अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै
बनियानी । नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (टे«डमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । “कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ”, उनले भने, “पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाउँदैछन् ।” उनले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताए । स्वास्थ्य, वातावरणीय, पर्यावरणीयलगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने उहाँले बताउनुभयो । हाल प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो । लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने प्रमुख अधिकारी बताउँछन् । “कानूनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चियाले विदेशमा त्यति धेरै विश्वास आर्जन गर्न सकेको थिएन”, उनले भने, “लोगो कार्यान्वयनमा आएपछि नेपाली चिया क्षेत्रमा धेरै फाइदा पुग्ने छ ।” विदेश निर्यात हुने कृषि जन्य वस्तुमा चिया प्रमुख बालीमा पर्छ । रासस
बिना जानकारी बत्ती गए उर्जा मन्त्रालयलाई फोन गर्नुस्
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पूर्वजानकारीविना विद्युत सेवा नियमित नभए तत्काल खबर गर्न आग्रह गरेको छ। पूर्वजानकारी विना विद्युत सेवा नियमित नभए ऊर्जामन्त्री वर्षमान पुनको सचिवालय या विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले फेसबुकमार्फत् आग्रह गरेका हुन्। उनले त्यसका लागि मन्त्रीको सचिवालयको हटलाइन नम्बर ११५१ या ९८५११०९८३५ नम्बरमा सम्पर्क गर्न भनेका छन्। नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङले चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै आम मानिस फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने चिन्तामा देखिन्छन्। दैनिक १६ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर आम मानिसको मन जितेका घिसिङलाई दोस्रो कार्यकाल पनि प्राधिकरणमा जिम्मेवारी दिनुपर्ने माग चर्को रुपमा उठिरहेको छ। उनको पक्षमा सडकमा समेत प्रर्दशन भइरहेको छ।
आजदेखि आन्तरिक हवाई उडान शुरु, भाडा बढ्यो कि बढेन ?
काठमाडाैं । आजदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको हाे। उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ। सीमित सङ्ख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन्। उनीहरुले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन्। कतिपय गन्तव्यमा न्यूनतम भाडादरमा नै सेवा सञ्चालन गरिने एयरलाइन्सले उल्लेख गरेका छन्। आन्तरिक उडान सुरु भएसँगै सबैजसो एयरलाइन्सको पहिलो रोजाइ पर्यटकीय क्षेत्र पोखरा, चितवनलगायत गन्तव्य छन्। आज बुद्ध एयरले पहिलो उडान पोखरामा गरेको छ। यती एयरलाइन्सले पनि पहिलो उडान पोखरा गर्दैछ। यतीले आज तीन उडान पोखरा, भरतपुर र विराटनगर उडान गर्नेछ। यता नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले असोज ५ गतेदेखि सञ्चालन हुने आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ। निगमले काठमाडौँदेखि देशका विभिन्न १० गन्तव्यमा हुने उडान तालिका बनाएको हो।
मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम
बैतडी । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक, सडकपेटी र बजारक्षेत्रमा प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो । मास्कको उचित प्रयोग र विसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने जिल्ला अस्पताल बैतडीका चिकित्सक डम्बरजङ्ग सिंहले बताए । “मास्कको भित्री भागमा थुक, र्याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुनसक्ने भएकाले जथाभावी फाल्दा सङ्क्रमणको जोखिम हुन्छ”, उनले भने । मास्कको उचित व्यवस्थापन हुन नसके सङ्क्रमण फैलन सक्ने उनको भनाइ छ । मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्ने र मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने सुझाव उनको छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्ने गरेको बताइएको छ । आम नागरिकले मास्कको उचित प्रयोग र विर्सजनका बारेमा गम्भीर हुन सके सङ्क्रमण न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्थ्य कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म ३८८ जनाका कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । रासस
६९ अर्ब लगानीमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने तयारी, डेढ वर्षमा बन्ने
काठमाडाैं । महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको छ । पुल कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ । पूर्व मेचीदेखि महाकालीअन्तर्गत जयनगर–बर्दिवास र बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आइसकेपछि जनकपुरसहित प्रदेश २ को सांस्कृतिक र पर्यटकीयसहित आर्थिक क्षेत्रमा ठूलो क्रान्ति ल्याउने नेपाल सरकारको जिकिर छ । दुई सय किमी प्रतिघण्टा गुड्ने योजनासहित विद्युतीय रेल बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आएपछि बर्दिवासबाट वीरगञ्ज मुस्किलले पौने एक घण्टाभित्रै पुग्न सकिने रेल विभागले जनाएको छ । भारतीय पक्षले रक्सौल पाँच किलोमिटरसम्म निर्माण कार्य सम्पन्न गरिसकेको छ । बर्दिवास–सिमरा १०८ किमिको बर्दिवासदेखि लालबन्दीसम्मको २५ किमि खण्डको पूर्वाधार निर्माण कार्य पूर्णरूपमा सम्पन्न गरेको छ । नेपाली भूमिमा निर्माण हुने पहिलो रेलमार्ग बर्दिवास सिमरा हुने विभागले जनाएको छ । बर्दिवासदेखि निजगढसम्मको ७० किमि रेलमार्ग बनाउन १० वटा ठूला पुल बनाउने काम पनि जारी रहेको छ । अवस्था समान्य भए सबै निर्माण कार्य पूरा गरी करिब डेढ वर्षभित्रै बर्दिवास–वीरगञ्ज मार्गमा रेल सञ्चालनमा आउने विभागका महानिर्देशक बलराम मिश्रको जिकिर छ । कोरोना महामारीका कारण बर्दिवास–वीरगञ्ज खण्डमा निर्माण कार्य प्रभावित भएको भन्दै अवस्था सामान्य भएमा चाँडै निर्माण कार्यले तीव्रता पाउने महानिर्देशक मिश्रले बताए । विसं २०६७ साउन महिनामा भारतीय कम्पनी राइट्स कन्सल्टयान्टले प्रतिकिलोमीटर रु ३५ देखि ४५ करोड लागत लाग्न सक्नेसहितको सम्भाव्यता अध्ययन गरेको आधारमा पाँच वर्षभित्र पूरा गर्ने गरी राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर ६९ अर्ब ५२ करोडको लागतमा ९४५ किमिको पूर्व पश्चिम रेलमार्गको कार्य अघि बढेको हो । रासस
स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य, प्रतिकेजी ७५ रुपैयाँ
वीरगंज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो । वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तलाई ठग्दै आएको खबर प्राप्त भएपछि स्थानीय प्रशासनले छापा मार्न थालेको हो । प्रशासनले व्यापारीहरुलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्तहरुले राहत पाएको उपभोक्ता विजय पण्डितले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीहरुबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए । स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यसअघि व्यापारीहरुले कृत्रिम मूल्य सिर्जना गरी प्रतिकेजी रु १०० मा बेच्दै आएका थिए । तोकिएको मूल्यभन्दा बढी रकम लिएर प्याज बिक्री वितरण गरेको पाइए स्थानीय प्रशासनले कानूनबमोजिम कारवाही गरिने बताइएको छ । यसका साथै व्यापारीहरुले आलु, प्याजलगायतका खाद्य सामग्रीको बढी मूल्य लिएर कालोबजारी गरेको उजुरी आएमा पनि कारवाही गरिने जनाइएको छ । वीरगञ्जमा थोक तथा खुद्रा बिक्रेताको सङ्ख्या ५०० को हाराहारीमा छ । भारतले प्याजको निर्यातमा रोक लगाएपछि वीरगञ्ज नाका हुँदै एउटा पनि प्याज बोकेको ंट्रक नेपाल भित्रिएको छैन । यसअघि वीरगञ्ज भन्सार नाकाबाट दिनको तीन ट्रकभन्दा बढी प्याज नेपाल भित्रिने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताउनुभयो । यता प्याजको अभाव हुन थालेपछि सिमावर्ती नाका रक्सौलबाट तस्करहरुले साइकलमा राखी नेपालतर्फ प्याजको तस्करी गर्न थालेको पाइएको छ । रासस
ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको छ: उपाध्यक्ष अग्रवाल
काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड-१९ पश्चात ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको बताएका छन्। नेपाल महिला चेम्बरद्वारा आईतबार आयोजित नेपालको अर्थतन्त्रमा कोभिड-१९ को असर, चुनौती र अवसर विषयक अन्तक्रिया कार्यक्रम माझ उनले सो कुरा बताएका हुन । वेमिनार कार्यक्रम माझ प्रमुख वक्ताका रुपमा प्रस्तुती दिने क्रममा उपाध्यक्ष अग्रवालले लामो समयसम्म जारी बन्दाबन्दीले नेपालको उद्योग व्यापारको क्षेत्र नराम्रोसँग प्रभावित बनेको उल्लेख गर्दै खाद्यान्न, स्वास्थ्य सामाग्री वाहेकका अन्य क्षेत्रले ठुलो घाटा व्यहोर्नु परेको बताए । उनले निजी क्षेत्रले अप्ठयारो परिस्थितीको सामना गर्नु परेकोले देशको कुल गर्हास्थ उत्पादनमा ह्रास आएको बताउँदै अर्थतन्त्रमा परेको विविध असर बारे चर्चा समेत गरे । निजी क्षेत्र साथै अनौपचारिक अर्थतन्त्रलाई जोगाउने दायित्व सरकारको भएको कुरा राख्दै उनले बजेटबाट निराश बनेको निजी क्षेत्र मौद्रिक नितीबाट उत्साहित बनेको तर राहत वितरणमा ढिलाई भएको भन्दै कटाक्ष समेत गरे । उनले आर्थिक पुनरुत्थानका मोडल बारे चर्चा गर्दै सरकारले निजी क्षेत्रलाई त्राण दिन चुक्न नहुने राय पेश गरे । कार्यक्रम माझ उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष अग्रवालले ई कमर्श प्लेटफर्मको उपयोगिता, बिमा क्षेत्रको महत्व, कृषि क्षेत्रको सम्भावना, महिला उद्यमीलाई राज्यबाट प्राप्त हुन सक्ने सुविधा बारे भए गरेको प्रतिबद्धता र सेवा प्रवाह बारे वर्णन गर्दै विकसित परिस्थितीलाई मध्यनजर गर्दै दृढतापुर्वक अघि बढनुपर्ने जिकिर गरे । कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड-१९ बाट बढि जसो महिला उद्यमीहरु प्रभावित बनेको बताउँदै बिना धितो पाँच लाखसम्म र व्यक्तीगत वा सामूहिकरुपमा व्यवसाय गर्न चाहेमा १५ लाख रुपैयाँसम्म परियोजना धितोमा राखेर ऋण पाउने सुविधा उपयोग कसरी गर्न सकिन्छ भन्ने बारे प्रकाश पार्दै सहुलियतपुर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधिले महिला उद्यमीलाई दिइने ऋण, धितो र ब्याज अनुदानको व्यवस्था गरेको उल्लेख गरिन । साथै, उनले महिला उद्यमीहरुले भोगेका समस्यालाई हल गर्न नेपाल चेम्बरको साथमा महिला उद्यमीहरु आपसी समन्वयका आधारमा अघी बढनुपर्ने बताइन् । यस अघि उनले कार्यक्रका प्रमुख वक्ता चेम्बर उपाध्यक्ष अग्रवालको व्यक्तित्व र योगदान बारे प्रकाश पार्ने क्रममा उनमा आर्थिक क्षेत्रको बिषयगत ज्ञान प्रबल रहेको उल्लेख गर्दै प्रस्तुती निकै फलदायी हुने विश्वास व्यक्त गरेकी थिईन् । त्यसैगरि नेपाल महिला चेम्बरकी पूर्व अध्यक्ष समेत रहेकी इजरायलका लागि नेपाली राजदुत डा। अन्जन शाक्यले ईजरायलमा कोभिड-१९ ले पारेको प्रभाव र नेपाल एवम् इजरायल बीचका विविध आयाम बारे प्रकाश पार्दै नेपालमा लगानी भित्र्याउन कानुन बाधक रहेको औंल्याइन ।
नबिल बैंकले नेपालमै पहिलाेपल्ट सुरु गर्यो फोनबाटै ऋण लिने सुविधा
काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । बैंकले साेमबारदेखि लागु हुने गरी फोनबाट लोन लिने सुविधा सुरु गरेको हाे । याेसँगै नबिलकाे तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्ने छन् । यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने बैंकले जनाएकाे छ । यो सुविधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने बैंकले जनाएकाे छ । बैंकका प्रमुख कार्यकारी अधिृकत अनिल केशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रकृया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकले मनपराउने बताए । नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरवको विषय भएकाे शाहले बताए ।