विकासन्युज

काेराेना संक्रमितकाे सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर गराैं

काठमाडाैं । काेराेना संक्रमितसँग सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर परीक्षण गर्न सरकाले अनुराेध गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काेराेना संक्रमितसँग सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर परीक्षण गर्न अनुराेध गरेका हुन् । उनले काेराेना संक्रमितसँग सम्पर्कमा आएको पाँचाैं दिनसम्म आइसाेलेसनमा बसेर मात्र परीक्षण गर्न सुझाएका छन् । यसरी परीक्षण गर्दा मात्र नतिजा सही आउने उनले बताए । यस्तै सरकारले अब आइसाेलेसनकाे जम्मेवारी स्थानिय तहलाई दिएकाे छ । यसरी स्थानिय तहले आइसाेलेसनकाे बनाइसकेपछि हाेम आइसाेलेसन वा संस्थागत आइसाेलेसनमा राखेकालाई १४ दिनमा डिस्चार्ज गरिनुपर्न गाैतमले बताए ।

अब ‘मेरो सेयर’बाट सेयर भर्न ‘पीन कोड’ चाहिने

काठमाडौं । अब ‘मेरो सेयर’ सफ्टवेयरबाट जुनसुकै कम्पनीको सेयर भर्दा ‘पीन कोड’ चाहिने भएको छ । सीडीएस एण्ड क्लियरिङ्गले मेरो सेयर प्रयोगकर्ताले अबदेखि सार्वजनिक निष्काशन भएका धितोपत्र खरिदको लागि आवेदन दिँदा अनिवार्य रुपमा पीन कोड प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि मेरो सेयर सफ्टवेयरमा रहेको माई आश्वा मार्फत सार्वजनिक निष्काशन भएका सेयर आवेदन प्रविष्टि गर्दा वान टाइम पासवर्ड (ओटीपी) प्रयोग गर्नुपर्ने थियो । उक्त सेवालाई प्रतिस्थापन गरी सो को सट्टामा पर्सनल आईडेन्टीफिकेसन नम्बर(पीआईएन) कोडको व्यवस्था गरेको सीडीएससीले जानकारी गराएको छ । सीडीएससीका अनुसार उक्त पीन कोड ४ डिजिटको हुने छ । जुन सेट गर्नको लागि प्रयोगकर्तालाई मेरो सेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य पीन कोड सेट गर्नुपर्ने छ । र, अबदेखि बजारमा निष्काशन हुने सेयरमा आवेदन दिँदा उक्त पीन कोड प्रयोग गर्नुपर्ने छ । कसरी लिने पीन कोड ? उक्त पीन कोड लगानीकर्ता आफैले सेट गर्नुपर्ने सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताएका छन् । ‘मेरो सेयर लगइन गर्दा युजरनेम, पासवर्ड राखेर लगइन गरेपछि पीन कोड हाल्ने अप्सन आउँछ । त्यसमा मेरो सेयर प्रयोगकर्ताले अक्षर(अल्फाबेट) नभई अंक (न्युमेरिक नम्बर) हाल्नु पर्ने छ । जुन ४ वटा डिजिटको हुनुपर्ने छ ।’, सीईओ आचार्यले विकासन्युजसँग भने । साथै, उक्त पीन कोड लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर भर्दा अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने उनले जानकारी दिएका छन् । यदि उक्त काेड बिर्सिएमा लगानीकर्ताले पुनः रिसेट पनि गर्न मिल्ने व्यवस्था रहेकाे छ । ‘मेरो सेयर’ सफ्टवेयरलाई थप सुरक्षित बनाउने उद्देश्यले सीडीएससीले याे नयाँ व्यवस्थाले लागू गरेकाे हाे । यसअघि प्रयाेग भइरहेकाे वान टाइम पासवर्ड (ओटीपी) ले बढी लाेड दिने भएकाे र सुरक्षाकाे हिसाबले पनि उपयुक्त नहुने भएकाेले याे पीन काेडकाे व्यवस्था गरिएकाे सीईओ आचार्यले बताए ।

नेपालमा १३२५ जना काेराेना संक्रमित थपिए, १० जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय २५  जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार ७ सय ३५ जना रहेका छन् भने आजसम्म ९ लाख १४ हजार २ सय ९० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ९६६ जना निकाे भएसँगैं हालसम्म ४६ हजार २ सय ३३ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १० जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ४११ पुगेकाे छ ।

फेवातालमा डुंगा सञ्चालन शुरु

काठमाडाैं । पर्यटकीय नगरी पोखरा स्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आएको छ । लकडाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लक डाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो । सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिइएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । उनले सरकारले दिएको निश्चित मापदण्ड अनुसार डुङ्गा सञ्चालन शुरु गरिएको बताए । डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको उनले बताए । डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उनले बताए ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने नेकपा सचिवालय बैठककाे निर्णय

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ । नेकपाको पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा आजको सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पुनर्गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको उनले बताए । मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभएपनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । कसलाई पठाउने भन्ने विषयमा आवश्यकता अनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको र यस्तै संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल भएको उनले बताए । यस्तै पार्टी एकीकरणका बाँकी कामहरु पुरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको र यस्तै स्थायी कमिटी र केन्द्रिय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने, केन्द्रिय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल हुने श्रेष्ठले बताए ।  

पशुपतिनाथ मन्दिर कहिले खुल्छ ?

काठमाडाैं । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको हो । दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । दुई/दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ । विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने उनले बताए । कार्यकारी निर्देशक डा. खतिवडाले सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्न सकिने अवस्था रहेको बताएका छन् । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भएपनि विशेष पूजाको व्यवस्था भने नगरिने भएको छ । भण्डारी र भट्टहरुलाई संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था नहुने उनले बताए । अहिले नित्य पूजा नरोकिएपनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ । सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिक स्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राखदै केही दिन अघि पशुपति क्षेत्रमा प्रदर्शन भएको थियो ।

हिमालयन बैंक मौन बस्दा सिभिल बैंक तनावमा

काठमाडौं । सिभिल बैंक लिमिटेडको मर्जर सम्बन्धि प्रस्तावमा हिमालय बैंक मौन बस्दा बजारमा तरङ्ग पैदा भएको छ । आइतबार सिभिल बैंकको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएपछि सर्किट ब्रेक लागेको छ भने नेपाल स्टक एक्स्चेञ्जले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको छ । गत साउनमा सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरको इच्छासहित लागि लिखित प्रस्ताव गरेको थियो । तर उक्त प्रस्तावमा हिमालयन बैंक मौन बसेको छ । ‘मर्जरको आसय पत्र पठाएका हौं । तर हिमालयन बैंकले कुनै प्रतिक्रिया दिएको छैन’ सिभिल बैंक सञ्चालक समितिका एक सदस्यले विकासन्युजसँग भने । सिभिल बैंकले मर्जरको लागि प्रस्ताव पछि हिमालयन बैंकले मर्जर कमिटी गठन समेत गरेको थियो । ‘सिभिल बैंककाे पत्र आएको करिब २ हप्ता पछि हिमालयन बैंकले मर्जर कमिटी गठन गरेको हो । तर त्यो संयोग मात्र थियो’ हिमालयन बैंकका एक सञ्चालकले विकासन्युजसँग भने- ‘हिमालयन बैंकले मर्जरको लागि गृहकार्य गरिरहेको छ । तर सिभिल, सेन्चुरी, बैंक अफ काठमाण्डू लगायत जति पनि बैंकको नाम आएको छ, त्यो बजार हल्ला मात्र हो ।’ एक वर्षअघि पनि हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरको केही अनौपचारिक कुरा भएको, अहिले सिभिल बैंकले लिखित आसयपत्र पठाएको तर हिमालयन बैंकमा यस विषयमा छलफल समेत नभएको उनले बताए । ‘मर्जर कमिटीको २ वटा बैठक भएका छन् । दुबै बैठकमा कुनै पनि बैंकको नाममा छलफल भएको छैन ।’ मर्ज केका लागि भन्नेमा हामी बहस गर्दै छाैं । मर्ज हिमालयन बैंककाे आवश्यकता हाे कि राष्ट्र बैंककाे दवावले मर्ज गर्नु पर्ने अवस्था आएकाे हाे ? हामीले ठूलाे बैंकसँग मर्ज गर्ने कि साना बैंक एक्वाएर गर्दै जाने हाे ? पहिला हामी यस्ता विषयमा प्रष्ट हुनु जरूरी छ’  हिमालयन बैंककाे स्राेतले भन्याे । दुई बैंकबीच मर्जको हल्लाले बजारमा आइतबार सिभिल बैंकको सेयर प्रतिकित्ता १५ रुपैयाँले बढेको छ । गत बिहीबार १५० रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर आइतबार १६५ पुगेर सर्किट ब्रेक लागेको हो । यस विषयमा नेप्सेले सिभिल बैंकसँग २० घण्टे स्पष्टीकरण सोधेको छ । सिभिलकाे प्रस्तावमा हिमालयन बैंक डेढ महिनादेखि माैन बस्दा सिभिल बैंकलाई तनाव भएकाे छ । सम्बन्धित समाचार नेप्सेले सिभिल बैंकलाई सोध्योः हिमालयनसँग मर्जरको हल्ला चलाएर सेयरको भाउ बढाएको हो ?  

विमानस्थलमा बढ्दै उडानको चाप, दैनिक १० अन्तरराष्ट्रिय उडान

काठमाडाैं । बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तरराष्ट्रिय उडान भएका थिए । बन्दाबन्दी र निषेधाज्ञाको झण्डै पाँच महिनापछि अहिले निश्चित मापदण्डसहित सीमित सङ्ख्यामा नियमित अन्तरराष्ट्रिय उडान भइरहेको छ । पिसिआर सहज भएका मुलुकबाट नियमित अन्तरराष्ट्रिय उडान, अन्य केही मुलुकबाट चार्टर्ड उडान तथा नेपाली श्रमिक भएका मुलुकबाट उद्धार उडान पनि भइरहेका छन् । अहिले अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक २० वटा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो सङ्ख्या भनेको दैनिक १० एयरलाइन्स आवतजावत हो । कोभिड–१९ महामारीबाट सुरक्षित रहनका लागि स्वास्थ्य प्रोटोकल पालना गर्दै अन्तरराष्ट्रिय उडान भइरहेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले सातामा जम्मा १०० अन्तरराष्ट्रिय उडान हुन्छन् । एयरलाइन्सले पालैपालो दैनिक १० वटासम्म उडान हुने गरेको छ । शुरुमा नेपालका तीनसहित १२ अन्तरराष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीले प्राधिकरणबाट अनुमति लिएकामा पछिल्लो पटक सरकारले अन्तरराष्ट्रिय उडान सङ्ख्या बढाउने निर्णय गरेसँगै थप दुई एयरलाइन्सले अन्तरराष्ट्रिय उडानको अमुमति पाएका छन् । असोज १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले अहिले नियमित, चार्टर्ड र उद्धार उडानसहित दैनिक १० वटाका दरले आगमन र प्रस्थान दुबै गरी २० उडान सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार यो सङ्ख्या भनेको विगत बन्दाबन्दीको अवधिमा गरिएको उडानकै हाराहारी हो । अहिले जनशक्तिलगायत सबैखाले व्यवस्थापनका हिसाबले दैनिक २० भन्दा बढी उडान सञ्चालन गर्न नसकिने महाप्रवन्धक केसीले बताए । भोलि सोमबार असोज ५ गतेदेखि आन्तरिक उडान पनि सञ्चालनमा आउने भएपछि अन्तरराष्ट्रिय विमानस्थलको व्यस्तता अझ बढेको छ । स्वास्थ्य सावधानी अपनाएर सुरक्षित उडानका लागि जनशक्ति व्यवस्थापनदेखि स्रोतसाधनको उपलब्धतालगायत काममा विमानस्थल निकै व्यस्त हुनेछ । महाप्रबन्धक केसीका अनुसार अहिले भइरहेको अन्तरराष्ट्रिय उडानअन्तर्गत नियमित र चार्टर्ड उडानमा आउने यात्रुको पिसीआर रिपोर्ट नेगेटिभ भएमा सिधै घर वा गन्तव्य जान दिइन्छ । उद्धार उडानबाट आउने यात्रुले होल्डिङ सेन्टरमा जानुपर्ने हुन्छ । यो सबै व्यवस्थापनका लागि विमानस्थललाई निकै हम्मे पर्दै आएको विमानस्थल व्यवस्थापनले जनाएको छ । विमानस्थलका अनुसार अहिले सबै प्रकारका उडानमार्फत दैनिक एक हजार २०० देखि एक हजार ५०० सम्म यात्रु नेपाल आएका छन् । यसरी आउने यात्रुको स्वास्थ्य प्रक्रियालगायत व्यवस्थापन गर्नुपर्ने भएकाले विमानस्थलमा चाप बढेको छ । अन्तरराष्ट्रिय विमानस्थल अहिले दैनिक २१ घण्टा सञ्चालनमा छ । अन्तरराष्ट्रिय विमानस्थलमा हाल तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनलीले सेवा सञ्चालन गर्दै आएका छन् । बन्दाबन्दीको छ महिनापछि असोज ५ देखि सञ्चालन हुने आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको विमानस्थलले जनाएको छ । वायुसेवा प्रदायकले पनि स्वास्थ्य प्रोटोकल पालना गरेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । शुरुको एक साता सामान्य अवस्थाको २५ प्रतिशत मात्र आन्तरिक उडान हुनेछन् । क्रमशः उडान सङ्ख्या बढाइने नियामक प्राधिकरणले जनाएको छ । सामान्य अवस्थामा आन्तरिकतर्फ ३०० हाराहारी उडान हुने गरेको थियो । रासस