विकासन्युज

किन झुम्दिैछन् हिमालयन डिष्टिलरीमा लगानीकर्ता ? (समग्र विश्लेषण)

काठमाडौं । जावलाखेल ग्रुप अफ कम्पनीले प्रबद्र्धन गरेको हिमालयन डिष्टिलरीको सेयर मूल्य बढ्दो क्रममा छ । कम्पनीले सहायक कम्पनी स्थापना गरी २ करोड १८ लाख रुपैयाँमा ४ विगाह जमिन पनि खरिद गरेको छ । हिमालयन डिष्टिलरी के कस्तो नयाँ योजनामा छ ? सेयर लगानीकर्ता यसको सेयरमा किन झुम्मिएका छन् ? यो कम्पनीमा लगानी गर्नु कत्तिको उपयुक्त हुन्छ होला भन्ने जस्ता सन्दर्भमा विकासन्युजले यो कम्पनीको समग्र विश्लेषण गर्ने प्रयास गरेको छ । सन् १९८५ मा स्थापना भएको हिमालयन डिष्टिलरी कम्पनी पछिल्लो समय बजारमा कारोबार भइरहेका उत्पादनमुलक समूह अन्तरगतको कम्पनी हो । बजार सेयर मूल्य (रु. १२१५) को आधारमा कम्पनी यस समूहमा चांैथो स्थानमा छ । सन् २००० मा पब्लिक कम्पनीमा रुपान्तरण भएको यस कम्पनीको माउ कम्पनीको रुपमा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिस रहेको छ । कम्पनीले वार्षिक वित्तीय विवरणमा स्पष्ट रुपमा सेयर स्वामित्वको जानकारी दिएको छैन । तर, प्रबन्धपत्र संशोधन प्रस्तावमा ६२ दशमलव ११ प्रतिशत संस्थापक र ३७ दशमलव ८९ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व रहेको उल्लेख छ । त्यस्तै, कम्पनीले गत वर्ष चुक्ता पुँजीको ६८ दशमलव ४२ प्रतिशत नगद लाभांश बाडेको छ । २६ करोड ३८ लाख नगद लाभांशको आधारमा आरआर सप्लायर्सले ५ करोड ७४ लाख (२१ प्रतिशत), फुड एण्ड वेभरेज टेक्नोलोजिजले ५ करोड ३९ लाख (२० प्रतिशत) र मेजेस्टिक भेन्चरले ८३ लाख रुपैयाँ (३.१५ प्रतिशत) लाभांश पाएका छन् । कम्पनीमा विजय शाहलगायतको बलियो पकड छ । उत्पादन कम्पनीले हिमालयन ऐला, रोयर ट्रेजर ह्विस्की, ब्ल्याक ओक र गोल्डेन ओक जस्ता मदिरा उत्पादन गर्दै आएको छ । गोल्डेन ओकको बजार माग बढ्दो रहेको छ भने कम्पनीले प्रति ४० युपि रहेको ब्ल्याक ओकको बजार प्रवद्र्धनमा जोड दिदै आएको छ । ब्ल्याक ओकलाई प्रमियम ब्राण्डको रुपमा लिएको छ । ७ सय ५० मिलिलिटरसम्म उपलब्ध हुने यसको अधिकत्तम ग्राहक मूल्य १ हजार ८० सम्म छ । हिमालयन ऐला १५ युपि शक्ति भएको ७ सय ५० मिलिटिलरको १ हजार ६ सय रुपैयाँसम्म बिक्री गर्दै आइरहेको छ । कम्पनीको बार्षिक उत्पादन क्षमता १ करोड ७० लाख लिटर छ । –पछिल्ला महिना दैनिक औसत ८ हजार कित्ता सेयर किनबेच –थप दुई कम्पनीमा लगानी विस्तार गर्दै –विजय शाहलगायतको पकड सरकारले अन्तः शुल्क कानुनमा प्रतिक्वीन्टल ग्रेनबाट उत्पादन गर्नुपर्ने स्प्रिटको दर बढाएको कारण ग्रेन इएनए उत्पादन बन्द गर्नु परेको थियो । हाल यसमा संशोधनको तयारी भइरहेकोले कम्पनीले उत्पादन सुचारु गरेको छ । पहिलो पटक बोनस १ पुसमा १९औं बार्षिक साधारणसभा गरेको कम्पनीले ५० प्रतिशत नगद लाभांश र ५० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव स्वकृत गरेको छ । यससगै चक्ता पुँजी ३८ करोडबाट वृद्धि भएर ५७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । पाँच वर्षमा कम्पनीले औसतमा ४६.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नगद लाभांश मात्रै प्रस्ताव गर्दै आएको कम्पनीले पहिलो पटक बोनस सेयर दिएको हो । सामान्यतः उत्पादनमुलक कम्पनीहरुले थप लगानी गर्ने सोच भएर पुँजी आवश्यक हुँँदा मात्रै बोनस सेयर लाभांश प्रस्ताव गर्छन् । अन्य कम्पनीमा लगानी र कारोबार कम्पनीले हिमालयन मल्टि एग्रो लिमिटेड र हिमालयन फिसरीज लिमिटेड नामका दुई सहायक कम्पनी दर्ता गरेको छ । हिमालयन मल्टि एग्रोको लागि २ करोड १८ लाख रुपैयाँमा चार विगाहभन्दा बढि जग्गा खरिद गरेको छ । हिमालयन फिसरिज दर्ता मात्र भएको छ । यसमा करीब ६४ हजार ५ सय रुपैयाँ खर्च भएको छ । कम्पनीले आफ्ना उत्पादनहरुको माग उच्च भएको भन्दै सञ्चालकहरु आबद्ध अन्य कम्पनीहरुबाट थप उत्पादनसमेत गरिरहेको छ । गोल्डेन ओकको बजार माग उच्च रहेको भन्दै कम्पनीले विजय डिष्टिलरी लगायतका अन्य कम्पनीबाट समेत यसको उत्पादन गर्दै आएको छ । त्यस्तै गोल्डेन ओकलाई २०७४ देखि रोलिङ रिभर डिष्टिलर्सबाट समेत उत्पादन गरेर बिक्री गर्दै आएको छ । माउ कम्पनी जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले यस कम्पनीमा कार्यरत कर्मचारीहरुको मूल्यांकन लगायतका व्यवस्थापकीय काम गर्दै आएको छ । यी तीनवटै कम्पनीमा हिमालयन डिष्टिलरीका सञ्चालकहरुका आफन्तको लगानी छ । कम्पनीले बार्षिक वितीय विवरणमा यसलाई खुलाएको समेत छ । वित्तीय अवस्था चालु आवको पहिलो त्रैमाशमा कम्पनीको उत्पादन बिक्री आम्दानी ६.२६ प्रतिशतले घटेपनि नाफा रकममा ३३.९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले उत्पादन र बिक्री खर्च कम गर्न सकेको कारण खुद नाफा वृद्धिमै सहयोग पुगेको छ । कम्पनीले उत्पादनको लागि स्टोर गरिने कच्चा पद्धार्थहरुको प्रयोग राम्ररी गरिरहेको देखिन्छ । पहिलो त्रैमाश अवधिमा बार्षिक ४२ करोड बराबरको इन्भेन्ट्रिज (कच्चा पद्धार्थ) रहने गरेको छ । यो अवधिमा भने यसमा शुन्य दशमलव ३३ प्रतिशतले कमि आएको छ । कम्पनीले व्यापारको क्रममा भुक्तानी गर्नुपर्ने रकम ५५ प्रतिशतले घटेर ९ करोड ८८ लाखमा सिमित भएको छ । कम्पनीले लिनुपर्ने रकम भने ३८ प्रतिशतले बढेर ४२ करोड ५५ लाख रुपैयाँ पुगेको छ । यसमा सुधार गर्नुपर्ने देखिन्छ । यसले कम्पनीले बजारबाट पैसा उठाउन सके नसकेको देखाउँछ । ह्रास कट्टी खर्चमा वृद्धि देखिदैन । यसमा १ करोड २१ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीका सामानहरुको पुन खरीदलाई यो रकम प्रयोग हुनेछ । कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३० पैसा, मूल्य आम्दानी अनुपात ५८ दशमलव ३९ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ८२ रुपैयाँ छ । कम्पनीको १ रुपैयाँको कमाईलाई बजारका लगानीकर्ताले ५८ रुपैयाँसम्म हालिरहेको मूल्य आम्दानी अनुपातले देखाउँछ । सेयर विश्लेषण पछिल्लो समय कम्पनीको सेयर कारोबारमा तीव्रता आएको छ । पछिल्लो १ वर्षमा कम्पनीको सेयर कारोबार दैनिक औसत ३ हजार कित्ताको दरमा भइरहेको छ । यो दरमा वृद्धि भएर ८ हजार कित्तासम्म पुगेको छ । कम्पनीको आरएसआई सूचक ४२ छ । यसले कारोबार सन्तुलित क्षेत्रमा रहेको संकेत गर्छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । बोनस सेयर समायोजन पछि पनि ७ दिने रेखा २१ दिनेभन्दा माथि रहेकोले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गरिरहेको छ । तर, यी रेखा नजिकिएकोले ध्यान दिनुपर्ने देखिन्छ । पीभट विश्लेषणले आगामी महिना काराबोरमा १ हजार २ सय ६८ मा पहिलो प्रतिरोध र १ हजार १ सय ६९ मा पहिलो टेवा पाउने संकेत गर्छ । कम्पनीको सेयर मूल्यले अन्तिम दुई दिनमा ग्रेभस्टोन डोजी आकृति बनाएको छ । यसको शुरुमा ठूलो आकारको कालो मारुबोजु अन्तिम दिन कालो डोजी बनेको हो । डोजीको माथिल्लो धागो शरीरभन्दा दोब्बर मात्रै छ भने तल्लो धागो लगभग छदैछैन भन्ने तहको छ । यसले मूल्य बढ्ने संकेत गरेपनि यो दरिलो संकेत होइन । अर्को दिनको कारोबारमा मूल्य डोजीको आकारभन्दा माथिबाट खुले बजार बढ्ने सुनिश्चित हुन सकिन्छ ।

स्मार्ट वास सोलुसन्सको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं । स्मार्ट वास सोलुसन्सको प्रथम साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले स्मार्ट वास सोलुसन्सको बारेमा जानकारी दिएका थिए । शनिवार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपकुलपति डा. श्रेष्ठले किसानहरुको खेतमा सिंचााई भएको र खानेपानीको समस्या समाधान भएको बताएका छन् । साथै, दीगो कृषि प्रणाली शुरु भइ समृद्धितिर लम्किएको र यो अभ्यासलाई देशका अन्य ठाँउमा पनि अनुकरण गर्न आग्रह गरेका छन् । उपकुलपति डा. श्रेष्ठले हरेक चुनौती र समस्याको समाधान भएको बताउँदै समाजलाई उन्नतिमा लैजान अग्रसर नेतृत्वले नयाँ प्रविधिको उपयोगलाई पनि त्यतिकै महत्व दिनुपर्ने बताए । उनले समृद्धिको लागि प्रबर्तन भन्ने नारासहित नाष्टले पनि विज्ञान र प्रविधिको क्षेत्रमा कार्यरत संघ संस्थाहरुसंग सहकार्यको थालनी गरेको जानकारी दिए । साथै, त्यस्ता संस्थाहरुको कार्यलाई सघाउने सदासयले यस बर्ष १८ वटा संस्थासंग सहकार्य गरेको र आगामी वर्ष यस्तो सहकार्य बढाउदै जाने जानकारी दिए । नाष्टले विज्ञान र प्रविधितर्फ आकर्षण बढाउनका लागि युवा वैज्ञानिक मञ्च र महिला वैज्ञानिक मञ्चको गठन गरी कार्यक्रमहरु पनि सञ्चालन गर्न थालेको छ । उनले नाष्टमा विज्ञान पार्क बनाएर अवलोकन भ्रमणमा आउनेहरुलाई विज्ञानका हरेक क्षेत्रमा भएका विकासको जानकारी दिने योजना रहेकोले त्यसमा आफ्नो क्षेत्रको विकास झल्काउने साना पार्क निर्माणमा अग्रसर हुन पनि वैज्ञानिकहरुलाई आग्रह गरेका छन्् । कार्यक्रममा पूर्वमन्त्री गणेश साहले खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत जनशक्तिमा नयाँ प्रविधिको अबलम्बनको लागि परम्परागत सोंच शैलीमा परिवर्तन ल्याउन जरुरी भएको बताउदै यस क्षेत्रका अनुभवी विज्ञहरुको अग्रसरतामा स्थापना भएको स्मार्ट वास सोलुसन्सले सरकार र नागरिकहरुका बीचमा समन्वय र सहयोगको बातावरण सिर्जना गर्नुपर्ने बताए । कार्यक्रमका अर्का अतिथि खानेपानी तथा ढलनिकास विभागका महानिर्देशक सुनिलकुमार दासले देशमा खानेपानीको पहुँच ८९ प्रतिशत जनतासमक्ष पुगेको भएपनि अझै गुणस्तरीय पानीको वितरण,लैंगिक पक्ष, सामाजिक समावेशिता, पानीको कुशल व्यवस्थापन, जलवायु परिवर्तनका नकारात्मक असर, स्मार्ट मिटरिड.सहित अत्याधुनिक प्रविधिको प्रयोग, वैकल्पिक स्रोतको उपयोग,स्रोतको संरक्षण र बढ्दो मागको आपूर्तिजस्ता थुप्रै चुनौती रहेको बताए साधारण सभाको उद्घाटन समारोहलाई संबोधन गर्दै नाष्टका प्राज्ञ डा.प्रमोद कुमार झाले सरकारले समृद्धिका १२ सूचक बनाएको र त्यसमा स्वास्थ्य र सरसफाईको सूचक पनि रहेको उल्लेख गरे । नेपाल विकासील राष्ट्रमा स्तरोन्नति हुनका लागि अरु धेरै आर्थिक र सामाजिक क्षेत्रका सूचकमा पनि सुधार गर्न आवश्यक रहेको बताए । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. नवराज खतिवडाले खानेपानीको मुहानहरु सुक्दै गएकोले नदी तथा खोलाबाट पम्पिड. गरेर पानी आपूर्ति गर्नेतर्फ सोच्न आग्रह गर्दै जस्तोसुकै प्रतिकूल समयमा पनि ३ महिना पानी आपूर्ति गर्न सक्ने भण्डारण क्षमता विकास गरी खानेपानीको सुरक्षा प्रत्याभूत गर्न यस क्षेत्रमा कार्यरत नीति निर्माताहरुलाई सुझाब दिए । उनले आकाशे पानीबाट जमिनमुनिको स्रोत पुनर्भरणको लागि शहरको निर्माणमा स्पोञ्ज शैलीको उपयोग गर्न पनि सुझाव दिएका छन् । उनले भने, हाम्रै समयमा परिवर्तनका परिणाम देख्नको लागि अत्याधुनिक प्रविधिमा आधारित तीव्र गतिको विकास अबलम्बन गर्नुको विकल्प छैन । कार्यक्रममा स्मार्ट वासका अध्यक्ष ई. रामदीप साहले विगत एक वर्षमा स्मार्ट वाटर म्यानेजमेन्ट, आकाशे पानीको संकलन र व्यवस्थापन,मानव मलमूत्रीय लेदो व्यवस्थापनका क्षेत्रमा राष्ट्रिय सम्मेलन आयोजना गरी सरोकारवाला निकाय र नीति निर्माताहरुबीच संवादको थालनी गरी नीतिगत परिवर्तन र योजना तथा कार्यक्रम सञ्चालनमा सामाञ्जस्य ल्याउन प्रयास गरिएको बताए । उनले छोटो समयमा नै संस्था एशिया वाटर काउन्सिलको सदस्य बन्न सफल भएको बताउँदै आगामी वर्षमा केही नगरहरुमा स्मार्ट वाटर म्यानेजमेन्ट र केही नगरहरुमा ढल व्यवस्थापनको नमूना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि बताए कार्यक्रममा काठमाडौं महानगर पालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ र एकीकृत बाग्मती सभ्यता विकास तथा संरक्षण समितिका कार्यकारी निर्देशक ई.देबेन्द्र झाले सरसफाईको महत्वमा प्रकाश पारेका थिए । साधारण सभामा स्मार्ट वास सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माले गत वर्ष संस्थाले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै आगामी वर्ष समग्र सरसफाईको गुरुयोजना तयार पार्नका लागि राष्ट्रिय सम्मेलन गर्ने, खानेपानीको सम्बन्धमा राष्ट्रिय ज्ञानको भण्डार(नलेज हव) स्थापना गर्ने, खानेपानी र सरसफाईको क्षेत्रमा स्मार्ट प्रविधि अबलम्बन गर्न देशव्यापी अधियान चलाउने र दीगो विकासका खानेपानी तथा सरसफाईसम्बन्धी लक्ष्य हासिल गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसंगको सहकार्यमा विविध कार्यक्रम गर्ने लक्ष्य राखिएको बताए ।

युवा मन्त्रालय गठनमा आयोनको अग्रणी भूमिकाः युवामन्त्री

काठमाडौं । ‘शान्ति, उद्यमशिलता, पर्यटन र दिगो विकासका लागि परिवर्तनका संवाहक युवा’ भन्ने मूलनाराका साथ देशभरीका युवा संस्थाहरुको छाता संगठन आयोनको १४ औं बार्षिक साधारण सभा ललितपुर स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) प्रमुख आतिथि रहनु भएको थियो । यसैगरी बार्षिकोत्सव समारोहमा नेपाली काँग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत विशिष्ट अतिथिको थिए । यसैगरी प्रतिनिधि सभाअन्र्तगत संसदको स्वास्थ्य तथा शिक्षा समितिकी सदस्य मनकुमारी जि सि विशेष अतिथिका रुपमा कार्यक्रमको उद्घाटन सत्रमा उपस्थित भएका थिए । कार्यक्रममा आयोनका देशैभरबाट आएका प्रतिनिधिहरु, संयुक्त राष्ट्रसंघ लगाएत नेपालमा कार्यरत अन्तर्राष्ट्रिय सामाकि संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाली नागरिक संगठनका अगुवाहरु, सामाजिक तथा युवा अभियन्ताहरु, प्राज्ञ, बुद्धिजिवि, विद्यर्थी नेताहरु उपस्थिति थिए । आयोनले १४ औं बार्षिक साधारण सभालाई सफल पार्ने क्रममा उद्घाटन कार्यक्रम भन्दा पहिले बृहत्तर यौनिकता शिक्षामा केन्द्रित वहस “युवा संग सांसद”कार्यक्रमको आयोजना गरेको थियो । करिव एक सयभन्दा बढि युवाहरु सहभागि उक्त कार्यक्रममा प्यानलिष्टको रुपमा राष्ट्रिय सभाका सांसद तथा राष्ट्रिय सभाअन्र्तगत दिगो बिकास तथा सुशासन समितिमा सदस्य डा. बिमला राई पौड्याल र प्रतिनिधि सभा सांसद तथा प्रतिनिधि सभाअन्र्तगत महिला तथा सामाजिक समितिको सदस्य लक्ष्मी परियार सहभागि थिए । उक्त युवासंग सांसद वहसको सहजीकरण आयोनका कार्य समिति सदस्य सोविता गौतमले गरेका हुन् । चौंधौ बार्षिकोत्सवको अवसरमा आयोनले युवा अभियन्ता तथा आयोनका संस्थापक अध्यक्ष राजेन्द्र मुल्मीलाई सम्मान गरेको थियो । यसैगरी स्वयंसेवकहरुमध्ये उत्कृष्ट वन्न सफल भानुभक्त पाँण्डेलाई उत्कृष्ट स्ववंसेवक अवार्डबाट सम्मानित गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै सवै अतिथिहरुले आयोनले नेपाली युवाहरुको सर्वाङ्गिण विकासमा खेलेको भूमिका र योगदानको खुलेरै प्रसंशा गरे । कार्यक्रमका प्रमुख अतिथि जगतबहादुर सुनार (विश्वकर्मा)ले आयोनले युवामन्त्रालयको गठन हुनुपर्छ भन्ने अभियान थालेको त्यसपछि क्रमशः राष्ट्रिय युवा परिषद्को गठन प्रक्रिया, राष्ट्रि युवा नीति २०७२, युथ भिजन २०२५, नेपाल युवा रोजगार कार्ययोजना आदिमा महत्वपूर्ण तथा निर्णायक भूमिका निर्वाह गरे । उनले समग्र युवाहरुको गौरवमय संस्थाको रुपमाआफुलाइ स्थापित गराउन सफल भैकेको आयोनले युवा लक्ष्यित कार्यक्रम र युवा सरोकारका विषयमा निरन्तर गरिरहेको पैरवी तथा उर्जाशिल प्रयासहरुको खुलेर प्रसंशा गर्दै यस्ता कार्यहरुमा निरन्तरताको शुभकामना व्यक्त गरे । आयोनले नै प्रारम्भ गरेका केही महत्वपूर्ण कार्यक्रमहरु जस्तै विकासमा युवा साझेदारी कार्यक्रम आदीलाई युवा तथा खेलकुदमन्त्रालय अन्र्तगत स्थापित राष्ट्रिय युवा परिषद्ले समेत अवलम्वन गर्दै हाल साझेदारी कार्यक्रमका रुपमा अघि बढाइरहेको प्रमुख अतिथि समेत रहनु भएका युवा तथा खेलकुदमन्त्रीले जानकारी दिए । कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन महासचिव निरज वाग्ले गरेका थिए भने स्वागत मन्तव्य आयोनका वरिष्ठ उपाध्यक्ष तुलसीराम चौलागाइले व्यक्त गरे । यसैगरी कार्यक्रमको वन्द सत्रमा महासचिव निरज वाग्ले प्रस्तुत गरे सांगठनिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जितवहादुर खड्काले प्रस्तुतगर्नु भएको संस्थाको आर्थिक प्रगति प्रतिवेदन सम्पूर्ण सदस्य संस्थाका प्रतिनिधिहरुले सर्वसम्मतिबाट पारित गरे । कार्यक्रम आयोनका अध्यक्ष जगदिशकुमार ऐरको अध्यक्षतामा सम्पन्न भएको थियो । चौंधौ साधारण सभाले २६ वुँदे सांगठनिक ललितपुर घोषणा पत्रजारी गरेको छ भने सरकार र सरोकारवालासँग ६ बुँदे सुझाव सहितको मागतथा ऐक्यबद्धता पनि सार्वजनिक छ ।

पर्यटन बोर्डको प्रमुखकाे सर्टलिष्टमा ९ जना, कसले मार्ला बाजी ?

काठमाडाैं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ९ जनाकाे नाम सर्टलिष्टमा परेकाे छ । आवेदन  दिएकाहरूमध्येबाट ९ जनाकाे नाम सर्टलिष्टमा परेकाे हाे । अब तिनै ९ जनाबिच प्रमुखका लागि प्रतिस्पर्धा हुनेछ । पुस महिनाबाट बोर्डको कार्यकारी प्रमुख पद रिक्त हुने भएपछि पूर्तिका लागि नेपाल पर्यटन बोर्डले कार्यविधि नै बनाएर खुला विज्ञापन आहृवान गरेको थियो । सर्ट लिस्टिङकाे प्रतिस्पर्धामा बोर्डमा हाल कार्यकारी प्रमुखकै भूमिका निर्वाह गरिरहेका दीपकराज जोशी,  काशीराज भण्डारी, दीपक बस्ताकोटी,  र धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिणीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिक्मत सिंह ऐर  रहेका छन् । सर्ट लिस्टिङमा परेका उम्मेदवारहहरूको आउँदो माघ २ र ३ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ता राखिएको छ । व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्तापछि यिनै ९ मध्ये एकले बोर्डको कार्यकारी प्रमुखको जिम्वेवारी सम्हाल्ने प्रमुख छनौट उपसमितिको सचिवालयले जनाएको छ ।    

हालसम्मकै उच्च मूल्यमा सुन, प्रतितोला ७५ हजार ५ सयमा कारोबार

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । गत शुक्रबार प्रतितोला ७४ हजार ५ सयमा कारोबार भएको सुन प्रतितोला १ हजारमा रुपैयाँ बढेर नयाँ मूल्य कायम भएको हो । त्यस्तै तेजवी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँका कारोबार भईरहेको छ । गत शुक्रबार प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । साताको पहिलो दिन चाँदी भने गत शुक्रबार कै मूल्यमा अर्थात प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गजलकार पाण्डेको ‘संशयात्मक सपना’ विमोचन

काठमाडाैं । गजलकार गोकुल पाण्डे (निश्चल)को ‘संशयात्मक सपना’ गजल संग्रह शनिबार विमोचन भएको छ । युवा गजलकार पाण्डेद्वारा लिखित पहिलो गलज संग्रह ‘संशयात्मक सपना’ शनिबार काठमाडौंमा विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार विजय चालिसेले ‘संशयात्मक सपना’ को विमोचन गरेका हुन् । उनको कृतिमा ६० भन्दा बढी गजलहरु प्रकाशित छन् । नुवाकोटको बेल्कोटमा जन्मिएका पाण्डे सानैदेखि साहित्यमा अगाडी थिए । हाल उनी शिक्षण पेशामा आवद्ध छन् ।  उनले आफ्नो कृतिमा नेपाली राजनीति, शैक्षिक, सामाजिक तथा समसामयिक विषयवस्तुहरु समावेश गरेका छन् । कार्यक्रममा साहित्यकार चालिसेले साहित्यले बालबालिका तथा युवाहरुमा सिर्जनात्मक क्षमता बढाउने बताए । उनले पछिल्लो समय युवाहरुमा साहित्यप्रति रुचि बढ्न थालेको समेत  बताए ।  गजलकार पाण्डेले आगामी दिनमा पनि नेपाली साहित्य क्षेत्रमा क्रियाशिल भएर लाग्ने बताए ।

घोराहीमा लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडाैं । सनराइज बैंक लिमिटेडको आयोजना तथा महिला चेम्बर अफ कमर्स घाेराहीकाे समन्वयमा शनिबार आधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि महिला चेम्बरकी सचिव लिमा अधिकारीले गरेकी थिईन् । घोराही चेम्बर अफ कमर्शका अध्यक्ष मञ्जु वज्राचार्यको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम नेपाल महिला चेम्बर अफ कमर्शकी केन्द्रिय सचिव लिमा अधिकारीको प्रमुख आतिथ्यता तथा सनराइज बैँकको मुख्य कार्यालय काठमान्डौका चार्टर एकाउन्टेन्ट अभिषेक श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन पश्चात सहभागीहरुलाई सम्बोधन गर्दै  महिला चेम्बरले व्यवसाय मैत्री वातावारणलाई प्राथमिकता राख्दै महिला सशक्तिकरण माथि जोड दिदै आएको बताईन् । कार्यक्रम माझ घोराही चेम्बरका उपाध्यक्ष दुर्लभ केसीले स्वागत मन्तव्य राख्दै अभिमुखीकरण तालिमको खाँचो औंल्याएका थिए । महिला चेम्बर सम्बद्ध उद्यमी व्यवसायीहरुलाई  प्रशिक्षण तथा अभिमुखीकरण तालिम उपलब्ध गराउने सम्बन्धमा नेपाल महिला चेम्बरका केन्द्रिय अध्यक्ष उर्मिला श्रेष्ठ र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले यस अघि एक सम्झौतापत्रमा हस्ताक्षर गरी आपसी सहकार्यका लागि हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । झन्डै २ सय ३० व्यवसायीहरूकाे सहभागीता रहेको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले घोराही चेम्बरले नव आगन्तुक र व्यवसाय गरिरहेका व्यवसायीहरूलाइ लक्षित गरि महत्वपूर्ण कार्यक्रम गरेको भन्दै चर्चा गरे । कार्यक्रमको सञ्चालन घोराही चेम्बरका सचिव रजिव उल्लाह खाँले गरेका थिए । सो अवसरमा दाङ चेम्बर अफ कमर्शका अध्यक्ष श्रीधर महरा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन लगायतले शुभकामना मन्तव्य राखेका थिए भने समापन कार्यक्रमको सञ्चालन महासचिव विमल श्रेष्ठले गरेका थिए । आधारभुत लेखा तथा कर नीति बारेको सो अभिमुखीकरण कार्यक्रमका सहभागीहरुलाई चार्टर एकाउन्टेन्ट श्रेष्ठले व्यापार व्यवसाय संचालन गर्दा ध्यान दिनुपर्ने कुरा, कम्पनी दर्ता,, लेखा, कर नीति लगायतका विषयमा प्रशिक्षण दिएका थिए । गत भदौमा नेपाल महिला चेम्बर र सनराइज बैंकबीच भएको  व्यापार साझेदारी सम्झौता अनुरुप बैंकले आधारभुत लेखा तथा कर नीति सम्बधी तालिम उपलब्ध गराएको हो । कार्यक्रममा सनराइज बैँक तुलसीपुर शाखाका प्रवन्धक प्रविण अधिकारी, चेम्वर सम्बद्ध ब्यवसायी तथा अन्य उद्यमी ब्यवसायीहरुको उलेख्य सहभागिता रहेको थियो ।सोही अवसर माझ घोराही उपमहानगर चेम्वर अफ कमर्श मातहत घोराही महिला चेम्वर अफ कमर्श गठन गरिएको छ । महिला उद्यमी ब्यवसायीहरुको भेलाले सुमिता गिरीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

राष्ट्र बैंकमा सकसः ६ माघसम्म डेपुटी गभर्नर नियुक्त नगरे श्रेष्ठलाई सफाइ दिने वा खाली राख्ने मात्रै विकल्प

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएको छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठले पदीय आचरण अनुसार काम नगरेको अभियोगमा बर्खास्ती प्रक्रिया अघि बढेसँगै नयाँ डेपुटी गभर्नर कसलाई बनाउने भन्ने विकल्प ज्यादै कम देखिएको छ । सरकारले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै छानविन समिति बनाएको थियो । राष्ट्र बैंक संचालक समिति सदस्य प्राडा श्रीराम पौडेलको संयोजकत्वमा गठिन समितिले श्रेष्ठलाई दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिस गरेको थियो । पौडेल समितिले गरेको सिफारिस अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन छ । समितिको सिफारिस अनुसार सरकारले कारबाही गरेमा श्रेष्ठ पदमुक्त हुनेछन् । यस्तो अवस्थामा अर्काे डेपुटी गभर्नर नियुक्ति गर्नुपर्ने हुन्छ । श्रेष्ठको स्थानमा नियुक्त हुने डेपुटी गभर्नरले बाँकी कार्यकाल अर्थात अबको करिब १३ महिना कार्यकाल सम्हाल्ने छन् । राष्ट्र बैंक ऐनको व्यवस्थाअनुसार एक कार्यकाल डेपुटी गभर्नर भइसकेको व्यक्ति फेरि सोही पदमा नियुक्तिको लागि योग्य हुदैन । त्यसैकारण अहिले डेपुटी गभर्नर बनेका व्यक्तिले करिब १३ महिना मात्रै डेपुटी गभर्नर बन्न पाउने छन् । राष्ट्र बैंक ऐनले कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर बनाउने परिकल्पना गरेको छ । तर, अहिले राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला र महेश्वरलाल श्रेष्ठ आगामी ६ माघदेखि अनिवार्य अवकाश पाउँदैछन् । अवकाश पाउने एक महिना अघि अनिवार्य विदा बस्ने प्रचलनका कारण निरौला र श्रेष्ठ दुबै जना विदामा छन् । यसमध्ये श्रेष्ठ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट मानिन्छ । निरौला भने सत्तारुढ नेकपा निकट कर्मचारी हुन् । त्यसैकारण अहिले विदामा बसेका कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर बनाउँदा निरौला एकमात्र प्रत्यासी जस्तै हुन् । तर, निरौलाई डेपुटी गभर्नर बनाउन सरकारले ६ माघअघि नै नियुक्त गरिसक्नुपर्छ । सो समयमभित्रमा नियुक्ति भएन भने वरिष्ठतम छान्दा कार्यकारी निर्देशक भुवन कँडेलको पालो आउनेछ । डेपुटी गभर्नर बन्न योग्य अर्का कार्यकारी निर्देशक सुनिल उदासले पनि फागुनदेखि अनिवार्य अवकाश पाउँदै छन् । उदास पनि काँग्रेस निकट मानिन्छन् । तर, कडेलले अझै ५ वर्षभन्दा बढी समय कार्यकारी निर्देशकको रुपमा काम गर्न पाउने भएकोले आफूलाई डेपुटी गभर्नर नबनाइदिन शक्ति केन्द्र धाउदै छन् । गभर्नर डा. चिरन्जीबी नेपाल र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई पटक पटक भेटेर आफूलाई डेपुटी गभर्नरमा सिफारिस नगरिदिन कँडेलले अनुरोध गर्दै आएका स्रोतले वतायो । ‘पहिला मलाई डेपुटी गभर्नर बनाइदिनु पर्यो भन्दै कार्यकारी निर्देशकहरु जसरी शक्तिकेन्द्र धाउने गर्नुहुन्थ्यो, अहिले त्यसरी नै मलाई सिफारिस नगरिदिनुस् भन्दै शक्तिकेन्द्र धाउन थाल्नुभएको छ, केही कार्यकारी निर्देशक त आफूलाई डेपुटी गभर्नर नियुक्त गरिए पनि सरकारी नियुक्ति लिन्न बाध्य हुनुपर्दैन भनेर नियुक्ति नलिने सोँचमा पनि हुनुहुन्छ,’ स्रोतले भन्यो । किन चाहदैनन् डेपुटी बन्न ? राष्ट्र बैंक ऐनका अनुसार डेपुटी गभर्नरमा नियुक्त भएकै दिनदेखि राष्ट्र बैंकको कर्मचारीबाट स्वतः अवकाश पाएको मानिन्छ । राष्ट्र बैंकको कर्मचारीमा १८ वर्ष काम गरेपछि मात्रै पेन्सन पाइन्छ । तर, अहिलेका अधिकांश कार्यकारी निर्देशकको जागिरे अवधि १८ वर्ष पुगेको छैन । त्यसैले उनीहरुमध्ये कसैलाई पनि डेपुटी गभर्नर नियुक्त गरिए उनीहरुले पेन्सन पाउने छैनन् । जीवनभर जागिर गरेको संस्थाबाट पेन्सन नपाउने गरी अवकाश हुन कुनै पनि कार्यकारी निर्देशक तयार छैनन् । त्यसैकारण उनीहरु डेपुटी गभर्नर नबनाइदिनको लागि शक्तिकेन्द्रको शरणमा पुगेका हुन् । राष्ट्र बैंकमा १८ वर्ष काम गरेर अवकाश पाएको कार्यालय सहयोग तथा सवारी चालकले मात्रै पनि मासिक ५० हजार रुपैयाँको हाराहारीमा पेन्सन पाउँछन् । यसअघि तत्कालीन कार्यकारी निर्देशक बीरविक्रम रायामाझीलाई डेपुटी गभर्नर बनाउँदा पनि यस्तै भएको थियो । उनको जागिर अवधि १७ वर्षमात्रै भएको थियो । यस्तो परिस्थितिमा नै रायामाझी डेपुटी गभर्नर बनेका थिए । उनले पेन्सन नपाउने भएपछि राष्ट्र बैंक संचालक समितिले विशेष निर्णय गरेर उनले पेन्सन पाउने निर्णय गरेको थियो । तर, सो विषय अख्तियारमा उजुरी परेपछि रायामाझीले लिएको पेन्सन नै फिर्ता गर्नुपरेको थियो । रायामाझीले अहिले राष्ट्र बैंकबाट पेन्सन पाउँदैनन् ।