विकासन्युज

जन्मिएलगत्तै शिशुका नाममा बैंक खाता खोलिने

खलङ्गा । जुम्लाको पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले रु तीन हजार र अभिभावकले रु तीन हजार गरी एकैपटक रु छ हजार जम्मा गरिदिने गरेको छ । सम्पूर्ण गाउँपालिकावासीलाई बैंकको पहुँचमा पुर्याउने र वित्तीय साक्षरता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको शुरुआत गरिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । स्वास्थ्य संस्थामा जन्मिएका बच्चाको नाममा बैंक खाता खोलिदिने कार्यक्रम गत वर्षबाट गाउँपालिकाले सञ्चालनमा ल्याएको हो । महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको प्रमाण पेश गरेमा गाउँपालिकाले रु तीन हजार बच्चाको नाममा जम्मा गरिदिने गरेको छ । बच्चाको नाममा रकम जम्मा गर्ने गाउँपालिकाको कार्यक्रमले सबै महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेका छन् । भविष्यमा बालबालिकालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने गाउँपालिका अध्यक्ष बोहोराले बताएका छन् । बालबालिकाको उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस् भनेर बालबालिकाको नाममा बैंक खाता खोलिदिने नीति तथा कार्यक्रमको शुरुआत गरिएको बोहोराले बताए । स्वास्थ्य संस्थामा बच्चा जन्मिएको प्रमाणसहित जन्मदर्ता गराएकै दिन बैंक खाता खोलेर रकम जम्मा गरिदिने गरेको अध्यक्ष बोहोराले बताए । स्वास्थ्य संस्थामा सुत्केरी भएमा आमा र बच्चाको जीवन सुरक्षा हुने भन्दै अध्यक्ष बोहोराले स्वास्थ्य संस्थामा जे जन्मिए पनि बच्चाको नाममा बैंक खाता खोलिदिने गरेको बताएका हुन् । गत वर्षसम्म रु दुई हजार ५०० जम्मा गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि रु ५०० थपेर रु तीन हजार पुर्याएको र उच्च शिक्षा हासिल गर्न एकैपटक धेरै रकम आवश्यक पर्ने हुँदा जन्मेदेखि बचत गरेमा सहज हुने हेतुले यो कार्यक्रम गाउँपालिकाले लागू गरेको अध्यक्ष बोहोराले बताए । “अहिले विभिन्न उत्सवका नाममा खर्च गर्ने होडबाजी छ”, अध्यक्ष बोहोराले भने, “कम्तीमा बालबालिकाकै खाता भयो भने बचत गरिदिऊँ भन्ने अभिभावकको मनमा पक्कै पर्छ, यसले आर्थिक अवस्था मजबुत गर्छ भन्ने हाम्रो विश्वास हो ।” घरमै सुडेनीका भरमा हुने गरेका असुरक्षित प्रसूति कार्यलाई शून्य बनाउन यस कार्यक्रमले मद्दत गर्ने अध्यक्ष बोहोराले बताए । रासस

बीस हजार सवारी चालक कारबाहीमा, डेढ करोड राजश्व संकलन

तुलसीपुर । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट रु एक करोड ५५ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ३४ हजार ५१० सवारी चालकको कारवाहीबाट रु एक करोड १३ लाख पाँच हजार राजश्व सङ्कलन भएको थियो । चालू आवको साउनमा दुई हजार ४०० सवारी चालकको कारवाहीबाट रु १५ लाख सात हजार ५०० राजश्व सङ्कलन भएको छ । त्यस्तै भदौमा चार हजार ३०० चालकको कारवाहीबाट रु २६ लाख ९३ हजार ५००, त्यस्तै, असोजमा रु चार हजार ६५० सवारी चालकको कारवाहीबाट रु २८ लाख ४२ हजार ५००, कात्तिकमा चार हजार ४०० चालकको कारवाहीबाट २७ लाख २२ हजार र मङ्सिरमा चार हजार ५५० सवारी चालकको कारवाहीबाट रु २८ लाख १५ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । सो अवधिमा दुई हजार ७३५ बस चालक, तीन हजार ६७७ ट्रक चालक, दुई हजार ६१५ जीप चालक, सात हजार ६६० मोटरसाइकल चालक, एक हजार ९२७ ट्र्याक्टर चालक, एक हजार ६८६ टेम्पो चालक गरी जम्मा २० हजार ३०० सवारीसाधन चालक कारवाहीमा परेको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिए । उनले मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, उछिन्ने, छतमा यात्रु राखेका, प्रयोजन विपरीत चलाएका, लेन अनुशासन मिचेकाजस्ता कारणले गर्दा उनीहरुलाई कानूनी दायरामा ल्याइएको बताए ।

आयातित ढाकाले बजार लिएपछि पाल्पाली ढाका उद्योग धरापमा

बेझाड । पाल्पाली ढाकाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा राम्रो ख्याति कमाएको छ । हातले बुनेका असली पाल्पाकै ढाका कपडाका उत्पादन ग्राहकको रोजाइमा पर्छ । तर पछिल्लो समय पाल्पामा ढाका उत्पादन व्यवसाय धरापमा परेको छ । तानबाट उत्पादन गरिएका असली ढाका खरिदका लागि आन्तरिक मात्र नभई विदेशी पर्यटकको आकर्षण रहेका बखत बाहिरबाट मेशिनमा उत्पादित ढाका जिल्लामा भित्रन थालेपछि यहाँको ढाकाको व्यवसाय सङ्कटमा आएको सम्बद्ध व्यवसायी बताउँछन् । जिल्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले यहाँ उत्पादन हुने ढाकाका सामग्री उपहारका रुपमा लैजाने गर्छन् । कुनै समय पाल्पामा ३५/४० वटा ढाका उद्योग सञ्चालनमा रहेका थिए । ती उद्योगमा करिब छ हजारले रोजगारी पाएका थिए । तर अहिले मुस्किलले आठ/नौ वटा ढाका उद्योग सञ्चालनमा छन् । त्यसमा करिब २५० जनाले मात्र रोजगार पाएका छन् । हाते तानबाट उत्पादन गरिने ढाका गुणस्तरीयताको हिसाबले राम्रो मानिने गरिन्छ । बाहिरबाट तयारी ढाका जिल्लामा आउन थालेपछि पाल्पाली ढाका उद्योग सङ्कटमा पर्दै गएका हुन् । विसं २०१५ मा स्व. गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि यसको पाल्पामा शुरुआत भएको थियो । महर्जनका श्रीमती पूर्णमाया महर्जनका अनुसार त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो । छिटो बुनिने हुँदा पछिल्लो समय पाल्पाली ढाका हातेतानभन्दा पनि मेशिनबाट चल्ने जेकार्ड हाते तानमा बुन्ने गरिन्छ । विसं २०१५ मा तानसेनमा हाते तान शुरु गरे पनि विस्तारै यसको मेहनतअनुसारको आम्दानी हुन छाडेपछि जेकार्डबाट बुन्न थालिएको महर्जनले बताए । “यहाँ उत्पादन गरिएको ढाका ३६ जिल्लामा माग भई पठाइयो, कमाई राम्रै भइरहेको थियो, अहिले बाहिरबाट आयातित ढाकाले गर्दा यहाँको उत्पादन कम हुन थालेको छ, तैपनि उद्योग बन्द हुन भने दिने छैन”, उनले भने । पाल्पा जिल्लाको राम्रो पहिचान बोकेको ढाका हिजोआज उत्पादन कम हुँदा उद्योग नै सङ्कटमा पर्न थालेपछि रोजगारी नै बन्द हुनेमा धेरैको चिन्ता छ भने अर्कोतर्फ जिल्लाकै पहिचान मेटिने चिन्ताले पिरोलेको छ । पाल्पाको पहिचान झल्कने ढाका कपडा उद्योगलाई बचाइराख्न प्रदेश सरकारसँग समन्वय भइरहेको पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले बताए । “जिल्लाको राम्रो पहिचान बोकेको ढाका स्वदेशमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा प्रख्यात छ, यसको संरक्षणमा उद्योग वाणिज्य सङ्घ लाग्नेछ, ढाकाको पहिचान मेटिन दिने छैनौ” उनले भने । पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले कोशेली तथा मायाको चिनोका रुपमा ढाका कपडा, ढाका कपडाबाट उत्पादित सामग्री झोला, हाते पर्स, पछ्यौरा, इस्टकोट, टोपी लैजाने चलन छ । यहाँको ढाका असली र गुणस्तरीय तथा छुट्टै पहिचान बोकेकाले पनि खोजीखोजी ढाका कपडा तथा यसबाट उत्पादित सामग्री लैजाने गर्छन् । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको अभिलेखमा १९ वटा ढाका उद्योग दर्ता भए पनि हाल मुस्किलले आठ÷नौ वटा उद्योग सञ्चालनमा छन् । देश तथा विदेशमा प्रख्याति कमाएको ढाका र करुवाले जिल्लाको पहिचान बढाएको छ । पाल्पा नाम सुन्नेबित्तिकै जो कसैलाई पनि ढाका र करुवाको स्मरण हुने गर्दछ । जिल्लाकै गौरव र विकासमा ठूलो टेवा पु¥याएको छ ढाका र करुवाले । ढाका र करुवाकै कारण यहाँ दिनहुँ थुप्रै पर्यटक भित्रने गर्दछन् । यहीँ ढाका कपडा र करुवाकै कारण पाल्पाको देश तथा विदेशमा प्रख्याति बढ्दै गएको छ । यहाँका महिलाको आयस्रोतका माध्यम नै ढाका पसल बनेको थियो । ढाका कपडाको व्यापारबाट जिल्लाका हजारौँ मानिसलाई रोजगारीको गर्ने अवसर मिलेका बखत बाहिरबाट सामान भित्रन थालेपछि रोजगारी नै खोसिन थालेको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले पाल्पाली ढाका तथा करुवाको संरक्षणमा कार्यालयले निकै चासो दिएको जनाएको छ । पाल्पालाई चिनाउने ढाकाको चोली, टोपी पाल्पा आउने पाहुनालाई उपहारका रुपमा दिने अहिले पनि चलन छ । कतिपय बाहिरी जिल्ला तथा विदेशी पर्यटकले समेत पाल्पा आउँदा पाल्पाली ढाका र करुवा चिनोको रूपमा लैजाने गर्दछन् । यसको संरक्षणमा सम्बन्धित पक्षले ध्यान पुर्याउन नसके लोप हुनेमा स्थानीयवासी चिन्ता व्यक्त गर्छन् । तानबाट ढाका कपडा बुनेर यहाँका धेरै महिला स्वरोजगार बने । घरखर्च चलाउन छोराछोरीलाई पढाउन आर्थिक अभाव झेल्दै आएका जिल्लाका ग्रामीण भेगका महिलाका लागि पाल्पाली ढाका कपडा बुन्ने एउटा राम्रो रोजीरोटीको माध्यम भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनमा राज्यले विशेष ध्यान पुर्याउनुपर्ने माग स्थानीयवासीको छ । रासस

मदन भण्डारी राजमार्ग सर्भेमा विवाद

काठमाडाै‌। स्थानीयवासीबीच सडक रुटमा सहमति नजुट्दा पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे रोकिएको छ । सालकोट–बाबियाचौर खण्डको विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासीले बड्डीचौर–गुटु सडकखण्ड अवरुद्ध पारेका छन् । स्थानीयवासीको अवरोधका कारण राजमार्गको विस्तृत आयोजना प्रतिवेदन ९ डिपिआर ० का लागि भइरहेको सर्भे रोकिएको हो । राजमार्ग सालकोट र बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा स्थानीयवासीबीच सहमति जुट्न सकेको छैन । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले सङ्घीय सडक बोर्डले साधारण मार्ग खोलिएका दुईलाई राजमार्ग र सहायक मार्ग भनेर छुट्याउन नसक्दा विवाद बढेको बताउनुभयो । स्थानीयस्तरमा विवाद बढेपछि सडक बोर्ड र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदले सहजीकरण गर्नुपर्ने उनको सुझाव छ । नगर प्रमुख थापाका अनुसार पञ्चपुरी २ बेनीघाटदेखि वडा नं ६ जाने र वडा नं ३ को सालकोट हुँदै वडा नं ९ को विद्यापुर जोड्ने सडकमा विवाद देखिएको छ । पञ्चपुरी–५ का अध्यक्ष होमबहादुर रामजालीले विवाद समाधानका लागि तल्लो र माथिल्लो बस्तीका बासिन्दासँग छलफल अघि बढाइएको जनाए । उनले छोटो दूरी, वन क्षेत्रमा पर्ने असरका साथै अधिग्रहण गर्नुपर्ने घरजग्गा कम भएको स्थानलाई छनोट गर्नुपर्ने बताए । “सहमतिका लागि स्थानीयस्तरमा प्रयास भइराखेको छ, धेरै दिन सर्भे रोकिनुहुन्न भन्नेमा हामी जनप्रतिनिधि सचेत छौँ”, उनले भने । डिपिआर तयार गर्ने जिम्मा सिल्टर सिआरसी र जिओकम जेभी ललितपुरले पाएको छ । आन्दोलित स्थानीयवासीले पञ्चपुरी –२ खम्बागाडे–सालकोट–चतुरे बाबियाचौरसम्म सर्भे हुनुपर्ने माग गरेका छन् । असन्तुष्ट स्थानीयवासीले सङ्घर्ष समिति गठन गरेर सर्भे रो्क्नाका साथै उक्त खण्डमा चल्ने सवारीसाधन ठप्प पारेका छन् । सङ्घर्ष समितिका संयोजक झक्कबहादुर सिँजापतिले बढी जनसङ्ख्या भएको क्षेत्र राष्ट्रिय राजमार्गबाट लाभान्वित हुनुपर्ने तर्क गर्नुभयो । उनले आफूहरुको माग पूरा नभए आन्दोलन जारी राख्ने बताए । रासस

ठिंगनबाट देखियो बतासे डाँडामा आगोको मुस्लो, प्रहरी घटनास्थल जाँदै

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १२ ठिंगनबाट गढी गाउँपालिकाको ७ नम्बर वडाको बतासे डाँडा क्षेत्रमा आगोको मुस्लो देखिएको छ । आगोको मुस्लो देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका छन् । प्रहरीको एक टोली घटना स्थालमा गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।   बकैया गाउँपालिका ११ नम्बरका वडा अध्यक्ष गोपाल लामाले अनकान्तार भिरमा आगोको मुस्लो देखिएको र त्यो ठाउँमा पुग्न पनि २ देखि ३ घन्टा लाग्ने बताएका छन्। नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक त्रिलोचन पौड्याल भने विमान दुर्घटनाको कुनै सूचना आफूलाई नआएको बताए ।

सम्झौताभन्दा सात महिना अगावै ग्वार खोलामा पक्की पुल निर्माण

तुलसीपुर। तुलसीपुर उपमहानरपालिका–६ गोरौराका ७० वर्षीय विष्णुप्रसाद भट्टराई घरदेखि झण्डै साढे छ किलोमिटर टाढा रहेको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वार खोलामा निर्माण गरिएको पक्की पुलको सोमबार अवलोकन गर्दै गरेको भेटिए । उनी निकै खुशी हुदै पुल हेर्न त्यहाँ भेटिएका पुगेकाहरुसँग कुरा गर्दै थिए, “म त यो पुल यतिछिटो निर्माण भइसकेको देख्दा दङ्ग भएँ, यसरी नै अन्य क्षेत्रमा विकासका काम छिटोछरितो सम्पन्न भए कति नागरिकहरुले सेवा पाउने थिए ।” तोकिएको समयभन्दा अगाडि नै पुल निर्माण गरेर सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने निर्माण कम्पनीलाई राज्यले पुरस्कृत र ढिलासुस्ती गर्नेलाई कारवाही गर्नसके यहाँका अन्य खोलामा अलपत्र परेका पुल निर्माण हुने उनको भनाइ थियो । उनले पुल हेर्न पुगेका सर्वसाधारणसँगै भन्दै थिए, “दुई वर्ष पहिले घोराहीबाट तुलसीपुर फर्कने क्रममा म सवार यात्रुवाहक बसलाई यही खोलामा आएको बाढीले बगायो । प्रहरी तथा स्थानीयवासीले २०० मिटर टाढा बगेर पुगेका हामीहरुलाई उद्धार गरे, एक जना यात्रुलाई खोलाले बगाएर लग्यो उनको खोजी तथा उद्धार अबेर रातिसम्म गरियो, कहीँ फेला परेनन्, त्यसको तीन दिनपछि शव टाढाको खेतमा भेटियो ।” अहिले पनि त्यो घटना सम्झँदा मन झसङ्ग हुने उनले बताए । त्यसैले पनि अहिले यहाँ निर्माण सम्पन्न भएको पक्की पुल हेर्न आएको उहाँको भनाइ थियो । त्यस्तै पुलपारि घर भएकी तुलसीपुर उपमहानगरपालिका–७ की ५५ वर्षीया रुपकली कँडेलले पनि ग्वार खोला पुल समयमै निर्माण भएकाले आफू निकै खुशी भएको बताए । उहाँका अनुसार घरनजिकै खोला भएकाले वर्षाद्को समयमा नागरिकहरुले भोगेका पीडा दिनहुँ देख्नुपर्दथ्यो । “कतिपय यात्रुहरु खोला वारपार गर्न नसकेपछि रातभरि बाटोमा बसेका हुन्थे । कतिको ज्यान गयो, कतिपय मोटरसाइकलका यात्रुलाई त घरमा नै बास बस्न दिएकी थिएँ । खोलामा पानीको सतह घटेपछि सुरक्षित यात्रा गराएर पठाएको मानसपटलमा ताजै छ”, उनले भने । तुलसीपुर–घोराही सडकखण्ड हुदै काठमाडौँसम्मको गाडी चलाउँदै आएका बस चालक केशव भण्डारीले ग्वार खोलमा यति छिटो पुल निर्माण सम्झौताभन्दा ६ महिना अगाडि सम्पन्न हुन्छ भने अरू खोलामा किन हुदैन भन्दै अब यसको नागरिकस्तरबाट पनि खोजी गरिनुपर्ने बताए । उनले भनेञ, “लामो दूरीबाट गाडी चलाएर आउँदा खोलाले रोक्छ कि यात्रुलाई कसरी समयमा गन्तव्यमा पु¥याउने भन्ने तनाव लिनु पर्दथ्यो, कतिपय अवस्थामा बाढी आएपछि घण्टौँघण्टा खोला छेउमा बस्नुपथ्र्यो, कतियप अवस्थामा मन ठूलो पारेर बस बाढी आएको बेला चलाउनुपर्ने बाध्यता हुन्थ्यो, अब भने हट्ने भयो, खुशी छु ।” समयअगावै पुल बनेकामा यहाँका धेरै नागरिक तथा विभिन्न पेशा क्षेत्रमा रहेकाले खुशी प्रकट गरेका छन् । धेरै सामाजिक सञ्जालमा पुल निर्माण कम्पनीलाई धन्यवाद दिएका छन् । कतियपले कामको मूल्याङ्कन गर्न सरकारलाई अनुरोध गरेका छन् । घोराही–तुलसीपुर सडकखण्डमा आधा दर्जन बढी पुल लामो समयदेखि निर्माण शुरु भएका छन् । तीमध्ये केही पुलको निर्माण अन्तिम चरणमा पुगेका छन् । तर पत्र खोलाको पुल पाँच वर्षदेखि निर्माण थालिए पनि अहिले १५ प्रतिशत काम पूरा भएको छैन । ग्वार पुलको निर्माण गर्ने जिम्मा कालिका रसुवा जेभीको रसुवा निर्माण कन्ट्रक्सन कम्पनीले विसं २०७४ साल असार ११ गते पाएको थियो । निर्माण कम्पनीले आगामी असार मसान्तसम्म हस्तान्तरण गर्ने सम्झौता भए पनि मङ्सिर महिनाको अन्तिमा नै सम्पन्न गरिसकेको कम्पनीका प्रतिनिधि सिनेटमान श्रेष्ठले जानकारी दिए । सो पुलको भुक्तानी तथा प्राविधकको काम पुल योजना महाशाखा सेक्टर नंम्बर ३ बाँकेको रहेको छ । महाशाखाका इञ्जिनियर विश्व केसीले रु २८ करोड ३७ लाख ६६ हजारको लागतमा पुल निर्माण सम्पन्न भएको बताए । उनले २२० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पक्की पुल निर्माणका लागि कार्यालयले विसं २०७४ असार ११ गते सम्झौता गरी २०७७ साल असारसम्ममा निर्माण गर्ने गरी जिम्मेवारी दिएकामा निर्माण कम्पनीले सात महिना अगाडि निर्माण सम्पन्न गरी हिजोदेखि सञ्चालनमा ल्याएको पनि जानकारी दिए । उनका अनुसार कार्यालयले भौतिक पूर्वाधार मन्त्रालयमा पुल निर्माण सम्पन्न भइसकेको लिखित जानकारी गराइसकेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्जालमा समृद्ध नेपाल बनाउने सपना पूरा हुँदै आएको भन्दै तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा तोकिएको समय अगावै निर्माण कम्पनीले निर्माणको काम सम्पन्न गरी सञ्चालनमा आएकोमा धन्यवाद दिएका छन् । उनले योजना कार्यान्वयमा महत्वपूर्ण भूमिका निभाउनुहुने प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसहित सबैलाई धन्यवाद दिनुभयो । यसअघि मुख्यमन्त्री पोखरेलले सो पुलको अवलोकन तथा निरीक्षण पटकपटक गरेकाक थिए । सोही निर्माण कम्पनीले कपडादेवीदेखि मानपुर जोड्ने ग्वार खोलामा पक्की पुल र टरिगाउँदेखि ललौरा जोड्ने सोही ग्वारखोलको पक्की पुल पनि तोकिएको समयभन्दा छ महिना पहिले नै निर्माण सम्पन्न गरेको थियो । ती दुवै पुल २०० सय मिटर लामो र १० मिटर चौडा रहेका छन् । त्यहाँ पुल निर्माण भएपछि तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका नागरिकहरुलाई यातायातमा पहुँच पुग्नुका साथै त्यहाँका किसानहरुले उत्पादन गरेका तरकारी, खाद्यान्न सामग्री बिक्रीका लागि तुलसीपुर बजारमा ल्याउन सजिलो भएको छ । रासस

प्रभु लाइफ इन्स्योरेन्सका तीन नयाँ शाखा विस्तार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना नयाँ तीन शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।उक्त  इन्स्योरेन्सले सुर्खेत शाखा, टिकापुर उप–शाखा र अत्तरिया उप–शाखाहरुको शुभारम्भ गरी कारोबार शुरु गरेको हो । पुस ७ र ८ गते तीनवटै कार्यालयहरुको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरेले गरेका हुन् । अध्यक्ष डा. आत्मा राम घिमिरेले यस कम्पनी शाखाहरु विस्तारको क्रममा रहेको र पश्चिम नेपालका विभिन्न स्थानहरुमा भएका शाखा विस्तारबाट यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत गरेका छन् । कार्यक्रममा कम्पनीका प्रमुख दकार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन् ।

महालक्ष्मी विकास बैंकद्वारा दृष्टिबिहीनलाई सय थान सेतो छडी हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको थापाथली शाखाले दृष्टिबिहीनहरुका लागि सय थान सेतो छडी हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार सो मात्रामा सेतो छडी वितरण गरेको हो । बैंकले दृष्टिबिहीन बालबालिका तथा युवाहरुलाई दैनिक  क्रियाकलापका साथै हिडडुल गर्न सहज होस भन्ने हेतुले सेतो छडी प्रदान गरी कार्यक्रम सम्पन्न गरेको थियो । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।