विकासन्युज

स्ट्याण्डर्ड चार्टर्ड बैंकले शुरु गर्यो ‘गोल’ कार्यक्रम, युवालाई अगुवाई शिक्षा दिने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपालमा “गोल” कार्यक्रमको औपचारिक शुरुवात् गरेको छ । बैंकले आफ्नो अन्तर्राष्ट्रिय साझेदार अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वुमेन विन र नेपालको लागि स्थानीय कार्यान्वयनात्मक साझेदार राष्ट्रिय गैरसरकारी संस्था चाइल्डरिच, नेपालसँगको सहकार्यमा अघि बढाएको हो । “गोल” कार्यक्रम असमानताको सामना गर्न र आर्थिक समावेशीता प्रोत्साहित गर्न स्ट्याण्डर्ड चार्टर्डले अबलम्बन गरेको एक विश्व व्यापी पहल हो । जसमार्फत् भविष्य निर्माताहरुलाई अगुवाई शिक्षा प्रदान गर्ने बैंकले जनाएको छ । “गोल”ले चेलीहरुलाई उनीहरुको परिवार र समुदायहरुमा आर्थिक नेतृत्व बहन गर्ने क्षमता प्रदान गर्न उनीहरुमा आत्मविश्वास, ज्ञान र सीपहरुको विकास गर्दछ । सन् २००६ र २०१८ को बीचमा यो कार्यक्रमबाट २० भन्दा बढी मुलुकहरुका ४ लाख ८० हजार चेलीहरु र युवती लाभान्वीत भैसकेका छन् । बैंकले सन् २०२३ सम्ममा १० लाख चेलीहरुलाई यो कार्यक्रमबाट लाभ प्रदान गर्ने लक्ष्य राखेको छ । “गोल” कार्यक्रम जीवनको महत्वपूर्ण सीपहरुलाई लक्षित गरेर मुख्यतः ४ भागमा विभाजित गरिएको छ, जस्तो कि सञ्चार, स्वास्थ्य र सरसफाई, महिला अधिकार र वित्तीय साक्षरता । कार्यक्रममार्फत् गोलले चेलीहरुको लागि समकक्षी नेताहरुमा विकास गर्ने, आफ्नो बारेमा सिक्ने, र बढी आत्मविश्वास प्राप्त गर्ने, साथीसँगीहरु र उनीहरु उनीहरुबीच सञ्जाल बनाउने लक्ष्य राखेको छ । ललितपुरस्थित मदन स्मारक उच्च मा.वि.मा गरिएको उक्त कार्यक्रममा स्ट्याण्डर्ड चार्टर्ड बैंकको तर्फबाट करिब १५० जना विद्यार्थीहरुलाई उनीहरुको अध्ययनकार्यमा सहयोग पुर्याउन स्टेशनरी सामग्रीहरु पनि वितरण गरिएको थियो ।

पुँजी निर्माणको आधार र अवरोधहरु

 ‘सुखी नेपालीः समृद्ध नेपाल’ वर्तमान सरकारको नारा हो । त्यसको मुल आधार हो पुँजी निर्माण र रोजगारी सिर्जना । नेपालमा रोजगारी सिर्जना भएन, रोजगारीको लागि विदेश जानुपर्ने वाध्यता छ भनेर भन्न आवाज उठ्छ तर पुँजी निर्माण हुन सकेन भन्ने आवाज उठ्दैन । पुँजी निर्माण विना रोजगारी सिर्जनाको अपेक्षा गर्नु खेती नलगाई फलको अपेक्षा गर्नु जस्तै हो । पुँजी कसरी निर्माण गर्ने ? खल्तीभरी पैसा हुनु पुँजी निर्माण होइन । व्याज आम्दानीले घर परिवार चल्ने गरी, दैनिक उपभोग्य बस्तु तथा सेवा खरिद गर्न पुग्ने गरी बैंकमा निक्षेप हुनु पुँजी निर्माणको सहायक पक्ष हो । मुल रुपमा पुँजी निर्माण गर्नु भनेको नयाँ बस्तु तथा सेवा उत्पादन गर्नको लागि आवश्यक पूर्वाधार बनाउनु हो । आयआर्जन गर्ने उदेश्यले उद्योगहरु लगाउनु, स्कूल वा हस्पिटल चलाउनु, व्यापार गर्नु, व्यवसायिक प्रयोजनको लागि जमिन किन्नु, गाडी किन्नु वा उत्पादन वृद्धिमा सहयोग पुग्ने पूर्वाधार निर्माण गर्नु पुँजी निर्माण हो । व्यक्तिको हकमा आम्दानीको निश्चित हिस्सा बचत गर्दै जानु तथा उत्पादन मुलक सम्पत्ति वृद्धि गर्दै जानु र सरकारको हकमा सार्वसाधरणले प्रयोग गर्ने साझा पूर्वाधार निर्माण गर्नु पुँजी निर्माण हो । उद्योगमा पनि उपभोग्य वस्तु मात्र उत्पादन गर्ने उद्योगहरु फास्टाएको देशहरु भन्दा मेसिनरी सामानहरु उत्पादन हुने देश, निर्माण सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरु भएको देशहरु बढी सम्पन्न भएका हुन्छन् । पुँजी निर्माणको कार्य तीन तहमा हुन्छ । ‘बचत गर्नु’ पुँजी निर्माणको पहिलो तह हो । यो कार्य जनस्तरमा हुन्छ । सामान्यतय जुन देशमा प्रतिव्यक्ति आम्दानी बढी हुन्छ, ती देशमा बचत पनि बढि हुन्छ । अमेरिकीयन वा युरोपियनको बचत क्षमता जति हुन्छ, नेपाली र भारतीयको बचत क्षमता त्यो भन्दा कम हुन्छ । सँगै, बचत गर्ने व्यक्तिगत बानी, इच्छाशक्ति, पारिवारिक तथा सामाजिक संस्कार पुँजी निर्माणको महत्वपूर्ण आधार हुन् । बचत गर्ने संस्कार र बानी नभएको समाजमा प्रतिव्यक्ति आय उच्च भएपनि बचत हुन सक्दैन । बचत संकलन गर्नु र परिचालन गर्नु कार्य पुँजी निर्माणको दोस्रो चरण हो । यो कार्य मूलरुपमा बैंक तथा वित्तीय संस्थाहरु, सामाजिक सुरक्षा कोष चलाउने संस्थाहरुले गरिरहेका हुन्छन् । त्यस्तै बीमा कम्पनीहरुले बीमा पोलिसी बिक्री गरेर, पब्लिक कम्पनीहरुले सेयर बिक्री गरेर, सरकारले ऋणपत्र जारी गरेर, व्यक्ति तथा कम्पनीहरुले पुँजी बजारमा सेयर तथा ऋणपत्र खरिद गरेर पुँजी परिचालनको काम गरिरहेका हुन्छन् । पुँजी बजारको राम्रो विकास भएको देशमा बैंक बचत अतिरिक्त ऋणपत्र, सेयर लगायत पुँजीबजारका औजारहरु मार्फत ठूलो मात्रामा पुँजी परिचालन भएको हुन्छ । पुँजी निर्माणको खास वा तेस्रो चरणको काम उद्यमीले गर्छन् । आफ्नो पूँजी, बैंकबाट लिएको कर्जा वा साना साना सेयरधनीबाट पुँजी लिएर उनीहरुले वस्तु तथा सेवा उत्पादनको कार्यमा लगाउँछन् । पुँजी निर्माणदेखि वितरणसम्ममा उनीहरुको भूमिका निकै ठूलो र निर्णायक हुन्छ । ऋणको व्याज भुक्तानी, जग्गा वा घरको भाडा भुक्तानी, कर्मचारीलाई तलब भुक्तानी, सरकारलाई कर भुक्तानी गर्दै आफूले नाफा आर्जन गर्नु उद्यमीको काम हो । उद्यमीहरु भनेको सरकारको कर संकलक पनि हुन् र उनीहरु सरकारको साझेदार हुन् । नेपालको सन्दर्भमा भ्याट, अन्तशुल्क, टिडिएस लगायत शीर्षकमा कर संकनल गर्न अधिकार उद्यमीले पाएका हुन्छन् भने उद्यमीले गरेको नाफाको करिब २५ प्रतिशत हिस्सा सरकारले आय करको नाममा लिन्छ । बचतकर्ता र पुँजी बजारमा लगानी गर्ने साधारण लगानीकर्ता भन्दा उद्यमीहरु बढी चलाख र गतिशिल हुन्छन् । अवसरको पहिचान गर्नेदेखि बढी जोखिम लिने क्षमता उनीहरुसँग हुन्छ । उद्यमीले गर्ने नाफा पुँजी निर्माणको उच्चतम रुप हो । जुन कम्पनीले धेरै नाफा आर्जन गरेको हुन्छ, त्यो कम्पनीले सरकारलाई बढी कर तिरेको हुन्छ । श्रमिकले बढी तलब र बोनस दिएको हुन्छ । अरु स्टेकहोल्डरहरुलाई नियमित भुक्तानी गरेको हुन्छ । उद्यमीको नाफा पुँजी निर्माणको उत्कृष्ट पक्ष हो । इन्जिनका लागि फ्यूल जस्तै उद्यमीको लागि नाफा धेरै महत्वपूर्ण तत्व हो । फ्युल राम्रो भए इन्जिन राम्रो चल्छ, खराव भए गडबड हुन्छ । नाफा उच्च हुँदा उद्यमी पनि उत्साहित हुन्छन्, पुँजी निर्माणले गति लिन्छ । नाफा कम वा घाटाको अवस्थामा उद्यमीको उत्साह मर्छ, पुँजी निर्माण प्रक्रिया सुस्ताउँछ वा बन्द नै हुन्छ । जुन कम्पनीले धेरै नाफा आर्जन गरेको हुन्छ, त्यो कम्पनीले सरकारलाई बढी कर तिरेको हुन्छ । श्रमिकले बढी तलब र बोनस दिएको हुन्छ । अरु स्टेकहोल्डरहरुलाई नियमित भुक्तानी गरेको हुन्छ । उद्यमीको नाफा पुँजी निर्माणको उत्कृष्ट पक्ष हो । नेपालमा समस्या के छ भने उद्यमीले नाफा गर्दा अरुले रिस गर्छन् । नाफा गर्ने कम्पनीलाई राजनीतिक नेतृत्वदेखि प्रसाशनिक तहसम्म, स्थानीय तहका झोलो मुन्द्रेदेखि अदालतसम्मले खराब नजरले हेर्छन् । कुनै पनि कम्पनीले गरेको नाफामा सोझै आफ्नो हिस्सा खोज्नु र त्यो नपाए कम्पनीलाई कसरी समस्यामा पार्ने भन्ने जालझेल गर्ने प्रवृति नेपाली समाजमा गडेर बसेको छ । गुगलबाट लिएकाे सांकेतिक स्केज पुँजी निर्माणको अर्को आधार भनेको विदेशी लगानी हो । त्यसमा विदेशी संस्था वा व्यक्तिको प्रत्यक्ष लगानी एउटा पाटो हो भने सरकारले विदेश सरकारसँग लिने ऋण तथा अनुदान, विश्व बैंक, एशियाली विकास बैंक लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाले गर्ने ऋण लगानी पनि पर्छ । यसरी आउने विदेशी लगानी विस्तारै सुधार भएको छ तर उत्साहजनक अवस्था छैन । नेपालको समस्या मानिसहरुले सम्पूर्ण आय दैनिक उपभोग्य वस्तुमा खर्च गर्ने, सरकारले जनताबाट प्राप्त राजश्व सबै प्रशासनिक कार्य वा साधारण बजेट शीर्षकमा खर्च गर्ने कार्यले पुँजी निर्माण हुन सक्दैन । नेपालको सन्दर्भमा यो समस्या ठूलो हुँदै गएको छ । सरकारी बजेटको ठूलो हिस्सा सरकारी कर्मचारीको तलब भत्तामा सकिँदै छ । जनस्तरमा पनि मासिनहरु आम्दानीको ९० प्रतिशतभन्दा बढी रकम उपभोग्य वस्तुमा खर्च खर्चन भने १० प्रतिशतभन्दा कम पुँजी निर्माणमा खर्च भईरहेको छ । हिजो दिनमा दुई छाक खानेले आज दिनमा चार छाक खानु, हिजो टिसर्ट पाइटमा हिड्ने मान्छे आज कोर्ट पाइटमा हिड्नु, हिजो कच्ची घरमा बस्ने मान्छे अहिले पक्की घर बनाएर बस्नु, हिजो साइकलको यात्रा गर्नेले आज मोटर साइकलमा यात्रा थाल्नु, हिजो मोटर साइकलको यात्रा गर्नेले अहिले कारमा यात्रा गर्न थाल्नु खुशीको विषय हो । आधुनिक समाजमा विकासको महत्वपूर्ण आधारमध्ये एक हो सुविधायुक्त जीवनशैली । सँगै, मानिसको चेतनास्तर, संस्कार, सभ्यताको विकास पनि उच्चस्तरको हुनुपर्छ । जसले मानिसको परिचय पनि दिन्छ । देशको भौतिक पूर्वाधार विकास पनि सँगै हुनुपर्छ । सरकारले सुरक्षा, न्याय र सुसाशन प्रदान गर्नुपर्छ । तब मात्र त्यो देश समृद्ध बन्छ, नागरिक तहमा पनि खुशी छाउँछ । संविधानले समाजबाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । तर व्यवहारमा नेपाली समाज पुँजीबादी अभ्यासमा अभ्यस्त छ । पुँजीपति वर्ग त स्वभाविक रुपमा पुँजीवादी बन्ने नै भए । समाजवाद हुँदै साम्यबादको लक्ष्य बोकेर हिडेका, कम्यूनिष्ट पाटीको झण्डा बोकेर हिड्नेहरु पनि व्यवहार त पुँजीबादी नै छन् । कामरेड केपी ओली, पुष्पकमल दाहाल मात्र होइन, पम्फा भुसाल र चित्रबहादुर केसीको दैनिकी पनि पुँजीबादी संस्कारमा घुलित भईसकेका छन् । समाजबादी चिन्तक पूर्व राष्ट्रपति रामबरण यादवको जीवनशैली भन्दा साम्यवादी चिन्तक वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको जीवनशैली धेरै महँगो, सुविधाभोगी र विलाशीपूर्ण देखिन्छन् । नेपाल कम्यूनिष्ट पार्टी वा वामपन्थी विचारधारालाई प्रवद्र्धन गर्ने वा समर्थन गर्ने पेशाकर्मी, बुद्धिजीविहरुको विचार साम्यवादी वा समाजबादी भए पनि आहार र विहार पुँजीबादी नै छ । उनीहरु पनि ५ सय रुपैयाँ पर्ने जुत्ता भन्दा १५ सय रुपैयाँ पर्ने जुत्ता रोज्छन् । मौका पर्दा विदेश यात्रा गर्दा इकोनोमिक क्लासको सिट छोडेर विजनेश क्लासको सिटमा बस्ने चाहाना गगन थापामा जति छ, योगेश भट्टराईमा पनि त्यति नै छ । राजनीतिक संलग्नता र आस्थामा जति फरक भए पनि वरिष्ठ अधिवक्ता सुशील पन्त र शम्भु थापाको जीवनशैलीमा कुनै फरक छैन । न्यायको खोजीमा अदालतको ढोका ढक्ढक्याउन बाध्य हुने पीडितहरुसँग कसेर सकेसम्म बढी पैसा लिनु, नुहाउनेदेखि चिया पिउनेसम्मका कार्य पाँचतारे होटलमा गएर महँगो मूल्य तिर्नु उनीहरुको दैनिकी हो । यसको अर्थ पुँजीवादी जीवनशैली अपनाउनु, महँगो मूल्य तिरेर वस्तु तथा सेवा खरिद गर्नु वा महँगो मूल्यमा वस्तु तथा सेवा बेच्नु गलत भन्न खोजिएको कदापी होइन । १० वर्षअघि मासिक १० हजार तलब पाउने श्रमिकले अहिले मासिक १ लाख रुपैयाँ पाउनु, १० वर्षअघि एउटा उद्योग चलाउने व्यवसायीले अहिले ५ वटा उद्योग चलाउनु, १० वर्षअघि २५ जनालाई रोजगारी सिर्जना गर्ने उद्योगले अहिले ५०० जनालाई रोजगारी दिनु, १० वर्षअघि १ करोड नाफा गर्ने कम्पनीले अहिले १ अर्ब नाफा गर्नु उन्नति र प्रगतिको सूचक हुन् । जसले उन्नति र प्रगति गर्छन, उनीहरुको प्रशंशा गर्ने, जो पछि पर्छ उसलाई उकास्न सरकार र समाजले सहयोग गर्ने अभ्यास जरुरी छ, सुखी नेपाली, समृद्ध नेपाल बनाउने हो भने । सुखी नेपाली हुनको लागि उच्च आम्दानी हुनुपर्छ । उच्च आम्दानीको लागि राम्रो रोजगारी हुनु आवश्यक छ । राम्रो रोजगारी त्यो संस्थाले दिनसक्छ, जसले धेरै भन्दा धेरै मानिसलाई सेवा दिनसक्छ, धेरै भन्दा धेरै कारोबार गर्न सक्छ र उच्च नाफा लिनसक्छ । घाटामा गएको कम्पनी, पुँजीलाई पोष्न नसक्ने कम्पनीले श्रमिकलाई पनि पोष्न सक्दैन । पुँजीबादको मूल विशेषता भनेको ठूलो कम्पनी हुनु नै राम्रो हो । ठूलो कम्पनी ठूलै मात्रामा वस्तु तथा सेवा उत्पादन गर्न सक्छ । बजारमा ठूलो हिस्सा लिन सक्छ । उत्पादन तथा सञ्चालक लागत कम हुन्छ । बिक्री मूल्य पनि कम हुन्छ । बजारमा प्रतिस्पर्धामा अगाडि आउँछ । तर ठूलो कम्पनी बन्नको लागि ठूलो पुँजी चाहिन्छ । ठूलो पुँजी लगानीबाट नै ठूला पूर्वाधार बनाउन सकिन्छ । सडक मार्ग, सुरुङ मार्ग, हवाई मार्ग, बिजुली, सञ्चारका पूर्वधार, शिक्षालय, स्वास्थ्यलय लगायतका पूर्वाधार निर्माण राज्यले गर्नुपर्छ, त्यसको लागि पनि पुँजी आवश्यक छ । उद्योग, व्यापार तथा सेवा लगायत व्यवसायिक लाभका क्षेत्रमा निजी क्षेत्रले लगानी गर्नुपर्छ । निजी क्षेत्रले लगानी गर्ने नाफा हुनु क्षेत्रमा हो । नाफाबाट सरकारलाई कर तिर्ने हो । करको प्रयोग पूर्वाधार निर्माण, सुरक्षा, न्याय र प्रशासनमा खर्च गर्नुपर्छ । गलत के भईरहेको छ भने नेपाल सरकारले करको ठूलो हिस्सा प्रशासनमा सकेको छ र सरकारी सेवाको गुणस्तर गए गुज्रेको छ । सुरक्षा र न्याय प्रणाली र पूर्वधारको अवस्था ज्यादै कमजोर छ । प्रयाप्त पुँजीको कमीले सरकारले पनि चाहेजस्तो पूर्वाधार निर्माणमा लगानी गर्न सकेको छैन भने पुँजीगत क्षमताका आधारमा नेपालको निजी क्षेत्र पनि कमजोर छ ।

भातृत्व विकास सहकारीले सेयरधनीलाई साढे ४ प्रतिशत नगद लाभांश दियो, अध्यक्षमा सुनुवार

काठमाडौं । भातृत्प विकास बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति अध्यक्षमा कृष्णबहादुर सुनुवार निर्विरोधन निर्वाचित भएका छन् । संस्थाको ९औं वार्षिक साधारणसभाले सुनुवारलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यस्तै, संस्थाको उपाध्यक्षमा सागर शाक्य, सचिवमा आशिष महर्जन, सदस्यहरुमा रमेशकुमार श्रेष्ठ, रबिन्द्र मानन्धर, राजेन्द्रप्रसाद जोशी र उदय मान डंगोल निर्विरोध भएका छन् । लेखा समिति संयोजकमासदा क्षेत्री र सदस्यहरुमा राजकुमार कपाली र दिना डंगोल निर्विरोध भएका छन् । संस्थाको शेयर पूँजी ६७ लाख ९० हजार ५ सय ५२ रुपैयाँ छ । संसथाले ७ करोड ३ लाख ५३ हजार रुपैयाँ बचत संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा संस्थाको खुद नाफा ७ लाख ४७ हजार ६ सय ८१ रुपैयाँ छ छ । संस्थाले विभिन्न व्यापार व्यवसायको लागि ऋण लगानी गर्नुका साथै वातावरण प्रदुषण नियन्त्रण एव्म स्वरोजगार प्रवद्र्धनको लागि सफा टेम्पोमा पनि लगानी गदै आएको छ । साधारणसभाले सेयर सदस्यहरुलाई ४.४७ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) को पौडीतर्फ २ सय मिटरको ब्यक्तिगत मिडलेसहित ४ विधामा कास्य पदक प्राप्त गर्न सफल भएका संस्थाका उपाध्यक्ष सागर शाक्यका छोरी एवं राष्ट्रिय पौडी खेलाडी तिसा शाक्यलाई कदर पत्रसहित सम्मान प्रदान गरिएको थियो ।

साढे २० अर्ब लगानीमा ८ हजार उद्योग, ६ लाखलाई रोजगारी

काठमाडौं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । सरकारले देशको आर्थिक विकासको लागि लगानी सम्मेलन मार्फत पनि नेपाल लगानी गर्न आग्रह गर्दै आइरहेको छ । उद्योग स्थापनाको लागि लगानीमैंत्री ऐन, कानुन, वातावरण, लगानीकर्तालाई सहजीकरण, व्यवस्थापन तथा संरचना निर्माणले उद्योगमा लगानी बढ्दै गएको हो । उद्योग विभागका अनुसार हालसम्म नेपाली उद्योगमा २० खर्ब ५४ अर्ब रुपैयाँको लगानीमा ८ हजार उद्योग दर्ता भएका छन् । स्थापित उद्योगहरुले ६ लाखलाई रोजगारी दिएका छन् । उद्योेग विभागका तथ्याङक अनुसार हालसम्म ठूला, मझौला, लघु, घरेलु तथा साना गरी ८ हाजार १ सय ४८ वटा उद्योग स्थापना भएका छन । ठूला उद्योगमा १८ खर्ब लगानी विभागका अनुसार १७ खर्ब ७८ अर्ब ४२ करोड ५० लाख रुपैयाँ लगानीमा १ हजार १ सय ४९ वटा ठूला उद्योग स्थापना भएका छन् । ठूला उद्योगहरुले १ लाख ६१ हजार १ सय ३८ जनालाई रोजगारी दिएको विभागको तथ्याङक उल्लेख छ । मझौला उद्योगमा करिब २ खर्ब लगानी अहिलेसम्म नेपालमा १ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँको लागतमा १ हजार ८ सय २२ वटा मझौला उद्योग स्थापना भएका छन् । मझौला उद्योगहरुले १ लाख ६६ हजार ६ सय ७४ जनालाई रोजगारी दिएको विभागको छ । साना उद्योगमा ८८ अर्ब लगानी विभागका अनुसार ८८ अर्ब ६९ करोड ९० लाख रुपैयाँको लागतमा ५ हजार १ सय ८८ वटा साना उद्योग स्थापना भएका छन् । साना उद्योगहरुले २ लाख ८३ हजार ७ सय ५२ जनालाई रोजगारी दिएको छ । कानुनी सुधार विभागले यो अवधिसम्म धेरै प्रगति तथा सुधारका काम भएको जानकारी दिएको छ । विभागले हालसम्म संरचनागत सुधार, प्रकृयागत सुधार, नीतिगत सुधारहरु भएको वताएको हो । राजनैतिक स्थिरता र सरकारको स्थायित्व, लगानीमैत्री ऐन, ऊर्जाको पर्याप्तता, औद्योगिक पूर्वाधारमा प्राथमिकताका साथ सरकारको लगानी बृद्धि यस क्षेत्रका सवल पक्ष भएको छ । यस्तै, पछिल्लो समय श्रम सम्बन्धमा आएको सुधारले पनि लगानीलाई आकर्षित गरेको छ । क्षेत्रगत उद्योग उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । पर्यटन, कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज तथा सेवामूलक उद्योगमा बढी आकर्षण देखिन्छ । विभागमा दर्ता भएका उद्योगमा सबैभन्दा धेरै उत्पदनमूलक क्षेत्रका छन् । विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४ खर्ब ६० अर्ब ५२ करोड २० लाख रुपैया लगानीमा ३ हजार ५४ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३ लाख २६ हजार ५ सय ५५ जनालाई रोजगारी दिएका छन् । सेवामुलक क्षेत्रमा १ खर्ब ५६ अर्ब ४५ करोड ६० लाख रुपैयाँ लगानीमा २ हजार २ सय २० वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले १ लाख २५ हजार २ सय ५ जनालाई रोजगारी दिएका छन् । सेवामुलककै पनि पर्यटन क्षेत्रसँग सम्बन्धित १ खर्ब ५६ अर्ब ३९ करोड ७० लाख रुपैयाँ लगानीमा १ हजार ८ सय २ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ७१ हजार ५ सय ७६ जनालाई रोजगारी दिएका छन् । उर्जा क्षेत्रमा ११ खर्ब ६७ अर्ब १५ करोड १० लाख रुपैयाँ लगानीमा ३ सय ९९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३४ हजार ६ सय ७६ जनालाई रोजगारी दिएका छन् । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । परम्परागत रुपमा पनि कृषि व्यवसायमा संलग्न नेपालीको संख्या ठूलो छ । यो क्षेत्रमा २८ अर्ब १० करोड ९० लाख रुपैयाँ लगानीमा ४ सय ६९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३६ हजार १ सय ५० जनालाई रोजगारी दिएका छन् । सूचना तथा संचार क्षेत्रको विकास पनि गर्व गर्न लायक छ । अहिलेसम्म नेपालमा ४ अर्ब ६७ करोड ८० लाख रुपैयाँ लगानीमा ७० वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ४ हजार १ सय १ जनालाई रोजगारी दिएका छन् । खनिजमुलक उद्योगमा लगानी हेर्दा अहिलेसम्म ६ अर्ब ८८ करोड ३० लाख रुपैयाँ लगानीमा ६९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ७ हजार २ सय ४ जनालाई रोजगारी दिएका छन् । निर्माण क्षेत्रमा काम गर्ने उद्योगको उपस्थिति पनि बलियो छ । उद्योग विभागका अनुसार अहिलेसम्म ४९ अर्ब ९२ करोड २० लाख रुपैयाँ लगानीमा ५८ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३ हजार ८ सय १ जनालाई रोजगारी दिएका छन् ।

१४ औं वर्षको अवसरमा हाम्रो प्रण

विकास मिडियाको पहिलो प्रकाशन देशविकास साप्ताहिक पत्रिका नियमित प्रकाशन हुन थालेको १३ वर्ष पूरा भएको छ । १४ औं वर्षको प्रवेशको अवसरमा हामी हाम्रा पाठक, विज्ञापन दाता, वितरक, विक्रेता, सहयोगि तथा सुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछौं । देशविकासको मेरुदण्ढ आर्थिक विकास हो, आर्थिक विकासको इन्जिन भनेको निजी क्षेत्र हो । नागरिकको साथै लगानीको सुरक्षा, न्याय, सुशासनको प्रत्याभूतिसरकारले गर्नुपर्छ । साथै, पूर्वाधार निर्माणमा सरकारले अगुवाई गर्नुपर्छ । नाफा मुलक क्षेत्रमा निजी क्षेत्रले काम गर्ने हो । निजी क्षेत्रले नाफामा सरकारले तोकेअनुसार कर इमान्दारिपूर्वक तिर्नुपर्छ । सरकारले करको सदुपयोग गर्नुपर्छ । सरकारले खुला अर्थनीति लिनुपर्छ । निजी क्षेत्रले स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ । स्वस्छ प्रतिस्पर्धात्मक वातावरणमा नै उपभोक्ताले सहज रुपमा, उचित मूल्यमा गुणस्तरीय बस्तु तथा सेवा किन्ने मौका पाउँछन् भन्ने हाम्रो सम्पादीय मुल नीति हुन् । यसमा हामी अविचलित रुपमा लागेका छौं । सञ्चार क्षेत्रमा आएको परिवर्तन, प्रविधिमा आएको परिवर्तन, पाठकको रुचिमा आएको परिवर्तन, समाचारका स्रोतमा आएको परिवर्तन र सरकारले लिएका नीतिका आधारमा हामीले आफूलाई समाहित गर्दै लैजानुछ । त्यसैले छापा पत्रकारिताबाट शुरु भएको विकास मिडियाको यात्रामा हाल डिजिटल पत्रकारितमा समेत अगुवाई गर्ने मौका मिलेको छ । देशविकास पत्रिका आर्थिक साप्ताहिक वर्गमा अग्रणी र क वर्गको पत्रिकाको रुपमा धेरै वर्षदेखि स्थापित छ । अनलाईन संस्करण विकासन्युज डट कम र यूट्युव संस्करण विकासन्युज हाम्रा लाखौ पाठकले मनपराएको प्लेटफर्म हुन् । १३ वर्षअघि काठमाडौं केन्द्रीत पाठकमा सीमित हाम्रो पत्रकारिताको दायरा फराकिलो भएर देशविदेश जहाँबाट पनि पढ्न, हेर्न र सुन्न पाउने अवस्था भएको छ । सारभूत रुपमा विकास निर्माणप्रति सकारात्मक दृष्टिकोष राख्दै उत्पादन वृद्धि, रोजगारी वृद्धि, आय वृद्धिमा सहयोग पुग्ने सूचना, समाचार, विचार र विश्लेषण पस्कदै आएका छौं । १४ औं वषै प्रवेशको अवसरमा पुँजी निर्माण र रोजगारी सिर्जना कसरी हुनसक्छ र पछिल्लो ट्रेन के छ भन्ने विषयमा केन्द्रीत भई यो अंक तयार गरेका छौं । १४ औं वर्षमा हामी पाठकको रुचि, समाज र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर थप परिस्कृत ढंगले प्रस्तुत हुने प्रण गर्दैर्छौ । हामीलाई निरन्तर माया गर्ने पाठक, बिक्रेता, वितरक, विज्ञापन दाता, सहयोगि सुभचिन्तक सबैबाट अझ धेरै माया र सहयोगको अपेक्षा गर्दै सहकार्यलाई निरन्तर अगाडि बढाउन चाहान्छौं ।

सानिमा बैंकद्वारा हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन हस्तान्तरण

काठमाडौं । सानिमा बैंकको न्युरोड शाखाले शनिबार पोखरास्थित श्री हिमालय आँखा हस्पिटललाई वाटर प्युरीफिकेशन मेशिन हस्तान्तरण गरेको छ । उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई प्रदान गरेका हुन् । बैंकले अस्पतालमा आउने दैनिक करिब ५ सय जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको हो । सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटिएम रहेको छ ।

नबिल बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता, व्यवसायिक सम्बन्ध थप बलियो हुने

काठमाडाैं । नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ । नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले समझदारीपत्रमा हस्तारक्षर गरेका हुन् । यो सम्झौताले दुई संस्था बिच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिएकाे छ ।

रावा बैंक कर्मचारी संघको सम्मान तथा बिदाइ कार्यक्रम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कर्मचारी संघले स्थापना, विकास, विस्तार तथा गरिमा वृद्धिमा उच्च योगदान गर्ने बैंकको सेवाबाट निवृत्त भएका कर्मचारी संघका ६७ जना पूर्व पदाधिकारीहरुलाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मान तथा बिदाइ गरेकोे हो । पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुेवेदीको गरेका थिए । सो कार्यक्रममा विभिन्न विषयका विद्धानहरुको लेख समेटिएको संघको मुखपत्र लक्ष्ययात्रा २०७६ को विमोचन समेत गरिएको थियो । सो कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष नारायण प्रसाद सुवेदी, पूर्व अध्यक्षहरु वेदबहादुर लावती, शिबकुमार अधिकारी, महेशराज खरेल, पूर्व उपाध्यक्ष रोहित रेग्मी, पूर्व सचिव सुमित्रा बि.सी.ले मन्तव्य व्यक्त गरेका थिए ।