विकासन्युज

यसपाली चिनियाँ सामान पाउन मुस्किल, महँगिने भो दशैं

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं नजिकिँदै छ । अघिल्ला वर्षहरुमा दशैं आउन एक महिना मात्र बाँकी रहँदा आम नागरिकमा उत्साह र  बजारमा त्यतिकै चहलपहल हुन्थ्यो । मानिसहरु सपिङ गर्न ब्यस्त हुन्थे भने गाउँ लैजानका लागि सामान तयार पारेर बसेका हुन्थे । धेरैले बस वा जहाजकाे टिकट  पनि बुकिङ गरिसकेका हुन्थे । तर, त्यो माहोल यसपालिको दशैंमा देखिँदैन । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकोे कारण धेरै सर्वसाधारणहरु घर भित्रै रहेका छन् भने धेरैले यसपालिको दशैंमा घर जाने तयारी पनि गरेका छैनन् । यसपालिको दशैंमा धेरैले गाउँ जाने योजना पनि बनाएका छैनन् । अघिल्ला वर्षहरुमा एक महिना अगाडि नै टिकट बुकिङमा व्यस्त हुने नागरिकहरु यसपालि भने घर जाने कि नजाने भन्ने दुविधामा छन् । दशैं नेपालीहरुरुको लागि मिठो मसिनो खाने मात्र होइन शरिरमा चिटिक्क सफा लगाउने पर्वका रुपमा पनि चिनन्छ । धेरैले दशैंमा नयाँ नौलो कपडा मात्र होइन धेरै सामानहरु खरिद पनि गर्ने गर्छन् । तर, यस वर्षको दशैं नरमाइलो अर्थात खल्लो मात्र होइन महँगो पनि हुने पक्का छ । नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी सामान चनबाट आयात गरिन्छ । अन्य देशको भन्दा चीनको सामान सस्तो पनि हुन्छ । तर, चीनबाट आउने सामानहरु विगत १० महिनादेखि नाकामै थन्किएको र नाका बन्द भएको कारण ती सामान नआउने पक्का र अरु दशैंका सामानहरु पनि नआउने भएपछि नेपाली बजारमा चीनको सामान पाउन मुस्किल हुने भएकाे छ । यसपालिको दशैंमा नेपाली बजारमा भारत, कोरिया, जापान लगायतका देशका कपडा तथा अन्य सामान मात्र हुनेछन् । नेपालमा आउने अधिकांश सामान स्थलमार्ग भएर आउँछ । स्थल मार्ग बन्द भएपछि सक्ने व्यापारीहरु जहाज चार्टर गरेर सामान ल्याउन थालेका छन् । यो पनि सामान महँगो हुने अर्को कारण हो । अहिले व्यापारीहरुले चर्को शुल्क तिरेर चीनबाट हवाई चार्टरमार्फत सामान ढुवानी गरिरहेका छन् । ढुवानी भाडा नै चर्को पर्ने भएपछि उनीहरुले अवश्य नै सामानको मूल्य पहिलेको भन्दा महँगोमा नै बिक्री गर्नेछन् । व्यापारी व्यवसायीहरुले यसपालिको दशैंमा बजारमा सामानको अभाव नहोस् भनेर महँगो ढुवानी भाडा तिरेर भएपनि चार्टरमार्फत सामान आयात गरिरहेको उनीहरुले बताएका छन् । यसले पनि महँगो हुन सक्नेछ । उसो त व्यापारीहरुले पहिलेको सामान पनि स्टक अवस्थामा रहेकोले त्यति धेरै सामान ल्याउन आवश्यक नभएको बताइरहेका छन् । नेपाली व्यापारीहरुले विशेषतः चीनबाट कपडा जुता लगायतका सामानहरु ल्याउने गरेका छन् । दशैंमा अधिकांश मानिसले खरिद गर्ने नै कपडा र जुत्ता हो । ती सामान स्थल मार्गबाट नआएपछि र ती सामानहरु अन्य देशबाट आयात भएपछि अब सर्वसाधारणहरुले महँगो मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता हुनेछ । चीनसँग व्यापार हुने प्रमुख नाका तातोपानी २०७२ को भूकम्पदेखि नै बन्द थियो । गत बैशाखमा केही दिनको लागि नाका खोलिए पनि कुनै एउटा ‘ताल फुटेर बाढी आउन सक्ने’ भन्दै तातोपानी नाका पुनः बन्द भएको छ । तातोपानी नाका बन्द भएपछि चीनसँगको स्थल व्यापारको केन्द्र बनेको रसुवागढी भन्सार नाका गत माघ १५ गतेदेखि बन्द छ । चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएपछि बन्द गरिएको सो नाका बीचमा केही दिन खुलेपनि पुनः ठप्प छ । चीनले गत माघ १५ गतेदेखि बन्द गराएको रसुवागढी नाका गत असारमा १२ दिन जति खुलेको थियो । नाका खुलेको समयमा पहिरोको कारण सडक अवरुद्ध भएपछि बन्द भएको नाका पछि कोरोनाको कारण देखाउँदै बन्द गरिएको हो । त्यसपछि नेपाली ब्यापारीहरुले चीनबाट सामान ल्याउन सकिरहेका छैनन् । राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले धेरै सामान व्यापारीहरुसँग स्टक नै रहेकोले पहिलेको मूल्यमा नै किनबेच हुने बताए । ‘चीनको सामानको मूल्य अन्य देशको भन्दा सस्तो नै हुन्छ, यसपालि चीनतर्फका नाकाहरु बन्द भएकोले भारत लगायतका देशहरुबाट सामान आयात भइहरेको छ, व्यापारीले सामान आफुले किनेको र त्यसमा केही नाफा लिएर बिक्री गर्नेछन्, ग्राहकलाई थोरै मात्रामा महँगो पर्न सक्छ, उनले भने । त्यति धेरै महँगो भने नहुने उनको भनाई छ । ‘६ महिनादेखि व्यापार नै भएको छैन्, व्यापारीले मूल्य बढ्ने बढाउने भन्ने कूरा हुन सक्दैन, अब चीनबाट आउँछ कि आउँदैन भन्ने कूराले पनि नेपाली बजारको मूल्य तय गर्ने छ,’ उनले भने । भारतबाट भने सामान आइरहेको उनले बताए । तर, भारतको सामान चीनको भन्दा महँगो हुने गर्छ । त्यसमा पनि कोरिया, जापान लगायत देशका सामानहरु महँगो हुने गर्दछ ।

प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीको खातामा पठाउन थाल्यो बोनस सेयर

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा बोनस सेयर जम्मा गर्न शुरू गरेको छ । इन्स्योरेन्सले गत असार २९ गतेदेखि अद्यावधिक गराएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गर्न थालेको हो । इन्स्योरेन्सले २०७७ असार २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाले पारित गरेको १२.५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो । साथै, हालसम्म बोनस सेयर प्राप्त नगर्ने सेयरधनीहरुलाई आफुसँग भएको सेयर प्रमाणपत्रहरुको डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ । उक्त सेयर प्रमाण पत्रहरु डिम्याट गराए पश्चात मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा हुने इन्स्योरेन्सले जानकारी गराएको छ । त्यस्तै, हालसम्म पनि डिम्याट खाता खोल्न बाँकी रहेका सेयरधनीले इन्स्योरेन्सको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ तथा आफुलाई पायक पर्ने निक्षेप सदस्यको सम्पर्क गरी डिम्याट खोल्ने कम्पनीले आग्रह गरेको छ ।

यती एयरलाइन्सको भ्रमण प्याकेज सार्वजनिक

काठमाडाैं । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवर्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ । एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा सुलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको हाे । आफ्नो २२ औं स्थापना दिवसको अवसरमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारा सहित सहुलियत दरमा विभिन्न प्याकेज सार्वजनिक कम्पनिले जनाएकाे छ । पत्रकार सम्मेलनमा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले कोभिड-१९ का कारण ठप्प भएको पर्यटन उद्योगलाई चलायमान बनाउन सहुलियत दरको भ्रमण प्याकेज ल्याइएको बताए । प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौँ आउनेका लागी पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकट सहीत बस्ने होटलको व्यवस्था मिलाइएको रिमालले बताए । ‘अब एयरलाइन्स उडानमात्र होइन, घुम्नपनि’ भन्ने सन्देश दिने उद्देश्यले कुनैपनि भ्रमण प्याकेज खरीद गर्ने पहिलो १ सय जना यात्रुलाई आकर्षक उपहारको व्यवस्था गरिएको पनि उनले बताए । भ्रमण प्याकेज खरीदकर्ता यात्रुले हरेकसाता ‘लक्की ड्र’ मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत रिमालले बताए । एयरलाइन्सले २२ औँ स्थापना दिवसका अवसर पारेर आजैदेखि ‘यती एअरलाइन्स मोबाइल एप्स’ समेत सञ्चालनमा ल्याएको छ । मोबाइल एप्सको माध्यमबाट टिकट बुकिङ गरेमा विशेष छुट दिने व्यवस्था गरिएको पनि प्रमुख कार्यकारी अधिकृत रिमालले बताए ।  

प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा असोज २९ गते

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो तेश्रो वार्षिक साधारण सभा आगामी असोज २९ गते आव्हान गरेको छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको नक्साल स्थित काठमाडौं म्यारियट होटलमा बस्ने निर्णय भएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने भएको छ । साथै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु स्वीकृत गर्ने छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकमा श्याम कार्की एण्ड कम्पनी पुनः नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने इन्स्योरेन्सको सामान्य प्रस्ताव रहेको छ । साथै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई बाेनस तथा नगद लाभांश दिने कुनै प्रस्ताव गरेकाे छैन ।

बैंक अफ काठमाण्डु र खल्ती डिजिटल वालेटबीच सहकार्य सुरु

काठमाडाैं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा बैंक अफ काठमाण्डूका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले एक कार्याक्रमका बिच हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्नु सक्नेछन् । साथै ग्राहकहरुले खल्तीबाट उपलब्ध डिजिटल सुविधाहरु प्रयोग गर्न सक्नेछन् । यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुविधाहरु (मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदी) को साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरु उपयोग गर्न सक्नेछन् । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ । खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

एनएमबी हाईब्रिड फण्ड र एनएमबी ५० को प्रतिफल घोषणा

काठमाडौं । एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी हाईब्रिड फण्ड एल १ र एनएमबी ५० को प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक एनएनबि क्यापिटलको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रतिफल दिने घोषणा गरेको हो । जसमध्ये एनएमबी हाईब्रिड फण्ड एल १ को ईकाइधनीहरुलाई आर्थिक वर्ष २०७६/७७को नाफाबाट कर सहित ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, एनएमबी ५० को ईकाईधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कर सहित ५ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको छ । उक्त प्रतिफल वितरण गर्ने प्रयोजनका लागि दुबै योजनाहरुको आगामी असोज १६ गते एक दिनको लागि बुक क्लोज हुने भएको छ ।

औषधि उद्योग देउराली जनता फर्मास्यूटिकल्स बन्द

काठमाडौं । बजारमा औषधिको माग घटेपछि देउराली जनता फर्मास्यूटिकल्स बन्द भएको छ । देउराली जनता फर्मास्ट्युटिकल्सका सञ्चालक हरिभक्त शर्माका अनुसार बजारमा औषधिको माग नभएपछि बन्द गर्नु परेको हो । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण आम सर्वसाधारणहरु घरभित्रै रहेको कारणले पनि औषधिको माग नभएको उनकाे भनाई छ । ‘अहिले बजारमा धेरै चिजको कम माग छ, औषधिको पनि त्यतिकै कम छ, मानिस बिरामी भएपनि कोरोनाको डरले अस्पताल जान सकेका छैनन्, त्यसले नै औषधिको माग घटेको हो,’ उनले भने । ‘औषधिकाे माग नभएपछि अनावश्यक रुपमा किन सञ्चालन गर्ने भन्ने भयो, अहिले पनि कुनै औषधिको माग भयो भने पुनः सञ्चालन गर्छौं, पूर्ण रुपमा भने बन्द भएको छैन,’ उनले भने ।

गुर्जाेको रस कोरोना विरुद्ध अचूक

दमाैली । कोभिड–१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो । कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका एकनारायण भण्डारीले बताए । कोरोना जोखिम नदेखिदाँसम्म गुर्जेको वास्ता नभएपनि आजकल परिवारले नै नियमित सेवन गर्ने गरेको उनले जानकारी दिए । “रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सुनेपछि परिवारले नै गुर्जा सेवन गर्न थालेको छौ,” उनले भने । गाउँमा घरको वरपर र जङ्गलमा प्रशस्तै पाईने गुर्जो आजकाल शहरका बगैंचा र करेसामा समेत लगाउन थालिएको छ । नियमित सेवन गर्न थालेसँगै छिमेकीको खाली जग्गामा पनि गुर्जो लगाएको भण्डारीले जानकारी दिए । कोरोना सङ्क्रमणमुक्त हुनुभएका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले होम आइसोलेशनमा बस्दा नियमित रुपमा गुर्जोको रस पिएको जानकारी दिए । “सङ्क्रमण पुष्टि भएर होम आइसोलेशन बस्दा नियमित रुपमा गुर्जोको रस, बेसार पानी, कागती पानीको सेवन र शारीरीक व्यायम गरेँ,” उनले भने, “अहिले निको भएपछि पनि गुर्जो नियमित सेवन गर्ने गरेको छु ।” कोरोनाको सङ्क्रमणपछि गुर्जोप्रति आकर्षण बढेको जिल्ला आयर्वुेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले गुर्जोमा एन्टिबायोटिक र एन्टिब्याक्टेरियल गुण प्रशस्त पाइने जानकारी दिए । “कोरोनालाई मार्ने एन्टिभाइरल मेडिसिन अहिलेसम्म बनेको छैन, यसलाई जित्ने भनेको इम्युनिटी पावर बढाएरै हो । ३५ सय बढी अनुसन्धानबाट गुर्जोले इम्युनिटी पावर बढाउने पुष्टि भएको छ,” उनले भने, “गुर्जोको सेवनले कोरोना भाइरस मात्रै होइन, अरुभाइरसबाट पनि बचाउँछ ।” उनका अनुसार ताजा गुर्जोलाई एक औला बराबर काटेर त्यसको पाँच मिलिटिर रस निकालेर बिहान बेलुका पिउनु उत्तम हुन्छ । रस बढी तितो भएर पिउन नसकेमा त्यसलाई टुक्राटुक्रा पारेर रातभर पानीमा भिजाउने र भोलिपल्ट पानीमा उमालेर सेवन गर्दा पनि हुने उनकाे सुझाव छ । उनका अनुसार गुर्जोको सेवनले नकरात्मक असर गर्दैन । गुर्जो कोरोना सङ्क्रमितले मात्रै नभएर अन्य रोगका बिरामीले पनि सेवन गर्न सक्ने उनले जानकारी दिए । “कोरोना निको पार्ने औषधि बनेको छैन, कोरोना निको पार्ने भ्याक्सिन बनाउन विकसित मुलकको प्रतिष्पर्धा चलिरहेपनि अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भइहालेमा रोग प्रतिरोधात्मक क्षमता बढाएर परास्त गर्नुको विकल्प छैन,” उनले भने, “त्यसैले रोगसँग लड्ने क्षमता बढाउने वनस्पती गुर्जोको सेवनकर्ता बढ्न थालेका छन् ।” जिल्लामा कोरोना सङ्क्रमण भएर आइसोलेशनमा बसेका, जोखिमयुक्त स्थानबाट आएर क्वारेन्टिनमा रहेकाले मात्रै नभएर रोग प्रतिरोधात्मक क्षमता बढाइ सङ्क्रमण हुन नदिनलाई गुर्जोको रस र धुलो सेवन गर्ने गरिएको छ । उनका अनुसार गुर्जो शताब्दीदेखि नै औषधिका रुपमा प्रयोग भएतापनि पछिल्लो समयमा त्यति प्रयोग हुन्थेन । औषधीय गुणले भरिपूर्ण वनस्पति गुर्जोको लहरा कोरोना सङ्क्रमण देखिन थालेपछि चर्चामा आएको हो । रासस