डिशहोम सिनेमाघरमा कबड्डी कबड्डी कबड्डी
काठमाडौं। यस वर्षको सुपरहिट चलचित्र “कबड्डी कबड्डी कबड्डी” टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा पौष ११ गते , शुक्रबारदेखि प्रर्दशन हुने भएको छ। सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्याति प्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, लगायत दर्जनौँ चर्चित कलाकारहरले अभिनय गरेका छन् । गएको असोज ३ गते रिलिज भएको यस चलचित्रले पुराना सिक्वलहरु कबड्डी , कबड्डी कबड्डीको सर्वाधिक लोकप्रियता संगै यसपटक पनि नेपाली सिनेमा जगत्मा उत्कृष्ट प्रर्दशनी कायम गर्न सफल रहेको छ । तिनैवटा सिक्वलमा कलाकार दयाहाङ राईले अभिनयमात्रै गरेनन् , चलचित्रलाई नेपाली सिनेमा प्रेमीहरुको मनमस्तिष्कमा समेत गहिरो प्रभावपार्न सफलभए । समयअनुसारको प्रविधिको विकाससंगै विकसितभएको डिशहोमलेहलहरुको पहुँच नभएका दर्शकहरुका लागि न्यूनतमशूल्कमा सपरिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने प्रविधि भित्र्याएको हो । च्यानलनम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिशहोमले प्रदान गरेकोे छ । हरेक दिन आठ शो हेर्न पाईने यस सिनेमाघरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समागएर एमओडी टाइप गरी(एउटा स्पेश दिएर) सेटअप बक्सको क्यास आइडी टाइप गरीआफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यो चलचित्र हेर्न सपरिवारका लागि रु ३ सय २५ रुपैयाँ शूल्क लाग्नेछ ।
अनलाइनबाट हवाई टिकटसँगै सिद्धार्थ बैंकबाट विदेशी मुद्रा सटहीको नयाँ सुविधा
काठमाडौं । प्रविधिको प्रयोगबाट बैंकहरुले उपभोक्तालाई दिने सुविधा बढाउने क्रममा सिद्धार्थ बैंकले नयाँ सविधा ल्याएको छ । बैंकले अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट ग्राहकले विदेशी मुद्राको माग गर्न सक्ने सुविधा दिएको छ । बैंकका ग्राहकहरुले सस्तो टिकेट मार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट नै सजिलैसँग विदेशी मुद्राको माग गर्न सक्नेछन् । माग गरिको विदेशी मुद्रा, नगद अथवा कार्ड, बंैकका तोकिएका शाखाहरुमध्ये आफूलाई सहज हुने शाखाबाट संकलन गर्नु पर्ने बैंकले जनाएको छ । बंैकिङ्ग समयभित्र सजिलैसँग विदेशी मुद्रा अथवा कार्ड संकलन गर्न सकिने भएको हुँदा यस सुविधाले ग्राहकहरुको समयको बचत हुने बैंकले विश्वास लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंकद्वारा गाईघाटकाे भुल्केमा ए.टि.एम सञ्चालन
काठमाडाैं सिटिजन्स बैंकले उदयपुरको गाईघाट स्थित श्री १८ नम्बर बाहिनी अड्डा, भुल्केमा ए.टि.एम. सेवा शुभारम्भ गरेको छ । श्री १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले उक्त ए.टि.एम सेवाको उद्घाटन गरेका हुन् । उक्त ए.टि.एम सेवाको सञ्चालन पश्चात् उक्त बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
शहरका होर्डिङ बोर्ड र पोस्टर हटाईने
काठमाडौँ। शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री सरकारले हटाउने भएको छ । आज गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख आतिथ्यतामा बसेको सरोकारवाला निकायहरु सहितको बैठकले सो निर्णय गरेको हो । बैठकले काठमाडौँ महानगरपालिकाभित्र तत्काल भोलि देखिनै चार ओटा समुह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने तथा अन्य स्थानिय तहको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गरेको छ । यस्तै बैठकले अव्वस्थितरुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसिमा तोकि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय गरेको छ । बैठकमा गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचनाहरु हटाईन लागेको बताए । यस्तै सर्वोच्च अदालतको समेत यस सम्बन्धमा आदेश दिईसकेको बताउँदै गृहमन्त्री थापाले सो कादेश कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका भित्र भोलिबाटनै त्यस्ता संरचना हटाउन सुरु गर्ने प्रतिवद्धता व्यक्तगरे । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने बताए ।
बृद्धभत्ता होइन, व्यापार गर्ने ठाउँ खोजिरहेका ७९ वर्षीय चेतनाथ ढकाल
काठमाडौं । गायक जीबन शर्माको ‘सिमली छायामा बसी…’ भन्ने गीत सुन्नु भएकै छ । यो गीतका केही अंश यहाँ फेरि सम्झौं– ‘…कैले काँही साथ दिने बुढी थिई घर छोराछोरी सम्झी सम्झी रुन्थी धरधर । मलाईभन्दा छिट्टै आयो, उसलाई पापी काल हातखुट्टा सुन्न्याँएर घुमाई उसले चोला । …सिमली छायामा बसी, भरिया लामो सास फेरेको जीबन भैसक्यो असी, झन् ठूला दुःखले घेरेको…।’ हो, ठ्याक्कै यही गीतसँग मिल्ने जीबन बाँचिरहेका छन्, ७९ वर्षीय चेतनाथ ढकाल । काठमाडौंको नेपाल वायुसेवा निगमको भवन नजिकै ‘काठमाडौं मल’ अगाडि छ, उनको ‘पसल’ । जुत्ता पालिस गर्ने ब्रस, कपाल कोर्ने काइयो, कपडा च्याप्ने क्लिप, कान कोट्याउने बड, टिस्यू पेपर जस्ता सामानका सडक व्यापारी हुन् ढकाल । हातमा केही सामान बोकेर पैदलयात्रीलाई ‘काइयो, काइयो, ब्रस, ब्रस’ भन्दै कराउनु उनको दैनिकी हो । विहान १० बजेतिर त्यहाँ आउने ढकाल घाम डुबेसँगै डेरा फर्किन्छन् । उनले बेच्न राखेको काइयोको मूल्य २० रुपैयाँ छ । ब्रसको ७० रुपैयाँ । यस्तै, उनीसँग भएका एयर बड, नेल–कट, टुथपिन, क्लिप, टिस्यू पेपर जस्ता सामानको मूल्य पनि धेरै छैन । अर्थात, उनीसँग भएका सबै सामान विक्री भयो भने पनि त्यसबाट उनले प्राप्त गर्ने भनेको बढीमा ७/८ सय मात्रै हो । पसलमा विक्रीमा राखिएको सामान उनले पनि किनेरै ल्याएका हुन् । नाफा शतप्रतिशत हुने हो भने पनि उनी दैनिक साढे ३ सयदेखि ४ सय कमाउँछन् । तर, पसलमा रहेका सबै सामान विक्री हुन्छन् होला र ? ‘कहाँ सबै बिक्छन् ? कुनै दिन त बोहोनी नै हुदैन नि !’ ढकालले भने । त्यसो भए कसरी चल्छ त उनको जिन्दगी ? ‘चल्छ बाबु ! खान लाउन पुगेको छ, कसैसँग हात पसार्नु परेको छैन, गरी खान पाएको छु, यसमा म खुसी छु’ ढकाल अलि खुलेर जवाफ दिन लागे । अनि सुनाए– जीबन शर्माको ‘सिमली छायामा बसी…’ भन्ने गीतसँग संयोग मिल्ने यथार्थ । ढकालकी श्रीमतीले यो संसार छोडेको ३४ वर्ष भएछ । श्रीमतीको देहान्त अघि नै उनका १ छोरा र ४ छोरी जन्मिसकेका थिए । ‘श्रीमतीलाई चाँढै भगवानले लगे, छोरालाई बुहारीले लगी, छोरीहरु ज्वाइँले लानुभयो, मसँग अहिले यही एउटा पसल छ, त्यो पनि कहिले काँही नगरपालिका आएर लान्छ,’ ढकालले पीडा पोखे । उनले यसो भन्दै गर्दा ‘सिमली छायामा बसी…’ को अर्काे यो अंश स्मरणमा आयो– ‘…छोरीहरु हुर्के बढे बढे, घर घर गए छोराहरु पाँचै भाइ मुग्लानीया भए…।’ जीबन यात्रा लामो समय उनले खेती किसानीमै जीवन विताए । शरीरमा तागत छउन्जेल उनको रुची पनि खेती किसानीतिरै गयो । तर, बुढेसकालले छोएपछि खेती किसानी गर्ने उनका हातपाखुरा बस्न थाले । मेलापात गर्न नसक्ने भए । र, काठमाडौं झरेर लागे सडक व्यापारमा । यसरी व्यापार गर्न लागेको १३ महिना भएको ढकालले सुनाए । उनले २ हजार रुपैयाँको लगानीबाट यो व्यवसाय सुरु गरेका हुन् । ‘यो व्यापारको कुनै भर छैन, कहिले काहीँ अलि धेरै विक्री हुन्छ, कहिले रित्तै,’ ढकालले सुनाए । गरिखान देऊ जेष्ठ नागरिकका लागि राज्यले मासिक भत्ता दिने गरेको छ । बृद्ध उमेरमा कमाई गर्न नसक्नेहरुका लागि सरकारले यस्तो व्यवस्था गरेको हो । तर, सरकारले दिने भत्ताप्रति भने उनको खासै आशक्ति छैन । ‘सरकारले महिनाको ३ हजार रुपैयाँ भत्ता दिन्छ, यो पैसा आउँछ भनेर सुतेर खाने कुरा पनि भएन, अझै काम गर्न सक्छु, व्यापार गर्न पनि जानेको छु, नगरपालिकाले मेरो पसल उठाउन रोक्ने हो भने व्यापार गरेर पेट पाल्न सहज हुने थियो,’ ढकालले मनका कुरा खोले । उनी काठमाडौको जमलमा डेरामा बस्दै आएका छन् । डेराभाडा मासिक ३ हजार रुपैयाँ छ । र, दैनिक १ सय २० रुपैयाँ तिरेर होटलमा खाना खान्छन् । सरकारले सडकमा व्यापार गरेर खान नदेलाका कि भन्ने चिन्ता ठूलो रहेछ उनमा । त्यसैले थपे–‘बाटोको जग्गा मेरो हो भनेको छैन, रहरले बाटोमा बेच्न बसेको होइन, सरकारले यो कुरा बुझिदिए हुन्थ्यो ।’
लक्ष्मी बैंक र सेलपेबीच सहकार्य
काठमाडौं। लक्ष्मी बैंकले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवन प्रकाश लिम्बु र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । लक्ष्मी बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु.१०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपे मार्फत विभिन्न भुक्तानीहरु गर्दा आकर्षक लोयल्टी पोईन्ट पनि पाउने छन् । सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट लक्ष्मी बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल भुक्तानी गर्न सकिने छ । सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले १२० शाखाहरु र १४५ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ ।
सरकारले उखुको मूल्य प्रति कुन्टल ६५ रुपैयाँले बढायाे, उद्याेगी भन्छन्-अब चिनीको मूल्य बढ्छ
काठमाडौं । सरकारले उखुको मूल्य प्रति कुन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको छ । एक वर्षअघि सरकराले उखुको मूल्य प्रति कुन्टल ४७१ रुपैयाँ २८ पैसा तोकेको थियो । सरकारले उखुको मूल्य प्रति कुन्टर ६५ रुपैयाँ २८ पैसा वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रबक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटा जानकारी दिए । उखुको मूल्य प्रति कुन्टल ५३६ रुपैयाँ ५६ पैसामा त्यसभित्र उद्योगीको ढुवानी खर्च र नाफा पनि जोडिएको मन्त्री बास्कोटाले बताए । उद्योगीले किसानलाई भुक्तानी गर्ने मूल्य भने अस्पष्ट भएको छ । उखुको मूल्य वृद्धिबाट किसान र उद्योगी सबैलाई फाइदा हुने मन्त्री बास्काेटाले बताए। उखुको मूल्य वद्धिपछि चिनीको मूल्य कतिले वृद्धि हुन्छ र उपभोक्तालाई कति असर पर्छ भन्ने बारेमा मन्त्री बाँस्कोटा मौन बसे । नेपाल चिनी उद्योग संघका अनुसार हाल चिनीको फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । उखुकाे मूल्य वृद्धिसँग अब चिनीकाे मूल्य पनि बढ्ने उद्याेगीले बताएका छन् ।
०.६२ अंकले घट्यो नेप्से परिसूचक, ५८ करोडको कारोबार
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ०.६२ अंकले घटेको छ । ०.०५ प्रतिशतले घट्दा नेप्से परिसूचक ११६७.४१ बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १७२ कम्पनीले कारोबार गरेका छन् । १६ लाख ४१ हजार २ सय ११ कित्ता सेयर किनबेच हुँदा ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रुपैयाँको कारोबार भएको छ । नेप्सेका ८ सूचक राता छन् भने ४ सूचक हरियो रहेका छन् । बैंक समूह ०.६९, ट्रेडिङ्ग समूह ३५.७२, विकास बंैक समूह २.२९ र जीवन बीमा समूह १६.५५ अंकले बढ्न पुगेका छन् । यस्तै होटल समूह ९.८८, जलविद्युत समूह ६.४७, वित्तीय समूह १.२५, निर्जीवन बीमा समूह २४.६७, उत्पादन मूलक समूह २४.२६, अन्य समूह ०.२५, माइक्रो फाइनान्स समूह ०.७३ र म्युचुअल फण्ड समूह ०.०३ अंकले घटेका छन् । नेपाल सेभा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।