१ लाख लगानीबाट १६ करोडकाे सम्पत्ति जाेडिन् सबिताले, अब ‘कीर्तिपुर होजियरी’काे ब्राण्डिङ गर्ने
काठमाडाैं । सफल व्यवसायी बिलगेट्सले भनेका छन्- ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ हो, यो भनाई काठमाडौं कीर्तिपुरकी सबिता महर्जनसँग पनि ठ्याक्कै मिल्छ । संघर्षका पाटा र बाटाहरु पृथक किसिमका हुन्छन् । तिनै पाटा र बाटाहरुलाई आत्मसाथ गरी आफ्नो कामलाई निरन्तरता दिए सफल बन्न सकिन्छ भन्ने यो भनाई सबिताको जीवनमा पनि लागू हुन्छ । २०३६ सालमा काठमाडौंको कीर्तिपुरमा जन्मिएकी सबिताका संघर्षका भित्रिपाटाहरु अनगिन्ती छन् । अहिले सबिता ४० वर्षकी भइन्। तर, उनमा आफ्नो कामप्रतिको लगाव झुकाव भने निरन्तर बढ्दै गइरहेको छ । कामप्रति जति लगाव झुकाव छ त्यति नै शालिनता, भद्रता छ सबितामा । उनी आफ्नै व्यापार व्यवसाय गरेर जति उदाहरणीय बनेकी छिन् , त्यति नै गाउँलेहरुलाई सहयोग गरी नाम कमाउन सफल भएकी छिन् । हाल उनी कीर्तिपुर नगरपालिकाको महिला उद्यमी समितिकी उपाध्यक्षको रुपमा काम गरिरहेकी छिन् । सबिता महर्जनको जीवनमा समस्या, चुनौती र अवरोधहरु आए । तर, ती समस्या र चुनौतीहरुलाई उनले एउटा अवसर र सिकाईका रुपमा लिँदै अगाडि बढ्दै गइन् । डेढ लाखमा होजियरी उद्योग समिता महर्जनले वि.सं २०६७ साल चैत महिनामा ‘कीर्तिपुर होजियरी इन्डस्ट्री’ शुरु गरिन् । त्यो समय सबिताको लागि निकै चुनौतिपूर्ण थियो । उनी भन्छिन् ‘म त्यो समय सम्झन पनि चाहँदैन, न घरपरिवारले साथ दिए, न बैंकले ऋण पत्यायो । तर, मैले आँट गरें र अहिले यो अवस्थामा पुगेँ ।’ उनले शुरुमा करिब डेढ लाख रुपैयाँ खर्च गरेर होजियरी उद्योग सञ्चालन गरिन् । अहिले उनले व्यवसाय गरेको पनि ९ वर्ष बितिसक्यो । हाल उनले त्यही व्यवसायबाट करौडौंको सम्पत्ति जोडेकी छिन् । मैले हालसम्म १६ करोड रुपैयाँ आम्दानी गरिसकेकी छु, गार्मेन्ट फ्याक्ट्रीमा ४० जना नियमित काम गर्ने कामदार छन्, घरमै बसेर बुनाइको काम गर्ने ३ सय जना छन्’ उनले भनिन् । भनिन्छ नि- ‘जो घोडा चढ्छ उही लड्छ ।’ हो, यस्तै सबिताले पनि आफ्नो जीवनमा धेरै हण्टर ठक्करहरु खाईन् । लामो समयको संघर्षपछि हाल उनी आफ्नो समाजमा एक सफल उद्यमीका रुपले चिनिएकी छिन् । उनी उद्योगमा उत्पादित सामाग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि पहल गरिरहेकी छिन् । उनी हाल विभिन्न ब्राण्डका कपडा उत्पादन गर्दै आएकी छन् । बजारमा चर्चित शेर्पा ब्राण्ड उनकै उद्योगबाट उत्पादित ब्राण्ड हो । आफ्नै ब्राण्ड बजारमा ल्याउनका लागि आर्थिक समस्याका कारण पछाडि परेकी सबितामा आजभोली एक किसिमको उत्साह थपिएको छ । कीर्तिपुर होजियरी ब्राण्ड ल्याउने योजनामा गायक भक्तराज आचार्यले आफ्नो गीतमार्फत भनेका छन्- ‘हजार सपनाहरुको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरी भएर आउँछ ।’ कति सन्देश दिन खोजेको छ यी हरफहरुमा । यस्तै, उद्यमी सबिता महर्जनसँग पनि धेरै सपना छन् । जसलाई उनी पुरा गरेरै छोड्ने प्रतिज्ञा गर्छिन् । सबिताको एउटा ठूलो सपना छ । त्यो सपना हो कीर्तिपुर होजियरीको ब्राण्ड बजारमा ल्याउने । उनी आफ्नै होजियरीको ब्राण्ड बजारमा स्थापित गर्ने सोचमा छिन् । हाल उनको उद्योगमा महिनाको कम्तिमा ५ हजार स्विटर उत्पादन हुन्छन् । धेरै युवाहरुलाई प्रत्यक्ष रोजगारी दिने उनको अर्को सपना छ । यसै होजियरीलाई ठूलो उद्योग बनाएर धेरै मानिसकाे माग अनुसारकाे ब्राण्ड नेपाली बजारमा ल्याउने उनकाे सपना छ । विभिन्न डिजाइनका कपडाको अर्डरअनुसार उत्पादन गर्दै आएको उक्त उद्योगमा हातले बुनेका सामानको माग बजारमा पनि बढ्दै गएको उनी बताउँछिन् । सिलाई बुनाइले फेरिएको जीवन सबिता महर्जन घरकी पहिलो सन्तानका रुपमा जन्मिएकी थिइन् । मध्यम परिवारमा जन्मेकी उनी सानैदेखि केही गर्नु, आफ्नै खुट्टामा उभिन सक्नुपर्छ भन्ने भावनाकी थिइन् । कीर्तिपुरकै जनसेवा माद्यामिक विद्यालयबाट वि.स २०५० सालमा एसएलसी दिएकी उनले सानै उमेर देखिनै सिलाई बुनाइको काम गर्ने गर्थिन् । कक्षा ७ मा पढ्दै उनले घरमा सिलाइ बुनाइको काम गर्ने गरेको सुनाइन् । ‘म सानैदेखि केही सीप सिक्नुपर्छ भन्ने मानसिकतामा थिएँ, त्यति बेलै गाउँघरका दिदीबहिनीहरुलाई सिलाइ बुनाइ सिकाउँथेँ ’ उनले भनिन् । महर्जनले यो क्षेत्रमा काम गरेको २५ वर्ष भयो । त्यो समयमा छोरीलाई पढाउनुहुन्न, राम्रो घरकेटालाई रोजेर विवाह गराइदिने चलन थियो, त्यतिबेला म आफ्नो लागि खर्च आफै जुटाउने हुँदा घरबाट विवाहको दबाब नआएको उनले बताइन् । एसएलसी पास गरेलगत्तै उनले घरेलु तथा साना उद्योगबाट दिईने तालिम लिइन् । उनी काम गर्दै सिक्दै गइन् । उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट दक्ष श्रमिकको सम्मानसहित पाइन् । यो सम्मानले पनि उनको जीवनका एउटा इँटा थपियो । उनको कामप्रति लगाव झुकाव बढ्दै गयो । कामसँगै उनले पढाईमा पनि निरन्तरता दिइन् । उनले पद्मकन्या क्याम्पसमा आईए अध्ययन शुरु गरिन् । पढाईसँगसँगै उनले कलंकीको एक निट वयरमा काम शुरु गरिन् । २०५७ सालमा स्नातक तहको अन्तिम वर्षको परीक्षा सकिएसँगै उनको विवाह पनि भयो । जतिखेर उनी २१ वर्षको थिइन् । उनको जीवन अब कीर्तिपुरकै विकास महर्जनसँग जोडियो । हरेक महिलाले आफ्नो श्रीमान आफ्नो काममा साथ दिओस् । आफूलाई सहयोग गरोस् भन्ने नै हुन्छ । सबिताले पनि त्यस्तै सोचेकी थिइन् । तर उनलाई परिवारबाट सहयाेग भएन । घर परिवारको सहयोग विना नै उनले आफ्नो सिलाई, बुनाईको काममा निरन्तरता दिइन् । आफ्नो काम सँगसँगै उनले सामाजिक काममा पनि हात हालिन् । समाजमा असाय मानिसहरुलाई सहयोग गर्ने, सीप सिकाउने काम पनि गरिन् । महिलाले घर तथा खेतीपाती र घरलाई व्यवस्थित बनाउने हो भन्ने गलत मानसिकता बोकेको समाजमा महिलालाई आफूले चाहे बमोजिकको कार्य क्षेत्रमा स्थापित गर्न असाध्यै गाह्रो हुने उनको भनाइ छ । आफ्नो कामका साथै लक्ष्य चुम्नका लागि उनी निरन्तर लागि रहिन् । महिलालाई हरेक क्षेत्रमा आफूलाई स्थापित गर्नका लागि धेरै चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । सानो रकमका लागि कर्जा लिन बैंक जाँदा पनि उद्यमी महिलाको मात्र नभई सहायको हस्ताक्षरको खोजी बैंकिङ्ग क्षेत्रमा नै हुँदा एकल महिला उद्यमीलाई कर्जा लिनका लागि गाह्रो भईरहेको उनको भनाई छ । अझै पनि महिलाले केहि गर्न सक्दैनन् भन्ने मानसिकता बोकेको समाजले असहज वातावरण सिर्जना गरेको छ ।
गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको मुर्गियामा
काठमाडौं । गरिमा विकास बैंकले बुधबार रुपन्देही स्थित मुर्गिया शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गरेका हुन् । कार्यक्रममा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गियास्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको बताए । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले आधुनिक सुविधा सहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्ने उल्लेख गरे । यस बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले २०७६ पौष १३ गतेसम्म ३७ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब २५ करोड कर्जा लगानी गरेको छ ।
साढे ३१ कराेड लागतमा बृहत् खानेपानी आयोजना शुरु, घण्टौँ लगाएर खोलामा जानुपर्ने बाध्यताकाे अन्त्य
रोल्पा । रोल्पा नगरपालिकामा बृहत् खानेपानी योजना शुरु भएको छ । नगरपालिकाका वडा नं १, २ र ४ मा उक्त आयोजना सञ्चालन गरिएको हो । खानेपानीको समस्या भोग्दै आएका नगरवासीमा खानेपानी योजनाको काम शुरु भएपछि खुशियाली छाएको छ । आयोजनाबाट उक्तमा रहेका एक हजार ६० घरधुरीका पाँच हजार ८०७ जनसङ्ख्या लाभान्वित हुने बताइएको छ । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाको कूल लागत रु ३१ करोड ५२ लाख ४२ हजार ९६४ रहेको छ । आयोजनाका लागि ७० प्रतिशत रकम एशियाली विकास बैंकको ऋण सहायताबाट व्यहोरिने छ । यस्तै २५ प्रतिशत रकम नगर विकास कोषबाट खानेपानी उपभोक्ता समितिले ऋण लिएर व्यवस्थापन गरिने भएको छ । पाँच प्रतिशत रकम स्थानीय उपभोक्ताले नगद लगानी गर्ने भएका छन् । आयोजनाबाट सम्पवेल चार, रिजरवयर ट्याङ्की आठ र कार्यालय भवन निर्माण हुने लिवाङ बजार खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष लिलाधर आचार्यले जानकारी दिए । आयोजनाको मुख्य लाइन १० किलोमिटर र शाखा लाइन ४७ किलोमिटर हुने बताइएको छ । आयोजनाले एउटा सार्वजनिक शौचालयसमेत निर्माण गर्ने भएको छ । खानेपानीको उचित व्यवस्थापनको अभाव झेल्दै आएका नगरवासीमा आयोजनाले खुशी ल्याएको नगरवासीको भनाइ छ । “विद्यमान योजना निकै पुराना भएका कारण खानेपानी आपूर्तिमा असहजता हुँदै आएको थियो”, स्थानीय तीर्था आचार्यले भने, “खानेपानीको अनिश्चितता तथा सरसफाइका लागिसमेत घण्टौँ लगाएर खोलामा जानुपर्ने बाध्यता छ ।”
वर्षमा सात लाख पर्यटक भित्र्याउँछ कनकाई, टिकट बिक्रीबाट दुई करोड राजश्व सङ्कलन
भद्रपुर । झापाको मध्य भागस्थित कनकाई नगरपालिका जिल्लामा सबैभन्दा बढी पर्यटक भित्र्याउने नगरको रुपमा चिनिन्छ । पर्यटकीय गन्तव्य थोरै भए पनि मुलुकमा कहलिएको जामनुखाडी सामुदायिक वन र व्यक्तिगत लगानीमा सञ्चालित ह्याप्पीलेण्ड फनपार्कले मात्र वर्षमा सात लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै आएका छन् । स्थानीय दिनेश शिवाकोटी र मनोज शिवाकोटीले रु १६ करोड खर्च गरेर कनकाई नगरपालिका–३ मा ह्याप्पीलेण्ड स्थापना गरेका हुन् । जहाँ वर्षमा मात्र पाँच लाख आन्तरिक तथा बाह्य पर्यटकले दृश्यालोकन गरेको उनीहरुको भनाइ छ । उनीहरुले साढे पाँच बिघा जमिनमा आकर्षक पार्क, सेल्फीडाँडा, वाटरफल्स, आइफल टावर, पानीको फोहरा, बगैँचा र बाल उद्यानलगायतका कृत्रिम स्थान तयार गरी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएका छन् । दुई वर्ष अघि स्थापना गरेको पार्कमा फिल्म, टेलिसिरियल, म्युजिक भिडियो र विवाहको फोटो सेसन गर्न आउनेको दैनिक भीड लाग्ने गरेको सञ्चालक दिनेश शिवाकोटीले बताए । सुरुङ्गा बजारबाट करिब एक किलोमिटर उत्तर रहेको पार्कको प्रवेशद्वारमा रु १०० को टिकट काटेर प्रवेश गरेपछि सबैकुरा निःशुल्क हेर्न र पार्कभित्र रहेको पिङ, स्वमिङपुलमा निःशुल्क खेल्न सकिने उनको भनाइ छ । “नाफामुखी भन्दा सेवामुखी बनेका छौँ”, उनले भने, “हाम्रो उद्देश्य भनेको सस्तो मल्यमा बहुआयमिक मनोरञ्जन गराउने हो ।” पार्कमा नेपालका विरगञ्ज, हेटाैंडा, सिरहा, सप्तरीदेखि भारतको दार्जिलिङ, सिक्किम, आसम सिलुगढीदेखि विहारका विभिन्न स्थान, भूटान र बङ्लादेशका पर्यटक आउने गरेका छन् । पार्कभित्रै २५ वटा वनभोज (पिकनिक) स्थल सञ्चालन भइरहेका छन् भने थप २० वटा बनिरहेका छन् । कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वन नेपालकै पहिलो पर्यापर्यटन प्रवद्र्धन गर्ने सामुदायिक वन हो । जहाँ वर्षमा दुई लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन् । पूर्वपश्चिम राजमार्गको सडकखण्डबाट दुई किलोमिटर उत्तरमा रहेको सो वनलाई प्रदेश सरकारले प्रादेशिक प्राणी उद्यान केन्द्र तथा मिनी चिडियाखाना बनाउनका लागि पूर्वधार तयार गरिरहेको छ । चार सय ३४ हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वनभित्र, पाँचवटा ठूला पोखरी, झोलुङ्गे पुल, बाल उद्यान केन्द्र, ४० बढी वनभोजस्थल र विभिन्न जातका वन्यजन्तु रहेका छन् । जैविक विविधताले भरिपूर्ण सामुदायिक वनमा भारतको पश्चिम बङ्गाल, विहारदेखि नेपालकै विभिन्न स्थानबाट अध्ययन अनुसन्धानका लागि विद्यालयले विद्यार्थीसमेत लिएर आउने गरेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेमप्रसाद सिटौलाले बताए । वनले पर्यटकलाई असुविधा नहोस् भनेर विभिन्न स्थानमा शौचालय, बिजुली बत्ती, खानेपानी र टहरासमेतको व्यवस्था गरेको उनको भनाइ छ । सो क्षेत्रमा आउने पर्यटकलाई खाना बस्नका लागि राम्रो प्रबन्ध भएका होटलसमेत छन् । नयाँ वर्ष २०७७ देखि स्थानीय क्षेत्रमा होमस्टे सञ्चालनको तयारी, कोसेली घर निर्माण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष सिटौलाको भनाइ छ । यहाँ आउने पर्यटकले रु ५० तिरेर वन क्षेत्रको अवलोकन भ्रमण गर्ने व्यवस्था मिलाइएको छ । वन्यजन्तु हेर्ने पोखरीमा नौका विहार गर्ने पर्यटकले थप रु ५० का दरले तिर्नुपर्ने व्यवस्था गरिएको छ । वार्षिक टिकट बिक्रीबाट रु दुई करोड राजश्व सङ्कलन गर्दैै आएको वनले पाँच प्रतिशत स्थानीय सरकारलाई करबापत बुझाउने गरेको छ । वन परिसरमा ३०० व्यक्ति अटाउने क्षमताको हलसमेत बनाइएको छ । जहाँ जिल्लाबाट दैनिक जसो विभिन्न सङ्घसंस्थाका साधारणसभा, तालीम, गोष्ठी सञ्चालन भइरहने गरेको उहाँको भनाइ छ । अध्यक्ष सिटौलाले नेपाल भ्रमण वर्षलाई सफल पार्नका लागि बनमा आवश्यक पूर्वाधार थप भइरहेको बताउँदै भने, “यो वर्ष दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेका छौँ ।” उनले विद्यालयको आधिकारिक परिचयपत्र लिएर आएमा विद्यार्थीले २५ प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको जानकारी दिए । कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले नगरले चालू आर्थिक वर्षमा मात्र पर्यापर्यटनका लागि रु एक करोड बजेट विनियोजन गरेको बताए । उनले निजी क्षेत्रमा सञ्चालन गरिएका पर्यटकीयस्थललाई प्रवद्र्धन गर्न र सामुदायिक रुपमा सञ्चालित स्थानको पर्यापर्यटनलाई थप आकर्षक बनाउनका लागि सो बजेट खर्च गरिने बताए । उनकै संयोजकत्वमा नेपाल भ्रमण वर्षलाई सफल पार्न र नगरका पर्यटकीय स्थानमा जतिसक्दो धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका लागि २१ सदस्यीय नगर पर्यटन समितिसमेत बनेको छ । समितिले पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई पर्यटकमैत्री व्यवहार गराउने र पर्यटकीय सम्भाव्यता रहेको स्थानको अध्ययन गरेर पूर्वाधार निर्माण गरिने बताए । कनकाई नगरपालिकाभित्र कोटीहोम, धनुषकोटी धाम र निजी लगानीमै सञ्चालित कनकाई फनपार्कलगायतका पर्यटकीय स्थान रहेका छन् । रासस
काभ्रेका दुई वडाको सिमा विवाद ४४ वर्षपछि समाधान
काभ्रेपलाञ्चोक । कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाका दुई वडाको सीमा विवाद ४४ वर्षपछि समाधान भएको छ । विसं २०३२ मा साविक पिपलटार र भुम्लुटार गाउँपञ्चायतको सीमा (हाल भुम्लु गाउँपालिकास्थित दुई वडा) विवाद हालै समाधान गरिएको हो । तत्कालीन सीमा विवादका कारण ४४ वर्षदेखि दुई वडाका करिब एक हजार परिवार लालपूर्जावहीन अवस्थामा रहँदै आएका छन् । “तत्कालीन गाउँपञ्चायतको सीमा विवाद हालै मात्र समाधान भयो”, वडा नं ८ का वडाध्यक्ष मोतिलाल तामाङले भने । उनका अनुसार विसं २०३२ सालमा जग्गा नापीका बेला साविक पिपलटार गाउँपञ्चायतमा रहेको खेतीयोग्य जमिनबारे स्थानीय ‘उप्रती र खेरेल समुदायबीच’ विवाद भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाउँपञ्चायत भएको थियो । त्यसयता स्थानीय बासिन्दा लालपूर्जाविहीन बन्न पुगेका थिए । सीमा विवादकै कारण स्थानीय बासिन्दा लालपूर्जाविहीन अवस्थामा रहेपछि सीमा विवाद समाधानका लागि सरकारी एवं गैरसरकारी पक्षबाट निकै पहल भएको ७ नं का वडाध्यक्ष रमेशराज खरेलले बताए । हाल दुई वडाको सिमानामा पिल्लर गाड्ने काम भइरहेको उनले बताए । वडा नं ७ का ३६५ र ८ नं वडाका ५८९ पीडित परिवारसँग सीमा विवादकै आफ्नो जमिनको लालपूर्जा नभएको वडाध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार सीमा–विवाद समाधानका लागि प्राकृतिक स्रोत द्वन्दरुपान्तरण केन्द्रले विसं २०७५ कात्तिकदेखि विभिन्न चरणमा स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दासँग छलफल एवं बैठक गराएको थियो । सीमा विवाद समाधानार्थ स्थानीयसँग परामर्श तथा ६२ बैठकबाट सीमा विवाद समाधान गरिएको केन्द्रका मध्यक्षेत्रीय संयोजक रिता मानन्धरले बताए । “केन्द्रको आफ्नै द्वन्द्वरुपान्तरणको प्रक्रियाबाट गाउँपालिकाका दुई वडाको सीमा विवाद समाधान भयो” उनले भने । उनका अनुसार केन्द्रद्वारा पाँच वर्षको अवधिमा जिल्लाका प्राकृतिक स्रोतमा आधारिक बहुसरोकारवाला १५ प्राकृतिक स्रोत द्वन्द्व समाधान भएका छन् । दुई वडाका भूकम्पपीडित लालपूर्जाविहीन भएपछि भूकम्पको दुई वर्षपछि जग्गाधनीले जमिन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इञ्जिनीयरले दिएको निस्साका आधारमा मात्रै सरकारी राहत अनुदान उपलब्ध गराइएको थियो । “भूकम्पको दुई वर्षपछि सरकारी आवास निर्माण राहात अनुदान उपलब्ध गराइएपछि यहाँका भूकम्पपीडितले घर बनाउन थालेका थिए” वडाध्यक्ष तामाङले भन । उनका अनुसार त्यसअघि परिचयपत्र, नागरिकता भए पनि जग्गाको लालपूर्जा नभएका कारण भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका थिएनन् । सरकारले लालपूर्जाविहीन पीडितको समस्यालाई मध्यनजर गर्दै २०७५ भदौमा आवास निर्माणसम्बन्धी कार्यविधि बनाएपछि लालपूर्जाविहीनले किस्ताबन्दीमा सरकारी अनुदान लिएर घर बनाउन थालेका हुन् । लालपूर्जाविहीन परिवारलाई पुनःनापी गरी लालपूर्जा वितरण गर्न जिल्लास्थित नापी कार्यालयले गत मङ्सिर २० गते ८ नम्बर वडास्थित भुम्लुमा फिल्ड कार्यालय स्थापना गरेको छ । दुवै वडाको ७५ प्रतिशत नापी तथा लालपूर्जा निर्माणको काम सकिएपछि वितरणको काम शुरु गरिने नापीप्रमुख कृष्णप्रसाद न्यौपानेले बताए । उनका अनुसार वडा नं– ७ मा पनि केही महिनापछि अर्को फिल्ड कार्यालय स्थापना गरी चार महिनाको समयमा लालपूर्जा वितरणको काम सकिनेछ । वडा नं ८ का चित्रबहादुर श्रेष्ठले सीमा विवाद समाधानपछि लालपूर्जा वितरण गर्न गाउँमै फिल्ड कार्यालय स्थापना भएकामा खुशी व्यक्त गरे । उनले भने “हामी खुशी छौँ, अब लालपूर्जा पाएपछि जग्गा बेचविखन तथा बैंकिङलगायतका काम गर्न सजिलो हुने आशामा छौँ ।” उनका अनुसार यसअघि ‘बीऊबिजन’का आधारमा जग्गाको किनबेच तथा अंशबण्डा हुँदै आएको थियो । रासस
विषयविज्ञ भन्छन्- ‘गणितविना नेपाली विद्यार्थीको भविष्य अन्धकार हुन्छ, कक्षा ११ र १२ मा नो क्रेडिटमा मात्रै गणित
काठमाडौं । कक्षा ११ र १२ नो क्रेडिटमा मात्रै गणित विषय समावेश गराउने भएपछि विरोध सुरु भएको छ । सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने भने पछि जनस्तरबाट विरोधको आवाज चर्किन थालेको हो । अब विज्ञानका विषयहरु बायोलोजी, फिजिक्स र केमेस्ट्रीका विद्यार्थीहरुले चाहेमा मात्रै नो क्रेडिटमा गणित विषय पढ्न पाउने छन् । नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभाग उपप्राध्यापक डा. जीवन काफ्लेले प्रविधिको समयमा विज्ञान तथा प्रविधिको आधार स्तम्भको रुपमा रहेको गणित तथा विज्ञानका विषयहरुलाई उच्च महत्व दिनु पर्नेमा आज विपरीत दिशातिर फर्कन लागेको अनुभव आफुले महसुश गरेको बताए । ‘अबको पाठ्यक्रम विज्ञान, प्रविधिमैत्री भएमा मात्र हामी विकासको सहि मार्ग पहिल्याउन सक्छौ, विज्ञान र गणितबिना विद्यार्थीहरुको जीवन अन्धार हुन्छ ।’ उनले भने । ‘आज विश्वका धेरै देशहरुले पाठ्यक्रमको नविनतम धारणा अन्र्तगतमा जोड दिएका छन्, जसले गर्दा उनिहरु आर्थिक विकास तथा समृद्धिमा फड्को मारिरहेका छन,’ उनले भने, ‘यसलाई सकारात्मक शिक्षाको रुपमा हामीले लिनु पर्दछ, अन्यथा २१ औं शताब्दिमा ज्ञान, विज्ञान तथा प्रविधिक जनशक्तिको खाँचो राज्यले गरिरहने तर हामी भने देश तथा विदेशमा बिक्न नसक्ने जनशक्ति उत्पादन गरिरहने छौं । यसको बारेमा राज्य संचालकहरुले बेलैमा ध्यान दिन जरुरी रहेको काफ्लेको भनाइ छ । शिक्षाविद विद्यानाथ कोइरालाले नो क्रेडिट विषयले विद्यार्थीले ज्ञान मात्रै लिनु सक्ने बताए । विद्यार्थीको प्रमाणपत्रमा उसले गणित अध्ययन गरेको भनेर थाहा नहुने उनको भनाइ छ । हिसानका उपाध्यक्ष रामेश्वर अर्यालले विज्ञान र गणितविना पाठ्यक्रम अधुरो हुने बताए । ‘सिडीसीले के आधारमा गणित विना नै विज्ञान अध्ययन गर्न सकिन्छ भनेर गणित हटायो हामी नै अच्चममा परेका छौ,ँे अब विज्ञान र गणित हटाएपछि नेपालमा इन्जिनियरको पढाइ नै रोकिन्छ, इन्जिनियर अध्ययन गर्न कक्षा ११ र १२ मा १०० पुर्णाकंको गणित अध्ययन गरेको हुनु पर्नेछ ।’ उनले भने । पाठ्क्रम विकास केन्द्रका निर्देशक लेखनाथ पौडेलले विद्यार्थीले चाहेमा नो क्रेडीटमा गणित पढ्न सक्ने बताए । ६ वटा विषयको ठाउँका ७ वटा विषय हुन जान्छ । तर, विद्यार्थीले चाहे पढ्न पाउने उनको भनाइ छ । विज्ञान विषयमा गणित नहुँदा के हुन्छ ? विज्ञान विषयको भाषा नै गणित हो । बिना भाषाको सिकाईको कल्पनानै गर्न सकिँदैन । गणित, विज्ञानको आधार र मेरुदण्ड दुवै हो । विज्ञान गणितबाट शुरु हुने हो । विज्ञानका मोडल र इकोइसनमा गणित नै हुन्छ । विज्ञानको जुनसुकै विषयमा र क्षेत्रमा गणित हुन्छ । विज्ञानबाट गणित हट्यो भने विद्यार्थीले विज्ञान पढ्नै सक्दैनन् । कक्षा ११ र १२ को भौतिकशास्त्र समुहमा अहिले पनि गणित छ । जीवशास्त्र विद्यार्थीले गणित पढ्न नपाउने बनाउँदै छ । पहिले अनिवार्य विषय कम थिए । अहिले बढेको छन् । अनिवार्य विषय धेरै भएपछि विद्यार्थीले ऐच्छिकमा गणित पढने अवस्था नै रहँदैन । गणित पढेका पनि भौतिकशास्त्रको कक्षामा हुन्छन् । नपढेका पनि हुन्छन् । अनि कसरी विद्यार्थीलाई शिक्षकले पढाउने भन्ने हुन्छ । भौतिकशास्त्र कोर्ष हेर्ने हो भने पनि पहिलो पाठमा नै गणित छ । गणित हटाउने हो भने विद्यार्थी कमजोर हुनेछन् । त्यसैले गणित विनाको विज्ञान हुनै सक्दैन कक्षा ११ र १२ का ऐच्छिकका रुपमा विज्ञानका विषयहरुमा भौतिक विज्ञान, रसायन विज्ञान, गणित तथा जीव विज्ञान आधारभूत विज्ञानका आधार स्तम्भ हुन् । तर यो पाठ्यक्रममा जीवविज्ञानका विद्यार्थीहरुले गणित पढ्न नपाउने गरि तयार गरिएको छ । जीवविज्ञानका विद्यार्थीहरु गणित पढ्नबाट वञ्चित हुँदा भविष्यमा उनीहरु उच्च अध्ययनको अवसरवाट समेत वञ्चित हुने देखिन्छ । जबकि कृषि तथा वन विज्ञान कार्यक्रममा भर्ना हुन आउने विद्यार्थी नै जीव विज्ञान समुहका हुन्छन् । पोखरा, काठमाडौं, पुर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयहरुमा इन्जिनियरि तथा सूचना प्रविधि कार्यक्रमहरुमा प्रवेश पाउन कम्तिमा १०० पूर्णाकंको गणित उत्तिर्ण गरेको हुन पर्ने प्रस्ट व्यवस्था हुँदाहुँदै पनि यो व्यवस्थाले गर्दा जीव विज्ञान समुहका विद्यार्थीहरुले उक्त विश्वविद्यालयहरुका यी कार्यक्रमहरु अध्ययन गर्न पाउँदैनन् । हाम्रो देश नेपाल नै यस्तो मुलुक हो शैक्षिाक पाठ्यक्रम तालमेल र पठन पाठन विषय विवादमा पर्दै आएको छ । कहिले भोकेसनल पाठ्यक्रम भनेर थपिने त कहिले त्यसैलाई झिकिने गरिन्छ । कहिले नैतिक शिक्षा आवश्यक ठानिन्छ त कहिले त्यो बेकारको भार ठानेर हटाइने गरिन्छ ।नेपालको नीति निर्माताहरु नै आफ्नो दोस्रो पुस्तालाई के पढाउने, के नपढाउने र के सिकाउने भन्नेबारे सधैँ अन्योल देखिन्छ ।
शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई २० करोड घुस मागेकाे आरोप
काठमाडौं । चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीलाई झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन २० करोड पैसा मागेको आरोप लगाएका छन्। बानेश्वरमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले उपाध्यक्ष गिरीले आफुलाई द्दारिका होटलमा बोलाई २० करोड पैसा मागेको आरोप लगाएका हुन् । दुर्गा प्रसाईं गिरीले आफुलाई मंसिर १५ गते द्दारिका होटलमा बोलाएर पैसा मागेको उनले दाबी गरेका छन् । प्रसाईंले आफुले घुस दिन नमान्दा बिएण्डसिको सम्बन्धन्को निवेदन नै रोकेको बताएका छन् ।
ब्रिथ क्लिन–अनमास्क नेपाल, पोखराको लेक साईडमा वातावरण प्रदुषणसम्बन्धी जनचेतना
काठमाडौं । जगदम्बा स्पोर्टसअन्तर्गत पोखरा राईनोज टिमले हालै पोखराको लेक साईडमा वातावरण प्रदुषणको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम टि.भि.एस तथा वातावरण सम्बन्धित संस्था (क्लिन इनर्जी नेपाल) को सहकार्यमा भएको हो । पुस १५ गतेबाट शुरु भएको पोखरा स्ट्रिट फेस्टिवलमा विभिन्न कार्यक्रमका साथ सामाजिक जनचेतना अभियानलाई जनमानसमा वातावरण प्रदूषणको अवस्था, न्युनीकरण गर्ने कार्यदिशा तथा स्वच्छ वायु मेरो अधिकार भन्ने नाराका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रत्येक अवलोकनकर्ताहरुलाई वातावरण प्रबद्र्धनमा मेरो साथ र न्युनीकरण गर्न हस्ताक्षर संकलन गरी सम्बन्धित वातावरण सरोकार समितिलाई संकलित हस्ताक्षर हस्तान्तरण गर्ने, वातावरण प्रदूषणबाट बच्ने उपाय र आगामी कार्यक्रममा म्याराथोन, रातको समयमा ओपन मुभि नाईट, ¥यालि तथा बृक्षारोपण कार्यक्रमको बारेमा जानकारी गराइएको थियोे । आगामी दिनमा नेपालमा हुन लागेको बहुप्रतिष्ठित ईपिल क्रिकेटलाई प्रबद्र्धन गर्ने हितले क्रिकेट सम्बन्धि विभिन्न खेल सामग्रिलाई पनि जगदम्बा स्पोर्टसले उक्त महोत्सवमा स्टल राखी खेलकुद पर्यटनलाई प्रबद्र्धन गर्ने सफल भएको छ ।