो सत्रका लागि काठमाडौंका डा. मधुसुधन अधिकारी, गोरखाका डा. भोलानाथ शर्मा घिमिरे र चितवनका नारायण प्रसाद सापकोटा छानिएका छन् । छनोट भएका सम्पूर्ण उम्मेदवारहरूलाई दरखास्तसाथ पेस गरेका शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र तथा कागजातहरूको सक्कल प्रतिसहित उपस्थित हुन अनुरोध गरिएको छ । समितिका अनुसार प्रत्येक उम्मेदवारका लागि व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको अवधि अधिकतम १५ मिनेटको रहनेछ ।
बिहे गरेर अमेरिका लैजाने प्रलोभनमा लाखौं ठगी गर्ने दम्पती पक्राउ
काठमाडौं । बिहे गरेर अमेरिका लैजाने लोभ देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक दम्पतीलाई पक्राउ गरेको छ । आफू अमेरिकामा रहेको र नेपाली बोल्न नआउने भन्दै अङ्ग्रेजी भाषामा कुरा गर्ने ’प्रिन्स तामाङ’ नामक टिकटक आईडीका सञ्चालक सञ्जिव नेपाली र उनकी श्रीमती सरिता पराजुली (अनुष्का) लाई प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा घर भई हाल काठमाडौंको माछापोखरी बस्ने यो दम्पतीले टिकटकमा अनुहार नदेखाई पीडितसँग सम्पर्क बढाएका थिए । त्यसपछि सञ्जिवले सरितालाई आफ्नी बहिनी सरगम तामाङ भनी ह्वाट्सएपमा कुराकानी गर्न लगाएर पीडितबाट पटक/पटक गरी १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पीडितले दिएको उजुरीका आधारमा साइबर ब्युरोले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा प्रिन्स तामाङ र सरगम तामाङ बनेर ठगी गर्नेहरू वास्तवमा श्रीमान्–श्रीमती नै रहेको पुष्टि भएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । ब्युरोको टोलीले उनीहरूलाई मङ्गलवार पक्राउ गरी विद्युतीय माध्यमसम्बद्ध ठगी अपराध मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ । अदालतले उनीहरूलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएकाले ब्युरोले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ । पछिल्लो समय बिहे गरेर विदेश लैजाने बहानामा ठगीका घटनाहरू बढ्दै गएकाले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरूसँग कारोबार गर्दा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।
सुलभ अग्रवाल र दीपक भट्टलाई जेल पठाउन अदालतको आदेश
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा आरोपित सुलभ अग्रवाल र दीपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि दुवै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यसअघि प्रहरीले दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो ।
विदेशी पीआर लिएका दुई कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको हो । सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन् । मन्त्रालयका अनुसार उनीहरुले अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको हो । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनी व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरुलाई स्पष्टीकरणको सोधिएको हो । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ । तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरे वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभए प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई थप मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन् । मन्त्री रावलले निजामती सेवामा अनुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक निर्णय गरिने पनि बताइन् ।
अपहरण धन्दामा भारतीय, बालकलाई चितवनबाट काठमाडौं ल्याई २२ लाख फिरौती माग
काठमाडौं । चितवनबाट अपहरण गरेका बालकको काठमाडौंको गंगबुस्थित एक होटलबाट सकुशल उद्धार भयो । असार १ गते साँझ साढे ६ बजे चितवनको नारायणगढबाट ५/ ६ जनाको समूहले १५ वर्षीय बालक अपहरण गरेका थिए । भरतपुर महानगरपालिका २ बस्ने बालकलाई भारतीय नम्बरको गाडीमा राखेर काठमाडौं ल्याएका थिए। गंगबुको एक होटलमा राखेर पीडित परिवारसँग फिरौती रकम माग गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा भारतको बिहार बेतियाका १८ वर्षीय सुजित कुमार, १८ वर्षकै गोलुकुमार सोनी, १८ वर्षकै गोलु कुमार, १८ वर्षकै बिक्कि कुमार र १८ वर्षकै मोहम्मद साहिद रहेका छन् । जेठ २९ गते भारतको बेतियामा अपहरणको योजना बनाएको खुलेको प्रहरीले उल्लेख गरेको छ । सुजितकुमार सहित ५ जनाले अपहरणको योजना बनाएर भोलिपल्ट जेठ ३० गते वीरगनज भन्सारबाट गाडीको पास बनाएर नेपाल प्रवेश गरेका थिए। गोलु कुमारको आधारगार्डबाट नेपाली सिमकार्ड निकालेर वाट्सएप प्रयोग गरेको पाइएको छ । जेठ ३० गते राति १० बजे चितवन पुगेका थिए । चितवनमा काम गर्ने सुजितकुमारका साथीले गुल्मैली होटलमा दुई दिन बस्नको लागि व्यवस्थापन गरिदिएका थिए । असार १ गते ती बालकलाई सुजितकुमारले इन्स्टाग्राममा सम्पर्क गरी सिद्धार्थ स्कुलको पछाडि बोलाई ४ जनाले गाडीमा चढाएका थिए। त्यसपछि आफू बसिरहेको होटलमा लगेका थिए । त्यहाँ दुई घण्टा राखेर फकाएका थिए । बालकलाई गाडीमा चढाएर धारिलो हतियार देखाउँदै कुटपिट गर्दै हल्ला गरेमा ज्यान मार्ने धम्की दिएर काठमाडौँ ल्याएका कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले बताए । असार १ गते राति ११ बजे कलंकी आएका थिए। उनीहरू राति १ बजे बिक्की पटेलले व्यवस्थापन गरेको नयाँ बसपार्कको होटल फ्यामिलीको कोठा नं २०३ मा बसेका थिए । असार २ गते बिहान बालकका बुबालाई वाट्सएपमा कल गरेर २४ घण्टाभित्र २२ लाख रुपैयाँ उपलब्ध गराउन अन्यथा छोराको ज्यान लिन्छौं भन्दै फिरौती माग गरेको एसपी कार्कीले बताए । अपहरणकारीले फोन गरेपछि मात्रै बाबुले आफ्नो छोरा अपहरणमा परेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। उनले प्रहरीलाई फोन गर्नु पहिले एक व्यक्तिले ती अपहरणमा परेका बालकका बाबुलाई सोधेका थिए । अपहरणमा परेका बालकले कागजको टुक्रामा आफू अपहरणमा परेको भन्दै आफ्नो र बाबुको नाम, सम्पर्क नम्बर र प्रहरीलाई खबर गरिदिन भनेर लेखेका थिए। त्यो टुक्रा उनले होटल बाहिर फालिदिएका थिए । त्यो कागजात फेला पारेका व्यक्तिले उनका बाबुलाई फोन गरेका थिए। त्यसपछि प्रहरी पुगेर त्यस आसपास खोजि गर्दा बालक उक्त होटलमा बन्धक बनाइएको अवस्थामा फेला परेका थिए । पक्राउ परेका पाँच जनालाई अनुसन्धान गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको पनि एसपी कार्कीले बताए ।
राजस्वमा यातायातको योगदान २८ प्रतिशत, व्यवसायीको कुरा राज्यले सुन्नैपर्छ : वैद्य
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले देशको अर्थतन्त्रमा यातायात क्षेत्रको योगदान उल्लेख्य रहेको जनाउँदै यस क्षेत्रका समस्या समाधानमा राज्य गम्भीर हुनुपर्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको कुल राजस्वमा यातायात क्षेत्रले मात्रै २७ देखि २८ प्रतिशत योगदान पुर्याएको जानकारी दिए । उनले भने, ‘यातायात क्षेत्रले राज्यको कुल राजस्वमा २८ प्रतिशत योगदान पुर्याएको छ । हाम्रा कुरा राज्यले सुन्नुपर्छ ।’ वैद्यले निजी क्षेत्र राज्यलाई ८५ प्रतिशत प्रत्यक्ष रोजगारी दिने र ठूलो मात्रामा राजस्व बुझाउने इमान्दार व्यवसायी भएको दावी गरे । आफू पनि यातायात क्षेत्रकै पृष्ठभूमिबाट अगाडि बढेको स्मरण गर्दै उनले सरकारले यातायात सम्बन्धी नीति, नियम र कानुन निर्माण गर्दा सरोकारवाला व्यवसायीहरूसँग अनिवार्य परामर्श गर्नुपर्नेमा जोड दिए । व्यवसायीहरूको राय र सल्लाहबिना ल्याइने कानुनले व्यावहारिक समस्या मात्र निम्त्याउने उनको तर्क थियो । कार्यक्रममा उनले यातायात क्षेत्रमा हुने दुर्घटना र त्यसपछिको उपचार खर्च व्यवसायीका लागि ठूलो चुनौती बनेको बताए । ‘कतिपय दुर्घटनामा घाइतेको उपचार खर्च ५० लाख रुपैयाँसम्म पुग्ने गरेको छ,’ उनले भने, ‘बीमा कम्पनीहरूले नाफा मात्र हेर्नु हुँदैन, दुर्घटनाका घाइतेहरूको उपचारका लागि अनलिमिटेड बीमाको व्यवस्था गर्न सरकारले ठोस कदम चाल्नुपर्छ ।’ डिजिटलाइजेसन र प्रविधि परम्परागत ढङ्गले मात्रै यातायात व्यवसाय चल्न नसक्ने बताउँदै उनले अब प्रविधिमा आधारित प्रणाली अपनाउनुको विकल्पनभएको उल्लेख गरे । डिजिटल प्रणालीले आर्थिक चुहावट रोक्नुका साथै सेवालाई थप पारदर्शी र प्रभावकारी बनाउने उनको विश्वास छ। प्रत्येक ५ देखि ७ वर्षमा गाडीको मूल्यमा हुने ठूलो ह्रास र बैंक किस्ताको चापले व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएकोप्रति पनि उनले चिन्ता व्यक्त गरे । उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे। महासंघले उद्योग वाणिज्य महासंघको नेतृत्वदायी पदमा अर्थात् वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई दिँदै सम्मान पत्र प्रदान गरेको थियो । उक्त अवसरमा उनले यातायात क्षेत्रका समस्यालाई नीतिगत तहमै समाधान गर्न आफूले निजी क्षेत्रको तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
जब शुभमले ई–सेवाको कर्मचारी बनेर आईफोन–१७ किने...
काठमाडौं । ई–सेवाको कर्मचारी भन्दै ‘रिवार्ड पोइन्ट’को प्रलोभन देखाएर ठगी गर्ने एक युवक पक्राउ परेका छन्। मंगलबार प्रहरीले राैतहटको माधवनारायण नगरपालिका– २ का २२ वर्षीय शुभम साहलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीले जानकारी दिए । साहले ‘तपाईंको ई–सेवामा धेरै रिवार्ड पोइन्ट रहेको छ, किन प्रयोग नगर्नुभएको ? भन्दै ९७७–९७६३५७१८१२ नम्बरबाट विभिन्न व्यक्तिलाई पटक–पटक फोन गर्ने गर्थे । उनले काठमाडौंस्थित याक एण्डको इन्टरप्राइजेजको मोबाइल नम्बर ९८०२०३४३२३ मा सम्पर्क गरी पीडितलाई ई–सेवा चेक गर्न लगाएका थिए। फोनमा निर्देशन दिएपछि पीडितको मोबाइलमा आएको ओटीपी समेत प्रयोग गरी उनले पीडितको खाताबाट एक लाख ९८ हजार ४९९ रुपैयाँ इभोलुससन ट्रेडिङको ई–सेवा आईडीमा ट्रान्सफर गरेका थिए । उनले पैसा पाएपछि आईफोन–१७ मोबाइलसमेत खरिद गरेका थिए । साहको साथबाट ४ वटा मोबाइल फोन, ४ वटा सिमकार्ड तथा ठगी प्रयोजनका लागि तयार पारिएका १ सय ५३ जनाको ई–सेवा आईडीसँग सम्बन्धित मोबाइल नम्बरको विवरण बरामद गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध विद्युतीय माध्यमसम्बन्धी ठगी अपराधमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार साह यसअघि पनि यस्तै प्रकृतिका दुई वटा ठगी मुद्दामा पक्राउ परेर अदालतबाट धरौटीमा छुटेका व्यक्ति हुन्। प्रहरीले यस्ता फोन कल, रिवार्ड पोइन्ट तथा ओटीपी सम्बन्धी प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ।