मेलम्चीको पानी निर्धारित समयमै काठमाडौंमा ल्याउन निर्देशन, छिट्टै सके ठेकेदारले बोनस पाउने

<p>काठमाडौं । खानेपानी मन्त्री बिना मगरले सरकारले तोकेको निर्धारित समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी कामलाई तिब्रता दिन निर्देशन दिएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्था बारे बुधबार सिंहदरबारमा भएकाे छलफल कार्यक्रममा मन्त्री मगरले ठेकेदार कम्पनीलाई उक्त निर्देशन दिएकी हुन् । मन्त्री मगरले मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको छलफलमा कामको पछिल्लो [&hellip;]</p>

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले सरकारले तोकेको निर्धारित समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी कामलाई तिब्रता दिन निर्देशन दिएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्था बारे बुधबार सिंहदरबारमा भएकाे छलफल कार्यक्रममा मन्त्री मगरले ठेकेदार कम्पनीलाई उक्त निर्देशन दिएकी हुन् ।

मन्त्री मगरले मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको छलफलमा कामको पछिल्लो अवस्था बारे जानकारी लिएकी हुन् । छलफलमा उनले सरकारले तोकेको निर्धारित समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी कामलाई तिब्रता दिन निर्देशन दिए ।

उनले हेड वक्र्स (मुहान) र सुरुङ फिनिसिङको कामको प्रगति बारे जिज्ञासा राख्दै काममा ढिलाई नगर्न निर्देशन दिए । छलफलमा समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको काममा अहिले कुनै ढिलाई नभएको स्पष्ट पारेका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा अहिले निर्माणको काम धमाधम भइरहेको छ । इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेसँगै अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम र हेडवक्र्स निर्माणको काम गरिरहेको छ ।

अहिलेसम्म आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । समय अघि नै काम सम्पन्न गरे निर्माण व्यवसायी (ठेकेदार कम्पनी) लाई बोनसको व्यवस्था भएको हुनाले तोकिएको अवधि भित्रै मेलम्चीको पानी काठमाडौं आईपुग्ने समितिले जनाएको छ । टनेलको काम ९० प्रतिशत र हेडवक्र्सको काम ६० प्रतिशत सकिसकेको आयोजनाका कार्यकारी निर्देशक खत्रीले बताए । मेलम्चीको पानी आए काठमाडौं उपत्यकाका ४० लाख जनसंख्या लाभान्वित हुनेछन् ।

आयोजना अन्तर्गत पहिलो चरणमा मेलम्चीको दैनिक १७ करोड लिटर पानी राजधानी आउनेछ । त्यसपछि दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको चौध-चौध करोड गरी थप ३४ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने योजना बनाइएको छ ।

यता मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रको दोस्रो भागको काम करिब सकिन लागेको छ । पहिलो खण्ड अन्तर्गत साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो ।

Share News