विकासन्युज

सेतो आलु केजीको ३० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४७, आलु रातो (गोलो) प्रतिकिलो रु ४०, आलु रातो (मुढे) प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ४५, रातो मूला प्रतिकिलो रु ३२, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५ र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३५, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १६०, आँप (दशहरी) प्रतिकिलो रु १७०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु ३००, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३५, माछे खुर्सानी प्रतिकिलो रु ५०, खुर्सानी भेडे प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

व्यतित बीमालेख नवीकरणमा ब्याज–जरिवानामा ५० प्रतिशत छुट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित (ल्याप्स) भएका बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क अर्थात् ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट जारी भई व्यतित भएका बीमालेखहरूमा असार २५ गतेदेखि ३२ गतेसम्म नवीकरण वा पुनर्जागरण गर्दा उक्त छुट सुविधा उपलब्ध गराइने जनाएको हो । जतिसुकै अवधिदेखि व्यतित भएका बीमालेख भए पनि नवीकरणका क्रममा लाग्ने ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट प्रदान गरिनेछ । कम्पनीले भने यस्तो सुविधा बीमाको अवधिभर एकपटक मात्र उपलब्ध गराइने स्पष्ट पारेको छ । यस्तै, ब्याज-जरिवाना छुट सुविधा उपयोग गरी नवीकरण गरिएका बीमालेख बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र बीमित वा प्रस्तावकले समर्पण (सरेंडर) गर्न चाहेमा नवीकरणका क्रममा छुट दिइएको ब्याज तथा जरिवाना बराबरको रकम कम्पनीले कट्टा गर्ने जनाएको छ ।

रिलायबल नेपाल लाइफको ३ करोड ७१ लाख कित्ता सेयरको लक-इन अवधि सकिँदै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लक-इन अवधि सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लक-इन अवधि साउन ३० गते समाप्त हुने भएको हो ।  नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता रहेको कुल ५ करोड १९ लाख ६८ हजार कित्ता सेयरमध्ये संस्थापक सेयरधनी तथा कर्मचारीको नाममा रहेको सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो ।  कम्पनीका अनुसार लक-इन अवधिमा रहेको संस्थापक सेयरधनीको सेयर संख्या ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता रहेको छ । यस्तै कर्मचारीलाई बाँडफाँट गरिएको ७ लाख ७९ हजार ५२० कित्ता सेयरको पनि लक-इन अवधि सोही मितिमा समाप्त हुनेछ । सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने स्पष्ट पारेको छ ।

युवालाई रोजगारीसँग जोड्न पहल, तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् । मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभागलगायत निकायका प्रमुखहरूसँग भएको छलफलमा मन्त्री चौधरीले वर्तमान सरकारप्रति विशेषगरी युवा पुस्ताको ठूलो भरोसा र अपेक्षा रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न आग्रह गरिन् । उनले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिनाभित्र आफ्नो मातहतबाट कति युवालाई रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने यथार्थ विवरण तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिइन् । ‘युवा पुस्ताको अपेक्षाअनुसार परिणाम देखिने गरी काम गर्नुपर्छ। मन्त्रालय अन्तर्गतका सबै निकायले यसै महिनाभित्र कति युवालाई रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप र स्वयंसेवामा जोड्न सकिन्छ भन्ने स्पष्ट योजना पेश गर्नुपर्छ,’ मन्त्री चौधरीले भनिन्। उनले कार्यान्वयनमुखी र परिणाममुखी ढंगले काम गर्न आग्रह गर्दै कृषि, वन तथा वातावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। साथै नयाँ स्नातक तथा विदेशबाट स्वदेश फर्किएका युवालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिइन्। छलफलका क्रममा विभागीय प्रमुखहरूले देशभर रहेका आफ्ना कार्यालयमार्फत हाल पनि पारिश्रमिकसहित तथा पारिश्रमिक बिनाका इन्टर्नसिप र स्वयंसेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए । विभिन्न विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीलाई इन्टर्नसिप सहभागी गराउने प्रयास भइरहेको भए पनि केही कानुनी व्यवस्थाका कारण कतिपय अवस्थामा सेवा-सुविधा उपलब्ध गराउन कठिनाइ रहेको उनीहरूको भनाइ थियो । जवाफमा मन्त्री चौधरीले आवश्यक कानुनी संशोधनका लागि सम्बन्धित मन्त्रालयसँग पहल गर्ने बताउँदै अहिलेका लागि मन्त्रालय अन्तर्गतका सबै कार्यालयबाट तत्काल कति युवालाई रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप तथा स्वयंसेवामा सहभागी गराउन सकिन्छ भन्ने विस्तृत तथ्याङ्क तत्काल पेश गर्न निर्देशन दिइन्। मन्त्री चौधरीले कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ नयाँ स्नातक तथा विदेशबाट स्वदेश फर्किएका नेपाली युवाका लागि साझा मञ्च निर्माण गर्ने तयारीसमेत अघि बढाइएको जानकारी दिइन्। मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड तथा जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरी रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप र स्वयंसेवाका अवसर उपलब्ध गराउने तयारी गरेको उनले बताइन्।

पीआर लिने लामा र तामाङलाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौं । विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिन आवेदन दिएको आरोपमा २ निजामती कर्मचारीसँग स्पष्टीकरण सोधिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा अनुपस्थित रही विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन आवेदन दिएको देखिएकाले कम्प्युटर अपरेटर कुमारी लामा र दिपेश तामाङलाई स्पष्टीकरण सोधिएको हो । लामा र तामाङलाई ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (छ) र उपदफा (२) को खण्ड (ग) बमोजिम कसुर गरेको देखिएको उल्लेख गरिएको छ । साथै, सोही कसुरमा ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय किन नगर्ने भन्नेबारे ३० दिनभित्र स्पष्ट जवाफ दिन भनिएको छ । यसअघि पनि असार ४ गते निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम सूचना प्रकाशित गरिएको थियो । तर तोकिएको समयभित्र सफाइ पेश नगरेपछि पुनः ३० दिनको समय दिँदै स्पष्टीकरण माग गरिएको मन्त्रालयले जनाएको छ ।

भक्ति थापाको बाल्यकालसँग जोडिएको हरसिङडाँडा, गण्डकीकै उदाउँदो गन्तव्य

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र ऐतिहासिक महत्वका कारण पर्यटकको आकर्षण बन्दै आएको छ । हालैमात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि हरसिङडाँडाको परिचयमा नयाँ आयाम थपिएको छ । नेपाल विद्युत् प्राधिकरण, लमजुङ वितरण केन्द्रले केही दिनअघि हरसिङडाँडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार गरेसँगै साँझपख डाँडा झिलीमिली बन्न थालेको छ । लामो समयसम्म सोलारको भरमा दैनिक काम चलाउँदै आएका स्थानीयले अहिले नियमित विद्युत् पाएका छन् । यसले स्थानीयको दैनिकीमात्र सहज बनाएको छैन, पर्यटन व्यवसायमा नयाँ ऊर्जा दिएको छ । प्राधिकरण लमजुङका प्रमुख सोवित बहादुर क्षेत्रीका अनुसार पर्यटकीय सम्भावना भएका स्थानलाई प्राथमिकतामा राखेर विद्युत् विस्तार गर्ने योजनाअनुसार हरसिङडाँडामा राष्ट्रिय प्रसारण लाइन पुर्याइएको हो । उनका अनुसार यसअघि बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन । अहिले करिब १० लाख रुपैयाँमा १८ वटा पोल गाडेर विद्युत् विस्तार गरिएको हो । आगामी दिनमा बजेटको उपलब्धताअनुसार जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पनि विद्युत् सेवा विस्तार गरिने उनले बताए । हरसिङडाँडामा पर्यटन व्यवसाय सञ्चालन गर्दै आभएका पूर्णबहादुर गुरुङका अनुसार विद्युत् पुगेपछि स्थानीय र पर्यटक दुवैलाई सहज भएको छ । ‘पहिले सोलारको भरमा काम चलाउनुपर्थ्यो । अहिले बिजुली आएपछि पर्यटकलाई सेवा दिन सहज भएको छ । मोबाइल चार्ज गर्न, खाना पकाउने, रातिको उज्यालो र अन्य सेवा प्रभावकारी भएका छन् । डाँडा झिलीमिली बनेपछि यहाँको आकर्षण पनि बढेको छ,’ उनले भने । सो स्थानमा केही वर्षअघि पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवाले संयुक्त रूपमा करिब ११ लाख रुपैयाँ लगानी गरी ३५ जनासम्म अट्ने हल निर्माण गर्दै खाना र बासको व्यवस्था गरेका थिए । स्थानीय युवाको यही पहलपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । अहिले विभिन्न मौसममा सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् । विद्युत् पुगेपछि पर्यटन व्यवसाय थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । स्थानीय कृषि तथा पशुपालनबाट उत्पादित वस्तुको बिक्री बढ्ने, युवाले गाउँमै रोजगारी पाउने र गाउँको आर्थिक गतिविधि विस्तार हुने विश्वास स्थानीयवासीको छ । पहिलेजस्तो साँझ पर्नासाथ सुनसान हुने हरसिङडाँडा अहिले उज्यालोले मनमोहक भएको छ । हरसिङडाँडामा पुग्ने पर्यटकहरू यहाँको प्राकृतिक सौन्दर्यबाट लोभिने गरेका छन् । उनीहरूका अनुसार मनास्लु हिमशृङखला, बुद्ध हिमाल, डा हर्क पिक, मस्र्याङ्दी नदीको नागबेली, घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर बजार तथा तनहुँको बन्दीपुरसम्मको दृश्यले मनै लोभ्याउँछ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले यहाँ पुगेका जोकोहीलाई फेरि फर्केर आउन मन लाग्ने बनाउँछ । पर्यटकहरूका अनुसार हरसिङडाँडा घुमफिरका लागि मात्र होइन, साथी भाइ र परिवारसँग एक-दुई रात बसेर रमाउन मिल्ने उत्कृष्ट गन्तव्य बनेको छ । यहाँको शान्त वातावरण, स्थानीय आतिथ्यता, प्राकृतिक सौन्दर्य र भक्ति थापासँग जोडिएको इतिहासले थप मनोरम बनाएको छ । नयाँ पुस्ताले नेपालको वीर इतिहास बुझ्न पनि हरसिङडाँडा एकपटक पुग्नै पर्ने स्थल भएको उनीहरू बताउँछन् । हरसिङडाँडाको अर्को महत्त्वपूर्ण पक्ष यसको ऐतिहासिक महत्व हो । वि. सं १८०२ मा मर्स्याङ्दी गाउँपालिका-३ खुदीको ढुङ्गेबेँसीमा जन्मनुभएका राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालका धेरै समय यही डाँडामा गाईवस्तु चराउँदै बिताउनुभएको इतिहासमा उल्लेख छ । सोही स्थानमा उहाँले छेलो हान्ने, साथीहरूसँग खेल्ने र गाउँको परिवेशमा हुर्किने अवसर पाउनुभएको स्थानीयको विश्वास छ । भक्ति थापाको वीरताको सम्मानस्वरुप लमजुङका विभिन्न स्थानमा उहाँका सालिक तथा स्मृति पार्क निर्माण गरिएका छन् । तर उनको बाल्यकाल बितेको हरसिङडाँडाले भने अहिलेमात्र विकासको लय समात्न थालेको छ । सडक, विद्युत् र पर्यटन पूर्वाधार विस्तारसँगै यो स्थलको महत्व झन् बढ्दै गएको स्थानीय बताउँछन् । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार हरसिङडाँडा गाउँपालिकाको प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्य हो । राष्ट्रिय विभूति भक्ति थापाको इतिहाससँग जोडिएको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्ने योजना गाउँपालिकाले अघि बढाएको उनले बताए । उनका अनुसार हरसिङडाँडासम्म पुग्ने सडकलाई थप स्तरोन्नति गर्ने, पर्यटकलाई सहज हुने पूर्वाधार निर्माण गर्ने, आवश्यक बजेट व्यवस्थापन गर्ने तथा देशव्यापी रूपमा प्रचारप्रसारलाई प्रभावकारी बनाउने तयारी भइरहेको छ । विद्युत् पुगेपछि पर्यटन विकासले थप गति लिने विश्वास व्यक्त गर्दै उनले स्थानीय सरकार यस क्षेत्रलाई गण्डकी प्रदेशकै आकर्षक ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताए । अध्यक्ष गुरुङले विद्युत् सेवा विस्तारले पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने बताए । पर्यटकको सङ्ख्या बढ्दै जाँदा स्थानीय उत्पादनले बजार पाउने, होटल तथा होमस्टे व्यवसाय विस्तार हुने, युवाले गाउँमै रोजगारी सृजना गर्ने र समग्र गाउँको आर्थिक गतिविधि चलायमान बन्ने उनको विश्वास छ । स्थानीयका अनुसार केही वर्षअघिसम्म सुनसान देखिने हरसिङडाँडा अहिले विस्तारै चहलपहलले भरिन थालेको छ । सडक पुगेको छ, विद्युत् पुगेको छ, बास र खानाको व्यवस्था भएको छ । थपिँदो पूर्वाधारले एक दिन घुमेर फर्किनेमात्र होइन, एकदुई रात बसेर प्राकृतिक सौन्दर्य, हिमालको दृश्य र स्थानीय संस्कृतिको अनुभव लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । इतिहास, प्रकृति, संस्कृति र आधुनिक पूर्वाधारको सुन्दर सङ्गम बनेको हरसिङडाँडा अब केवल भक्ति थापाको बाल्यकालसँग जोडिएको ऐतिहासिक स्थलमात्र होइन, उज्यालोसँगै नयाँ सम्भावनाको ढोका खोल्दै अघि बढिरहेको पर्यटकीय गन्तव्य पनि बनेको छ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक गौरव र स्थानीय आतिथ्यतालाई एकैसाथ अनुभव गर्न चाहनेका लागि हरसिङडाँडा आज लमजुङको मात्र होइन, गण्डकी प्रदेशकै उदाउँदो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विकासका योजनाले निरन्तरता पाए र आवश्यक पूर्वाधार थपिँदै गए, राष्ट्रिय विभूति भक्ति थापाको सम्झना बोकेको यो डाँडा निकट भविष्यमै नेपालको प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको सूचीमा दरिन सक्ने प्रबल सम्भावना देखिन्छ ।

स्वास्थ्य अवस्था अस्थिर बनेपछि गणेश नेपालीलाई तत्काल भारत नलैजाने

काठमाडौं । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने निर्णय गरेको छ । उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझावका आधारमा सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो । उनलाई तत्काल विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ आफैं खटिएका थिए भने सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरिएको थियो । सरकारले नेपालीका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्नुका साथै भारतको विमानस्थलदेखि एम्स अस्पतालसम्म लैजाने सम्पूर्ण बन्दोबस्त मिलाएको थियो । यसअघि नै उनको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णय पनि सरकारले गरिसकेको थियो । तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानको जोखिम अझ बढ्न सक्ने चिकित्सकहरूले बताएका छन्। त्यसपछि उनलाई तत्काल भारत नलैजाने निर्णय गरिएको हो । चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान उपयुक्त हुने सुझाव दिएका छन् । त्यसैले गृहमन्त्री गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका सदस्यहरू बिहीबार रातिदेखि वीर अस्पतालमै तयारी अवस्थामा खटिएका छन् । बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको छ । हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा.डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोली उनको उपचारमा खटिएको छ । चिकित्सकहरूको टोलीले उनको रक्तचाप नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्था स्थिर बनाउन निरन्तर विशेष औषधि उपचार गरिरहेको छ ।

३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली आयोजना अघि बढ्यो, लागत ५५.३३ अर्ब

काठमाडौं । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ । अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ । आयोजनाबाट वार्षिक सरदर एक हजार ६२९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालले सम्भाव्यता अध्ययनको पूर्ण प्रतिवेदन प्राप्त भएपछि वास्तविक उत्पादन क्षमता टुङ्गो लाग्ने बताए ।  योजनास्थलमा प्रारम्भिक काम सम्पन्न भइसकेको छ । यस्तै, डिजाइन र हेडवक्र्सको अध्ययन हाइड्रोल्याबमा भइरहेको कम्पनीले जनाएको छ । विद्युत्गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन र जेनेरेटर जडान गरिनेछ । उत्पादित विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा जोडिनेछ । कम्पनीले सन् २०३३ को अगस्टसम्म व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । विद्युत् विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन र सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाको कुल लागत ५५ अर्ब ३३ करोड रुपैयाँ बराबर रहनेछ ।