एनसेल मुख्यालय बिस्फोट घटनाः १ घाइतेको मृत्यु, रुपन्देही, नवलपरासी र कास्कीमा आगजनी(अपडेट)
काठमाडौँ । ललितपुरको नख्खुमा गएराति बम विस्फोट हुँदा घाइते भएका सिंहप्रताप गुरुङको ज्यान गएको छ । नख्खुमा एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि विस्फोट हुँदा घाइते भएका लमजुङको मेलुङ घर भई ललितपुर भैसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको राति साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । विस्फोटमा घाइते भएका ललितपुर महानगरपालिका ४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई अहिले मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धरको मेडिसिटी अस्पतालमै उपचार भैरहेको छ । विस्फोट गराएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । सुरक्षागार्ड गार्डको संलग्नताः प्रहरी यता, नक्खुमा रहेको एनसेल टावरको मूल ढोकामा भएको बम विस्फोटमा उक्त टावरको सुरक्षामा खटिएका गार्डहरूको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न प्रहरी उच्च अधिकारीहरूका अनुसार बम विस्फोट हुनु केही समय पहिले एनसेल टावर अगाडि तीन मोटरसाइकलमा हतियारधारी आएका थिए । उनीहरूले गार्डहरूसँग केही कुरा गरेर निस्किएका थिए । सिसिटिभी फुटेज हेरेका ती प्रहरी अधिकारीका अनुसार हतियारधारी गए लगत्तै सुरक्षा गार्ड भित्र गएर बम ल्याएर विस्फोट गराएका थिए । विस्फोट गराइएको बम प्रेसर कुकर बम भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ती दुवै सुरक्षा गार्ड यसअघि सेनामा काम गरेका व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीले एनसेल टावरको सुरक्षामा खटिएका व्यक्तिहरूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रयोग गरेको हुनसक्ने आशंका गरेको छ । रुपन्देही, नवलपरासी र कास्कीपनि आगजनी यसैबीच, रूपन्देही र नवलपरासीमा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलका टावरमा आगजनी भएको छ । प्रहरीका अनुसार रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी भएको हो । रुपन्देहीका एसपी हृदय थापाले अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको जानकारी दिए । आगजनीले टावरका तार जलेर नष्ट भएका छन् । यस्तै, पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । गएराति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । यसैगरी, पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा पनि आगजनी गरिएको छ । गएराति करीब १० बजेको समयमा आगजनी भएको प्रहरी कार्यालय सिस्वाका डिएसपी मोहनबहादुर खाँडले बताए ।
नेपाल इन्जिनियरिङ कलेज विरुद्धको ६ षडयन्त्र, २ अर्बको सम्पत्ति हत्याउने अध्यक्षको प्रयास
२०५१ सालमा सामाजिक सेवाको भावले सातजना (दीपक भट्टराई, हरिप्रसाद पाण्डे, रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लवराज भट्टराई, लम्वोदर कुमार न्यौपाने र सुर्य बहादुर के.सि.) मिलेर स्थापित नेपाल इन्जिनियरिङ कलेज २०७० साल मंसिर महिनासम्म घोषित गैर नाफा मुलक उद्देष्य अनुसारनै संचालित भयो । २०५१ सालमा चाँगुनारायण गाविसबाट १७४ रोपनी सार्वजनिक जग्गाको भोगाधिकार लिई कलेज चलेपछि संचालन बचतबाट चल(अचल सम्पति जोडेको थियो । २०६० भाद्र मा जिल्ला प्रशासन कार्यलय भक्तपुरमा संस्था दर्ता भई कानूनी रुपमा सामाजिक संस्था भएको कलेजको नाममा अहिले ३६ रोपनी जग्गा र १ लाख वर्गफिट भन्दा बढि भौतिक संरचना छ । अहिले कलेजको नाममा रू. २ अर्बको भौतिक सम्पति, २१० शिक्षक तथा कर्मचारी, २१०० विद्यार्थी, र ७००० पूर्व विद्यार्थीको भविष्य कलेजसंग जोडिएको छ । २०७० मंसिर २३ गते कलेजको अध्यक्ष भए लगत्तै लम्वोदर कुमार न्यौपानेले कलेजको विशाल सम्पति देखेपछि कलेज संचालन गर्नु भन्दा बेच्नुमा नै फाइदा देखे । संस्थापकहरू मध्ये दिपक भट्टराई र हरिप्रसाद पाण्डेले कलेज गैर नाफामुलक रुपमा चल्नु पर्ने मनसाय व्यक्त गरेपछि लम्वोदरले ती दुई जनालाई अलग गर्ने षडयन्त्रमा लागे । षडयन्त्रको पहिलो पाइलाः सबै संस्थापकहरूलाई आफूप्रति अनुग्रिहित बनाउने काम भए । अध्यक्ष भएको दुई महिना नहुँदै २०७० माघ १७ गतेको बैठकबाट संस्थापकहरूलाई मासिक तलवमा झण्डै ५ गुणा वृद्धि गरियो । विजुली, फोन, गाडी, इन्धन, ड्राइभरको सुविधा दिन थालियो । कलेजको पैसाले १.५ करोडको निजी गाडी किन्ने, विमा र आयकर पनि कलेजले तिर्ने निर्णयहरू गरा अध्यक्षले गराए । सोहि बैठकबाट अध्यक्षको तलवमा १४ गुणा वृद्धि भयो । अध्यक्षले वार्षिक १.५ करोड विना विलभर्पाई खर्च गर्न पाउने, विद्यार्थी शुल्क उठाउँदा २.२५ करोड कमिसन पाउने, अध्यक्ष र निजको श्रीमतीलाई अष्ट्रेलिया भ्रमणको खर्च तथा गोप्य बैंक खाता खोल्ने निर्णय भयो र नियमित बैंक खाताबाट गोप्य बैंक खातामा रकम जम्मा गरी कलेजका कर्मचारीहरूबाट आयव्ययको हिसाव लुकाउन सफल भए । षडयन्त्रको दोस्रो पाइला: कलेज किन्न आएका ग्राहकहरू कलेज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको थाहापाई तर्किएपछि लम्वोदरले २०७४ वैशाख २५ गते आफ्नो एकल नाममा नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. दर्ता गरे र सामाजिक संस्था नेपाल इन्जिनियरिङ कलेजको सम्पूर्ण सम्पति प्रा.लि.को हुने बुँदा प्रवन्धपत्रमा हाल्न सफल भए । षडयन्त्रको तेस्रो पाइलाः नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. को नाममाशिक्षा मन्त्रालयबाट मनसायपत्रलिन र सो प्रा.लि.लाई नेपालइन्जिनियरिङ परिषद्बाट नियमनगर्न मन्त्रालयबाट पत्र काट्न लगाउन सफलभए। षडयन्त्रको चौंथो पाइला: पोखरा विश्वविद्यालयबाट प्रा.लि.लाई सम्वन्धन नपाउने भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्वन्ध नलिन प्रकृया शुरु गरी अन्तिम चरणमा पुर्याउन सफल भए । षडयन्त्रको पाँचौं पाइलाः षडयन्त्र विरुद्ध अख्तियार सहित १३ निकायमा २०७४ श्रावणमा उजुरी परेपछि अख्तियारका आयुक्त राजनारायण पाठकलाई (हाल राजिनामा दिइसकेका र पत्रपत्रिका एवं भिडिओ (प्रमाण सार्वजनिक भइसकेको) घुस दिई छानविन प्रकृया १८ महिना सम्म निष्कृय राख्न सफल भए । षडयन्त्रको छैठौंपाइलाः सरोकारवालाको चर्को आन्दोलनबाट दर्ता खारेज भइसकेको प्रा.लि. पुर्न स्थापना गर्ने निर्णय उच्चअदालत पाटनबाट गराउन लगाउन सफल भए। सम्वन्धित व्यक्तिहरूलाई बहस सम्म गर्न दिइएन । यसरी नेपाल इन्जिनियरिङ कलेज बेच्ने षडयन्त्रमा एक पछि अर्को पाइला चाल्न सफल हुँदै आएका लम्वोदर न्यौपानेको पापको घडा भरिए पछि प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ समितिले वृहत छानविनबाट कलेज सामाजिक संस्था भएको निष्कर्स निकाली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दुईवटा कार्यदल गठन गरी समस्या समाधान गर्न निर्देशन दियो । तर हालसम्म पनि मन्त्रालयले संचालन मोडेलको कार्यदल बनाउन आनाकानी गर्दैछ । कलेज बेच्ने लम्वोदरको षडयन्त्र सफल भएमा सामाजिक संस्थाको सम्पति कुनै पनि बेला निजी हुनसक्ने नजीर बस्दछ । सबै नेपालीको साझा सम्पतिको रुपमा रहेको नेपालइ न्जिनियरिङ कलेजलाई षडयन्त्रकारीहरूबाट बचाउने अभिभारा सम्वन्धित सवै सरकारी निकायहरू तथा आम जनताको पनि हो ।
अष्ट्रेलिया सरकारले एआईबिटीका विद्यार्थीलाई सहयोग गर्ने, भिसा मापदण्ड पुरा गर्न कक्षा गईरहन आग्रह
काठमाडौं। अष्ट्रेलिया सरकारले एआईबिटीका विद्यार्थीलाई सहयोग गर्ने बताएको छ। अष्ट्रेलिया सरकारको शिक्षा विभागले भर्खरै सिड्नीको एआईबिटी कलेजको दर्ता खारेज भएर अन्योलमा बसेका विद्यार्थीहरुको लागि सुचना निकाल्दै यस्तो बताएको हो। सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआईबिटी) को दर्ता अस्ट्रेलिया सरकारले खारेज गरेको थियो। कलेजको दर्ता खारेजीसँगै अध्ययनरत सयौं नेपाली विद्यार्थीहरु प्रभावित भएका छन्। सिड्नी र ब्रिसबनमा रहेको उक्त कलेजले विद्यार्थी ल्याउने समयमा अनैतिक व्यावसायिक तरिका अपनाएको भन्दै अस्ट्रेलियाको प्राविधिक शिक्षालाई नियमन गर्ने निकाय अस्ट्रेलियन स्किल क्यावालिटी अथोरिटी (आस्क्वा) ले दर्ता खारेज गरेको हो। सुचना जारी गर्दै अष्ट्रेलियाको शिक्षा विभागले विद्यार्थीहरुलाई हाल संलग्न भईरहेको एआईबिटीबाट आफ्नो नाम नहटाउन भनेको छ।एआईबिटीमा अध्ययन गरिरहेको कोर्स आफुखुसी छोडेमा अष्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसले विद्यार्थीको क्षती बेहोर्ने छैन। विद्यार्थीले भिसा मापदण्ड पूरा गर्न एआईबीटीद्वारा संचालित कुनै प्रकारको कक्षा वा काम आधारित प्रशिक्षणमा भाग लिईरहनु पर्ने सरकारले जनाएको छ। भिसाको मापदण्ड पुरा नगरेको अवस्थामा अष्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसले विद्यार्थीलाई कुनै पनि प्रकारको सहयोग नगर्ने बताएको छ। यदी एआईबिटीद्वारा कक्षाहरु संचालन भईरहेको छैन भने अष्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसलाई सम्पर्क गर्न सुचनामा बताईएको छ। विद्यार्थी कक्षा जान किन आवश्यक छ ? – भिसाको मापदण्ड पुरा गर्नको लागि विद्यार्थीहरु आफ्नो कक्षाहरु लिईराख्नु पर्नेहुन्छ। यदी विद्यार्थीले डिप्लोमा ईन नर्सिङ गर्दै छ भने उसले एआईबिटीबाट संचलित कक्षा र ट्रेनिङ तथा प्लेसमेन्टमा गईरहनु पर्ने छ। के हुन्छ एआईबिटी बन्द भयो भने ? – यदी एआईबीटी बन्द भयो भने, एआईबिटीले विद्यार्थीलाई लागि उपयुक्त बैकल्पिक कोर्समा भर्ना गराईदिनुपर्ने हुन्छ र उक्त कोर्स मिलाईदिन नसके एआईबिटीले विद्यार्थीको खर्च नभएको ट्युसन फि फिर्ता गर्नुपर्ने हुन्छ। – यदी एआईबिटीले सही समयमा यसो नगरेमा अष्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसले उक्त काम गर्ने छ। के हो खर्च नभएको ट्युसन फि ? – खर्च नभएको ट्युसन फि भनेको विद्यार्थीले कलेजलाई बुझाएको पैसा हो, उदाहरणको लागि : यदी कुनै विद्यार्थीले १० हप्ताको कोर्सको लागि १० हजार डलर तिर्छ तर उसको ७ हप्ताको कक्षा मात्र संचालन हुन्छ भने उसले ३०० डलर फिर्ता पाउनुपर्छ।
एनसेलको मुख्य कार्यालयमा बम विस्फोट हुँदा २ जना घाईते, अदालतकाे फैसला अनुसार कर तिर्न दवाव
काठमाडौं । एनसेल नेपाल प्रा.लि.को केन्द्रीय कार्यालयमा बम विस्फोट भएको छ । ललितपुरको नख्खुमा रहेको मुख्यालयमा बम विस्फोट हुँदा कम्तिमा दुई जना घाइते भएका छन् । नेकपा माओवादी बिप्लव समूहले उक्त विष्फाेट गराएकाे अनुमान गरिएकाे छ । ७५ अर्ब रूपैयाँ भन्दा बढी कर सरकारलाई बुझाउनु पर्ने अदालतकाे फैसला कार्यान्वयनमा दवाव दिन उक्त विस्फाेट गराइएकाे हुन सक्ने बताइएकाे छ । काराेबार रकम र नाफाकाे आधारमा एनसेल नेपालकाे सबैभन्दा ठूलाे कम्पनी हाे । साथै याे कम्पनी सबैभन्दा ठूलाे कर विवादमा मुछिएकाे छ । विदेशी लगानीमा चलेकाे तर नियम अनुसार कर नतिरेकाे भन्दै यस कम्पनीमाथि नेपालमा ठूलाे दवाव परिरहेकाे छ । त्यस्तै, काठमाडौंको नक्सालस्थित आगन मिठाई पसलमा पनि प्रेसर कुकर बम भेटिएको महानगरिय परिसर काठमाडौंले जनाएको छ । एनसेलले ७५ अर्ब कर तिर्नुपर्ने, कर छल्न र विदेशी मुद्रा साट्न सघाउने अधिकारीहरुमाथि अनुसन्धान शुरू
बेलायत र अष्ट्रिया सरकारद्वारा नेपाल सरकारकाे तारिफ, प्रधानमन्त्री ओली फुरूङ्ङ
काठमाडौँ । संयुक्त अधिराज्य र अष्ट्रियाले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति वर्तमान सरकारले अघि बढाएका नीति, योजना तथा कार्यक्रमको सराहना गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेकी अष्ट्रियाका विदेशमन्त्री करिन कनिसल तथा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लाबेग्लै भएको शिष्टाचार भेटमा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि गठन भएको अहिलेको सरकारले आर्थिक विकासको मार्गमा नेपाललाई अग्रसर तुल्याउन भएका प्रयत्नको प्रशंसा गरेका छन् । प्रधानमन्त्री र अष्ट्रियाली विदेशमन्त्रीबीच क्षेत्रीय र अन्तरराष्ट्रिय महत्वका मामिलामा पनि विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले राससलाई जानकारी दिए । नेपालमा अष्ट्रियाली लगानी भित्र्याउने तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने विषयमा पनि उहाँहरूबीच छलफल भएको जानकारी दिँदै डा भट्टराईले केबलकारमा अष्ट्रियाली प्रविधि र जलविद्युत् उत्पादनका त्यहाँका उपकरणको प्रधानमन्त्रीले प्रशंसा गर्नुभएको बताए । यसैबीच परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रवार नै साँझ यहाँ आयोजना गरेको ‘नेपाल–अष्ट्रिया साझेदारीका छ दशकः ऊर्जा, क्षेत्रीय तथा अन्तरराष्ट्रिय प्रवृत्ति’ विषयको कार्यक्रममा जलवायु परिवर्तनका प्रतिकूल प्रभाव, त्यसबाट नेपालका हिमताल र हिमनदीमा परेको असर, संस्कृति, सम्पदाको संरक्षण, पर्यापर्यटन, पर्यावरण संरक्षण, वन, वन्यजन्तु तथा तिनको वासस्थानको संरक्षणबारे प्रधानमन्त्री ओलीसँग छलफल भएको बताए । रासस
नयाँ कार्यकारीकाे ‘उदयपुर सिमेन्ट माेडल’ आयल निगममा; एयरपाेर्टमा रिफिलर, ट्याङ्करमा जीपीएस
काठमाडौं । कार्यकारी प्रमुख नियुक्त भएको डेढ महिनापछि नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पत्रकार सम्मेलन गर्दै आफ्ना भावी योजना कामबारे ब्रिफिङ गरेका छन् । उदयपुर सिमेन्टमा प्रयोग गरिएको सुधारको मोडललाई नेपाल आयल निगममा लागु गर्ने बताउँदै कार्यकारी निर्देशक पौडेलले डेढ महिनाको समयावधिमा आफुले निगमलाई बुझेको र केही महत्वपूर्ण कामहरु गरेको दाबी समेत गरे । खासगरी, भारतीय आयल निगमदेखि आफ्नो डिपोसम्म पेट्रोलियम पदार्थको ढुवानी गर्ने १८१७ ओटा ट्याङ्करमा लकिङ सिस्टम जडान गरी ९० प्रतिशत तेल चुहावट रोक्न सफल भएको, ८६ जना कर्मचारी नियुक्त गरी ५० जनालाई तालिमका लागि पठाएको, पेट्रोलियम पदार्थको स्टोरेज क्षमता पेट्रोलमा ५ दिनको लागि र डिजेल १० दिनको लागि धान्नसक्ने बनाउन सफल भएको तथा शाखा कार्यालयहरुमा समेत कर्मचारीको उपस्थिति नियमित गर्न केन्द्रीय कार्यालयहरुबाटै बिदा स्वीकृति गर्ने व्यवस्था समेत गरेको पौडेलले बताए । ढुवानी र कर्मचारी व्यवस्थापनमा ‘उदयपुर सिमेन्ट मोडल’ रुग्ण अवस्थामा पुगेको उदयपुर सिमेन्ट इन्डष्ट्रिजलाई पूर्ण क्षमतामा सञ्चालन गर्दै २ अर्ब बढीको कारोबारबाट वार्षिक २५ करोड भन्दा बढी रुपैंया नाफा गर्ने अवस्थामा पुर्याउन सफल कार्यकारी निर्देशक पौडेलले निगमलाई सोत उदयपुर मोडेलबाटै सञ्चालन गर्ने बताएका थिए । यसो भन्दै गर्दा उनको ध्यान निगमभित्रको अटोमेसनमा थियो । खासगरी पौडेलले उदयपुर सिमेन्टमा उद्योगका लागि आवश्यक चुनढुङ्गा खानीदेखि उद्योगसम्म रोपवेमार्फत् ढुवानी गर्ने व्यवस्था गरेका थिए जसले नाकाबन्दीको समयमा पनि उद्योगले निरन्तर रुपमा उत्पादन गर्दै बजारमा आपुर्ति गर्न सम्भव तुल्याएको थियो भने ट्रकमार्फत् ल्याउने खर्च र लोडअनलोड खर्च समेत घटाएको थियो । नेपाल आयल निगममा पनि पेट्रोलियम पदार्थको ढुवानीमा त्यस्तै ‘अटोमेसन’को प्रयोग गर्ने उनले बताए । ‘बोल्दा पनि लाज मान्नुपर्ने अवस्था छ, भारतमा ३२ हजार किलोमिटर पेट्रोलियम पाइपलाइन विस्तार भइसक्यो, हामी भने भारतले सीमानासम्म ल्याइदिएको पाइपलाइन १० किलोमिटर वर ल्याउन यस्तो हैरानी व्यहोरिरहेका छौं, तर हामी पाइपलाइनमा नगई हुँदैन ।’ कार्यकारी निर्देशक पौडेलले भने । कर्मचारी व्यवस्थापनको सन्दर्भमा पनि ‘अटोमेसन’कै शैली प्रयोग गर्ने तयारी भएको उनले बताए । एउटै ठाउँमा काम गर्दा कर्मचारी ‘मोनोटोनस’ हुनसक्ने भन्दै उनले कर्मचारी सरुवा आवश्यक भएको तर त्यसमा पूर्वाग्रही हुन नदिन अटोमेसन भित्र्याउनुपर्ने बताए । ‘सरुवा ठूलो इस्यु हुनसक्छ, हामी हामी सरुवा गर्नेछौं, तर त्यो फेयर हुन्छ । कुनैपनि कार्यालयमा हाकिमको तजबिज हुने वातावरणको पनि अन्त्य हुन्छ ।’ उनले भने । आयल निगमको पुनर्सरचना कार्यकारी निर्देशक भएको डेढ महिनापछि ‘सार्वजनिक’ भएका कार्यकारी निर्देशक पौडेलले आयल निगमलाई पुनर्सरचना गर्ने जानकारी दिए । त्यसका लागि कार्यकारी निर्देशक, नायब कार्यकारी निर्देशक, प्रवक्ता तथा व्यवस्थापन तहका अन्य कर्मचारी तथा सल्लाहकारहरु समेतको संलग्नतामा ‘रिस्टक्चर सेल’ गठन गर्ने तयारी गरेको समेत बताए । ‘आठौं तह भन्दा माथिका हामी सबै व्यवस्थापनकै साथीहरु हौं, हामीले पूर्वसचिव विमल वाग्लेज्यूलाई कन्सल्टेन्टको रुपमा आमन्त्रण गरेका छौं, उहाँ समेतको सल्लाहमा रिस्ट्रक्चर सेल गठन गर्छौं, त्यसले आवश्यक अध्ययनसहित निगमको पुनर्संरचना गर्छ ।’ टीआइएलाई १७ रिफिलर, भैरहवा एयरपोर्टमा अत्याधुनिक पम्प आयल निगमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १७ ओटा रिफिलर ल्याउने तयारी गरेको छ । हवाइजहाज पार्किङ गरेकै स्थानमा गएर हवाई इन्धन भर्न मिल्ने उक्त रिफिलरमध्ये ३ ओटा आइसकेको, २७ हजार लिटर क्षमताको बाँकी ११ ओटा भारतीय आयल कर्पोरेसनसँग किन्ने सम्झौता गरिएको र बाँकी ३ ओटा पछि किन्ने निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले भने । ‘उत्पादकसँग सोझै नकिनेर किन आइओसीसँग किन्ने भन्ने प्रश्न आउला तर कम परिमाणमा आवश्यक भएकोले सीधै कम्पनीले अर्डर नलिने अवस्था आयो ।’ उनले भने । त्यस्तै निर्माणधिन भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलभित्र अत्याधुनिक हवाई पम्प बनाउने योजना समेत रहेको भट्टराईले बताए । त्यसका लागि क्यानसँग ७ बिघा जग्गा लिने सहमति भई आयल निगमको बोर्डबाट त्यो सहमति स्वीकृत गरिसकेको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डले भने त्यसलाई स्वीकृत गर्न बाँकी छ । कार्यालयमा नागरिक बडापत्र, ट्याङ्करमा जीपीएस पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक पौडेलले नेपाल आयल निगमको बडापत्र पुरानो शैलीको भएको भन्दै आम सेवाग्राहीले बुझिने ढंगबाट नागरिक वडापत्र बनाउने आवश्यकता रहेको बताउँदै त्यो वडापत्रमा कुन काम कति समयभित्र हुने र नभए गर्ने गुनासो र कारबाहीको सम्बन्धमा स्पष्ठरुपमा उल्लेख गरेर काम गर्ने बताए । त्यस्तै नेपाल आयल निगमका ट्याङ्करहरुलाई बाटोमा कुर्नुपर्ने अवस्था नबनाउन अन्त्य गर्न ढुवानीको सेड्युल बनाउने तथा ट्याङ्करको अवस्थाबारे बुझ्न प्रत्येक ट्याङ्करमा जीपीएस प्रविधि जडान गरि ट्राकिङ गर्ने योजना समेत रहेको जानकारी दिए ।
७५ हजार घुस सहित भीमफेदी कारागारका जेलर पक्राउ
हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले नगद घुस लिएको आरोपमा भीमफेदी कारागारका जेलरलाई पक्राउ गरेको छ । क्षेत्रीय कारागार भीमफेदीका जेलर मदन अधिकारी ७५ हजार घुस रकमसहित पक्राउ परेको अख्तियार हेटौँडाका उपसचिव देवकुमार राईले जानकारी दिए । राईका अनुसार जेलर अधिकारीले कैदीका चौकीदार डेनियल लामासँग रकम माग गरेको र रकम नदिए अन्यत्र जेलमा सरुवा गरिदिने धम्की दिएकाले चौकीदार लामा रकम दिएर सरुवा रोक्न तयार भएका थिए । चौकीदारका आफन्तले अख्तियारलाई खबर गरेपछि अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडाबाट प्रहरी नायब उपरीक्षक केशव भट्टराईसहितको टोली कारागार पुगेको थियो । कारागारसँगैको जेलर निवासबाट घुस लिँदालिँदै अधिकारीलाई पक्राउ गरीएको उपसचिव राईले जानकारी दिए ।
सिद्धार्थ बैंकको थप शाखा देवघाटमा, संख्या १३६ पुग्यो
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो थप नयाँ शाखा दिनतनहुँ स्थित देवघाटमा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रुपमा गरेको हुन् । बैंकले हाल देशभर १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५० एटीएम र १,२०० भन्दा बढी पीओएस् मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।