आशा लघुवित्तका लगानीकर्ताले कमाए करिब १० प्रतिशत, शाइन रेसुङ्गाको सबैभन्दा बढी कारोबार
काठमाडौं । आइतबारको सेयर बजार सामान्य ५.९९ अंकले बढेर ११६१.४५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५२ प्रतिशत वृद्धि हो । सामान्य अंकले बढेको बजारमा आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ४०२ रुपैयाँ रहेको छ । त्यस्तै, यूनाईटेड फाइनान्सको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ । अघिल्लो कारोबारको तुलनामा आइतबारको कारोबार रकममा गिरावट देखिएको छ । बजारमा कुल १७२ कम्पनीको ३७ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ । जुन बिहीबारको तुलनामा करिब ११ करोड कम हो । गत बिहीबारको बजारमा कुल ४८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको कुल कारोबारमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार भएको छ । संस्थाको एकैदिन ४ करोड ४६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
ताप्लेजुङको फुङलिङमा प्रभु बैंकले सञ्चालन गर्यो नयाँ शाखा
काठमाडौँ । प्रभु बैंकले ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग नगरपालिका वडा नं. ४ मा आइतबारदेखि फुङलिङ्ग शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको फुङलिङ्ग शाखा कार्यालयको फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले एक समारोहका बीच समुद्घाटन गरे । बैंकको फुङलिङ्ग शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा ताप्लेजुङ्ग जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । बैंकको फुङलिङ्ग शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंककोसेवा उपभोग गर्न सक्ने छन् ।
साना उद्योग मुलुकको आर्थिक समृद्घिको मुख्य आधारः प्रदेश १ का उद्योगमन्त्री कुशियत
काठमाडौं । प्रदेश नं. १ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय जगदिशप्रसाद कुशियतले नेपालले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् । यस्ता उद्योगहरू नै मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ प्रदेश नं.१ सरकार केन्द्रित रहने उनले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग लघु, घरेलु तथा साना उद्योगको विकास प्रवद्र्धनका लागि स्थानीय निकाय, प्रदेश सरकार र केन्द्र सरकारले खेल्नुपर्ने भुमिकाका विषयमा छलफलमा यस्तो बताएका हुन् । मुलुकको संविधान कै मूल मर्म समृद्घि भएको भन्दै उनले अबको प्रमुख काम भनेकै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपले समृद्घि भएकोमा उनले जोड दिए । समृद्घिका लागि आफैसँग भएका स्रोत साधनको खोजी र उपयोगिताबाट मात्रै प्राप्त गर्न सकिने भन्दै उनले स्थानीय स्रोत साधनमा आधारित लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवद्र्घनबाट मात्रै समृद्घि सम्भव भएको बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले भर्खरै मात्र संसदद्वारा पारित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन संशोधन र एकिकरण विधेयकमा लघु उद्यम तथा घरेलु उद्योग लगायत कृषि तथा कृषिसँग सम्बन्धित उद्योग, मत्स्यपालन, मौरीपालन तथा डेरी उद्योगमा समेत विदेशी लगानी खुला गरिएकोमा यसले मौलिक पहिचान भएका लाखौं स्वदेशी उद्योगहरुलाई धराशायी पार्ने भएकाले हाम्रा मौलिक पहिचान भएका बस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योगमा विदेशी लगानीको प्रावधानलाई हटाउनुपर्ने तर्फ जोड दिए । स्वदेशी वस्तुको बजार पहुँचको दायरालाई फराकिलो बनाउन भारत सरकारले समेत सार्वजनिक खरीद प्रक्रियामा २५ प्रतिशतसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने व्यवस्था गरेको छ । नेपालमा पनि सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकामा व्यवस्था गरे बमोजिम १५ प्रतिशतसम्म महंगो भएपनि उपलव्ध भएसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने व्यवस्थालाई सवै तहका सरकारले प्रभावकारी रुपमा लागु गराउनु पर्ने अध्यक्ष गिरीले ध्यानाकर्षण गराए ।
राष्ट्रिय परिवार योजना सम्मेलन यही चैत ४ र ५ मा हुँदै
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको आयोजनामा राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ। “पहुँचबाहिर परेकालाई समेट्ने” भन्ने मुल नाराको साथ सम्मेलन यही चैत ४ र ५ गते दर्बारमार्गको याक एन्ड यती होटलमा हुने कार्यक्रमको उद्घाटन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र् यादवले गर्ने रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको आयोजना र संयुक्त राष्ट्रसंघिय जनसंख्या तथा आड्राको सहयोगमा र परिवार योजना संघसंस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना हुन गईरहेको हो। कार्यक्रमको पहिलो दिन परिवार नियोजन सेवाको पुर्त तथा अपरिपुर्त माग, परिवार नियोजन सेवामा पहुँचबाहिर रहेकालाई समेट्ने, परिवार, परिवार नियोजनको साधनको माग सिर्जना र व्यवहार परिवर्तनको बिषयमा उपलब्धी प्रस्तुत हुने सम्मेलनका अध्यक्ष डा. आर पि बिछाले बताए। त्यस्तै कार्यक्रमको दोस्रो दिन नेपाली महिलाहरुको परिवार नियोजनका साधन, मात्री तथा नव शिशुको स्वास्थ्य आवश्यकता पुरा गर्न लागत र लाभको आर्थिक विश्लेषण आधारित हुनेछ।
प्रधानमन्त्री ओलीले भने-‘विप्लव चिन्दिन, कही कतै दर्ता नभएको समूहलाई कसरी चिन्नु’
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उनले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने प्रष्ट पारे । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यो गतिविधि बन्देज गर्न रोक लगाएको बताए । उनले सरकारको निकायमा दर्ता गरेको संस्थालाई मात्र प्रतिबन्ध लगाइन्छ, कसैले नचिन्ने, कही कतै दर्ता नभएको, अनाधिकृत विप्लव समूह एउटा मात्र झुण्ड भएकाले त्यसको गतिविधि नियन्त्रण गर्न रोक मात्र लगाएको हो भनी प्रष्ट पारे । उनले विप्लव समूहलाई आह्वान गर्दै भन्नुभयो, “सरकार ठट्टा गर्दैन हत्या हिंसा, आतङ्क सिर्जना गरी जनतामा आतङ्कित गर्ने समूहलाई निषेध मात्र होइन नियन्त्रण पनि गर्छ ।” प्रधानमन्त्री ओलीले “विप्लव समूहलाई निषेध गर्दा नेपालका लोकतान्त्रिक पार्टीका नेताको रुवावासी किन भन्दै इतिहासमा जवाफ दिने कुरा गर्नुहुदैन भने ।” उनले विप्लव समूहको कुनै एउटा पनि माग सभ्य लोकतान्त्रिक समाजले सुन्न सक्ने खालको नभएकोले अनुचित, गैरसंवैधानिक कार्य गर्न रोक लगाइएको बताए । प्रधानमन्त्री ओलीले विखण्डन, पृथकतावादी सोच विचार भएको सङ्गठन अब नेपालमा समाप्त भएको बताउँदै संविधानलाई स्वीकार गरी सक्रिय राजनीतिमा सिके राउत आउँछु भन्दा अन्य नेताको रुवावासी र छाती पिट्नु के उद्देश्य हो बुझ्न आग्रह गरे ।
४ महिनामा १७२ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, बैंकिङ क्षेत्रमा तरलता अभाव चर्किने आशंका
काठमाडौं । बजेटमार्फत् १७२ अर्ब रुपैंया आन्तरिक ऋण परिचालन गर्ने प्रक्षेपण गरेको सरकारले चालु आर्थिक वर्षको पहिलो ८ महिना बितिसक्दासम्म एक रुपैंया पनि आन्तरिक ऋण उठाएको छैन । अघिल्ला वर्षहरुमा तालिका प्रकाशन गरेरै आन्तरिक ऋण उठाउने गरिएकोमा यो वर्ष फागुन महिना सकिँदासम्म कुनै पनि आन्तरिक ऋण नउठाएको हो । नेपाल राष्ट्र बैंक ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले सरकारले ऋण उठाउन निर्देशन नदिएकोले हालसम्म नयाँ आन्तरिक ऋण नउठाएको जानकारी दिए । ‘नेपाल राष्ट्र बैंकले नेपाल सरकारले अनुरोध गरेबमोजिम आन्तरिक ऋण उठाइदिने काम गर्छ, सरकारलाई आवश्यक नपरेकोले हालसम्म त्यस्तो ऋण उठाउन नभनेको हुनसक्छ ।’ कार्यकारी निर्देशक थापाले विकासन्यूजसँग भने । उनले नवीकरणीय ऋणका लागि भने बैंकले ऋण अक्सन गरिरहेको जानकारी दिए । चालु आर्थिक वर्षको ८ महिनामा नेपाल राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन परिपक्व अवधि भएका उक्त बिलहरु ६९ पटक अक्सन गरिसकेको छ तर सबै बिलहरु नवीकरणसँग मात्रै सम्बन्धित छन् । तर अर्थमन्त्री युवराज खतिवडाले हालसम्म आन्तरिक ऋण नउठाए पनि बाँकी अवधिमा बजेटमा उल्लेख गरिएका सम्पूर्ण आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य रहेको बताए । बजेटको अर्धवार्षिक समीक्षाका क्रममा उनले आन्तरिक ऋणमा १०० प्रतिशतकै लक्ष्य कायम रहेको बताएका हुन् । अर्थ मन्त्रालय स्राेतले पनि सरकारले अब आन्तरिक ऋण परिचालन गरेर स्रोत संकलन गर्ने दिशामा केन्द्रित भएको जानकारी दिएको छ । ४ महिनामै सिञ्चित ऋणको ४५ प्रतिशत उठाइँदै नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सरकारको सिञ्चित आन्तरिक ऋण ३ खर्ब ८५ अर्ब ४२ करोड रुपैंया छ जसमध्ये १ खर्ब ४४ अर्ब ८४ करोड विकास ऋणपत्रमा २ खर्ब ३१ अर्ब ७० करोड, नागरिक बचतपत्रमा ८ अर्ब ३७ करोड र बैदेशिक रोजगार ऋणपत्रबाट ५ अर्ब रुपैंया उठाएको छ । सरकारले सिञ्चित रकमको करिब ४५ प्रतिशतले हुन आउने १७२ अर्ब रकम उठाउने भएको हो जसका लागि ४ महिनाभन्दा कम समय बाँकी छ । बजारमा कस्तो असर गर्ला ? बजारबाट छोटो समयमै यति ठूलो रकम उठाउँदा वित्तीय क्षेत्र र बजार तरलतामा असर गर्नसक्ने विश्लेषकहरुको अनुमान छ । विगतमा नेपाल राष्ट्र बैंकले तालिका बनाएरै आन्तरिक ऋण उठाउने गरेको भए पनि यो वर्ष त्यस्तो तालिका नबनाएको र ८ महिनासम्म कुनै पनि ऋण नउठाएर एकैपटक ठूलो मात्रामा रकम उठाउन लाग्दा यसले तरलता र ब्याजदरमा थप चाप पर्नसक्ने उनीहरुले औंल्याएका हुन् । वित्तीय क्षेत्रका विश्लेषक तथा पूर्वबैंकर अनलराज भट्टराईले सरकारले आन्तरिक ऋण उठाउँदा वित्तीय सन्तुलनलाई ख्याल गर्नुपर्नेमा जोड दिए । ‘बजारबाट उठाइएको तरलता बराबर सरकारले खर्च गरेर त्यो खर्च बैंकिङ च्यानलमा आउन सक्यो भने त्यसले ठूलो असर नगर्ला तर त्यस्तो सन्तुलन हुन सकेन भने यसले बैंकिङ क्षेत्रमा ब्याजदर र तरलताको चाप पर्नसक्छ ।’ पूर्वबैंकर भट्टराईले विकासन्यूजसँग भने । उनले यसअघि सरकारले २०० अर्ब बैंकिङ च्यानलमा पठाएकै बेलामा ऋण उठाएको भए त्यसले तरलता सन्तुलन कायम गर्ने अवस्था रहेको बताउँदै त्योबेला त्यसो नगरिए पनि अबका दिनमा पनि खर्च र ऋणको सन्तुलन मिलाउनु जरुरी रहेको बताए । सरकारले एकैपटक आन्तरिक ऋण उठाउँदा यदि त्यसले बजारमा तरलता अभाव सिर्जना गर्यो भने त्यसले सरकारलाई नै घाटा हुने सम्भावना समेत औल्याइएको छ । पूर्बबैंकर भट्टराईकै भनाइअनुसार यस्तो तरलता अभावले बैंकदर वृद्धि गराउने र फलस्वरुप सरकारले जारी गर्ने बिलहरुको लागत समेत महँगो पर्नसक्ने सम्भावना छ । हाल कायम रहेको सीसीडीको कारण बैंकहरुसँग करि ७०० अर्बको तरलता कायम छ । अहिले त्यसमध्ये बैंकहरुले हालसम्म करिब ४५० अर्ब रुपैंया त्यस्ता बिल र बण्डहरुमा खर्च गरेको अवस्था छ । सीआरआरमा करिब १५० रुपैंया छुट्टयाउँदा बाँकी १०० अर्ब भन्दा कम रकम मात्रै बैंकिङ च्यानलमा तरलता कायम गर्नमा खर्च हुन्छ । कर समायोजन, सरकारी तथा नियामकीय नीति र बजारको अवस्थाले यो मात्रामा पनि केही घटबढ हुनसक्छ । बजारमा कहिले तरलता ३०/४० अर्बसम्ममा झरेको पाइएको छ भने सहज अवस्थामा ११०/११५ अर्बसम्म पनि पुगेको देखिन्छ । यही तरलताले बैंक दरलाई प्रभाव पार्छ । तर सरकारले ठूलो मात्रामा जारी गर्ने आन्तरिक ऋणमा यदि सन्तुलन कायम हुन सकेन भने त्यसको असर अल्पाकालिन ऋणमा मात्रै नभएर बजार ब्याजदरमा पनि पर्नसक्छ ।
बजाजले नयाँ वर्ष २०७६ को अवसरमा ल्यायो ‘बजाज उल्टो अफर’, एडभान्स मै १ लाखसम्म पाइने !
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजना अन्तर्गत ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले ‘किने पछि जित्ने, होइन जिते पछि किन्ने’ नारा सहित नयाँ वर्षको योजना शुरु गरेको हो । बजाजले ग्राहकहरुका लागि विभिन्न नयाँ अफर र योजनाहरु ल्याउने गरेको छ । यस पटकबजाजले ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा परम्परागत खरिद गर्ने प्रवृति भन्दा केहि भिन्न प्रकारको अफर ल्याएको छ । पहिले, ग्राहकहरुले केहि सामान खरिद पश्चिात मात्र नगद वा छुट पाउने गरेका थिए । तर, यस योजना अन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्र्याच कार्ड प्रदान गरिनेछ, जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् । साथै उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चात फेरि छुट पाउने छन् । उल्टो अफर योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्छन्, साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् । ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरी यो योजनाको लाभ लिन सक्नेछन् । योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,‘बजाजले ग्राहकहरुका लागि विभिन्न अफर र योजना ल्याएर उत्साहित बनाउदै आएको छ । ग्राहकहरुलाई दोब्बर खुसी प्रदान गर्ने उद्देश्यले बजाजले यस नयाँ वर्ष २०७६ को अवसरमा बजाज उल्टो अफर ल्याएको हो ।’
माउन्टेन हाईड्रोको आईपीओ बाँडफाँड, सबैले पाए न्युनतम ३० कित्ता
काठमाडौं । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले फागुन २३ देखि २८ गतेसम्म निष्काशन गरेको साधारण सेयर (आईपीओ) चैत ३ गते बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सबैले अर्थात ५० हजार ९३८ जनाले न्युनतम ३० कित्ता सेयर पाएका छन् । सो मध्ये २६ हजार ९७३ आवेदकले न्यनतम ३० कित्ता सेयर पाएका छन् भने बाँकी २३ हजार ९६५ आवेदकले गोलाप्रथाबाट कुल ४० कित्ता सेयर पाएका क्यापिटलले जनाएको छ । सबैलाई ३० कित्ता बाँडफाँड गरेपछि दुई लाख ३९ हजार ६५० कित्ता सेयर बाँकी रहेको थियो । जसमा गोलाप्रथाबाट २३ हजार ९६५ आवेदकले थप १० कित्ता अर्थात कुल ४० कित्ताका दरले सेयर पाएका हुन् । उक्त आईपीओमा कुल ५० हजार ९५४ जनाले ३३ लाख ९६ हजार ३५० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमा १६ जना आवेदकको १५ सय ४० कित्ता सेयर रद्द भएको क्यापिटलले जनाएको छ । माउन्टेनले १०० रुपैयाँ दरका १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ बिक्री गरेको थियो । जसमा सामूहिक लगानी कोषलाई ४० हजार कित्ता, कर्मचारीहरुलाई ८ हजार ३२० कित्ता छुट्याई बाँकी रहेको १७ लाख ६७ हजार ७९० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।