एकीकृत कारोबारको २० दिनमा पनि खुलेन ग्लोबल आईएमईको सेयर किनबेच, अर्काे साता खुल्छः बैंक
काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जर सम्पन्न भएर एकीकृत कारोबार सुरु भएको २० दिन नाघिसकेको छ । गत २० मंसिरमा एकीकृत कारोबार सुरु भएको थियो । मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई नै राखिएको छ । तर, एकीकृत कारोबार सुरु भएको २० दिन वितिसक्दा पनि सेयर खरिद विक्री भने शुरु भएको छैन । पुँजी बजारको नियामक निकायले जारी गरेको निर्देशिका अनुसार भने सेयर कारोबार शुरु भइसक्नुपर्ने थियो । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले १२ साउन २०७४ देखि लागू गरेको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका–२०७४ अनुसार ग्लोबल आईएमई बैंकको सेयर कारोबार भइसक्नु पर्ने हो । निर्देशिकाको नियम ४७ को (४) मा एकीकृत कारोबार शुरु भएसँगै सेयर कारोबार पनि शुरु हुने व्यवस्था मिलाउन भनिएको छ । ‘सूचिकृत संगठित संस्थाहरु गाभ्ने वा गाभिने कार्य सम्पन्न भए पश्चात एकीकृत कारोबार शुरु भएसँगै सेयरको कारोबारसमेत शुरु हुने व्यवस्था गर्नुपर्नेछ,’ बोर्डले लागू गरेको निर्देशिकामै उल्लेख गरिएको छ । तत्काल सेयर कारोबार शुरु गर्न नसक्नेहरुका लागि पनि बोर्डले सुविधा दिएको छ । ‘तर एकीकृत कारोबार शुरु भएसँगै सेयरको कारोबारसमेत शुरु हुने व्यवस्था गर्न नसकिने भएमा एकीकृत कारोबार शुरु भएको बढीमा १५ दिनभित्र सेयरको कारोबार शुरु गर्नुपर्नेछ,’ भनिएको छ । ग्लोबल आईएमई बैंकले भने नियामकले तोकेका दुबै समयसीमा कटाएको छ । एकीकृत कारोबार सुरु भएको २० दिन वितिसक्दापनि कारोबार शुरु भएको छैन । सेयरको कारोबार शुरु नहुँदा दुबैं बैंकका गरी करिब १ लाख सेयरधनीले आफ्नो सम्पत्ति विक्री गर्न पाएका छैनन् । अर्काे सातादेखि खुल्छः बैंक बैंकले भने अर्काे सातादेखि सेयर कारोबार खुल्ने जानकारी दिएको छ । बैंकको प्रबन्धपत्र, नियामावली बनाउने जस्ता कामले केही ढिलाई भएको बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले वताए । ‘प्रबन्धपत्र र नियमावली बनाउन बाँकी थियो, यसका लागि कम्पनी रजिष्टारको कार्यालयमा पनि केही समय लाग्यो, अब त्यो काम सकिएको छ, सेयर कारोबार शुरु गर्नको लागि सीडीएसमा निवदेन दिएका छौं, अर्काे साताबाट कारोबार खुल्छ,’ ढकालले भने ।
माघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताह
काठमाडौं। प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पु¥याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ । विसं २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभावलगायतका कारणले सोचेअनुरुपको बीमा हुन नसकेपछि प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी उनीहरुको घरदैलोमै पुगी बीमालगायतको अन्य सुविधा प्रदान गर्ने गरी सप्ताह मनाउने निर्णय गरेको छ । आगामी माघ २ गतेदेखि प्रदेशको आठ वटै जिल्लामा शिविर सञ्चालन गरिने ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका संयोजक प्रियङ्का यादवले बताए । उक्त शिविरमा शिक्षा बीमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम गरिने जनाइएको छ । माघ २ गतेदेखि शुरु हुने छोरी बीमा सप्ताह सबै स्थानीय तहमा पुगी सम्पन्न हुनेछन् । यस अभियानले विभिन्न कारण बीमा गराउन नसकेका छोरीहरुलाई समेट्दै पछिल्लो एक वर्ष्भित्र जन्मेका छोरीहरुको बीमा शतप्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।
सवारीको ‘हुट’ हटाउँदै प्रहरी
नवलपरासी। सवारीमा अत्यधिक भारका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेको छ। पहाडी क्षेत्रमा चल्ने जीपमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले जीपको ‘हुट’नै हटाउने रणनीति अपनाएको हो । ट्राफिक प्रहरीले नवलपुरको पहाडी क्षेत्रमा अनावश्यकरूपमा सवारीमा जडान गरिएका ‘हुट’लाई हटाउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रमुख मुनेन्द्र थापाले बताउनुभयो । पहाडी क्षेत्रमा चल्ने सवारीले यात्रुसहित ‘हुट’मा भारयुक्त सामान बोक्दा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै सबै सवारीको ‘हुट’ हटाउन थालिएको प्रमुख थापाले बताए । ट्राफिक कार्यालय नवलपुरले एकै दिनमा पहाडी क्षेत्रमा चल्ने सात वटा जीपका ‘हुट’ हटाएको छ । पटकपटक ‘हुट’मा यात्रु नराख्न अनुरोध गर्दासमेत यात्रु राख्न नछाडेपछि सवारीको ‘हुट’ आफँैले हटाउन थालेको ट्राफिक प्रमुख थापाले बताए । जिल्लाको पहाडी क्षेत्रमा चल्ने सबै सवारीको ‘हुट’ हटाइने उनले बताए । उनका अनुसार बस व्यवसायी समिति र जीप व्यवसायी समितिलाई परिपत्र गरेर मापदण्ड कायम राख्न भने पनि व्यवसायीले अटेरी गरेपछि ट्राफिक प्रहरी आफैँले ‘हुट’ हटाउन थालेको हो । केही दिनभित्र पहाडी क्षेत्रमा चल्ने सबै सवारीको ‘हुट’ हटाइने प्रमुख थापाले बताए । “हामीले समिति, सम्बन्धित सवारी चालकलाई अनुरोध गरेका छौँ, उहाँहरु आफँैले ‘हुट’ नहटाए हामी आफैँ हटाउँछौ”, प्रमुख थापाले भने, “यो हाम्रा लागिभन्दा पनि यात्रुले जोखिमपूर्ण यात्रा नगरुन् भनेर गरेका हौँ ।” नवलपुरको बौदिकाली, बुलिङटार, हुप्सेकोट गाउँपालिकाका पहाडी क्षेत्रमा चल्ने सवारीले अनुमतिभन्दा धेरै यात्रुलाई राखेर जोखिमपूर्ण यात्रा गराउँदै आएका छन् । गाउँगाउँमा चल्ने सवारीले क्षमताभन्दा बढी यात्रु बोक्ने त्यसैमाथि भार थप्ने गरी सामान ओसार्दा सवारी दुर्घटना बढेको प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि यो अभियान थालिएको ट्राफिक प्रमुख थापाले बताए । नवलपरासीपूर्व नवलपुरमा दिनहुँजसो सवारी दुर्घटनाका घटना हुने गरेका छन् । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले अन्य विभिन्न कार्य गर्दै आएको छ । केही दिन अघि मात्रै प्रहरीले यहाँ रहेका निजी विद्यालयका विद्यार्थी बोक्ने बसमा अत्यधिक विद्यार्थी राख्ने गरेको भन्दै यसलाई रोक्न विद्यालयका सञ्चालकसँगको अन्तरक्रियासमेत गरेको थियो । सिट क्षमताभन्दा धेरै विद्यार्थी बसमा नराख्न अनुरोध गर्दै राखेको पाइएमा कारवाही गर्न थालिएको प्रमुख थापाले बताए । रासस
११ दिनदेखि घाम नउदाउँदा महोत्तरीमा अत्याधिक जाडो, जनजीवन प्रभावित
महोत्तरी। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो कुहिरोले पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेर मानिस, चौपाया, पशुपक्षी तथा बालीनाली सबैलाई प्रभावित पारेको छ । चिसो स्याँठका बीच यहाँका मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको छ । त्यस्तै विभिन्न बारी तथा खेतहरुमा लगाइएको हिउँदे बाली दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेको जिल्लाका किसानले बताएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा वृद्धि भएको छ । अत्यधिक चिसोले जिल्लाको हाट बजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि जिल्लाको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सकले बताएका छन् ।
१२ वर्षदेखि जाजरकोटका दर्जनभन्दा बढी सडक र पुल निर्माण अलपत्र
जाजरकोट। जाजरकोट भएर बाहिरी जिल्ला जाने रणनीतिक सडक निर्माण कार्य सुस्त हुँदा स्थानीयवासीलाई सास्ती हुँदै आएको छ । जाजरकोट–ब्युलीढुङ्गा–जुम्ला सडक निर्माण थालेको १२ वर्ष पुगे पनि ८० किलोमिटर सडकको ४० किलोमिटर पनि ट्र्याक खुल्न सकेको छैन । जुम्ला जोड्ने यो सम्भावित रणनीतिक मार्गमा करिब रु २५ करोड खर्च भइसकेको छ । अर्को ९० किमि लामो जाजरकोट छेडा–चाँदे–जुम्ला सडकको ३५ किमि मात्र निर्माण भएको छ । बाह्र वर्षअघि काम शुरु भएको उक्त सडकमा रु ३० करोड खर्च भइसकेको छ । त्यस्तै, १४० किमि लम्बाइको जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडकको काम ३० किमिमा सीमित छ । रु २० करोड खर्च भइसकेको सो सडकको निर्माण ठप्प छ । जाजरकोट–जुम्ला जोड्ने यी तीनवटा रणनीतिक मार्गको निर्माण सुस्त छ । उक्त मार्गको पूरा ट्र्याक खोल्न सम्बन्धित निकायले ध्यान नदिँदा समस्या हुँदै आएको हो । बजेट अभाव र सम्बन्धित निकायको चरम ढिलासुस्तीले निर्माणमा चुनौती थपिँदै आएको छ । जाजरकोट–डोल्पा अर्थात् भेरी करिडोर र मध्यपहाडी लोकमार्गको निर्माण पनि सुस्त छ । जुम्ला जोड्ने रणनीतिक मार्ग प्रदेश सरकार मातहतमा आएकाले निर्माणमा अन्योल देखिएको सडक डिभिजन चौरजहारीका इञ्जिनीयर कुशल भुसालले बताए । विगत वर्षसम्म जे जति निर्माण भए पनि बाँकी कार्य प्रदेश सरकार मातहतका कार्यालयले हेर्ने निर्णय भएको उनको भनाइ छ । रणनीतिक सडकको बजेटबारे जानकारी नभएको र कार्यालयमा बजेट पनि नआएको उनले जानकारी दिए । डिभिजन कार्यालयमा भेरी करिडोर, लुम्बिनी–रारा सडक र अन्य केही साना सडकका लागि बजेट आएको उनले जानकारी दिए । कार्यालयका अनुसार भेरी करिडोर स्तरोन्नतिका लागि २२ करोड र लुम्बिनी–रारा जोड्ने दुई सडकको सर्भे डिजाइनका लागि रु एक÷एक करोड बजेट आएको छ । भेरी करिडोर सडकको बहुवर्षीय ठेक्काका लागि सम्बन्धित निकायसँग सहमति लिने प्रक्रियामा छ । डिभिजन कार्यालयलाई तीन सम्भावित रणनीतिक मार्ग र २८ क्षेत्रीय तथा शहरी सडक निर्माणको जिम्मा थियो । सङ्घीय संरचनासँगै केही सडक प्रदेश र केही स्थानीय तहअन्तर्गत सारिँदा निर्माण सुस्त भएको हो । कुनै सडकमा मनोमानीे सर्भे तथा रेखाङ्कन, कुनैमा कडा चट्टान कटिङ नगर्दा र कुनैमा नाली, तारजाली–वाल, ढल निकास र ग्राभेललगायत स्तरोन्नति नहुँदा अलपत्र परेका हुन । कर्णाली प्रदेश सरकारले पनि उक्त सडक निर्माणका लागि हालसम्म पहल गरेको छैन । रणनीतिक मार्ग चौडा बनाउने, नाली, तारजाली–वाल, ढल निकास र ग्राभेललगायत स्तरोन्नति गर्ने त परको कुरा, ट्र्याक खोल्ने कार्य नै अलपत्र छ । त्यस्तै तीनवटै रणनीतिक राजमार्गको ग्रेडिङ तथा घुम्तीको ‘स्पेस’ नमिलेको र विभिन्न खोलामा पुल हाल्न ढिलाइ भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए । ट्र्याक खोल्नै करोडौँ खर्च भएका यी सडकमा यातायातका साधन नगुड्दा लगानी खेर गएको उनको भनाइ छ । सडक खण्डको गारराङ्सीदेखि नाउलीसम्मको रेखाङ्कन गाडी चढ्नै नसक्ने गरी भएको रावलको भनाइ छ । पछिल्लो समय मध्यपहाडी लोकमार्ग स्तरोन्नति अगाडि बढेको छ । आयोजनाको ट्र्याक खोलिएको आठ वर्षपछि स्तरोन्नति थालिएको हो । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना (पश्चिम खण्ड) दैलेखले जाजरकोट खण्डको कुदुदेखि कार्कीगाउँसम्मको ३५ किमि सडक पहिलो चरणमा कालोपत्र शुरु गरेको जनाएको छ । एक अर्बको लागतमा शर्मा सिंह एण्ड ब्रदर्स जेभी काठमाडौँले कालोपत्र गर्न लागेको व्यवसायी विश्वास उप्रेतीले बताए । त्यस्तै जाजरकोट–डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि भेरी करिडोरअन्तर्गतको जाजरकोट डोल्पा सडकको जिरो प्वाइन्ट पासागाडदेखि नै स्तरोन्नति अघि बढ्न सकेको छैन । एक सय १८ किमि जाजरकोट–डोल्पाको पहिलो चरणको सडकको ट्र्याक मात्र खोलिएको छ तर, सो सडकअन्तर्गत पर्ने दर्जनभन्दा बढी खोलामा पुलको निर्माण तथा स्तरोन्नति नहुँदा यातायात सञ्चालनमा समस्या भएको स्थानीयवासी बताउँछन् । रासस
साना सहकारीलाई एकीकरण गर्दै काठमाडौ महानगरपालिका
काठमाडौं। काठमाडौं महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उनले मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले व्यवस्थापन गर्न एकीकृत प्रणाली लागू गरिएको जानकारी दिए । सञ्चालनमा रहेका एक हजार ८५६ सहकारीलाई एकीकृत गरी ७०० बनाउने लक्ष्य लिइएको छ । सहकारी ऐन २०७४ तथा कामपाको सहकारी ऐन २०७४ मा एकीकृत गर्न सकिने प्रावधान रहेको छ । एकीकृत हुन दुई सहकारी एकअर्कामा तयार रहनुपर्छ । दुई महिनाअघि मात्र कापमाले वडा नं २४मा रहेकोे विराज बचत तथा ऋण सहकारी र वडा नं १३ को सप्तदीप बहुउद्देश्यीय सहकारीलाई एकापसमा एकीकरण गरी ‘सप्तदीप बचत तथा ऋण सहकारी संस्था’ सञ्चालन प्रक्रिया शुरु गरिएको थियो । त्यस्तै वडा नं २२ मा रहेको सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था र ३२ वडाको तपस्वी बचत तथा ऋण सहकारीलाई एकीकरण गरी ‘सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था’ सञ्चालन भइरहेको छ । एकीकृत हुने सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । सर्वसाधारणलाई ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्यौट भइसकेको विभागले जनाएको छ । यसैगरी कामपा २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ । कामपा कार्यपालिका बैठकले एक महिनाअघि सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । विसं २०६४ मा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक विसं २०७४ बाट सम्पर्क्विहीन भएको जनाइएको छ । प्रशासन विभाग प्रमुख ढकालका अनुसार सो सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मा लानुपर्ने कानूनी प्रावधान रहेको थियो ।
भक्स्वागन विन्टर अफर: आकर्षक नगद छुटदेखि १ वर्ष नि:शुल्क बीमा सम्म
काठमाडौं। भक्स्वागन नेपालको लागि अधिकारिक विक्रेता रहेको पूजा ईन्टरनेसनलले ‘ भक्स्वागन विन्टर अफर’ ल्याएको छ। जाडो र नयाँ वर्षको आगमनसँगै पूजा ईन्टरनेसलले ‘भक्स्वागन विन्टर अफर’ को ल्याएको हो। यो अफर डिसेम्बर २५ देखी जनवरी १५ सम्म रहने कम्पनीले जनाएको छ। यो अफर अन्तर्गत ग्राहकहरूले जर्मन टेक्नोलोजीको एक साँचो मास्टरपिसको स्वामित्व पाउनुको साथै आकर्षक नगद छुट, एक वर्ष नि: शुल्क बीमा, सजिलो वित्त र एक्सचेन्ज सुविधा, विदेश यात्रा, आगामी वर्षको सडक कर निशुल्क नेपालभरको भोल्क्स्वागनको सोरुमबाट २ वर्षको लागि असीमित किलोमिटर वारेन्टी रहेको छ। भक्स्वागनका कारहरू यसको उच्च गुणस्तर र यसको स्टाईल (निर्माण गुणवत्ता, सुरक्षा मानक, प्रदर्शन, आराम र शक्ति) को लागि परिचित छ। भक्स्वागनकाे विभिन्न आकारका कम्प्याक्ट, सानो र मध्यम आकारको यात्री कारहरू रहेका छन्।
प्रभु बैंकद्वारा जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा एक्स्टेन्सन काउण्टर सुरु
काठमाडाैं । ग्राहकहरुको सेवालाई मध्येनजर गर्दै प्रभु बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा नयाँ एक्स्टेन्सन काउन्टर सुरु गरेको छ । बैंकले जिल्लाको बाग्लुङ्ग नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालन गरेको हो । एक्स्टेन्सन काउण्टरको उद्घाटन बाग्लुङका प्रमुख जिल्ला अधिकृत लुक बहादुर क्षेत्रीले गरेका छन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको जनाएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको विश्वास छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटीएम ३९ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।