नेपालगन्जको होटल सोल्टी र गेट भोकेसनको सहकार्यमा व्यावसायिक तालिम सम्पन्न
नेपालगन्ज। नेपालगन्जको होटल सोल्टी र गेट कलेजको भगिनी संस्थागेट भोकेसनको सहकार्यमा व्यावसायिक तालिम सम्पन्न भएकाे छ । सोल्टी वेस्टइन्ड प्रिमियरसँगको सहकार्यमा विगत दुई वर्षदेखि गेट भोकेसनले सञ्चालन गर्दै आएको आवधिक प्रशिक्षणको मंगलबार दीक्षान्त कार्यक्रम आयोजना गरेकाे हाे । साे अवधिमा सञ्चालित आवधिक तालिमहरूमा सहभागी १११ जना विद्यार्थी दीक्षित भएका थिए । नेपालमा पाँचतारे होटलमै ‘अन द जब ट्रेनिङ’ सुविधासहितको होटल व्यवस्थापनसम्बन्धी आवधिक तालिम दिइएको यो पहिलो पटक हो । गेट भोकेसनलका संस्थापक महाप्रबन्धक विवेक पौडलले नेपालमै यस प्रकारको साझेदारी पहिलो भएको बताउँदै यस्तो साझेदारीमा जनशक्ति उत्पादनको मोडललाई अन्य होटलहरूले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए । उनले यस्तो सफल प्रयोगलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजनासहित पोखरामा समेत तालिम कार्यक्रमहरू आरम्भ भइसकेको बताए । भेरी प्राविधिक शिक्षालयका सहायक प्रमुख पारश खड्काले व्यावसायिक शिक्षाले सीपमूलक जनशक्ति विकासमा योगदान दिने भएकाले यसलाई बढीभन्दा बढी उपयोगमा ल्याउने वातावरण बनाउनु पर्ने बताए । यस्तै, सोल्टी होटलका मानव संशाधन विभागका प्रमुख वृजेशकुमार गुप्ताले पाँचतारे होटल पनि शिक्षण-प्रशिक्षणका लागि उपयुक्त थलो हुनसक्छ भन्ने कुरा सोल्टी वेस्टइन्ड प्रिमियरमा गेट भोकेसनलको सहकार्यमा सञ्चालित तालिम कार्यक्रमहरूले पुष्टि गरेको बताए । कार्यक्रममा गेट कलेजका तर्फबाट ताराजंग थापा र सोल्टी वेस्टइन्ड प्रिमियरका तर्फबाट खम्बजंग शाहले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा कदरपत्र प्रदान गरे। होटल व्यवस्थापनको व्यावसायिक तालिमका क्षेत्रमा थप नवीनता सिर्जना गर्दै गेट भोकेसनलले पाँचतारे होटल सोल्टीसँग सहकार्य गरेको हाे । गेट कलेजको भगिनी संस्था गेट भोकेसनलले विगत एक दशभन्दा लामो अवधिदेखि नेपालमा विभिन्न किसिमका व्यावसायिक तालिम प्रदान गर्दै आइरहेको छ । अधिक नवीनतायुक्त तालिम कार्यक्रम (मोस्ट इनोभेटिभ ट्रेनिङ प्रोगाम) विधामा विश्वकै प्रतिष्ठित वर्ल्ड हस्पिटालिटी अवार्ड पाइसकेको गेट भोकेसनलअन्तर्गत हालसम्म ३ हजारभन्दा बढीले विभिन्न आवधिक तालिम लिइसकेका छन् ।
यस्तो छ अत्याधुनिक विशेषतायुक्त ‘जीप कम्पास ट्रेलहक’, मूख्य फिचरमा ९ गियर
काठमाडाैं । अमेरिकन अटोमेकर कम्पनी ‘जीप’ को नेपालका लागि आधिकारीक बिक्रेता लाईफ अटोमोवाइल प्रा.लि.ले ‘जीप कम्पास’ का विभिन्न मोडेलहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । ती मोडेलहरुमध्ये उत्कृष्ट ट्रान्समिशन, पावरफुल इञ्जिन, राम्रो माइलेज, उत्कृष्ट अफरोड क्षमता र मल्टिपल टेरेन मोड्स समावेश भएको एसयूभी ‘जीप कम्पास ट्रेलहक’अत्याधुनिक विशेषतायुक्त एउटा प्रिमियम एसयूभी हो । कम्पनीले हाल नेपाली बजारमा एक करोड २४ लाख ९० हजार रुपैयाँ मूल्य तोकेको यस एसयूभीमा २.० लिटर टर्बोचार्ज्ड डिजेल इञ्जिन दिइएको छ जसले १७३ पीएसको पावर र ३५० एनएमको टर्क प्रोड्युस गर्दछ । यो इञ्जिनमा ९-स्पिड अटोमेटिक म्यानुअल ट्रान्समिशन पनि दिइएको छ । यस एसयूभीलाई जीप एक्टिभ ड्राइभ ४x४ लो सेटिङ्गको साथ पेश गरिएको छ । यसमा ड्राइवरले टेरेन सेलेक्सनमा अटो, स्नो, मड र स्यान्ड जस्ता ड्राइभिङ्ग मोडको अप्सन पाउने छन् । यस एसयूभीमा १७ इञ्चको अलोए व्हिल्स, ८.४ इञ्च यू कनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, बिल्ट-इन-नेभिगेशन र ७ इञ्च मल्टि-इन्फर्मेशन डिस्प्ले पनि समावेश छ । त्यसैगरी, अन्य फिचरहरुको रुपमा क्रूज कन्ट्रोल, इञ्जिन स्टार्ट/स्टप र एउटा प्यानारोमिक सनरुफ पनि दिइएको छ । कम्पास ट्रेलहकमा ७० भन्दा बढि सेफ्टि र सेक्युरिटी फिचरहरु समावेस छन् । यस एसयूभीमा ६ ओटा एयर ब्यागहरु, रोल ओभर मिटिगेसन, स्पिड वार्निङ्ग, एबीएस सिस्टम, ईबीडी सिस्टम, हिल डिसेन्ट कन्ट्रोल, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक, ट्र्याक्सन कन्ट्रोल सिस्टम, कर्नरिङ्ग फग ल्याम्प्स, पेडेस्ट्रियन प्रोटेक्सन, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, लेन डिपार्चर वार्निङ्ग प्लस, फुल स्पिड कोलिजन प्लस, फ्रन्ट एण्ड रियर पार्किङ्ग सेन्सर्स, रियर क्रस पाथ डिटेक्सन लगायतका सेफ्टि फिचरहरु पाउन सकिन्छ । यस अफरोडरको ग्राउण्ड क्लियरेन्स २०५ मिलिमिटर रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटि चाहिँ ६० लिटरको रहेको छ । त्यसैगरी ५ सिटर यस एसयूभीले १६.३ केएमपीएलको माइलेज दिन्छ । वास्तवमा रेड एक्स्टेन्सनको साथ ओभरअल ब्ल्याक इन्टेरियर थिम दिइएको यस एसयूभीले सबैलाई लोभ्याउने निश्चित छ ।
राजश्व अनुसन्धान विभागद्वारा निर्माण कम्पनी विरुद्ध १३ करोड बिगो दाबी सहित मुद्दा दर्ता
काठमाडौँ । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिजक प्रयोग गरी राजश्व छली गर्ने नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनी प्रालि बिरुद्ध १३ करोड १३ लाख ११ हजार ६ सय ६७ रुपैया बिगो कायम गरी मुद्दा गरेको छ । विभागले मंगलबार बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद माग दाबी सहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङजुन, वे देगुई र सुबिन श्रेष्ठलाई राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफल २३ को उपदफा(१) र (३) बमोजिम बिगोको दोब्बर जरिवाना गरी ३ वर्षको कैद सजायको माग दाबी सहित काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
बैंकिङ कसुर मुद्दाका दोषी २ व्यक्ति पक्राउ, सीआईबीले पठायो कारागार
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले पक्राउ गरेको छ । कसुरदाहरु सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेल समेत भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसला पछि दोषी ठहर उनीहरुलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । सञ्जयलाई कात्तिक १७ गते गौशलाबाट र लक्ष्मीदेवीलाई कात्तिक १९ गते वीरगञ्जबाट पक्राउ गरेको हो । क्रिस्टल फाइनान्स लिमिटेड थापाथलीबाट २०६७ फागुन २५ गते जग्गा धितो राखी धितो राखेको जग्गा आफुखुशी अस्वभाविक रुपमा मूल्याङ्कन गराई कर्जा लिई दुरुपयोग भन्दा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा दोषी ठहर गर्दै सञ्जलाई १ करोड ९५ लाख २६ हजार जरिवाना तथा ३ वर्ष कैद र लक्ष्मीदेवीलाई ७९ लाख २२ हजार जरिवाना र २ वर्ष कैद सजायको फैसला भएको थियो । पक्राउ परेका उनीहरुलाई कारागार चलान गरिएको सीआईबीले जनाएको छ ।
नेपाल-युएई श्रम समझदारी कार्यान्वयन, कल्याणकारी र बीमाबाहेक कुनै शुल्क तिर्नु नपर्ने
काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच भएको श्रम समझदारी मंगलबारदेखि कार्यान्वयनमा आएको छ । कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषय दुई देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठकले टुङ्ग्याएसँगै सो समझदारी कार्यान्वयनमा आएको हो । समझदारीको प्रभावकारी कार्यान्वयनको मार्ग प्रशस्त गर्न आइतबार र सोमबार दुई देशका प्रतिनिधि सम्मिलित प्राविधिक समितिको पहिलो बैठक काठमाडौँमा बसेको थियो । समझदारीलाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउन दुवै पक्षबीच सहमति भएको छ । बैठकले कामदारको भर्ना प्रक्रियाका चरणलाई स्पष्ट पारेको छ । समझदारीअनुसार युएई कामदार पठाउँदा लाग्ने सेवा शुल्क दुईतर्फी हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्कलगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्नेछ । घरेलु कामदारसम्बन्धी ‘प्रोटोकल’को मस्यौदामा घरेलु कामदारका विशेष सुरक्षा व्यवस्था र थप हकहितका विषयलाई समेट्ने सहमति भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले जानकारी दिए । “घरेलु कामदारको सन्दर्भ रहेका कानूनी व्यवस्थासमेतमा थप छलफल गरी अघि बढ्ने सहमति भएको छ”, उनले भने । युएईमा घरेलु कामदारको हकहित र संरक्षणको विषय समेटी घरेलु कामदारसम्बन्धी नयाँ कानून लागू भएको छ । घरेलु कामदार आपूर्ति गर्न युएई सरकारले सरकारको प्रत्यक्ष निगरानी तथा सार्वजनिक निजी साझेदारीको अवधारणामा ‘ताड–वियर सेन्टर’ स्थापना गरेको छ । उक्त सेन्टरबाट मात्र घरेलु कामदार आपूर्ति हुने एवं यसले घरेलु कामदारको संरक्षणका सबै विषय जिम्मा लिने बताइएको छ । नेपाल र युएईबीचको श्रम समझदारीलाई प्रभावकारी ढङ्गले अघि बढाउन दैनिक आउने सवाललाई थप सहज ढङ्गले समाधान गर्न दुवै सरकारका सम्पर्क विन्दु तोकिएको सहसचिव ढुङ्गानाले जानकारी दिए । “श्रम समझदारीको कार्यान्वयनको चरणमा दुवै देशका निजी क्षेत्रबीच आपसी समन्वय र सहकार्यलाई थप व्यवस्थित बनाउन, दुवै देशका कानूनी प्रक्रियाबारे थप स्पष्ट हुन निजी क्षेत्रका प्रतिनिधि सम्मिलित सम्मेलन आयोजना गर्ने सहमति भएको छ”, उनले भने, “स्वास्थ्यलगायत रोजगारीका क्षेत्रमा दुवै देशको संयुक्त कार्यक्रमसम्बन्धी सम्भावनाको पहिचान गर्ने विषयमा समेत सहमति भएको छ।” कल्याणकारी र बीमाबाहेक कुनै शुल्क तिर्नु नपर्ने समझदारीमा शून्य लागतको विषयलाई समेटिएको छ । कामदारको भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने समझदारीमा उल्लेख गरिएको छ । कामदारले रोजगारदातासँग भएको सहमति कार्यान्वयन नभएमा कामदारले रोजगारदाता परिवर्तन गर्न पाउने, पारिश्रमिक, अतिरिक्त समय, सुरक्षित कार्य वातावरण तथा न्यायमा सहज पहुँच सुनिश्चित गरिएको छ । गुनासो सुनुवाइलगायत विषयमा अन्य विदेशी कामदार सरह समान व्यवहार, महिला कामदारको सुरक्षामा विशेष व्यवस्था जस्ता कामदारको हकहित र सुरक्षा गर्ने विषयलाई समझदारीले स्पष्ट पारेको छ । अबदेखि नेपाली श्रमिकले वैदेशिक रोजगारीका लागि युएई जाँदा कल्याणकारी शुल्क र बीमा शुल्क मात्र व्यहोर्नुपर्ने छ । बाँकी अन्य सम्पूर्ण खर्च र कामदार पठाउने सम्बन्धित वैदेशिक रोजगार व्यवसायीको सेवा शुल्कसमेत रोजगारदाताले व्यहोर्ने छन् । श्रमिकको स्वास्थ्य परीक्षण शुल्क र सेवा शुल्कको भुक्तानी बैंकिङ माध्यमबाट सम्बन्धित नेपाली वैदेशिक रोजगार व्यवसायीलाई फिर्ता गर्ने छन् । मन्त्रालयले कामदारको सम्पूर्ण खर्च रोजगारदताले व्यहोर्ने विषय समझदारीमा नै स्पष्ट पारिएको उल्लेख गर्दै अब उप्रान्त कामदारसँग कुनै पनि शुल्क नलिन ‘म्यानपावर’ व्यवसायीलाई आग्रह गरेको छ । सन् २००७ पछि श्रम आप्रवासनका क्षेत्रका मूलभूत मान्यता र सिद्धान्तमा आएको परिवर्तनलाई आत्मसात् गरी त्यसअघिको समझदारीलाई समयानुकूल बनाउन नेपाल र युएईबीच गत जेठ ३१ गते नयाँ श्रम समझदारी भएको थियो । अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको शतवार्षिकी समाराहेमा सहभागी हुने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । रासस
नेपाल र यूरोपियन यूनियनबीच आर्थिक-व्यापारिक सम्बन्ध विस्तारमा जोड
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी तथा बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापाबीच मंगलबार चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ । सो कार्यक्रममा राजदूत थापाले आफूले ती मुलुक र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन उच्च मनोबलका साथ काम गर्दै आएकोले चेम्बरको सुझाबलाई आत्मसाथ गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसंग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । गर्नुभयो । सो कार्यक्रममा चेम्बरका अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, उत्पादनमूलक उद्योग लगायतका क्षेत्रमा बेल्जियम, नेदरल्याण्ड तथा लक्जेम्बर्गबाट लगानी एवम् प्रविधि भित्र्याउन कुटनीतिक पहल हुनु पर्नेमा जोड दिए ।
अष्ट्रेलिया र स्पेनका लागि नेपाल राजदूतलाई परिसंघको सुझाव, ‘आर्थिक साझेदारी विस्तार र पर्यटन प्रवद्र्धनमा जोड दिनू’
काठमाडौँ । नेपाल उद्योग परिसंघले अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनकालागि सहकार्य बढाउनु पर्नेमा जोड दिएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाल र स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पासँग कार्यभार सम्हाल्न जानु अघि मंगलबार अन्तक्र्रिया गर्दै परिसंघले सफल कार्यकालको शुभकामना समेत दिएको हो । अन्तक्र्रियामा संस्थाका अध्यक्ष सतिशकुमार मोरले परिसंघले आर्थिक कुटनीतिलाई उच्चम हत्वदिदैं आएको र देशको आर्थिक विकासको मेरुदण्ड मानिने लगानी तथा पर्यटन प्रवद्र्धनका लागि आर्थिक कुटनीतिमा अव्बल रहन राजदूतहरुलाई सुझाव दिए । नेपाललाई अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा स्थापित गर्ने तथा लगानीका प्रमुख क्षेत्रहरु पूर्वाधार, जलविद्युत, पर्यटन, आधुनिक कृषितथा सञ्चार प्रविधिलगायतकामा लगानी तथा साझेदारी बढाउन सम्बन्धित देशको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध अझ विस्तार गर्न राजदुतावासहरुको थप सकृयता आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहालले व्यवसायिक क्षेत्र तथा संघसंस्थाहरु बीच संस्थागत सम्बन्ध विस्तार, लगानीकर्ताहरुको भ्रमण आदान–प्रदान तथा प्राविधिक शिक्षामा सहकार्य बढाएर दक्ष जनशक्ति निर्माणमा भूमिका खेल्ने कुरालाई प्राथमिकतामा राखेको जानकारी गराए । राजदूत दाहालले नेपाली वस्तुहरुको निर्यात बढाउन राजदुतावासमा नेपाली वस्तुहरुको जानकारी सहजै प्रदान गर्ने व्यवस्था मिलाउने विषयलाई पनि आफुले ध्यानमा राखेको बताए । यता, स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पाले पनि स्पेनबाट नेपालआउने पर्यटकको संख्या उल्लेख्य रहेको र यसलाई बढाउन थप पर्यटन प्रवद्र्धनका लागि साँस्कृतिक सम्बन्ध विस्तार गर्नेमा ध्यान दिने र यसमा परिसंघको सहकार्य महत्वपूर्ण रहेको बताइन् । यसैगरी नेपाली वस्तु तथा उत्पादनको बजार तथा लगानी प्रवद्र्धन गर्ने र प्रविधि हस्तान्तरण लगायतका आर्थिक विषयमा पनि राजदूतद्वयले प्राथमिकताका साथ काम गर्ने विस्वास दिलाइन् । सो अवसरमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार विकासमा देखिएको समस्या समाधान गर्न परिसंघले पूर्वाधार सम्मेलन गर्दै आएको जानकारी गराउँदै नेपालका लागि विकसित देशको लगानी र प्रविधि दुबैको उच्च महत्व रहेकाले दुतावासहरुले सकृय भूमिका निभाउनु पर्नेमा जोड दिएका थिए ।
एनएमबि बैंकले सार्वजनिक गर्यो गण्डकी प्रदेश केन्द्रित ‘एनएमबि समृद्ध गण्डकी बचत’ खाता
काठमाडौँ । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकबीच भएको बृहत मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता ‘एनएमबि समृद्ध गण्डकी बचत’ को घोषणा गरेको छ । एनएमबि र ओमबीचको संयुक्त कारोबार ११ असोज २०७६ बाट सञ्चालन भइसकेको छ । यो बचत खाताले खातावालाको श्रीमान/श्रीमती र निजको दुई जनासम्म बालबालिकाका लागि १ लाख रुपैयाँ सम्मको औषधी उपचार बिमा र थप १० लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बिमा सहितका आकर्षक विशेषताहरूको प्याकेज उपलब्ध गराउने छ । यस खातामा एनएमबि डिलाइट डेबिट कार्ड पनि उपलब्ध गराइनेछ, जसबाट देशभरिका कुनै पनि बैंकका एटीएमबाट निःशुल्क रकम झिक्न सकिनेछ । यो बचत खाताअन्तर्गत विभिन्न बिक्री केन्द्रहरूमा एनएमबि डिलाइड डेबिट र क्रेडिट कार्डबाट छुट प्राप्त हुनेछ । एनएमबि बैंकबाट घर कर्जा सुविधा लिँदा ब्याजदरमा १ प्रतिशतको छुटसहितका अन्य लाभहरू प्राप्त हुने बैंकले जनाएको छ ।