वस्तु निकासी वृद्धि गर्न देशैभर निर्यात गृह खाेलिँदै, मन्त्रालयले शुरु गर्यो निर्देशिकाको काम
काठमाडौं । सरकारले नेपालको व्यापार घाटा घटाउन निर्यात गृह निर्माण गर्ने भएको छ । स्वदेशमा उत्पादित वस्तुहरूकाे निर्यात वृद्धि गर्न सरकारले निर्यात गृह खाेल्ने भएकाे हाे । उद्योग मन्त्रालयले निर्यात गृह निर्माणका लागि निर्देशिका निर्माणको काम पनि शुरू गरेकाे छ । उद्योग मन्त्रालयका उपसचिव श्रीधर गौतमले अवैध निकासी तथा पैठारी नियन्त्रण ऐनअनुसार नै निर्यात गृह निर्माण गर्न निर्देशिका तयार गर्ने क्रममा रहेको बताए । साना, लघु, घरेलु, मझौला उद्योगी, सहकारी तथा किसानले ससानो परिमाणमा तुलनात्मक लाभका वस्तु उत्पादन गर्दै आएका छन्। तर, उनीहरूको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म छैन। अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा त्यस्ता वस्तुले बजार नपाएर उत्पादकले लागत खर्च उठाउन नसक्ने र उत्पादन गर्ने कार्यबाट बिमुख हुने समस्यालाई समाधान गर्न निर्यातगृह स्थापना गर्न लागिएको हो। व्यापार तथा निकासी प्रवर्द्दन केन्द्रको आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रम तथा बजेटमा साना,लघ,घरेलु तथा मझौला उद्योगहरुबाट उत्पादित अलैंची, अदुवा, फेल्ट, फेसनका सामाग्रीलगायत अन्य वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारसँग सम्पर्क स्थापित गर्न आवश्यक पर्ने विभिन्न किसिमका सेवाहरु उपलब्ध गराई निर्यात व्यापारलाई प्रवर्द्दन गर्ने कार्य अघि बढाउन स्वच्छ व्यवसायी समूहसंग सहकार्य गर्दै निर्यात गृहको अवधारणा अघि बढाउने कार्यक्रम उल्लेख थियो । नेपालबाट निकासी हुने वस्तुहरूको लागत कम गर्ने उनकाे भनाइ छ । वस्तुकाे गुणस्तर र सुधारद्वारा निकासीजन्य वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता बढाई नेपालको निकासी बृद्धिमा सहयोग पुर्याउने उद्देश्यले निर्यात गृहको अवधारणा अघि बढाउन लागेको उनले बताए । निर्यात गृहले नेपाली घरेलु तथा साना, मझौला, लघु, सहकारी एवं कृषकहरुबाट उत्पादित वस्तुहरूलाई सिधै अन्तर्राष्ट्रिय बजारमा पुर्याउन तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न मद्दत पुग्ने छ । निर्यात गृहको लागि सरकारले चालु आवमा शुरूवाती बजेट ३२ लाख रुपैयाँ विनियोजन गरेको छ । ठाउँ अनुसार फरक फरक किसिमका निर्यात गृहहरुको निर्माण हुने छ ।
मन्त्रालयले बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किए
डाेटी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स दुर्घटना हुने जोखिमको डरले कतिपय चालकले त चलाउनै छोडिसकेको बताइएको छ । डोटी जिल्ला अस्पतालमा आएको नयाँ एम्बुलेन्सका चालक रतन धामीले सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स थन्क्याएर पुरानै एम्बुलेन्स चलाइरहेको बताए । उनले मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तात्तिएर अत्यन्त गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति लिनखोजे पल्टिनेलगायतका समस्या भएको जानकारी दिए । उनले भने, “नयाँ एम्बुलेन्स चलाउनु त जोखिम मात्र छ, त्योभन्दा पुरानै ठीक छ, जोखिम मोलेर के यस्तो एम्बुलेन्स चलाउनु ।” मन्त्रालयले दिएकोभन्दा विभिन्न सङ्घ संस्थाले दिएका पुरानै एम्बुलेन्स चलाउन सजिलो र सुरक्षित लाग्ने गरेको अर्का एम्बुलेन्स चालक भीम विष्टले बताए । उनले भने, “एम्बुलेन्स पुराना छन्, रङ रोगनले मात्रै नयाँ भएको हो, त्यसैले चलाउनै डरलाग्छ ।” मन्त्रालयले बाँडेका एम्बुलेन्स धामधम बिग्रिन थालेको चालक बताउँछन् । ग्राउण्ड क्लिरियन्स पनि अत्यन्त कम भएका कारण पहाडी कच्ची सडकमा ती एम्बुलेन्स चलाउन अत्यन्त कठिनाइ भइरहेको उनीहरुको दाबी छ । निःशुल्क प्रदान गरिएका एम्बुलेन्समा ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क र सुत्केरीलाई ५० प्रतिशत शुल्क लिएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले दिएका एम्बुलेन्स अति जोखिमपूर्ण र खर्चिला भएका कारण चलाउन सक्ने अवस्था नभएको जिल्ला अस्पतालले जनाएको छ । कतिपय एम्बुलेन्सको इसिजी मनिटर पनि खसिसकेको दाबी चालकहरुको छ । एम्बुलेन्स दिए पनि सबै सुविधा र साम्रगी भने नदिइएको स्वास्थ्यचौकी र अस्पतालका कर्मचारीले गुनासो छ । मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कतिपय एम्बुलेन्समा ब्रेकको समस्या रहेको गुनासो आउने गरेको स्वीकार गरे । उनले भने, “एम्बुलेन्समा ब्रेकको समस्या भएको गुनासो आउने गरेको छ , हामीले मर्मतका लागि सिप्रदी ट्रेडर्समा पठाउने गरेका छौँ ।” चिकित्सक, परिचालिका र सघन उपचार कक्षसहितको सुविधा हुने भनिएको एम्बुलेन्समा इसिजी सेवामात्र रहेको पनि चालक बताउँछन् । मन्त्रालयले कात्तिक २० गते सुदूरपश्चिमका विभिन्न अस्पतालमा १६ एम्बुलेन्स वितरण गरेको थियो । रासस
सिरहामा ७६६ जनता आवास निर्माण हुने, सङ्घीय सरकारले छुट्यायो प्रतिघर साढे ३ लाख
लहान । जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षभित्र सिरहामा विपन्न परिवारका लागि ७६६ पक्की भवन निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आव २०७६/०७७ को असारसम्ममा सिरहा जिल्लामा ७६६ र सप्तरीमा ६६६ पक्की आवास भवन निर्माण हुने शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिएका छन्। बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५ सयका दरले बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १० हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताए। पहिलो चरणमा डोम र मेहतर जातिका व्यक्तिको घर निर्माण गर्नका लागि सिरहाका १७ र सप्तरीका १८ वटै स्थानीय तहलाई जग्गा व्यवस्थापनबारे पत्राचार गरिसकिएको प्रमुख झाको भनाइ छ । सिरहामा निर्माण हुने जनता आवास भवनका लागि प्रक्रिया अघि बढाइसकेको छ । प्रदेशसभा सदस्य सुनिताराम मोचीको संयोजकत्वमा रहेको समितिको बैठक केही दिनमै बस्ने तयारी गरिएको जानकारी दिनुहुँदै प्रमुख झाले छिट्टै बैठक बसेर घर निर्माण गर्ने प्रक्रियालाई अघि बढाउने बताएका हुन् । सिरहामा निर्माण हुने घरका लागि बजेट निकासा भइसकेको समेत उनले जानकारी दिए । रासस
मेची अस्पतालमा बेवारिसे अवस्थामा एक महिला, आफन्त खोजी गरिदिन प्रशासनकाे आग्रह
बनियानी । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा छ महिनादेखि एक महिला बेवारिसे अवस्थामा रहेकी छन् । प्रहरीले सडकबाट उद्धार गरी छ महिना अगाडि अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिदिएको थियो । उनी हाल रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक कोही पनि लिन नआएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले महिलाको आफन्त खोजी दिन वा संरक्षण गरिदिन सरोकारवाला निकायसमक्ष अनुरोध गरेको छ । राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न नसक्ने ती महिला आफू भारतको दार्जिलिङ बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् । कसरी नेपाल आइन भन्ने उनी स्वयंलाई थाहा छैन । उनको छिरिङ नाम गरेको छोरो रहेको जानकारी दिएकी छिन् । दोहोरो कुराकानीसमेत गर्न नसक्ने उनी आफ्नो नाम डिकी तामाङ भएको बताउँछिन् । करिब ६० वर्षीया उनलाई प्रहरीले खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो । अस्पतालको मेडिकल वार्डका इञ्चार्ज बिपी चौधरीले आफन्तको खोजी गरे पनि पत्ता लाग्न नसेको बताए । “रेखदेख गर्ने आफन्त नभएका कारण अस्पतालले उनको सरसफाइमा दैनिक रु १०० खर्च गरिरहेको छ”, उनले भने, “बिरामी आफैँ हिँड्डुल गर्न सक्ने अवस्था छैन ।” यता, सामाजिक अभियन्ता पुण्यप्रभा सुब्बा महिलाको आफन्त खोजीका लागि सक्रिय भएको बताए। उनले विभिन्न सञ्चारमाध्यम तथा सम्पर्क व्यक्तिमार्फत महिलाको आफन्तको खोजी गरिरहेको बताएका छन्। उनले भने, “प्रयास भइरहेको छ, तर अहिलेसम्म फेला परेको छैन ।” रासस
अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको आग्रह, नेपाल-अष्ट्रेलिया सिधा हवाई उडानकाे काम अघि बढ्दै
अष्ट्रेलिया । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति यहाँ आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे। मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै यसो हुन सकेमा पर्यटकको सङ्ख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुने बताए । अष्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उनले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह गरे । कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन यहाँ रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने बताए । उनले आफू अष्ट्रेलिया आएदेखिनै यहाँका नेपालीको साथबाट उत्साहित भएको पनि जानकारी दिएका छन् । गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गरे । उनले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान पनि अनुरोध गरेका छन् । अष्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीस ल्यूले यहाँको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यस वर्ष आफू पनि नेपाल जान इच्छुक रहेको बताए । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताए । यहाँको आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिए । सङ्घकै पहलमा मेलवन र सिड्नीमा एउटा एउटा बसमा भ्रमण वर्ष अङ्कित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उनको भनाइ थियो । सो अवसरमा महावाणिज्यदूत चन्द्र योन्जन, भिक्टोरिया प्रदेशका सांसद नेटाली हुट्चिङ्, अष्ट्रेलियाको रेस कमिस्नार चिन्टाङलगायतले भ्रमण वर्ष सफलताको शुभकामना दिए । कार्यक्रममा नेपाल भ्रमण गरेका ट्रेभोर मोयलरी, स्टेफोनिक मे, लुइसिन्डा पेर्टसन, लुई गिलगायतले नेपालको पर्यटकीय महत्वका बारेमा वर्णन गरेका थिए । गत वर्ष यहाँबाट ३३ हजार पर्यटक नेपाल आएको तथ्याङ्क छ । अष्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ । रासस
बागलुङ बसपार्कको निर्माण कार्य तीव्र गतिमा, वर्षौंदेखिको योजना साकार
बागलुङ । बागलुङ बसपार्कको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । ठेक्का सम्झौताअनुसार सरासर काम भएमा आउँदो वैशाखभित्रै बागलुङ बसपार्क बनिसक्नुपर्छ । अहिलेसम्म निर्माणको भौतिक प्रगति ५० प्रतिशत नाघेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणाधीन बसपार्कका लागि विसं २०५८ देखि जग्गाको जोहो गर्न थालिएको थियो । पुनः नक्साङ्कनसहित प्राविधिक पक्ष हेरफेर गर्दा बसपार्कको लागत रु एक करोड १३ लाख थपिएको छ । ठेक्का हुँदा निर्माण कम्पनीले रु सात करोड ६६ लाख ९९ हजारमा बसपार्क निर्माणको जिम्मा पाएको थियो । ‘डिजाइन’ परिवर्तनसँगै लागत बढेर रु आठ करोड ७९ लाख ९९ हजार पुगेको छ । जसमध्ये नगर विकास कोषको ऋण लगानी ९० प्रतिशत, नेपाल सरकारको सात र बागलुङ नगरपालिकाको साढे दुई प्रतिशत लगानी छ । वार्षिक पाँच दशमलव पाँच प्रतिशत ब्जाजदरमा २० वर्षभित्र तिर्ने गरी नगरपालिकाले कोषसँग ऋण सम्झौता गरेको थियो । उक्त ऋणको रकम बसपार्कमा आउजाउ गर्ने सवारी साधनबाट उठेको पैसाबाट तिर्ने लक्ष्य छ । बसपार्क बन्ने आशमा झण्डै रु एक अर्ब पर्ने १७ रोपनी जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका थिए । जग्गा व्यवस्थापन भए पनि बसपार्क निर्माणको योजना अलपत्र थियो । बागलुङ नगरपालिकाले विसं २०७४ फागुनमा नगर विकास कोषसँग ऋण सम्झौता गरेपछि बसपार्क बन्ने निश्चित भएको थियो । विसं २०७५ कात्तिकमा ठेक्का टुङ्गाएपछि गएको फागुन १५ गतेदेखि ‘आशिष फेवा जेभी’ले निर्माणको काम थालेको हो । तत्कालीन शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बसपार्कको शिलान्यास गर्नुभएको थियो । बसपार्कको मुख्य संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिए । उनका अनुसार ‘टर्मिनल’ भवनसहित बसपार्कको मैदान चौडा बनाउने काम सकिएको छ । व्यावसायिक भवन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । “आउँदो वैशाख मसान्तभित्रै निर्माण सक्ने लक्ष्यसहित धमाधम काम भइरहेको छ”, इञ्जिनीयर शर्माले भने । ‘टर्मिनल’, व्यावसायिक भवनसँगै ३५ मिटर चौडा र ९८ मिटर लम्बाइ भएको ‘पार्किङ’स्थल, सवारी मर्मत केन्द्र, फोहर सङ्कलन केन्द्र, भूमिगत ट्याक्सी ‘पार्किङ’, बगैँचालगायतका संरचना बसपार्कभित्र बन्नेछन् । बसपार्कको शुरुको ‘डिजाइन’मा केही फेरबदल हुँदा गत असारदेखि भदौसम्म निर्माण कार्य प्रभावित भएको थियो । बसपार्क निर्माणमा अब ढिलाइ नहुने निर्माण कम्पनीले जनाएको छ । “बसपार्कको ५० प्रतिशत काम पूरा भएको छ, तोकिएकै समयभित्र निर्माण सकिन्छ”, निर्माण कम्पनीका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले भने । अब पनि बसपार्क निर्माणमा ढिलासुस्ती भए जग्गादातामाथि ठूलो अन्याय हुने जग्गा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीले बताए । समितिको नाममा रहेको स्थानीयवासीको ५९ रोपनी जग्गामध्ये १७ रोपनी जग्गा विसं २०७१ मा बसपार्क बनाउन नगरपालिकालाई दिइएको थियो । तीमध्ये ५० प्रतिशत भने जग्गाधनीले फिर्ता पाउने छन् । ५० प्रतिशतमध्ये नगरपालिकालाई दिएर बचेको १२ रोपनीमा बस्ती नक्साङ्कन, बाटो, ढल, नाली, पानी, बिजुलीजस्ता पूर्वाधार निर्माण गरिनेछ । बसपार्कका लागि १८ वर्षदेखि जग्गा बाँझै छाडेका स्थानीयवासीले जग्गा फिर्ताको माग गरेका छन् । नगरप्रमुख जनकराज पौडेलले प्राविधिक समूहबाट अध्ययन गराई तत्काल जग्गादाताको समस्या समाधान गरिने बताए । व्यवस्थित र सुविधायुक्त बसपार्क निर्माण गर्ने वर्षौंदेखिको योजना साकार हुन लागेको उनको भनाइ छ । “बागलुङ विकासको प्रमुख पूर्वाधार बसपार्क हो । त्यसैले समयमै पूरा गर्न आफैं लागिपरेका छौं” उनले भने, “ठेकेदारलाई दैनिक भेटेरै काम सक्न निर्देशन दिइरहेका छौं । पहिलेभन्दा तीव्र रूपले काम भइरहेको छ ।” अहिले बागलुङ नगरपालिका–३ चिप्पलेटीमा अव्यवस्थित रुपमा अस्थायी बसपार्क सञ्चालित छ । रासस
एनआइसी एशिया बैंकको ‘सपोर्ट सेवा’ २४ सै घण्टा सञ्चालनमा
काठमाडाैं । एनआइसी एशिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको ल्याएको छ । यस सुविधाअनुसार बैंकले ग्राहकको गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने छ । सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्नेछन् । आफ्ना ग्राहकलाई कुनै पनि सहायता दिनका लागि बैंकले वर्षभरी नै सपोर्ट सेवा दिन लागेको बैंकले जनाएको छ ।
अक्सिजन खरिदका लागि महाकाली अस्पताललाई साढे चार लाख सहयोग
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले यहाँस्थित महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि रु चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक समारोहबीच उक्त सहयोग रकम अस्पताललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगरप्रमुख विष्टले अक्सिजन खरिदका लागि अस्पतालसित आर्थिक अभाव रहेको खबरले सो सहयोग रकम उपलब्ध गराइएको जानकारी दिए । अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा हरिकृष्ण श्रेष्ठले अस्पताललाई गरेको सहयोगप्रति नगरपालिकालाई आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएका छन् । यसअघि भीमदत्त नगरपालिकाले जिल्ला रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई समेत ब्लड बैंकका लागि आर्थिक सहयोग गरेको थियो । रासस