विकासन्युज

महासंघको विशेष साधारणसभा रोक्न फोहोरी खेल, चण्डिराज ढकालले भने-‘आफ्नै उद्योग चलाउँछु अब’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले कात्तिक २९ गते बोलाइएको महासंघको विशेष साधारणसभा नहुने बताएका छन् । विधान संशोधनका विषयमा र प्रक्रियाको विषयमा विवाद उत्पन्न भएकोले विशेष साधारणसभा नगर्ने तयारीसहित छलफल भइरहेको बताएका छन् । शुक्रबार विधान संशोधन समितिको बैठक बसेपछि संशोधनका सबै प्रक्रिया रोकिन सक्ने उनले बताए । उनी विधान संशोधन समितिको संयोजक हुन् । विधान संशोधन समितिको बैंठकले गरेको निर्णयका आधारमा आइतबार वा सोमबार बस्ने स्थायी समिति समितिको बैठकले साधारणसभाको स्थगनको निर्णय गर्ने उनले बताए । ठूलो डिलको आशंका महासंघको विधान संशोधन गर्ने विषयमा भएको विवादको समाधान गर्ने क्रममा ठूलै बिजनेश डिल भएको चर्चा महासंघभित्र चलेको छ । जसलाई महासंघको अगुवाहरुले फोहोरी खेल भनेका छन् । ‘व्यवसायबाट आर्जित नाफाको ठूलो हिस्सा परोपकारी कार्यमा खर्च गर्दै आएका थियौं । मेरो चाहाना पनि त्यहि हो’ महासंघका एक प्रभावशाली नेताले भने- ‘तर कहिले काँही मनले नचाहेको ठाउँमा पनि खर्च हुँदोरहेछ ।’ महासंघभित्र खराब अभ्यास भएको र आफूले नचाहँदा नचाहँदै पनि खराब कार्यको साक्षी बस्नु परेको अर्का व्यवसायीले सुनाए । ‘मेरो नाम नलेख्नुहोला । महासंघभित्र फोहोरी खेल भए’ एक जना पदाधिकारीले भने- ‘त्यही फोहोरी खेलको नतिजा हो विशेष साधारणसभा नहुने अवस्था आउनु ।’ चण्डिराज ढकाल ऋण तिर्ने तयारीमा स्याल कराउनु र कुखुरो हराउनु एकै पटक भएको छ । महासंघको साधारणसभा रोक्ने क्रममा ठूलो डिल भएको चर्चा शुरु नहुँदै चण्डिराज ढकालले कर्जा तिर्न बैंकसँग नेगाेसिएशनमा बसेका छन् । सोमबार उनी राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठसँग लामो बैठकमा बसेका थिए । सोमबारको हिसाबमा २६ वर्षअघि लिएको ऋणको सावा ब्याजसहित ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने देखिएको छ । कर्जाको सावा, ब्याज, पेनाल ब्याज र पुँजीकरण ब्याजसहित ढकालले आरबीबीलाई भुक्तान गर्नुपर्ने रकम त्यति पुगेको हो ।   कति छ ऋण ? कुल कर्जाः ३१ करोड ५६ लाख नियमित ब्याजः ८६ करोड ४० लाख पेलान ब्याजः ९ करोड २७ लाख पुँजीकरण ब्याजः ३ अर्ब ५ करोड १८ लाख कुल ब्याजः ४ अर्ब ८६ लाख ढकालले २०५० सालमा मोमेन्टो एपरल्सको नाममा यस बैंकबाट ३१ करोड ५६ लाख रुपैयाँ कर्जा लिएका थिए । असोज मसान्तसम्म कर्जाको ब्याजमात्रै ४ अर्ब ८६ लाख पुगेको आरबीबीले जानकारी  दिएको छ । मोमेन्टो एपिरियन्स र कृष्ण गार्मेट रेडियन्ट फन वेयर फेसन परियोजनाको नाममा ढकालले ९ करोड ३२ लाखको जग्गा र मेशिनरी उपकरण सहित धितो राखेर आरबीबीबाट कर्जा लिएका थिए । कर्जा लिनका लागि त्यति बेला धितोमा राखिएको मेशिनरी उपकरणको मूल्य घटेको छ भने जग्गाको मूल्य बढेको छ । २०७३ कात्तिकमा धितोमा राखिएको जग्गाको पुर्नमूल्यांकन गर्दा २० करोड १६ लाख रुपैयाँ धितोबाट असुली गर्न सक्ने देखिएको छ । ढकालले कर्जा धितोमा काठमाडौं सिनामंगलको २ रोपनी र झापाको भद्रपुरमा रहेको २ विगा १६ कट्ठा ८ धूर राखेका थिए । कर्जा लिएको १७ वर्षसम्म पनि साँवा व्याज नतिरेपछि कम्पनीलाई २०६७ मंसिर १७ गते कालोसूचीमा राखेको थियो । बैंक स्रोतका अनुसार ढकालले कर्जाको ब्याज, पेनाल ब्याज, पुँजीकरण गरिएको ब्याज छुट माग गरेका छन् । उद्योग रुग्ण भएको, देशभरका गार्मेन्ट उद्योग बन्द भएको, सशस्त्र द्वन्द्व र अमेरिकाले कोटा सिस्टम हटाउँदा उद्योग संकटमा परेको तर्कसहित उनले सबै ब्याज, पेनाल ब्याज, जरिवाना छुटको माग गरेका छन् । ब्याज, जरिवाना छुट दिएमा तत्काल आफूले १० करोड रुपैयाँ कर्जा तिर्ने उनले बैंकलाई आश्वासन दिएका छन् । ढकालले कर्जा तिर्न लागेकाे १० कराेड रूपैयाँकाे स्राेत भने खुलेकाे छैन । ‘अहिले १० करोड तिर्छु, कर्जालाई पुर्नसंरचना गरेर नियमित बनाऔं । उद्योग चलाउछु र कर्जा क्रमशः तिर्छु भन्नु भएको छ’ बैंक उच्च व्यवस्थापन स्रोतले भन्यो- ‘उहाँले भनेजस्तो सबै छुट दिन नसकिएला । तर डुबेकाे १० करोड रुपैयाँ बैंकले पाउँछ र बन्द रहेको उद्योग चल्छ भने हामी सक्दो सहयोग गर्छौ । चण्डिराज ढकाल पनि झापाको भएको, अर्थमन्त्री युवराज खतिवडा पनि झापाको भएको, प्रधानमन्त्री पनि झापाको भएको, राष्ट्रिय बाणिज्य बैंक पनि पूर्ण सरकारी स्वामित्वको बैंक भएकोले शक्ति केन्द्रहरु मिलेर ढकाललाई ऋणमा भारी छुट दिन सक्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । ‘ढकालजी कर्जाको पुनः संरचना गर्न भनेर आइरहनु भएको छ,’ बैंक स्रोतले भन्यो ‘डकुमेन्ट पुरा हुने वित्तीकै बोर्ड बैठक बसेर टुंगो लगाउने छ ।’ डकुमेन्ट ल्याउने क्रम जारी छ । कर्जा पुनः संरचनाको लागि २०७६ साल जेठ १६ गते बोर्ड बैठकमा प्रस्ताव पेश गरिएको थियो । ‘बैंकको कर्जा तिर्ने प्रक्रियामा छु । केही दिन भित्र यो काम सकिएला । त्यसपछि उद्योग सञ्चालन गर्छु’ ढकालले भने । आफूले नियतवस बैंकको कर्जा तिर्न अटेर नगरेको तर परिस्थिति खराब भएकोले व्यवसाय डुबेको उनले बताए । ‘कुनै बेला मोमेन्ट एपरल्स नेपालको टप वान उद्योग थियो । नेपालका लागि सबैभन्दा धेरै डलर कमाउने उद्योग थियो । ९ वर्षसम्म यो सबैभन्दा बढी निर्यात गर्ने उद्योगको रुपमा सरकारले सम्मान गरेको थियो’ ढकालले भने ‘म हारेकाे छैन । फेरी उद्याेग पुर्नस्थापित गर्छु ।’ महासंघको विशेष साधारणसभा अनिश्चित बन्दै, पदाधिकारी नै परे दुविधामा

न्यू होलण्डका निर्माण उपकरण किन्दा ज्योति विकास बैंकबाट कर्जा पाइने

काठमाडौँ । ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच सम्झौता भएको छ । सम्झौतापछि राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ज्योति विकास बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा राशी अटोमोबाइल्सका अध्यक्ष अर्जुन रानाभाटले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुने जनाइएको छ । राशी अटोमोबाइल्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहीलाई सेवा दिंदै आएको छ ।

मेडिकल कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न माग राख्दै माइतीघरमा विद्यार्थीहरुको प्रदर्शन (फोटोफिचर सहित)

काठमाडौं। चिकित्सक शिक्षा संघर्ष समितिले मंगलबार मेडिकल कलेजले लिदै आएको अवैध शुल्कको विरोधमा प्रदर्शन गरेको छ। मेडिकल कलेजहरुले लिएको अवैध शुल्कको विरोध गर्दै चिकित्सक शिक्षा संघर्ष समितिले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। समितिले मेडिकल कलेजको गुण्डागर्दीको विरोध गर्दै चिकित्सक सुरक्षाको माग पनि राखेका छन्। उनीहरूले  सरकारलाई  मेडिकल कलेजलाई कारबाही नगरी चुपचाप बसी मेडिकल माफियाहरुलाई साथ दिँदै उनीहरुको गूण्डागर्दी प्रति गम्भिर नभएको आरोप लगाएकाे छ। तोकेको निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलिकाविरुद्ध चिकित्सा शिक्षा संघर्ष समितिले विरोध जनाउँदै आएको छ।

कर्मचारीलाई दक्ष बनाउन अजोड इन्स्योरेन्सको सक्रियता, २५ लाख छुट्याएका छौँ-सीईओ खत्री

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुलाई दक्ष बनाउन सक्रियता देखाएको छ । त्यसका लागि कम्पनीले २५ लाख रुपैयाँ बजेट छुट्याएको छ । उक्त इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई दक्ष बनाउन तालिम दिँदै आएको जनाएको हो । अजोड इन्स्योरेन्स कम्पनीले गाउँ–शहर सबैतिरका कर्मचारीहरुलाई बीमाबारे सचेत गराउनु पर्ने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमारबहादुर खत्रीका अनुसार सबैभन्दा पहिला कर्मचारी दक्ष बन्न आवश्यक हुन्छ । उनले भने–‘दक्ष कर्मचारी मार्फत बीमा बजारलाई थप विकास गर्न सकिन्छ ।’ हालसम्म सो कम्पनीले सुर्खेत तथा काठमाडौंमा तालिम कार्यक्रम संचालन गरिसकेको छ । सुर्खेतमा कृषी तथा पशु बीमा सम्बन्धी र काठमाडौंमा भने सामान्य अभिकर्ता तालिम दिएको हो । आगामी बर्ष कम्पनीले आफ्ना कर्मचारीहरुलाई विदेशमा समेत तालिमका लागि पठाउने निर्णय गरेको जनाएको छ । एआइआरडीसीले बैंककमा गर्ने तालिममा अजोड इन्स्योरेन्सका कर्मचारीले सहभागिता जनाउने छन् । नेपालको ७ वटै प्रदेशमा तालिम दिने उद्देश्य उक्त इन्स्योरेन्स कम्पनीले राखेको छ । साथै, हालसम्म एउटा प्रदेशमा भने कम्पनीले कार्यक्रम गरिसकेकाले अब बाँकी ६ प्रदेशमा नै कम्पनी पुग्नेछ । पुस महिनामा कर्मचारीहरुले अण्डरराइटिङ्ग सम्बन्धी तालिम लिने अवसर पाउने छन् । यस्तै, माघ महिनामा भने मार्केटिङ्ग कन्फ्रेन्स हुने छ । आजोड इन्स्योरेन्स कम्पनीले आफ्नो आन्तरिक तालिमका लागि कर्मचारीहरुलाई बानेश्वरमा रहेको शाखामा मार्फत प्रशिक्षण गर्दै आएको छ । वित्तीय सेवा भएको ठाउँमा बीमा कम्पनीको आवश्यकता कुनैपनि वित्तीय सेवा उपलब्ध भएको ठाउँमा बीमा चेतना फैल्याउन आवश्यक रहेकोे कम्पनीको ठम्याई छ । वित्तीय पहँुचलाई बीमाले थप सुरक्षण गर्ने बताइएको छ । बाग्लुङ्गको बुर्तिबाङ्ग, गोरखाको पालुङ्गटार तथा रौतहट लगायतका ठाउँमा कम्पनीले बीमा चेतना दिइसकेको जानकारी दिएको छ । ‘हामीले नाफा भन्दा जनचेतना तथा तालिमलाई आवश्यक मानेका छौँ’-सीइओ खत्रीले भने । हालसम्म सो इन्स्योरेन्स कम्पनीमा २ सय जनशक्ती रहेका छन् । सो मध्येमा ७५ प्रतिशत कर्मचारीहरु भने बीमा क्षेत्रका जानकार भन्दापनि इच्छुक छन् । बीमा बजारमा काम गर्न कम्पनी तथा कर्मचारी दुवैको उद्देश्यमा मेल भएमा कर्मचारी आउने जाने क्रम रोकिन सक्नेछ । उक्त कम्पनीमा भने नयाँ जनशक्तीहरुले नियमित काम गर्दै आएको र केही बाहिरिएका कर्मचारीले बीमा क्षेत्रै छोडेको जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले पायो पूर्णता, निर्देशकमा आवेदन आह्वान

काठमाडौं । चिकित्सा शिक्षा आयोगले निर्देशक पद खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । यसका लागि आयोगले आज सार्वजानिक सूचना जारी गरी पदमा आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको छ । राष्ट्रिय चिकित्सा ऐन २०७५ ले आयोगमा चार निर्देशक पदको व्यवस्था गरेको छ । आयोगको सूचना अनुसार निर्देशक पदमा आफ्नो व्यक्तिगत सोच, वैयक्तिक विवरणसहित यही कात्तिक २१ गतेसम्म विवरण बुझाउन भनिएको छ । ती चारवटा निर्देशनालयमा मापदण्ड तथा प्रत्यायन, योजना समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज रहेका छन् । ती पदका समयावधी चार वर्षको रहने ऐनमा नै उल्लेख भएको छ । ऐनमा ‘उपदफा ६ बमोजिम समितिले निर्देशनालय वा बोर्डको कामसँग सम्बन्धित दक्षता र कम्तीमा १५ वर्षको अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ठ व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यवसायिकता भएका व्यक्तिमध्येबाट उपयुक्त व्यक्तिलाई निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्नेछ’ भनिएको छ । साथै ‘निर्देशक पदको नियुक्तिको लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्न अध्यक्षले तोकेको राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा सम्बन्धित विषयका प्राध्यापक र कुनै एक विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन हुने छ’, ऐनको प्रावधान रहेको छ । निर्देशक पदको नियुक्ति प्रक्रिया शुरु गरेको १५ दिनभित्र समितिले निर्देशकको नाम उपाध्यक्ष समक्ष सिफारिस गर्नुपर्ने उल्लेख छ । आयोगले सोमबार पूर्णता पाएको थियो । सरकारले आयोगका सदस्य मनोनयन गरेकोमा उपकुलपति मध्येबाट त्रिभुवन विश्व विद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङलगायतका आधिकारिक पेशागत सङ्गठनका अध्यक्षमध्येबाट अध्यक्ष एशोसियशन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिष्ट अफ नेपाल र नेपाल नर्सिङ सङ्घ रहेका छन् । यसैगरी, आयोगका सदस्यमा नागरिक समाजका लब्ध प्रतिष्ठित कम्तीमा एक महिलासहित दुईजनामा डा. रमेशकान्त अधिकारी, डा. गीता गुरुङ तथा चिकित्सा शिक्षा विज्ञमध्येबाट समावेशी सिद्धान्तको आधारमा कम्तीमा दुईजना महिलासहित तीन जनामा प्रा. डा. दिव्यासिंह शाह, प्रा. डा. शैंली प्रधान, प्रा. डा. जगदीश अग्रवाल रहेका छन् । रासस

सानिमाले शुरु गर्यो दीर्घायु बचत तथा तलब खाता, ५ हजारको स्वास्थ्य परीक्षण सुविधा पाइने

काठमाडौँ । सानिमा बैंकले बचतकर्ताहरुका लागि स्वास्थ्य परीक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले रु. ५ हजारको बार्षिक स्वास्थ्य परीक्षण सुविधा लिन सक्नेछन् । साथै, नेपाल र भारतमा हुने उपचारमा रु. १ लाख सम्मको औषधि उपचार बीमा सुविधालिन सक्ने बैंकले जनाएको छ । त्यसैगरी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ रु. २० लाख बीमा रकम दावी गर्न सक्नेछन् । यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको रु. ३ लाख रुपैयाँ बीमा तथा रु २५०००/– को मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ । बैंकले आफ्ना ग्राहकहरुका लागि उपयुक्त हुने बिभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको जनाएको छ ।

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता शनिबार हुने

काठमाडौँ । लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरिएको गोकर्ण गल्फ क्लबमा ‘लक्ष्मी बैंक खुल्ला गल्फ २०१९’ आयोजना गर्ने भएको छ । आगामी शनिवबार आयोजना गरिएको यो प्रतियोगिता छैठौँ संस्करण हो । यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३/४ ह्यान्डिक्यापमा खेलिने छ । १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा ज्यादा उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिनेछ । पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता (६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिनेछ । यसबाहेक, १०औं होलमा होल-इन-वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने बैंकले जनाएको छ ।

सुनको मूल्यमा सामान्य गिरावट, आजको मूल्य हेर्नुहोस्

काठमाडौँ । पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा खरिदबिक्री भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ । महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ५०० निर्धारण गरेको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको मुल्यमा पनि प्रतितोला रु ५ घटेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला रु ८६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।