मेडिसिटीले गर्यो जुुग्लेमा १ हजारको स्वास्थ्य जाँच, अधिकांशमा उच्च रक्तचाप
काठमाडौं। नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले स्याङ्जाको जुुग्लेका १ हजार स्थानियको विभिन्न समस्याका लागि स्वास्थ्य परिक्षण गरेको छ । अस्पतालले वरिष्ठ चिकित्सक एवं मेडिकल टिमले आँधिखोला गाउँपालिकाका १ हजार स्थानिय नागरिकहरुलाई मुटुरोग, स्त्री, दन्त, हाडजोर्नी तथा सामान्य समस्याका लागि परामर्श गर्दै औषधि वितरण समेत गरेको छ । पुुष ६ गतेदेखि ८ गतेसम्म जुुग्ले स्थित आँधिखोला बोर्डिङ्ग स्कुलमा आयोजना गरिएको स्वास्थ्य शिविरका लागि आँधिखोला गाउँपालिकाको समन्वय तथा ब्लाक याक ह्युुमन फाउण्डेसन र कोरियन ओपन डक्टर्स सोसाइटिको संलग्नता रहेको थियो । तीन दिनसम्म आँधिखोलामा आयोजना गरिएको शिविरमा नेपाल मेडिसिटी अस्पतालका तर्पबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी, हाडजोर्नी विशेषज्ञ डा. निभा चित्रकार तथा सामान्य समस्याका लागि डा. सन्तोष यादव सहित २ नर्सहरु र व्यवस्थापनका लागि स्मिता नेपालको सहभागिता रहेको थियो । दक्षिण कोरियाबाट आएका मेडिकल टिममा भने स्त्रीरोग, दन्त तथा हाडजोर्नी विशेषज्ञ तथा फार्मेसिष्ट रहेका थिए । विभिन्न समूहले संयुक्त रुपमा आयोजना गरेको यस शिविरमा स्वास्थ्य जाँचका लागि स्थानियहरुको उल्लेख्य सहागिता रह्यो । विभिन्न उमेर समूूहका मानिसहरु उपचारको लागि आएको र अधिकांश मानिस उच्च रक्तचापको जोखिममा रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशीले बताए । शारिरिक व्यायाम तथा आराम, खानपान तथा जनचेतना अभावका कारण पनि यस किसिमको समस्या आएको हुनसक्ने उनको धारणा छ । अस्पतालमा महाप्रबन्धक विजय रिमालले मध्य पश्चिम नेपालको स्थानियका लागि स्वास्थ्य उपचार सेवा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रत्तिवद्दता जनाए ।
चीनको यूनान प्रान्त नेपालमा लगानी गर्न ईच्छुक
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ र चीनबाट नेपाल भ्रमणमा आएको ७ सदस्यीय चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डलबीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चिनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरो को नेतृत्वमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको हो। उक्त भेटवार्तामा नेपाली र चिनियाँ उद्यमी व्यवसायी बीच नेपाल–चीन आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट नेपालमा औषधि उद्योगका क्षेत्रमा रहेको सम्भाव्यता अध्ययन गर्न भ्रमण भएको स्पष्ट पारिएको थियो । बैठकमा प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष प्रधानले नेपालमा यससमयमा लगानीका लागि सबैभन्दा उपयुक्त समय भएकाले चिनियाँहरूलाई लगानीका लागि आग्रह गरेका छन् । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसावले समेत सबैभन्दा बढी लगानी गरीरहेको छिमेकी राष्ट्र चीनबाट अझै धेरै लगानीको अपेक्षा गरेको प्रधानले पाए । दुवै देशका सम्माननीय राष्ट्रपतिज्यूहरूबाट भएको आपसी औपचारिक भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप मजवुद हुनाको साथै लगानीको वातावरणमा समेत सहयोग पुगेको उनले बताए । प्रतिनिधिमण्डलका नेता एवं चीनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङले नेपालको विकासमा सहयोग गर्न आतुर रहेको बताए । यस पटकको भ्रमण नेपालमा औषधि उद्योग क्षेत्रमा सहकार्यका सम्भाव्यता अध्ययन गर्न भएको स्पष्ट पार्दै फर्केपछि त्यस विषयमा थप छलफल गरी परियोजना ल्याउने धारणा चिरोङले राखे । भेटवार्तामा महासंघका महानिर्देशक धरणीधर खतिवडा, पूर्व कार्यकारिणी समिति सदस्य प्रदीपमान वैद्य, महासंघको सदस्य संघ संस्था प्रतिनिधिहरू, चीनसंग व्यापार व्यवसाय गरिरहेका नेपाली उद्यमी व्यवसायीहरू, महासंघका वरिष्ठ कर्मचारीहरू र प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालकाे उम्मेदवारी घाेषणा
काठमाडाैं । उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । गृहजिल्ला बाग्लुङ्गमा आजदेखि शुरु भएको वाग्लुङ्ग महोत्सवलाई सम्बोधन गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुन् । उनी महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भएका थिए । ढकाललाई महासंघकाे बरिष्ठ उपाध्यक्षकाे बलिया दावेदारकाे रूपमा हेरिएकाे छ । अहिले बरिष्ठ उपाध्यक्षमा विजयी हुने व्यक्ति तीन वर्षपछि स्वतः अध्यक्ष बन्ने बैधानिक व्यवस्था भएकाेले बरिष्ठ उपाध्यक्षकाे निर्वाचनलाई निकै महत्वका साथ लिइन्छ । शुक्रबार बागलुङ शुरू भएकाे महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघले बरिष्ठ उपाध्यक्षमा उठ्न गरेको प्रस्ताव स्वीकार गर्दै उम्देवारी घाेषणा गरेकाे उनले जानकारी दिए । महासंघको उपाध्यक्षका साथै एकजना उद्यमीका रुपमा देशका विभिन्न जिल्ला तथा नगरमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुने क्रममा जिल्लाका उद्योग वाणिज्य संघहरु एवम् स्थानीय उद्यमी साथीहरुले आफूलाई महासंघको नेतृत्वमा आउन विशेष आग्रह गरेको उनले बताए । उक्त सम्बोधनका क्रममा उनले आफूले सानो व्यवसायदेखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको बताउँदै आगामी दिनमा साना तथा मझ्यौला एवम् समग्र उद्योगी व्यवसायीको समस्या बुझेर काम गर्ने बताए । उनले भने–’मेरो जीवन पनि तपाईँहरुजस्तै सानो तिनो पसल, उद्यम र सामान्य जागिरबाट शुरु भएर यहाँ पुगेको हुँ, त्यसैले साना व्यवसायीको पीरमर्का र अवस्थालाई अरुले भन्दा बढी महसुश गर्न सक्छु ।’ उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने–‘तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु।’ उनले सरकारको सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न तथा सरकारले अघि सार्ने देश विकासका हरेक कार्यक्रममा सघाउन र सामाजिक न्याय सहितको तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन निजी क्षेत्रको अहम भूमिका रहने र यसका लागि आफूले पैरवी गर्ने प्रतिबद्धता गरे । बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकाल आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष छन् । उनी डिस होम मिडिया प्रालिका प्रवद्र्धक पनि हुन् । कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ । ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष समेत छन् । ढकाल नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत भएका थिए । समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य तथा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुन् ।
तुलसीपुरकाे कल्ले, बल्ले, लामीडाँडामा अझै सडक पुगेन
तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं ३ का कल्ले, बल्ले, लामीडाँडा, सितेधारा, टुनापानी, राम्रीका तल्लो टोललगायतका गाउँमा हालसम्म सडक पुग्न सकेको छैन । “म अहिलेसम्म तुलसीपुर बजार पैदल हिँडेर आउने गरेको छु”, स्थानीय ६५ वर्षीय भीमबहादुर घर्तीले भने, “अहिलेसम्म सडक कस्तो हुन्छ, बिजुली कस्तो हुन्छ, देख्न पाएको छैन ।” बाटोमा हिँड्दै गर्दा माथिबाट ढुङ्गा झर्ने भएकाले पैदलयात्रा गर्न समस्या हुने गरेको उनले दुखेसो पोखे । “सडक पुगेको छैन्, कोही बिरामी परेमा डोकोमा बोकेर लैजानुपर्छ”, घर्तीले भने, “केहीको त समयमै अस्पताल लैजान नसक्दा बाटोमै मृत्युसमेत भएको छ, त्यसैले हामीलाई सडक अनिवार्य चाहिएको छ ।” यहाँ करीब एक हजार घरधुरी बसोबास गर्दछन् । गाउँमा जान सडकको ट्र्याक खोल्न करोडौँ बजेट लाग्ने जनाइएको छ । “सडकका लागि थोरै थोरै गरेर बजेट आउछ”, स्थानीय अगुवा कर्णबहादुर बुढाले भने, “त्यो बजेटले अहिलेसम्म एक÷दुई किलोमिटरभन्दा बढी सडक खन्न सकिँदैन ।” स्थानीय बासिन्दालाई तुलसीपुर बजार पुग्न करीब तीन घण्टा हिँड्नुपर्छ । “म विगत २७ वर्षदेखि यो बाटो हिँडिरहेको छु, यहाँबाट ती गाउँमा पुग्न करीब तीन घण्टा नै हिँड्नुपर्छ”, तुलसीपुरको राणागाउँ घर भई आधारभूत विद्यालय कल्लेका प्रधानाध्यापकसमेत रहनुभएका टेकबहादुर बुढाले भने, “सडक नहुँदा निकै समस्या बनाएको छ ।”
हेम बहादुर मल्ल पुरस्कारबाट कुलमान घिसिङ र डा.सन्दुक रुहित सम्मानित
काठमाडौं । हेम बहादुर मल्ल पुरस्कारबाट विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र डा. सन्दुक रूइत सम्मानित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र नेपाल जनप्रशासन संघ संयुक्त रुपमा प्रदान गर्ने यो सम्मान तथा पुरस्कार शुक्रबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा उपराष्ट्रपति वर्षमान पुनले प्रदान गरेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष प्रदान गर्दै आएको हेमबहादुर मल्ल पुरस्कार २०७३ बाट घिसिङ र २०७४ बाट रूइत सम्मानित भएका हुन् । पुरस्कारको राशि २/२ लाख रुपैयाँ रहेको छ । घिसिङलाई लोडसेडिङमुक्त गरेकोमा र डा. सन्दुकलाई नेत्र ज्याती विशषेज्ञका रूपमा सम्मान गरिएको छ । कुलमान घिसिङको योगदान एउटा ग्रामिण भेगको जिल्ला र सामान्य परिवारमा जन्मेका व्यक्ति हुन् कुलमान घिसिङ । सानैदेखि मेहेनेती र प्रतिभाशाली भनेर चिनिने उनले कक्षा ६ सम्म गाउँकै विद्यालयमा पढे । उनले २०४३ सालमा एलएलसी पास गरे। अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका घिसिङले भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीएस्सी गरेका हुन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका गरे । घिसिङले २०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सरकारी सेवा प्रारम्भ गरेका गरे । अब शुरु भयो उनको देश र जनतालाई सहयोग र साथ दिने काम । उनले झन्डै २५ वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन् । चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए । रसुवागढी, मध्यभोटेकोसी, सान्जेन माथिल्लो सान्जेन अघि बढाउन घिसिङको भूमिका महत्वपूर्ण छ । दुई दशकभन्दा लामो अनुभवपछि उनी वि.स २०७३ साल भदौमा सरकारले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको थियो । उनै घिसिङले नेपालकोे लोडसेडिङलाई २०७५ मै लोडसेडीङमुक्त भएको घोषणा गरेका थिए । त्यस पश्चात घिसिङमात्र होइन उनको सिंगो टिमले देश जनताको जस पाइरहेका छन् । पुरस्कार ग्रहण गर्दै घिसिङले प्राधिकरणका १२ हजार कर्मचारीका कारण देशमा लोडसेडिङमुक्त सम्भव भएको बताए । उनले लोडसेडिङमुक्त गर्नु मात्र कुनै चमत्कार नभएको बताउँदै अझ निर्माणाधीन परियोजनाहरु पूरा गर्नुपर्ने जिम्वेवारी रहेको बताए । हाल आएर प्राधिकरण १० अर्ब लगानी गर्न सक्ने अवस्थामा भएको बताउँदै उनले नागरिकलाई सस्तोमा बिजुली पुर्याउने कार्यमा आफू जुटेको बताए । डा.सन्दुक रुइतको योगदान देशलाई उज्यालो बनाउने भनेर घिसिङ चिनिन्छन् भने व्यक्तिको जीवन उज्यालो बनाउने भनेर डा. सन्दुक रूइत चिनिन्छन् । ज्योती नभएकाहरुलाई ज्योती दिन डा. सन्दुकको भूमिका पनि महत्वपूर्ण छ । ताप्लेजुङको दुर्गम हिमाली भेगमा जन्मेका हुन डा. सुन्दुक रोइत । उनले आफ्नो चिकित्सा करिअरमा १ लाख २० हजारभन्दा बढी दृष्टिविहीनलाई आँखाको ज्योति प्रदान गरिसकेका छन् । उनले आँखाको उपचारका लागि नयाँ पद्धति जन्माउने सपना देखेका थिए । मोतीया बिन्दुको उपचार गर्ने नयाँ चिकित्सापद्धति रुइतेक्टोमीको सुरुवात गर्ने विज्ञ चिकित्सक हुन् डा. सुन्दुक । नेपालीहरुकामाझ प्रख्यात आँखा अस्पताल तिलगंगा आँखा केन्द्रको स्थापना गर्ने व्यक्ति यिनै सुन्दुक हुन् । उनले सन् १९९२ मा फ्रेड हलोज फाउन्डेसनको साथ र नेपाली समाजसेवीहरुको साथबाट तिलगंगा आँखा केन्द्रको मा स्थापना गरे । देशको दूरदराजका क्षेत्र मात्र नभई भारत, बंगलादेश, भुटान, बर्मा, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, उत्तर कोरिया, चीन, अफ्रिका लगायतका देशका बिरामीको आँखाको समेत उपचार उनले गरेका छन् । आँखा उपचार पद्धतिमा ल्याएको उच्चस्तरीय लेन्स परम्परागत लेन्सभन्दा तीस गुणा सस्तो मानिन्छ । मोतिया बिन्दुवाहेक आँखाको बाहिरी झिल्लीको प्रत्यारोपणमा पाएको उनको सफलता स्मरण योग्य छ । पुरस्कार ग्रहण गर्दै डा. सन्दुक रूइतले नेपाल विश्व जस्तो विकसित नभए पनि आफूले सकेसम्म राम्रो गर्ने प्रयास गरेको बताए । आँखाको उपाचारको क्रममा निकै सस्तो र उत्कृष्ट विधि अपनाएकोले उनले विश्व प्रशिद्ध पुरस्कार म्यागासे समेत पाईसकेका छन् ।
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित
काठमाडौं। प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी यही पुस १६ गते सम्मका लागि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । सूचनामा नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्ने उपसभामुखले प्रतिनिधिसभा नियमावलीबमोजिम अर्काे बैठक निर्धारण गरेकाे जनाइएको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहारको अभियोग लागेसँगै तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिनुभएपछि सभामुख पद हाल रिक्त छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन पुस ४ गते प्रारम्भ भएको थियो । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले विधेयक अधिवेशनको पहिलो दिनको बैठकको अध्यक्षता गरेका थिए। नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो । अधिवेशनमा यसअघिका २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भई वितरण भएका १०, संसदीय समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई विधेयक कारवाहीको प्रक्रियामा छन् । रासस
७ महिने ‘सिन्धु’ लाई परिवारकाे जिम्मा, नर्स र डाक्टर भावुक
काठमाडौं। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ । बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक सुमन तामाङ प्रहरी हिरासतमा रहेकाले बालिकालाई १२ दिनपछि मामा र ठूलीआमाको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । बालिकालाई सर्लाही जिल्ला लालबन्दी नगरपालिका–१४ निवासी ४१ वर्षीय मामा मइतेसिं लो, ठूलीआमा चिनीमाया लो र सानीआमा सुनमाया लोको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा बालिका जीवितै फेला परेपछि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा लगिएको थियो । रोइरहेकी बालिकालाई फकाउन बोतलको दूध चुसाउँदा नमानेपछि दुई महिनाअघि मात्र सुत्केरी भएकी स्थानीय सुनिता माझीले आफ्नो स्तनपान गराउँदा फकिएपछि उहाँ दैनिक बालिकालाई स्तनपान गराउन अस्पताल जाने गर्नुभएको थियो । बालिकालाई अस्पतालले विशेष सुरक्षाका साथ रेखदेख गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालयको आधिकारिक पत्र लिएर आएको हुँदा सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेल तथा सञ्चारकर्मीको रोहबरमा बालिकालाई मावलीको जिम्मा लगाइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष कमल नेपालले बताउनुभयो । बालिकालाई आफन्तको जिम्मा लगाएपछि अस्पतालका नर्सहरु र स्तनपान गराउने महिला पनि निकै भावुक बनेका थिए। दोलखाको कालीञ्चोकबाट भक्तपुरका लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा १२ जना र उपचारको क्रममा चारसहित १६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १९ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
सानिमा बैंककाे कार्ड प्रयोग गर्दा ब्लु क्रस अस्पतालमा १० प्रतिशत छुट
काठमाडौं। सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पतालबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख डिजिटल बैंकिङ, विक्रम श्रेष्ठ र ब्लु क्रस अस्पताल लिमिटेडको तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिति रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा १० प्रतिशतसम्म छुट पाउँन सक्नेछन् । विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको ब्लु क्रस अस्पताल लिमिटेड, काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित छ ।