विकासन्युज

चिनियाँकाे धन्दा जुवा खेलाउनेदेखि ह्याकिङसम्म, दुतावाससँगकाे तालमेल १२२ जना पक्राउ

काठमाडौँ ।  प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ गर्यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई कोठमाडौँको विभन्न क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरु संस्थागत रुपमा घर भाडामा लिएर गैरकानूनी कार्य गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई पक्राउ गर्न झण्डै तीन महिनाको समय लगाएको छ । “यो तत्कालको घटना होइन, प्रहरीले तीन महिनादेखि नै अनुसन्धान थालेको थियो, तथ्य सङ्कलन गरिसकेपछि मात्रै उनीहरुलाई सोमबार पक्राउ गरिएको हो”, परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने । एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलो हो । यसअघि बैंकको एटिएम ह्याक गरेको आरोपमा सातजना चिनियाँ पक्राउ परेका थिए भने अन्य विभिन्न घटनामा केही चिनियाँ नागरिक पक्राउ परेका छन् । यसपटक उनीहरुलाई बूढानीलकण्ठ, बाँसबारी र मनमैंजुबाट नियन्त्रणमा लिइएको हो । विदेशीले पर्यटक भिसामा नेपाल आएर कुनै घर भाडामा लिई संस्थागत काम गर्न पाउँदैन । चिनियाँ नागरिकहरुले यस्तो गतिविधि गरेको निक्कै समय भएको थियो । उनीहरुको गतिविधि शङ्कास्पद देखिएकाले स्थानीयवासीले नै प्रहरीलाई सूचना दिएका थिए । सोही आधारमा ब्यूरोको नेतृत्वमा प्रहरी टोली सूचना सङ्कलनमा खटिएको थियो । प्रहरीले आवश्यक प्रमाण सङ्कलनका क्रममा उनीहरुले कैफियत पत्ता लगाएपछि नेपालस्थित चिनियाँ दूतावाससँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको बोगटीले बताए । “उनीहरुले केही न केही गलत क्रियाकलाप गरिरहेको निष्कर्षका साथ पक्राउ गरिएको छ, वास्तविकता के छ भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्छ”, बोगटीले भने । प्रहरी स्रोतका अनुसार उनीहरुले नेपाल बसेर नेपालमै हानी गरेको तथ्य अहिलेसम्म फेला पारिएको छैन । चिनियाँ अर्थतन्त्रलाई असर पार्ने गतिविधि गरेको खुल्न नआएको प्रहरीले जनाएको छ । “उनीहरुले जे गरिरहेका छन्, सबै अनलाइनबाटै गरिरहेका देखियो, अनुसन्धानपछि मात्रै खास कुरा पत्ता लाग्ला”, महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले भने । उनले विगतमा भएको बैंकको एटिएम ह्याकिङ्सँग उनीहरुको सम्बन्ध छ की छैन भन्नेतर्फसमेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका नेपाल बसेर अनलाइनमार्फत अश्लिल हर्कत गर्ने, अनलाइन जुवा खेलाउनेदेखि बैंक ह्याकिङ्मा संलग्न भएका समेत परेको जनाइएको छ । पाँच दिनको म्याद थप, हिरासत सानो हुँदा विभिन्न ठाउँमा सारियो उनीहरुमाथि आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र (भिसा) समेत नभएको पाइएको छ । उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको छ । स्थान अभाव हुँदा उनीहरुलाई विभिन्न प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ परेका चिनियाँ नागरिकमध्ये महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा ३८, बालाजु वृत्तमा १५, लैनचौर वृत्तमा ११, दरबारमार्ग वृत्तमा १४ जना राखिएको छ । बाँकी परिसरको हिरासतमा रहेको प्रहरीले जनाएको छ ।  रासस

नेपाल सौर्य विद्युत उत्पादक सङ्घमा खनाल

काठमाडौं । नेपाल सौर्य विद्युत उत्पादक सङ्घको १९ औँ वार्षिक साधारण सभाले इन्द्र खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष किरण गौतम, वरिष्ठ उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, द्धितीय उपाध्यक्षमा रुद्रबहादुर पुन, महासचिवमा भरतकुमार मल्ल, सचिवमा केशवप्रसाद दाहाल र कोषाध्यक्षमा दिपक गौतम निर्वाचित भएका छन् । सङ्घको कार्यकारी सदस्यहरुमा श्रीधर भण्डारी, इन्द्रराज सुवेदी, अरुण गिरी, नेत्रप्रसाद ज्ञवाली, राजेन्द्र बम, तुफेल अहमद खाँ, ज्ञानु शाह, नवीनकुमार शाही र केशवराज शर्मा रहेका छन् । यसअघि चितवनको सौराहामा सम्पन्न साधारणसभाको उद्घाटन समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले मुलुक ऊर्जा निर्भरताका लागि अघि बढदै बढेको र सौर्य ऊर्जा प्रमुख श्रोतको रुपमा स्थापित हुँदै गएको बताए । उनले सरकारको ‘समृद्ध नेपालः सुखी नेपाली’को लक्ष्य हासिल गर्न सबैका लागि दिगो ऊर्जा, दिगो विकास लक्ष्य, हरेक घरःऊर्जा घर, हरेक बस्ती ऊर्जा बस्ती जस्ता लक्ष्य प्राप्तिका लागि योजनाहरु तर्जुमा गरिएको उल्लेख गरे । पूर्वमन्त्री गणेश साहले कृषि तथा उद्योगधन्दा विकास गर्दै मुलुकको आर्थिक विकास गर्न नवीकरणीय ऊर्जाका प्रविधिहरु कुशलतापूर्वक परिचालन गर्नुपर्नेमा जोड दिए । ऊर्जा, जलश्रोत तथा सिँचाइ मनत्रालयका सचिव दिनेशकुमार घिमिरेले निजी क्षेत्रका समस्याहरु समाधान गर्न र कार्य सहजताका लागि सरकार सरकारात्मक रहेको छ भने । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले निजी क्षेत्रको सहयोगमा सरकारले नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्दै देशका विकट र दुर्गम क्षेत्रका बासिन्दालाई स्वच्छ ऊर्जा उपलब्ध गराउन सफल रहेको बताए । उनले ऊर्जा आवश्यकता र उपादेयताको आकार बदलिएको परिप्रेक्ष्यमा सङ्घीय सरकार, प्रादेशिक सरकारहरु र स्थानीय सरकारहरुका साथ निजी क्षेत्रलाई समन्वय गर्न र सशक्तीकरण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिँदै आएको चर्चा गरेका छन् । सङ्घका अध्यक्ष किरण गौतमले सौर्य विद्युत राष्ट्रिय प्रसारणमा जोडिने ठूला आयोजनाहरु, घर कौसीमा राखिएका सौर्य विद्युत् प्रणालीहरुबाट उत्पादित बिजुली नेटमिटरिंङ गर्दै मिश्रित ऊर्जाको अवधारणा अघि बढाइएको भएपनि कार्यान्वयन सुस्त रेहकाले सरकार र सरोकारवाला निकायहरुले तदारुकताका लागि पुनर्विचार गर्न आग्रह गरेका छन् । नेपाल नवीकरणीय उर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधिको उपयोग गर्न जनताको हित र लाभका लागि कृषि नीति, औद्योगिक नीति, लगानी व्यवस्थापनका आर्थिक नीति चुस्त दुरुस्त र निजी क्षेत्रमैत्री बनाउनुपर्नेमा जोड दिए । नेपालमा सौर्य विद्युत प्रणाली विकास एवं प्रवद्र्धनका लागि आरम्भकालदेखि अतुलनीय योगदान गरेका स्व. युगरत्न ताम्राकारको योगदान चिरस्मरणीय तुल्याउन सङ्घले प्रकाशन गरेको ‘युगरत्न स्मृति ग्रन्थ’को पनि सो अवसरमा विमोचन पनि गरियो । उक्त स्मृति ग्रन्थको सम्पादन पत्रकार कृष्ण अधिकारीले गरेका हुन् । रासस

काठमाडौं । क्रिसमस डे नजिकिएसँगै क्रिसमसका सामग्रीहरु खरिदविक्री पनि बढेको छ । नेपालमा क्रिसमसका लागि ५ वर्षमा १४ करोड ६० लाखको १ हजार ९४८ मेट्रिकटन सामान आयात भएको छ । यस उत्सवमा खरिदकर्ताहरूले ट्री, क्लासिक आकार, रमणीय सुगन्ध र नर्डम्यान फर्मको नरम सुइहरू मन पराउँछन् । युरोपको सबैभन्दा लोकप्रिय क्रिसमस ट्री हो । यस प्रकारको रुख नै बजारमा धेरै खपत हुने गर्दछ । व्यापार र निर्यात प्रवधन केन्द्रका अनुसार सो आर्थिक वर्षमा क्रिसमस डेका लागि ३५ करोडको ४३४ मेट्रिटन क्रिसमस डेका समान आयात भएको छ । चीनबाट ३५ करोडको २७२ मेट्रिकटज र इण्डोनेशियाबाट ९ करोडको १९३ मेट्रिकटन क्रिसमस डे मनाउने सामग्री नेपाल आयात भएको छ । अर्थिक वर्ष २०७५/७६ मा क्रिसमस डे मनाउन ४१ करोडको ३८२ मेट्रिकटन सामग्री आयात भएको थियो । अर्थिक वर्ष २०७४/७५ मा विभिन्न देशबाट क्रिसमस डे मनाउन २० करोडको १७८ मेट्रिकटन सामग्री आयात भएको थियो । अर्थिक वर्ष २०७३/७४ मा विभिन्न देशबाट क्रिसमस डे मनाउन १८ करोडको २०७ मेट्रिकटन सामग्री आयात भएको थियो । अर्थिक वर्ष २०७२/७ मा विभिन्न देशबाट क्रिसमस डे मनाउन २९ करोडको ११७ मेट्रिकटन सामग्री आयात भएको थियो । सन् २००४ मा पोप जोन पलले क्रिसमस रूखलाई ख्रीष्टको प्रतीक बताएका थिए ।

एनआईसी एशिया बैंकको नयाँ शाखा ललितपुरको सानेपामा

काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त स्थानमा नयाँ शाखा विस्तार गरी कार्यलयको उद्घाटन गरेको हो । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखाको उद्घाटन गरेको हुन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन अब ७ दिन बाँकी, एयरलाइन्स कम्पनी उडान थप्ने योजनामा

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० सुरु हुन अब सात दिन मात्र बाँकी छ । सरकारले जनवरी १ मा भ्रमण वर्ष २०२० सुरु गर्ने भनेसँगै भ्रमण वर्ष सुरु हुन अब सात दिन बाँकी रहेको हो । सरकारले भ्रमण वर्ष २०२० को अन्तिम तयारी भइरहेको जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भ्रमण वर्षको तयारी अन्तिम चरणमा रहेको बताएको छ । मन्त्रालयले भ्रमण वर्षमा प्रमुख पूर्वाधार विकासको काम सक्ने जनाएका छन् । मन्त्रालयले भ्रमण वर्ष २०२० मा  २० लाख पर्यटक ल्याउन समस्या नरहने बताएको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपालमा बाहिरबाट जहाजको उडान बढेको बताए । उनले अझैं केही एयरलाइन्सले अनुमति लिने प्रकियामा रहेको पनि जानकारी दिएका छन् । भ्रमण वर्ष सफल पार्नका लागि हवाई उडानको पनि महत्वपूर्ण भूमिका हुन्छ, केही कम्पनीहरु हवाई उडानका लागि अनुमति लिने प्रक्रियामा छन्, सम्भवतः भ्रमण वर्षमा हवाई कम्पनीले जहाज थप्न सक्छन्,’ उनले भने । जनावरी १ मा दशरथ रंगशालामा उद्घाटन कार्यक्रम तीन घण्टाको राखिएको उनले जानकारी दिए । उनले केही काम गरिसकेको अवस्थामा पर्यटक आकर्षक गर्न प्याकेज घोषणाको तयारी गरिएको जनाएका छन्। भ्रमर्ण वर्षले प्रयाप्त मात्रामा रोजगारीको सिर्जना गर्ने बताउँदै पहिलो शर्तका रूपमा पूर्वधार विकासमा सरकार लागि परेको उनको भनाइ छ  । भौतिक पूर्वाधार निर्माणतर्फ डिसेम्बर अन्तिमसम्मा गौतमबुद्ध विमानस्थलको काम सकिने र सन् २०२० मार्चबाट संचालनमा आउने जनाएका छन् । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्टिय विमानस्थलको काम सन् २०२० भित्र सम्पन्न हुने उनले बताएका छन् ।

नौ अर्ब रुपैयाँको आईपीओ ल्याउन जुटे नयाँ बीमा कम्पनी, यस्तो हुँदैछ तयारी

काठमाडौं । नयाँ बीमा कम्पनीहरु साधारण सेयर (आईपीओ) जारी गर्ने गृहकार्यमा लागेका छन् । कारोबार सुरु गरेको १ आर्थिक वर्ष पूरा भएपछि आईपीओ जारी गर्न पाउने व्यवस्थाको कारण कम्पनीहरु यसको तयारीमा जुटेका हुन् । आईपीओ जारी गर्न आवश्यक गृहकार्य सुरु गरिएको कम्पनीहरुले जानकारी दिएका छन् । आईपीओ जारी गर्नको लागि लेखापरीक्षण, वार्षिक साधारणसभा, एक्चुरी भ्यालुएसन, सेयर निष्कासन तथा विक्री प्रबन्धक (इस्यू म्यानेजर) नियुक्त जस्ता कार्यमा कम्पनीहरु लागेका हुन् । निर्जीवन बीमा तर्फ ३ र जीवन बीमातर्फ १० नयाँ कम्पनीले लाइसेन्स पाएर बीमा व्यवसाय गरिरहेको भएपनि ती कम्पनीले आईपीओ निष्कासन गरिसकेका छैनन् । कम्पनीहरुलाई आईपीओ जारी गर्न बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि ताकेता गर्न थालेको छ । नयाँ कम्पनीहरुलाई आईपीओ जारी गर्न तोकेता गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले कम्पनीहरुलाई वित्तीय विवरण पेश गरेर आईपीओ जारी गर्ने प्रक्रियामा जान ताकेता गरेको हो । ‘नयाँ कम्पनीहरुले आईपीओ जारी गर्ने बेला भइसकेको छ, कम्पनीहरुलाई वित्तीय विवरण चाँढै पेश गरेर आईपीओ निष्कासनको प्रक्रियामा गइहाल्नु भनेका छौं,’ कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने । निर्जीवन बीमा व्यवसाय गरिरहेको अजोड, जनरल र सानीमा इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गरेका छैनन् । यस्तै, जीबन बीमा व्यवसाय गरिरहेका सिटिजन्स, ज्योति, युनियन, रिलायन्स, सानिमा, प्रभु, आईएमई, रिलायवल, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि आईपीओ जारी गरेका छैनन् । जीबन र निर्जीबन बीमा कम्पनी गरी १३ वटा कम्पनी ८ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अन्तिम तयारीमा छन् । यस्तो भन्छन् कम्पनीहरु: अजोड इन्स्योरेन्स कम्पनी अजोड इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको तयारी गरिरहेको छ । अजोडले सेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्त नै गरिसकेको छ । ‘हामीले हाम्रो इस्यू म्यानेजरको रुपमा एनआईबीएलएस क्यापिटललाई छनोट गरिसकेका छाँै, बाँकी रहेका काम पनि हामीले गर्दैछाँै, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भने । जनरल इन्स्योरेन्स कम्पनी जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको लागि तयारी गरेपनि केही समय लाग्ने बताएको छ । ‘हामीले आईपीओ निष्कासनको काम गर्दै छौं, बीमा समिति र धितोपत्र बोर्डका प्रकृयाहरुसमेत पूरा गर्नुपर्ने भएकोले केही सयम लाग्छ कि जस्तो छ, तर सकेसम्म छिटै सक्ने गरी गृहकार्य गरिरहेका छौं,’ जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले भने । सन नेपाल लाइफ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया निकै अगाडि पुर्याइसकेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जानकारी दिए । ‘हामी आईपीओ निष्कासनको प्रक्रियामा निकै अगाडि बढिसकेका छौं, आवश्यक कागजातहरु धितोपत्र बोर्डमा पठाएका छौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले भने । युनियन लाइफ युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको लागि गृहकार्य गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले जानकारी दिए । महालक्ष्मी लाइफ महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको भने यस वर्ष आईपीओ आउँदैन । आईपीओ आउँन कम्पनीहरुले कम्तिमा एक आर्थिक बर्ष कारोबार गरेको हुनुपर्छ । महालक्ष्मी लाइफले कारोबार सुरु गरेको एक आर्थिक वर्ष पूरा भएको छैन । ‘हामीले कारोबार सुरु गरेको एक आर्थिक वर्ष पूरा भएको छैन, तोकिएको समय पुगेपछि आईपीओ जारी गर्ने प्रक्रियामा जान्छौं,’ कम्पनीमा डेपुटी सिइओ रामेश्वर श्रेष्ठले भने । सानिमा लाइफ सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया निकै अगाडि बढाइसकेको छ । ‘जतिसक्दो चाढै आईपीओ निष्कासनको लागि गृहकार्य गरिरहेका छौं, प्रक्रिया पनि निकै अगाडि बढिसकेको छ,’ कम्पनीका महाप्रबन्धक शिवराम तिमल्सिनाले भने । प्रभु लाइफ प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनका लागि केही समय लाग्ने जानकारी दिएको छ । ‘आईपीओ निष्काशन गर्न केही समय लाग्ला, प्रकृया अघि बढाइरहेका छौँ, इस्यु म्यानेजर छनोट भइसकेको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण पौडेलले भने । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले इस्यू म्यानेजरको रुपमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ । सिटिजन्स लाइफ सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको लागि रेटिङ्ग गरिसकेको छ । क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले रेटिङ गरेको हो । ‘इस्यू म्यानेजरको लागि एनआईबिएलएस क्यापिटललाई नियुक्त गरिसकेका छौं, अन्य गृहकार्य पनि करिब अन्तिम चरणमा पुगेको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोशकराज पौडेलले भने । ज्योति लाइफ, रिलायन्स लाइफ, आइएमइ लाइफ, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले पनि आईपीओ जारी गर्ने प्रकृया सुरु गरिसकेका छन् ।

गंगालाल अस्पतालकाे कार्यकारी निर्देशक पदमा डा. चन्द्रमणि अधिकारी नियुक्त

काठमाडौं। शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको कार्यकारी निर्देशक पदमा डा. चन्द्रमणि अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मुटुरोग विशेषज्ञ डा अधिकारीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अस्पतालका पुर्व निर्देशक डा. जितेन्द्र सिलवालले ४ वर्षको कार्यकाल पुरा गरेर गत साउन २५ गतेबाट अवकास पाएका थिए। उनको अवकास पछि तत्त्कालिन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा युवराज लिम्बूलाई गंगालाल अस्प्तालको निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए । अधिकारिको कार्यकाल ४ वर्षको रहनेछ।

सिद्धार्थ बैंकले वार्षिकोत्सवको अवसरमा विशेष छुट दिँदै, मात्र ३१ दिन लागू हुने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । पुस ९ गते रहेकाे १७औं वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले ३१ दिनसम्म लागू हुने गरी उक्त याेजना ल्याएकाे हाे । उक्त छुट पुस ९ गतेदेखि माघ १० गतेसम्म लागू हुने बैंकले जनाएकाे छ । यस योजनामा ग्राहकहरुले निम्न बमोजिम छुटहरु पाउने छन्ः -दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म (अधिकतम ५०० रुपैयाँ) छुट -पहिलो दुई पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५०० रुपैयाँ क्यास ब्याक -पहिलो दुई पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको पीओएस मेसिन मार्फत् कारोबार गर्दा ३८२ रुपैयाँ क्यास ब्याक -एक महिना भित्र कम्तिमा तीन पटक गरी कुल १५ हजारको पीओएस मेसिन मार्फत् कारोबार गर्दा एक हजार रुपैयाँ क्यास ब्याक -बैंक स्मार्ट मार्फत् पहिलो पटक अधिकतम ५०० रुपैयाँको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक