मर्जरले हिमालयन र इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई मालामाल, तलब बढ्ने, पद नघट्ने

  २०७८ साउन १४ गते १४:२२     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता भएसँगै कर्मचारीको तलब लगायत सेवा सुविधाको बारेमा पनि सहमति भएको छ । दुवै बैंकको एकिकृत कारोबारपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीहरुको मासिक तलब र अन्य सेवा सुविधाहरु पनि बढ्ने भएको हो ।

अहिले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब सुविधा तुलनात्मक रुपमा तल माथि छ । दुई बैंकबीच असोजमा एकिकृत कारोबार भएपछिको बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीहरुको तलब तथा अन्य सेवा सुविधा समान गर्ने दुई बैंकबीच सहमति भएको हो ।

बैंकको एकिकृत कारोबारपछि इन्भेष्टमेन्ट बैंकमा कम तलब हुने कर्मचारीहरुको तलब तथा सेवा सुविधा हिमालयन बैंक सरह हुने र हिमालयन बैंकमा कम तलब तथा सेवा सुविधा हुने कर्मचारीको नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी सरह नै गर्ने सहमति भएको हो । हिमालयन बैंक स्रोतका अनुसार हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको एकिकृत कारोबारपछि कर्मचारीहरुको तलब बढ्ने भएको हो ।

‘असोजमा अर्थात दशैं अगाडि नै एकिकृत कारोबार गर्ने किसिमले तयारी गरिरहेका छौं, लगभग सबै विषयको सहमति भइसकेको छ, कर्मचारीहरुको तलब पनि बढ्छ नै, कम तलब भएका इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब सुविधा विस्तारै हिमालयन बैंक सरह नै समायोजन हुने र हिमालयन बैंकमा काम गर्ने कम तलब भएका कर्मचारीहरुको पनि इन्भेष्टमेन्ट बैंकका कर्मचारी सरह नै तलब सुविधा दिने सहमति भएको छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार पद एउटै भएका कर्मचारीको जुन बैंकको कर्मचारीको तलब बढी छ एकिकृत कारोबारपछि सोही तलबलाई आधार मानेर तलब सुविधा तोकिनेछ । दुई बैंकको एकिकृत कारोबारपछि विस्तारै तलब सुविधामा समानता ल्याउने स्रोतको भनाई छ ।

उनका अनुसार कुनै पनि बैंकका कर्मचारीले खाइपाई आएको तलब तथा सेवा सुविधा घट्ने छैन । उनले हाल हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेका कर्मचारीहरुको पद जुन छ सोही पदमा नै कायम हुने किसिमले समायोजन गर्ने तयारी भइरहेको पनि बताए ।

हाल हिमालयन बैंकमा १ हजार र नेपाल इन्भेष्टमेन्ट बैंकमा १ हजार ४ सय जना कर्मचारी छन् । बैंकले एकिकृत कारोबार गरेपछि बन्ने हिमालन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकमा कुल २ हजार ४ सय जना कर्मचारी हुनेछन् ।

दुई बैंकबीच एकिकृत कारोबार भने असोजमा मात्रै हुने बताइएको छ । यसअघि असार मसान्तभित्रै एकिकृत कारोबार गर्ने किसिमले तयारी भइरहेको भएपनि अब असोजमा मात्रै एकिकृत कारोबार हुने भएको हो ।

‘हामीले असार मसान्तभित्रै एकिकृत कारोबार गर्ने किसिमले काम गरिरहेका थियौं, त्यही किसिमले काम पनि भइरहेको थियो, कोरोनाको कारण निषेधाज्ञा पनि लम्बियो, अहिले पनि असहज परिस्थिति नै छ, अब असोजदेखि नै एकिकृत कारोबार गर्ने तयारी गरिरहेका छौं,’ स्रोतले भन्यो ।

मर्जरमा भएको सम्झौता अनुसार बैंकको संचालक समितिको अध्यक्षमा पृथ्वी बहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमसेर राणा बन्नेछन् ।

मर्जरपछि हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयाँ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति बनाउने समझदारी गरेको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । र, सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।

यस्तै, हाल नेपाल स्टक एक्स्चेञ्जले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको छ । दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै नेपाल स्टक एक्स्चेञ्जले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार ३१ गतेदेखि रोक्का गरिदिएको थियो । अब असोजमा एकिकृत कारोबार भएपछि मात्रै बैंकको सेयर कारोबार फुकुवा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.