नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने गरी हुन लागेको इन्भेष्टमेन्ट र हिमालयनको मर्जर कहाँ पुग्यो ?

  २०७७ चैत ५ गते १७:५४     विकासन्युज

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने गरी नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । भोलि (शुक्रबार) मर्जरका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गर्ने गरी प्रक्रिया अघि बढेको भएपनि अन्तिम समयमा ‘केही काम बाँकी रहेकोले’ केही ढिलाई हुने देखिएको छ ।

मर्जरका लागि दुबै बैंकले सम्पत्ती तथा दायित्वको मूल्यांकन (डीडीए) गराई सकेका छन् । डीडीएले दुबै बैंकको सेयर अनुपात १ बराबर १ हुने गरी प्रतिवेदन सम्बन्धित बैंकलाई बुझाइ सकेको छ ।

‘डीडीएले सेयर मूल्यांकन एक सय र एक सय २ रुपैयाँ निकालेको छ, यो भनेको एक बराबर १ सेयर अनुपातमा नै मर्ज गर्न सकिन्छ भन्ने हो, अन्य विषय मिलिसकेपछि डीडीएका कारण समस्या वा विवाद नहोस् भनेर पहिला डीडीए गराइएको थियो, डीडीएले मर्जरका लागि सहयोग पुग्ने प्रकारको नतिजा दिएको छ, अब चाढै नै मर्जर होला,’ हिमालयन बैंक स्रोतले भन्यो ।

मर्जरपछि बैंक संचालक समितिको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडे नै रहने सहमति भइसकेको स्रोतको दाबी छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा २ जना रहने बताइएको छ । हिमालयन बैंकका सिइओ अशोक शमशेर राणा र नेपाल इन्भेष्टमेन्ट बैंकको सिइओ ज्योतिप्रकाश पाण्डे मर्जरपछिको बैंकको सिइओ रहने सहमति भएको हो ।

मर्जरपछिको बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने पनि सहमति भइसकेको छ । दुबै बैंकका व्यवस्थापन र प्रमोटर मर्जरको लागि सहमत भएपनि सरकारी लगानीका कर्मचारी संचयकोष र नागरिक लगानी कोषको लगानी कसरी व्यवस्थापन गर्ने भन्ने विषयले केही ढिलाई भएको स्रोतले जानकारी दियो ।

कर्मचारी संचयकोषको हिमालयन बैंकमा १४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकमा करिब १ प्रतिशत प्रमोटर सेयर छ । यस्तै, नागरिक लगानी कोषको नेपाल इन्भेष्टमेन्ट बैंकमा ३७ करोड ४९ लाख रुपैयाँ बराबरको संस्थापक सेयर छ ।

‘हिमालयन बैंकमा कर्मचारी संचयकोषको १४ प्रतिशत प्रमोटर सेयर छ, नेपाल इन्भेष्टमेन्ट बैंकमा १ प्रतिशत छ, अबको संचालक समिति कस्तो हुन्छ, कर्मचारी संचयकोषको भूमिकाले अन्य प्रमोटरको भूमिका संकुचित पार्छ कि पार्दैन भन्ने जस्ता विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ,’ बैंक स्रोतले भन्यो ।

यी दुबै बैंक मर्जरको लागि तयार भएपनि सरकारी स्वामित्वका नागरिक लगानी कोष र कर्मचारी संचयकोषको व्यवस्थापन कसरी गर्ने भन्ने विषयले केही समय लिएको स्रोतले बतायो । यस्तै, उच्च व्यवस्थापनमा रहेका अन्य कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि अहिले गम्भीरतापूर्वक छलफल चलिरहेको स्रोतको दाबी छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक तत्कालिन नेपाल इन्डोस्योज बैंक नेपाली प्रवद्र्धक (विशेष गरेर पृथ्वीवहादुर पाँडे र उनको समुह) ले किनेपछि सन् २००२ मा नेपाल इन्भेष्टमेन्ट बैंक बनेको हो । सन् १९८६ मा स्थापना भएको तत्कालिन इन्डोस्योज बैंकमा फ्रान्सको स्थापित बैंकको ५० प्रतिशत सेयर लगानी थियो ।

इन्भेष्टमेन्ट बैंकमा प्रमोटरको ६९ प्रतिशत सेयर लगानी छ भने सर्वसाधारण लगानीकर्ताको ३१ प्रतिशत सेयर छ ।

इन्भेष्टमेन्ट बैंकले २००१ देखि ५ पटक बैंक अफ दि एयर अवार्ड प्राप्त गरेको छ । सो बैंकको ८२ वटा शाखा, १७ वटा एक्सटेन्सन काउन्टर र १० वटा राजस्व संकलन केन्द्र तथा १ सय ७ वटा एटिएम बुथ संचालनमा छन् ।

बैंकको संचालक समिति अध्यक्षमा स्थापित बैंकर पृथ्वीबहादुर पाँडे छन् । संचालकहरुमा प्रजन्य राजभण्डारी, सूर्यप्रकाश लाल श्रेष्ठ, कविकुमार टिब्रेवाल तथा सर्वसाधारण सेयरधनीको तर्फबाट भुवनेश्वर प्रसाद शाह र विकास थापा तथा स्वतन्त्र संचालकको रुपमा मन्जु बस्नेत छन् ।

इन्भेष्टमेन्ट बैंकको व्यवस्थापकीय टीमको नेतृत्व अनुभवी बैंकर ज्योति प्रकाश पाण्डेले प्रमुख कार्यकारी अधिकृतको रुपमा संहालिरहेका छन् । यस्तै, डिजिएमहरु विजेन्द्र सुवालले एक्जुकेटिभ अपरेसन अफिसर र रविन सिजापतिले एक्जुकेटिभ क्रेडिट अफिसरको जिम्मेवारी वहन गरिरहेका छन् ।

बैंकले दिएको जानकारी अनुसार एजीएमहरु दीपक श्रेष्ठले कानुन, सचिन टिब्रेवालले एकाउन्ट र सुजाता जोशीले जोखिम व्यवस्थापन प्रमुखको रुपमा व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका छन् ।

इन्भेष्टमेन्ट बैंकमा सेयरधनीको सम्पत्ति २९ अर्ब ५५ करोड १४ लाख रुपैयाँ (गत पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार) छ भने बैंकले १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । यस्तै, बैंकले सो अवधिसम्ममा १ खर्ब ६६ अर्ब ३५ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

हिमालयन बैंक सन् १९९३ मा पाकिस्तानको हविब बैंक अफ पाकिस्तानको संयुक्त लगानीमा स्थापना भएको बैंक हो । नेपालमा सबैभन्दा पहिला एटिएम मेसिन संचालन गर्ने बैंकको रुपमा पनि हिमालयन बैंकले इतिहास बनाएको छ । सो बैंक स्थापनादेखि संचालन गर्नसम्म नेपालका प्रथम गभर्नर हिमालय शमशेर राणाको उल्लेख्य भूमिका छ ।

बैंकको संचालक समितिमा ९ जना छन् । संचालक समितिको अध्यक्षको जिम्मेवारी तुलसी प्रसाद गौतमले संहालिरहेका छन् । उनी कर्मचारी संचयकोषको तर्फबाट बैंकमा संचालक बनेका हुन् ।

यस्तै, हविब बैंक अफ पाकिस्तानको तर्फबाट फैसल ललानी संचालक छन् । अन्य संचालकहरुमा प्रचण्ड बहादुर श्रेष्ठ, सुनिल बहादुर थापा, आशिष शर्मा र विजय बहादुर श्रेष्ठ छन् । राधाकृष्ण पोते स्वतन्त्र संचालकको जिम्मेवारीमा छन् भने विपिन हाडा कम्पनी सचिव छन् । बैंकका संस्थापक अध्यक्ष हिमालय शमशेर राणा संचालक समितिमा संचालक समितिको प्रमुख सल्लाहकार छन् ।

बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अनुभवी बैंकर अशोक शमशेर राणाले संहालिरहेका छन् । यस्तै, महाप्रबन्धहरुमा सुशील जोशी, उज्जल राजभण्डारी र अनुप मास्के छन् । एजीएमको जिम्मेवारी रविन्द्र नारायण प्रधान र विपिन हाडाले संहालेका छन् ।

हिमालयन बैंकका काठमाडौं उपत्यकामा १८ र उपत्यका बाहिर ४७ गरी ६५ वटा शाखा छन् । यस्तै, काठमाडौं उपत्यकामा ४३ र उपत्यका बाहिर २९ गरी ७२ वटा एटिएम बुथ संचालनमा छन् ।

हिमालयन बैंकले १ खर्ब ९ अर्ब ७७ लाख रुपैयाँ कर्जा तथा लगानी (गत पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार) गरेको छ । सो अवधिसम्ममा बैंकसँग सर्वसाधारणको १ खर्ब २९ अर्ब ९२ करोड १७ लाख रुपैयाँ निक्षेप छ भने बैंकमा सेयरधनीको सम्पत्ति १७ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ छ ।

मर्जरपछि बैंकमा सर्वसाधारणको करिब ३ अर्ब रुपैयाँ निक्षेप हुनेछ भने २ खर्ब ५० अर्ब रुपैयाँको हाराहारीमा कर्जा तथा लगानी हुनेछ । बैंकमा सेयरधनीको सम्पत्ति ४७ अर्ब रुपैयाँको हाराहारीमा हुने देखिन्छ ।

सम्बन्धित समाचार

इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरः सेयर अनुपात १ बराबर १, सिइओ २ जना

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुन लागेको हो ? बैंक यस्तो भन्छ

हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन

मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भए कस्तो बैंक बन्ला ?

राष्ट्र बैंकको परिभाषा अनुसारको क्रस होल्डिङः ६ वाणिज्य बैंकमा नागरिक लगानी कोषको झण्डै २ अर्ब प्रमोटर सेयर

११ वाणिज्य बैंकमा सञ्चय कोषको उल्लेख्य लगानी, क्रस होल्डिङ नराख्ने राष्ट्र बैंकको अभियानमा अवरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.