विकासन्युज

जनता आवास कार्यक्रममार्फत रुपन्देहीमा १८० घर निर्माण हुँदै

रुपन्देही। रुपन्देहीको १० प्रदेशसभा निर्वाचन क्षेत्रमा जनता आवास कार्यक्रममार्फत १८० घर निर्माण हुने भएको छ । सरकारले दलित, विपन्न, मुसलमान, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने लक्ष्यानुसार ती घर निर्माण हुन लागेको शहरी विकास तथा भवन कार्यालय, रुपन्देहीले जनाएको छ । सो कार्यालयका प्रमुख इञ्जिनीयर गोविन्द गौतमले जिल्लाको घर निर्माण हुने स्थान र लाभग्राही छनोटको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै रुपन्देहीका प्रत्येक निर्वाचन क्षेत्रमा १८ घर निर्माण हुन लागेको बताए । उनले लाभग्राहीमा नाम छनोट भएकाले ३० दिनभित्र घर निर्माणको काम शुरु गर्नुपर्ने उल्लेख गर्दै विभिन्न चार चरणमा लाभग्राहीले रु तीन लाख ३६ हजार रकम प्राप्त गर्ने जानकारी दिए । उक्त रकमबाट लाभग्राहीले दुई कक्षसहितको जस्ताले छाएको घर र शौचालय निर्माण गर्ने बताइएको छ । रुपन्देहीका देवदह, तिलोत्तमा, सैनामैना, लुम्बिनी सांस्कृतिक नगरपालिकालगायत विभिन्न गाउँपालिका र नगरपालिकामा जनता आवासअन्तर्गत घर निर्माण हुने छ । सङ्घीय सरकारले नै जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले गत वर्षदेखि मात्रै कार्यक्रम सञ्चालन गरेकोे छ । “दलित, विपन्न, मुसलमान, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गरेर उनीहरुलाई आवासको सुविधा दिनु नै यसको उद्देश्य हो”, प्रमुख इञ्जिनीयर गौतमले भने । कार्यक्रम प्रदेश नं ५ का १२ जिल्लामा नै सञ्चालनमा रहेको बताइएको छ । रुपन्देहीमा विसं २०६६ देखि सो कार्यक्रम सञ्चालनमा छ । कार्यक्रममार्फत गत वर्ष रुपन्देहीमा ४४९ तथा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची र नवलपरासीमा एक हजार १३४ घर निर्माण भएको छ ।

डेढ घण्टाको यात्रापछि मात्र विद्यालय पुग्छन् काभ्रेपलाञ्चोकका विद्यार्थी

काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिका बालबालिका पढ्नका लागि अहिले पनि भोकै हिँडेर घण्टौँको बाटो पार गर्नुपर्छ । भौगोलिक विकटता र यातायातका असुविधा भएका ती ठाउँका साना बालबालिकालाई खान र लगाउनको पर्वाहविना किताबकापी काखी च्यापेर एकदेखि दुई घण्टाको बाटो हिँडेर पढ्न जानुपर्ने बाध्यता छ । यस्तै बाध्यतामध्येको एउटा उदाहरण हो महाभारत गाउँपालिका–१ छोटेसाहनका चन्द्रोदय प्राथमिक विद्यालयका बालबालिकाको जहाँ छिमेकी जिल्ला सिन्धुलीदेखि प्राथमिक तहमा अध्ययन गर्न विद्यार्थी आउने गरेका छन् । कक्षा २ का प्रदीप हिन्दुङ एक घण्टा हिँडेर विद्यालय आउने गर्छन् । घरदेखि विद्यालयसम्म आउन बीचमा खोला पार गरेर आवतजावत गर्नुपर्ने उहाँको भनाइ छ । हिँड्न सहज हुने भए पनि किताबकापी काखी च्यापेर हिँड्नु पर्दा समस्या हुने गरेको उहाँले बताए । “झोला छैन, सधैँ यसरी नै किताबकापी काखी च्यापेर विद्यालय आउने जाने गर्छु ”, हिन्दुङले भने, “हाम्रो गाउँबाट पढ्न आउने सबै यसरी नै आउँछन् ।” अर्का कक्षा २ का सुरोत गोलेको पनि अवस्था उस्तै छ । उनलाई पनि घरबाट विद्यालयसम्म आउन एक घण्टा लाग्छ । “बिहान खाना खाएर आएदेखि बेलुका विद्यालय छुट्टी भएर गएपछि मात्रै खाजा खान पाइन्छ । विद्यालयमा आउँदा खाजा बोक्ने कहिल्यै गरेको छैन”, उनले भने, “गाउँका सबै साथीहरुको अवस्था यस्तै हो ।” सिन्धुली मात्रै होइन जिल्लाभित्रैका अन्य ठाउँबाट आउने बालबालिकालाई पनि त्यसभन्दा बढी हिँड्नुपर्ने बाध्यता छ । एउटै कोठामा दुईतिर राखेर पढाउने गर्दै आएको सो विद्यालयका कक्षा २ र ३ एउटा कोठा र कक्षा ४ र ५ अर्कामा सञ्चालन भइरहेको छ । एकातिर शिक्षकले पढाउने बेलामा यताउताको कुराकानीबाट होहल्ला हुने भए पनि उनीहरु बाध्यताले एकै कोठामा पढ्दै आएका छन् । भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ(शिक्षा)ले भवन निर्माण गर्न सहयोग गरिरहेको भए पनि विद्यालय प्रशासन र व्यवस्थापन समितिको कमजोरीका कारण ढिलाइ भइरहेको छ । सोही गाउँपालिका–७ मा रहेको जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीको अवस्था पनि उस्तै छ । भूकम्पबाट विद्यालय भवन भत्किएपछि टहरामा नै बसेर अध्ययन गर्दै आएका विद्यार्थी डेढदेखि दुई घण्टासम्म हिँडेर आउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक सञ्जनकुमार झाले बताए । त्यहाँ तामाङ समुदायका मात्रै विद्यार्थी मात्र छन् जुन खानेपानी र शौचालयविना नै सञ्चालन भइरहेको छ । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने सुविधाका नाममा नयाँ विद्यालय स्थापना गर्न नसकिने बताए । “हामी नयाँ थप्न सक्ने अवस्थामा छैनौँ, भएकोलाई व्यवस्थित गर्दै शिक्षामा पहुँच बढाउने काममा निरन्तर लागिरहेका छौँ”, उनले भने । भौगोलिक विकटताका कारण विद्यार्थीलाई पढ्नका लागि घण्टौँ हिँड्नुपर्ने र विद्यार्थी सङ्ख्या पर्याप्त नभएका कारण पनि यस्तो समस्या व्यहोर्न बाध्य भएको अध्यक्ष जिम्बाले बताए ।

आज काठमाडौँ उपत्यकामा वर्षकै चिसो

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम आज २ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो । यसअघि मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । मौसमविद् विभूति पोखरेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “अबको केही दिन तापक्रम घटबढ भइरहनेछ,” उहाँले भन्नुभयो । मौसमविद् पोखरेलका अनुसार राति बद्ली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपालय ४.७, दाङ ३.५, पोखरा ८.५, सिमरा ६.५, धनकुटा ६.५ र ओखलढुङ्गाको ४.० डिग्री सेल्सियस मापन गरिएको छ ।

हिमालयन बैंकको नयाँ शाखा सिन्धुलीको खुर्कोटमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुलीको खुर्कोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबारदेखि सञ्चालनमा ल्याइएको उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालय मार्फत बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न यो शाखा उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । साथै, देशको राजधानी काठमाडौलाई तराई मधेशसंग जोड्ने विपी राजमार्गको मध्य भाग तिर पर्ने खुर्कोट व्यापारिक दृष्टिकोणले सिन्धुली जिल्लाको महत्वपूर्ण स्थान हुनुका साथै रामेछाप जिल्ला जाने मुख्य नाका पनि भएकोले उद्योग तथा व्यवसायिक लगानीका लागि यस क्षेत्रमा राम्रो सम्भावना रहेको धारणा व्यक्त गरे ।

हिउँदे अधिवेशनबाट एमसिसी सम्झौता पारित हुन्छ: परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसद्को चालू हिउँदे अधिवेशनले यसलाई पारित गर्ने बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सो विषयबारे स्पष्ट पार्दै मन्त्री ज्ञवालीले नेपाली काँग्रेस नेतृत्वको तत्कालीन सरकारले उक्त सम्झौता गरेको र सरकार अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले अन्तरर्रा्ष्ट्रिय जगतमा मुलुकका छविलाई विश्वसनीय बनाउनसमेत यसलाई अनुमोदन गर्नुको विकल्प नभएको जिकिर गरे । यसबारे राष्ट्रिय दलबीच कुनै विमति नभएकाले संसद्बाट पारित हुने उनको भनाइ थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो स्थायी कमिटीको बैठकमा उक्त सहमति हिन्दप्रशान्त रणनीति (आइपिएस) सँग सम्बन्धित भएमा पारित गर्न नहुने प्रश्न उठेपछि यस विषयमा बहस उत्पन्न भएको थियो । मन्त्री ज्ञवालीले वर्तमान सरकार राष्ट्रियहित र सरोकारका सवालमा सतर्क र गम्भीर रहेको उल्लेख गर्दै भने, “तातो दूधले मुख पोलेको मान्छे मोही देख्दा पनि फुफु गर्छ भने झैँ आशङ्का गरिएको छ । यसमा राष्ट्रिय हितविपरीत हुने गरी कुनै काम हुँदैन । यो पूर्वाधार विकासका लागि हुने आयोजनामा अमेरिका सरकारको सहयोगको सम्झौता हो । सम्झौताका कतिपय शर्त सम्झौता गर्दा ख्याल गरिने विषय हो । अहिले हेरफेर हुँदैन ।” मन्त्री ज्ञवालीले नेपालको सफल शान्ति प्रक्रिया र राजनीतिक स्थिरतासँगै अमेरिकाले उक्त सहयोग गर्नुले त्यो सहयोगले अर्बौं रुपैयाँ बराबरको सकारात्मक सन्देशको लाभ मिल्ने उल्लेख गरे । उक्त सहयोग कार्यान्वयनका लागि नेपालमा स्वायत्त र व्यावसायिक निकाय स्थापना भएको र नेपालको आधिकारिक निकायले लेखा परीक्षण गर्नसक्ने जानकारी उनले दिए । एशिया प्रशान्त क्षेत्रको गरिबी र पछौटेपनलाई हटाउँदै, भौतिक पूर्वाधारको विकास गर्ने र सम्पर्क सञ्जालको विस्तार गर्ने लक्ष्यका साथ करिब ५५ अर्ब अमेरिकी सहयोग र बाँकी नेपालको लगानीमा ६४ अर्बको परियोजना अगाडि बढेको छ । परियोजनाअन्तर्गत काठमाडौँको नाङ्गलेभारेदेखि नुवाकोटको रातमाटे, तनहुँ हुँदै बुटवलसम्म जोड्ने ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने भएको छ । केही रणनीतिक महत्वका केही सडक सञ्जालको विस्तार तथा मर्मतसमेत सो आयोजनाबाट हुनेछ । मन्त्री ज्ञवालीले भने, “एमसिसी र आइपिएस फरकफरक कुरा हो । यसलाई जोड्न आवश्यक छैन । मुलुकको आवश्यकता विकास हो । यो अविकाशको पासोमा चुडाउँ तर यहाँ विकासका ठूला कार्यक्रम सञ्चालन गर्दा आशङ्का गरिन्छ । अनावश्यक बहसले दिग्भ्रमित बनाउँछ । कतिपय बहस नबुझेरै चलाउने गरिन्छ । समृद्धि र विकासका लागि यस्तो शृङ्खला अन्त्य गर्नुपर्छ ।” बैठकमा समितिका सभापति दिलकुमारी रावल (थापा)ले एमसिसीका विषयमा सरकारले स्पष्ट पारेकाले सांसदहरुलाई बुझ्न सहज भएको बताउनुभयो । समितिका सदस्य बद्रीप्रसाद पाण्डेले विकासशील राष्ट्रले सङ्घर्ष गरेर एमसिसी कार्यक्रममा अमेरिका सहमत भएकाले नेपाल जस्तो विकासशील राष्ट्रले उक्त सहयोगलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । सांसद पाण्डेले भने, “यसमा लगभग राष्ट्रिय सहमति देखिन्छ तर किन कोकोहोलो मच्याइन्छ । सरकारले नेपाल कुनै पनि शक्ति राष्ट्रको पोल्टामा छैन । सबैसँग समान सम्बन्ध राख्छ भन्ने स्थापित गर्न सक्नुपर्छ ।” रासस

४३ करोड लगानीमा हेटौंडामा तरकारी र फलफूल बजार बन्दै, विचाैलियाकाे अन्त्य गर्ने संकल्प

काठमाडौं । ३ नम्बर प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको लगानीमा  हेटौंडामा सुविधा सम्पन्न तरकारी बजार बन्ने भएकाे छ । हेटौंडा ११ थानाभर्याङमा २ विगहा क्षेत्रफलमा तरकारी तथा फलफूलको थोक बजार निर्माण गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए । उक्त बजार निर्माणकाे लागि ४३ करोड रुपैयाँ लगानी गरिने भएकाे छ । त्यसमा  प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी गर्न लागेकाे मेयर महतले जानकारी दिए । दुई वर्षभित्रमा काम सक्नेगरी निर्माण गर्ने तयारी भएको उनकाे भनाइ छ । उपमहानगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष गोर्कण पराजुलीले याे याेजना प्रदेशको सबै भन्दा ठूलो योजना भएकाे बताए । तरकारी तथा फलफूल बजार आधुनिक र वैज्ञानिक ढंगले निर्माण हुन लागेको उनले बताए । यो बजारमा उत्पादकले सिधै ल्याएर बिक्री गर्न सक्ने छन् । उत्पादकले सिधै ल्याएर बिक्री गर्न पाउने सुविधा हुनेछ । याे बजारमा बिचौलीयाले प्रवेश नपाउने उनकाे भनाइ छ । यहाँ तरकारी तथा फलफूल बजारमा भन्डारण र बिक्री समेत हुने छ । यस बजारमा लोकल र विकासे तरकारी फरक फरक स्टलमा राखिने छ । याे बजार निर्माणसँगै ग्राहकले सस्तो र सुलभ मूल्यमा तरकारी तथा फलफूल प्रयोग गर्न  सरकारी अधिकारीहरूकाे विश्वास छ । तरकारी तथा फलफूल बजारमा विचाैलियाकाे अन्त्य गर्ने संकल्पसहित याे बजार निर्माण गर्न लागेकाे मेयर हरिबहादुर महतले बताए । तरकारी बजारमा विचाैलिया हावी भएकाे र विचाैलियाले धेरै नाफा लिँदा किसान र उपभाेक्ता सबै मर्कामा परेकाे बताइन्छ । यही समस्या सम्बाेधन गर्न प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर काम अगाडि बढाएको देखिन्छ ।

चन्द्रागिरि नगरपालिकाबाट मोटरसाइकल चोरी गर्दागर्दै एक पक्राउ

काठमाडाै‌। नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिका–११ सिप्रदी कार्यालय नजिकै सडकखण्डमा मोटरसाइकल चोरी गर्दागर्दै मकवानपुर थाहा नगरपालिका–११ का सुवास श्रेष्ठलाई आज पक्राउ गरेको हो । प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक खेमराज रावतले बा१०प ३१६८ नम्बरको स्पेण्डर मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरीवृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । रासस

क्षयरोगको औषधी अभाव, बिरामीको ज्यान जोखिममा

काठमाडौं। औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन्। राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका बिरामी औषधि नपाएपछि ज्यान जोखिममा परेको हो । क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा शुरु भएको नौमहिने छोटो उपचार विधिमा बिरामीले नौ महिना आवश्यक औषधि सेवन गरी चारदेखि छ महिनासम्म सुई लिनुपर्ने हुन्छ । क्षयरोगका बिरामीले सेवन गर्ने सामान्य औषधिले काम नगरेपछि बिरामीका लागि चलाइने बहुऔषधि प्रतिरोधी (एमडिआर) का बिरामीका लागि प्रयोग हुँदै आएको ‘क्यानामाइसिल’ नामको औषधि नपाएपछि बिरामीको ज्यान जोखिममा परेको हो । काभ्रेका खोपासीबाट क्षयरोग केन्द्रमा आउनुभएका बिरामी राजेन्द्र थापाले औषधि नपाएको गुनासो गरे। दुई सातादेखि ‘क्यानामाइसिल’ नामको औषधि नपाएर उपचारमा समस्या परेको बताउँदै उनले केन्द्रका प्रमुखलाई गुनासो गर्दा पनि सुनुवाइ नभएको बताए। ललितपुरको भैँसीपाटीबाट उपचारमा आएका रामहरि काफ्लेले सरकारले सित्तैमा औषधि दिने भने पनि केन्द्रले औषधि दिन नसक्दा ज्यानै जाने हो कि भन्ने डर भएको बताए । राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत एक चिकित्सकका अनुसार ‘क्यानामाइसिल’ नामक औषधि नहुँदा क्षयरोगका बिरामीलाई समस्या परेको छ । समयमै औषधि आपूर्ति गर्न केन्द्र गम्भीर नभएका केन्द्रका कर्मचारीको गुनासो छ । केन्द्रका एक चिकित्सकका अनुसार ‘क्यानामाइसिल’ नामको औषधि एक बिरामीलाई साताको छ वटाका दरले करीब पाँच महिनासम्म १५० वटा दिइनुपर्छ । औषधि अभावले यो क्षयरोग बिग्रिएमा एसडिआर हुने र बिरामीको उपचार असम्भव हुने तथा बिरामीको ज्यानै जानसक्छ । क्षयरोगको जटिल रोग लागेर औषधि सेवनबाट पनि निको नभएपछि विकल्पका रुपमा बिरामीलाई यो औषधि प्रयोग गरिन्छ । ‘क्यानामाइसिल’ औषधि गत नोभेम्बरबाटै सकिएको र दामियन फाउण्डेसन बेल्जियमबाट चार हजार पिस औषधि मगाए पनि तीन हजार २०० पिस मात्रै आएको र यो १८ दिनमै सकिएपछि औषधि अभाव भएको हो । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक सागरकुमार राजभण्डारीले भने ‘क्यानामाइसिल’ नामक औषधि फेजआउट हुन लागेकाले औषधि नपाएको दाबी गरे । उनले भने, “क्यानामाइसिल नामक औषधि विस्तारै फेजआउट हुँदैछ, कम्पनीले उत्पादन नै कम गरेपछि औषधि नआएको हो, यसको सट्टामा केन्द्रले ‘एमिक्यासिन’ नामक औषधि मगाएका छौँ, भारतबाट त्यो औषधि आउँदैछ, अब त्यही औषधि चलाउँछौँ ।” उनले ‘क्यानामाइसिल’ले बिरामीमा राम्रो काम नगरेपछि अर्को औषधि मगाएको दाबी गर्दै अब नयाँ दर्ता हुने बिरामीलाई ‘एमिक्यासिन’ नामक औषधि दिने बताए । औषधि दिने सबै ठाउँमा यही सकुर्लर जारी गरेको बताउँदै उहाँले कुनै पनि बिरामी औषधिबाट वञ्चित नभएको दाबी गरे। तत्काल १६ हजार औषधि चाहिने भए पनि पटकपटक माग गरेर चार हजारदेखि पाँच हजारसम्म एकपटकमा औषधि आयात गरेको र अभाव हुन नदिएको केन्द्रका निर्देशक राजभण्डारीको दाबी छ । सरकारले क्षयरोगका बिरामीका लागि निःशुल्क उपलब्ध गराउँदै आएको ‘क्यानामाइसिल’ औषधि एउटा इन्जेक्सनको ३ डलर पर्ने केन्द्रको भनाइ छ । यो औषधि नेपालका औषधि पसलमा नपाइने भएकाले बाहिर किनेरसमेत प्रयोग गर्न नपाएको बिरामीको गुनासो छ ।