विकासन्युज

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।

स्वस्तिक लघुवित्तको अभिमुखीकरण तालिम सम्पन्न

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले शाखा प्रमुखको भूमिका, कर्जा व्यवस्थापन तथा व्यवसाय अभिबृद्धि सम्बन्धी अभिमुखिकरण दिएका थिए । साथै, उपस्थित शाखा प्रबन्धकहरुलाई संस्थाका अध्यक्ष सत्य नारायण झाले संस्थागत सुशासन कायम गरी विपन्न वर्गको उत्थानमा लाग्न उत्प्ररित गरे । लेखा व्यवस्थापन, सूचना प्रविधिका बारेमा लेखा तथा आईटी. विभाग प्रमुख तोयानाथ पोखरेलले मानव संशासन, कार्यसंचालनका बारेमा मानव संशाधन विभाग प्रमुख धिरेन्द्र लाल कर्णले तालिम दिएका थिए । लहान, सिराहामा केन्द्रीय कार्यालय रहेको यस वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई आधुनिक प्रविधिका माध्यमवाट घरदैलोमा लघुवित्त सेवा पु¥याउने जनाएको छ ।

एनआईसी एशियाकाे न्यू सुपर चमत्कारिक निक्षेप योजना, २१ लाखसम्मको बीमा सुविधा

काठमाडौं । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजना ल्याएको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको हो । सन् २०२० लाई लक्षित गर्दै सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले रु २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन । यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा निजले प्राप्त गर्न सक्नुहुनेछ । औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा रु २० हजारसम्म र अस्पताल भर्ना वापत रु ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ र उपरोक्त उल्लेखित बीमा सुविधाहरु वापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तिर्नेछ । ग्राहकले आफु अनुकुल हुने र इच्छाईएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सिरिन्ज गरी तीन भेरियन्टका बचत योजनाहरु न्यू सुपर चमत्कारिक खाताहरुमा प्राप्त गर्न सक्नेछन् । यी तीनै प्रकारका खाताहरुमा बार्षिक ६.५ प्रतिशत ब्याजदर प्राप्त हुने छ भने डायमण्ड को बचत खातामा अति विशिष्ट सुविधाहरुबाट लाभान्वित हुनेछन् । साथ,ै खातावालाको जीवन सहज बनाउनको लागि घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ । बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक स्विप इन–स्विप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्दती खाताकै सुविधाहरु पाइनेछ । न्यू सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहक महानुभावहरुलाई अधिकतम फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । यी खाताका अर्को विशेष आर्कषण भनेको स्विप इन–स्विप आउट सुविधा हो जसअन्तर्गत बैंकले सुपर चमत्कारिक बचत खातामा रु २ लाखभन्दा बढि रकम भएमा, उक्त बढी रकमलाई रु १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५% सम्मको ब्याजदर प्रदान गर्नेछ । यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ । यो सुविधा बैंकले न्यू सुपर चमत्कारिक बचत खाता–डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतः उपलब्ध गराउँदछ । मासिक निक्षेप खाता अन्तर्गत एन आई सी एशिया बैंकका ग्राहकले जम्मा गरेको रकममा ९.७५% सम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा ट्रान्सफर गर्न सक्नुहुनेछ । ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा ट्रान्सफर गर्ने भनेर बैंकको शाखामा गएर एक पटक निर्देशन दिनु पर्दछ । ट्रान्सफर गरिने रकम रु ५ सयका दरले गुणन गरेर हुन आउने रकम (जस्तै रु ५ सय, रु १ हजार, रु १ हजार ५ सय आदिको अनुपातमा) तय गर्न सकिन्छ । मासिक निक्षेप खाता ३ महिना देखि १० वर्षसम्मको लागि खोल्न सकिन्छ । साथै, ग्राहकले चाहेको समयमा आफैले मोबाईल बैंकिङ्ग वा ईन्टरनेट बैंकिङ्गको प्रयोग गरी थप रकम मासिक निक्षेप बचत खातामा जम्मा गर्न सक्छन् । झट्ट सुन्दा अपत्यारिलो लाग्ने विभिन्न ३० सुविधायुक्त “न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबु नानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक सहज बचत खाता, न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता, न्यू सुपर चमत्कारिक मासिक निक्षेप खाता, न्यू सुपर चमत्कारिक तलब बचत खाता” सहितका निक्षेप योजना बैंकले ल्याएको छ । यस बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालय, ४ सय ८ एटिएम, १ सय ३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको भएको छ ।

स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश पारित

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आइतबार बसेको संस्थाको १८औं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ मा रु.४२ करोड ४१ लाख ३८ हजार ८ सय ७४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.१५ अर्व ६३ करोड ३३ लाख पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.८ अर्व २६ करोड ४४ लाख ५ हजार रहेको छ । राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साधारण सभाले जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख ९९ हजार ४ सय कायम गर्ने निर्णय गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण सेयरधनी समूह “ख” अन्तर्गत सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा विष्णु प्रसाद त्रिपाठीलाई निर्विरोध निर्वाचित गरेको छ ।

पर्वतमा हालसम्मकै अग्लो र लामो पुल बन्ने, पाँच करोडकाे लागत अनुमान

पर्वत । पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा हालसम्मकै अग्लो र लामो पुल बनाउन सर्वेक्षण गरिएको छ । करिब पाँच सय २५ मिटर लम्बाइ र २०० मिटर उचाइमा निर्माण हुने पुलको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभागले सर्वेक्षण गरेको हो । कुश्माको तीन स्थानमा सर्वेक्षण गरिएकोमा उपयुक्त स्थानमा पुलको लागत निकालिने सर्वेक्षणमा खटिएका इञ्जिनीयर हेमराज शर्माले जानकारी दिए । “तीनवटै स्थानबाट ५ सय मिटरभन्दा धेरै लम्बाइ देखिएको छ”, उनले भने, “उपयुक्त स्थान छनोट गरेर खाका दिन्छौँ ।” शर्माले कुश्माका विभिन्न स्थानमध्ये लभ्लीडाँडास्थित माउण्टेट भ्यू होटल साइडको क्षेत्र उपयुक्त हुनसक्ने जानकारी समेत दिएका छन् । बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर केसीका अनुसार कुकुरगाढे क्षेत्रको स्थानको क्षेत्र विभिन्न व्यक्तिको आवादी क्षेत्र भएकोले पुल त्यहीँ उपयुक्त हुन्छ । “पुल बनिसकेपछि बस्ती विस्तार र अरु विकास पनि चाहिन्छ”, उनले भने, “अन्यत्र सार्वजनिक जग्गा छ । हामीले व्यावसायिक र बस्ती विस्तारका लागि उपयुक्त जग्गा छनोट गर्नुपर्छ ।” कुश्मा–५ की अध्यक्ष चित्रकला भारती शर्माले पनि सबै कुश्मालाई समेट्ने गरी पुल बनाउन जमिनको छनोट भइरहेको जानकारी दिए । “बलेवाको विमानस्थललाई समेट्नुर्यो”, उनले भने, “कुश्माको व्यावसायिक हितमा पनि सोच्नुपर्छ ।” यो पुल निर्माण भए कुश्मा बजार बागलुङ नगरपालिकाका दुई वडासँग प्रत्यक्ष जोडिने छ । करिब ३० हजार सर्वसाधारण लाभान्वित हुनेछन् । रु पाँच करोडको स्टमेट अनुमान गरिएको यो पुल बनेपछि कुश्मा र बागलुङवासीलाई यात्रामा सहज मात्रै नभएर जीविकोपार्जनमा पनि धेरै सुधार आउने अपेक्षा गरिएको छ । पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्वपूर्ण मानिने भएकोले पुल आवश्यक भएको स्थानीय अगुवाले बताएका छन् । “अहिलेसम्म बनेका भन्दा यो पुल अग्लो र लामो हुन्छ”, बलेवाका बलबहादुर पाठकले भने, “बागलुङ र कुश्मामा पर्यटनबाट समृद्धि चाहनेले यो पुललाई प्राथमिकतामा राख्नुपर्छ ।” बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद सूर्य पाठकको सक्रियतामा पुलको खाका तयार हुन लागेको जनाइएको छ । दुई ठूला नदीले घेरिएको कुश्मालाई अग्ला पुलले वारीपारीका बस्तीसँंग नजिक बनाउने क्रम अग्ला पुलकै कारण बढ्दो छ । दशकअघि बनेको कुश्मा–ज्ञादी पुलले कुश्मा र कटुवाचौपारी आसपासका बासिन्दालाई सुविधा पुगेपछि अहिले कुश्मामा आधा दर्जन आकाशे पुल बनिसकेका छन् । कालीगण्डकी र मोदी खोलाको बीचमा पर्ने कुश्मालाई एकातर्फ बागलुङ र अर्कोतर्फ कुश्माकै अन्य वडाका साथै फलेवास नगरपालिका जोड्न धमाधम पुल बनिरहेका छन् । मुलुककै अग्लो दाबी गरिएको ३ सय ४४ मिटर लम्बाइ र १ सय ३५ मिटर उचाइको कुश्मा–ज्ञादी पुल बनेको दशक नबित्दै कुश्मा आसपासमा उस्तै प्रकृतिका आधा दर्जन पुल बनिसकेका छन् । कुश्मा–मुडिकुवा, कुश्मा–कैया, खरेहा–अधिकारीफाँट पुल बनेर सञ्चालनमा आइसकेका छन् । कुश्मा–कैयाले कुश्मालाई बागलुङ नगरपालिकाको वडा नम्बर १४ लाई जोडेको छ भने कुश्मा–मुडिकुवाले कुश्मा र फलेवास नगरपालिका जोडेको छ । कुश्मा–अधिकारीफाँटले कुश्माकै वडा नम्बर १० पिपलटारी जोडेको छ । कुश्माकै उपल्लो बजारबाट बञ्जीजम्पसहितको झोलुङ्गे पुल निजी क्षेत्रबाट बन्दैछ । स्थानीय व्यवसायीले करिब रु १५ करोडको लगानीमा पुल निर्माण गरेर बन्जी र स्काइ साइक्लिङलगायतका पर्यटकीय खेल सञ्चालनको तयारी थालेका हुन् । कुश्मा–७ खरेहा र कुश्मा–९ कटुवाचौपारीस्थीत अधिकारीफाँट जोड्ने गरी मोदीखोलामा पुल निर्माण भइसकेको छ । पर्वतकै कुश्मा–१ पाङबाट बागलुङ बजार जोड्न ५ सय ४४ मिटर लामो र १ सय ६० मिटर उचाइको पुलको काम शुरु भइसकेको कुश्मा–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए । उनका अनुसार यो पुल सिङ्गल स्पानबाट बन्ने पुलमा विश्वकै कीर्तिमानी पुल बन्नेछ । । नयाँ पुलसहित कुश्मा बजार आसपासमा अग्ला पुलको सङ्ख्या आठ पुग्ने छ ।

प्रहरीद्वारा भरतपुरकाे बाइपासमा पेट्रोल पम्प सञ्चालन

भरतपुर । भरतपुर महानगरपालिका–२ स्थित बाइपासमा नेपाल प्रहरीले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले आइतबार शुभारम्भ गरेका हुन् । करिब छ कट्ठा जमिनमा निर्माण गरिएको पम्प रु तीन करोड १७ लाख खर्च गरी निर्माण गरिएको हो । पम्पमा कार्यालय भवन, जेनेरेटर हाउस र शौचालय निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार डिजल ४० हजार लिटर र पेट्रोलको भण्डारण क्षमता २० हजार लिटर रहेको छ । एक पटकमा चार पेट्रोल गाडी र चार डिजेल गाडीले इन्धन भर्न सकिन्छ । दोस्रो चरणमा सो स्थानमा ग्रोसरी, प्रहरी आवासलगायत निर्माण गरिने कोइरालाले जानकारी दिएका छन् । प्रहरीको कोषअन्तर्गत काठमाडौँको नक्साल, सामाखुशी र पथलैयामा पेट्रोल पम्प सञ्चालन भइसकेको छ । कार्यक्रममा सशस्त्र प्रहरी बल बाहिनी मुख्यालय भण्डाराका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी, प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख टेकबहादुर तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र पौडेल, नेकपा प्रदेश कमिटी सदस्य बद्रि तिमिल्सिना, काँग्रेस जिल्ला सचिव राजीव न्यौपानेलगायतको सहभागिता रहेको थियो । रासस

सार्वजनिक गाडीमा हुने समस्यालाई समाधान गर्न १९ बुँदे प्रतिबद्दता पत्र जारी

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनमा हुने समस्यालाई मध्येनजर गर्दै सात दिनभित्र कार्यान्वयन हुने १९ बुँदे प्रतिवद्दता जारी गरेकाे छ । महाशाखाले सवारी साधनमा हुने समस्या तथा अनियमिततालाई  समाधान गर्न आइतबार  १९ बुँदे प्रतिबद्दता पत्र जारी गरेकाे हाे । महाशाखाका  प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले पुस १७ गते भाडाका  गाडीहरूमा अनुगमन गरेकाे थिए । साेही अनुसार २० गतेकाे सयुंक्त बैठकले एक हप्ताभित्र कार्यान्वयन हुने गरी १९ बुँदे प्रतिबद्दता पत्र जारी गरेकाे हाे । प्रतिबद्दता पत्रमा ताेकेकाे भाडामात्र दिने, ढाेका खुल्ला गरी नचलाउने, अारक्षण  सिटकाे पालना गर्ने, सीटकाे अवस्था ठीक राख्ने, गाडीकाे रंग राेगन राख्ने प्रतिबद्दताहरू छन् । यस्तै, क्षमताभन्दा बढी यात्रु नबाेक्ने, चालकले यात्रुसँग अनावश्यक कुरा नगर्ने लगायतका प्रतिबद्दता पत्रहरू रहेका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सले सम्पन्न गर्यो लघुबीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लघुबीमा सम्बन्धी देशव्यापी अभिमुखिकरण कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाल बीमक संघको आयोजना तथा युके एड, सक्षमको सौजन्यता तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको व्यवस्थापनमा उदयपुरको गाईघाटमा आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी, विशिष्ट अतिथी चौडण्डीगढी नगरापालिकाका मेयर खगेन्द्र राई, कृषि ज्ञान केन्द्र, उदरपुरका प्रमुख नरनाथ रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण जोनका प्रतिनिधि, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रतिनिधि, त्रियुगा तथा चौडण्डीगढी नगरपालिकाका वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । लुम्बिनी जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक नबराज तिमिल्सेनाको अध्यक्षता रहेको सो कार्यक्रममा तिमिल्सेनाले लघुबीमा सम्बन्धमा स्थानिय निकायको भूमिका सम्बन्धमा तथा नेपाल बीमक संघका अधिकृत राजेन्द्र पाठकले लघु बीमाको उद्देश्य, यसका फाइदा तथा शर्तहरु सम्बन्धी प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा स्थानिय कृषक, कृषि व्यवसायी तथा कृषि अभियन्ताहरु लगायत ८८ जनाको सहभागिता रहेको थियो ।