संकटको मोडमा हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर

  २०७८ असोज २१ गते १३:११     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर संकटमा परेको छ । हिमालयन बैंकको संचालक समिति अध्यक्ष परिवर्तन भएसँगै सुरु भएको संकट दुबै बैंकहरुले घोषणा गरेको लाभांशपछि अझ समस्यामा परेको हो ।

सुरुदेखि नै इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान अनिच्छुक देखिएका प्रचण्डबहादुर श्रेष्ठ हिमालयन बैंकको संचालक समिति अध्यक्ष बनेपछि दुई बैंकबीचको मर्जर संकट देखिएको छ । कर्मचारी संचयकोषको प्रतिनिधिका रुपमा हिमालयन बैंकको संचालक समिति अध्यक्ष बनेका तुलसी गौतमलाई सरकारले कोषबाट हटाएपछि श्रेष्ठ अध्यक्ष बनेका छन् ।

अध्यक्ष श्रेष्ठ र मनोज बहादुर श्रेष्ठ हिमालयन बैंकको सबैभन्दा ठूला संस्थापक सेयरधनी हुन् । यी दुबै जना इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान त्यति इच्छुक थिएनन् । हिमालयन बैंक मर्जरमा जाने तर, इन्भेष्टमेन्ट बैंकभन्दा पनि बैंक अफ काठमाडू, सिभिल जस्ता बैंकसँग मर्ज गरेर हिमालयन बैंकको अस्तित्व जोगाउनु पर्छ भन्ने अडानमा श्रेष्ठ दाजुभाइ थिए ।

तर, हिमालयन बैंक तत्कालिन संचालक समिति अध्यक्ष रहेका गौतमले राणा समुहको मनसाय अनुसार इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सहमति गरे गराएका थिए । तर, गौतम हटेसँगै अध्यक्ष भएर आएका श्रेष्ठ निर्णायक हुने र राणा समुह थप कमजोर भएपछि इन्भेष्टमेन्टसँगको मर्जरले गति लिन छोडेको छ ।

‘तुलसी गौतम संचालक समिति अध्यक्षबाट हटेदेखि दुबै बैंकको मर्जर कमिटिको बैठक पनि बसेको छैन, हिमालयन बैंकले मर्जरका लागि इन्भेष्टमेन्ट बैंकसँग केही कम्युनिकेट पनि गरेको छैन,’ हिमालयन बैंक स्रोतले भन्यो ।

दुबै बैंकबीच मर्जर नहुन पनि सक्ने सन्देश बैंकका उच्च कर्मचारीहरुमा प्रवाह भइसकेको दुबै बैंक स्रोतले जानकारी दिए ।

‘हिमालयनसँग मर्जर हुने भन्दा पनि नहुने सम्भावना बढी छ, हामीले सोही अनुसारको रणनीति तय गर्नुपर्छ भन्ने सन्देश उच्च तहका कर्मचारीहरुलाई प्रवाह भइसकेको छ,’ इन्भेष्टमेन्ट बैंकका एक कर्मचारीले भने ।

हिमालयन बैंकका कर्मचारीहरुलाई भने इन्भेष्टमेन्ट बैंकसँग मर्जर हुने सम्भावना कम भएको र अन्य कुनै बैंकसँग मर्जर हुन सक्ने भन्ने सन्देश प्रवाह गरिएको छ ।

सम्पत्तिको गुणस्तरमा हिमालयनको प्रश्न

हिमालयन बैंकले भने इन्भेष्टमेन्ट बैंकको कर्जाको गुणस्तरमा प्रश्न उठाउँदै मर्जरमा जान आनाकानी गरिरहेको स्रोतको दाबी छ । यस्तै, मर्जरपछि कुन सफ्टवयर प्रयोग गर्ने भन्ने यकिन भएको छैन तर, इन्भेष्टमेन्ट बैंकको सफ्टवयर प्रयोग गर्दा समस्या आउन सक्ने अनुमान हिमालयन बैंकको छ ।

बोनसले बढायो दूरी

हिमालयन बैंकका सेयरधनी मनोज बहादुर श्रेष्ठ र प्रचण्डबहादुर श्रेष्ठ दाजुभाइ इन्भेष्टमेन्ट बैंकसँग १ बराबर १ को अनुपातमा मर्जरमा जान नहुने अडानमा थिए । अहिले हिमालयन बैंकमा सोही समुह हावी भएपछि मर्जरमा समस्या आउन सक्ने देखिएको छ ।

तर, दुबै बैंकले घोषणा गरेको लाभांशपछि इन्भेष्टमेन्ट बैंकका सेयरधनी पनि भड्कन सक्ने देखिएको छ । इन्भेष्टमेन्ट बैंकले यो वर्ष ११.२४ प्रतिशत बोनस सेयर दिने भनेको छ भने हिमालयन बैंकले २१.३६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

यसअघिको सहमति अनुसार १ बराबर १ कित्ताकै अनुपातमा मर्जरमा जाँदा अब इन्भेष्टमेन्ट बैंकका सेयरधनीलाई नोक्सानी हुने देखिन्छ । किनभने अहिले घोषणा गरिएको बोनस सेयरपछि हिमालयन बैंकको १ सय कित्ता सेयर हुनेले मर्जरपछि बैंकको १२१ कित्ता सेयर पाउने छन् । तर, इन्भेष्टमेन्ट बैंकको अहिले १ सय कित्ता सेयर हुनेले भने १११ कित्ता मात्रै सेयर पाउने छन् ।

‘पहिला भने जस्तै गरी १ बराबर १ कित्ताको अनुपातमा मर्जरमा जाने हो भने बोनस सेयर वितरणपछि हामीलाई घाटा हुने देखियो, खासमा हिसाव गर्ने हो भने हिमालयन बैंकका सेयरधनीले १ सय कित्ता सेयर पाउँदा हामीले जम्मा ९१.६६ कित्ता मात्रै सेयर पाउँछौं, हामीले ७ प्रतिशतभन्दा कम सेयर पाएर गरिने मर्जर १ बराबर १ कित्ताकै अनुपातमा भएको हो भनेर कसरी भन्ने र ?’ नेपाल इन्भेष्टमेन्ट बैंकका एक संस्थापक सेयरधनीले भने ।

सम्पत्ति बेचेको आरोप

नेपाल इन्भेष्टमेन्ट बैंकले भने मर्जरको अन्तिम तयारी भइरहेको बेलामा हिमालयन बैंकले आफ्नो सम्पत्ति बेचेर बद्मासी गरेको आरोप लगाएको छ ।

‘हिमालयन बैंकले गत वर्षको चौथो त्रयमासमा नै २ अर्ब १५ करोड रुपैयाँ बराबरको सम्पत्ति विक्री गरेर त्यस्तो रकमबाट बोनस सेयर दियो, डिडिएमा देखिएको सम्पत्ति हतारमा विक्री गरेर सेयरधनीले लिनु जायज कुरा होइन, यो त कि हाम्रो बैंक सस्तोमा लिने वा मर्जर भाड्ने प्रपन्च नै हो,’ इन्भेष्टमेन्ट बैंकका ती संस्थापक सेयरधनीले भने ।

हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब १५ करोड रुपैयाँ बराबरको अदर अपरेटिङ इन्कम गरेको छ भने वर्षभरिमा यस्तो आय करिब २ अर्ब २३ करोड रुपैयाँ छ ।

मूल्य समायोजनमा इन्भेष्टमेन्टलाई घाटा

मर्जरको सहमति पत्रमा हस्ताक्षर गर्नुअघि हिमालयन बैंकको सेयर मूल्य प्रतिकित्ता ४८५ रुपैयाँ थियो भने नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ४६० रुपैयाँ थियो । तर, दुबै बैंकले घोषणा गरेको बोनस सेयर सुचिकृत भएपछि हुने मूल्य समायोजनमा हिमालयन बैंकको सेयर मूल्य कम हुनेछ ।

इन्भेष्टमेन्ट बैंकले घोषणा गरेको ११.२४ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन हुँदा सो बैंकको सेयरमूल्य प्रतिकित्ता ४१४ रुपैयाँ कायम हुने देखिन्छ भने हिमालयन बैंकको २१.३६ प्रतिशत बोनस सेयरको मूल्य समायोजनापछि प्रतिकित्ता ३९९ रुपैयाँ हुनेछ ।

सम्वन्धित समाचार

मर्जरले हिमालयन र इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई मालामाल, तलब बढ्ने, पद नघट्ने

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरको कुरा मिल्यो, पहिलो कार्यकालको लागि राणा सीईओ

एमओयुको मस्यौदा शुक्रबार पारित गर्दै हिमालयन, मर्जरपछिको रोडम्याप बनाउँदै दुबै बैंकको व्यवस्थापन

नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने गरी हुन लागेको इन्भेष्टमेन्ट र हिमालयनको मर्जर कहाँ पुग्यो ?

इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरः सेयर अनुपात १ बराबर १, सिइओ २ जना

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुन लागेको हो ? बैंक यस्तो भन्छ

हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन

मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भए कस्तो बैंक बन्ला ?

राष्ट्र बैंकको परिभाषा अनुसारको क्रस होल्डिङः ६ वाणिज्य बैंकमा नागरिक लगानी कोषको झण्डै २ अर्ब प्रमोटर सेयर

११ वाणिज्य बैंकमा सञ्चय कोषको उल्लेख्य लगानी, क्रस होल्डिङ नराख्ने राष्ट्र बैंकको अभियानमा अवरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.