सनराइज बैंकले बुधबारदेखि तीन अर्बकाे ऋणपत्र बिक्री गर्दै, वार्षिक १०.२५ प्रतिशत व्याज निश्चित
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत कम्पनीहरुमध्ये ‘क’ वर्गमा परेको एकमात्र कम्पनी सनराइज बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) जारी गर्ने भएको छ । बैंकले कात्तिक २० गते(भोलि)देखि अंकित मूल्य १००० रुपैयाँको दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । ७ वर्षे अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा पाउने छन् । उनीहरुले ऋणपत्र बाँडाफाँड भएको मितिबाट ६/६ महिनाको अवधिमा व्याज पाउने छन् । यसअनुसार यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले अबको ७ वर्षसम्म पुस र असार महिनामा व्याज भुक्तान लिन पाउने छन् । उक्त ऋणपत्र सार्वजनिक निष्कासन(पब्लिक इस्यू)बाट सर्वसाधारणहरुमा र परिपत्र विधि(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुमा बिक्री गरिने छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ । लगानी गर्न इच्छुकले भोलिदेखि छिटोमा कात्तिक २४ र ढिलोमा मंसिर १९ गतेसम्म आवेदन दिन सक्नेछन् । जसमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम तीन लाख कित्ता आवेदन दिन पाउनेछन् । तर व्यक्तिगत तवरबाट भने न्युनतम २५ कित्तादेखि माथि जति पनि आवेदन गर्न पाउने कम्पनीले जनाएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न केयर रेटिङ नेपालबाट “केयर एनपी ए माइनस” रेटिङ्ग पाएको छ । जसले यस ऋणपत्रमा जोखिम न्युन रहेको भन्ने बुझाउँछ । यस ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत दिन सकिनेछ । बैंकद्धारा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) जनक शर्मा पौड्यालले भने, ‘यसमा लगानी गर्ने लगानीकर्ताले ७ वर्षसम्म निरन्तर उच्च प्रतिफल पाउने छन् । त्यसैले, लगानी गर्न इच्छुकलाई याे निकै राम्रो अवसर रहेको छ ।’ यस बारेमा थप जानकारी दिँदै बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका सीईओ ध्रुव तिमिल्सिनाले कुनै पूर्वनिर्धारित जोखिम नभएको तथा जोखिम मुक्त यस ऋणपत्र बजारमा सजिलै बिक्री हुने विश्वास गरेका छन् । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत् बिक्री हुनेछ । सर्वसाधारणले भने आफ्नो डिम्याट खातासँग लिङ्क भएका जुनसुकै बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोगकर्ताले इन्टरनेट पहुँच भएका जुनसुकै स्थानबाट आवेदन गर्न सक्नेछन् । बैंक खाता नभएका तर लगानी गर्न इच्छुक सर्वसाधारणले देशभर रहेका जुनसुकै बैंकमा खाता तथा डिम्याट खाता खोली सजिलै लगानी गर्न सक्नेछन् । हाल बैंककाे चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४२ एटीएममार्फत सेवा दिँदै आएको छ ।
११७ उद्योग स्थापना गर्न प्रस्ताव, अढाइ दशकपछि स्थापनाको अन्तिम तयारीमा
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा ११७ वटा उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ ।विभिन्न प्रक्रियागत कारणले लामो समयदेखि अल्झिँदै आएको कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको काम स्थानीय सरकारको अग्रसरताले गति पाएको छ । यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्रको काम अगाडि बढाउने क्रममा वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा राय सुझाव दिन सार्वजनिक सूचना जारी गरेको जानकारी दिएका छन् । बेदकोट नगरपालिका २ र ३ को राष्ट्रिय वनको करिब २६९.९३ हेक्टरमा औद्योगिक क्षेत्र स्थापना गरिने भएको हो । “प्रतिवेदनमाथि राय/सुझाव पेश गर्न मन्त्रालयले तीन दिनको समय दिएको छ ।” नगरप्रमुख चन्दले भने, “सुझाव भए स्थानीय तहदेखि मन्त्रालयसम्म दिन सकिन्छ ।” दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भएको अढाइ दशकपछि स्थापनाको अन्तिम तयारीमा पुगेको चन्दको भनाइ छ । औद्योगिक क्षेत्र स्थापनाको काम वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन, विस्तृत परियोजना प्रतिवेदन र विभिन्न कानूनी अड्चनका कारण ढिलाई हुँदै आएको थियो । स्थानीय तहको निर्वाचनपछि बेदकोट नगरपालिकाले औद्योगिक क्षेत्र निर्माणको कामलाई प्राथमिकताका साथ शुरुआतदेखि नै उठान गर्दै आएको छ । “राय÷सुझाव आएपछि सरोकारवाल, विज्ञसहितको टोली बसेर छलफल गरेर अघि बढ्छ ।” चन्दले भने, “त्यसपछि निर्माणको चरणमा प्रवेश हुन्छ ।” औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले प्रस्तावित क्षेत्रमा केही समयअघि सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत आयोजना गरेको थियो । औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि ३६२ आवेदन परेका थिए । दैजी छेला क्षेत्रका स्थानीयवासीले औद्योगिक क्षेत्र स्थापनामा ढिलाई गर्न नहुने भन्दै स्थानीयबासीलाई रोजगारी, स्वास्थ्य सेवा लगायतका सुविधामा ध्यान दिनुपर्ने बताउँदै आएका छन् । रासस
दराजले कात्तिक २५ गते विगेस्ट सेल डे ११ः११ मनाउँदै, डिस्काउण्टको लाभ लिन सकिने
काठमाडौं । विश्व प्रसिद्ध अनलाइन सेलर दराजले कात्तिक २५ गते ‘११ः११’ सेल डे मनाउने भएको छ । अङ्ग्रेजी महिना नोभेम्वर ११ को अवसरमा दराजले (वल्र्ड विगेस्ट अनलाइन सेल डे) मनाउने भएको हो । सेलको अवसरमा दराजले २४ घण्टाको अवधिमा अधिक मात्रामा बिक्री गर्ने जनाएको छ । एक दिनको अवधीमा मात्रै साढे ३ लाख ग्राहकहरुले सेलमा सहभागिता जनाउने कम्पनीको आँकलन छ । यस्तै, सोही अवसरमा अनलाइनबाट समान खरीद गर्दा ग्राहकहरुले डिस्काउण्ट समेत पाउने मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी बताइयो । दराजमा अनलाइन मार्फत सपिङ्ग गर्ने प्रयोजनका लागि ग्राहकहरुले सानिमा, नबिल, नेपाल इन्भेष्टमेण्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कार्ड प्रयोग गर्दा सहुलियत पाउने छन् । दराजले आफ्नो एप मार्फत सामान किन्ने ग्राहकहरुको लागि ११ः११ को अवसरमा छुट दिने जानकारी गराएको हो । दराजद्वारा आयोजित पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पहिले दराज भन्दा मानिसमा केही नकारात्मक सोच समेत रहँदै आएको थियो, तर अहिले सामानको गुणस्तरका कारण ग्राहकहरुको विश्वासमा वृद्धी हुन थालेको बताए । उनले विगतका दिनमा जस्तो सामान किन्न विभिन्न पसल धाउनु पर्ने अवस्थामा कमी भएको र यसमा दराजको समेत योगदान रहेकोमा प्रकाश पारे ।
काठमाडाैंमा ‘मानव र पृथ्वीलाई पोषित गरौं’ भन्ने नारासहित अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौं । पोषण सम्बन्धी चार दिनको अन्तर्राष्ट्रिय कार्यक्रम स्केलिङ अप न्यूट्रिशन मुभमेन्टको सम्मेलन काठमाडौंमा शुरु भएको छ । मानव र पृथ्वीलाई पोषित गरौं भन्ने नाराका साथ विश्वका ६१ देशको सहभागितामा उक्त कार्याक्रम भईरहेको छ । काठमाडौं स्थित होटेल याक एण्ड यतिमा सोमबार साँझ उद्घाटन भएको सो सम्मेलन संयुक्त राष्ट्र संघ र राष्ट्रिय योजना आयोगको सहकार्यमा कात्तिक २१ गतेसम्म हुनेछ । सम्मेलनमा १२ सय जनाको सहभागिता रहेको सो सम्मेलनमा आइभोरीकोष्टका उपराष्ट्रिपति, राष्ट्रिय योजना आयोेजकका उपाध्यक्ष, संयुक्त राष्ट्र संघका उच्च पदाधिकारी तथा कार्यकारी निर्देशक उपस्थिति रहेको थियो । राष्ट्रिय योजना आयोगकी सदस्य डा.उषा झाले विश्व व्यापी रुपमा पोषणलाई विस्तार गरी कुपोषण हटाउनका लागि नेपालले आगामी दिनमा सरकारी, प्रदेश, स्थानिय स्तरमात्र नै जनचेतना तथा विभिन्न गैरसरकारी क्षेत्रसँगको सहकार्यमा काम अगाडी बढाउने बताईन् । पछिल्ला दिनमा सुशासन कायम गर्ने, खानेपानी तथा सरसफाइ, निरक्षरता उन्मुलन, कृषि क्षेत्रमा आधुनिकिकरण भित्रिएसँगै कुपोषणमा कम हुँदै जाने र यसका लागि सरकारी निकाय तथा गैरसरकारी एवंम स्थानिय तहसँगको सहकार्यमा पोषण युक्त राष्ट्रको नेपाल हुने समय नलाग्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रोफेसर डा.पुष्पराज कडेलले बताए । सम्मेलनमा विशेषगरी कुपोषणको अन्त्य कसरी गर्ने भन्ने विषयमा आधारित रहि विश्वभरीका देशहरुले गर्दै आएको महत्वपूर्ण प्रयासको बारेमा छलफल भईरहेको छ । त्यस्तै आगामी वर्ष ‘वृद्धिका लागि पोषण’ टोकिया शिखर सम्मेलन जापानमा आयोजना हुने जानकारी दिएका छन् ।
एनआईसी एशिया र युनियन पे इन्टरनेशनलको सहकार्यमा भर्चुअल कार्डबाट भुक्तानी शुरु
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले युनियन पे इन्टरनेशनलको सहकार्यमा ‘एनआइसी एशिया युनियन पे भर्चुअल कार्ड’को प्रयोगबाट भुक्तानी गर्ने प्रणालीको शुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र युनियन पे इन्टरनेशनका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा कार्य शुरु गरिएको हो । उक्त कार्यक्रममा युनियन पे इन्टरनेशनल र एनआईसी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासंग एकिकृत गरी छिट्टै ग्राहक सामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ । नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त भुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ । युनियन पे इन्टरनेशनलले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे जनाइएको छ ।
होण्डा शाइन एसपिः राम्रो पर्फमेन्स र उत्कृष्ट माइलेज बाहेक के छ खास
काठमाडौँ । १२५ सीसी मोटरसाइकल सेग्मेन्टमा कडा प्रतिद्वन्दीको रुपमा रहेको भएता पनि होण्डा सिबि शाइनले समयको माग अनुसार आफ्नो डिजाइनमा फेरबदल भने ल्याउन सकेको थिएन । यो कुरालाई मध्यनजर गर्दै होण्डाले सिबि शाइनको स्पोर्टियर भर्जन ‘शाइन एसपि’ लाई बजारमा लिएर आएको हो । स्पोर्टी लुक्स, राम्रो पर्फमेन्स, आरामदायक राइडिङ्ग पोजिसनका साथै राम्रो माइलेज पनि दिने भएको कारण थोरै समयमै यस बाइकले बजारमा बलियो पकड जमायो । आज हामी १२५ सीसी सेग्मेन्टको उत्कृष्ट कम्युटर मोटरसाइकल बन्न सफल सोहि होण्डा शाइन एसपिकोकेहि खास पक्षका बारेमा चर्चा गर्नेछौं । लुक्स सिबि शाइन र शाइन एसपिमा देख्न सकिने मुख्य फरक भनेकै शाइन एसपिको स्पोर्टी लुक्स हो । शाइन एसपिको ट्याङ्क श्राउड्स र मोडर्न ग्राफिक्सले गर्दा पुरानो शाइनको तुलनामा यो बाइक एग्रेशिभ देखिन्छ । हेर्दा मिड साइज मोटरसाइकल जस्तो देखिने शाइन एसपिले वास्तवमा नै आकर्षक लुक्स पाएको छ । ब्रेकिङ्ग र सस्पेन्सन शाइन एसपिमा ब्रेकको काम गर्ने भनेको अगाडि तर्फ १३०/२४० मिलिमिटरको डिस्क ब्रेक र पछाडि भने १३० मिलिमिटरको ड्रम ब्रेकले हो । त्यसैगरी यस बाइकको अर्को भेरियन्टमा चाहिँ दुवै चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । विशेषगरी यस बाइकमा सेफ्टी फिचरको रुपमा कम्वाइन्ड ब्रेकिङ्ग सिस्टम (सीबीएस) पनि दिइएको छ जसले कुनै एउटा ब्रेकमा दवाब दिएको खण्डमा अटोमेटिक दुवै ब्रेकमा दवाब सिर्जना गरेर बाइकको ब्रेकिङ्गलाई अझ मजबुत बनाउँछ । त्यसैगरी यस बाइकमा सस्पेन्सनका रुपमा अगाडि टेलिस्कपिक फर्क र पछाडि स्प्रिङ्ग लोडेड हाइड्रोलिक एब्जर्बर्स जडान गरिएको छ । इञ्जिन होण्डा शाइन एसपिमा १२४.७३ सीसी एयर–कुल्ड इञ्जिन दिइएको छ जसले १०.३० पीएसको पावर र १०.३० एनएमकै टर्क पनि प्रोड्युस गर्दछ । त्यसैगरी ५ ओटा गियरहरु रहेको यस बाइकले ६५ केएमपीएलको माइलेज र ९३ केएमपीएचको टप स्पिड पनि प्रदान गर्दछ । शाइन एसपिको एक्जस्ट साउण्ड पनि पुरानो शाइनको तुलनामा ठूलो रहेको छ । टायर होण्डा शाइन एसपिमा अगाडि र पछाडि ८०/१००-१८ का ट्यूवलेस टायरहरु जडान गरिएका छन् । यी टायरहरु बाइकको साइज र वेट हेरिकन ठिकै साइजका हुन भन्न सकिन्छ । त्यसैगरी, शाइन एसपि सिटी राइड र दैनिक प्रयोगको लागि बनाइएको कम्युटर बाइक भएको हुनाले पनि यसमा ठूला टायर दिनु खासै आवश्यक पनि थिएन । नेपालका लागि होण्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले सुरुवाती मूल्य दुई लाख २९ हजार नौ सय रुपैयाँ तोकेर हाल नेपाली बजारमाहोण्डा शाइन एसपिको बिक्री वितरण गर्दै आइरहेको छ ।
डेपुटी गभर्नर श्रेष्ठका विषयमा छानबिन, आरोप र उजुरी जुटाउँदै समिति
काठमाडौं । अनियमितताको आरोपमा निलम्बनमा परेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको छानबिन गर्न गठित समिति आरोप र उजुरीका सहितका अन्य डकुमेन्ट जुटाउन सक्रिय भएको छ । अर्थ मन्त्रालय र राष्ट्र बैंक तथा अन्य निकायमा परेका उजुरी र आरोपका सम्पूर्ण डकुमेन्ट जुटाउने काम गर्न लागिएको समितिका एक सदस्यले बताए । ‘उनले भने– ‘हामी आज डमुमेन्ट जुटाउन लागेका छौं, श्रेष्ठलाई लागेको आरोपका विषयमा सम्पत्ति शुद्धिकरण विभागसँग आवश्यक डकुमेन्ट माग गर्न राष्ट्र बैंकलाई पत्र काट्न भनिएको छ ।’ राष्ट्र बैंकले यो प्रक्रिया अघि बढाइसकेको छ । श्रेष्ठमाथि लागेको आरोपका विषयमा सम्बन्धित निकायसँग छलफल पनि गर्नेछौं,’ ती संचालकले अगाडि भने– ‘आवश्यक कागजात जुटाउन, अध्ययन अनुसन्धान गर्न केही दिन लाग्छ ।’ त्यसको आधारमा अध्ययन प्रतिवेदन तयार भएपछिमात्र उहाँका विषयमा भन्न सकिन्छ ।’ अहिले यस्तो उस्तो भन्न मिल्ने अवस्था छैन । छानविनका क्रममा आरोपित श्रेष्ठसहित अन्य सम्बद्ध व्यक्तिहरूको पनि बयान लिने समितिले बताएको छ । श्रेष्ठलाई पद अनुकूल काम नगरेको, वित्तीय क्षेत्रमा अनुचित गतिविधि गरेको, सम्पत्ति शुद्धीकरण निवारणका लागि गरेको प्रयासको अवमूल्यन गरको आरोप लगाइएको छ । श्रेष्ठमाथि एनसेललाई लाभांश लैजाने प्रक्रियामा सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै विवास्पद व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको आरोप लागेको छ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप पनि उनीमाथि लागेका छन् । साथै बैंक तथा वित्तीय संस्थाहरूको नियमन गर्दा बदनियत राखेको, वैदेशिक भ्रमणमा फर्जी कागज बनाएर तोकिएभन्दा बढी सुविधा लिएकोजस्ता आरोप पनि श्रेष्ठमाथि लगाइएको छ । तिहारअघि मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गरी सिफारिस गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरेको थियो । ‘राष्ट्र बैंक ऐन–२०५८ मा सञ्चालक समितिले छानबिन गरी सिफारिस गर्नुपर्ने, स्पष्टीकरणको मौका दिने र त्यसपछि पदमुक्त गर्न सक्ने प्रावधान छ । त्यसैले अहिले डेपुटी श्रेष्ठलाई निलम्बनमात्रै गरिएको छ । सम्पत्ति शुद्धीकरण विभागका अनुसार १ महिना अघिनै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत थप अनुसन्धान गर्न नेपाल सरकारलाई पत्र पठाएको थियो । सो पत्रपछि अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई छानबिन गर्न पत्र काटेको हो । अर्थ मन्त्रालयको सोही पत्रको आधारमा राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समिति गठन गरी छानबिन अघि बढाएको हो । सम्बन्धित समाचार पनि पढ्नुहोस्ः गभर्नरका आकांक्षीबीच इगो बढ्दै, चिन्तामणि र महाप्रसादको फाइल पनि मिनी संसदमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठमाथि छानबीन गर्ने, सञ्चालक समितिको बैठक आज गभर्नरका यी ७ आकांक्षीः च्यानल मिलाउँदै, शक्ति केन्द्र धाउँदै
राष्ट्रपति भण्डारीबाट सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाइँ (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र शर्मिलाकुमारी पन्त (सुदूरपश्चिम प्रदेश) लाई शपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले सोमबार नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए । यसअघि राष्ट्रपतिबाट मन्त्रिपरिषद्को यही कात्तिक १७ गतेको निर्णयबाट सिफारिश भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ (प्रदेश नं १), रत्नेश्वरलाल कायस्थ (प्रदेश नं २), अनुराधा कोइराला (प्रदेश नं ३), बाबुराम कुवँर (गण्डकी प्रदेश), उमाकान्त झा (प्रदेश नं ५), दुर्गाकेशर खनाल (कर्णाली प्रदेश) र मोहनराज मल्ल (सुदूरपश्चिम प्रदेश) लाई पदमुक्त गरेका थिए । रासस