विकासन्युज

कैलाश विकास बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा १० % छुट

काठमाडौँ । कैलाश विकास बैंक लिमिटेड र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सुमेरु अस्पतालका तर्फबाट संचालक दिलिप डंगोेलले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा सुमेरु अस्पतालले यस बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहक तथा कर्मचारीहरुलाई उपचार खर्चमा १० प्रतिशत छुट सुविधा प्रदान गर्नेछ । हालसम्म शाखा संख्या ९० पुगेका छन् भने एटिएम संख्या ३४ पुगेको छ । निकट भविष्यमा देशका बिभिन्न ७ स्थान शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ ।

सिरहाको भगवानपुरमा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौँ । एनआई सी एशिया बैंक लि.ले सिरहाको भगवानपुर गाउँपालिका वडा नं १, मा शाखा कार्यालय स्थापना गरी सेवा शुरु गरेको छ । गाउँ पालिकाका अध्यक्ष बेचनप्रसाद यादवले शुक्रबार एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । उक्त शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे ।

एनएमबी माईक्रोफाईनान्सको वार्षिकोत्सवमा ४० जनाले गरे रक्तदान

काठमाडौँ । एनएमबी माईक्रोफाईनान्सको छैठौँ वार्षिकोत्सवको उपलक्ष्यमा चैत १ गते पोखरा २५ हेम्जामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रम पोखरा २५ का वडा अध्यक्ष दिवाकर तिम्सिना प्रमुख अतिथि रहेका थिए । बैंकका कर्मचारी कृष्णप्रसाद गैरे, क्षेत्रीय रक्तसंचार केन्द्र पोखराका प्रमुख ध्रुवमणी लामिछाने, वडा नं. २५ का वडा अध्यक्ष तिम्सिना र संस्थाका प्रमुख कार्यकारी अधिकृत लम्सालले कार्यक्रम बारेमा मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा ४३ जना रक्तदाताले रक्तदान गरेका थिए ।

कामना सेवा विकास बैंकका ग्राहकलाई ग्रान्डि हस्पिटलमा विशेष छुट

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका ग्राहकले ग्रान्डि इन्टरनेशनल हस्पिटलको उपचार सेवामा विशेष छुट पाउने भएका छन् । उक्त सेवामा छुट दिने सम्बन्धि कामना सेवा विकास बैंक र ग्रान्डि हस्पिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अब यस बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरुले ग्रान्डि इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र ग्रान्डि इन्टरनेशनल हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभ्लोप्मेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

चिलिमे जलविद्युत कम्पनीले खातामै पठायाे २० प्रतिशत बोनस सेयर

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २० प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको पुस २७ गते सम्पन्न साधारणसभाले सो मात्राको बोनस पारित गरेको थियो । कम्पनीले पुस १९ गतेसम्म डिम्याट भएका शेयरधनीहरुको खातामा सो बोनस जम्मा गरेको छ भने सो मितिसम्म डिम्याट नभएका शेयरधनीहरुले बोनस पाउनका लागि डिम्याट खाता खोल्नुपर्ने छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

पाइलट अभावमा थन्किएको वाइ-१२ विमानको पुनः उडान शुरु

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ-१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढ महिनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ-दाङ दोहोरो उडान भरेको हो । बिरामी बिदामा बस्नुभएका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि उक्त विमानले उडान भर्न शुरु गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमले वाइ-१२ विमानकै अर्का पाइलट उद्धव घिमिरेलाई ए-३२० को प्रशिक्षणमा पठाएको विरोधमा दुई पाइलट गत माघ २९ गते (जनवरी ३१) बाट बिरामी बिदामा बसेका कारण निगमका तीन विमान ग्राउण्डेड भएको बताइन्छ । आन्तरिक विवादका कारण लामो समयदेखि बिरामी बिदामा बस्नुभएका दुई पाइलट भट्टराई र सञ्जय बादे फागुन १३ र १६ गते नै काममा फर्किएका छन् । उनीहरु २० दिनभन्दा बढी बिदामा बसेका कारण विमान उडाउनुभन्दा पहिले स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उडान भर्न पाएका थिएनन् । यसअघि ‘पाइलट प्रोफिसियन्सी चेक (पीपीसी)’ को म्याद सकिएकाले नविकरणका लागि पाइलट आङनुरी शेर्पाको पीपीसी चीन जानुहुने भएको छ । प्रशिक्षक पाइलटसमेत रहनुभएका शेर्पाको पीपीसी नवीकरण नहुँदा नयाँ थप गरिएका दुई पाइलट पनि कामविहीन भएका छन् । निगमका सहायक प्रवक्ता कोइरालाका अनुसार शेर्पा एक सातापछि पीपीसी नवीकरणका लागि चीन जाँदै छन् । उनी फर्किएपछि नयाँलाई तालीम दिने योजना बनाइएको थियो । डेढमहिनाको अवधिमा पाँच क्याप्टेन तयार भई वाई-१२ सबै विमानसञ्चालनमा ल्याइने योजना छ । निगमसँग वाइ-१२ चिनियाँ कम्पनीका चार विमान रहेकामा एक प्राविधिक परीक्षणमा छ भने बाँकी तीन विमानमा पाइलटको वैकल्पिक व्यवस्था गरेर भए पनि उडान भर्ने बताइएको छ । रासस

द्रुतमार्ग र हुलाकी सडक सम्बन्धी प्रतिवेदन प्रस्तुत, ‘कार्यप्रगति सन्तोषजनक’

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा दुई वटा स्थलगत अध्ययन तथा अवलोकन भ्रमणका प्रतिवेदन पेश भएका छन् ।ती प्रतिवेदनमा काठमाडौँ तराई/मधेश द्रुतमार्ग तथा हुलाकी सडक (प्रदेश नं २)का रहेका छन् । समितिका आजको बैठकमा समितिका सभापति कल्याणीकुमारी खड्काले ती प्रतिवेदनका मुख्य सुझावका अंश प्रस्तुत गरिन् । समितिका सभापति खड्काको संयोजकत्वमा समितिका सदस्यले विसं २०७५ पुस ६ र माघ १६ गते दुई चरणमा नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ तराई÷मधेश द्रुतमार्ग आयोजनाको स्थलगत अध्ययन गरेका थिए । यसैगरी समितिका सभापति खड्काको संयोजत्वमा समितिका सदस्यले विसं २०७५ माघ १८ देखि २३ गतेसम्म तराई÷मधेशका विशेषगरी आठ जिल्लामा पर्ने हुलाकी सडकका अवस्थाका बारेमा स्थलगत अध्ययन गरेका थिए । आर्थिक समृद्धिको मेरुदण्डका रुपमा हेरिएको राष्ट्रिय गौरवको काठमाडौँ तराई÷मधेश द्रुतमार्ग आयोजनाको काम अगाडि बढाउने क्रममा नेपाली सेनाले विगत १८ महिनामा गरेका कामप्रति समितिले सन्तोष मानेको छ । समितिका सभापति खड्काले प्रतिवेदनको निष्कर्ष बैठकमा प्रस्तुत गर्दै भनिन्, “दुई चरणमा स्थलगत अवलोकनका क्रममा द्रुतमार्ग निर्माणका सम्बन्धमा हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको देखियो ।” द्रुतमार्गमा आवश्यक पर्ने पुल र सुरुङ निर्माणको काम शुरु नै नभएको अवस्था छ । अगामी दिनमा गर्नुपर्ने काम अझ जटिल भूगोल र जटिल प्रकृतिको भएकाले लक्ष्यअनुसारको सेनाले निर्माण कार्यलाई थप तीव्रता दिनु आवश्यक छ । “निर्माणको जिम्मेवारी पाएको १८ महिनाको छोटो अवधिमा आयोजना प्रमुख तथा निर्माणमा संलग्न जनशक्तिको भूमिका महत्वपूर्ण ठह¥याउँदै प्रतिवेदनले कूल ७६ दशमलव २ किलोमिटरमध्ये ५४ किमी खण्डमा कटिङ÷फिलिङको काम ७० प्रतिशत सम्पन्न भएको छ । यही गतिमा सेना काम गर्ने हो भने निर्धारित समयभित्रै अपेक्षित सफलता हासिल गर्न सकिन्छ”, उनले भनिन् । समितिले आफ्नो प्रतिवेदनमा भनेको छ । अध्ययन प्रतिवेदनले द्रुतमार्गमा कुनै पनि किसिमको अवरोध सिर्जना हुन नदिई निर्धारित समयभित्रै सम्पन्न हुनुपर्छ भन्ने निष्कर्ष निकालेको छ । मन्त्रिपरिषद्को विसं २०७४ वैशाख २१ गतेको बैठकले सेनालाई सो द्रुतमार्ग निर्माणको जिम्मेवारी दिने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विसं २०७४ साउन २७ गते औपचारिक रुपमा सेनालाई आयोजना निर्माणको जिम्मेवारी हस्तान्तरण गरेको थियो । सेनाले आयोजनको विस्तृत कार्ययोजना प्रतिवेदन (डिपिआर) समेत प्राप्त गरिसकेको छ । प्रतिवेदनले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई प्रभावकारी कार्यान्वयन गर्न, प्रस्तावित सुरुङमार्ग, पुलका काम शुरु गर्न, आयोजनाले कटान गरेका रूख सामुदायिक वन तथा जिल्ला वन कार्यालयलाई हस्तान्तरण गर्न, निर्धारित मितिमा आयोजना सम्पन्न गर्न कार्यतालिका बनाउन, आयोजना निर्माणका क्रममा गरिने ठेक्का प्रक्रियालाई पारदर्शी बनाउन सुझाव दिएको छ । यसैगरी हुलाकी सडक निर्माण कार्य अति सुस्त रहेको जनाउँदै प्रतिवेदनले सडकभित्र बन्ने पुल ठेक्का लागेर पनि निर्माण कार्य शुरु नभएको पाइएको जनाइएको छ । साथै हुलाकी सडकभन्दा पहुँचका आधारमा सडक अन्तर्गतका सहायक सडक निर्माण कार्य अगाडि बढिरहेको पाइएको प्रतिवेदनले औँल्याएको छ । काठमाडौँ तराई÷मधेश द्रुतमार्ग आयोजनाको स्थलगत भ्रमणसमेत गर्नुभएका समितिका सदस्य एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छोटो अवधिमा सेनाले द्रुतमार्ग निर्माणमा महत्वपूर्ण सफलता हासिल गरेको बताए । उनले भने, “राष्ट्रिय प्रतिष्ठासित गाँसिएको द्रुतमार्ग निर्माण कार्य सयमै सम्पन्न गर्न सबैको सहकार्य र सहयोग हुनुपर्छ ।” समितिको बैठकमा समितिका सदस्य लीला श्रेष्ठ, रामबहादुर विष्ट र गणेश पहाडीले द्रुत मार्गका सुरुङ मार्ग, पुल लगायतका बाँकी काम शुरु गर्न आग्रह गरे ।

बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने, सोमबार, बुधबार र शुक्रबार उडान हुने

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो । निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बुद्धले कोलकाता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित तीन उडान भर्नेछ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुनेछ । भारतमा लोकसभा निर्वाचन यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ । भारतीय यात्रुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेज पनि सञ्चालन गर्नेछ । यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार–प्रसार गरिरहेकोे छ । नेपाली यात्रुहरुका लागि पनि कोलकाता टुर प्याकेज, गङ्गासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको कम्पनीले जनाएको छ । बुद्ध एयरसँग अहिले छ वटा एटिआर ७२–५००, तीन वटा एटिआर ४२–३२० र दुई वटाबीच क्राफ्ट जहाज सञ्चालनमा छन् । थप एटीआर–७२ जहाज अर्को महिनादेखि सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ ।