हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भए कस्तो बैंक बन्ला ?

  २०७७ भदौ १५ गते १५:३४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै परिवार, व्यापारिक समुह तथा नजिकका नातेदार प्रमोटर भएका बैंक वित्तीय संस्थाबीच एकापसमा मर्ज गराउने भन्दै आएको छ ।

यही परिवेशमा पुराना र स्थापित बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको चर्चा चलेको छ । केही समयअघि नेपाल इन्भेष्टमेन्ट बैंकको संचालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेले विकासन्युजसँगको कुराकानीमा मर्जरका लागि हिमालयन बैंक आफ्नो लागि उपयुक्त भएको बताएका थिए ।

यस्तै, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जवराले पनि मर्जरमा जानको लागि हिमालयन बैंकका लागि नेपाल इन्भेष्टमेन्ट बैंक उपयुक्त भएको बताएका थिए ।

राणा र पाँडे परिवारबीच ज्वाइ चेलाको नाता सम्बन्ध पनि छ । राष्ट्र बैंकले क्रस होल्डिङ भएका बैंक वित्तीय संस्थालाई मर्ज गराउन पहल गरिरहेको र पारिवारिक सम्बन्ध भएका दुबै बैंकका उच्च र निर्णायक अधिकार भएका व्यक्तित्वले सोही अनुसारको संकेत गर्नुले पनि यी दुबै बैंकबीच मर्ज हुन लागेको हो कि भन्ने संकेत मिल्छ ।

हिमालयन बैंकले मर्जरका लागि संचालक समिति सदस्यको संयोजकत्वमा शक्तिशाली कमिति गठन गर्नुले पनि मर्जरको लागि निकै पहल भएको अनुमान गर्न सकिन्छ ।

अहिले चलेका चर्चा अनुसार नै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर भएमा कस्तो बैंक बन्ला त भन्ने सन्दर्भमा यी दुबै बैंकका केही महत्वपूर्ण परिसुचक राखेर केही व्याख्या गर्ने प्रयास यहाँ गरिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक तत्कालिन नेपाल इन्डोस्योज बैंक नेपाली प्रवद्र्धक (विशेष गरेर पृथ्वीवहादुर पाँडे र उनको समुह) ले किनेपछि सन् २००२ मा नेपाल इन्भेष्टमेन्ट बैंक बनेको हो । सन् १९८६ मा स्थापना भएको तत्कालिन इन्डोस्योज बैंकमा फ्रान्सको स्थापित बैंकको ५० प्रतिशत सेयर लगानी थियो ।

इन्भेष्टमेन्ट बैंकमा प्रमोटरको ६९ प्रतिशत सेयर लगानी छ भने सर्वसाधारण लगानीकर्ताको ३१ प्रतिशत सेयर छ ।

इन्भेष्टमेन्ट बैंकले २००१ देखि ५ पटक बैंक अफ दि एयर अवार्ड प्राप्त गरेको छ । बैंकको वेबसाइटमा उल्लेख भएअनुसार उसको अहिले ८२ वटा शाखा, १७ वटा एक्सटेन्सन काउन्टर र १० वटा राजस्व संकलन केन्द्र तथा १ सय ७ वटा एटिएम बुथ संचालनमा छन् ।

बैंकको संचालक समिति अध्यक्षमा स्थापित बैंकर पृथ्वीबहादुर पाँडे छन् । संचालकहरुमा प्रजन्य राजभण्डारी, सूर्यप्रकाश लाल श्रेष्ठ, कविकुमार टिब्रेवाल तथा सर्वसाधारण सेयरधनीको तर्फबाट निरञ्जनलाल श्रेष्ठ र भुवनेश्वर प्रसाद शाह र स्वतन्त्र संचालकको रुपमा मन्जु बस्नेत छन् ।

बैंकको व्यवस्थापकीय टीमको नेतृत्व अनुभवी बैंकर ज्योति प्रकाश पाण्डेले प्रमुख कार्यकारी अधिकृतको रुपमा संहालिरहेका छन् । यस्तै, डिजिएमहरु विजेन्द्र सुवालले एक्जुकेटिभ अपरेसन अफिसर र रविन सिजापतिले एक्जुकेटिभ क्रेडिट अफिसरको जिम्मेवारी वहन गरिरहेका छन् ।

बैंकले दिएको जानकारी अनुसार एजीएमहरु दीपक श्रेष्ठले कानुन, सचिन टिब्रेवालले एकाउन्ट र सुजाता जोशीले जोखिम व्यवस्थापन प्रमुखको रुपमा व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका छन् ।

इन्भेष्टमेन्ट बैंकमा सेयरधनीको सम्पत्ति गत असार मसान्तसम्ममा २७ अर्ब ३२ करोड रुपैयाँ छ भने गत असार मसान्तसम्ममा बैंकले १ खर्ब ३५ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । यस्तै, बैंकले सो अवधिसम्ममा १ खर्ब ६६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

हिमालयन बैंक

हिमालयन बैंक सन् १९९३ मा पाकिस्तानको हविब बैंक अफ पाकिस्तानको संयुक्त लगानीमा स्थापना भएको बैंक हो । नेपालमा सबैभन्दा पहिला एटिएम मेसिन संचालन गर्ने बैंकको रुपमा पनि हिमालयन बैंकले इतिहास बनाएको छ । सो बैंक स्थापनादेखि संचालन गर्नसम्म नेपालका प्रथम गभर्नर हिमालय शमशेर राणाको उल्लेख्य भूमिका छ ।

बैंकको संचालक समितिमा ९ जना छन् । संचालक समितिको अध्यक्षको जिम्मेवारी तुलसी प्रसाद गौतमले संहालिरहेका छन् । उनी कर्मचारी संचयकोषको तर्फबाट बैंकमा संचालक बनेका हुन् ।

यस्तै, हविब बैंक अफ पाकिस्तानको तर्फबाट फैसल ललानी संचालक छन् । अन्य संचालकहरुमा प्रचण्ड बहादुर श्रेष्ठ, सुनिल बहादुर थापा, आशिष शर्मा र विजय बहादुर श्रेष्ठ छन् । राधाकृष्ण पोते स्वतन्त्र संचालकको जिम्मेवारीमा छन् भने विपिन हाडा कम्पनी सचिव छन् । बैंकका संस्थापक अध्यक्ष हिमालय शमशेर राणा संचालक समितिमा संचालक समितिको प्रमुख सल्लाहकार छन् ।

बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अशोक शमशेर राणाले संहालिरहेका छन् । यस्तै, सिनियर एजुकेटिभमा महेश्वर जोशी, अनुप मास्के, सुशिल जोशी, इजाज क्वादिर गिल, उज्जल राजभण्डारी र रविन्द्र नारायण प्रधान छन् ।

हिमालयन बैंकका काठमाडौं उपत्यकामा १८ र उपत्यका बाहिर ४७ गरी ६५ वटा शाखा छन् । यस्तै, काठमाडौं उपत्यकामा ४३ र उपत्यका बाहिर २९ गरी ७२ वटा एटिएम बुथ संचालनमा छन् ।

हिमालयन बैंकले गत असार मसान्तसम्ममा १ खर्ब १ अर्ब ६५ करोड ३३ लाख रुपेयाँ कर्जा तथा लगानी गरेको छ । सो अवधिसम्ममा बैंकसँग सर्वसाधारणको १ खर्ब २५ अर्ब २६ करोड ४३ लाख रुपैयाँ निक्षेप छ भने बैंकमा सेयरधनीको सम्पत्ति १७ अर्ब ५४ करोड ५२ लाख रुपैयाँ छ ।

सम्बन्धित सामग्र

हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन

मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक

एनआइसी एसिया र एनएमबीबीच मर्ज भए कस्तो बैंक बन्ला ?

One comment on "हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भए कस्तो बैंक बन्ला ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.