विकासन्युज

सेवोन हाक्ने दौडमा आधादर्जन आकांक्षी, आईक्यान अध्यक्षदेखि राष्ट्र बैंकका पूर्व ईडीसम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष खाली भएपनि छनोटका लागि अहिले सम्म कुनै कामकारवाही अघि बढ्न सकेको छैन । राष्ट्रिय योजना आयोग सदस्यको संयोजनमा सेवोन अध्यक्ष छनोट समिति समेत बन्न नसक्दा उक्त काम अघि बढ्न नसकेको हो । राष्ट्रिय योजना आयोगको वित्तीय क्षेत्र हेर्ने सदस्यको संयोजनमा कार्यकारी अध्यक्ष छनोट कार्य सम्पन्न गर्ने सेवोनका एक सञ्चालकले बताए । ‘तर, अहिलेसम्म छनोट समिति बनेको छैन,’ उनले भने-‘समिति गठनपछिमात्रै छनोट प्रक्रिया अघि बढ्छ ।’ खाली रहेको कार्यकारी अध्यक्षको पद खुला प्रतिस्पर्धाबाट पूर्ति गरिने छ । नेपाल धितोपत्र बोर्डमा अध्यक्षको पद खाली भएसँगै आधा दर्जन आकांक्षीहरूले राजनीतिक जोड घटाउ शुरु गरेका छन् । डा.रेवतबहादुर कार्कीको असोज मसान्तबाट ४ वर्षे कार्यकाल पुरा भएको छ । बोर्ड अध्यक्षका लागि नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व अध्यक्षदेखि नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक र बोर्डभित्रकै ३ कर्मचारी समेत सो पदका आकांक्षी रहेको बुझिएको छ । सेवोन अध्यक्षमा झापा घर भएका आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु बलियो आकांक्षीको रुपमा देखिएका छन् । प्रधानमन्त्री र अर्थमन्त्रीको विभिन्न कुटनीतिक कार्यमा संलग्न रहँदै आएका पनेरु प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा.युवराज खतिवडा दुबैको विश्वासपात्र मानिन्छन् । पनेरुले यस अघिनै सेवोन सञ्चालक बनिसकेका छन् भने नेपाल स्टक एक्सचेञ्ज, सीडीएससीको अध्यक्षको पद सम्हाली सकेका छन् । उनी सीडीएससीको संस्थापक अध्यक्ष समेत हुन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भिष्मराज ढुंगाना बोर्डमा यस अघिनै विज्ञ संचालकको रुपमा नियुक्त भइसकेका छन् । उनलाई अध्यक्ष खाली भएपछि सेवोनको सो पदमा नियुक्त गर्ने गरी विज्ञ संचालकको रुपमा नियुक्त गरेपनि उनको ध्यान भने आगामी चैत ५ गतेबाट राष्ट्र बैंकमा खाली हुने गभर्नर पदतिर आकर्षित भएको छ । ढुंगानाले यस विषयमा खासै चासो देखाएका छैनन् । राष्ट्र बैंकका अर्का पूर्व कार्यकारी निर्देशक बासुदेव अधिकारी हाल नेपाल बैंकको अध्यक्ष पदमा रहेपनि उनलाई बोर्डको अध्यक्ष बनाउने आश्वासन यस अघि सरकारले दिएको कुरा बाहिर आएको छ । सरकार निकट भएकाले यति बेला उनको पनि ध्यान राष्ट्र बैंकको गभर्नरमा आकर्षित भएको छ ।

भारतले नेपाली भूभागलाई आफ्नो दाबी गरेको प्रति साझा पार्टीको आपत्ति

काठमाडौँ । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेको प्रति साझा पार्टी गम्भीर आपत्ति प्रकट गरेको छ । पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बुधबार विज्ञप्ति प्रकाशित गर्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ-‘भारत सरकारको यो कदम अन्तराष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप हो ।’ यी भूभाग लगायत नेपालका दर्जनौं ठाउँमा भारतबाट भएको सीमा अतिक्रमणको साझा पार्टीले निरन्तररुपमा विरोध गर्दै आएको छ । हामी नेपाल सरकारलाई भारतले हालै जारी गरेको नयाँ नक्साको बारेमा कडा आपत्ति जनाउँदै स्पष्टिकरण माग्न, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन माग गर्न जोडदार आग्रह गर्दछौं–विज्ञप्तिमा उल्लेख छ । साथै नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको सीमा क्षेत्रका पिलरहरुको निर्माण, मर्मत र सर्वेक्षण कार्यमा प्रयोग भएका प्रविधि, ऐतिहासिक तथ्य एवम् नाप नक्साका साथै हाल सम्मको कार्यप्रगतीबारे आमनागरिकलाई जानकारी गराउन पनि साझा पार्टीले अनुरोध गरेको छ । नेपाल-भारत बीचको सदियौंदेखि रहिआएको घनिष्ट सम्बन्ध अझ नयाँ उचाईमा पुर्याउनु पर्नेमा भारत सरकारको यो कदम प्रत्युत्पादक हुने साझा पार्टीले ठहर गरेको छ । मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसंग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्नेमा साझा पार्टीले विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

जिप व्यवसायीको मनोमानी, पैसठ्ठी किमीको भाडा दुई हजार पाँच सय !

बाजुरा । जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा रु दुई हजार ५०० सम्म भाडा लिने गरेका छन् । महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ । जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुःखेसो छ । उक्त बाटोमा एक यात्रुबाट रु दुई हजार ५०० सम्म भाडा असुली गर्ने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । यात्रुको चापलाई मध्यनजर गर्दै व्यवसायीले मनोमानी भाडा लिने गरेका छन् । मार्तडीदेखि धनगढीसम्म ३२७ किलोमिटर यात्रा गर्दा रु एक हजार २०० भाडा रहेकामा कच्ची बाटोका नाममा छोटो दूरीमै खुलेआम रकम असुल्ने गरिएको उनको भनाइ छ । मार्तडीदेखि कोल्टीसम्म ४३ किलोमिटर बाटोमा समेत रु एक हजारदेखि एक हजार ५०० भाडा तिर्नुपरेको गुनासो यात्रुको छ । टिकट नदिने र दिए पनि कम लेख्ने तर बाँकी पैसा बाध्य पारेर तिराउने गरिएको यात्रुले बताएका छन् । कसैलाई भने राम्रो नहुने चेतावनी जिप व्यवसायीले दिने गरेका प्रहरीको दाबी छ । प्रहरी वा अरु कसैलाई भाडाबारे जानकारी दिए नबोक्ने धम्की दिने गरेकै कारण यात्रुले बाध्य भएर भनेको भाडा तिर्नुपर्ने अवस्था छ । कर्णाली करिडोर नेपाली सेनाले निर्माण जिम्मा लिएको छ । तत्काल यात्रुको सहजताका लागि भन्दै केही जिप सञ्चालन अनुमति दिइएको छ । त्यही मौका पारेर जिप व्यवसायीले प्रहरीलाई समेत छलेर भाडा असुल्ने गरेका छन् । जिल्लाका सबैजसो ग्रामीण सडकसँगै अन्य मार्गमा सञ्चालन हुने जिपले पनि यात्रुबाट मनोमानी भाडा लिने गरेका छन् । सडक समस्या देखाएर यात्रुलाई व्यवसायीले खुलआम ठगी गरेर भाडा असुली गर्ने गरेका छन् । सदरमुकाम मार्तडी–कोल्टी, मार्तडी–डोगडी, मार्तडी–घटमुनासहित कर्णाली करिडोर सडकमा पनि व्यवसायीले खुलेआम यात्रुबाट भाडा लिने नाममा बढी पैसा असुली गर्ने गरेका छन् । स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र नेपाली सेनाले कर्णाली करिडोरमा प्रतिकिमी रु ११ लिने निर्णयसमेत गरेको थियो । सो मूल्य जोड्दा पिलुचौरदेखि जितेगडासम्मको रु ७१५ हुन्छ, तर यहाँ निर्णयको भन्दा तेब्बर रकम असुली जिप व्यवसायीले गर्ने गरेका छन् । नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेले सडक निर्माणमा खटिएका सेनाका इन्चार्जलाई बुझेर भाडा नियन्त्रण गर्नका लागि निर्देशन दिने बताए । कर्णाली करिडोरमा बाजुरा र कालिकोटका जिप व्यवसायीले यातायात सञ्चालन गरिरहेका छन् । चर्को भाडा असुलीसँगै क्षमताभन्दा बढी जिपको छतमा समेत गरी २० भन्दा बढी यात्रु बोक्ने गरिएका छ् । जिपको सिटपास पाँच र कसैको नौ जना हुन्छ, तर छत पछाडि र ढोकामा झुण्डिएर बोक्ने गरेको पाइएको छ । उद्घाटनका बेला बाजुराबाट छ र कालिकोटबाट छ जिप सञ्चालनमा ल्याउने प्रशासनले निर्णय गरेको थियो । तर, अहिले उक्त सडकमा जथाभावी र मनोमानीरूपमा यातायात सञ्चालन भइरहेका छन् । कर्णाली करिडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म १४५ किलोमिटर छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्लामा रहेको छ । सेनाले सो सडकको जिम्मा विसं २०७१ चैतबाट शुरु गरेको थियो । अहिलेसम्म १०७ किमीमा काम भइरहेका मध्ये ७२ किमीमा यातायात सञ्चालनमा आएको उपसेनानी शङ्कर सिलवालले जानकारी दिए ।

साङ्घाईमा अन्तर्राष्ट्रिय आयात एक्स्पो, चीनको आर्थिक विकास निरन्तर रहने राष्ट्रपति सीको विश्वास

बेइजिङ । चीनका राष्ट्रपति सी चिन फिङले चीनको आर्थिक विकासमा निरन्तरता दिँदै अघि बढ्ने बताउनुभएको छ ।मङ्गलबार साङ्घाईमा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई राष्ट्रपति सीले चीनको आर्थिक विकास उज्ज्वल रहने विश्वास व्यक्त गरे । निरन्तरको आर्थिक विकासबाट चिनियाँ अर्थतन्त्रलाई स्थिर राख्न सकिने बताउँदै यसले विश्व आर्थिक पुनःरूत्थानका लागि ठूलो विश्वास थपिएको पनि सम्बोधनका क्रममा उनले बताए । व्यापार संरक्षणवाद र विश्वव्यापीकरण प्रतिरोध प्रवृत्तिले केही बर्षदेखि विश्वको आर्थिक विकास कमजोर देखिएको भएपनि चीनको आर्थिक विकास स्थिर रूपमा अघि बढेको राष्ट्रपति सीले दावी गरे । उनले भने, “बजारको थप खुलापन, खुला ढाँचामा थप सुधार, व्यापारिक वातावरणको नयाँ बाटो, बहुपक्षीय तथा द्वीपक्षीय सहयोगको गहनता, वेल्ट एन्ड रोडको संयुक्त निर्माणलाई अरू बढाउने भएर चीनले अनेकौँ व्यवहारिक गतिविधि गरी विश्वसँग विकास गर्ने अठोट देखाएकोले विश्व समुदायले चीनलाई विश्वासिलो मित्रका रूपमा लिने गरेका छन् ।” चीन आफ्नो विकाससँगै विभिन्न मुलुकसँगको सहकार्यमा विश्वास गर्ने र यसबाट उनीहरूलाई पनि समृद्धिको बाटोमा लाने उक्त अवसरमा राष्ट्रपति सीले विश्वास व्यक्त गरे । रासस/सिन्ह्वा

हरिबोधिनी एकादशीको अवसरमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौँ । नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगरपालिका उप–प्रमुख सुशीला अधिकारीले जानकारी दिइन् । नगरपालिकाभित्र रहेको नेपालकै चार नारायण मध्येको कान्छो नारायण मन्दिरको नाममा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचङ्गुनारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वको रूपमा सो दिन सार्वजनिक बिदा दिने भएको उप–प्रमुख अधिकारीले बताइन् । उक्त दिन नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ । प्यागोडा शैलीमा बनेको दुईतले इचङ्गुनारायण मन्दिरमा शङ्ख, चक्र, गदा र पद्म लिएका नारायणको मूर्ति रहेको छ । सो मन्दिरमा ठूलो एकादशी, हरिशयनी एकादशी र हरिबोधिनी एकादशीमा विशेष मेला लाग्ने गर्छ । सिन्धुलीको दुधौलीमा पनि बिदा हरिबोधनी एकादशी तथा तुलसी विवाहका दिन यही कात्तिक २२ गते सार्वजनिक बिदा दिइएको छ । यहाँको दुधौली नगरपालिकाले शुक्रबार मनाइने हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको हो । नगरपालिकामा दनुवार समुदायको बाहुल्यता भएको र दनुवार समुदायले यस दिनलाई बड्की एकादशीका रुपमा विशेषपर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिए । यस दिन दनुवार समुदायले मात्र नभई नगरक्षेत्रमा बसोबास गर्ने नगरवासीले हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरेकाले नगरपालिकाअन्तर्गत रहेका सम्पूर्ण कार्यालय, विद्यालय, सङ्घसंस्थामा सार्वजनिक बिदा दिइएको उनले बताए । यसअघि हरिबोधनी एकादशी अर्थात् बड्की एकादशीमा गत वर्ष पनि नगरपालिकाले बिदा दिएको थियो । अघिल्लो वर्षको निर्णयलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ । रासस

विद्युतीय बस सञ्चालनमा, तर अझै तोकिएन चार्जिङ स्टेशनको महसुल

काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन शुरु भए पनि सरकारले चार्जिङ स्टेशनका लागि महसुल तोकेको छैन । नेपालमा निजी क्षेत्रबाट विद्युतीय बस सञ्चालनमा आए पनि अहिलेसम्म चार्जिङ स्टेशनका विषयमा टुङ्गो लाग्न नसकेको हो । विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने सरकारको नीति भए पनि महसुल नतोक्दा अरु उपभोक्ताले जतिकै महसुल बुझाउनुपरेको छ । पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादूर थापाले विद्युतीय बसलाई प्रोत्साहन गर्ने गरी चाँडो महसुल निर्धारण हुनुपर्ने बताए । विद्युतीय बसमा पेट्रोलियम पदार्थबाट चल्ने बसमा भन्दा सञ्चालन खर्च कम लाग्ने गर्छ । त्यसका आधारमा प्रालिले अहिले सञ्चालनमा रहेको चार बसमा सरकारले निर्धारण गरेको भाडादर भन्दा २० प्रतिशत कम भाडा लिने गरेको छ । सरकारले महसुलमा सहुलियत दिँदा भाडादरमा अझै बढी छुट दिन सकिने उनको भनाइ छ । उनले भने, “विद्युतीय बस प्रोत्साहन गर्दा एकातिर यात्रुलाई भाडा कम पर्छ भने अर्कातिर वातावरण पनि सफा बनाउँछ ।” अहिले सुन्दर यातायातका चार विद्युतीय बस सञ्चालनमा छन् । यही वर्ष थप २५ बस ल्याउने प्रालिले तयारी गरिरहेको छ । सरकारले साझा यातायातमार्फत खरिद गर्न लागेको ३०० विद्युतीय बस अन्योलमा रहँदा निजी क्षेत्रले भने यसमा इच्छा देखाएका छन् ।

मंसिर १२ गतेदेखि सत्रौँ हस्तकला व्यापार मेला हुने

काठमाडौँ । १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिता मङ्सिरमा हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो । नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको महाङ्घका उपनिर्देशक ऋषिराज सुवेदीले जानकारी दिए । मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यावसायिक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलामा सहभागिता गर्ने, व्यापार मेलाको माध्यमबाट नेपाली कलासंस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको सुवेदीले बताए । मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहने महासङ्घले जनाएको छ । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागिता रहने आयोजकले जनाएको छ । यस्तै विभिन्न देशका २० कक्ष रहनेछन् । नेपालको हस्तकला हाल छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापान लगायतका युरोपका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पस्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् ।

ग्रीनलाइफ हाइड्रोपावरले ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौँ । धितोपत्र बजारमा अधिकांश जलविद्युत् कम्पनीको शेयर ओरालो लागेको बेला ग्रीनलाइफ हाइड्रोपारले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले गराएको रेटिङमा साधारण शेयर बिक्री गर्न मिल्ने गरी आफ्नो स्थान सुरक्षित गरेको छ । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई साधारण शेयर बिक्री गर्न नदिने नियम बनाएको छ । रेटिङ कम्पनीले गर्ने विश्लेषणअनुसार ग्रेड एक प्राप्त गर्ने संस्था अब्बल मानिन्छ भने ग्रेड पाँच प्राप्त गर्ने संस्था आर्थिकरुपमा कमजोर मानिन्छ । केयर नेपालले गरेको रेटिङमा सो कम्पनीको शेयरले ‘केयर नेपाल आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । त्यो भनेको औसत अवस्था भन्ने हो । ग्रीनलाइफ हाइड्रोपारले यसअघि नै आयोजना प्रभावित दोलखा जिल्लावासीलाई साधारण शेयर बिक्री गरिसकेको छ । कम्पनीले आम सर्वसधारणका लागि साधारण शेयर बिक्रीको तयारी गरेको छ । नेपाल धितोपत्र बोर्डमा दिएको आवेदनअनुसार कम्पनीले कूल रु ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्री गर्नेछ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा विओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्दा नबिकेको कूल १६ लाख ९६ हजार कित्तासमेत आम सर्वसाधारणलाई बिक्री गर्ने तयारी छ । कम्पनीले २५ मेगावाट क्षमताको खानी खोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना नदी प्रवाही हो । आयोजनाको कूल लागत रु छ अर्ब ८८ करोड रहेको छ ।