११ वाणिज्य बैंकमा सञ्चय कोषको उल्लेख्य लगानी, क्रस होल्डिङ नराख्ने राष्ट्र बैंकको अभियानमा अवरोध

  २०७७ भदौ १६ गते ११:५२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बैंकमा उल्लेख्य लगानी भएको सेयरधनीको अर्काे बैंकमा पनि ठूलो लगानी (क्रस होल्डिङ) भएमा त्यस्तो बैंकलाई एकापसमा मर्ज गराउने अभियान थालेको छ ।

तर, राष्ट्र बैंकको यो अभियानमा सरकारी निकाय नै वाधक देखिएको छ । सरकारी निकाय कर्मचारी सञ्चयकोषको ११ वाणिज्य बैंक र २ विकास बैंकमा १ देखि १५ प्रतिशतसम्म सेयर लगानी भएको पाइएको छ ।

सञ्चयकोष स्रोतका अनुसार नेपाल एसबीआई बैंक र बैंक अफ काठमाण्डूमा १५/१५ प्रतिशत सेयर लगानी छ । यस्तै, हिमालयन बैंकमा १४ प्रतिशत सेयर लगानी छ ।

अर्काे वाणिज्य बैंक सिभिल बैंकमा कोषको ८ प्रतिशत सेयर लगानी छ । यस्तै, एनएमबी बैंकमा ६ प्रतिशत, प्रभु र नेपाल बैंकमा ४/४ प्रतिशत, कुमारी बैंकमा ३ प्रतिशत, सानिमा बैंकमा २ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट बैंक र सनराइज बैंकमा १/१ प्रतिशत सेयर लगानी छ ।

कोषले दिएको जानकारी अनुसार सिन्धु विकास बैंकमा ६ प्रतिशत तथा महालक्ष्मी विकास बैंकमा कोषको १ प्रतिशत सेयर लगानी छ । थप केही बीमा कम्पनी तथा जलविद्युत कम्पनीमा समेत गरी कोषले २२ अर्ब रुपैयाँभन्दा बढी लगानी बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र जलविद्युत कम्पनीमा लगानी गरेको छ ।

राष्ट्र बैंकले अहिले लिएको नीतिअनुसार समान व्यवहार गर्ने हो भने ११ वाणिज्य बैंक र २ विकास बैंक गरी १३ वटा बैंक तथा वित्तीय संस्थामा सञ्चयकोषले गरेको लगानी बिक्री गरेर कोष फिर्ता हुनुपर्छ । अथवा यी सबै बैंक तथा वित्तीय संस्थाहरुलाई एकापसमा मर्ज गराउनु पर्छ । तर, यसरी लगानी फिर्ता गराउन वा मर्जर गराउन सम्भव देखिदैन ।

सरकारको नीति तथा विद्यमान कानुन अनुसार नै कोषले विभिन्न बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गरेकोले तत्काल लगानी फिर्ता लिन सम्भव नहुने कोषका एक उच्च अधिकारीले बताए ।

‘कोषले सरकारको नीति तथा विद्यमान कानुनको अधिनमा रहेर विभिन्न बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गरेको हो, त्यसैले क्रस होल्डिङ भएकोले लगानी फिर्ता गर भनेर राष्ट्र बैंकले भन्दैमा तत्काल सम्भव देखिदैन, कोषको लगानी रहेका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई एकापसमा मर्जर गराउने कि नगराउने भन्ने विषय राष्ट्र बैंकको भएकोले हामीले यसमा केही भन्ने कुरा भएन,’ कोषका एक उच्च अधिकारीले विकासन्युजसँग भने ।

कुन बैंकमा कति लगानी छ कोषको ?

हिमालयन बैंकः १४ प्रतिशत
एसबीआई बैंकः १५ प्रतिशत
बैंक अफ काठमाडूः १५ प्रतिशत
एनएमबी बैंकः ६ प्रतिशत
सिभिल बैंकः ८ प्रतिशत
प्रभु बैंकः ४ प्रतिशत
नेपाल बैंकः ४ प्रतिशत
सानिमा बैंकः २ प्रतिशत
कुमारी बैंकः ३ प्रतिशत
इन्भेष्टमेन्ट बैंकः करिब १ प्रतिशत
सनराइज बैंकः १ प्रतिशत
सिन्धु विकास बैंकः ६ प्रतिशत
महालक्ष्मी विकास बैंकः १ प्रतिशत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.