विकासन्युज

साताको शेयर बजारः १ अर्ब ९३ करोड कारोबार, चार कम्पनीका शेयर सूचीकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ मूल्यमा खरीद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या आउँदा कारोवार अवधिभर शेयर कारोवार हुन सकेन । साताको पहिलो दिन मात्रै बजार ०.९४ बिन्दुले सुधार आएको थियो । कारोवार छोटो समयमात्रै हुँदा १४० कम्पनीका तीन लाख २२ हजार २४२ कित्ता शेयर नौ करोड ३८ लाख मूल्यमा कारोवार भए । साताको दोस्रो दिन सोमबार कारोवार मापक नेप्से परिसूचक १४.२८ बिन्दुले बढेर एक हजार १४२.९३ बिन्दुमा पुगेको थियो । सो दिन कूल १७१ कम्पनीका १३ लाख ४७ हजार ४८ कित्ता शेयर रु ४० करोड २८ लाख ४० हजार २१३ मा खरीद बिक्री भए । यस्तै साताको तेस्रो दिन मङ्गलबार कूल १७६ कम्पनीका १९ लाख ५४ हजार ५६ कित्ता शेयर ५२ करोड ७७ लाख ३५ हजार ५५८ मूल्यमा खरीद बिक्री भए । साताको चौथो दिन बुधबार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० बिन्दुमा झर्यो । सो दिन कूल १७४ कम्पनीका १४ लाख ८० हजार ६२ कित्ता शेयर कारोवार भए । स्टकका अनुसार सो दिन रु ४२ करोड ८३ लाख ४१ हजार १५२ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको पाँचौँ दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको थियो । कूल १७१ कम्पनीका १३ लाख ३९ हजार ९७२ कित्ता शेयर ४८ करोड ५८ लाख ७७ हजार ९३१ मूल्यमा खरीद बिक्री भए । यस साता स्टकमा विभिन्न चार कम्पनीका शेयर सूचीकृत भए । सिद्धार्थ बैंकको सिद्धार्थ डिवेञ्चर २०८२ को २१ लाख ६२ हजार ५५९ कित्ता साधारण शेयर सूचीकृत भयो । यस्तै सानिमा बैंक डिवेञ्चर २०८५ को १३ लाख ५४ हजार ७१२ कित्ता साधारण शेयर, आशा लघुवित्त वित्तीय संस्थाका २० लाख ७४ हजार कित्ता साधारण शेयर र जेबिल्स फाइनान्सका १९ लाख ७० हजार ६९४ कित्ता हकप्रद शेयर सूचीकृत भएको स्टकले जानकारी दिएको छ ।

मोदीले शुरु गरे ‘म पनि चौकीदार’ अभियान, यो चुनावमा पनि पुरानै ‘फण्डा’

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गरेका छन् । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उनले अभियानको सुरुवात गरेका हुन् । “तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन्,” उनले भनेका छन् । प्रधानमन्त्री मोदीले देशको प्रगतिका लागि कडा मिहनेत गर्नेहरुलाई पनि चौकीदारको संज्ञा दिँदै आज भारतका सबै नागरिकले म पनि चौकीदार हुँ भन्ने गरेको बताए । अघिल्लो पटक सन् २०१४ मा भएको निर्वाचनमा आफू चौकीदार बन्न चाहेको बताउनु भएका मोदीले अहिले फेरि त्यही चौकीदारको विषयलाई अभियानको रुपमा सुरु गरेका हुन् । चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरे झैं आफूले देशको संरक्षण गर्न चाहेको उनको भनाई छ । काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले “चौकीदार चोर भयो” भन्ने टिप्पणी गरेपछि बिजेपीले त्यसको सर्वेक्षण गर्दा धेरै मान्छे चौकीदारको पक्षमा देखिएकाले “म पनि चौकीदार” अभियान उनले सुरु गरेका हुन् । सर्वेक्षणले चौकीदारलाई होच्याइएकामा धेरै जना रिसाएको पनि देखाएको अधिकारीहरुले जनाएका छन् । यसअघिको निर्वाचनमा प्रधानमन्त्री मोदीलाई “चियावाला” को रुपमा पनि यसैगरी प्रचार गरिएको थियो । त्यो पनि सकारात्मक र प्रभावकारी भएको थियो । भारतमा यही मार्च ३१ देखि निर्वाचन हुन लागेकाले निर्वाचनको दिन नजिकिदै जादा प्रचार प्रसार पनि तिव्र हुन थालेको छ । रासस/एएनआई

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

पाल्पा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए । प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए । उनले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताए । नेपाली काङ्ग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको बताउँदै उनले प्रतिपक्षका रुपमा रहेको काङ्ग्रेस पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको बतउनुभयो । नेपाली काङ्ग्रेस हिन्दू धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीकोे प्रश्नमा देउवाले नेपाल संविधानमा व्यवस्था मान्ने बताए । उनले गिरिजाप्रसाद कोइरालको धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शङ्शाक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने बताउनुभयो । वर्तमान सरकारले एक वर्षको अवधिमा राम्राकाम गर्न नसकेको बताए ।

व्यापार युद्धबाट अमेरिकाको अर्थतन्त्र ७ अर्ब ८० करोड डलरमा खुम्चियो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ । प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको एक अध्ययनले लक्षित मुलुकहरुबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । अमेरिकी निर्यातमा पनि ११ प्रतिशतले कमी आएको छ । आयातमा भएको लागत वृद्धिले उपभोक्ता र उत्पादकलाई वार्षिक करिब ६९ अर्ब डलर नोक्सान भएको छ । आयात र निर्यातको गणनाबाट गत वर्ष कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को शून्य दशमलब शून्य ४ प्रतिशत अर्थात् करिब ७ अर्ब ८० करोड डलर नोक्सान भएको अनुसन्धाताहरुले बताएका छन् । आर्थिक अनुसन्धान राष्ट्रिय ब्यूरोले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनले राष्ट्रपति ट्रम्पले चीन समेतका कतिपय मुलुकसँग रहेको व्यापार घाटा कम गर्न जस्तोसुकै कदम चाल्ने ट्रम्पको घोषणाले अमेरिकी र विश्व अर्थतन्त्र खुम्चिने देखिएको जनाएको छ । अमेरिकी म्यानुफ्याक्चरिङ क्षेत्रलाई बचाऊ गर्ने नाममा राष्ट्रपति ट्रम्पले संरक्षणवादी व्यापार नीति अबलम्बन गरेको आरोप लाग्दै आएको छ । वासिङ्टन र बेइजिङबीच एकअर्का मुलुकका सामानमा करवृद्धि गरिएको भएपनि अन्ततः व्यापार विवाद सुल्झाउन हाल वार्ता जारी छ । अमेरिकाले चीन मात्र नभई युरोपेली युनियन र अरु प्रमुख व्यापारिक साझेदार मुलुकमाथि करवृद्धि गर्ने तथा आयात रोक्नेजस्तो कठोर कदम चालेको छ । “अमेरिकाकै रिपब्लीकन पार्टी विजयी भएकै राज्यहरुमा व्यापार युद्धले बढी असर पारेको छ,” अनुसन्धानमा देखिएको छ । रासस/एपी

कालीमाटीमा देवः विकास बैंकको नयाँ शाखा, विद्यासुन्दरले गरे उद्घाटन

काठमाडौँ । देवः विकास बैंक लि.ले काठमाडौं महानगरपालिका, वडा नं १३ स्थित कालीमाटीमा नयाँ शाखा सञ्चालन गरेको छ । शुक्रबार एक समारोह बीच शाखा कार्यालयको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे । बैंक संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा मन्तव्य दिंदै काठमाडौंं महानगरपालिकाका प्रमुख शाक्यले मेरो काठमाडौं मैले बनाउँछु भन्ने भावना सहित आर्थिक समृद्ध काठमाडौं निर्माणमा महानगरवासीसँग सहकार्य गर्ने र महानगरको आर्थिक एवम् सामाजिक विकासमा देवः विकास बैकले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । कामर्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहुँचका साथै निक्षेपकर्ता, स्थानिय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा काठमाडौं महानगरपालिका, वडा नं १३ का वडा अध्यक्ष ध्रुव नारायण मानन्धर लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

५ करोडको लागतमा तारकेश्वरमा तरकारी बजार बन्दै, देशभर ५० स्थानमा तरकारी बजार बनाउने सरकारको योजना

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा तरकारी बजार निर्माण हुनेभएको छ । कृषि मन्त्रालय मातहतको कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको तरकारी बजारको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले शिलान्यास गरेका हुन् । काठमाडौँको जनसङ्ख्या न्यून भएको समयमा निर्माण भएको कालिमाटी तरकारी बजार अहिलेपनि केन्द्रीय तरकारी बजारका रुपमा रहेकाले चाप घटाउन विकल्प स्वरुप तारकेश्वरमा तरकारी बजार बनाउन लागिएको मन्त्री खनाले बताए । उनका अनुसार काठमाडौँमा तरकारी बजारको लागि पाँच करोड विनियोजन गरिएको छ । सङ्घीयता बनेपछि पनि काठमाडौँको जनसङ्ख्या घट्नुको साटो बढ्दो क्रममा रहेकाले तरकारी बजारको विकल्प आवश्यक भएको मन्त्री खनालले बताए । बजार बनाउन धेरै ठाउँमा जग्गा खोज्दा नपाइएको समेत उनले जानकारी गराए । देशभर ५० तरकारी बजार बनाउन लागिएको जानकारी दिँदै विराटनगरमा १२ करोडको लागतमा तरकारी बजार निर्माण भैइरहेको जानकारी दिए । मन्त्रालयका सचिव डा युवकध्वज जिसीले बजार निर्माणका लागि सबै सहयोग गर्न तयार रहेको र बजेटको पनि अभाव हुन नदिने प्रतिबद्धता जनाए । काठमाडौँ प्रवेश गर्ने पाँच नाकामा तरकारी बजार निर्माण गर्ने मन्त्रालयको योजना छ । काठमाडौँको चोभारमा पनि तरकारी बजार निर्माणाधिन छ । सोह्र रोपनी १५ आना जग्गामा बन्न लागेको तरकारी बजार तीन वर्षमा निर्माण सम्पन्न गरिने जनाइएको छ । तारकेश्वर–५ का वडा सदस्य अनन्त आचार्यले तरकारी बजार निर्माण भएपछि किसानलाई तकारी खरीद बिक्रीका लागि कालिमाटी जानुपर्ने बाध्यता अन्त्य हुने छ ।

अब नेपाल मै गाडी बन्ने, १० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ३५ औं बैठकले उक्त निर्णय गरेको हो । बैठकले अरुण-३ जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि ९एसएपीडीसी० लाई उक्त परियोजनाका लागि वित्तीय व्यवस्थापनको म्याद आगामी ३० जुन २०१९ सम्म थप गर्ने निर्णय गरेको छ । सो कम्पनीले परियोजना निर्माणको काम बढाइसकेको छ भने परियोजनाका लागि आवश्यक ऋण सुविधा प्राप्त गर्ने कार्य अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । उक्त बैठकले लगानी बोर्ड कार्यालयले आगामी लगानी सम्मेलनमा प्रस्तुत गरिने ६३ वटा परियोजनाको सूची स्वीकृत गरेको जनाएको छ । ती परियोजनाको विकास तथा कार्यान्वयन अवधारणा स्वीकृत गरी आगामी लगानी सम्मेलनमा प्रस्तुतिकरण गर्ने निर्णय भएको बोर्डले जनाएको छ । उक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलन नेपालमा लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताए । उनले उक्त सम्मेलनलाई अर्थपूर्ण बनार्इ यसबाट अधिकतम उपलब्धि हासिल गर्न सबै सम्बद्ध निकायहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन निर्देशन दिए । सम्मेलनबाट निजी क्षेत्रले प्रशस्त लाभ लिनसक्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले परियोजनाका लागि तोकिएको जग्गा हदबन्दीको विषयमा देखिएका समस्याहरु समाधानका लागि आवश्यक पहल गर्न सम्बद्ध अधिकारीलाई निर्देशनसमेत दिए । सो अवसरमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आगामी सम्मेलनका लागि भएका तयारीबारे बैठकलाई जानकारी गराएका थिए । बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा युवराज खतिवडा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्याल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, मूख्य सचिव लोकदर्शन रेग्मीलगायतको सहभागिता थियो ।

मकवानपुरमा बर्डफ्लु देखियो, चितवनमा उच्च सतर्कता

चितवन । छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका निमित्त प्रमुख डा पर्शुराम फुयालले यस जिल्ला हुँदै राजधानी र बाहिरी जिल्लामा कुखुरा जन्य पदार्थ धेरै आवतजावत गर्ने हुदाँ क्वारेन्टाइनमा कडाइका साथ चेकजाँच थालिएको बताए । उनले भने, “मकवानपुरमा बर्डफ्लु देखिएपछि जिल्ला छिर्ने नाकामा क्वारेन्टाइनलाई विशेष चेकजाँचका लागि निर्देशन दिइएको छ ।” अहिले जिल्लाका १५० कुखुराका नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको उनले बताए । बर्डफ्लु संक्रमण हुन सक्ने देखिएकाले व्यवसायीलाई जैविक सुरक्षामा ख्याल गर्दै काम गर्न आग्रह गरिएको उनले बताए । जिल्लामा बर्डफ्लु भित्रने सम्भावना प्रवल रहेको बताउँदै उनले चाँडै जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठक राखेर सबैलाई यसको विषयमा जानकारी गराइने बताए । देशका विभिन्न जिल्लामा जाने मुख्य राजमार्ग नै चितवन हुँदै जाने भएकाले यहाँका व्यवसायी अझै सतर्क हुन आवश्यक रहेको उनले बताए । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले हरेक हप्ता दुई दिन यहाँ नमूना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाउने गरेको बताए । नियमित रुपमा नमूना सङ्कलन भई रहेको भए पनि हालसम्म ‘लो प्याथोजेनिक एच नाइन’ मात्र देखिएको जानकारी दिए । देशका विभिन्न क्षेत्रबाट लो प्याथोजेनिक शंकास्पद देखिएमा यहाँ नमूना परीक्षण गर्ने गरिन्छ । थप शंका लागेमा यहाँबाट केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ । जिल्लामा लो प्याथोजेनिक अर्थात् एच नाइनका कारण धेरै कुखुरा मरे पनि हाई प्याथोजोनिक अर्थात् एच फाइभ भने नदेखिएको उनले बताए । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले मकवानपुरमा रोग देखिएसँगै देशभरका कृषकले जैविक सुरक्षामा विशेष ध्यान दिएको बताए । सङ्घले सदस्यलाई रोग भित्रन नदिन विशेष चनाखो हुन आग्रह गरेको बताए । नेपालमा कुखुरा जन्य क्षेत्रमा रु एक खर्बभन्दा बढी लगानी भई सकेको भन्दै उनले एक मात्र आत्मनिर्भर उद्योग भएकाले स्वयं कृषक र सरकारले व्यवसाय बचाउन सहयोग गर्नुपर्ने बताए । रोग भित्रन नदिन अपनाउनुपर्ने मुख्य विधि जैविक सुरक्षा हो । यो विधि कुखुरामा कुनै प्रकारको रोगका किटाणुको प्रवेश र फैलावट रोक्नको लागि अवलम्बन गरिन्छ । पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिव बरालका अनुसार नेपालमा दैनिक ५० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । दैनिक ब्रोइलर मासु आठ लाख ५० हजार किलो उत्पादन हुने गर्दछ । बरालका अनुसार हप्तामा ब्रोइलर कुखुराको चल्ला २७ लाख र लेयर्सको चल्ला तीन लाख उत्पादन हुँदै आएको छ । देशको कुखुराजन्य पदार्थको आधा चितवनमा उत्पादन हुने गर्दछ । पोल्ट्री व्यवसायी मदन पोखरेलका अनुसार यो व्यवसायले एक लाख ८० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ भने कूल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान पुर्याउँदै आएको छ । अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिवसमेत रहेका पोखरेलले सबै कृषकलाई विशेष चनाखो भएर जैविक सुरक्षा विधि अपनाउन आग्रह गरिएको बताए । यसअघि बर्डफ्लु भित्रदा कृषकले ठूलो नोक्सानी बेहोरेका थिए । पहिले पहिले भारतमा बर्डफ्लु देखिदासमेत नेपालमा खपतमा कमी आएको भए पनि पकाएर खाँदा असर नपर्ने भएपछि जिल्लामा नै रोग देखिदासमेत खपतमा भने कमी नआउने गरेको पोखरेलले बताए ।