विकासन्युज

आरएमडीसी लघुवित्तका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने निश्चित

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने भएका छन् । बुधबार सम्पन्न संस्थाको २१ औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेसँगै शेयरधनीले सो मात्राको लाभांश पाउने भएका हुन् । सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२.५ प्रतिशत र १२.५ प्रतिशत बोनस पाउने भएका छन् । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा संचालन मुनाफा ४८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । अधिकृत पुँजी एक अर्ब रुपैयाँ रहेको यस वित्तीय संस्थाको चुक्ता पुँजी १२.५ प्रतिशत बोनस पश्चात ८९ कराेड ९२ लाख रूपैयाँ पुगेकाे छ । संस्थाले आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्ममा ३२ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने सो अवधिमा लगानीमा रहिरहेको बाँकी ऋण रकम ८ अर्ब २२ करोड रुपैयाँ रहेको बताएकाे छ ।

आज देशभर हल्का वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

काठमाडाैं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले बुधबार काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताइन् । “पश्चिमी वायुको प्रभाव भोलिसम्म कायम रहनेछ”, मौसमविद् बासीले भने । हाल देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी स्थानमा सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका अधिकांश भू–भागमा हिमपात भइरहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले आगमी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन आग्रह गरेको छ । राति देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशका पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । शनिबार देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ११ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ । रासस

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा साढे २१ कराेड राजश्व संकलन

कैलाली । सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू वर्षको मङ्सिर मसान्तसम्म रु साढे २१ करोड ४९ लाख ५४ हजार २५८ राजश्व सङ्कलन गरेको छ । सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताब, व्यवसाय रजिष्टेशन दस्तुर, यातायात क्षेत्रको आम्दानी तथा अन्य प्रशासनिक सेवा शुल्कलगायतका विभिन्न राजश्व शीर्षकबाट सो राजश्व सङ्कलन भएको निमित्त प्रमुख लक्ष्मण शाहीले जानकारी दिए । सबैभन्दा बढी सवारी साधन करबाट रु १६ करोड २६ लाख ६२ हजार ८५२ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु सात हजार ३ सय राजश्व सङ्कलन गरेको उनले जानकारी दिए । कार्यालयले गत आव २०७५/०७६ मा विभिन्न राजश्व शीर्षकबाट रु ३९ करोड ९० लाख ६१ हजार ५०५ राजश्व सङ्कलन गरेको थियो ।

नेपाल भ्रमण वर्षकाे कार्यक्रममा कुनै अवराेध भएकाे छैन: दुतावास

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२०को अवसरमा सिड्नीमा भएको प्रचार प्रसार कार्यक्रममा कुनै अवरोध नभएको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ। जनवरी ७ मा सिड्नीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईको प्रमुख अतिथ्यतामा भ्रमण वर्षको प्रचारप्रसार गरिएको थियो। सो क्रममा अनुमति नै नलिई प्रचारप्रचार गरिएको भन्दै सुरक्षा निकायले कार्यक्रम अवरोध गरेको भन्दै केही अनलाइनले समाचार सम्प्रेषण गरिएकाप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे। दूतावासले विज्ञप्ती जारी गर्दै अष्ट्रेलियाको सहकार्यसँगै कार्यक्रम भएकाले कुनै सुरक्षा निकायबाट कुनै अवरोध नभएको उल्लेख गरेकाे छ । सिड्नीको सर्कुलर कीबाट शुभारम्भ भएको प्रचारप्रसार कार्यक्रममा अष्ट्रेलियन सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको दूतावासले जनाएको छ। सर्कुलर कीदेखि सिड्नीको प्रमुख पर्यटकीय स्थल ओपेरा हाउससम्म जाने क्रममा ओपेरा हाउसका सुरक्षा गार्डले आफ्नो व्यवस्थापन समितिसँग सम्पर्क गरून्जेलसम्म पर्खन अनुरोध गरेका थिए ।

सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात, मुख्य राजमार्ग अवरुद्ध, जनजीवन कष्टकर बन्दै

पर्शुरामधाम । सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेकाले  डडेल्धुरा जिल्ला सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ । डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो । हिमपातले चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने मजदूर वर्ग बढी प्रभावित भएका छन् । हिउँ जम्न थालेका कारण दैनिक जनजीवनसमेत कष्टकर बन्दै गएको छ । हिमपातले सुदूरपश्चिमका पहाडी सात जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङका सडक अवरुद्ध भएका छन् । सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् । डडेल्धुराको अमरगढी–६ भालुमारे, अमजमेरु गाउँपालिका–१ अनारखोलीबजार, गन्यापधुरा–१ को साहुँखर्क, आलिताल–१ को हगुल्टे, मेलखर्कलगायतका स्थानमा भारी हिमपातका कारण राजमार्ग अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । बुधबार राति हिमपात शुरु हुनुभन्दा पहिले नै यातायात साधन सञ्चालन गर्न नदिई सुरक्षित स्थान तथा होटल बास भएको स्थानमै रोकिए पनि केही सवारी साधन हिउँमा फसेका छन् । अवरुद्ध सडक खुलाउन डोजरको प्रयोग गरिएको भए पनि हिमपात जारी रहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । बिहान २ बजेदेखि शुरु भएको हिमपात अहिले पनि जारी छ । उता बैतडीको खोड्पे बजार, ढोल्यामोट, सिरभाबर, मुस्याचौर, सतबाजलगायतका स्थानमा राजमार्ग पूर्णरूपमा बन्द रहेको छ । रासस

युवा मन्त्रीको केटौले पन, ५ महिनामा ५ वटै विवादास्पद काम

काठमाडौं । युवा पुस्ताले मन पराएको युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको पाँच महिना पूरा भएको छ । पाँच महिनामा उनी पाँचौं पटक विवादमा परेका छन् । युवा मन्त्रीको केटौले पनले उनी प्रतिको विश्वास र भरोसा धर्मराउन थालेको छ । मन्त्री भए लगत्तै उनलाई बधाई दिन पुगेको एक नारीलाई मन्त्री भट्टराईले अंकमाल गरेको फोटो सामाजिक सञ्चालमा भाइरल बन्यो । फोटोका पात्रहरुले क्यामरालाई दोष दिएपनि धेरै मानिसले मन्त्री भट्टराईबाट गल्ती भएको टिप्पणी गरे । मन्त्री भट्टराईले पशुपतिको आर्यघाटमा आरती गर्नुपूर्व राष्ट्रिय गान गाउन दिएको निर्देशन पनि विवादास्पद बन्यो । आर्यघाटमा शब जलिरहेको हुने, आर्यघाट पुग्ने सबै मानिस शोकमा ढुबेको हुने र त्यस्तो बेलामा राष्ट्रिय गान गाउनु पर्छ भन्ने मन्त्री भट्टराईको निर्देशनकाे चौतर्फी आलोचना भयो । मन्त्रीका निर्देशनपछि आरतिपूर्व आर्यघाटमा राष्ट्रिय गान गाउन शुरु भएपनि चौतर्फी आलोचना भएपछि राष्ट्रिय गान गाउन बन्द गरिएको छ । मन्त्री भट्टराई यहाँ दोस्रो पटक चुके । भदौ २८ गते नेपालगञ्जबाट काठमाडौं आउने विमानमा निर्धारित समयभन्दा निकै ढिलो पुगेपछि मन्त्री भट्टराई तेस्रो पटक विवादमा परे । मन्त्री भट्टराई विमानमा ढिला पुगेको भन्दै विमानभित्रै होहल्ला भयो । यात्रुहरुले मन्त्रीलाई गाली गलौज गरे । बुद्ध एयरको उक्त उडान समय निर्धारित समयभन्दा झण्डै २ घण्टा पर धकेलिएपछि यात्रुहरु आक्रोशित भएका थिए । उक्त घटना टेलिभिजन, पत्रपत्रिका, अनलाईनहरुमा मुख्य समाचार बने । फेसबुक, ट्वीटरमा भाइरल बन्यो भने यूटुवमा ट्रेन्डिङ बन्यो । उक्त घट्नालाई लिएर शुरुमा मन्त्री भट्टराईले गणतन्त्रमाथि मण्डले आक्रमण भएको टिप्पणी गरे । उनको भनाईप्रति सामाजिक सञ्जालमा थप आक्रोश व्यक्त भएपछि घुमाउने शैलीमा माफि मागे । जनवरी एक तारिकमा दशरथ रङ्गशालामा आयोजित नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रमको असफलता उनको चौथो ठूलो कमजोरी थियो । राष्ट्रपति, मन्त्री, व्यवसायीहरुले भाषण गर्दै दीप प्रज्वलन गरेर नेपाल भ्रमण वर्ष २०२० उद्घाटन कार्यक्रममा अतिथि मात्र आए ।२५ हजार दर्शक अट्ने रंगशालामा ५ हजार मानिस पनि छिरेनन् । कारण एउटै थियो भाषणमुखी कार्यक्रममा जान पैसा तिरेर टिकट लिनुपर्ने व्यवस्था । पैसा तिरेर कोही गएनन् । निर्धारित समयभन्दा साढे दुई घण्टापछि शुरु भएको कार्यक्रममा राष्ट्रपतिले भाषण गर्दा सबै कुर्सी खाली थिए । भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा अष्ट्रेलिया पुगेका मन्त्री योगेश भट्टराई त्यहाँ पनि विवादमा फसे । अष्ट्रेलिया राष्ट्रिय संकटमा परेको बेलामा उनी अष्ट्रेलियामा र्यालीसहित विजनेश प्रमोशनमा जानुले उनको निर्णय क्षमतामा धेरैले प्रश्न गरेका छन् । मन्त्री भट्टराईले त्यहाँको सरकारसँग अनुमति नलिई र्यालि गर्न खाेज्दा प्रहरीले राेकेकाे समाचार अहिले चर्चामा छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम साउथ एसिया डटकमले सिड्नी सिटीको सुरक्षाकर्मीले भ्रमण वर्षको कार्यक्रममा रोक लगाएको समाचार प्रकाशित गरेको छ । आगलागीबाट अष्ट्रेलियामा करिव २ दर्जन मानिसले ज्यान गुमाएको र ५० करोड भन्दा बढी जंगली जनावर तथा बन्यजन्तु मरेको खवर आईरहेका छन् । अष्ट्रेलियन सरकारले राष्ट्रिय विपतको घोषणा गरेको छ । यतिबेला अष्ट्रेलियन नागरिकलाई नेपाल भ्रमणको लागि निम्ता गर्न पर्यटन मन्त्री विदेश भ्रमणमा जानु, त्यहाँको सरकारसँग सहमति नलिई सडक र्याली आयोजना गर्ने प्रयास गर्नु र अष्ट्रेलियन सरकारले नेपालको मन्त्री सहभागि भएको र्यालीमा अवरोध गर्नुले नेपालको बेइज्जत भएको छ र नेपालीको शिर झुकेको छ । अनेरास्ववियुको अध्यक्षबाट मूलधारको राजनीतिमा प्रवेश गर्दै ताप्लेजुङ जिल्लाबाट सांसद पदमा निर्वाचित योगेश भट्टराई मन्त्री हुनुपूर्व आशालाग्दा नेताको रुपमा उदाएको थिए । मन्त्री भएको पाँच महिनामा पाँच वटा विवादमा परेपछि उनी उनीप्रतिको आशा र विश्वास धर्मराउन थालेको छ ।

टाटा मोटर्सले शुक्रबारदेखि ‘जनवरी फेस्ट’ कार्यक्रम गर्दै, गाडी एक्स्चेञ्जमा बोनस सहित आर्कषक उपहार

काठमाडौं । टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले ‘जनवरी फेस्ट’ कार्यक्रमको आयोजना गर्ने भएको छ । मोटर्सले जनवरी २०२०को अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम यहि जनवरी १० देखि जनवरी १२ सम्म(पुस २५ गतेदेखि पुस २७ गतेसम्म)थापाथली स्थित टाटा मोटर्सका सोरुममा हुँदै छ । ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुजटुर लगायतका विशेष आर्कषणहरु रहेका कम्पनीले जनाएको छ ।

सिटी बसपार्क व्यवस्थापनमा नगरपालिका र व्यवसायी बीच विवाद, बोलपत्र प्रक्रिया रद्द गर्न अदालतमा रिट दायर

सुर्खेत ।  वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क व्यवस्थापनको विषयलाई लिएर व्यवसायी र नगरपालिकाबीच विवाद बढेको छ । नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई सुम्पिने तयारी गरेपछि सोही स्थानमा निर्माण पूर्व व्यवसाय गरिरहेका व्यवसायीहरु अदालत पुगेका छन् । नगरपालिकाले पूर्वसहमतिको पालना नगरेको भन्दै ती ५४ व्यवसायीले बोलपत्र प्रक्रिया रद्द गर्न उच्च अदालत, सुर्खेतमा रिट दायर गरेका हुन् । दुवै पक्षको बहसपछि उच्च अदालतले वीरेन्द्रनगर नगरपालिकालाई व्यवस्थापन प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । पुरानो बसपार्कमा व्यवसाय गरिरहेका निवदेकहरुले नगरपालिकाका प्रमुख देवकुमार सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललाई विपक्षी बनाई अन्तरिम आदेशसहितको उत्प्रेषणयुक्त परमादेश जारी गरी पाऊँ भनी पुस १३ गते रिट दायर गरेका थिए । सोमबार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नित्यानन्द पाण्डे र सुदर्शनदेव भट्टको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । बसपार्क टोल विकास संस्थाका अध्यक्ष इन्द्र थापाले बसपार्क क्षेत्रमा लामो समयदेखि भाडा तिरेर व्यवसाय गर्दै आएका व्यवसायीको पहलमा बसपार्क निर्माण भएको स्मरण गराउँदै नगरपालिकाले आफूहरुलाई बेवास्ता गरेपछि अदालत जानुपरेको बताए । उनका अनुसार बसपार्क निर्माणमा संस्थाको रु ५४ लाख साझेदारी छ । उनले भने, “बसपार्क निर्माण भएपछि हामीलाई प्राथमिकता दिने सहमति थियो, अहिले उक्त सहमतिबाट नगरपालिका पछि हट्न खोजेपछि समस्या निम्तियो ।” त्यस्तै, रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता नन्द भण्डारीले नयाँ बसर्पाकमा भोगाधिकार, लगानी र अग्राधिकारका हिसाबले पहिलो हक पुराना व्यवसायीकै हुने बताएका छन् । विसं २०६८ असार ३ गते नगरपालिका र व्यवसायीसहितको सर्वदलीय बैठकले साबिकको पुरानो बसपार्कमा व्यापार गरिरहेकालाई बसपार्क निर्माणपश्चात व्यापार–व्यवसाय गर्न दिने सहमति भएको थियो । उक्त सहमतिपत्र र बसपार्क निर्माणमा आर्थिक साझेदारीको विषयलाई लिएर व्यवसायी अदालतसमक्ष पुगेका हुन् । नगरपालिकाद्वारा सूचीकृत व्यवसायीलाई प्राथमिकता दिई आन्तरिक प्रतिस्पर्धाबाटै बोलपत्र आह्वान गर्न व्यवसायीको माग छ । यही २०७६ असोज ११ गते नगरकार्यपालिका बैठकले बसपार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गर्दै त्यसका लागि मङ्सिर १६ गते बोलपत्र आह्वान गरेको थियो । पुस २० गते खोलिएका बोलपत्रमध्ये नगरपालिकाले सबैभन्दा बढी मासिक रु ३१ लाख राजश्व तिर्ने फर्म स्वीकृत गरेको थियो । बसपार्क सञ्चालन गर्नेले ५४ सटर, ग्यारेज, रेष्टुरेण्ट भाडाका साथै प्रवेश र पार्किङलगायतका शुल्क उठाउन पाउनेछ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले पुराना व्यवसायीलाई प्राथमिकता दिने मात्रै निर्णय भएको बताए । “तत्कालीन सर्वदलीय बैठकमा निर्णय भएबमोजिम पुराना व्यवसायीलाई प्राथमिकता दिन्छौँ, तर ऐन–नियमअनुसार बोलपत्र प्रक्रियामा जानुको विकल्प छैन्”, उनले भने, “नगर विकास कोषको करिब रु सात करोड ऋणको सावाँ/ब्याज बुझाउनुपर्ने बाध्यता छ, पुरानै राजश्वमा भाडा दिन सकिँदैन ।” बसपार्क निर्माण भएको लामो समय बितिसक्दासमेत सञ्चालनमा ल्याउन नसकेको भन्दै नगरपालिकाको आलोचना हुने गरेको थियो । अदालतको आदेशका कारण बसपार्क सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएको छ । नगरपालिकाले यसअघि गोला प्रथामार्फत १२ यातायात व्यवसायी कम्पनीलाई निःशुल्क टिकट काउन्टर उपलब्ध गराइसकेको छ । नगर विकास कोषको ऋण सहयोगमा चार वर्ष लगाएर अत्याधुनिक संरचनासहितको बसपार्कको निर्माणकार्य गत जेठमा पूरा भएको हो । करिब चार हजार ५ सय वर्गमिटर क्षेत्रफल रहेको बसपार्कमा साना–ठूला गरी १२० बस अट्न सक्ने क्षमता रहेको छ । रासस