भारत र श्रीलङ्काले ३/३ स्वर्ण जित्दा नेपालले १५ वटा स्वर्ण पदक जित्याे, नेपाल सबैभन्दा अगाडि
काठमाडौ ं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म तीन रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ । यस्तै भारत तीन स्वर्ण, आठ रजत र तीन कास्यसहित दोस्रो स्थानमा छ । श्रीलङ्का तीन स्वर्ण, छ रजत र १० कास्यसहित तेस्रो, पाकिस्तान दुई स्वर्ण, तीन रजत र पाँच कस्यसहित चौथो, बङ्गलादेश एक स्वर्ण र १२ कास्यसहित पाँचौँ तथा भुटान एक कास्यसहित पदक तालिकाको छैटौँ स्थानमा छ । माल्दिभ्सले भने अहिलेसम्म कुनै पदक प्राप्त गर्न सकेको छैन । नेपालले आज सम्पन्न खेलमा कराते र तेक्वान्दोमा आफ्नो वर्चश्व जमाएको हो । कराते र तेक्वान्दोमा मात्रै नेपालले १४ स्वर्ण जितेको छ । नेपालले पहिलो दिन कराते र तेक्वान्दोमा सात/सात स्वर्ण जितेको हो । ललितपुरको सातदोबाटोस्थित कराते हलमा आज भएका नौ स्पर्धामा नेपालले सात स्वर्ण र दुई रजत पदक जितेको हो । नेपालका लागि सिनियर पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पा¥यो । पुरुष कुमुतेतर्फ लक्ष्मण तामाङले ५५ किलो तथा विप्लवलाल श्रेष्ठले ८४ किलो तौलमा स्वर्ण जिते । यस्तै महिलातर्फ कुसुम खड्काले ४५ किलोमुनि तथा अनु अधिकारीले ५० किलोमुनि तौलमा स्वर्ण जिते । पुरुष कुमुतेमा दिवश श्रेष्ठ तथा महिला कातामा चन्चला दनुवारले रजत जिते । यसैगरी नेपालले तेक्वान्दोको पुम्से विधातर्फ सात स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको हलमा आज १३ स्वर्णको छिनोफानो भएको थियो । श्रीलङ्काले तीन, भारतले दुई तथा बङ्गलादेशले एक स्वर्ण जित्यो । नेपालका लागि आयशा शाक्यले दुई स्वर्ण दिलाइन् । उनले व्यक्तिगत तथा समूहगत स्पर्धामा स्वर्ण जितेकी हुन् । यस्तै नेपालका लागि पुम्सेतर्फ पार्वती गुरुङ, सीना लिम्बू मादेन र कमल श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला समूह पुम्सेतर्पm १७–२९ उमेर समूह (निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) तथा २३ वर्षमाथिको उमेर समूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जितेको हो । यस्तै कृष्णबहादुर तामाङले रजत तथा अश्मित रावत, सीना मादेन लिम्बू, जितबहादुर बोट, पार्वती गुरुङ, कमल श्रेष्ठ र प्रेमबहादुर लिम्बूले कास्य पदक जिते । यसअघि आजै कास्कीको पोखरामा सम्पन्न ट्रायथलनअन्तर्गत महिला स्प्रिन्ट विधामा नेपालका लागि सोनी गुरुङले स्वर्ण पदक जितेकी थिइन् । सागको पदक तालिका देश स्वर्ण रजत कास्य जम्मा नेपाल १५ ३ ६ २४ भारत ३ ८ ३ १४ श्रीलङ्का ३ ६ १० १९ पाकिस्तान २ ३ ५ १० बङ्गलादेश १ ० १२ १३ भुटान ० ० १ १ माल्दिभ्स ० ० ० ० रासस
पेट्रोल र डिजेलमा मूल्य वृद्धि, पेट्रोलका प्रतिलिटर १०९ र डिजेल ९७ रूपैयाँ
काठमाडाैं । अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ । अब पेट्रोलका प्रतिलिटर १०९ र डिजेल ९७ रूपैयाँ मूल्य कायम भएकाे छ । अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आज सो वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । उनले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर रु २० मूल्यान्तर रहेकामा रु १८ मूल्यान्तर हुने जानकारी दिए । हाल पेट्रोलका प्रतिलिटर रु १०७ र डिजेल ९५ रहेको थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।
टाटा मोटर्सकाे ग्लोबल सर्भिस क्याम्प मंसिर १९ गतेदेखि शुरू, नयाँ कमर्सियल गाडी सार्वजनिक हुने
काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङग प्रा.लि ले आगामी मंसिर १९ गतेदेखि ‘चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९’ को आयोजना गर्दैछ । कम्पनीले ग्राहकलाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्यलाई निरन्तरता दिनका लागि साेही दिनदेखि २१ मंसिरसम्म उक्त क्याम्पको आयोजना गर्न लागेकाे हाे । ग्राहकसम्म पुग्ने यो तीनदिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुँदैछ। यो सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको अवस्थाको जाँच, विशेष योजनाका साथै अन्य सेवाहरू प्राप्त गर्नेछन्। कम्पनीका अनुसार तीन दिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याकलु ब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्टहरू सार्वजनिक गरिने छ। यी अफर र योजनाहरूका साथै ग्राहकहरूका लागि थप रिक्रिएस्नल कार्यक्रमहरूको व्यवस्था गरिएको छ। सिप्रदीले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्साअन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क आँखाजाँचको पनि आयोजना गर्दैछ। सोही क्याम्पमा टाटा मोटर्सका केही नयाँ कमर्सियल गाडीहरू पनि सार्वजनिक हुने कम्पनीले जनाएकाे छ । तीनदिने ग्लोबल सर्भिस क्याम्पमा उपलब्ध आकर्षक सेवाहरू यसप्रकार छन् । – निःशुल्क ४७पोइन्ट्स चेकअप – निःशुल्क कम्प्युटर डाइगनोसिस – निःशुल्कइलेक्ट्रिकल तथा ब्याट्री परीक्षण – निःशुल्कएफआईपी परीक्षण – निःशुल्क टायर परीक्षण – निःशुल्क प्रदूषण जाँच – निःशुल्कलन्च सुविधा – गेम तथा मनोरञ्जनात्मक गतिविधिहरू – दैनिकलक्की ड्र तथा मोबाइलफोन जित्ने मौका – बम्पर लक्की ड्र क्याम्पमा सहभागी हुन ९८०१२२३३०० मा मिस कलदिई आफ्नो गाडी दर्ता गर्न सकिने कम्पनीले जनाएकाे छ ।
गढिमाई मेलाको लागि नेपाल ट्राफिक प्रहरीलाई ज्योति विकास बैंकको सहयोग
काठमाडाैं । ज्योति विकास बैंकद्धारा नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय प्रदेश नं २लाई १५ थान ब्यारियर गेट सहयोग गरेको छ। गढिमाई मेलाको समय हुने श्रद्धालुहरुको भीड व्यवस्थापनको लागि बैंकले नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालयलाई ब्यारियर गेट प्रदान गरेको हाे। प्रदेश नं२ नेपाल ट्राफिक प्रहरीको पथलैया कार्यालयको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका एसपी योगबहादुर पालको उपस्थिति रहेको थियो। गढिमाई मेलालाई लक्षित गरि वितरण गरिएको ब्यारियर गेट प्रदेश नं२ भरिको अन्य कार्यक्रमहरुमा उपयोगी हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएकाे छ । त्यस्तै, यस आर्थिक बर्षभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ।
कामना सेवा विकास बैंकको १०४औँ शाखा ललितपुरको सानागाउँमा
काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकास्थित सानागाउँमा आफ्नो १०४औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राजकुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जानकारी दिएको छ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल १०४ वटा शाखा तथा ५३ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
व्यापारमा पञ्जा फैलाउँदै नेपाल प्रहरी, चितवनमा पनि नयाँ पेट्राेल पम्प खाेल्याे
चितवन । नेपाल प्रहरीले व्यापारमा हात फैलाउँदै भरतपुर महानगरपालिका–२ स्थित बाइपास रोडमा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएकाे छ । नेपाल प्रहरीको कल्याण कोषले पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । कोषका सदस्य–सचिव वरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार जुनियर प्रहरी अधिकृत शिक्षालयसँगै करीब छ कठ्ठा जमिनमा निर्माण गरिएको पम्प गत साताबाट सञ्चालनमा आएको हो । पम्प रु तीन करोड १७ लाख खर्च गरी निर्माण गरिएको हो । पम्पबाट पेट्रोल र डिजल बिक्री वितरण गरिएको छ । तामाङका अनुसार डिजल ४० हजार लिटर र पेट्रोलको भण्डारण क्षमता २० हजार लिटर रहेको छ । दोस्रो चरणमा सो स्थानमा ग्रोसरी, प्रहरी आवासलगायत निर्माण गरिने उहाँले जानकारी दिए । कोषले काठमाडौँको नक्साल, सामाखुसी र पथलैयामा पेट्रोल पम्प सञ्चालन गर्दै आएको छ । पैसा र बन्दुक दुबै शक्तिकाे स्राेत हुन् । त्यसैले बन्दुक र पैसा दुबै एउटै शक्तिमा केन्द्रीत हुन कुनै पनि राज्यकाे लागि खतरा मानिन्छ । तर नेपालमा भने सेना र प्रहरी दुबै निकायलाइ व्यापार र सुरक्षा दुबै काममा सरकारले परिचालन गरेकाे छ ।
बुढीगण्डकी जलविद्युत् आयोजनाले प्रभाव पार्ने क्षेत्रकाे मुआब्जा निर्धारण
काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेकाे बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रको मुआब्जा निर्धारण गरिएकाे छ । लामो समयदेखि निर्धारण हुन नसकेको आयोजनाको प्रभावित क्षेत्रको मुआब्जा गोरखाले आइतबार र धादिङले साेमबार निर्धारण गरेकाे हाे । जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङले कूल २ हजार ८ सय रोपनी क्षेत्रको मुआब्जा निर्धारण गरेको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो आयोजनाको हालसम्म करिब २७ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । चालु आर्थिक वर्षमा आयोजना प्रभावितका लागि मुआब्जा नै वितरणका लागि मात्रै १४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । मुआब्जा वितरण गर्दै जाँदा अपुग भएको खण्डमा थप बजेट उपलब्ध गराउन कुनै समस्या नरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पष्ट पारिसकेको छ । स्थलगत निरिक्षण, स्थानीयबासीसँगको छलफल र यसअघि गठित उपसमितिले दिएको प्रतिवेदनको आधारमा बजार क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार जिल्लाको आरुघाट क्षेत्रको जग्गालाई ९ समूहमा र आर्खेत क्षेत्रको जग्गालाई २ समूहमा वर्गीकरण गरी मूल्य निर्धारण गरिएको आयोजना अन्तर्गतको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना इकाई संयोजक कृष्ण कार्कीले जानकारी दिए ।
सरकारी जग्गा व्यक्तिका नाममा गर्ने ११ जना विरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा गर्ने ११ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले अनाधिकृत रुपमा जग्गा कित्ताकाट गर्ने सुनसरीका तत्कालीन नापी कार्यालयका सर्भेक्षक उपेन्द्र दाससहित सो कार्यमा संलग्न ११ जना विरुद्ध सोमबार काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त मुद्दामा सुनसरी नापी कार्यालयका तत्कालीन सर्भेक्षक उपेन्द्र दास, सर्भेक्षक योगेन्द्रप्रसाद यादव, सर्भेक्षक कपलेश्वर राम, सुर्भेक्षक शुकदेव यादव, जग्गाधनी रमेशकुमार श्रेष्ठ, आसमा खातुन, गैरकर्मचारी रमेशप्रसाद साह तथा हालका जग्गाधनीहरु ऐजुल मंसुरी, विवि सरातुल, अहमद हुसेन र राईफुन खातुन रहेका छन् । अदालतले दायर गरेको मुद्दामा हालका जग्गाधनीहरु ऐजुल मंसुरी, विवि सरातुल, अहमद हुसेन र राईफुन खातुन बाहेक बाँकी ७ जनासँग ६ लाख रुपैयाँ विगो दाबी गरिएको छ । सुनसरीको सरकारी जग्गाको नक्साको धर्सा मेटाई व्यक्ति विशेषको नाममा जग्गा बढ्ने गरी मिसाई भ्रष्टाचार गरेको उजुरी परेपछि आयोगले सो उपर अनुसन्धान गरेको थियो । अनुसन्धानकाे क्रममा सरकारी कर्मचारी तथा गैरसरकारी व्यक्तिहरु एक आपसमा मिलेमतो तथा गैरकानूनी साँठगाँठ गरी नापी कार्यालयमा रहने महत्वपूर्ण फायल नक्साको धर्सोलाई मेटी जग्गाधनीहरुको जग्गाको क्षेत्रफल बढ्ने र सार्वजनिक जग्गा घटाउने गलत कार्यमा संलग्न रहेकाे पाइएकाे हाे । उनीहरूले विभिन्न मितिमा कित्ताकाट गरी जग्गा सुक्रीबिक्री गरी व्यक्तिलाई फाईदा र नेपाल सरकारलाई नोक्सान हुने गैरकानूनी कार्य गरेको भेटिएपछि टंगालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरूद्ध मुद्दा दायर गरेको जनाएकाे छ ।