पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने
कास्की । नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ । महासङ्घको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी विधानमा व्यवस्था गरिनु ऐतिहासिक भएको र यसबाट महासङ्घको जीवनमा दूरगामी महत्व रहने महासङ्घले जनाएको छ । विधान अधिवेशनबाट पारित विशेष प्रस्ताव तथा निर्णय सार्वजनिक गर्न आज पोखरामा आयोजित पत्रकार भेटघाटमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सभामा प्रस्तुत विधान संशोधनको मस्यौदा केन्द्रीय समितिमा एकजना महिला उपाध्यक्ष र एक महिला सदस्य थप्ने गरी संशोधनसहित सर्वसम्मतरुपमा पारित भएको बताए । नौ वर्षअघि नेपालगञ्ज, त्यसपछि पोखरा र चितवनमा गरी तीनवटा साधारणसभामा विधान संशोधनको प्रस्ताव सफल नभए पनि यसपटक पोखरामा संशोधन हुनु महासङ्घको इतिहासमा बिरलैमध्येको घटना भएकोे भनाइ अध्यक्ष आचार्यले राखे । उनले भने,“पोखराको यस अधिवेशन ऐतिहासिक र नमूनायोग्य भएको छ । साधारणसभाको मूल भावनाअनुसार विधानमा व्यवस्था हुन्छ । अब महासङ्घ आफ्ना मुद्दामा केन्द्रित रहन्छ ।” महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले प्रत्यक्ष निर्वाचनको व्यवस्थाले महासङ्घलाई लोकतान्त्रिक पद्दतिमा लगेको बताए । महासङ्घका महासचिव रमेश विष्टले विगतमा केन्द्रीय प्रतिनिधिको राजनीतिले महासङ्घलाई कमजोर बनाएको उल्लेख गर्दै सदस्यता शुद्धीकरणमार्फत महासङ्घलाई व्यावसायिक पत्रकारको छाता संस्थाको रुपमा विकास गरिने बताए । स्थानीय व्यवस्थापन समितिका संयोजक एवं महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले केन्द्रले कास्की शाखालाई प्रदान गरेको जिम्मेवारी पूरा गर्न पाउँदा गौरवको अनुभूति भएको बताए । महासङ्घको पोखरा साधारणसभा तथा विधान अधिवेशन विभिन्न १७ बुँदे प्रश्ताव पारित गर्दै शुक्रबार साँझ सम्पन्न भएको थियो ।
मोरङको मधुमल्लामा खुल्यो राष्ट्रिय वाणिज्य बैंकको शाखा
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको मोरङ जिल्लाको मिल्काजुङ्ग गाउँपालिका वडा नम्बर–९ स्थित शाखा कार्यालय मधुमल्लाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१७ पुगेको छ । नेपाल सरकार अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले संयुक्त रुपमा शनिबार एक समारोहका बीच मधुमल्ला शाखाको उद्घाटन गरे । सो समारोहमा प्रमुख अतिथि डा. खरेलले राष्ट्रिय वाणिज्य बैंक देशकै ब्राण्ड एम्बासडर बन्नुपर्ने बताउंदै सरकारी नीति तथा कार्यक्रमलाई थप सघाउ पुर्याउनु पर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता बनाउन बैंकले सहुलियतपूर्ण कर्जा प्राथमिकताका साथ लगानी गरिरहेको बताए । बंैकको प्रदेश नम्बर १ का निमित्त प्रमुख ऋषब भट्टराईको सभापतित्वमा सम्पन्न उक्त समारोहमा मिल्काजुङ्ग गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्य, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्व तिमिला, स्थानीय राजनीतिक दलका प्रतिनीधि, उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा बेदमाया अर्याल न्यौपानेलाई सहुलियतपूर्ण कृषि कर्जा र गणेश दर्जीलाई विपन्नवर्ग कर्जा समेत प्रदान गरिएको थियो ।
बीमा संस्थानको बार्षिकोत्सवः रक्षामन्त्रीले भने- सरकारी स्वामित्वको संस्थान अग्रणी हुनुपर्छ
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान प्रतिष्पर्धात्मक बजारमा अग्रणी हुनु पर्ने बताएका छन् । संस्थानको ५२ औँ वार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन् । उनले भने- संस्थागत विकासमा सरकार एक्लैले भन्दा पनि समस्या भएका पाटोमा समाधान सहितको खाका तयार पार्न सकेमा सफलता हात पार्न सहज हुन्छ । मन्त्री पोखरेलले आगामी दिनमा सरकारी स्वामित्वमा रहेको संस्थालाई अगाडि बढाउन भने हरेक तवरबाट अपटुडेट गराउनु पर्नेमा जोड दिए । राष्ट्रिय बीमा संस्थानका अध्यक्ष धनीराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा राजश्व सचिव लालशंकर घिमिरे, नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी शिवाकोटी र बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संस्थाका सञ्चालक तथा निर्देशक लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले नियामकले गर्नुु पर्ने काम कर्तव्यमा अन्य संस्थाले भन्दापनि सम्बन्धित नियामकले नै कर्तव्य पूरा गर्दा राम्रो हुने बताए । पछिल्लो समय बैंकलाई ब्रोकर लाईसेन्स मात्र नभई बीमामा समेत सहभागी हुने भन्ने सन्दर्भमा बोल्दै उनले भने–‘गलत गरेको ठाउँमा हेर्ने नियामक भएकाले अन्य संस्थाहरुले बैंकले गर्ने बीमाका क्रियाकलापको सन्दर्भमा सबै काम नियम अनुसार नै हुने कुरामा ढुक्क हुन जरुरी छ ।’ कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले भने–‘एक कप चिया खान छोडौँ बीमा गरौं, बीमाका कतिपय प्रिमियम यति सस्तापनि छन्, जो हरेक घरसम्म पुग्ने वातावरण बनाउन हामी लागि परेका छौँ ।’ कार्यक्रममा उपस्थित अर्थ मन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेले प्रतिष्पर्धात्मक बजारमा राष्ट्रिय बीमा संस्थानले आफ्नो अग्रणी स्थान कायम गर्न सक्नु पर्नेमा जोड दिए । साथै, राष्ट्रिय बीमा संस्थानका नव नियुक्त अध्यक्ष धनीराम शर्माले संस्थाको प्रगतिमा मात्रै विकास सम्भव रहने कुरामा जोड दिए । उनले पुराना कर्मचारीको अनुभव र नयाँ कर्मचारीको जोसलाई समिश्रण गर्न अपरिहार्य रहेको बताए । संस्थानका प्रशासक कविप्रसाद पाठकले देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजीको परिचालन गर्दै विदेशी मुद्राको व्ययभार रोक्ने संस्थानको प्रमुख उद्देश्य रहेको बताए । संस्थानको अधिकृत पुँजी ५० करोड र चुक्तापुँजी १८ करोड १० लाख २० हजार रहेको जानकारी दिंदै उनले भने– ‘हाल संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ करिब दुई लाख ९८ हजार बीमित तथा रहेको छन् भने यस बर्षबाट करीब तीन लाख राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा थप गरिएको छ । त्यसैगरी अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानकाकर्मचारीहरुको बीमा समेत संस्थानले गर्दै आएको छ ।’ यसै आर्थिक वर्षको प्रथम अर्धवार्षिकमा चार अर्ब ४१ करोड बीमाशुल्क संकलन गरिएको जानकारी दिंदै उहाँले एक अर्ब ५१ करोड दाबी भुक्तानी गरिएको बताए । २०७५ पुस मसान्तमा संस्थानको जीवन बीमा कोष १९ अर्ब २१ करोड रहेको बताउँदै प्रशासक पाठकले दीर्घकालीन परियोजनाहरुमा लगानी गर्ने प्रयास स्वरुप माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख शेयर पूँजी र दुई अर्ब ऋण लगानी, जलविद्युत लगानी तथा विकाश कम्पनीमा एक अर्ब शेयर लगानी र विद्युत उत्पादन कम्पनीमा छ करोड ६० लाखको संस्थापक शेयर लगानी रहेको जानकारी दिए । सो अवसरमा संस्थानमा उत्कृष्ट काम गर्ने तीन जना अभिकर्ता मनकुमारी निरौला, हरिशरण शिवाकोटी र बद्रीप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियो । विसं २०२४ साल पुस १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रालि) स्थापना भई फागुन ११ गते देखि व्यावसायिक कारोबार शुरु गरी राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अनुरुप २०२५ साल पौष १ गते संस्थानमा परिणत भएको संस्थान शनिबार स्थापनाको ५१ औं वर्ष पारगरी ५२ औं वर्ष प्रवेश गरको छ । स्थापना कालदेखि नै लगातार नाफामा रहेको संस्थानले नेपाल सरकार लगायत संस्थापक शेयरधनीहरुलाई आकर्षक लाभांश र सरकारलाई करको रूपमा समेत करिब ३५ करोड वार्षिक राजस्व बुझाउँदै आएको छ । देशमा बीमा भन्ने बित्तिकै राष्ट्रिय बीमा संस्थान सम्झने स्थितिको निर्माण तथा बीमालाई मेची देखि महाकालीका गाउँ-गाउँ सम्म पुर्याउने ऐतिहासिक अभिभारा बहन गर्दै आइरहेको छ । संस्थानको संस्थापक शेयर धनीको रुपमा नेपाल सरकार, नेपाल राष्ट्र बैँक तथा नेपाल बैक लिमिटेड रहेका छन् । नेपाल सरकार, नेपाल राष्ट्र बैँक तथा नेपाल बैक लिमिटेडको क्रमशः २७.७८ प्रतिशत, ५५.५५ प्रतिशत तथा १६.६७ प्रतिशत रहेको छ । संस्थानको आफ्नो सेयर पूँजी, दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल, बीमाशुल्क, पूनर्बीमा कमिशन नै संस्थानको आर्थिक श्रोतको आधार रहेको छ ।
नेपाल भित्रिने रेमिट्यान्समा अमेरिकाले सबैलाई उछिन्यो, कारण के हो ?
काठमाडौँ । हुन्डीमार्फत् विदेशबाट पैसा पठाउन सरकारले निरुत्साहित गरेपछि पछिल्ला वर्षमा विप्रेषण अर्थात् रेमिट्यान्स नेपाल पठाउने देशको सूचीमा अमेरिका सबैभन्दा माथि परेको अधिकारीहरूले बताएका छन् । यसअघि कतार, साउदी अरेबिया, मलेशिया लगायतका राष्ट्रबाट धेरै रेमिट्यान्स भित्रिने गर्थ्यो भने यसपटक तिनलाई उछिनेर सबैभन्दा माथि अमेरिका आएको हो । चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकाबाट सबैभन्दा धेरै झण्डै ८२ अर्ब रुपैयाँ विप्रेषण आएको सरकारी आँकडाले देखाउँछ । कारण सरकारले यसलाई गैरकानूनी रुपमा भित्रिने पैसालाई निरुत्साहित गर्न सुरु गरेका केही प्रयास सफल भएको रुपमा अर्थ्याएको छ । करिब चार वर्षअघि सबैभन्दा धेरै विप्रेषण पठाउने मुलुकको सूचीमा अमेरिका पाँचौ स्थानमा रहेको थियो । अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षमा भने त्यहाँबाट आउने रकम ह्वात्तै बढेको देखिएको नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका प्रमुख भिष्म ढुङ्गाना बताउँछन् । गत आर्थिक वर्षमा अमेरिकाबाट १ अर्ब ५२ करोड, साउदी अरेबियाबाट ८८ करोड, कतारबाट ७७ करोड अमेरिकी डलर आएको थियो । पछिल्लो ६ महिनामा पनि अमेरिका नै अगाडि छ । यसअघि धेरैजसो हुन्डीजस्ता अनौपचारिक बाटोमार्फत् भित्रने त्यस्तो रकम अचेल कानुनी बाटोबाट धेरै आउन थालेको र सँगसँगै अमेरिकामा नेपाली रेमिट्यान्स कम्पनीका एजेन्टहरू बढ्न थालेको राष्ट्र बैँकका अधिकारीहरु बताउँछन् । विनिमय विभागका प्रमुख ढुङ्गाना थप्छन्, खाडी देशका अर्थतन्त्रमा देखिएका केही आन्तरिक समस्याका कारण पनि त्यहाँबाट विप्रेषण पहिलेजसरी आउन सकिरहेको छैन । परिवर्तन त्यसो त केही समययता नेपाल भित्रिने रेमिट्यान्सको प्रवृत्तिमा समेत परिवर्तन आएको छ । गत आर्थिक वर्षको ६ महिनामा ०.५ प्रतिशतले घटेको रेमिट्यान्स आप्रवाह चालु आर्थिक वर्षको सोही अवधिमा ३०.२ प्रतिशतले वृद्धि भएको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ । यस्तै अघिल्ला वर्षका तुलनामा वैदेशिक रोजगारीका लागि जाने मानिसहरूको संख्यामा कमी आउँदा पनि रेमिट्यान्स आप्रवाह भने बढेको सरकारी आँकडाले देखाउँछ । यसलाई कतिपयले सकारात्मक भनेका छन् तर अर्थशास्त्रीहरू रेमिट्यान्सलाई महत्त्व दिनुभन्दा देशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताउँछन् । (बीबीसीबाट)
धितोपत्र बोर्डले भन्यो-बजार विस्तारमा प्रतिबद्ध छौँ
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई थप परिस्कृत, गुणात्मक र प्रतिस्पर्धी बनाउन आफूहरु क्रियाशील रहेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालका अनुसार सरकारद्वारा गठित मुद्रा तथा पूँजी बजारसम्बन्धी सुझाव समितिको प्रतिवेदनअनुसार बजारसम्बन्धी सुझाव कार्यान्वयनका लागि बोर्डले पहल गरिरहेको छ । धितोपत्र दलाल व्यवसायीलाई गुणात्मक, प्रतिस्पर्धी बनाई बजार विस्तार गर्ने सन्दर्भमा विद्यमान कानूनी व्यवस्था तथा सरकारको निर्देशनबमोजिम व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने काममा बोर्ड प्रतिबद्ध भएर लागेको छ । बैंकको सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायको अनुमतिपत्र दिनेसहितका सुधारका कार्य सम्बन्धित निकायबाट अगाडि बढिरहेको उल्लेख गर्दै बोर्डले सरोकार भएका निकायबीच भ्रम र असमझदारी सिर्जना नहोस् भन्नेतर्फ सजग रहेको उल्लेख गरेको छ । सरोकार भएका सबै निकायसँग समन्वय गरी बोर्डले आफ्ना काम कारवाही गर्ने र बजार विस्तारमा प्रतिबद्ध भएर लाग्ने उल्लेख गरेको छ । धितोपत्र दलाल व्यवसायीले बोर्डले नै धितोपत्र व्यवसायीलाई हतोत्साहित गर्ने काम गरेको भन्दै बिहीबार ज्ञापनपत्र बुझाएका थिए । बोर्डका अध्यक्ष एवं पदाधिकारी तथा धितोपत्र दलला व्यवसायीबीच छलफलसमेत भएको थियो । रासस
प्रधानमन्त्रीले मनाए ६८ औँ जन्मोत्सव, रोपे आँपका विरुवा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उहाँले स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोप्नुभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको अवसरमा अम्बाको बिरुवा रोपिन् । सो अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए । प्रधानमन्त्री ओलीलाई बालुवाटार आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले शुभकामना दिए । प्रधानमन्त्री ओली विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए ।
भृकुटीमण्डपमा खाद्य मेला, कम प्रचलनमा रहेका खाद्यान्नको प्रचार
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घको आयोजनामा शुक्रबारदेखि भृकुटीमण्डपमा ‘खाद्यमेला-२०७५’ शुरु भएको छ । स्थानीयस्तरमा सजिलै उपलब्ध भए पनि कम प्रचलनमा रहेका खाद्यान्नको प्रचारका लागि मेला गरिएको आयोजकले जनाएको छ । मेलाको उद्घाटन कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव युवकध्वज जिसीले गरेका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक उपेन्द्र रायले गहुँ, मकै, कोदोलगायत पोषणका हिसाबले महत्वपूर्ण अन्नबाट बनेका खाद्यान्न प्रदर्शनीमा राखिएको जानकारी दिए । उनले मेलाले कृषक, खाद्य उद्यमी, व्यवसायी र नियामक निकायका बीचमा समन्वय गर्ने विश्वास व्यक्त गरे । काठमाडौँसहित देशका विभिन्न शहरमा उक्त मेलाको आयोजना गरिँदै आएको उनले बताए । स्थनीयस्तरमा उत्पादित अन्न र ती अन्नबाट प्रविधिको प्रयोग गरेर बनाइएका खाद्यान्न तथा त्यसमा प्रयोग हुने उपकरण प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ । मेलामा ४५ कक्ष राखिएका छन् । विभिन्न उद्योगले उत्पादन गरेका खाद्यान्नका १५, खाद्य प्रविधि विषय पढाइ हुने कलेजका २२ र अचार, जाम, पाउरोटीलगायत खाद्यान्न उत्पादन गर्ने साना उद्योगका १८ कक्ष छन् । मेला आइतबारसम्म चल्नेछ ।
श्रीलङ्काको आर्थिक वृद्धि १७ बर्षकै सबैभन्दा कमजोर, २०१९ मा पहिले कै अवस्थामा पुग्ला त ?
कोलम्बो, श्रीलङ्का । श्रीलङ्काको गत बर्षको राजनीतिक सङ्कटका कारण यहाँको अर्थतन्त्रमा विगत १७ बर्ष यताकै कमजोर अवस्थामा पुगेको यहाँको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ । सन् २०१८ का लागि पाँच प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको भएपनि राष्ट्रपति तथा प्रधानमन्त्रीबीचको राजनीतिक छिनाझपटीका कारण मुलुकको अर्थतन्त्रमा व्यापक असर परेको र आर्थिक वृद्धिदर ३.० प्रतिशतमा झरेको श्रीलङ्काका केन्द्रीय बैंकका गभर्नर इन्द्रजीत कूमारास्वामीले बताउनुभयो । राष्ट्रपति मैत्रीपाला सिरीसेनाले प्रधानमन्त्री रनिल विक्रमेसिंघेलाई गत अक्टोबरमा बर्खास्त गरी संसदको विघटन गर्ने निर्णयका कारण श्रीलङ्कामा गत बर्ष केही समय अन्यौल छाएको थियो । यद्यपि सिरिसेनाको कदमलाई बल दिन संसदमा बहुमत नहुँदा विक्रमेसिंघे पुनः प्रधानमन्त्री बनेका थिए । संसदले राष्ट्रपतिको कदमलाई अनुमोदन नगरेपछि श्रीलङ्काको अदालतले डिसेम्बरमा सिरिसेनाको कदमलाई असंबैधानिक तथा गैरकानूनी भन्दै विक्रमासिंघेलाई फिर्ता गर्न आदेश गरेको थियो । वैदेशिक पूँजीको अवस्था गत बर्षको तुलनामा राम्रो बन्दै गएको र राजनीतिक स्थायित्व पनि देखिएकाले सन् २०१९ मा आर्थिक वृद्धिदर पहिलेको अवस्थामा पुग्ने अनुमान रहेको बैंकका गभर्नर कूमारास्वामील बताए । उनले भने, “समग्रमा यो बर्ष हामी राम्रो स्थानमा छौँ ।” उनले थपे, यो बर्ष हुने राष्ट्रपतीय निर्वाचनमा जनतालाई प्रलोभनमा पार्न ल्याइने कार्यक्रमले आर्थिक वृद्धिदरलाई खस्काउन पनि सक्ने अवस्था आउन सक्छ । श्रीलङ्काले वैदेशिक ऋण लिन चाहेपनि यहाँको जटिल अवस्थाका कारण ऋण योजना विफल बनेको थियो । सरकारले सन् २०१६ देखि शुरू भएको तीन बर्षे एक अर्ब ५० करोड अमेरिकी डलरको कर्जा कार्यक्रमलाई व्युताउन वार्ता शुरू गरेपनि अन्तराष्ट्रिय मुद्रा कोषका स्थगित कार्यक्रमहरूलाई ल्याउन श्रीलङ्का प्रयासरत छ । सन् २००१ मा तत्कालिन तमिल विद्रोहीले आधादर्जन श्रीलङ्काको अन्तराष्ट्रिय विमानस्थलमा आक्रमण गरी करिब आधा दर्ज विमानलाई क्षति पुर्याएपछि पर्यटन क्षेत्रमा परेको प्रभावका कारण श्रीलङ्काको आर्थिक वृद्धिदर १.२५ प्रतिशतमा खुम्चिएको थियो । तर तामिल आन्दोलनको अन्त्यसँगै सन् २००९ पछि अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको थियो जुन गत बर्षको राजनीतिक खिचातानीका कारण पुनः खुम्चिएको छ । रासस/एएफपी