विकासन्युज

सेवोन अध्यक्ष छनोट गर्न रामकुमार फुँयालको संयोजकत्वमा समिति गठन

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समिति बनेको छ । आयोगका वित्त हेर्ने सदस्यको संयोजनमा राजस्व सचिव शिशिरप्रसाद ढुंगाना र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) अध्यक्ष कृष्णप्रसाद आचार्य रहेको तीन सदस्यीय समिति गठन भएको हो । अर्थ मन्त्रालयले १ महिनाभित्र सेवोनको कार्यकारी अध्यक्ष नियुक्त गर्ने समिति गठन गरेको हो । अब सेवोन नेतृत्वमा जान आकांक्षीहरूले उक्त पदको लागि आवेदन दिन सक्नेछन् । सेवोन हाक्ने दौडमा आधादर्जन आकांक्षी, आईक्यान अध्यक्षदेखि राष्ट्र बैंकका पूर्व ईडीसम्म

एप निर्माण गर्दै दूर सञ्चार प्राधिकरण, फोन गर्दा नसुनिए रिपोर्ट गर्न पाइने

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले ग्राहकलाई फोन गर्दा सन्तुष्टी मिले नमिलेको जानकारी प्राप्त गर्ने एप्लिकेशन निर्माण गर्ने भएको छ । एप निर्माण भएपछि मोबाइल तथा टेलिफोन सेवाग्राहीले आफूले गरेको कलबाट सन्तुष्टी नमिले सहजै रिपोर्ट गर्न पाउने छन् । प्राधिकरणले आफूले गर्ने कलबाट कति सन्तुष्ट लिए भन्ने कुराको जानकारी ग्राहकबाटै प्राप्त गर्ने तयारी स्वरुप यो एप निर्माण योजना अघि बढाएको हो । अहिले फोन गर्दा आमग्राहकहरू फोन काटिएर, नबुझिएर र नेटवर्क बिजी भएका कारण फोन नलागेर हैरान हुने गरेका छन् । नेटवर्कमा सुधार गर्न प्राधिकरणले यस्तो मोबाइल एप्लिकेशन निमार्ण गर्न यो योजना अघि बढाएको प्राधिकरणका अध्यक्ष पुरुर्षोत्तम खनालले जानकारी दिए । समग्रमा नेटवर्क सुधारको लागि उक्त एप निर्माण गर्न लागिएको उनले बताए । अबको ४–५ महिनासम्म उक्त एप तयार भइसक्छ, उनले भने– ‘एक मिनेटमा कति जनाको कल काटिन्छ वा सुनिदैन त्यो ग्राहकलाई थाहा हुँदैन ।’ ग्राहकलाई त आफ्नो फोन काटिएको मात्रै थाहा हुन्छ र उसले तुरुन्त फोन थिचिहाल्छ । यद्यपि यसको वारेमा सेवा प्रदायकलाई भने थाहा हुन्छ । यसको वारेमा सहजै सेवाग्राहीले समेत थाहा पाउने बनाउन एप निर्माण कार्य अघि बढाइएको हो । फोनबाट ग्राहकलाई सन्तुष्ट मिले नमिलेको सन्तुष्टी नाप्ने एप्लिकेशन तयार भएपछि ग्राहकले आफुले गरेको कलमा कुनै समस्या आए वा अन्य अनुभव गरेमा यस विषयमा सिधै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिन सक्ने छन् । आफ्ना ग्राहकलाई सेवा दिन प्राधिकरणले छुट्टै एप्लिकेशन निर्माण प्रक्रियामा लागेको हो । प्राधिकरणले कलको क्वालिटीको जानकारी ग्राहकबाटै लिने तयारी गरेको हो । सेवाग्राहीले आफ्नो मोबाइलमा उक्त एप्लिकेशन डाउनलोड गरेर उक्त एपले गुणस्तरको विषयमा आवश्यक सूचना संकलन गर्नेछ । प्राधिकरणसँग रहेका उपकरणबाट यस्तो जानकारी संकलन गर्न सकिन्छ, त्यो एपले नै स्वतः संकलन गर्नेछ । एपमा गुणस्तरको विषयमा जस्तै प्रश्न सोधिने छ । उत्तर इन्ट्री गरेपछि एपले आफै रेटिङ गर्ने छ ।

म्याक्स मनीले हिमालय बैंकलाई ३४ करोड दिने भयो, २० करोड रुपैयाँ अझै अनिश्चित

काठमाडौं । विप्रेषण कारोबारमा विवाद गर्दै आएका नेपालको हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विवाद सल्टिएको छ । विवादमा परेको ४९ लाख अमेरिकी डलर (करिव ५४ करोड रुपैयाँ)मध्ये म्याक्स मनिले हिमालयन बैंकलाई ३१ लाख अमेरिकी डलर (करिव साढे ३४ करोड रुपैयाँ) भुक्तानी दिने समझदारी भएको छ । मंगलबार मलेसियामा भएको समझदारीमा बैंकका तर्फबाट अशोक राणाले र म्यास मनिको तर्फबाट हमिदविन अब्दुलाहाले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा हिमालयन बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी पनि सहभागि थिए । दुई पक्षबीच अझै विवादमा रहेको १८ लाख अमेरिकी डलर (करिब २० करोड रुपैयाँ) सम्बन्धमा भने स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टबाट गराउने र त्यसको रिर्पोटका आधारमा कारोबार सेटल गर्ने समझदारी भएको म्याक्स मनिका हमिदविन अब्दुलाहाले जानकारी दिए । दुई संस्थाबीच व्यवसायिक कारोबार पुनः शुरु गर्ने समझदारी पनि भएको छ । एक वर्षअघि कारोबारमा विवाद भएपछि हिमालयन बैंकले म्याक्स मनिसँगको कारोबार भंग गरेको थियो । त्यतिमात्र होइन, म्याक्स मनिले हिमालयन बैंकलाई ५४ करोड रुपैयाँ भुक्तानी गर्नु पर्नेमा नगरेको जनाउँदै नेपाल राष्ट्र बैंकले म्याक्स मनिलाई नेपालभर कारोबार बञ्चित गरिदिएको थियो । विवादित रकमको ठूलो हिस्सा सेटल गर्ने र पुनः कारोबार शुचारु गर्ने समझदारीमा स्वीकृति माग गर्ने नेपाल राष्ट्र बैंकलाई पत्र लेख्ने पनि समझदारी भएको छ । दुई संस्थाबीच लेनदेनमा विवाद भएपछि उक्त विवाद केन्द्रिय बैंकसम्म पुगेको थियो । यो विवादमा राष्ट्र बैंकले हिमालयन बैंकको पक्ष लिदै हस्तक्षेपकारी भूमिका खेलेको थियो । राष्ट्र बैंकले मलेसियाको केन्द्रीय बैंकलाई पत्र लेखेर हिमालयन बैंकले पाउनु पर्ने भुक्तानी दिलाईदिन आग्रह गरेको थियो । त्यस्तै, मलेसियाको केन्द्रीय बैंकले पनि म्याक्स मनिलाई विवादित रकम ‘बैंक नागरा मलेसिया’ मा जम्मा गर्न निर्देशन दिएको थियो ।

लाेक सेवा आयोगद्वारा प्रशासनसहित दुई तहकाे प्रविधि परीक्षण मिति सार्वजनिक

काठमाडाैं । लाेक सेवा आयोगले  प्रशासन, सामान्य प्रशासन र लेखाको सूचना प्रविधि परीक्षणको मिति सार्वजनिक गरेकाे छ ।  आयोगले बुधबार तीन तहकाे प्रविधि परिक्षण मिति सार्वजनिक गरेकाे गर्दै लिखित र माैखिक परिक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे । लाेक सेवा आयोगले प्रशासन, सामान्य प्रशासन र लेखा सम्बन्धि परीक्षाकाे  सूचना प्रविधि सीप परीक्षण कार्यक्रम मंसिरमा हुने भएको छ, भने  लिखित परीक्षा गत भदाै  ६,७ र ८ गते परीक्षा लिएकाे थियाे । गत कार्तिक ६, ७, ८ गते चार वटा लोक सेवा कार्यालयबाट जम्मा १३ सय ६२ जनाले परीक्षा दिएका थिए । जसमा पद संख्या ३ सय १७ वटा रहेको थियो । प्रशासन, सामान्य प्रशासन र लेखा सम्बन्धि परीक्षामा लोक सेवा कार्यालय सुर्खेतबाट सबैभन्दा बढी ८ सय ७ जनाले परीक्षा दिएका थिए जस अन्तर्गत खुल्लामा ९४, महिलामा २८, आदीवासी जनजातिमा ३ पद संख्या रहेको छ । अन्तर्वार्ताको छनौट भएको संख्या खुल्लामा सबैभन्दा बढी १३५, महिलामा ५० र आदीवासी जनजातिमा १८ जना रहेका छन् । लोक सेवा आयोग, जुम्लाबाट सबैभन्दा कम संख्या खुला तर्फ २५ महिला १ जनाको माग रहेको उक्त क्षेत्रमा ६० जना लिखित परीक्षा अन्तरवार्ताका लागि ९ जना छनौट भएका छन् । लोक सेवा आयोग, दिपायलमा खुलामा ६३ महिलामा ४ जनाको माग रहेको सो पदमा एक सय ५१ जनाले परीक्षा दिएका थिए, अन्तर्वार्तामा खुला तर्फबाट ६४ र महिलाबाट ७ जना छनोट भएसँग लोक सेवा कार्यालय महेन्द्रनगरबाट दुई सय ६८ जनाले परीक्षा दिएका थिए जसमा ७४ जनाको माग रहको थियो । भने अन्तर्वातामा ५६ जना छानिएका छन् । जिल्ला कार्यालय खोटाङका दुई सय २७ जनाले परीक्षा दिएको सो पदमा खुला तर्फ ७६ र महिला तर्फ २२, आदीबासी जनजातिमा १ जना पद संख्या रहेको थियो भने अन्तर्वार्ता खुलामा ११०, महिला १७, आदीवासी २७ छनोट भएका छन् ।  

करिब ४० करोड लागतमा रुपन्देहीमा आधुनिक दुग्ध प्रशोधन केन्द्र स्थापना हुने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र स्थापना हुने भएको छ । करिब रु ४० करोडको लागतमा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टीकृत सहकारी सङ्घले काम अघि बढाएको हो । असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र परियोजनालाई ‘सोकेश’ मा राखेको थियो । तिलोत्तमा नगरपालिकाले परियोजनका लागि चार बिघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सङ्घले प्रदेश ५ का झण्डै ४०० सहकारीकर्मीबीच अन्र्तक्रिया गरेर दुग्ध प्रशोधन परियोजनाको बारेमा अवधारणा सार्वजनिक गरेको छ । रुपन्देहीसहित प्रदेश नं. ५ का सबै जिल्लामा उत्पादित दूधको बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले दुग्ध प्रशोधन केन्द्रको अवधारणा अघि सारिएको हो । उचित बजारीकरण नहुँदा दूध उत्पादन हुने मुख्य सिजनमा यहाँका किसानले मिल्क होलिडेको समस्या भोग्न बाध्य छन् । यस्तै, लागतअनुसारको मूल्य पनि पाउन सकेका छैनन् । किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्दै दूधको बजार सुनिश्चित गराउन परियोजनाको अवधारणा अघि सारिएको तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले बताएका छन् । तिलोत्तमाले आफ्ना दूध उत्पादक किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान र पशु बीमा रकममा ५० प्रतिशत अनुदान दिँदै आएको छ । यस्तै, पशुको पञ्जिका राख्ने तथा पशुपालन राहत कोष र समूहमा पशुपालन गर्ने महिलालाई बैंक ब्याजमा अनुदान दिने व्यवस्था पनि मिलाएको छ । युएचटी दुग्ध प्रशोधन परियोजना निर्माणमा प्रदेश सरकारले समेत सघाउने जनाएको छ । प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले दुग्ध प्रशोधन परियोजनाको स्थापनाले दूध उत्पादन, प्रशोधन र बिक्री वितरण सहज हुने भएकाले यसमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताए । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ रुपन्देही जिल्ला दुग्ध उत्पादनमा विशिष्ट स्थान हासिल गरेको भन्दै दुग्ध प्रशोधन परियोजना स्थापना भएपछि त्यसको फाइदा किसानले लिन सक्ने बताएका छन् । दुग्ध प्रशोधन परियोजनासम्बन्धी अवधारणा तयार पारेका प्रदेश नं. ५ का पशुपक्षी तथा मत्स्य निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीले सहकारीले नै प्रवद्र्धन गर्ने परियोजना आफैँमा सबैका लागि प्रेरणादायी बन्ने जानकारी दिए। लुम्बिनी विशिष्टीकृत सहकारी सङ्घका अध्यक्ष खगराज शर्माले प्रदेश नं ५ का सहकारीकर्मीको उत्साहले परियोजनालाई गन्तव्यमै पुर्याउने बताए । रासस

विषम सुख्खाका कारण अफ्रिकी मुलुकमा खाद्य असुरक्षा

लुआन्डा । अफ्रिकी मुलुक अंगोलामा विषम सुख्खाका कारण पाँच लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको सामना गर्नुपर्ने देखिएको सरकारले जनाएको छ । अंगोला सरकारका खाद्य सुरक्षासम्बन्धी विभागका प्रमुख अर्मेलिण्डा कालिङ्गेद्वारा मंगलबार जारी विज्ञप्तिमा यस समस्यासँग जुध्न सरकारले नयाँ नीति एवं कार्यक्रम अगाडि सारेको बताइएको छ । कालिङ्गेले दश लाखमध्ये दुई लाखभन्दा बढी मानिस विशेष रुपमा खतरनाक अवस्थामा रहेको जानकारी दिएका छन् । अंगोलाका धेरै प्रान्तमा यस वर्ष लगातारको सुख्खाले बालीनालीमा असर परेको छ । पानीका स्रोतहरु सुक्ने तथा पशुपालनमा समेत ठूलो असर परेकाे सरकारको भनाई छ । रासस

सन्धिखर्ककाे नरपानीमा कार दुर्घटना हुँदा तीनको मृत्यु, दुई घाइते

अर्घाखाँची । सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिएका छन् । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् । रासस

कञ्चन डेभलपमेन्ट बैंकको सीईओमा पुनः बिरुराम जैशी नियुक्त

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरुराम जैशी पुनः नियुक्त भएका छन् । कात्तिक ७ गते बसेको संस्थाकाे सञ्चालक समितिको बैठकले जैशीलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्त गरेको हो । साथै, उनले कम्पनी सचिवको कार्यभार समेत सम्हाल्दै आएका छन् ।