सानिमा र लक्ष्मी बैंकको एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै
काठमाडाैं । सानिमा र लक्ष्मी बैङ्कको एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउने भएकाे छ । शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका हुन् । ‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना रु एक अर्ब बराबरको छ । योजनामा कूल १० करोड एकाइ बिक्री गरिनेछ । यस्तै लक्ष्मी बैंकले प्रवद्र्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना रु ८० करोड बराबरको छ । योजनामा कूल आठ करोड एकाइ बिक्री गरिनेछ । ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ । छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोषको कारोबार भइरहेको छ ।
सामाजिक सुरक्षा कोषमा एक लाख ३५ हजार श्रमिक सामेल, साढे ३८ कराेड रकम संकलन
काठमाडाैं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको सङ्ख्या बढ्दै गएको छ । शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा एक लाख ३५ हजार ६८३ योगदानकर्ता सूचीकृत भएका छन् । यस्तै ११ हजार ९७८ रोजगारदाता पनि कोषमा आबद्ध भएका छन् । सबैभन्दा बढी प्रदेश नं ३ बाट ९७ हजार ७३४ श्रमिक योजनामा सहभागी भएका छन् । प्रदेश नं १ बाट २१ हजार ३२१, प्रदेश नं २ बाट सात हजार ७ सय ९, गण्डकी प्रदेशबाट पाँच हजार ५३, प्रदेश नं ५ बाट तीन हजार २ सय ३६, सुदूरपश्चिम प्रदेशबाट ४ सय ६१ र कर्णाली प्रदेशबाट १ सय ६९ श्रमिक सूचीकृत भएको कोषले जनाएको छ । रोजगारदाताको आबद्धता प्रदेश नं ३ बाट बढी देखिएको छ । सो प्रदेशबाट सात हजार ९ सय ९६ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । प्रदेश नं १ बाट एक हजार ८६०, प्रदेश नंं ५ बाट ८ सय ५६, गण्डकी प्रदेशबाट ५ सय ४८, प्रदेश नं २ बाट ४ सय ७१, सुदूरपश्चिम प्रदेशबाट १ सय २७ र कर्णाली प्रदेशबाट १ सय २० रोजगारदाता कोषमा सूचीकृत भएका छन् । कोषमा रु ३८ करोड ५३ लाख ७० हजार २ सय ५८ योगदान रकम सङ्कलन भएको छ । सूचीकरण प्रक्रियामा ७४ जिल्ला समेटिएका छन् । कोषमा योगदान गर्ने तीन योगदानकर्ताका परिवारले आर्थिक सहायता प्राप्त गरेका छन् । गत मङ्सिर ११ गते शुभारम्भ गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा श्रमिक तथा रोजगारदाताको सहभागिता उत्साहजनक देखिएको छैन । केन्द्रीय तथ्याङ्क विभागको अध्ययन अनुसार नेपालभर करिब ९ लाखको हाराहारीमा प्रतिष्ठान दर्ता भएका छन् । ती प्रतिष्ठानमा करिब २४ लाख बढी श्रमिक आबद्ध रहेको बताइन्छ । कोषले चार प्रकारको सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाबाट योगदानकर्ताले सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । रासस
सुनको मूल्य वृद्धि भएसँगै ७५ प्रतिशतले घट्यो बिक्री, किन्नेभन्दा बिक्री गर्ने बढे
काठमाडाैं । सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ । दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घका अध्यक्ष मोहनकुमार विश्वकर्माले जानकारी दिए । लगातार सुनको मूल्य वृद्धि भएसँगै सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने बढेका छन् । राजधानीका चलेका सुन पसलमा नयाँ गहना खरिद गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको छ । सुनको भाउ घटेको समयमा गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै गहना बिक्री गर्न थालेका छन् । पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । “अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनावका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको हो”, महासङ्घका अध्यक्ष विश्वकर्माले भने, “महाशक्ति राष्ट्रबीचको बढ्दो तनावका कारण विश्वभरबाटै सुनमा लगानी हुन थालेको छ, व्यापार द्वन्द्वले सुनप्रति आकर्षण बढ्यो ।” साना तथा ठूला लगानीकर्ताले सुनमा गरिएको लगानीलाई सुरक्षित मान्न थालेको उनको भनाइ छ । चीन र अमेरिकाबीच हुने भनिएको वाणिज्य वार्ता निष्कर्षमा पुग्न नसक्दा पनि सुनको मूल्य वृद्धिमा सघाउ पुगेको अध्यक्ष विश्वकर्माले बताए । इकोनोमिक्स टाइम्सले पनि पछिल्लो सात वर्षमा सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि भएको जनाएको छ । मध्यपूर्वी क्षेत्रमा देखिएको तनावका कारण सुरक्षित लगानी ठानिएको सुनमा अत्यधिक आकर्षण बढेको छ । विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५ सय ७३.५० अमेरिकी डलर पुगेको छ । भारतीय बजारमा छापावाला सुनको मूल्य प्रति १० ग्राम ४० हजार १० भारु र तेजाबी सुन प्रति १० ग्राम ३८ हजार १ सय भारु तोकिएको छ । नेपाली बजारमा पनि आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार निर्धारण गरेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७ सय कायम गरेको छ । यस्तै चाँदीमा पनि मूल्यवृद्धि भएको छ । आइतबार प्रतितोला रु ९०० मा कारोबार भएको चाँदी आज प्रतितोला रु २० ले वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला रु एक हजारले वृद्धिभई छापावाला सुन रु ७५ हजार ५०० मा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ७५ हजार २ सय कायम कारोबार भएको थियो । पुस महिनामा मात्रै स्थानीय बजारमा प्रतितोला रु चार हजार ५ सय ले मूल्य वृद्धि भएको छ । यही पुस १ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५ सयमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला रु ७१ हजार २ सयमा कारोबार भएको थियो । पुस १ गते प्रतितोला रु ८ सय ५० मा कारोबार भएको चाँदी आजको दिनमा आइपुग्दा रु ७० ले वृद्धि भएको छ ।
कर्णालीमा जडीबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापनाकाे पहल शुरु, सातै स्थानीय तहमा बोलपत्र आह्वान
जाजरकाेट । जडीबुटी भण्डार तथा प्रशोधनका साथै खेतीका लागि डिभिजन वन कार्यालय, जाजरकोटले पहल शुरु गरेको छ । सङ्घीय सरकार तथा कर्णाली प्रदेश सरकारको अनुदानमा जाजरकोटका सातवटै स्थानीय तहमा यस्तो कार्य अगाडि बढाइएको हो । जडीबुटीको भण्डार मानिएको जाजरकोटमा डिभिजन वन कार्यालयले जडीबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापनाका साथै उद्यम स्थापना गर्न लागिएको डिभिजन प्रमुख महेश कुमाईले जानकारी दिए । उनले भने, “जिल्लाका सातै स्थानीय तहमा उत्पादन, प्रशोधन र बजारीकरणका हिसाबले उपयुक्त खालको स्थानमा कार्यक्रम शुरु गर्न बोलपत्र आह्वान भएको छ ।” त्यस्तै सहरकारीमार्फत जडीबुटी खेती, भण्डारण, बजारीकरणसमेत गर्ने योजना रहेको छ । स्थानीय जडीबुटीको खेती तथा विस्तार भण्डारणसमेत गरिन लागेको कुमाईले बताए । जिल्लाका जडीबुटीको राम्रो सम्भावना भएको ठाउँमा पकेटका आधारमा खेती विस्तार गर्न लागिएको उनको भनाइ छ । त्यस्तै, भेरी नगरपालिका–१ मा घरबास कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव माग गरिएको छ । कर्णाली प्रदेश सरकारले पर्यटकलाई आवासको सुविधा दिन घरबास कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो ठाउँमा जनयुद्धको समयमा बमबारी गरेर दुई सयभन्दा बढी स्थानीयवासीको घर, टहरा जलाइएको थियो । सोही ठाउँमा अहिले सरकारले सञ्चालन गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यहाँ घरबास कार्यक्रम सञ्चालन गर्न लागिएको हो । त्यस्तै, राष्ट्रिय वन विकास तथा व्यवस्थापनका लागिसमेत कार्यक्रम शुरु भएको छ । जिल्लाका सातवटा स्थानीय तहमा सञ्चालन हुने सो कार्यक्रमले दिगोपन, व्यवस्थापनका लागि सामुदायिक वनमार्फत कार्यक्रम गर्न लागिएको छ । सो कार्यक्रमबाट स्थानीय तहमा रोजगारी सिर्जना गरी स्थानीयवासीले लाभ लिने बताइएको छ । जिल्लाका सातैवटा स्थानीय तहसँग सहकार्य गरेर वन विकास तथा प्रवद्र्धनमा गति दिने उद्देश्यले काम थालिएको छ । वन नै जीवनको आधार भएकाले यसबाट आम्दानी लिन सकिने प्रशस्त ठाउँ हुँदाहुँदै पनि गतिशील योजना नहुँदा फाइदा लिन नसकेको अवस्थामा डिभिजन वन कार्यालयले सञ्चालन गरेको प्रगतिमुखी कार्यक्रमले स्थानीयवासी खुशी भएका छन् । तीन जिल्लामा संरक्षित क्षेत्र घोषणाको तयारी जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र नलगाड नगरपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी त्यहाँका वन्यजन्तु संरक्षणका साथै स्थानीयवासीको पशुपालन व्यवसायलाई व्यवस्थित बनाउन कार्ययोजनाको अध्ययन पूरा भएको छ । जाजरकोटका साथै डोल्पाको तल्लो भाग मुड्केचुला गाउँपालिका र जुम्लाको आधा भागलाई जोडेर संरक्षित क्षेत्र बनाउनका लागि अध्ययन पूरा भएको हो । अध्ययन भई अहिले सो प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा छलफलका लागि तयारी अवस्थामा राखिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । संरक्षित क्षेत्र घोषणासँगै स्थानीयवासीले पशुपालन व्यवसाय गर्नका लागि विशेष ठाउँ र क्षेत्रमा आफ्नो कार्य अगाडि बढाउनेछन् । कर्णालीका १० जिल्लामा जडीबुटी जोन घोषणा हुँदै कर्णाली प्रदेशको १० जिल्लाका ४० वडामा जडीबुटी जोन घोषण गरेर काम शुरु गर्न लागिएको वन तथा वातावरणमन्त्रीको सचिवालयका उपसचिव गणेशविक्रम शाहीले जानकारी दिए । उनका अनुसार उत्पादन हुने ठाउँको अवस्थाका आधारमा खेती गरिनेछ । कर्णाली प्रदेश जडीबुटीको भण्डारका रूपमा परिचय स्थापित भएकाले यहाँ थप विकासका लागि यस्ता खालका कार्यक्रम सञ्चालन गर्न लागिएको हो । अहिले जथाभावी सङ्कलन मात्र भएको तर संरक्षणमा ध्यान नदिइएको अवस्थामा जोन घोषणासँगै संरक्षण तथा संरक्षणलाई व्यवस्थित गर्न विशेष योजना बनाएको छ । रासस
टाटाले ल्याउँदै नयाँ प्रिमियम कार, भारतमा मूल्य ५ देखि ८ लाखसम्म पर्ने अनुमान
काठमाडाैं । टाटाले एक महिना अघि प्रदर्शन गरेको ‘एल्ट्रोज’ नामक ह्याचब्याक अटो जगततर्फ निकै चर्चाको विषय बन्न पुगेको छ । एल्ट्रोजलाई टाटाले आफ्नो प्रिमियम कारहरुको वर्गमा राख्नु र त्यसैगरी सो कार अन्य उत्पादनहरु भन्दा प्रिथक हुनुले पनि यो एउटा चर्चाको विषय बन्न पुगेको हो । खास के छ यसमा ? ‘एल्ट्रोज’ टाटाको इम्प्याक्ट २.० डिजाइनमा आधारित रहेर निर्माण भएको छ जसले गर्दा यसको डिजाइन एकदमै आकर्षक र प्रभावकारी बनेको छ । यस कारमा सनरुफ, १६-इञ्च लेजर कट अलोए व्हिल्स, ७-इञ्च टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, ७-इञ्च फ्लोटिङ्ग टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफंक्सन स्टेयरिङ्ग व्हिल, फुल अटोमेटिक एसी, क्रुज कन्ट्रोल, १५-लिटर कुल्ड ग्लोभ बक्स र ब्लू एम्बिएन्ट लाइट लगायतका विशेषताहरु समावेश हुनेछन् । सेफ्टि फिचरहरुको रुपमा चाहिँ टाटाले एल्ट्रोजमा एन्टि लक ब्रेकिङ्ग सिस्टम, इलेक्ट्रिोनिक ब्रेकफोर्स डिस्ट्रिब्यूशन सिस्टम, कर्नरिङ्ग स्ट्याविलिटी कन्ट्रोल सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर्स, चाइल्ड सेफ्टी लक, ड्राइभर र को-ड्राइभर सिट बेल्ट रिमाइन्डर र हाइ-स्पिड अलर्ट सिस्टमजस्ता विशेषताहरु समावेश गरेको छ । यस कारमा दुई अलग इञ्जिन अप्शनहरु उपलब्ध हुनेछन् । पहिलो इञ्जिन १.२ लिटरको ३-सिलिण्डर, रेभोट्रोन पेट्रोल इञ्जिन रहनेछ भने दोश्रो चाहिँ १.५ लिटरको ४-सिलिण्डर रेभोटर्क टर्बो डिजेल इञ्जिन हुनेछ । दुईओटै इञ्जिनहरु बीएस६ प्रदूषण मापदण्ड अनुरुपका हुनेछन् भने दुवै इञ्जिन ५-स्पिड म्यानुअल गियरबक्सका साथ उपलब्ध हुनेछन् । पेट्रोल इञ्जिनले ८६ एचपीको पावर र ११३ एनएमको टर्क उत्पादन गर्नेछ भने डिजेल इञ्जिनले चाहिँ ९० एचपीको पावर र २०० एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार एल्ट्रोज पाँच अलग भेरियन्टहरु एक्सइ, एक्सएम, एक्सटि, एक्सजेड र एक्सजेड(ओ) मा उपलब्ध हुनेछ । लञ्च र मूल्य टाटाले जनाए अनुसार एल्ट्रोजलाई जनवरी २२ मा भारतमा आधिकारीक रुपमा सार्वजनिक गरिनेछ । हाल कारको मूल्य ताेकिनसके पनि भारतीय रूपैयाँ पाँच लाखदेखि आठ लाखसम्म पर्ने कम्पनीले अनुमान गरेकाे छ । लञ्च पश्चात एल्ट्रोजले मारुती सुजुकी बलेनो, होण्डा ज्याज, टोयोटा ग्लान्जा र हुण्डाई आई२० जस्ता कारहरुसँग प्रतिष्पर्धा गर्नेछ ।
२२ परियोजनामा रु १६ अर्ब लगानी प्रतिबद्धता, कृषिमा पकेट क्षेत्र घोषणाा
खस्यौली । तिलोत्तमा नगरपालिकाले हालसम्म ५० भन्दा बढी नीति, ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड जारी गरेको छ । काठमाडौं बाहिर पहिलो पटक तिलोत्तमा लगानी सम्मेलन गरी कृषि, पर्यटन, उद्योग र सरसफाइ क्षेत्रमा २२ परियोजनामा १६ अर्ब लगानी प्रतिबद्धता ल्याउन सफल भएको नगरप्रमुख वासुदेव घिमिरेले बताए । नगरपालिकाले शिक्षालाई मुख्य प्राथमिकतामा राखेर बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका दुई हजार ५ सय ६७ विद्यार्थीलाई हरेक दिन रु २५ बराबरको दिवा खाजाको व्यवस्था, पत्रु खाना निरुत्साहन गरी घरमै बनेका स्वास्थ्यबद्र्धक खाजा प्रयोगलाई प्रोत्साहन गर्न कक्षा १ देखि ५ सम्मका सबै बालबालिकालाई टिफिन क्यारिएरको व्यवस्था गरिएको छ । कृषिमा पकेट क्षेत्र घोषणा तिलोत्तमामा ‘एक घरः एक करेसाबारीस पकेट क्षेत्रमा व्यावसायिक तरकारी’ भन्ने नाराका साथ तरकारी,मकै र गहुँ पकेट क्षेत्र घोषणा भएको छ । गहुँको बीउ ४० प्रतिशत अनुदानमा वितरण गरी २० प्रतिशत उत्पादनमा वृद्धि भएको र चालु आर्थिक वर्षमा बीउमा ४० प्रतिशत अनुदानलाई निरन्तरता दिइएको नगर प्रमुख घिमिरेले जानकारी दिए । दुग्ध उत्पादक किसानलाई प्रति लिटर दूधमा रु १ अनुदानको व्यवस्था गरिएकामा गत आवमा ३९ लाख ६० हजार लिटर दूधमा अनुदान सहयोग गरिएको छ । पशुपालक किसानले व्यहोर्नुपर्ने बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिइएको र २२ सिँचाइ बोरिङको डिमाण्ड चार्ज भुक्तानी गरिएको छ । भौतिक पूर्वाधारतर्फ पर्यापर्यटनको प्रवद्र्धनका लागि शङ्करनगर वनवाटिकामा बहुउद्देश्यीय दृश्यावलोकनस्तम्भ निर्माण, गत दुई आवमा कुल ३६ दशमलव ८८ किलोमिटर सडक कालोपत्रे र १४६ किमी सडक ग्राबेल, मोटरेवल एक पुल, दुई किमी साधारण मार्ग निर्माण, ६३ कल्भर्ट, ९७५ ह्युमपाइप व्यवस्थापन, २७ किमी सिंचाइ कुलो, ढल तथा नाली, सात किमी तटबन्धन निर्माण र नयाँ विद्युतीकरण तथा पुराना खम्बा विस्थापनका लागि एक हजार २७० थान विद्युत् खम्बा तथा १८ विद्युत् ट्रान्समिटर जडान गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाले स्थानीय तहको निर्वाचनपछिको साढे दुई वर्ष (मध्यावधि) को समीक्षा प्रगति सार्वजनिक गरेको छ । सो अवसरमा नगर प्रमुख वासुदेव घिमिरेले जनप्रतिनिधिले आफूलाई शासक होइन जनताको सेवक ठानेर काम गर्दा सफलता मिलेको बताए । उनले निर्वाचनका बेला गरिएका प्रतिबद्धतामध्ये ५० प्रतिशत पूरा हुने क्रममा रहेको र बाँकी तीस महिनामा शतप्रतिशत पूरा गरेर छाड्ने लक्ष्य रहेको जानकारी दिएका छन् । “जनप्रतिनिधि मालिक होइन, जनताको सेवक हौं’ भन्ने मान्यतामा आधारित रहेर जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रबाट काम गरेका छौं, जसले गर्दा नगरपालिकाले गर्ने निर्णय र विकास निर्माणमा प्रतिपक्षी दलसहित नगरवासीको साथ र समर्थन बढेको छ”, नगर प्रमुख घिमिरेले भने। नगरको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई आत्मसात् गर्दै सन्तुलित र समन्यायिक विकासको अवधारणानुसार पाँचवर्षे आवधिक योजना र १५ वर्षे रणनीतिक योजनासहित एकीकृत नगर विकास योजना बनाएर काम गरिएको उनले बताउनुभयो । रासस
व्यापार गर्न चाहनेलाई बिजनेश क्लिनिक शुरु, नबिल इन्भेष्टले दिँदै छ १६ वटा लगानी तथा वित्तीय क्षेत्रको परामर्श
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैकिंङ्ग लिमिटेडले अँग्रेजी नयाँवर्षको अवसर पारेर संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुकालागि निकै उपयोगी हुने देखिएको छ । बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न शुरु गरेको परामर्श सेवा हो । ग्राहकहरुले नबिल इन्भेष्टमेण्टका लगानी विशेषज्ञहरुद्धारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्न सक्ने देखिन्छ । यस सेवाअन्तर्गत ईक्विटी, लगानी व्यवस्थापन, कर्जातथा ऋण, पूँजी संरचना, दैनिक कार्य संचालन पूँजी व्यवस्थापन सम्बन्धि वित्तीय परामर्श, व्यापार पुनर्संरचना/पुनर्गठन, व्यापार/व्यावसाय विस्तार, व्यापार शुरु गर्ने, सम्पत्ति व्यवस्थापन, पोर्टफोलियो संरचना निर्माण, पोर्टफोलियो फेरबदल/पुनर्संरचना, शेयर खरिद/बिक्री गर्ने निर्णय, निश्चित फिर्ती लगानी, सम्पत्ति/धन व्यवस्थापन, व्यापार रणनीति र बजारीकरण रणनीति सम्बन्धि वित्तीय परामर्श दिने इन्भेष्टमेन्टले जनाएको छ । नेपालमा यो सेवा विस्तार गर्ने नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग पहिलो संस्था हुन सफल भएको छ । जसले भविष्यमा व्यापार गर्न चाहने व्यापारीहरु वा आफ्नो व्यापारलाई रणनीतिक रुपमा विस्तार गर्न चाहने व्यक्तितथा संस्थाहरुको लागि निकै नै सहयोगी÷फलदायी हुने कम्पनीले जनाएको छ । यस्तो सेवा सार्वजनिक बिदाको दिन बाहेक प्रत्येक शुक्रवार बिहान १० बजेदेखि दिनको १ः०० बजेसम्म संचालनमा रहने छ । एकपटक यो सेवा लिन आउँदा एक हजार रुपैयाँको टिकट काट्नु पर्ने र यो टिकटबाट एक महिनासम्मको प्रत्येक शुक्रवार पुनःबिना कुनै शुल्क परामर्श लिन सकिने व्यहोरा कम्पनीले जनाएको छ ।
न्यू बुटवल र पूर्वी चितवन सबस्टेसनको निर्माण चैतमा सकिने
काठमाडाैं । नवलपरासीको सुनवलमा २२०/१३२ केभी न्यू बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको निर्माण चैतमा सकिने भएकाे छ । दुवै सबस्टेसनको निर्माण आगामी चैत्र (मार्च २०२०) भित्र सम्पन्न गरी संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको छ । दुवै सबस्टेसन आयोजनाको निर्माण प्रगतिको स्थलगत निरीक्षणमा पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धैरै समय लाग्ने अधिकांश सिभिल संरचनाको निर्माण सकिएकाले कुनै अवरोध नआएमा तोकिएकै समयमा काम सकिने देखिएको बताए । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग निर्माण प्रगति, बेहोरिएका समस्या लगायतका बारेमा जानकारी लिंदै कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा काम सक्न निर्देशन दिएका छन् । ‘सबस्टेसनको जग (फाउन्डेसन) हालिएको छ, अधिकांश उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने केही आउनेक्रममा छन्, अब उपकरणहरु जडानको काम मात्रै बाँकी देखिन्छ, बाँकी रहेको सिभिल संरचनाको काम सक्न र उपकरण जडानको कामलाई तिब्रता दिनु पर्ने उनकाे भनाइ छ । मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो । भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले चैतभित्रमा सबस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ । निर्माणमा अहिले एक सय जनाभन्दा बढी श्रमिक आयोजनास्थलमा खटिएका छन् । कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् कालीगण्डकी किरडोर २२० कभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।