साढे ८ किलोमिटर केबलकार चढ्न १५००, साढे ११ अर्बको पञ्चासे गुरुयोजना यस्तो छ
काठमाडौं । पर्यटन क्षेत्र विकासमा निजी क्षेत्र अघि बढेका छन् । पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले स्याङजा, पर्वत र कास्की जिल्लालाई केन्द्रमा राखेर ११ अर्ब, ३८ करोड ३५ लाख रुपैंयाको महत्वकाक्षी योजना अघि सारेको छ । रोपवेमा आधारित मोनोकेवल डिचेवल प्यासेन्जर, २२५ होमस्टे, ३० वटा कलात्मक होटेल, ७ वटा रिसोर्ट लगायतका पुर्वाधार निर्माण गर्न कम्पनीले काम सुरु गरेको छ । रोपवे पोखराको घाँटी छिया भन्ने स्थानबाट सुरु भई पर्वतको पञ्चासे तालसम्म ८.५ किलोमिटर हुनेछ । रोपवेको बिचमा २ वटा स्टेशन हुनेछ । रोपवे चढ्नका लागि १५ सय रुपैंया तोकिएको कम्पनीले जनाएको छ । साढे ८ किलोमिटर यात्रा आउन जानको लागि १५ सय तोकिएको हो । यसमा यात्रीहरुले ३ सय बराबरको स्थानीय सामाग्री उपहारको रुपमा समेत प्राप्त गर्नेछन् । रोपवे मात्र निर्माण गरेर पर्यटन विकास नहुने कम्पनीको विस्वास रहेको छ । यसको लागि ३ जिल्लाको स्थानीय वासिन्दालाई रोजगारी र प्रत्यक्ष सहभागी गर्न होमस्टे निर्माण गरिनेछ । आयोजना निर्माण गर्नको लागि लगानी बोर्डबाट स्वीकृति लिइसेकेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । तीनै जिल्लाको जग्गा अधिग्रहणको काम सकिसकेको छ । पोखरामा आउने पर्यटकको बसाई लम्ब्याउन आयोजनाले सहयोग गर्ने कम्पनीले विस्वास लिएको छ । नेपालकै सबैभन्दा ठूलो र लामो पञ्चासे केबलकार निर्माण पश्चात १० हजार नेपालीले रोजगारी पाउने अनुमान गरिएको छ । परियोजनाका लागि धेरै गृहकार्य भैसकेको र निर्माणको चरणमा प्रवेश गर्न लागेको लिमिटेडका अध्यक्ष रामचन्द्र बताए । पोखरा क्षेत्रलाई पर्यटनको केन्द्रबिन्दु बनाउँदै बृहत पर्यटकीय गन्तव्य बिस्तार गरी बसाई लम्ब्याउने र स्थानीय आयश्रोत बढाउने उद्देश्यका साथ पञ्चासे केबलकारको परिकल्पना गरिएको कम्पनीका अध्यक्ष शर्माले बताए । पर्यटन क्षेत्रलाई व्यसायिकरण गर्ने कर्पोरेट जोइन्ट भेन्चर कल्चरको प्रवद्र्धन गरेर बृहत पूँजीको निर्माण गर्ने र पूँजीको प्रयोगबाट बृहत्तर परियोजना निर्माण गर्ने तथा सामुहिक आयआर्जन गर्न योगदान पुर्याउने उद्देश्य रहेको अध्यक्ष शर्माको भनाई छ । सबै तहका जनताको लगानी, प्रभावित क्षेत्र पञ्चासे वरपरका साविकका गाविसमा बसोबास गर्ने एकाघरका लागि योगदानमा आधारित १ लाखको शेयर, किस्ताबन्दीमा शेयर संकलन, केबरकार मात्र नभई एकीकृत विकास योजना, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिई त्यसबाट प्राप्त तलबको निश्चित हिस्साबाट शेयर पूँजी संकलन गर्ने कम्पनीले जनाएको छ । ८.५ किलोमिटर लामो पञ्चासे केबलकार एक वर्षभित्रै प्रारम्भ हुने कम्पनीले जनाइएको छ । रोपवे निर्माणको लागि ३ अर्ब र बाँकी रकम अन्य संरचनामा खर्च हुने कम्पनीले जनाएको छ । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत गुरुयोजना सहित अघि बढेको कम्पनीका अध्यक्ष शर्माले बताए । अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र पैदल यात्रा गरी जाने गरेका छन् । पोखरा २३ स्थित घाँटीछिनामा केबलकारको तल्लो स्टेशन र पर्वतको पञ्चासे तालमा माथिल्लो स्टेशन राखिने कम्पनीले जनाएको छ । यसरी उठ्दैछ साढे ११ अर्ब परियोजनाका लागि संस्थागत, व्यक्तिगत र सामूदायिक सेयरमा विभाजन गरिएको छ । कम्पनीको अध्यक्ष शर्माको अनुसार जो सुकै नेपालीले परियोजनामा लगानी गर्न सक्नेछन् । कम्पनीले व्यवसायी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी र समुदायका मानिसहरुलाई संस्थापक सेयर छुट्याइएको छ । सेयर २० प्रतिशत डाउन पेमेन्टमा अग्रिम लिन सकिन्छ । कम्पनीले संस्थापक सेयरका लागि प्रतिकित्ता १ हजार रुपैंया तोकेको छ । न्युनतम १ सय कित्ता सेयर खरिद गर्नुपर्नेछ । यदि कुनै व्यक्तिले न्यनतम सेयर खरिद गर्न चाहेमा १ लाख रुपैंया तिर्नुपर्नेछ ।
बागलुङका १६ विद्यार्थीलाई कर्मभूमि फाउण्डेसनद्वारा छात्रवृत्ति वितरण
बागलुङ। ढोरपाटनमा नगरपालिकामा रहेको कर्मभूमि फाउण्डेसनले १६ जना विद्यार्थीलाई शुक्रबार बिभिन्न विधामा छात्रवृत्ति वितरण गरेको छ। फाउण्डेसनले निसिखोला गाउँपालिकाको वडा नम्बर १ हर्पेमा रहेको अन्नपुर्ण आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो। फाउन्डेसनले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालय पोषाक तथा स्टेसनरी सामान वितरण गरेको कार्यक्रमका फाउण्डेसनका अध्यक्ष कमल भुषालले बताए। उक्त संस्थाले ढोरपाटन नगरपालिकाका विभिन्न विद्यालयको गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्दाइ आईरहेको फाउण्डेसनका सदस्य सारदुल धिमिरेले जानकारी दिए। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव बहादुर बुढाको अध्यक्षता वडा नम्बर १ का वडाध्यक्ष इन्द्र बहादुर मल्लको प्रमूख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक दिनु राम्जालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
ललितपुरको मुख्य सडकमा ‘स्मार्ट’ बत्ती, यात्रु र सवारीसाधन नहुँदा आफैँ निभ्ने
काठमाडौं । ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुन लागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताएका छन् । उनका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो । कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्खो, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको बताए । प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ । अबको एक वर्षभित्रमा महानगरका मुख्य सडक सबैतिर बत्ती जडान भइसक्नेछ योजना रहेको जानकारी दिएका छन् । ‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले बताएको छ । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले भने । महानगरपालिकाका अधिकांश सडकमा बत्ती नहुँदा सवारीचालक र यात्रु हैरान छन् भने रातका समयमा सडक दुर्घटना भइरहेको छ । रासस
भोजपुर टेम्केडाँडाको ‘महभीर झर्ना’आकर्षणको केन्द्र बन्दै
काठमाडौं । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अवस्थिति यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समूह झर्ना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको गाउँपालिको जनाएको छ । गाउँपालिकाले यसको विकास गरेर आयआर्जनको स्रोत सङ्कलन गर्ने लक्ष्यका साथ यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिदिएपछि पर्यटकलाई पुग्न निकै सहज भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । उनीहरूले यहाँ पुगेर भीरमौरीसँगै झरनाको मनोरम दृश्य अवलोकन गर्ने गरेका छन् । यसलाई अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीयको भनाइ छ । स्थानीय शिव राईले भने “यो झर्ना प्रचारप्रसारको अभावले ओझेलमा थियो, तर गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि अहिले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ ।” स्थानीय सरकार सञ्चालनमा आएपछि यसले प्राथमिकता पाएको छ । गाउँपालिकाले करीब रु ६ लाख बजेट विनियोजन गरेर सो क्षेत्रमा पुग्नका लागि पदमार्ग निर्माण गरिदिएपछि अन्तरिक पर्यटकको आगमन बढेको हो । गाउँपालिका अध्यक्ष धु्रवराज राईका अुसार गाउँपालिका पर्यटकीय तवरले निकै राम्रो छ, यहाँका पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागेको छ । यो झर्ना हेर्न आउने पर्यटकका लागि चिया नास्तालगायत कुरा खानाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरेर संरचना निर्माणका काम अगाडि बढाउँने जानकारी दिए । रासस
लगानी सम्मेलनको मुखैमा एनसेल आक्रमण, उद्योगी भन्छन्-‘सवाल एफडीआईकाे होइन, जनजीवनको हो’
काठमाडौं । विदेशी लगानी रहेकाे दुरसञ्चार कम्पनी एनसेल लक्षित आक्रमणले नेपाली लगानीकर्तालाई चिन्तित बनाएकाे छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा परिसंघका प्रतिनिधिहरुले यस्ताे घट्नाकाे कारणा देशमा विदेशी लगानी भित्रन मात्र असर नगरी आन्तरिक लगानीको परिचालनमा समेत असर गर्ने बताएका छन् । उनीहरुले एनसेलको आक्रमणलाई विदेशी लगानी भित्र्याउने सन्दर्भसँग मात्र जोडेर हेर्न नहुने भन्दै यो जनजीवनको सवाल भएको टिप्पणी गरेका हुन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले यस्तो घटनाले वैदेशिक मात्रै नभएर स्वदेशी लगानी परिचालनलाई समेत असर पुर्याउने बताए । ‘यस्तोे घटना उद्योग र लगानीको वातावरण बनाउने वा बिगार्नेसँग मात्र सम्बन्धित छैन, यो जनजीवनसँग जोडिएको विषय हो । यस्ता घटनाले जनताको स्वतन्त्रतापूर्वक तरिकाले बाँच्ने अधिकार खल्बल्याउँछ । यसले औद्योगिक वातावरण र वैदेशिक लगानीको आप्रवाहलाई स्वतः घटाउँछ’ अध्यक्ष शर्माले भने । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले घटनाको भर्सना गर्दै यस्ता घटना हुन नदिन र दोषीलाई कारबाही गर्न माग गरे । उनले पनि घटना जेसुकै उद्देश्यबाट निर्देशित भए पनि यो आपराधिक क्रियाकलाप रहेको भन्दै यसले वैदेशिक लगानी भित्र्याउने मात्रै नभएर स्वदेशकै लगानीकर्ताहरुको मनोबल समेत बिगार्ने टिप्पणी गरे शुक्रबार र शनिबार एनसेलको मुख्यालय लगायत देशका विभिन्न स्थानमा रहेका एनसेल टावरमाथि आक्रमण भएको थियो । आक्रमणले बागलुङ, म्याग्दी, कास्की, नवलपरासी, कपिलवस्तु लगायतमा जिल्लाका विटीएस टावरहरुमा क्षति पुगेको एनसेलले जनाएको छ । एनसेलले यसबाट कतिपय स्थानमा मोबाइल सेवा समेत प्रभावित भएको बताएको छ । कर तिराउन बम आक्रमण : कति विश्वसनीय ? एनसेल आक्रमणसँगै यो घटनालाइ नेकपा (विप्लव) समूहसँग जोडेर हेरिएको छ । खासगरी सो समूहले एनसेललाई कर तिर्दै अदालतको फैसला कार्यान्वयन गराउन सो कार्य गर्दै आएको टिप्पणी गर्न थालिएको हो । विप्लव समूह एक वर्ष अघिदेखि नै एनसेलको विरुद्धमा रहेको थियो । त्यसैले, सोही समूहले नै आक्रमण गराएको अनुमान गरिएको हो । तर यसबारे सुरक्षा निकायका अधिकारीहरुले केही बताएका छैनन् भने घटनाको जिम्मा कसैले पनि लिएको छैन । प्रहरीले घटनामा संलग्न दर्जन भन्दा बढी व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेको बताएको छ । एनसेलको घटना के कारणबाट निर्देशित थियो भन्नेबारे भने उद्योगी र प्रहरी अधिकारीहरुले समेत केही बताउन चाहेनन् । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको भन्दै पूर्वानुमान गर्नु अनुपयुक्त हुने बताएका हुन् । यद्यपि अदालतको आदेश कार्यान्वयन गराउन कुनै अपराधिक समूहले बम विस्फोट गराएको भन्ने विषय तर्कसंगत नहुने उनीहरुले बताए । महानगरीय प्रहरी परिसर काठमाडौंले पनि घटना के कारणले घटाइएको थियो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । सरकारले देशमा राजनीतिक संक्रमणको अन्त्य भएर आर्थिक समृद्धिको युगमा प्रवेश गरेको दाबी गर्दै देशमा पुँजी परिचालन बढाउन वैदेशिक लगानी सम्मेलनको तयारी गरिरहेको छ । यस्तो समयमा विदेशी लगानीको कम्पनीमाथिकै आक्रमणलाई कतिपयले भने लगानी सम्मेलन असफल गराउने नियोजित प्रयासको रुपमा लिएका छन् ।
बायुसेवा निगमको जापान उडान अनिश्चित, हिराचन र याकुजासँगको सम्बन्धमा शंकास्पद
काठमाडौँ । नेपाल वायु सेवा निगमले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति प्रमाण–पत्र (एओसी) पाएपनि अझैसम्म उडान भर्न सकेको छैन । उडानका लागि जापानले सहमति नदिदा उडान अनिश्चित भएको छ । जापानको लागि नेपाल वायुसेवा निगमको जीएसए (जनरल सर्भिस अजेन्ट) नियुक्ती विवादस्पद बनेपछि उडान अनिश्चित बन्दै गएको बताईएको छ । निगमले गैर आवासीय नेपाली संघको पूर्व अध्यक्ष देवमान हिराचनको कम्पनीलाई जीएसए दिन लागेको, तर जापानले यसमा असहमति जनाएको बताईएको छ । हिराचनको विजनेश पार्टनरहरु र जापानको अण्डर वल्र्ड भनेर चिनिने याकुजाबीच सम्बन्ध देखिएको जनाउँदै जापानले हिराचनको कम्पनीलाई जिएसए दिन असहमति जनाएको छ । क्यानबाट जापान उडानका लागि माघ १८ गते अनुमति प्राप्त गरेको हो । निगमले अन्तर्राष्ट्रिय उडान बिस्तारका लागि गृहकार्य गरिरहँदा कन्ट्री म्यानेजरका रुपमा सन्तोष पाण्डेलाई नियुक्त गरी जापान पठाइसकेको छ । उनी करिब २ महिना अघि नै जापान गइसकेका छन् । नेपाल एयरलाइन्सले क्यानबाट अनुमति पाएपछि यही फागुन १५ गतेबाट नै उडान गर्ने भनेको थियो । तर, जापान नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म स्वीकृति दिएको छैन । त्यसकारण नेपाल नागरिक उड्डयन प्राधिकरणले जापानमा कहिलेबाट उडान भर्छ भन्ने अझै निश्चित भएको छैन । नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता नवराज कोइरालाले उडान अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरण जापानमा सबै कागजात बुझाइसकेको बताए । कोइरालाले भने–यही फेब्रुअरी महिना भित्र जापान उडानको अनुमति पाउने संभावना छ । निगमका तर्फबाट बुझाइएको कागजपत्र अहिले जापानले अध्ययन गरिरहेको छ । जापानले थप केही कागज माग्न सक्ने वा कागज सबै पुगेमा अनुमति प्रदान गर्नेछ । उनले भने– जापानबाट अनुमति पाएको १ महिना भित्रै उडान भर्ने निगमको तयारी छ । निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडान गर्नेछ । नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधान अनुरुप क्यानले निगमलाई एओसी दिएको हो । नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढेको छ, अब जापानका तर्फबाट स्वीकृति आउन मात्र बाँकी रहेको सहायक प्रवक्ता कोइरालाले बताए । त्यस्तै, आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यसहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको छ । नेपाल–ग्वान्जाओ सिधा उठान भर्नका लागि चीनमा पनि कर्मचारी व्यवस्थापन भइसकेको छ । चीनका लागि कन्ट्री म्यानेजरका रुपमा सैलेश कंशाकरलाई नियुक्त गरी पठाइएको छ । जापान र चीनका लागि नियुक्त भएका कन्ट्री म्यानेजद्वय पाण्डे र कंशाकारले सम्बन्धित देशका नागरिक त्यहाँको नागरिक उड्डयन प्राधिकरणबाट अनुमतिका लागि संयोजनको काम गरिरहेका छन् । साथै ती देशमा कार्यालय व्यवस्थापन, मार्केटिङ, टिकेटिङ, ट्राभल एजेन्ट नियुक्तिको काम गर्दै आएका छन् । जापान र चीनबाट यात्रु पाउलान् त ? जापानमा नेपालीको वसोबास पनि राम्रै छ, जापानीहरुका लागि पर्यटकीय गन्तव्य पनि हो नेपाल । अहिलेसम्म जापानबाट नेपाल आउनका लागि सिधा उडान एउटा पनि छैन । कि मलेसिया, कि चाइना अथवा थाइल्याण्ड र कोरिया हुँदै नेपाल आउनु पर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थामा नेपाल–ओशाका सिधा उडान भएको खण्डमा यात्रुको कमी नहुने र यो अवसरलाई सदुपयोग गर्न सकिने निगमका सहायक प्रवक्ता कोइरालले बताए । यता, चीनको ग्वान्जाओ उडानका लागि पनि यात्रुको कुनै कमी नहुने उनको भनाई छ । चीन आफैँमा ठूलो देश हो, नेपालीको बसोबास पनि छ । चीनका लागि नेपाल व्यापारिक गन्तव्य पनि हो । अहिले फ्लाइट चार्टर गरेर सामान आइरहेका छन् । ग्वान्जाओबाट चाइना साउथले १ मात्र उडान भर्दै आएको छ । चीनका लागि नेपाल पर्यटकीय गन्तव्यपनि भएका नाताले त्यहाँपनि विमान चलाउन कुनै समस्या नहुने र नेपाल एयरलाइन्स राम्रो चल्यो भने देशलाई पनि राम्रो हुने सहायक प्रवक्ता कोइराला बताउँछन् । कहाँ कहाँ भइरहेको छ अन्तर्राष्ट्रिय उडान ? नेपाल एयरलाइन्सले हाल विभिन्न भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई सहितका ८ गन्तव्यमा उडान भर्दै आएको छ । मलेसियाको क्वालालाम्पुर, हङकङ, बैंकक, दुबई र दोहामा उडान भर्दै आएको छ । निकट भविष्यमै चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको सहायक प्रवक्ता कोइरालाले बताए । नेपाल एयरलाइन्ससँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।
स्पार्क अस्पतालले मनायो २७ औं वार्षिकोत्सब, विभिन्न व्यक्तित्व सम्मानित
काठमाडौं । प्राकृतिक चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालकै पुरानो र ठूलो मध्ये एक स्पार्क अस्पतालले २७ औं वार्षिकोत्सब मनाएको छ । वार्षिकोत्सब कै अवसर पारेर अस्पतालले सोही अस्पताल उपचारपछि निको भएका विरामीहरुको विचार, उनीहरुको भोगाई र उनीहरुको अस्पताल बसाईबारेमा समेटेर तयार पारेको ‘स्पार्कले दिएको नयाँ जीवन’ नामक पुस्तक विमोचन गरेको छ । सोल्टीमोडस्थित अस्पताल प्राङ्गणमा भएको उक्त कार्यक्रममा सोही अस्पतालमा उपचार पछि निको भएका बिरामीहरुलाई अथिति बनाइएको थियो । कार्यक्रममा बोल्दै कलाकार एवं पत्रकार शैलेन्द्र सिंखडाले आफ्नै विरामीलाई अगाडि बढाएर फरक कार्यक्रम गरेको भन्दै प्रशंशा गरे । योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष जनक बस्नेतले प्राकृतिक चिकित्सा पद्दतिबाट अगाडि बढेको अस्पतालले २७ वर्ष पार गर्नु ठूलो उपलब्धि भएको बताए । प्राकृतिक चिकित्सा पद्दतिका अस्पताल आजको दिनमा समेत टिक्ट गाह्रो रहेको उल्लेख गर्दै उनले भने–‘यस्तो अवस्थामा स्पार्क अस्पतालले पाएको सफलता प्रशांशा योग्य छ । यसलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्छ ।’ कार्यक्रमका सभापति तथा अस्पतालको अध्यक्ष टंकनाथ पौडेलले अस्पतालको यो सफलता र यो यात्रा आफ्नो भन्दा पनि सहयात्रीहरुको कारणले सम्भव भएको र विरामीहरुको विश्वास र मायाको कारणले सम्भाव भएको बताए । कार्यक्रममा अस्पतालमा कार्यरत डाक्टर विजय फुँयाललाई नगद पुरस्कारसहित उत्कृष्ट कर्मचारीको पुरस्कार दिईयो । त्यस्तै विगत २६ वर्षदेखि स्पार्क अस्पतलाले सञ्चालन गरेको योग कक्षामा सहभागी भई आएका मोहनचण्डी श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठलाई समेत सम्मान गरियो । पुस्तक विमोचन कार्यक्रमपछि अस्पतालबाट निको भएका विरामी केदार भट्टराईले ३२ दिन अस्पताल बस्दाको क्षण अविस्मरणीय रहेको बताए । ‘प्यारालाईलिस भएर आफू अब जीवनभरका लागि थला परे भन्ने सोचेको थिएँ । तर, अस्पतालले नयाँ जीवन दिएको छ । मैले यस अस्पतालको प्रशंशा शब्दमा गर्न सक्दिन’ उनले भने । वार्षिक उत्सावकै अवसरमा नेपाली स्वस्थ्य क्षेत्रमा अनवर कलम चलाउदै आएका पत्रकार अतुल मिश्रलाई पनि सम्मान गरिएको छ ।
एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवामा सहकार्य
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।