विकासन्युज

उखु किसानका समस्या प्रदेश सरकारले समाधान गर्ने, विकासका लागि मार्गचित्र बनाउँदै

काठमाडौं । प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा गोविन्द शर्माले प्रदेश २ मा ६० प्रतिशत बढी उखु किसान रहेकाले उनीहरुको समस्या प्रदेश २ सरकारले समाधान गर्ने बताएका छन् । उनले प्रदेश २ मा देखिएको कृषि तथा उखु क्षेत्रको समस्या समाधान गरी त्यसको विकासका लागि प्रदेश २ सरकारले मार्गचित्र बनाउन लागेको जानकारी दिएका हुन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा आयोजना गरेको प्रदेशस्तरीय एकदिने कृषि प्राविधिक कार्यशालामा सचिव शर्माले प्रदेश २ को आठ जिल्लामा कृषि क्षेत्रको विकास, डेरी उद्योगको स्थापना तथा उखु किसानको समस्या समाधान गर्न प्रदेश सरकारले रोडम्याप तयारी गर्न लागेको बताए । आठ जिल्लाका सम्बन्धित कार्यालयका प्रमुखले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि कार्ययोजना, स्वीकृति भएका कार्यक्रम प्रस्तुत गरेका थिए । अनुगमन तथा मूल्याङ्कन महाशाखा नार्कका प्रमुख सुधा सापकोटा, जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंह, मुख्य वैज्ञानिक डा सुरेन्द्रलाल श्रेष्ठ, परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण साहलगायतका वक्ताले प्रदेशको विकासको आधार कृषि भएकाले यसको विकासप्रति प्रदेश सरकार गम्भीर हुनुपर्ने माग गरेका थिए । रासस

सुदुरपश्चिम जान काउन्टरसम्म धाउनै नपर्ने, अब अनलाइनबाटै टिकट काट्न सकिने

काठमाडौं । सुदुरपश्चिमका जिल्लामा सेवा दिँदै आएको महाकाली यातायातको टिकट अबदेखि अनलाइनबाटै काट्न सकिने भएको छ । महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रा.लि.बाट सञ्चालित महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले अनलाइन टिकटिङ शुरू गरिएको कम्पनीका अध्यक्ष डम्बर राज पन्तले बताएका छन् । कम्पनीले नेपालमा अनलाइन बस टिकटिङको सेवा दिँदै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ शुरू गरेको हो । योसँगै अबदेखि महाकाली यातायातबाट काठमाडौ महेन्द्रनगर, महेन्द्रनगरदेखि बुटवल, तथा महेन्द्रनगरदेखि पोखरा चल्ने एसी तथा डिलक्स् बसको टिकट अनलाइनबाट काट्न सकिनेछ । यात्रुहरूले बससेवा डटकम, इसेवा डटकम डट एनपी, बससेवाको मोबाईल एप्लीकेशन मार्फत अनलाइन टिकट काट्न सकिनेछ । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ । यस्तै विदेशबाट www.12go.asia बाट समेत टिकट काट्न सकिनेछ । महाकाली यातायातले आफ्ना करिब ६ सय सवारी साधन मार्फत नेपालका विभिन्न गन्तव्यहरूमा सेवा पुर्याउँदै आएको छ । बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।

टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई, बैकिङ क्षेत्रमा धेरै बिकेको सिप्रदीको भनाई

काठमाडौं । टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले जनाएको छ । टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ । २०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । हालैमात्र नेपाल एसबिआई बैङ्केलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको र अन्य बैङ्क तथा वित्तीय संस्थाहरु र व्यवसायिक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरूमा उपलब्ध छ । सिप्रदीले गत वर्षदेखि यो गाडी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

श्रममन्त्रीको भेटघाट कार्यक्रममा निवर्तमान मन्त्री विष्ट नै देखिएनन्, जम्मा तीन जना उपस्थित

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्री रामेश्वर राय यादवबीच पूर्व श्रममन्त्रीहरुले अनुभव साटासाट कार्यक्रममा गरेका छन् । श्रममन्त्री यादवले बुधबार बाेलाएका उक्त कार्यक्रममा निवर्तमान श्रममन्त्री गोर्कण विष्ट नै देखिएनन् । २०४६ साल यताका १७ जना श्रममन्त्रीहरुको मन्त्रालयमा भएकाे सम्मान तथा अनुभव साटासाट गर्ने क्रममा जम्मा ३ जना श्रममन्त्री मात्रै उपस्थित थिए । कार्यक्रममा पूर्व श्रममन्त्रीहरु मुकुन्द न्यौपाने, कमल चौलागाई र सरिता गिरी उपस्थित भए । बैठकमा पूर्व श्रममन्त्री मुकुन्द न्यौपानेले मन्त्रालयले काम गर्ने तरिका र सोच्ने तरिकामा रुपान्तरण रहेको बताउँदै कुनै पनि काम पहिला विज्ञ र सरोकारवालाहरुसँग सरसल्लाह गरि अगाडी बढ्न सुझाव दिए । ‘उत्पादक नगरि विस्तार नहुने हुँदा विकासको ध्यान दिनु पर्ने छ ।’ पूर्व श्रममन्त्री न्यौपानेले योजना र तयारी बिना मन्त्रीहरुले सस्तो लोकप्रियताको निम्ति बोल्ने तर, त्यस अनुरुप काम गर्दा जनतामा वितृष्णा फैलिएको उल्लेख गर्दै सरकारले बनाएको कार्ययोजना प्रभावकारी ढंगले लागु गर्नु पर्ने बताए । पूर्व श्रममन्त्री सरिता गिरीले छिमेकी देश चीनले गरेको मानव संशाधनको विकास र भौतिक विकासको सुक्ष्म अध्ययन गरि त्यस अनुसार अगाडी बढ्न आग्रह गर्दै अन्य देशहरु विकसित हुँदा हाम्रो मुलुक किन विकास हुन सकेन भन्ने प्रश्नको गहन अध्ययन गर्नुपर्ने बताइन् । पूर्वमन्त्री कमल चौलागाईले अस्तव्यस्त बनेको वैदेशिक रोजगारी क्षेत्रको गम्भिर रुपमा अध्ययन गरि कार्यक्रम अघि सार्नुपर्ने बताए । वैदेशिक रोजगारीका साथै आन्तरिक, कृषि, जल र पर्यटनका क्षेत्रमा पनि सरकारले ध्यान दिन उनले आग्रह गरे । पूर्व मन्त्रीहरुको अनुभाव र सुझाव पछि मन्त्री यादवले उहि अनुभव र सुझावका आधारमा मन्त्रालयले आगामी रणनीति तय गर्ने पनि बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मन्त्री यादवले वैदेशिक रोजगारका क्षेत्रमा देखा परेका विकृति र विसंगति अन्त्यका लागि आफू प्रयासरत रहेको जानकारी दिए । उनले नेपाली कामदारको गन्तव्य रहेका देशमा सुरक्षित वातावरण बनाउने र यो सरकारको लक्ष्य देशमै रोजगारीको सृजना गर्ने रहेको उल्लेख गरे । उक्त कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भूसाल तथा मन्त्रालयका सचिव विनोद केसी लगायतका उपस्थिति रहेको थियो ।

सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठको सुन्दरबस्तीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ । उक्त काउन्टरको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेल, बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका हुन् । उद्घाटनमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवाद दिएका छन् । त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता गरेका छन् । कार्यक्रममा मह जोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर संचालनमा आएकोमा स्थानियवासी तथा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना दिएका छन् । सानिमा बैंकको हाल ७९ वटा शाखा, २ विस्तारित काउन्टर तथा ७८ वटा एटीएम रहेको छ ।

मेटलाइफको नयाँ एजेन्सी काठमाडौंको रवि भवनमा, उपत्यकामा मात्रै १० वटा पुग्यो

काठमाडौं । मेटलाइफ इन्स्योरेन्सले काठमाडौंको रवि भवनमा नयाँ एजेन्सी कार्यालय विस्तार गरेको छ । उक्त कार्यलयको उद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गरेका हुन् । यो सँगै मेटलाइफको कूल कार्यालय ३१ पुगेको छ भने  काठमाडौं उपत्यकामा मात्रै १० वटा विस्तार भइसकेकाे छ । यस कार्यालयले काठमाडौंको कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । रवि भवन कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनर्स्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन् ।

रुपन्देही मुर्गियामा गरिमा विकास बैंक, पुँजी परिचालन तथा व्यवसायिक विकासमा योगदान पुग्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले रुपन्देहीको मुर्गियामा नयाँ शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गिया स्थित शाखा कार्यालयले त्यस क्षेत्रको पुँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने बताएका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले आधुनिक सुविधासहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्ने जानकारी दिएका छन् । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पुस १३ गतेसम्म ३७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी करिब ३३ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

मेलम्चीको पानी निर्धारित समयमै काठमाडौंमा ल्याउन निर्देशन, छिट्टै सके ठेकेदारले बोनस पाउने

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले सरकारले तोकेको निर्धारित समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी कामलाई तिब्रता दिन निर्देशन दिएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्था बारे बुधबार सिंहदरबारमा भएकाे छलफल कार्यक्रममा मन्त्री मगरले ठेकेदार कम्पनीलाई उक्त निर्देशन दिएकी हुन् । मन्त्री मगरले मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको छलफलमा कामको पछिल्लो अवस्था बारे जानकारी लिएकी हुन् । छलफलमा उनले सरकारले तोकेको निर्धारित समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी कामलाई तिब्रता दिन निर्देशन दिए । उनले हेड वक्र्स (मुहान) र सुरुङ फिनिसिङको कामको प्रगति बारे जिज्ञासा राख्दै काममा ढिलाई नगर्न निर्देशन दिए । छलफलमा समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको काममा अहिले कुनै ढिलाई नभएको स्पष्ट पारेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा अहिले निर्माणको काम धमाधम भइरहेको छ । इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेसँगै अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम र हेडवक्र्स निर्माणको काम गरिरहेको छ । अहिलेसम्म आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । समय अघि नै काम सम्पन्न गरे निर्माण व्यवसायी (ठेकेदार कम्पनी) लाई बोनसको व्यवस्था भएको हुनाले तोकिएको अवधि भित्रै मेलम्चीको पानी काठमाडौं आईपुग्ने समितिले जनाएको छ । टनेलको काम ९० प्रतिशत र हेडवक्र्सको काम ६० प्रतिशत सकिसकेको आयोजनाका कार्यकारी निर्देशक खत्रीले बताए । मेलम्चीको पानी आए काठमाडौं उपत्यकाका ४० लाख जनसंख्या लाभान्वित हुनेछन् । आयोजना अन्तर्गत पहिलो चरणमा मेलम्चीको दैनिक १७ करोड लिटर पानी राजधानी आउनेछ । त्यसपछि दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको चौध-चौध करोड गरी थप ३४ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने योजना बनाइएको छ । यता मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रको दोस्रो भागको काम करिब सकिन लागेको छ । पहिलो खण्ड अन्तर्गत साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो ।