
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले पक्राउ गरेको छ ।
कसुरदाहरु सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेल समेत भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसला पछि दोषी ठहर उनीहरुलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । सञ्जयलाई कात्तिक १७ गते गौशलाबाट र लक्ष्मीदेवीलाई कात्तिक १९ गते वीरगञ्जबाट पक्राउ गरेको हो ।
क्रिस्टल फाइनान्स लिमिटेड थापाथलीबाट २०६७ फागुन २५ गते जग्गा धितो राखी धितो राखेको जग्गा आफुखुशी अस्वभाविक रुपमा मूल्याङ्कन गराई कर्जा लिई दुरुपयोग भन्दा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा दोषी ठहर गर्दै सञ्जलाई १ करोड ९५ लाख २६ हजार जरिवाना तथा ३ वर्ष कैद र लक्ष्मीदेवीलाई ७९ लाख २२ हजार जरिवाना र २ वर्ष कैद सजायको फैसला भएको थियो ।
पक्राउ परेका उनीहरुलाई कारागार चलान गरिएको सीआईबीले जनाएको छ ।