एमओयुको मस्यौदा शुक्रबार पारित गर्दै हिमालयन, मर्जरपछिको रोडम्याप बनाउँदै दुबै बैंकको व्यवस्थापन

  २०७८ वैशाख ५ गते १२:०९     विकासन्युज

काठमाडौं । गत बिहीबार बसेको हिमालयन बैंकको संचालक समिति बैठकले सो बैंकको ड्यु डेलिजेन्स अडिट (डीडीए) स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने प्रयोजनको लागि गरिएको डीडीए संचालक समितिले स्वीकार गर्ने निर्णय गरेको हो ।

हिमालयन बैंक संचालक समितिको यस्तो निर्णयपछि यी दुबै बैंकबीच मर्जर प्रक्रियाले मूर्त रुप लिने अनुमान गरिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले भने सो बैंकको डीडीए स्वीकार गर्ने निर्णय यसअघि नै गरेको थियो । एकापसमा मर्जरका लागि दुबै बैंकले बेग्लाबेग्लै डीडीए गराएका थिए ।

डीडीएले मर्जरका लागि दुबै बैंकको सेयर अनुपात १ बराबर १ नै हुने देखाएको छ । अर्थात दुबै बैंक समान हैसियतमा मर्जर हुदैछन् ।

मर्जरपछि बैंकको संचालक समिति अध्यक्ष पृथ्बीबहादर पाँडे हुने सहमति भएको छ । पाँडे अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको संचालक समिति अध्यक्ष छन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा र ज्योतिप्रकाश पाण्डे नै रहने भनिएको छ । हाल राणा हिमालयन बैंकको र पाण्डे इन्भेष्टमेन्ट बैंकको सीईओको जिम्मेवारीमा छन् ।

हबिबको सेयर कसले किन्ला ?

यी दुई बैंक मर्जरसँगै जोडिएको एउटा प्रमुख विषय हो पाकिस्तानको हबिब बैंकको स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर कसले किन्ने भन्ने विषय । हबिबले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको २० प्रतिशत प्रमोटर सेयर विक्री गर्ने प्रस्ताव पठाइसकेको छ । हिमालयनको संचालक समितिले हबिबको प्रस्ताव अनुसार सेयर किन्ने भए औपचारिक रुपमा जानकारी गराउन सबै संस्थापक सेयरधनीलाई पत्राचार गरिसकेको छ ।

बैंक तथा वित्तीय संस्थाको एउटा संस्थापक सेयरधनीले सेयर विक्री गर्न चाहेमा त्यसको पहिलो हकदार अन्य संस्थापक सेयरधनी नै हुन्छन् । त्यसैकारण हिमालयन बैंकले अन्य संस्थापक सेयरधनीलाई यस्तो खबर गरेको हो । तर, अहिलेसम्म कुनै पनि संस्थापकले कति सेयर किन्ने वा नकिन्ने भनेर औपचारिक रुपमा कुनै जानकारी गराइनसकेको बैंक स्रोतले जानकारी दिएको छ ।

हिमालयन बैंकमा ०.५ प्रतिशतभन्दा बढी संस्थापक सेयर भएका सेयरधनीमा २ जना व्यक्ति र ७ वटा संस्था छन् । यसअघि ०.९९ प्रतिशत संस्थापक सेयर लिएको स्याकार कम्पनीले सेयर विक्री गरिसकेको छ । यस्तै, सबैभन्दा धेरै संस्थापक सेयर धारण गरेको हबिब बैंकले सेयर विक्री गर्ने भनेपछि अरु सेयरधनीले कसरी खरिद गर्ने भन्ने प्रश्न उठेको छ ।

हबिबपछि सबैभन्दा बढी कर्मचारी संचय कोषको १४ प्रतिशत संस्थापक सेयर छ । यस्तै, एन. ट्रेडिङ कम्पनीको १२.७१ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेसनलको ११.३८ प्रतिशत, छाया इन्टरनेसनलको ८.८९ प्रतिशत र शर्मा एण्ड कम्पनीको ०.६६ प्रतिशत संस्थापक सेयर छ । व्यक्तिगत तर्फ शशिकान्त अग्रवालको २.६५ प्रतिशत र अन्जु खेतानको ०.७७ प्रतिशत सेयर छ ।

अहिलेको कानुनी व्यवस्था अनुसार कर्मचारी संचय कोषले हबिबले विक्री गर्न लागेको संस्थापक सेयर धेरै किन्न सक्ने ठाउँ नै छैन । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले एउटै लगानीकर्ताको १५ प्रतिशतभन्दा बढी संस्थापक सेयर हुन नहुने भनेको छ । कोषसँग अहिले नै १४ प्रतिशत प्रमोटर सेयर छ ।

तर, सरकारी निकाय भएकोले कोषको लागि १५ प्रतिशतको सीमा नलाग्ने कानुनी व्यवस्था गरेर अघि बढ्ने बारे पनि गृहकार्य भएको स्रोतले बताएको छ ।

हबिबको सेयर विक्री नभए मर्जर हुन्छ ?

हबिब बैंकले आफ्नो स्वामित्वको संस्थापक सेयर विक्री गर्ने प्रस्ताव गरेपनि अन्य संस्थापकले सेयर खरिदको लागि प्रस्ताव गरेका छैनन् । हिमालयन बैंकको हबिबपछि सबैभन्दा ठूलो संस्थापक सेयरधनी कर्मचारी संचय कोषले हबिबको सेयर किन्ने विषयमा औपचारिक निर्णय गरेको छैन ।

हिमालयन बैंकमा रहेको हबिबको संस्थापक सेयर विक्री नभए नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रिया अघि बढ्छ कि बढ्दैन भन्ने संसय पनि उत्पन्न भएको छ । तर, हिमालयन बैंक स्रोत भने हबिबको सेयर विक्री नभएपनि मर्जरमा जानको लागि नरोकिने बताउँछ ।

‘हबिबको सेयर विक्री भए पनि वा नभएपनि मर्जर प्रक्रियालाई केही फरक पर्दैन, मजर्र हुने भयो भने उसको सेयर विक्री नभए पनि हुन्छ, नहुने भयो भने उसको सेयर विक्री भएपछि पनि रोकिन सक्छ,’ हिमालयन बैंक स्रोतले भन्यो ।

मर्जरको औचित्य पुष्टी गर्न खोज्दै व्यवस्थापन

दुबै बैंक संचालक समितिले मर्जरको औपचारिक समझदारी पत्रमा हस्ताक्षर हुनुअघि केही काम गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ । ठूलो बैंक बन्ने मात्र उदेश्यले मर्जरमा जानुभन्दा सरोकारवाला सबै पक्षलाई कसरी फाइदा दिन सकिन्छ भन्ने कारण र औचित्य खोजी गरेर मर्जरमा जानको लागि दुबै बैंक व्यवस्थापनलाई काम दिइएको हो ।

‘पुँजी, कर्मचारी, शाखा संजाल जस्ता तथ्यले हामी नेपालकै सबैभन्दा ठूलो बैंक भयौं भन्ने उदेश्यका लागि मात्र मर्जरमा किन जाने भन्ने विषयमा पनि छलफल भएको छ, त्यसैले मर्जरपछि वा सबैभन्दा ठूलो बैंक बनेपछि सेयरधनीले कसरी कस्तो लाभ पाउँछन्, कर्मचारीको लागि के फाइदा छ, बैंकका ग्राहकलाई कसरी बढीभन्दा बढी र प्रभावकारी सेवा प्रदान गर्न सकिन्छ, राज्यलाई के कसरी सहयोग हुन्छ भन्ने जस्ता विषयमा एउटा रोडम्याप बनाऔं, त्यसलाई दुबै बैंकका संचालक समितिले आत्मसाथ गरौं, अनि मर्जरमा जाऊँ भन्ने निर्णय भएको छ, दुबै बैंकको प्रमुख कार्यकारी अधिकृतले यो काम गरिरहनु भएको छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार दुबै बैंकका प्रमुख कार्यकारी अधिकृतले मिलेर एउटा रोडम्याप बनाउने छन् । सो रोडम्याप दुबै जना प्रमुख कार्यकारी अधिकृतले आआफ्नो संचालक समितिमा पेश गर्नेछन् । आवश्यक परिमार्जन पछि अन्तिम रुप दिइने रोडम्यापकै आधारमा मर्जरपछि बन्ने बैंक संचालक समिति र व्यवस्थापनले काम कारवाही अघि बढाउने गरी गृहकार्य चलिरहेको छ ।

शुक्रबार निर्णय गर्दै हिमालयन बैंक

इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने विषयमा हिमालयन बैंकले आगामी शुक्रबार निर्णय गर्दैछ । हिमालयन बैंकले शुक्रबारको लागि बोलाएको संचालक समिति बैठकमा नेपाल इन्भेष्टमेन्ट बैंकसँग गर्ने समझदारी पत्र (एमओयु) को ड्राफ्टलाई अन्तिम रुप दिदैछ ।

‘एमओयुको ड्राफ्ट अनौपचारिक रुपमा आदानप्रदान भइरहेको छ, हामी औपचारिक तथा अनौपचारिक रुपमा छलफल गरिरहेका छौं, शुक्रबार बस्ने हाम्रो संचालक समिति बैठकले हस्ताक्षर गरिने एमओयुको ड्राफ्टलाई अन्तिम रुप दिनेछ,’ हिमालयन बैंक स्रोतले भन्यो ।

सम्बन्धित समाचार

नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने गरी हुन लागेको इन्भेष्टमेन्ट र हिमालयनको मर्जर कहाँ पुग्यो ?

इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरः सेयर अनुपात १ बराबर १, सिइओ २ जना

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुन लागेको हो ? बैंक यस्तो भन्छ

हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन

मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भए कस्तो बैंक बन्ला ?

राष्ट्र बैंकको परिभाषा अनुसारको क्रस होल्डिङः ६ वाणिज्य बैंकमा नागरिक लगानी कोषको झण्डै २ अर्ब प्रमोटर सेयर

११ वाणिज्य बैंकमा सञ्चय कोषको उल्लेख्य लगानी, क्रस होल्डिङ नराख्ने राष्ट्र बैंकको अभियानमा अवरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.