विकासन्युज

कियाको सेल्टोस मिड-एसयुभी कार सार्वजनिक, सुरुवाती मूल्य ५० लाख

काठमाडौं । किया गाडीको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भारतीय प्लान्टमा उत्पादित किया मिड–एसयुभी सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ । शुक्रबारदेखि नेपाली बजारमा कार बिक्री वितरणका सुरु भएको छ । नाडा अटो शोमा सार्वजनिक गरिएको सो कार २ सयभन्दा धेरै बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको हो । एसयुभी अन्तर्गत रहेको यो गाडीको सुरूवाती मूल्य ४९ लाख ९० हजार रूपैयाँ र अधिकतम मूल्य करिब ८० लाख रूपैयाँ रहेको कम्पनीले जनाएको छ । गाडीको ब्रेकिङ हर्स पावर क्षमता एक सय ३८ रहेको कम्पनीले जनाएको छ । म्यानुअल र अटोमेटीङ ट्रान्समिसनयुक्त गाडीमा प्रतिलिटर २०.८ किलोमिटर माइलेज क्षमता रहेको छ । १५ सय सिसीको रहेको छ । सेल्टोस पेट्रोल र डिजल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो गाडीमा तेस्रो संस्करण भारत स्टेज सिक्स एमिसन अन्तर्गत इन्जिन जडान गरिएको छ । गाडीमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । ग्राहकले एप्पल कारप्ले, एण्ड्रोइड अटो, मुड लाइटिङ सहितको आठ वटा बोस स्पिकर, एम्वियन्ट लाइटिङ र वायरलेस फोन चार्जिङको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । नर्मल, इको र स्पोर्ट लगायत तीनवटा ड्राइभिङ मोडयुक्त गाडी हिलो र हिउँ भएको सडकमा पनि सहजै गुड्न सक्ने कम्पनीको दाबी छ । हुण्डाईको क्रेटा, भेनु, टाटाको ह्यारियर, एमजी हेक्टर, जिप कम्पास लगायत एसयुभीसँग सेल्टसले अटो बजारमा प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।

साना उद्योगमा ऋणः सरकार अनुदान दिने, बैंक धेरै व्याज लिने

काठमाडौं । सरकारले साना तथा मझौला व्यवसाय (एसएमई) गर्न ऋण लिदाँ अनुदान दिने व्यवस्था मिलाएको छ । तर, बैंकहरुले भने एसएमई ऋणको व्याज नै उच्च राखेका छन् । बैंकहरुले प्रकाशित गरेको ऋणको व्याजदरले यस्तो देखाएको छ । बैंकहरुले अन्य व्यवसायको तुलनामा एसएमई ऋणको व्याज धेरै राखेका छन् । नेपाल बैंक नेपाल बैंकले सजिलो व्यवसाय कर्जा शिर्षकमा आधार दर (बेस रेट) मा ३.१९ प्रतिशतसम्म थपेर व्याज लिने गरेको छ । नेपाल बैंकको आधार दर ७.८४ प्रतिशत छ । यस्तो आधार दरमा ३.१९ प्रतिशत प्रिमियम थप गर्दा सजिलो व्यवसाय कर्जा लिन ११ प्रतिशतभन्दा बढी व्याज पर्छ । यस्तै, नेपाल बैंकबाट समृद्ध व्यवसाय कर्जा लिदाँ आधार दरमा २ देखि ३.६६ प्रतिशतसम्म प्रिमियम थप गर्नुपर्छ । नेपाल बैंकले सरकारले तोकेअनुसार नै व्याज अनुदान प्रदान गरिने कर्जामा २ प्रतिशत प्रिमियम लिने भनेको छ । कृषि विकास बैंक कृषि क्षेत्रको विकास गर्न स्थापना भएको भनिएको कृषि विकास बैंकले कृषि ऋणमा आधार दरमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । कृषि विकास बैंकको आधार दर १०.१८ प्रतिशत छ । यो आधार दर अनुसार कृषि विकास बैंकबाट कृषि उत्पादन गर्न ऋण लिदा १३.१८ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । नविल बैंक नविल बैंकले प्रकाशित गरेको व्याजदर अनुसार सरकारले प्राथमिकता तोकेको विपन्न वर्ग कर्जामा आधार दरमा ५ प्रतिशतसम्म प्रिमिय थप लिने गरेको छ । नविलको आधार दर ७.८४ प्रतिशत छ । सो आधार दरमा ५ प्रतिशत प्रिमिय थप गर्दा विपन्न वर्ग कर्जाको व्याजदर १२.८४ प्रतिशतसम्म हुन्छ । नविल बैंकबाट द्रुत सेवामार्फत एसएमई कर्जा लिने हो भने आधार दरमा ३.५६ प्रतिशतसम्म प्रिमियम थप तिर्नुपर्ने हुन्छ । यसो गर्दा नविलबाट द्रुत सेवामार्फत एसएमई कर्जा लिदाँ ११.४ प्रतिशतसम्म हुन्छ । नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले विपन्न वर्ग कर्जामा आधार दरमा ४ प्रतिशतसम्म र कृषि तथा पशुपंक्षी पालन कर्जामा साढे ४ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । इन्भेष्टमेन्ट बैंकको आधार दर ८.४८ प्रतिशत छ । यो आधार दरमा साढे ४ प्रतिशत प्रिमियम थप गर्दा १३ प्रतिशतको हाराहारीमा व्याज दर पुग्छ । हिमालयन बैंक हिमालयन बैंकले व्यक्तिगत साना व्यवसाय कर्जामा आधार दरमा ५.५ प्रतिशत प्रिमियम थप गरेर ऋण दिने सूचना सार्वजनिक गरेको छ । हिमालयनको आधार दर ८.९३ प्रतिशत छ । यो आधार दरमा साढे ५ प्रतिशत प्रिमिय थप गर्दा हिमालयन बैंकबाट व्यक्तिगत साना व्यवसाय कर्जा लिदा १४ प्रतिशतभन्दा बढी व्याज तिर्नुपर्छ । यस्तै, हिमालयन बैंकले विपन्न वर्गलाई ऋण दिँदा आधार दरमा साढे ५ प्रतिशत नै प्रिमियम थप गर्ने भनेको छ । नेपाल एसबीआई बैंक नेपाल एसबीआई बैंकले विपन्न वर्ग र एसएमई कर्जामा आधार दरमा ५.५ प्रतिशतसम्म प्रिमिय थप गरेर व्याज लिन्छु भनेको छ । एसबीआई बैंकको आधार दर ९.९४ प्रतिशत छ । यो प्रिमियम दर अनुसार नेपाल एसबीआई बैंकबाट विपन्न वर्ग र एसएमई कर्जा लिदाँ १५.४४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । नेपाल बंगलादेश बैंक नेपाल बंगलादेश बैंकले विपन्न वर्ग कर्जामा आधार दरमा ४ प्रतिशतसम्म र कृषि उत्पादनको लागि दिने ऋणमा ३ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याज लिने घोषणा गरेको छ । बैंकको आधार दर ९.८७ प्रतिशत छ । बैंकको आधार दरमा उसले लिने प्रिमियम जोड्दा नेपाल बंगलादेश बैंकबाट विपन्न वर्ग कर्जा लिदाँ करिब १४ प्रतिशत र कृषि उत्पादन गर्नको लागि ऋण लिदाँ करिब १३ प्रतिशत व्याज तिर्नुपर्छ । एभरेष्ट बैंक एभरेष्ट बैंकले विपन्न वर्ग कर्जा दिदा आफ्नो आधार दरमा ७.२५ प्रतिशतसम्म र कृषि कर्जामा ६.५ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याज लिने भनेको छ । एभरेष्ट बैंकको आधार दर ८.४९ प्रतिशत छ । बैंकले लिने भनेको प्रिमियम र उसको आधार दर समायोजन गर्दा एभरेष्ट बैंकबाट विपन्न वर्ग र कृषि कर्जा लिदाँ क्रमशः १५.७४ प्रतिशत र १४.९९ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । कुमारी बैंक कुमारी बैंकले विपन्न वर्ग कर्जा दिदाँ आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याज लिने भनेको छ । कुमारी बैंकको आधार दर १०.६२ प्रतिशत छ । कुमारी बैंकबाट विपन्न वर्ग कर्जा लिदाँ १६.६२ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । लक्ष्मी बैंक लक्ष्मी बैंकबाट एसएमई र साना व्यवसायी कर्जा लिदाँ आधार दरको ६ प्रतिशतसम्म प्रिमियम थप गर्नुपर्ने बैंकले जनाएको छ । लक्ष्मीको आधार दर १०.२४ प्रतिशत छ । बैंकको आधार दरमा उसले लिने भनेको प्रिमियम जोडेर व्याज तिर्दा लक्ष्मी बैंकबाट एसएमई र साना व्यवसायी कर्जा लिदा १६.२४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । सिटिजन्स बैंक इन्टरनेसनल सिटिजन्स बैंकले एसएमई कर्जामा आधार दरमा साढे ४ प्रतिशतसम्म प्रिमियम लिन्छु भनेको छ । विपन्न वर्ग कर्जामा पनि ४ प्रतिशतसम्म नै प्रिमियम लिने भनेको छ । सिटिजन्स बैंकको आधार दर १०.४४ प्रतिशत छ । यो आधार दरमा उसले लिन्छु भनेको प्रिमियम थप गर्दा सिटिजन्स बैंकबाट विपन्न वर्ग र एसएमई कर्जा लिदाँ १४.४४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । प्राइम कमर्शियल बैंक प्राइम बैंकले विपन्न वर्गमा आधार दरमा साढे ६ प्रतिशतसम्म र कृषि कर्जामा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । प्राइमको आधार दर ९.६७ प्रतिशत छ । यो आधार दरमा साढे ६ प्रतिशत प्रिमियम जोड्दा विपन्न वर्ग कर्जा लिने व्यक्तिले १६.१७ प्रतिशत र कृषि कर्जामा १५.६७ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । सनराइज बैंक सनराइज बैंकले विपन्न वर्ग र कृषि कर्जा दिदाँ आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर लिने भनेको छ । बैंकको आधार दर ९.९७ प्रतिशत छ । सनराइज बैंकबाट विपन्न वर्ग र कृषि कर्जा लिदा करिब १६ प्रतिशत व्याज दिनुपर्नेछ । सेन्चुरी बैंक सेन्चुरी बैंकले कृषि कर्जामा आधार दरमा ३.५ प्रतिशत प्रिमियम लिने भनेको छ । बैंकको आधार दर १०.४५ प्रतिशत छ । सेन्चुरीले आधार दरमा लिने प्रिमियम थप गर्दा सो बैंकबाट कृषि कर्जा लिनेले करिब १४ प्रतिशत व्याज तिर्नुपर्छ । यस्तै, विपन्न वर्ग कर्जामा भने बढीमा १५.५ प्रतिशतसम्म व्याज तिर्नुपर्ने बैंकले जनाएको छ । सानिमा बैंक सानिमा बैंकले प्रायः सबै प्रकारका कर्जामा आधार दरमा ६ प्रतिशत प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.२२ प्रतिशत छ । सानिमा बैंकबाट विपन्न वर्ग वा कृषि कर्जा लिदाँ आधार दरमा ६ प्रतिशत थप गरी १५.२२ प्रतिशतसम्म व्याज तिर्नुपर्ने हुन्छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले एसएमई कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर १०.५६ प्रतिशत छ । माछापुच्छ्रे बैंकबाट एसएमई कर्जा लिनेले बैंकको आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गर्दा साढे १६ प्रतिशतसभन्दा बढी व्याज तिर्नुपर्छ । एनआईसी एसिया बैंक एनआईसी एसिया बैंकले एसएमई कर्जामा आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । यस्तै विपन्न वर्ग कर्जामा पनि ७ प्रतिशत नै प्रिमियम लिने भनिएको छ । एनआईसी एसिया बैंकको आधार दर ९.५२ प्रतिशत छ । यो आधार दरमा बैंकले लिने ७ प्रतिशत प्रिमियम जोड्दा एनआईसी एसिया बैंकबाट विपन्न वर्ग र एसएमई कर्जा लिनेले १६.५२ प्रतिशतसम्म व्याज तिर्नुपर्ने हुन्छ । ग्लोबल आइएमई बैंक ग्लोबल आईएमई बैंकले कृषि, एसएमई र विपन्न वर्ग कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.४४ प्रतिशत छ । यो आधार दरमा ६ प्रतिशत प्रिमियम जोड्दा ग्लोबल आईएमई बैंकबाट एसएमई, कृषि, विपन्न वर्ग जस्ता कर्जा लिदाँ १५.४४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । एनएमबि बैंक एनएमबि बैंकले एसएमई र कृषि कर्जामा आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.९९ प्रतिशत छ । बैंकले प्रकाशित गरेको आधार दरमा प्रिमियम थप गर्दा एनएमबी बैंकबाट कृषि र एसएमई कर्जा लिनेले १६.९९ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । प्रभु बैंक प्रभु बैंकले एसएमई कर्जामा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.२४ प्रतिशत छ । यो आधार दरमा ५ प्रतिशत प्रिमियम थप गर्दा प्रभु बैंकबाट एसएमई कर्जा लिनेले १४.२४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । सिद्धार्थ बैंक सिद्धार्थ बैंकले विपन्न वर्ग कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर १०.०२ प्रतिशत छ । सिद्धार्थ बैंकबाट विपन्न वर्ग कर्जा लिनेले १६ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । बैंक अफ काठमाडू बैंक अफ काठमाडूले साना व्यवसाय र कृषि व्यवसाय कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.९९ प्रतिशत छ । बैंकले प्रकाशित गरेको सूचनाअनुसार बैंक अफ काठमाडूबाट साना व्यवसाय वा कृषि व्यवसाय गर्न कर्जा लिने व्यक्तिले करिब १६ प्रतिशत व्याज तिर्नुपर्छ । सिभिल बैंक सिभिल बैंकले एसएमई कर्जामा आधार दरमा ५.५ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । यस्तै, विपन्न वर्ग कर्जामा ३ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर १०.९७ प्रतिशत छ । यो आधार दरमा बैंकले लिने प्रिमियम थप गर्दा सिभिलबाट एसएमई कर्जा लिदाँ साढे १६ प्रतिशतभन्दा माथि हुन्छ । एनसीसी बैंक एनसीसी बैंकबाट विपन्न वर्ग कर्जा लिदा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपिन्छ । यस्तै, कृषि तथा लघु उद्यम कर्जा पनि ५ प्रतिशत नै प्रिमियम छ । बैंकको आधार दर १०.७७ प्रतिशत छ । बैंकको आधार दरमा प्रिमियम थप गर्दा एनसीसी बैंकबाट कृषि तथा लघु उद्यम वा विपन्न वर्ग कर्जा लिदाँ १५.७७ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । राष्ट्रिय वाणिज्य बैंक सरकारको करिब शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकबाट सरकारले तोकेको प्राथमिकता प्राप्त क्षेत्र र विपन्न वर्ग कर्जामा आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्छ । यस्तै, कृषि कर्जामा ३.३ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्छ । बैंकको आधार दर ६.६ प्रतिशत छ । यो आधार दरमा बैंकको प्रिमियम थप गर्दा राष्ट्रिय वाणिज्य बैंकबाट प्राथमिकता प्राप्त क्षेत्र र विपन्न वर्ग कर्जा लिदाँ १०.६ प्रतिशत व्याज तिर्नुपर्छ । यस्तै कृषि कर्जा लिदाँ करिब १० प्रतिशत व्याज तिर्नुपर्छ । मेगा बैंक मेगा बैंकले विपन्न वर्ग कर्जा र लघु कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम राखेको छ । बैंकको आधार दर १०.१९ प्रतिशत छ । यो आधार दरमा बैंकले लिने प्रिमियम थप्दा मेगा बैंकबाट विपन्न वर्ग र लघु कर्जा लिदाँ १६.१९ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । (बैंकहरुले प्रकाशित गरेको आधार दर र प्रिमियमका आधार व्याज दर निकालिएको हो । यो प्रिमियम दर बैंकहरुले प्रकाशित गरेको अधिकतम दर हो । यो दरमा वार्गेनिङ गर्ने हो भने बैंकहरुले घटाउँछन् । त्यसैले ऋण लिन जाँदा बैंकले भनेको आधार दरमा कम गर्न अनुरोध गर्नुहोस् ।)

युनाईटेड फाईनान्सको २३औं शाखा काठमाण्डौंको गोठाटारमा

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले काठमाण्डौंको गोठाटारमा आफ्नो २३औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष श्री ससन्त कुमार चौघरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्ण हरी थापाबाट भएको हो । फाईनान्स सेवा संचालनको २५ औं वर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ । फाइनान्सले २०७६ असोज मसान्त सम्म करिव ६ अर्ब ७० करोड निक्षेप तथा ६ अरव १४ करोड कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत वोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ ।

जुम्ली स्याउले पाएन मूल्य, करोडौँको लगानी जाेखिममा

सिञ्चा । जुम्ली  स्याउले मूल्य नपाउँदा करोडौँको लगानी बालुवामा पानी भएको  छ । विचौलियाका कारण वास्तविक किसान ठगिएका छन्।  स्याउका लागि प्रसिद्ध जुम्लाकै कृषक स्याउ खेतीमा हतोत्साहित भएका र किसानले बोटबाट स्याउ टिपेर बिक्रीका लागि भौँतारिनुपरेको बताउँछन् । स्याउ सुपरजोन जुम्लाले आयोजना गरेको बजार प्रवद्र्धन तथा अन्तक्र्रिया गोष्ठीमा सहभागी अधिकांश किसानले स्याउले बजार मूल्य नपाएको गुनासो गरेका छन्  । यस वर्ष प्रतिकिलो स्याउको रु ३५ देखि ५० मूल्य पाउन पनि मुस्किल परेको कृषकको भनाइ छ । जुम्लाको स्याउको नाममा बाहिर जिल्लाको स्याउले मूल्य पाएको र सरोकारवाला निकायले आवश्यक पहल नगरेका कारण जुम्लाको स्याउले मूल्य नपाएको उनीहरुको भनाइ छ । बजारमा रहेका बिचौलिया नरोकेसम्म जुम्लाको स्याउले मूल्य नपाउने र स्याउको गरिमा नै घट्ने वरिष्ठ स्याउ कृषक शङ्खुबहादुर खत्री बताउँछन् । सोलार स्टोरको प्रयोग गर्न सके बाह्रै महिना स्याउको गुणस्तरदेखि मूल्यमा गिरावट नआउने उनले बताए । स्याउ सुपरजोनका अनुसार नेपालमा हरेक वर्ष एक लाख मेट्रिक टनको हाराहारीमा स्याउ खपत हुन्छ । सोमध्ये ४३ हजार मेट्रिक टन नेपालमै उत्पादन हुन्छ भने ६७ हजार मेट्रिक टन बाहिरबाट आयात हुन्छ । देशभर जुम्लामा उत्पादित स्याउको माग अत्याधिक भए पनि मागअनुसारको खपत हुनसकेको छैन । हिमा गाउँपालिकाका किसान गोपाल रोकायाले विशेषगरी स्याउ उत्पादनभन्दा गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए । स्याउ सुपरजोनले कार्य क्षेत्र बढाउनुपर्ने उनको भनाइ छ । सिञ्जा क्षेत्रमा सुपरजोनको कार्यक्षेत्र नै छैन । जिल्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको कार्यालय प्रमुख नवराज भण्डारीले बताउँछन्  । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि सुपरजोन कार्यक्रमले यस्तो लक्ष्य राखेको उनको भनाइ छ । जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँस्तरमा रहेका समूह, सहकारी, कृषक र सम्बन्धित पक्षसँग स्याउ सुपरजोनले परार्मश गर्दै आएको छ । भण्डारीले कृषकलाई गुणस्तरीय स्याउ उत्पादन र बजारीकरणमा सुपरजोनले सहयोग गर्दै आएको जानकारी दिएका छन् । जुम्लालाई स्याउ ब्लक क्षेत्रका रूपमा विकास गर्नुपर्ने सुझाव आएकाले निकट भविष्यमै कार्यक्रम लागू हुने उनले बताए । उनले हरेक स्थानीय तहले एक नमूना बगैँचा बनाउन सुझावसमेत दिएका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले किसान र स्याउ व्यापारीबीचको आपसी समन्वयका आधारमा आगामी दिनमा कार्यक्रमलाई अझै गुणस्तरीय बनाउन सुपरजोनलाई सल्लाह दिए। किसानको सक्रियता र सरोकारवालाको तदारुकता तथा ऐक्यबद्धता मात्रै भए स्याउले भरिपूर्ण जुम्ला हुनसक्ने  छ ।

बीमा मर्जरः नियामकले बाटो खोल्यो, कम्पनीलाई ‘हतार छैन’

काठमाडौं । बीमा कम्पनीहरुले मर्जरको हतार नभएको बताएका छन् । नियामक निकाय बीमा समितिले मर्जरको बाटो खुलाए पनि कम्पनीहरुले तत्काल हतार नभएको प्रतिक्रिया दिएका हुन् । कम्पनीलाई मर्जर र एक्वीजीसनामा अवरोध नपुगोस भनेर नै निर्देशिका जारी गरिसकेको छ । केही कम्पनीहरुले भने आन्तरिक रुपमा मर्जरको तयारी गरिरहेका छन् । पूँजी बृद्धिले मर्जरमा दबाब बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्ब रुपैयाँ चुक्ता पूँजी हुनै पर्ने व्यवस्था गरेको थियो । समितिले १३ माघ २०७३ मा जारी गरेको यो निर्देशन अनुसार कम्पनीहरुले असार मसान्त २०७५ मा तोकिए अनुसार चुक्ता पूँजी पुर्याउनु पर्ने थियो । तर, समितिले दिएको पहिलो म्यादभित्रमा कम्पनीहरुले चुक्ता पूँजी वृद्धि गर्न नसकेपछि समितिले पुस मसान्त २०७५ सम्म म्याद थप गरेको थियो । थप गरिएको समयभित्र पनि पूँजी वृद्धि गर्न नसक्ने कम्पनीहरुको लागि समितिले असार मसान्त २०७५ सम्मको ग्रेस अवधि थपेको थियो । समितिले दिएको निर्देशन बमोजिम कम्पनीहरुले पेश गरेको पूँजी वृद्धि योजनामा हकप्रद जारी गर्ने, बोनस सेयर दिने, थप निस्कासन (एफपीओ) जारी गर्ने लगायत थियो । तर, समितिमा योजना पनि पेश गर्ने र तोकिएको समयभित्रमा पूँजी वृद्धि गर्न नसक्ने ७ कम्पनीलाई समितिले स्पष्टीकरण सोधेको थियो । नपुर्याउनेहरू चटाराेमा  सरकारी लगानीसमेत रहेकाे राष्ट्रिय बीमा कम्पनीले पनि समितिले ताेकेअनुसारकाे न्यूनतम चुक्ता पूँजी पुर्याएकाे छैन। तर ताेकेअनुसारकाे पूँजी पुर्याउने अन्तिम तयारीमा कम्पनी छ । कम्पनीका सूचना अधिकारी निरञ्जन आचार्यले पूँजी वृद्धिकाे काम हुन लागेकाे बताए । अहिले कम्पनीकाे लेखा परीक्षण भइरहेकाेले साे काम सकिनेबितीकै पूँजी वृद्धिकाे याेजना अघि बढ्ने बताए ।

नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले केसीलाई कम्पनी सचिवको पदमा नियुक्त गराएको हो । बैठकले मंसिर २९ गतेदेखि लागू हुने गरी केसीलाई कम्पनी सचिवमा नियुक्त गरेको हाे । नियुक्ती भएसँगै केसीले मंसिर २९ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

भारतमा देशव्यापी आन्दोलन जारी, तीनको मृत्यु, सयौं पक्राउ

नयाँ दिल्ली । भारतको संसदले ल्याएको नागरिकता सम्बन्धी कानुनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरेको भनी केही दिनयतादेखि जारी रहेको आन्दोलनमा तीन जनाको ज्यान गएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारअनुसार बिहीबारको आन्दोलनका क्रममा त्यहाँ कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार आन्दोलनकारीहरुमाथि प्रहरीले चलाएको गोली लागेर कर्नाटकामा दुई जना र उत्तर प्रदेशमा एकजना प्रदर्शनकारीको ज्यान गएको छ । भारतका सञ्चारमाध्यमहरुले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पछिल्लो निर्णयका कारण अहिलेसम्मकै सबैभन्दा कडा र ठूलो संख्यामा नागरिक सहभागी भएको विरोध खेप्नुपरेको समाचार सम्प्रेषण गरेका छन् । हुनत सो कानुन पारित हुनुअघि नै विशेषगरी आसाममा निकै धेरै संख्याका नागरिक उपस्थित भएर विरोध गरेका थिए । तर सो विरोधको वास्ता नगरी सरकारले कानुन पारित गरेपछि यहाँका विपक्षीहरूको समेत तीव्र विरोध भएको हो ।  बिहीबार सरकारले विभिन्न क्षेत्र र प्रदेशमा विरोध जुलुश नै निकाल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । त्यसैगरी भारतका विभिन्न राज्यमा भएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड पनि गरेको छ । शुक्रबार पनि विरोध प्रदर्शनहरु जारी रहेको र पछिल्लो केही दिनयता यहाँको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको बताएका छन् । भारतका केही स्थानमा कर्फ्यू नै लगाइएको बताइएको छ । उत्तरप्रदेशको लखनउमा प्रदर्शनकारीले मध्यगञ्जमा रहेका एक प्रहरी कार्यालयबाहिर रोकेर राखिएका गाडी जलाएका थिए । त्यस क्रममा २० जनाभन्दा बढी पक्राउ परेका छन् । यहाँको विरोध प्रदर्शन शुक्रबारसम्म हेर्दा कम्तीमा पनि १० वटा प्रदेशमा जारी रहेको छ । तर पनि अधिकारीहरुले उत्तर प्रदेश, नयाँ दिल्लीका केही भागहरु, कर्नाटका, गुजरात, तेलङ्गना र मध्यप्रदेशका अधिकांश नगरहरुमा विरोध प्रदर्शन नै गर्न नपाउने गरी निषेधाज्ञा नै जारी गरेको छ । त्यसैगरी, बेङ्गलुरुमा भने सरकारले कफ्र्यू नै जारी गरेको छ । यहाँ प्रदर्शनकारीहरुले हिंसा मच्चाउन लागेको भन्दै प्रहरीले निषेधाज्ञा जारी गरेको हो । त्यस स्थानमा हिजो प्रहरीको गोली लागेर प्रदर्शनकारीको निधन भएको थियो भने केही घाइते भएका छन् । शुक्रबारको प्रदर्शनका क्रममा राजधानी नयाँदिल्लीको लाल किल्लाबाट १ हजार २ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । उक्त प्रदर्शनका क्रममा केही सामाजिक अभियन्ताहरु पनि नियन्त्रणमा लिइएको अधिकारकर्मीहरुले जानकारी दिएका छन् । यसरी प्राप्त अर्को एक समाचारमा राजधानी दिल्लीमा विरोधको क्रम तीव्र तथा आक्रामक हुँदै गएपछि केही क्षेत्रमा दिउँसो करिब चार घन्टाजति इन्टरनेट सेवा नै बन्द गरिएको थियो । हवाई अधिकारीहरुका अनुसार बिहीबारको विरोध प्रदर्शनको क्रम आक्रामक बन्दै गएपछि मुख्य सडकहरु बन्द भएका र यसका कारण दिल्लीको हवाई सेवा पनि प्रभावित भएको थियो । अधिकारीहरुले बिहीबार दिउँसोका केही उडान नै स्थगित भएका जनाएका छन् । प्रतिबन्धित स्थानमा नागरिकलाई सार्वजनिक ठाउँमा भेला हुन पनि दिइएको छैन । कुनै स्थानमा पाँच जना भन्दा बढी मानिस जम्मा हुनेबित्तिकै प्रहरीले लखेटिरहेका समाचारहरु आइरहेका छन् । तर नागरिकतासम्बन्धी सो विधेयकको समर्थनमा निस्किएका व्यक्तिलाई भने प्रहरीले केही गरेको छैन । उता अधिकारीहरुले शुक्रबार पनि बिहानैदेखि विरोध प्रदर्शन शुरु भएको बताएका छन् । यस विषयमा थप विवरण भने आएको छैन । आज पनि प्रहरीको धरपकड हुने तथा उक्त विधेयकको विरोधमा जुलुशहरु निस्किने क्रम जारी नै रहने प्रदर्शनकारीहरुले जनाएका छन् । प्रमुख विपक्षी दल भारतीय काँग्रेसले यो विरोध प्रदर्शनमा प्रहरीले गरेको व्यापक धरपकडका साथै विभिन्न स्थानमा गरिएका निषेधाज्ञाले सरकारलाई लाज लाग्नुपर्ने बताएको छ । तर प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस्ता विरोध प्रदर्शनको कुनै अर्थ नरहेको भन्दै विरोधका कामलाई राजनीतिकरण नगरी शान्त रहन सबैलाई आग्रह गरेका छन् । रासस

नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी मेला काठमाडौंमा सुरु

काठमाडाैं । नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी मेला शुक्रबार काठमाडौंमा सुरु भएको छ । नेपाली उद्योग व्यापारलाई प्रवर्द्दन गर्नका लागि सो मेला आयोजना भएकाे हाे । शुक्रबार सुरू भएकाे प्रदर्शनी मेलाकाे नेपाल चेम्बर अफ कमर्सका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले मेलाकाे उद्घाटन गरेका हुन् । नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधि प्रदर्शन र संवाद गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको नेपाल चेम्बर अफ कमर्सले बताएको छ । उक्त प्रदर्शनी मार्फत ती पाँच विधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यातको अवसर, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित हुने बताइएको छ । यस प्रदर्शनिले हजारौंको संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङ् का खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाँउमा उभ्याउदै बितरक र खरिदकर्ता बिचको सिधा सम्पर्क प्रवर्द्द गर्ने नेपाल चेम्बर अफ कमर्सले विश्वास लिएको छ । भारतको पिएचडि च्याम्बर अफ कमर्स, नेपाल च्याम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ् असोसिएसन अफ ईन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चरर्स असोसिएसन अफ नेपाल यस नेपाल फाईभ पी एक्सपोलाई सफल पार्न सहयोगी भुमिकामा रहेका छन। नेपालमा कच्चा पदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १०० भन्दा बढि कम्पनिहरुले चाईना, ताईवान, जर्मनी, ईटाली र नेपालका अन्य ५० कम्पनिहरुसंगै प्रदर्शनि रहेको छ । मेलामा विभिन्न प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने कम्पनीहरूले अफ्ना स्टल राखेका छन् ।