विकासन्युज

संसदको पहिलो कार्यसूचीमा सभामुख चयन, कसले मार्ला बाजी ?

काठमाडौं । संसद सचिवालयका कर्मचारीमाथि यौनहिंसाको आरोप लागेर निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ । आज (११ पुस) बोलाइएको प्रतिनिधिसभा बैठकको पहिलो कार्यसूचीमा सभामुख निर्वाचन गर्ने भन्ने छ । तर, सभामुख पदका लागि सत्तारुढ नेकपाले कसलाई अघि बढाउँछ भन्ने अझै यकिन छैन । उपसभामुख डा. शिवमाया तुम्बाहम्फे आफै सभामुख बन्ने योजनामा छन् । तुम्बाहम्फे नै सभामुख बन्न पनि उनले उपसभामुख पदबाट राजीनामा दिनुपर्छ । तुम्बाहम्फेले अझै राजीनामा दिएकी छैनन् । नेकपाले तुम्बाहम्फेलाई उपसभामुखबाट राजीनामा गराएर सभामुखमा अर्को व्यक्ति ल्याउने प्रयास गरेको छ । तर, आफै सभामुख हुन पाउनु पर्ने तुम्बाहम्फेको जोड छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले तुम्बाहम्फेलाई राजीनामा दिएर नेकपाले सभामुख पाउने संबैधानिक बाटो खुल्ला गरिदिन आग्रह गरिसकेका छन् । संविधानले सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने परिकल्पना गरेको छ । निवर्तमान सभामुख महरा एमाले र माओवादी एकीकरण हुनुअघि माओवादीको तर्फबाट सभामुख भएका थिए । अहिले पार्टी एकीकरण भएर नेकपा बनेको छ । नेकपा उच्च स्रोतले भने डा. तुम्बाहम्फेले उपसभामुख पदबाट राजीनामा गर्ने दाबी गरेको छ । डा. तुम्बाहम्फेले उपसभामुखबाट राजीनामा गर्ने, उपसभामुख पदमा नेकपा बाहेकको दल (सम्भवतः राजपा) लाई दिने र सभामुखमा नेकपाको प्रभावशाली नेता पठाउने गृहकार्य गरेको छ । यस्तो गृहकार्यमा डा. तुम्बाहम्फेलाई मन्त्री बनाउने भन्ने छ । तर, तुम्बाहम्फेले तत्काल मन्त्री नबन्ने बताउँछै आएकी छन् । त्यसैले आगामी चैतमा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिने र सो बेला डा. तुम्बाहम्फेलाई मन्त्री बनाउने रोडम्याप नेकपाले बनाएको छ । तर, तुम्बाहम्फेले नै अर्थमन्त्रालय पाउने भन्ने होइन । नेकपाले राजपालाई सरकारमा ल्याउन विशेष पहल गरिरहेकोले तत्काल मन्त्रिपरिषद पुनर्गठन हुने सम्भावना पनि छ । मन्त्रिपरिषद पुनरगठन भइहालेको अवस्थामा तुम्बाहम्फे चाढै नै मन्त्री बन्ने सम्भावना पनि छ । यस्तो अवस्थामा नेकपामा सभामुख पदका लागि खास गरी ३ जना प्रतिस्पर्धी देखिएका छन् । पूर्व एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ तथा पूर्व माओवादीका तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालले दाबी गरिरहेका छन् । पार्टी एकीकरणअघि पूर्वमाओवादीले पाएको पद अहिले पनि पूर्वमाओवादीले नै पाउनु पर्ने दाबी सापकोटा र भुसाललाई सभामुख बनाउनु पर्छ भन्नेहरुको छ । तर, पार्टी एकीकरणपछि को कुन, को कताको भन्ने अर्थ नै नरहने पूर्व एमालेहरुको भनाइ छ । नेता सापकोटा र भुसालमाथि सशस्त्र विद्रोहको बेलाका मुद्दा बाँकी रहेको र संविधानसभाबाट संविधान बनाउन अध्यक्षको रुपमा नेम्बाङले प्रभावकारी भूमिका खेलेको भन्दै नेम्बाङलाई नै पुन सभामुख बनाउने लबिङ पनि चलिरहेको छ ।

बागलुङमा केवलकार, हाेटल र सपुरमार्केट बनाउने चन्द्र ढकाल र मिनबहादुर गुरूङकाे घाेषणा

गलकोट । सफल उद्यमीहरू शेखर गाेल्छा, चन्द्रप्रसाद ढकाल र मिन बहादुर गुरूङले बाग्लुङमा ठूला परियाेजनामा लगानी गर्ने घाेषणा गरेका छन् । चन्द्रप्रसाद ढकाल हाेटल र केबुलकारमा लगानी गर्न लागेकाे बताएका छन् भने जग्गा उपलब्ध भएमा १८ महिनाभित्र भाटभटेनी सुपर मार्केट खाेल्ने बताएका छन् । त्यस्तै,  गाेल्छाले स्थानीयसँग मिलेर कृषिमा अाधारित उद्याेग खाेल्न तयार भएका बताएका छन् । बागलुङ जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि लगानी बहसमा भाग लिदै उनीहरूले यस्ताे घाेषणा गरेका हुन् ।  ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी बहसमा उपस्थित नेपालकै ठूला तथा स्थापित उद्योगी व्यसायीले बागलुङ जिल्लामा अनेक लगानीको सम्भावना रहेको भन्दै लगानी गर्ने घाेषणा गरेका हुन् । लगानी बहसमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका शेखर गोल्छाले नेपालमा राजनीतिक सङ्कटमा समेत ठूला उद्योग सञ्चालनका लागि आफू सफल भएको भन्दै अहिले केही सहज वातावरण बन्दै गएको बताए । उनले बागलुङमा कृषि उद्योगको सम्भावना रहेको बताए । स्थायी सरकार आउँदा उद्यमीलाई सकारात्मक वातावरण मिल्दै गएको बताउदै गोल्छाले बागलुङ लगानीको निकै सम्भावना भएको क्षेत्र भएकाले स्थानीयको सहलगानीमा कृषि उद्योग सञ्चालन गर्ने आश्वासन समेत दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले पर्यटनको क्षेत्रमा बागलुङमा लगानी भित्र्याउन आफू तत्पर रहेको बताउँदै सम्भावनको खोजी गरिरहेको जानकारी दिए । आफ्नै गृह जिल्ला भएकाले पनि बागलुङमा केही लगानी गर्ने योजनामा रहेको भन्दै ढकालले केबलकारसहितको चारतारे होटल बागलुङमा राम्रो चल्ने आफूले विश्वास लिएको बताए । उनले पञ्चकोट तथा भैरवस्थानमा केबलकार सञ्चालनका लागि आफूले अध्ययन गरिरहेको बताए । यस्तै भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफ्नो सफलताको सूत्र बागलुङका उद्यमीलाई सुनाए । उनले जग्गा व्यवस्थापन भएमा १८ महिनाभित्रै भाटभटेनीको शाखा बागलुङमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए । शुक्रबारदेखि शुरु हुने छैटौँ बागलुङ महोत्सवको पूर्वसन्ध्यामा लगानी बहसको आयोजना गरिएको हो । सम्मेलनमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लगानीको वातावरण बनाउन प्रदेश सरकार इच्छुक रहेको भन्दै ढुक्क भएर ठूला उद्योगमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । उनले हरेक व्यवसायीले धैर्य गरेमात्र प्रतिफल प्राप्त गर्न सकिने भएकाले पनि लगानी गर्दा दीर्घकालीन सोचका साथ गर्न आग्रह गरे । “सरकारले रातारात परिवर्तन गर्न सक्दैन, एक वर्षमा प्रतिफल पाउन धान रोप्नुपर्छ, उद्योगमा लगानी गरेपछि प्रतिफल पाउन धेरै समय लाग्छ ।” गुरुङले भने। अहिले प्रदेश सरकारले प्रदेशको सम्भावनालाई उजागर गर्दै पर्यटन, जलविद्युत्, कृषिलगायतको क्षेत्रमा लगानी गरिरहेको उनले बताए । लगानी बहसको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले गरेका थिए भने लगानीको समस्या चुनौती र सम्भावनाको विषयमा सांसद देवेन्द्र पौडेल, डा सूर्य पाठक, पर्यटन अभियानकर्मी खिमानन्द कँडेललगायतले टिप्पणी गरेका थिए ।  लगानीको वातावरण गराउन तीन तहको सरकारले आवश्यक कदम चालेमा जलविद्युत्, केबलकार, स्टार होटल तथा सुपरमार्केट, कृषि उद्योग सञ्चालनका लागि आफूहरु तयार रहेको लगानीकर्ताले बताएका छन् ।

ठग्ने विरुद्ध घरबाटै उजुरी दिन रूचाएनन् उपभोक्ताले, २ महिनामा २२ वटा मात्रै उजुरी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको गुनासो सुनुवाई गर्न सुरुवात गरेको मोबाईल एपमा उपभोक्ताको रुचाएनन् । गुनासो दिन मिल्ने मोबाईल एप सुचारु भएको २ महिना वितिसक्दा पनि २२ वटा मात्रै गुनासो गरेका छन् । अनलाइन सपिङमा विद्युतीय सामग्री, लुगाफाटा, भाडा, फर्निचर, औषधि र कस्मेटिक्सलगायतका बस्तुहरु सस्तोमा भनेर सजिलै विज्ञापन गरेको देख्न सकिन्छ । यसरी झुठो र भ्रमपूर्ण विज्ञापन गरी व्यापारिक कारोबार भइरहेको छ । यस्ता प्रविधिमार्फत हुने व्यापारिक कारोबारबाट धेरै उपभोक्ता ठगिएको गुनासो आइरहेको विभागले जानकारी दिएको छ । सोसल मिडियाको प्रयोग गरी अनलाइन सपिङबाट समान किन्दा ठगियो भनेर एपमा उजुरु गरे पनि कारवाही गर्ने कानुन छैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले यस्ता व्यवसायलाई कानुनी दायरामा ल्याउन कानुन निर्माण गर्न लागिएको बताए । सामाजिक सञ्जाल र वेवसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ता ठगेको गुनासो बढेपछि सरकारले उनीहरूलाई कानुनी दायरामा ल्याउन लागेको उनले बताए । विभागमा नै आएर २ महिनामा १ सय ९५ वटा ठगी गरेको भनेर उजुरी आएका थिए । जसमा कात्तिकमा ८५ र मंसिरमा १ सय १० वटा उजुरी आएको थियो । एप थालनीको दुई महिनामा जम्मा २२ वटा मात्रै गुनासा आउनु दुखद रहेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । एपलाई प्रभावकारी बनाउन कानुन र प्रविधिलाई बलियो बनाउन लागिएकाे उनकाे भनाइ छ । मासु, कपडा, तरकारी लगायतका विषयमा एप मार्फत उजुरी आएको र हरु महानिर्देशक सुवेदीले बताए । गत कात्तिक ८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले एपको सुरुवात गरेका थिए । उनले भनेका थिए विभामा यो एपका लागि छुटट्ै कर्मचारी नै राखेर अगाडी बढछ । तर एपका लागि भने छुट्टै कर्मचारीको व्यवस्था नभएको विभाग बताउछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा मतदानस्थल तोकियो

काठमाडौं । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन् । आयोगले विहीबार विज्ञप्ति जारीगरी प्रदेश नं २ को धनुषा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन मतदानस्थल तोकिएको जनाएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाता रहेका छन् । प्रदेश नं ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेका छन् । गण्डकी प्रदेशको कास्कीको निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता रहेका छन् । प्रदेश नं ५ को दाङको घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता रहेका छन् । कर्णाली प्रदेशको सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन् । त्यसैगरी आयोगले सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढी नगरपालिकाकोे पद्म पब्लिकमुक्ति नारायण उच्च मावि मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका छन् । सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५०६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको आयोगले जनाएको छ ।

रोयल इन्फिल्डका मोटरसाइकल सानो साइजमा आउँदै, हाेचा पुरूष र महिलाकाे चाहाना पूर्ति हुने

काठमाडौं । सामान्यतया रोयल इन्फिल्डको मोटरसाइकल भन्नासाथ झट्ट दिमागमा ठूला तथा वजनदार मोटरसाइकल नै आउने गर्दछन् । हो पनि, रोयल इन्फिल्डले हालसम्म आफ्ना जति पनि उत्पादन बजारमा ल्यायो ती सबै ३५० सीसी भन्दा माथिका मात्रै छन् । यत्तिका सीसीको मोटरसाइकललाई नेपालमा ठूलो मोटरसाइकलको संज्ञा दिइन्छ र यस्ता मोटरसाइकलहरु अलि हट्टाकट्टा युवाहरुका लागि मात्र उपयुक्त हुने गर्दछ । तर अब भने कम्पिटेटिभ मार्केटलाई मध्यनजर गर्दै रोयल इन्फिल्डले कम उमेरका युवाका साथै महिलाहरु प्रति पनि लक्षित गर्दै नयाँ सेग्मेन्टलाई बजारमा ल्याउने भएको छ । कम्पनीका अनुसार सो मोटरसाइकल थोरै वजन, कम सिट हाइट र कम पावर भएको हुनेछ जसले गर्दा साना जीउज्यान हुनेहरुले पनि सहजै चलाउन सक्नेछन् । हाल रोयल इन्फिल्डका कुल ग्राहकमध्ये मात्र ७ प्रतिशत महिला ग्राहक रहेका छन् । यो तथ्याङ्कले आजका दिनसम्म महिलाहरु रोयल इन्फिल्डतर्फ आकर्षित हुन नसकेको प्रष्टसँग दर्शाउँछ । रोयल इन्फिल्डले यी नयाँ मोटरसाइकलहरुलाई सन् २०२० को मध्यसम्ममा सार्वजनिक गर्ने अनुमान भारतीय मिडियाहरुले गरेका छन् । त्यसैगरी यी मोटर साइकलको मूल्य भारतीय बजारमा एक लाख १० हजार रुपैयाँदेखि लिएर एक लाख २० हजार रुपैयाँको हाराहारी पर्ने पनि आँकलन गरिएको छ । हाल रोयल इन्फिल्डले ३५० सीसी, ५०० सीसी र ६५० सीसीका मोटरसाइकलहरु उत्पादन गर्दै आइरहेको छ भने ती मध्ये क्लासिक ३५० लाई यस ब्राण्डको बेस्ट सेलिङ्ग मोडेल भनेर चिनिन्छ । रोयल इन्फिल्ड चेन्नई स्थित भारतीय मोटरसाइकल उत्पादक कम्पनी हो र यसको स्थापना सन् १९५५ सालमा इन्फिल्ड इण्डियाको नामबाट भएको थियो । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोवाइल्स प्रा.लि. रहेको छ भने कम्पनीले यस ब्राण्डका बुलेट ३५०, बुलेट इलेक्ट्रा ३५०, क्लासिक ३५०, थन्डरबर्ड ३५० एक्स र हिमालयन गरी ५ अलग मोडेलहरु हाल नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

जनस्वास्थ्य विज्ञहरूले घाेषणा गरे ‘पत्रु खाना’ बहिस्कार अभियान

काठमाडौं। नेपाल जनस्वास्थ्य प्रतिष्ठानका जनस्वास्थ्य विज्ञहरुले संयुक्त रुपमा पत्रु खानाको प्रयोग रोक्न पर्ने भन्दै विरोध अभियान सुरु गर्ने भएका छन्। बालबालिकाको स्वास्थ्यमा सबैभन्दा बढी असर गरिरहेको पत्रु खानालाई सबैले बहिस्कार गर्नुपर्ने भन्दै नेपाल जनस्वास्थ्य प्रतिष्ठानका जनस्वास्थ्य विज्ञहरुले संयुक्त अभियान सुरु गर्न लागेका हुन्। बिहिबार  प्रतिष्ठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा. रिता थापाले पत्रु खानाले बालबालिकाहरुमा कुपोषण निम्त्याउने बताइन्। नेपाल सरकारको तथ्यांक अनुसार प्रदेश नं ५ मा मात्रै ५५ प्रतिशत मानिसहरु पुड्कोपनाको शिकार छन्। वर्तमान पोषण स्थितीमा ३६ प्रतिशतमा पुड्कोपना, ९.६ प्रतिशत, ५ वषै मुनिको कम तौल २७ प्रतिशत र १२ वर्ष मुनिको अधिक तौल १२ प्रतिशत जस्ता सुचकहरुले देशमा कुपोषणको खराब स्थिती छ । पछिल्लो समय कुपोषणको संख्या घटे पनि यसमा उल्लेखनिय रुपमा सुधार भने देखिएको छैन। स्वस्थ जनशक्तिबाटै देशको आर्थिक विकास हुने भएकाले पोषण सबैका लागि आवश्यक छ । तर, नेपालमा कुपोषण एउटा मुख्य स्वास्थ्य समस्या बन्दै गइरहेको उनीहरूकाे भनाइ छ ।  पहिला मानिसहरु खाना राम्रोसँग खान नपाएर कुपोषणको शिकार हुने गर्दथे भने हाल अत्याधिक रुपमा पत्रु खानाको सेवनले बालबालिकामा कुपोषण बढेको विज्ञहरु बताउँछन्। पकाउने झन्झट नहुने, जिब्रोलाइै निकै स्वाद दिने हुनाले  बालबालिकादेखि  वृद्धसम्ममा पत्रु खानाको प्रयोग अत्याधिक बढ्दो छ। नेपालमा हुने कुल बालमृत्युको ५३ प्रतिशत कुपोषणका कारण भइरहेको राष्ट्रसंघीय बालकोष (युनिसेफ) को एक अध्ययनले देखाएकाे छ ।

कैलाश विकास बैंकको १०१औँ शाखा धापाखेलमा

काठमाडाैं। कैलाश विकास बैंकले ललितपुरको धापाखेलमा आफ्नो १०१ औँ शाखा स्थापना गरी पौष १० गते बिहीबार देखि कारोवार शुभारम्भ गरेको छ । शाखाको शुभारम्भ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरेका छन् । नयाँ शाखा सहित बैंकको काठमाण्डौ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरि जम्मा १०२ वटा शाखा पुगेका छन् । बैकको एटिएम संख्या ४० पुगेको छ । बैंकले निकट भविष्यमा प्राईम कमर्सियल बैंक लिमिटेडसंग समाहित (एक्युजिसन) हुन र आ.ब. २०७५।७६ को वितरण योग्य मुनाफाबाट शेयरधनिहरुलाई १६ प्रतिशत बोनश शेयर र २.७७ प्रतिशत नगद लाभांश गरी कुल १८.७७ प्रतिशत लाभांश बितरणको प्रस्ताव पारित गर्न यहि पौष २५ गते शुक्रबार २६ औ वार्षिक साधारणसभा आब्हान गरेको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रहेको छ । यस बैंकले हाल सम्म ३३ अर्व ६९ करोड निक्षेप संकलन गरी २८ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

देशभरका घर चिटिक्क पार्ने लक्ष्यसहित तीन उद्याेग खाेल्याैं : कृष्णभक्त दुवाल

सानै उमेरदेखि प्रविधिमा रमाउन चाहने ईटा उत्पादक व्यवसायी हुन् कृष्णभक्त दुवाल । प्रविधि जान्ने र बुझ्ने तीब्र इच्छा भएकै कारण उनले आफ्नो पढाईको विषय पनि त्यही रोजे । काठमाडौंको पुल्चोक क्याम्पसबाट इन्जिनियरिङमा स्नातकोत्तर समेत गरे ।  त्यसपछि उनले पढाई सँगसँगै सन् २००७ तिर इनर्जी एण्ड इन्भाइरोमेण्ट विषय पढाउन पनि सुरु गरे । पढाई र पढाउने विषय एउटै भएपछि दुवाललाई धेरै सहयोग पनि मिल्यो । त्यहि दौरानमा यसको प्राविधिक पक्ष बुझ्न उनी आफ्नो टिमसहित कोरिया, बहराइन, जापान चीन इटालीलगायतका देशसम्म पुगे । वि.स २०४९ सालदेखि परम्परागत ईटा उद्योग सञ्चालन गर्दै आएकाे उनको परिवारकै प्रेरणाले उनी त्यसलाई प्राविधिक ढंगले सञ्चालन गर्नतर्फ लागे । तिनै दुवालले अहिले प्रविधिलाई लक्षित गरी तीन उद्याेग स्थापना गरेका छन् । ती संस्थाहरुबाट उनले देशभरका घर सुन्दर र चिटिक्क पार्ने लक्ष्य लिएका छन् । हालै मात्र उनले आधुनिक प्रविधि नेपाल भित्र्याएर चाइनिज ईटा  उत्पादन सुरू गरेका छन् ।  उनीसँग चाइनिज ईटा र उनका आगामी योजना बारे विकासन्यूजका लागि सन्तोष रोकायाले  विकास वहस गरेका छन् । हालै आधुनिक प्रविधि भित्र्याएर चाइनिज ईटा उत्पादन सुरू गर्नुभएको छ, यस्ताे साेच कसरी  आयो ? सानैदेखि प्रविधिमा रुची राख्थेँ । हामीले २०४९ सालदेखि नै परम्परागत ईटा उद्योग सञ्चालन गर्दै आएको छौं । त्यो परम्परागत ईटा व्यवसायलाई कसरी प्रविधियुक्त बनाउन सकिन्छ भन्ने कुरा मेरो मनमा खेलिरहन्थ्यो । त्यससँगै मैले इन्जिनियरिङ पढ्न पनि सुरु गरेँ । पुल्चोक क्याम्पसबाट स्नातकोत्तर गरेँ । सन् २००७ देखि पढाउन तिर लागेँ । पढ्ने र पढाउने क्रममा नेपालमा एउटा निर्माण सामाग्रीको बिकल्प चाहिन्छ भनेर साथीहरु मिलेर अध्ययन पनि गर्याैं । अहिले चीनकाे हुवेइस्थित वुहान विश्वविद्यालयमा रिसाेर्स ब्याण्ड वातावरण विषयमा पीएचडी गर्दैछु ।  चीनका  प्रविधिहरु कसरी नेपाल ल्याउन सकिन्छ भनेर सोच्थेँ । त्यहीअनुसार अगाडि बढेँ । वि.स २०७२ अर्थात भूकम्प आएको वर्षमा हामी फ्याक्ट्री सेटअप गर्दैथियौं । मेरो पढाई पनि इनर्जी एण्ड इन्भाइरोमेण्ट र पढाउने पनि त्यही भएको कारणले हामीले नेपालको निर्माण सामाग्रीको एउटा विकल्पका रुपमा यो भित्र्याएका हौं । सन् २०१५ पछि हाम्रो टिमले तीन वटा कम्पनी खाेल्याे । हामी हरेक वर्ष वातावरणमैंत्री र उर्जा किफायति प्रडक्ट निकाल्दैछौं । सन् २०१५ मा हामीले गोर्खा इको प्यानल निकाल्यौं । २०१६ मा काठको बिकल्पमा गोर्खा विन्डोर स्थापना गर्यौं । २०१७ मा प्रिकाष्ट ढलान निकाल्यौं । जुन वातावरणमैंत्री हुन्छन् । त्यस्तै, २०१८ मा गोर्खा प्रिकाष्ट एण्ड विण्डोर भन्ने पानी सोस्ने ब्लक बनायौं । जसले पानी सोस्न धेरै सहयोग गर्छ । यस्तै हामीले यो वर्षचाहिँ गोर्खा चाइनिज इटा उत्पादनमा ल्याइसक्यौं । यसरी नै यो यात्रा तय भएको हो । आम उपभोक्ताले चाइनिज ईटालाई किन प्रयोग गर्ने ? यसका विशेषताहरू के–के छन् ? सर्वप्रथम त यसको स्ट्रेन्थ एकदमै राम्रो छ । हिजो मात्रै ललितपुरको कुपण्डोलस्थित मल्टिल्याब प्रालिमा ६ वटा नमुनाको रुपमा ईटाको टेष्ट गर्दा औसतमा १४.५ एमपीए पाइएको छ । सरकारले यसकाे न्यूनतम मापदण्ड ५ एमपीए हुनुपर्छ भनेकाे छ । दोस्रो कुरा, यसको आकार प्रकार एकदमै चिटिक्क पर्ने भएकाेले फेसवालका रुपमा प्रयोग गर्न सकिन्छ । यसको आकार परम्परागत ईटाभन्दा ठुलो हुन्छ । परम्परागत ईटाको लम्बाई ९ ईन्च हुन्छ भने यसकाे साढे ९ ईन्च हुन्छ । परम्परागत ईटाको चौडाई सवा चार ईन्च हुन्छ भने चाइनिज ईटाको साढे चार ईन्च हुन्छ । ईटाको साइज ठूलो हुने कारणले एक घनमिटर वाल बनाउँदा ४ सय २० वटा ईटा भए पुग्छ । जवकि, परम्परागत ईटाहरु प्रयोेग गर्दा ५ सय ६० वटा प्रयोग हुन्छन् । हाम्रो ईटाहरु एकदम प्लेन हुने भएका कारणले गारो लगाउँदा ३०/३५ प्रतिशत सिमेन्ट बच्छ । वालमा प्लास्टर एकदमै पातलो लगाउँदा पनि हुन्छ । त्यहाँ पनि बँच्छ । वैज्ञानिक परीक्षण कस्तो हुन्छ भने पानीमा २४ घण्टा ईटा डुबाउँदा त्यसको तौल कति बढ्यो ? कति गह्रुङ्गो भयो ? अन्तर्राष्ट्रिय मापदण्डअनुसार ईटालाई २४ घण्टासम्म पानीमा डुबायो भने त्यसको तौल २० प्रतिशतभन्दा बढी हुनुहुँदैन । हाम्रो ईटा २० प्रतिशत होइन, १५ प्रतिशत मात्र बढ्छ । ईटाले धेरै पानी सोस्नु भनेको त्यहाँभित्र पारोसोफी हुनु हो । त्यसको भित्र प्वाँलहरु पर्नु हो । भित्र प्वाँल हुनु भनेको त्यो चाँडै फुट्नु हो । त्यसकारण हाम्रो उत्पादन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ । यसको प्राविधिक पक्ष के कस्तो छ ? सबै प्रविधि चीनबाट ल्याएका हौं । उद्याेग स्थापनादेखि सबै सामान चीनबाट ल्याएका हौं । सामानहरु जडान गर्न पनि चीनबाट नै प्राविधिकहरु लिएर आयौं । अहिले पनि दुई जना चाइनिज हामीसँगै छन् । उनीहरुले दुई वर्ष लगाएर मेसिन जडान गरिदिएका हुन् । अहिले उनीहरुले नै हामीले ट्रेनिङ दिएर सिकाउँदै छन् । एउटा घर सुन्दर र दिगो बनाउनका लागि निर्माण सामाग्रीहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ, यो चाइनिज ईटाले त्यो आवश्यकता र भूमिका निर्वाह गर्न सक्छ ? हामी विश्वमा आएका नविनतम वातावरणमैत्री तरिकाबाट ईटा उत्पादन गर्छौं । विश्वव्यापी रुपमा ईटालाई कसरी पोल्छ भन्ने इतिहास बुझ्नु पर्ने हुन्छ । म सानै थिएँ । मेरो घरका बुवाआमाले आफ्नै खेतमा ईटा बनाउँनु हुन्थ्यो । त्यसलाई एक ठाउँमा जम्मा गर्नु हुन्थ्यो । अनि त्यसमा दाउरा काेईला राखेर पोल्नु हुन्थ्यो । त्यो पहिलो प्रविधि भयो । दोस्रो प्रविधि भनेको ठाडो भट्टा भन्ने थियो । तेस्रो प्रविधि भनेको अहिले फलामको चिम्नीले तयार पारिन्छ । त्यसपछि आएको प्रविधि भनेको फिक्स्ड चिम्नी हाे । फिक्स चिम्नीमा पनि वातावरणिय प्रभाव न्यनिकरण गर्न जीकज्यक प्रविधबाट काेइला राखि कम भन्दा कमभन्दा कम प्रदुषण गर्ने प्रविधि हाे ।   त्यसपछि अाएकाे प्रविधि हफम्यान प्रविधि हाे ।  फोर्स ड्राफ्ट हाे। अहिले संसारभरि आएको यो टनेल क्लिन प्रविधि हो । यसको मुख्य दुईटा फाइदा छन् । यो उर्जा किफायति छ । अर्को फाइदा भनेको यो वातावरणमैत्री छ । वातावरणमैत्री के अर्थमा छ भने ईटा बनाउँदा मलिलो माटो चाहिन्छ भन्ने हुँदैन । जस्तोसुकै माटो भएपनि हुन्छ । ईटा बनाउँनेदेखि निकाल्नेसम्म बन्द सेडभित्र तयार पार्छौं ।  त्यसको धुलो बाहिर फाल्दैनौं । तेस्रो भनेको यो टनेल क्लिन प्रविधिमा ईटा पोल्दा कम्प्लिट कम्बसन हुन्छ । त्यो भएन भने कालो धुवाँ निस्कन्छ । तपाईले घरको चुलोमा नसुकेको दाउरा बाल्नु भयो भने धेरै धुवाँ आउँछ । त्यो भनेको कार्वनमनअक्साइड हो । त्यसले वातावरणमा हानी पुर्याउँछ । टनेल क्लिन प्रविधिमा पनि पुरा कम्बसन (पुरै जल्ने) हुने भएकाेले कार्बनमनअक्साइड निस्कदैँन । यो ईटाबाट निस्कने भनेको बाफ र अलिकति सीओटु हो ।  टनेल क्लिनको हकमा चिम्निबाट निस्किने एक घनमिटर धुवाँमा एक सय मिलिग्राम भन्दामाथि सरकारले पर्टिकुलेट म्याटर हुनु हुन्न भनेकाे छ । । हाम्रोमा ३४.८ मात्र त्यसको मात्रा देखिएको छ । यो नेपाल सरकारले दिएको मापदण्डको एक तिहाई मात्र छ । यस अर्थमा हामी वातावरणमैत्री छौं । परम्परागत र चाइनिज ईटाको विशेष फरक के छ ? परम्परागत ईटा हातले बनाएर दुई हप्ता जति घाममा सुकाउने र  भट्टिमा २१ दिन राख्ने गरिन्छ। यसाे गर्दा  पाकेकाे इटा निकाल्दा डेढ महिना जति समय लाग्छ । तर, हाम्रोमा ईटा बनाएको तीन चार दिनमै पाकेको निकाल्न सक्छौं । परम्परागत ईटा उद्योग लेवरहरुमा डिपेण्ड थियो भने हाम्रो यो प्रविधिमा डिपेण्ड छ । परम्परागत ईटामा तीन चार सय जना कामदारहरुको आवश्यकता पर्थ्याे । ती तीन चार सय जनाले जति ईटा उत्पादन गर्ने हो, हामी ३०/४० जनाले मेसिनमा उत्पादन गर्न सक्छौं । उनीहरू ६ महिना काम गर्छन् भने हामी वर्षभरि नै गर्छौं । मूल्यको कुरा गर्दा प्रतिईटा १४ रुपैयाँमा बेचिरहेका छौं । घर निर्माणमा ईटा उद्योगीहरुले कमसल पठाउने, त्यसले घर त्यति बलियो नहुने भन्ने गुनासाे पनि छ, तपाइहरूकाे उत्पादनमा यस्ताे समस्या हुन्छ कि हुँदैन ? त्यो दोहोरिन्न । हामी १४ रुपैयाँ प्लस भ्याटमा बेचिरहेका छौं । हामी ईटा एकदमै रातो पठाउँछौं । हामी टुक्रा पनि पठाउँदैनौं । यो प्रविधिको ईटा नेपालमा भित्र्याउँने हामी तेस्रो हौं । पहिले यस्तै ईटा धादिङमा थियो । त्यस्तै ५/६ महिना अगाडि नुवाकोटमा राखिएको छ भने हामी तेस्रो हौं । हाल धेरै व्यवसायीहरु ईटा  उद्योगमा संलग्न छन्, ती उद्योगीभन्दा हामी यो कारणले फरक छौं भन्ने केही छ ? नेपालमा ईटाको इतिहास हेर्ने हो भने २५ सय वर्ष अगाडिदेखि छ । नेपालमा धेरै इटा उद्योगीहरु पनि छन् । तिनीहरुमा हामी धेरै पृथक छौं । एक त हामी मेसिन इन्टेन्सीभ छौं । हामी लेवरइन्टेनसीभ छैनौं । दाेस्रो कुरा, हामी क्वालिटीमा कम्प्रमाइज गर्दैनौं । तेस्रो, ईटाकाे हरेक कुरा टेस्ट गर्ने मेसिन छ । हामी हरेक कुरा टेस्ट गरेर गुणस्तरीय उत्पादन गर्न सक्छौं । चाइनिज ईटा  व्यापार गरेकाे याे  एक महिनाको अवधिमा बजारकाे प्रतिक्रिया के कस्तो आयो ? मार्केट रेस्पोन्स एकदमै राम्रो छ । हामीले तातोपानी, ढल्केबर, विराटनगर पठायौं । हामी अब डिलरमार्फत ग्राहकले सरल रुपमा पाउन भनेर देशभरि नै डिलरको आब्हान गरिरहेका छौं । हाम्रा लक्षित ग्राहकहरु देशैभरिका हुन् । हाम्रो लक्ष्य भनेको नेपालका घरलाई सुन्दर र आकर्षक बनाउने हो । हामीले बजार अध्ययन गर्यौं । विभिन्न ठाउँहरुमा कति ईटाको आवश्यकता छ भनेर बुझिरहेका छौं । एभरेजमा प्रत्येक शहरमा दैनिक १० हजार चाइनिज ईटाकाे माग छ । उपत्यकाबाट मालबाहक ट्रकहरु सस्तोमा जाने गरेका छन् । त्यसले गर्दा पनि उपत्यका बाहिर बजार विस्तार गर्न सजिलाे छ । तपाईं परम्परागत ईटादेखि इको प्यानलसम्मकाे उत्पादनमा सहभागी हुनुहुन्छ,  अहिले चाइनिज ईटा उत्पादन पनि सुरु गर्नुभएको छ, यी उत्पादनबीचकाे सम्बन्ध र फरक के कति छ ? चाइनिज ईटा  भनेको बाहिरी वालमा सो देखाउनको लागि हो । गोरखा इको प्यानल भन्नाले कुनै पनि स्थायी तथा अस्थायी संरचना निर्माण गर्दा बाहिरी गाह्रो तथा भित्री पाटेसन वालको रूपमा प्रयोग हुने टंग एन्ड ग्रुभसहितको ज्वाइन्ट भएको हलुका निर्माण सामग्री हो । इको प्यानल अहिले संसारभर निर्माण सामग्री उत्पादन गर्दा सकेसम्म कम प्राकृतिक स्रोत–साधनको उपयोग हुनुपर्छ भन्ने मान्यताको उपज हाे । यस हिसाबले नेपालमा पनि निर्माण सामग्री उत्पादनमा कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुनुपर्छ भन्ने मान्यता हाम्रो हो । यही कारण हामी कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुने र उत्पादनमा कम मात्रै ऊर्जा खपत हुने निर्माण सामग्रीको प्रयोग हुनुपर्छ भनेर लागेका हौँ । यो क्रममा हामीले इको प्यानल पायौँ । यही कारण हामी इको प्यानलको प्रयोगलाई बढावा दिनुपर्छ भनेर लागेका हौँ । साथसाथै संसारभर भूकम्पको जोखिम कम गर्न कम वजन भएको निर्माण सामग्रीको प्रयोग गर्नुपर्छ भन्ने मान्यता पनि स्थापित भएको छ । कम वजन भएको निर्माण सामग्री भनेकै इको प्यानल हो । यसकारणले पनि हामीले सम्भावित भूकम्पको क्षतिलाई न्यूनीकरण गर्न इको प्यानलको प्रयोगलाई जोड दिँदै आएका छौँ । यति मात्रै होइन, तीव्र विकास अहिलेको आवश्यकता हो । विकास निर्माणको कामलाई तीव्रता दिन छिटोभन्दा छिटो जडान गर्न सकिने निर्माण सामग्रीको आवश्यकता छ । यस अर्थमा पनि इको प्यानल महत्वपूर्ण हुन्छ । यसको प्रयोगले परम्परागत निर्माण सामग्रीको प्रयोगभन्दा ६ गुणा कम हलुका बनाइदिन्छ । ईटा उत्पादनलाई अत्याधुनिक बनाउन तथा व्यवसाय विस्तार गर्न सरकारले के कस्ताे सहयाेग गरेकाे महसुस गर्नुभएकाे छ  ? ठीकै छ । एउटा ट्याक्स पेयरले सरकारलाई ट्याक्स पे गरिसकेपछि जति सेवा पाउनु पर्ने हुन्छ, त्यो फुलफिल भएको जस्तो लाग्छ । तर पनि जति हामीले ट्याक्स पे गर्छौं त्यो अनुसारको सेक्युरिटी पाए जस्तो मलाई लाग्दैन । त्यो चाहिँ अलि कमजोरी छ जस्तो लाग्छ । परम्परागत निर्माण सामग्रीलाई आधुनिकीकरण गर्न तपाईंले निकै पहल गर्नुभएको छ र तीनवटा उद्योग नै स्थापना गरिसक्नु भएको छ, यो क्षेत्रमा कति लगानी भयो होला ? मैले आफैले यो व्यवसाय सुरु गरेको पाँच वर्ष भयो । हाम्रो एउटा टिम छ । गार्खा इको प्यानल १०/१२ करोडमा सुरु गरेका हौं । आजभोलि यसको लगानी २५/३० करोड पुगिसकेको छ । गोर्खा प्रिकास्ट विण्डोरमा १५/२० करोडको लगानी छ । अहिलेको यो गोर्खा चाइनिज ईटा सुरु गरेका छौं । यसमा ५० करोडको लगानी छ । समग्रमा हाम्रो झण्डै एक सय करोड लगानी गरेर यी तीन संस्थाहरु स्थापना गरेका छौं । आगामी योजनाहरु के कस्ता छन् ? हामीले बनाएको उत्पादनकाे गुणस्तरमा कम्प्रमाइज गर्दैनौं । गुणस्तरलाई ध्यान दिन्छौं । ब्राण्डलाई मेन्टेन गरेर अगाडि बढ्छौं । हामीले उपत्यका र आसपासमा राम्रै बजार लिएका छौं । यसको बजारीकरण उपत्यकामा राम्रै देखिएको छ । आमनागरिकले सस्तो र सहजरूपमा यसको प्रयोग गर्न पाएका छन् । माग पनि बढेको छ । अबको योजना भनेको उपत्यका बाहिरका मुख्य शहरमा सेवा विस्तार गर्नु नै हो । पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज जस्ता ठूला र आधुनिक शहरमा यसको बजार विस्तारमा छौँ । त्यसपछि बजारको मागअनुसार नै अघि बढ्ने तयारी छ ।