काठमाडौं । पञ्चकन्या ग्रुपका विभिन्न ४ कम्पनीले एक वर्षमा साढे ६ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । ग्रुप अन्तर्गतका पञ्चकन्या स्टील प्रालि, पञ्चकन्या रोटोमोल्ड प्रालि, पञ्चकन्या प्लास्ट प्रालि र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालिले गत आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ६८ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका हुन् । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १४.२६ प्रतिशत अर्थात् ८३ करोड ४० लाख रुपैयाँ बढी हो ।
चार वटै कम्पनीले आव २०८०/८१ मा ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका थिए । यस्तै, आव २०७९/८० मा ७ अर्ब ८६ करोड रुपैयाँ, आव २०७८/७९ मा १० अर्ब १० करोड ९० लाख रुपैयाँ, र आव २०७७/७८ मा ८ अर्ब ६३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेका थिए ।
यी चार वटै उद्योगको उत्पादन प्लान्ट भैरहवामा रहेको छ । साथै आयातमा आधारित रहेका यी उद्योगले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी स्वदेशमा तयारी सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
पञ्चकन्या समूह ट्रेडिङ, उत्पादन, ऊर्जा तथा अटोमोबाइल लगायतका विविध क्षेत्रमा संलग्न छ । कम्पनीको नेतृत्व प्रेम बहादुर श्रेष्ठले गर्दै आएका छन् । उनी करिब पाँच दशकभन्दा बढी समयदेखि व्यापार तथा आयात–निर्यात क्षेत्रमा संलग्न अनुभवी व्यवसायी हुन् ।
त्यस्तै, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले पञ्चकन्या समूहअन्तर्गत कम्पनीहरू हेर्दै आएका छन् । कम्पनीसँग करिब ९० डिलर नेटवर्क र देशभर फैलिएका ७ डिपोहरू (बालकुमारी, ललितपुर, भैरहवा, पोखरा, धनगढी, नेपालगन्ज र बिर्तामोड) रहेका छन् ।
साथै ग्रुप अन्तर्गतका विभिन्न ४ कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब ६६ करोड २२ लाख रुपैयाँ ऋण पनि लिएको छ ।
पञ्चकन्या स्टील
सन् १९९५ मे ३१ मा स्थापना भएको पञ्चकन्या स्टील प्रालिले नेपालमा टीएमटी स्टील बार (डण्डी) उत्पादन गरिरहेको छ । यसको कुल जडित उत्पादन क्षमता वार्षिक १ लाख ५० हजार मेट्रिक टन रहेको छ । कम्पनीले निर्माण क्षेत्रका लागि आवश्यक उच्च गुणस्तरका स्टील उत्पादन गर्दै नेपाली बजारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यस्तै, आव २०८०/८१ मा ३ अर्ब ६५ करोड ७० लाख रुपैयाँ, आव २०७९/८० मा ५ अर्ब ११ करोड रुपैयाँ, आव २०७८/७९ मा ६ अर्ब ७४ करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ, आव २०७५/७६ मा ४ अर्ब ५७ करोड ४० लाख रुपैयाँ र आव २०७४/७५ मा ५ अर्ब २२ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
पञ्चकन्या स्टीलले भारतबाट एमएस बिलेट आयात गर्ने भएकाले कच्चा पदार्थको मूल्य बजारमा आधारित हुन्छ । गत वर्ष कुल सञ्चालन आम्दानीको करिब ७३ प्रतिशत कच्चा पदार्थ लागतले ओगटेको जनाएको छ । यसले नाफा मार्जिनमा प्रत्यक्ष दबाब पारेको कम्पनीले जनाएको छ । साथै, आयात अमेरिकी डलरमा आधारित भएकाले विदेशी विनिमय दर उतारचढावको जोखिम पनि कम्पनीमा रहेको छ ।
सरकारले सडक, पुल, हवाईअड्डा तथा पूर्वाधार क्षेत्रमा निरन्तर लगानी गर्ने नीति लिएको कारण घरेलु स्टील उत्पादकहरूलाई दीर्घकालीन माग आधार प्राप्त हुने अपेक्षा कम्पनीको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६५ करोड ९२ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ अल्पकालीन गरी कुल ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँ ऋण लिएको छ ।
पञ्चकन्या रोटोमोल्ड
सन् १९८९ मा स्थापना भएको पञ्चकन्या रोटोमोल्ड प्रालिले नेपालमा यूपीभीसी पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । पञ्चकन्या रोटोमोल्डको वार्षिक जडित उत्पादन क्षमता ६ हजार ५०० मेट्रिक टन रहेको छ । नेपालको पूर्वाधार, खानेपानी तथा निर्माण क्षेत्रमा आवश्यक पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको यो कम्पनी पञ्चकन्या समूहअन्तर्गतको स्थापित औद्योगिक कम्पनीका रूपमा परिचित छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ७८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यस्तै, आव २०८०/८१ मा ६६ करोड ७० लाख रुपैयाँ, आव २०७९/८० मा ७८ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ५ करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा ८६ करोड १० लाख रुपैयाँ, आव २०७६/७७ मा ४५ करोड ६० लाख रुपैयाँ, आव २०७५/७६ मा ५३ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा ४५ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीको मुख्य कच्चा पदार्थ पोलिभिनिल क्लोराइड रेसिन पाउडर हो, जुन मुख्यतः थाइल्यान्डबाट आयात गरिन्छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४० करोड ९७ लाख रुपैयाँ दीर्घकालीन र ६९ करोड १२ लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब १० करोड १० लाख रुपैयाँ ऋण लिएको छ ।
पञ्चकन्या प्लास्ट
सन् २००३ मा स्थापना भएको पञ्चकन्या प्लास्ट प्रालिले नेपालमा पोलिप्रोपाइलिन र्याण्डम कोपोलिमर (पीपीआर) तथा क्लोरिनेटेड पोलिभिनिल क्लोराइड (सीपीभीसी) पाइप र फिटिङ्स उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक जडित उत्पादन क्षमता ५ हजार मेट्रिक टन रहेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ७९ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यस्तै, आव २०८०/८१ मा ६४ करोड रुपैयाँ, आव २०७९/८० मा ७३ करोड ४० लाख रुपैयाँ, आव २०७८/७९ मा ९३ करोड ६० लाख रुपैयाँ, आव २०७७/७८ मा ८९ करोड ५० लाख रुपैयाँ, आव २०७६/७७ मा ८३ करोड ५० लाख रुपैयाँ, आव २०७५/७६ मा ९६ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा ७४ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीले थाइल्यान्ड तथा सिंगापुरबाट कच्चा पदार्थ आयात गर्छ, जुन कच्चा तेलमा आधारित उत्पादन हुन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य माग–आपूर्तिअनुसार परिवर्तन भइरहने भएकाले उत्पादन लागतमा उतारचढाव आउने जोखिम रहेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५६ करोड २१ लाख रुपैयाँ दीर्घकालीन र ६८ करोड २८ लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब २४ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ ।
पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज
सन् १९८२ मा स्थापना भएको पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालिले नेपालमा एचडीपीई पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक जडित उत्पादन क्षमता ९ हजार मेट्रिक टन रहेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ९८ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यस्तै, आव २०८०/८१ मा ८८ करोड २० लाख रुपैयाँ, आव २०७९/८० मा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ३६ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब २९ करोड रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब २४ करोड २० लाख रुपैयाँ र आव २०७४/७५ मा ९७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४७ करोड ७८ लाख रुपैयाँ दीर्घकालीन र ६९ करोड ५२ लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब १७ करोड ३१ लाख रुपैयाँ ऋण लिएको छ ।