हुन्डाईकाे दशैं-तिहार याेजना: १ लाख सम्मको नगद छुटका साथै ग्राण्ड आई १० नियोस जित्न सकिने
काठमाडौं । हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘यसपालिको दशै तिहार वेलकम टु हुन्डाई परिवार’ योजना ल्याएको छ । यो योजनाको अवधि यहि असोज ५ देखी मंसिर ५ गतेसम्म लागु हुने कम्पनीले जनाएकाे छ । यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई अउरा १ थान र हुन्डाई ग्राण्ड आई १० नियोस १ थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन् । कम्पनीले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरुलाई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि गरेको छ । कम्पनीले नेपाल भरी १३ शोेरुमहरु, तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ्ग, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन् ।
अब ४३ लाख ९६ हजारमा हुन्डाई क्रेटा, यस्ता छन् नयाँ विशेषता
काठमाडौं । अब नेपालमा पनि हुन्डाई क्रेटा एसयुभी बीएस–६ मापदण्डको कार खरिद गर्न पाइने भएको छ । नेपालमा हुन्डाईको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज भर्चुअल रुपमा सो कार सार्वजनिक गरेको हो । हुन्डाईले दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै क्रेटा सार्वजनिक गरेको बताएकाे छ । सात रंगमा उपलब्ध रहेको सो कारको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रहेको छ भने अन्य फिचरसहितकाे बढीमा ६५ लाख ९६ हजारसम्ममा खरिद गर्न पाइने छ । डिजेल र पेट्रोल दुवै इन्जिनमा भएका क्रेटा नेपालमा बीएस ४ (प्रदूषण मापदण्ड)को बिक्री हुँदै आएकोमा अब बीएस ६ को नयाँ गाडी बजारमा उपलब्ध भएको हाे। बीएस ४ मापदण्डमा बढी प्रदूषण उत्सर्जन हुन्छ भने बीएस–६ मा त्योभन्दा धेरै कम प्रदूषण उत्सर्जन हुने कम्पनीले जनाएकाे छ। ४ सिलिन्टर रहेको गाडीमा १६ भल्भ रहेका छन्। गाडीमा डिस र ड्रम ब्रेक सिस्टम रहेको छ। ५० लिटरको फ्युल ट्यांक रहेको छ। यस्तै, डिजेल इन्जिनको इ–प्लस १३ सय ९६ सीसीको हो भने एसएक्स १५ सय ८२ सीसीको गाडी हो। १.५ पेट्रोल इन्जिनका भेरिएन्ट सबै १५ सय ९१ सीसीका हुन्।
साेमबार सुनको मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । साेमबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेकाे छ । आइतबार प्रतितोला ९७ हजारमा कारोबार भएको सुन साेमबार बढेर प्रतितोला ९७ हजार २ सय रूपैयाँमा पुगेकाे हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । आइतबार ९६ हजार ५ सयमा रुपैयाँमा कारोबार भएको तेजावी सुन साेमबार २ सय रुपैयाँ बढी अर्थात ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँले बढेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन अर्थात आइतबार १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
मर्जरसम्बन्धी सिभिल बैंकको जवाफः अहिलेसम्म औपचारिक निर्णय भएको छैन
काठमाडौं । सिभिल बैंकले मर्जरकाे विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताएको छ । हिमालयन बैंकसँग मर्जरमा जाने हल्ला फैलाएर सेयर मूल्यमा असर पार्ने काम गरेको हो वा होइन भन्ने नेप्सेको प्रश्नमा बैंकले उक्त जवाफ दिएको हो । मर्जरको लागि अनौपचारिक कुरा भएपनि हालसम्म बैंकको मर्जर समिति तथा संचालक समितिबाट कुनैपनि औपचारिक निर्णय नभएको सिभिल बैंकले जानकारी दिएको छ । ‘नेपाल राष्ट्र बैंकले लिएको मर्जरको नीति अनुरूप बैंकले मर्जर गर्नको लागि सम्भावित उपयुक्त बैंकहरु खोजी गर्ने क्रममा विभिन्न बैंकहरुसँग अनाैपचारिक रुपमा कुरा अगाडि बढाएको भएतापनि हालसम्म बैंकको मर्जर समिति तथा संचालक समितिबाट कुनैपनि औपचारिक निर्णय भएको छैन ।’, बैंकले जनाएको छ । त्यसैले बैंकले सेयर मूल्यमा असर पर्ने कुनैपनि सूचना प्रवाह नगरेको र यो विषयमा प्रकाशित समाचारहरुको बारेमा बैंकको कुनै आधिकारिक निर्णय नभएको समेत बैंकले जनाएको छ । आइतबार(असाेज ४ गते) सेयर काराेबार खुलेकाे केही मिनेटमै सिभिल बैंकको सेयर मूल्य एकाएक १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको थियो । यससँगै हिमालयन र सिभिल बैंक मर्जरमा जार्ने हल्ला फैलाएर बैंकको सेयर मूल्यमा चलखेल गरिएकाे जानकारहरुले बताएका थिए । सम्बन्धित समाचारः हिमालयन बैंक मौन बस्दा सिभिल बैंक तनावमा नेप्सेले सिभिल बैंकलाई सोध्योः हिमालयनसँग मर्जरको हल्ला चलाएर सेयरको भाउ बढाएको हो ?
पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना
काठमाडाैं । आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम २० दशमलव शून्य र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । रासस
नाडेप लघुवित्तको असोज १४ गते बुक क्लाज, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको आगामी असोज १४ गते बुक क्लोज हुने भएको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । लघुवित्तको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक साधारण सभा असोज २८ गते बस्दै छ । सभा साे दिन बिहान ११ बजे काठमाडौंको नार्गाजुनस्थित राानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्टमा बस्ने भएको छ । उक्त सभाले हाल रहेकाे सेयर संरचना ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ गर्ने विशेष प्रस्तावलाइ पारित गर्ने छ । त्यस्तै, सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने छ । संस्थाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्तावलाई साधारण सभाले पारित गरेसँगै असोज १३ गतेसम्म कायम सेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्ने छ । सम्बन्धित समाचारः नाडेप लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ४० करोड नाघ्ने
यस कारण सर्याे नेकपा सचिवालय बैठक
काठमाडाैं । आज दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालय समितिको बैठक भोलिका लागि सारिएको छ। नेकपा सचिवालय समितिका एक सदस्यका अनुसार बैठक मंगलबार साढे १२ बजेका लागि सारिएको हो। बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ। आजै बस्ने भनिएको बैठक ‘प्राविधिक’ कारण सारिएको बताइएको छ भने अर्काे गृहकार्य नपुगेको भन्दै पनि बैठक सारिएकाे बताइएकाे छ । आईतबार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो। बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायको नियुक्ति र पार्टी एकताका बाँकी कामका विषयमा एजेण्डा तय गरेको थियो।
नेपालको वित्तीय क्षेत्र हल्लाउने फिनसेन फाइल्स के हो ? यी ९ बैंकले गल्ती गरेकै हुन् ?
काठमाडौं । खोज पत्रकारिता केन्द्र (खोपके) ले एक समाचारले नेपालको वित्तीय क्षेत्रमा हलचल पैदा गरेको छ । गैरकानुनी रुपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालमा रहेको बहुराष्ट्रिय बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसहित ९ बैंक संलग्न भएको खोपकेको खुलासाले वित्तीय क्षेत्रमा हलचल पैदा गरेको हो । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन)’ ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरुको अन्तराष्ट्रिय संजाल ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आइसीआइजे)’ यस्तो खुलासा गरेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि यसको व्यापक चर्चा सुरु भएको छ । समाचारमा स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नेपाल, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, मेगा बैंक, प्राइम कमर्शियल बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाडू, नेपाल बंगलादेश बैंक र एपेक्स डेभलपमेन्ट बैंक र १० कम्पनीहरु रौनियार ब्रदर्श एण्ड कम्पनी, सुभ समृद्धि प्रालि, सास्ता ट्रेडिङ कम्पनी, सेतीदेवी एक्सपर्ट इम्पोर्ट प्रालि, एलडी इन्टरनेसनल प्रालि, फेल्ट एण्ड यार्न प्रालि, ओमन्स पेपस क्राफ्ट कम्पनी, नेपाल इन्भेष्टमेन्ट, एक्मी मनी ट्रान्सफर कम्पनी र सन्नी इन्टरप्राइजेज गैरकानुनी रुपमा आर्जन गरेको शंकास्पद धन ओसार पसारमा संलग्न रहेको खुलासा गरिएको छ । बीबीसीका अनुसार फिनसेन फाइल्स २६५७ दस्तावेजको खुलासा हो । यस्तो खुलासामा २१ सय शंकास्पद गतिविधि (सस्पिसियस एक्टिभिटी रिपोर्टस्) छन् । तर, बीबीसीले सस्पिसियल एक्टिभिटी रिपोर्टसलाई आफैमा गलत कार्यको प्रमाण होइन भनेको छ । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि अन्तराष्ट्रिय कानुन र अभ्यास अनुसार आफ्ना ग्राहकले गरेको कारोबार शंकास्पद लागेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो देशको नियामक निकायलाई त्यस्तो कारोबार बारे जानकारी गराउनु पर्छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो देशको नियामक निकायलाई दिएको यस्तो विवरण नै शंकास्पद गतिविधि विवरण (सस्पिसियस एक्टिभिटी रिपोर्ट) हो । आफ्नो कुनै ग्राहकको कारोबार शंकास्पद देखियो भनेर बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नियमनकारी निकायलाई विवरण दिदैमा त्यस्तो कारोबारबाट कालोधन सेतो बनाएको वा सो कारोबार अबैध धन आर्जन गरेपछि गरिएको हो भन्ने प्रमाणित भने हुँदैन । कानुन अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहक को हुन् भनेर चिनेको हुनुपर्छ । यसैकारण नेपाल सहित अधिकांश देशले ग्राहक पहिचान (केवाईसी) फाराम गराउने गरेका छन् । नेपालमा पनि बैंक तथा वित्तीय संस्था तथा सम्पत्ति शुद्धीकरण निवारणको लागि पहल गर्नुपर्ने संस्था र निकायहरुले शंकास्पद कारोबारको विवरण नेपाल राष्ट्र बैंक अन्तरगत रहेको वित्तीय जानकारी इकाईलाई दिने गरेका छन् । इकाईमा बर्सेनि यस्तो विवरण लाखौंको संख्यामा हुने गरेको तथ्यांक छ । वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/७६ मा ५३ लाख ६४ हजार ९ सय ४९ विवरण वित्तीय जानकारी इकाईमा प्राप्त भएका थिए । सोभन्दा अघिल्लो आर्थिक वर्षमा ४५ लाख ९३ हजार ८ सय १७ विवरण प्राप्त भएका थिए । यी विवरण नेपाल राष्ट्र बैंकले ताेकेकाे दैनिक १० लाख रुपैयाँभन्दा बढी काराेबारकाे हाे । यस्तै, शंकास्पद कारोबारको विवरण पनि राष्ट्रको वित्तीय जानकारी इकाईमा जाने गरेको छ । इकालका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १३ सय ५१ वटा शंकास्पद कारोबारको रिपोर्टिङ भएको छ । सोभन्दा अघिल्लो आर्थिक वर्षमा ८ सय ८७ वटा विवरण शंकास्पद भन्दै इकाईमा पुगेका थिए । यसरी प्राप्त भएका शंकास्पद कारोबारको विवरण अध्ययन गरी इकाईले सम्बन्धित निकायलाई जानकारी दिने गर्छ । इकाईले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी), राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायलाई त्यस्तो विवरण उपलब्ध गराएर अनुसन्धानको लागि सहयोग गर्ने गर्छ । अन्तराष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले शंकास्पद कारोबार विवरण आफ्नो नियामक निकायलाई पेश गरेकै आधारमा त्यस्ता ग्राहकले कालोधन सेतो बनाएको प्रमाणित हुदैन । शंकास्पद कारोबार देखिए पनि उनीहरुको धन आर्जन गैरकानुनी वा सम्पत्ति शुद्धीकरण प्रयोजनको लागि हो भन्ने शंका सम्बन्धित कानुन पालना गराउने निकायलाई लागेर अनुसन्धान सुरु भएपछि रकम रोक्का राखिन्छ र प्रमाणित भएपछि कानुन अनुसार कारबाही हुन्छ । फिनसेन फाइल्स खुलासाले विश्वका सबैभन्दा ठूला केही बैंकहरुबाट कसरी सम्पत्ति शुद्धीकरण गरिएको थियो र अपराधीहरूले रकम लुकाउन कसरी गुमनाम ब्रिटिस कम्पनीहरूको प्रयोग गरेका थिए भन्ने कुरा देखाएको छ । ती दस्ताबेज (फाइल्स्) बजफीड् वेबसाइटलाई दिइएको थियो । त्यस्तै, खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) सँग पनि ‘सस्पिसियस एक्टीभीटी रिपोर्टस’ बाँढिएको बीबीसीको समाचारमा उल्लेख छ । सम्बन्धित समाचार नेपालका ९ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा ३४ अर्ब ८४ करोड शंकास्पद धन ओसारपसार