काठमाडौं । अमेरिका र इरानले युद्ध अन्त्य गर्ने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजिस्कियानले सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ ।
फ्रान्सको भर्साइल्स दरबारमा जी-७ सम्मेलनका क्रममा भएको भनिएको हस्ताक्षरपछि अमेरिकी अधिकारीहरूले सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक गरेका हुन् । यद्यपि दुवै देशले औपचारिक प्रतिलिपि सार्वजनिक गरेका छैनन् ।
सम्झौताअनुसार तत्काल सैन्य गतिविधि रोक्ने, जलमार्ग खुलाउने, प्रतिबन्ध हटाउने र ६० दिनभित्र दीर्घकालीन सम्झौताका लागि वार्ता अघि बढाउने खाका तय गरिएको छ ।
सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने सहमति गरिएको छ । अमेरिका, इरान र उनीहरूका सहयोगीहरूले तत्काल तथा स्थायी रूपमा सैन्य गतिविधि रोक्ने, एकअर्काविरुद्ध बल प्रयोग नगर्ने र एकअर्काको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डताको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् ।
दुवै पक्षले आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति गरेका छन् भने अधिकतम ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्य राखिएको छ ।
सम्झौताअनुसार अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने प्रक्रिया सुरु गर्नेछ, जसलाई ३० दिनभित्र पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता छ । त्यस अवधिमा व्यापारिक आवागमन पूर्ववत् स्तरमा फर्काउने लक्ष्य राखिएको छ ।
इरानले फारसको खाडी र ओमान सागरबीचको हर्मुज जलमार्ग व्यापारिक जहाजका लागि सुरक्षित र खुला राख्ने सहमति जनाएको छ। यो व्यवस्था ६० दिनका लागि लागू हुनेछ ।
अमेरिकाले इरानको पुनर्निर्माण तथा आर्थिक विकासका लागि करिब ३०० अर्ब अमेरिकी डलरको योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ । प्रतिबन्ध हटाउने, इरानी तेल निर्यातमा छुट दिने तथा रोक्का सम्पत्ति प्रयोग गर्न दिने विषयमा पनि सहमति भएको छ ।
सम्झौतामा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ भने हालको अवस्थामा कुनै परिवर्तन नगर्ने सहमति गरिएको छ ।
अन्तरिम सम्झौताको कार्यान्वयनका आधारमा मात्रै दीर्घकालीन वार्ता अघि बढ्ने उल्लेख छ। कार्यान्वयन अनुगमन गर्न संयुक्त संयन्त्र गठन गरिनेछ ।
अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्बाट अनुमोदन गरिने व्यवस्था पनि समावेश गरिएको छ ।