काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आइतबार बसेको संस्थाको १८औं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ मा रु.४२ करोड ४१ लाख ३८ हजार ८ सय ७४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.१५ अर्व ६३ करोड ३३ लाख पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.८ अर्व २६ करोड ४४ लाख ५ हजार रहेको छ ।
राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ ।
साधारण सभाले जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख ९९ हजार ४ सय कायम गर्ने निर्णय गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण सेयरधनी समूह “ख” अन्तर्गत सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा विष्णु प्रसाद त्रिपाठीलाई निर्विरोध निर्वाचित गरेको छ ।