संघीयता र प्रशासनबारे सिक्न नयाँ कर्मचारी जिल्लामा

काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले तालीमपश्चात् कर्मचारीलाई मुलुकको अवस्था बुझ्न देशका विभिन्न ठाउँमा खटाएको छ । संघीयता कार्यान्वयनसँगै मुलुकको प्रशासनिक कार्यबारे जानकारी दिनका लागि कर्मचारीलाई विभिन्न ५० जिल्लामा २१७ शाखा अधिकृतलाई दुई महिनाको प्रयोगात्मक अभ्यासका लागि खटाइएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले जानकारी गराए । लोकसेवा उत्तीर्ण गरेपछि प्रतिष्ठानले चार महिना तालीम दिने गर्दछ । ‘‘हामीले चार महिनामा जे सिकाइएका थियौं । अहिले ती कुरा जनतासँग प्रत्यक्ष काम गर्नका लागि शाखा अधिकृतलाई खटाएका छौं,’’ उनले भने, ‘‘त्यहाँ कर्मचारीले प्रतिष्ठानमा सिकेका कुरालाई व्यावहारिक रुपमा लागू गर्नेछन् ।’’ प्रतिष्ठानले गत वर्षबाट तालीमपश्चात् कर्मचारीलाई बाहिरी जिल्लामा खटाउँदै आएको हो । कर्मचारीले त्यहाँ रहँदा जिल्ला प्रशासन कार्यालय, मालपोत र स्थानीय तहमा गएर दुई महिना काम गर्नेछन् । यसरी पठाइएका कर्मचारीले विकास र संघीयतासम्बन्धी कुरा स्थानीय तहबाट सिक्ने, प्रशासनसम्बन्धी कुरा जिल्ला प्रशासन कार्याल र मालपोत कार्यालयबाट सिक्ने उनले बताए । एक ठाउँका कर्मचारीलाई अर्को ठाउँ पठाइने गरिएको छ । कर्मचारीले एक महिना जिल्ला प्रशासन वा मालपोत र अर्को एक महिना स्थानीय तहमा अनिवार्य प्रयोगात्मक अभ्यास गर्नुुपर्नेछ । ठूला जिल्लामा छ र साना जिल्लामा चार जनाको समूह बनाएर अहिले उनीहरुले सिकिरहेका छन् । रासस

मेगा बैंकले लगानीकर्तालाई १ अर्ब रुपैयाँ बोनस सेयर वितरण गर्ने

काठमाडौं । मेगा बैंकले लगानीकर्तांलाई १०.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । टुरिजम डेभलपमेन्ट बैंक र मेगाको गरी कुल ९९ करोड ८६ लाख ९५ हजार रुपैयाँ लगानीकर्तालाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । मेगाको ६९ करोड ७१ लाख र साविकको टुरिजमको ३० करोड ३० करोड १५ लाख रुपैयाँलाई बोनस सेयरका रुपमा वितरण गरिने भएको हो । बोनस रकम साधारणसभाबाट पारित भएपछि वितरण गर्ने बैंकले जनाएको छ ।

कर्जाको ब्याज ९ प्रतिशत हुने गरी विस्तारित मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सुझाव

काठमाडौं । सरकारले आगामी आवका लागि सार्वजनिक गरेको बजेट र चालु आवको आर्थिक अवस्थालाई ध्यानमा राखेर विस्तारकारी मौद्रिक नीति ल्याउन सम्बन्धित सरोकार निकायले सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकले आज आयोजना गरेको आव २०७५/७६ को मौद्रिक नीति तर्जुमाका लागि सुझाव दिने क्रममा सहभागीले लगानीमैत्री वातावरण सिर्जना हुने र लगानीयोग्य रकम अभाव नहुने गरी मौद्रिक नीति तयार गर्न सुझाव दिएका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बजेटमार्फत सरकारले लिएको लक्ष्यलाई सहयोग गर्ने, मूल्यवृद्धिलाई नियन्त्रणमा राख्ने र सरोकारवालाले दिएको सुझावलाई समेट्ने मौद्रिक नीति तयार गर्ने बताए। लगातार दुई वर्षको आर्थिक वृद्धिदर राम्रो भएको उल्लेख गर्दै उनले आगामी आवको बजेटको लक्ष्य पनि पूरा हुने अवस्थामा देखिएको बताए। गभर्नर डा नेपालले विद्युत् आपूर्ति र स्थायी सरकार भएकाले पनि अर्थतन्त्रले सही गति लिएको स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अत्यावश्यक वस्तुमा उद्योगले पाउने सुविधा कटौटी गरेर बजेट आएकाले मूल्यवृद्धि हुने र पुर्नकर्जाका विस्तार नहुँदा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसेकेको भन्दै त्यस्ता विषयलाई सम्बोधन गर्न आग्रह गरे । नेपाल चेम्बर्स अफ कमर्सका तर्फबाट कमलेश अग्रवालले कर्जाको ब्याजदर ७ देखि ९ प्रतिशत कायम राख्न, ५ प्रतिशतको स्प्रेड दर र कर्जा निक्षेप अनुपातलाई ध्यानमा राखेर विस्तारमुखी मौद्रिक नीति ल्याउन सुझाव दिए । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बजेट लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नका लागि ५ खर्ब रुपैयाँ लगानी हुनुपर्ने बताउँदै तरलताको पर्याप्तता, ब्याजदरमा पुनर्विचार, बैंक तथा वित्तीय संस्था स्थानीय तहमा जाने अवस्था सिर्जना गर्ने गरी मौद्रिक नीति आउनुपर्ने बताए। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले लघुवित्त कार्यक्रममा बीमा गर्नुपर्ने प्रावधान ल्याउन सुझाव दिए । त्यसैगरी नेपाल उद्योग परिसंघ, धितोपत्र बोर्डलगायतका विभिन्न संस्थाका प्रतिनिधिले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयमा जोड दिए । –––

प्रदेश ७ को बजेट २६ अर्ब, उद्योगलाई कर छुटदेखि करको दायरा बढाउनेसम्मका योजना

काठमाडौं । प्रदेश नं ७ का आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्ब रुपैयाँसम्मको बजेट ल्याउनलागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन) र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम(युएनडिपी)को सहकार्यमा धनगढीमा आयोजित तालिम कार्यक्रममा बोल्दै मन्त्री बोहोराले ‘संघिय सरकारले उपलब्ध गराएको २१ अर्ब रुपैयाँ बराबरको अनुदान र प्रदेश सरकारले विभिन्न वित्तिय क्षेत्रबाट उठाउने गरि बजेट निमार्ण गरिरहेको वताए । पूर्वाधार, जलविद्युत, उद्योग, कृषिलगायतलाई प्राथमिकतामा राखेर वजेट निमार्ण गरिरहेको बताउदै उनले लगानी आर्कषित गर्न कर छुट दिन लागिएको जानकारी दिए । मन्त्री बोहराले कर करलेभन्दा पनि रहरले तिर्ने वातावरणको सिर्जना गर्ने बताए । ‘कर करले होइन, रहरले तिराउने हो,’ उनले भने ‘कर मैत्रीवातावरण वनाउँछौँ । करको दायरा होइन, करमा नयाँ क्षेत्रको पहिचान गर्छौ ।’ विकास र समृद्धिको आधार बर्षको रुपमा बजेट ल्याउन लागेको उनको भनाइ छ । संघियता कार्यान्वयनको चरणमा वजेट आउन गालेको बताउँदै विकास र समृद्धिको आधार वर्षको रुपमा बजेटको कार्यन्वयन हुने उनले बताए । कार्यक्रममा प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले राजनीतिकभन्दा आर्थिक क्रान्ती अभियानमा अगाडी बढ्नु उनको भनाइ छ । यूनडिपीकी आवासीय उपनिर्देशक सोफी केमखाडेले दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि सरकार, नागरिक समाज र पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताइन् ।    

७ अर्ब ५४ करोडको हकप्रद सेयर आउँदै

काठमाडौं । विभिन्न ११ कम्पनीको ७ अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रुपैयाँ बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद सेयर निष्काशनको तयारी गरिएको छ । ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । सो उद्योगले एक कित्ता बराबर तीन कित्ता सेयर दिने गरी प्रस्ताव गरेको हो । सो उद्योगको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । यस्तै एनसीसी बैंकले दुई बराबर एक कित्ता सेयर दिने गरी प्रस्ताव गरेको छ । बैंकले दुई अर्ब ३३ करोडको दुई करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । बोर्डमा दिएको आवेदनअनुसार उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पाँच बराबर एक कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । बोर्डले सोधको आवश्यक जानकारीसहित पछिल्लो पटक कागजात पेश गरेका चार वित्तीय संस्थाको पनि हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । एक बराबर एक कित्ता सेयर बिक्री गर्न लागेको कम्पनीमा स्वदेशी लघुवित्तीय संस्था लिमिटेडले ११ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । त्यसको कूल मूल्य ११ करोड ५० लाख रुपैयाँ रहेको छ । एनआइसी एसिया क्यापिटल लिमटिडको सो संस्थाको हकप्रद सेयरको बिक्री प्रबन्ध गर्ने छ । यस्तै माइक्रोफाइनान्स समूहकै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले दुई बराबर एक कित्ताको दरले हकप्रद सेयर बिक्री गर्ने तयारीका साथ बोर्डमा आवेदन दिएको छ । तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागिएको छ । सनराइज क्यापिटलले सो संस्थाको हकप्रद सेयर बिक्रीको प्रबन्ध गर्नेछ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले एक बराबर दुईका दरले रु छ करोड बराबरको ६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । एनएमबी क्यापिटलले बिक्री प्रबन्ध गर्नेछ । त्यसैगरी २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको सिटी एक्सप्रेस फाइनान्स कम्पनीले पनि आवश्यक तयारी गरेको छ । एक बराबर एक कित्ता हकप्रद सेयर दिने तयारी गरेको सो संस्थाको हकप्रद सेयर बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट रहेको छ । बीमा समूहको आइएमइ जनरल इन्स्योरेन्सले दश बराबर आठ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ । ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हकप्रद सेयरको बिक्री प्रबन्ध गर्नेछ । प्रोग्रेशिसभ फाइनान्स कम्पनीले एक बराबर दुई कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख कित्ता सेयर बिक्रीको तयारी गरिएको छ । सनराइज क्यापिटल सो कम्पनीको सेयर बिक्री प्रबन्धक रहेको छ । त्यस्तै बोर्डमा आवेदन दिएकामा अपी पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि रहेको छ । अपी पावरले एक बराबर दुई कित्ता सेयर दिने तयारी गरेको छ । दुई अर्ब १० करोड रुपैयाँ बराबरको २१ करोड कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । एभरेष्ट इन्सोरेन्सले पनि एक बराबर ६ कित्ता हकप्रद सेयर दिने गरी तयारी गरेको छ । ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी छ । अपी पावरको सिद्धार्थ क्यापिटल बिक्री प्रबन्ध गर्नेछ भने एभरेष्टको पनि सोही कम्पनी नै बिक्री प्रबन्धक रहेको छ । रासस

घरकर्जाको सीमा ७० प्रतिशत पुर्याउन माग

काठमाडौं । हाउजिङ तथा आवास विकास (रियलस्टेट) व्यवसायीले कर्जा सीमा बढाएर ७० प्रतिशतसम्म पुर्याउन माग गरेका छन् ।  नेपाल राष्ट्र बैंकले बुधबार राजधानीमा आयोजना गरेको मौद्रीक नीति तर्जुमाका लागि सरोकारवालासंग गरेको अन्तरक्रियामा रियलस्टेट व्यवसायीले कर्जा सीमा बढाउन सुझाएका हुन् । नेपाल हाउजिङ एन्ड ल्याण्ड डेभलपर्स एसोसियसनका अध्यक्ष इच्छाराज तामाङले आउदो आगामी वर्षको मौद्रीक नीतिले घरजग्गा व्यवसायलाई खुकुलो पार्न माग गरे । उनले सरकारले कम्पनीमार्फत मात्र जग्गा कारोबारलाई प्रोत्साहित गर्न लागेको सुनाउदै बैंकको कर्जा लगानी सीमा बढाउन सुझाएका हुन् । उनले जग्गा विकासमा ६०, हाउजिङ र घरकर्जाको सीमा बढाउन उनले माग गरेका हुन् ।

मौद्रिक नीतिमा सेयर लगानीकर्ताको सुझाव, मार्जिन लेण्डिङ सीमा ८० प्रतिशत दिनुपर्ने

काठमाडौं । सेयर धितो कर्जाको सीमा बढाउन लगानीकर्ताले माग गरेका छन् । सेयर धितो कर्जामा कडाइ हुदा बजार बढ्न नसकेको भन्दै लगानीकर्ताले कर्जाको सीमा ५० बाट बढाएर ८० प्रतिशत पुर्याउन माग गरेका हुन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रीक नीति तर्जुमाका लागि बुधबार गरेको अन्तरक्रियामा सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले कर्जाको सीमा बढाउन सुझाव दिएका हुन् । उनले औसत भारित जोखिमलाई घटाएर १०० प्रतिशत कायम गर्न सुझाए । यस्तै बैंकरलाई सेयर ब्रोकरको अनुमतिपत्र (लाइसेन्स) दिन राष्ट्र बैंकलाई सुझाव दिएका छन् । हकप्रद र बोनस सेयरपछिको मूल्य समयोजन तत्काल हुने व्यवस्था मिलाउन उनले माग गरेका छन् । पछिल्लो समयमा बजार निरन्तर घट्दै गएपछि सेयर कर्जाको सीमा बढाउन लगानीकर्ताले जोड दिदै आएका छन् ।

बैंकबीच ब्याजदर बढाउन प्रतिस्पर्धा, सेञ्चुरी कर्मर्शियल बैंकले साढे १२ प्रतिशत दिने

काठमाडौं । वाणिज्य बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १२.५ प्रतिशत पुर्याएका छन् । बैंकहरुबीच निक्षेपको ब्याजदर नबढाउन भद्र सहमति तेडिएपछि धमाधम बढ्न थालेको हो । बैंकहरुले ब्याजदर बढाउन तछाडमछाड सुरु गरेका छन् । सोमबार एनआईसी एसिया बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको भोलीपल्ट सिभिल बैंकले १२.२२ र मंगलबार सेञ्चुरी कर्मर्शियल बैंकले बढाएर साढे १२ प्रतिशत पुर्याएको छ । आर्थिक वर्ष सकिन अब १ महिना मात्र बाँकी भएकाले भएको निक्षेप बढाउन धमाधम ब्याजदरमा वृद्धि गर्न थालेका हुन् । सेञ्चुरीले ६ महिनादेखि १ वर्षसम्मको मुद्दती खाताको लागि वार्षिक १२.५ प्रतिशत ब्याज दिने गरी नयाँ योजना ल्याएको छ । यसबाट वाणिज्य बैंकहरु निक्षेप बढाउन फेरी प्रतिस्पर्धामा उत्रिएका छन् । बैंकहरुले निक्षेप बढाउन मुद्धतिको ब्याजदरमा वृद्धि गर्न थालेका छन् । यसअघि बैंकबीच साधारण वचतमा ८ र मुद्धति निक्षेपमा अधिकतम ११ प्रतिशतसम्म ब्याज दिने सहमति गरेका थिए । ब्याजदर वृद्धिबाट संस्थागत र व्यक्तिगत निक्षेपकर्तालाई फाइदा हुन्छ भने बैंकको ऋण लिने उद्योगी व्यवसायी मारमा पर्नेछन् । यसले मूल्य बढाउने छ । ब्याजदर बढेकाले थप जोखिम बढ्न थालेको पुर्वबैंकर अनलराज भट्टराईले बताए । मौद्रीक नीति तर्जुमाका लागि नेपाल राष्ट्र बैंकले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै बैंकबीच ब्याजदर बढाउन होडबाजी सुरु भएको र यसले वित्तीय स्थिायित्वमा समस्या ल्याउने भन्दै यसको विषयमा गम्भीर हुन राष्ट्र बैंकलाई सुझाए । उनले बैंकको आधार ब्याजदर ९ बाट बढेर १०.९४ प्रतिशत पुगेको छ । यस्तै निक्षेप लागत पनि बढेर औसत ६.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चार कम्पनीको २ करोड कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी हकप्रद

काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाको कुल २ करोड ३ लाख ९० हजार ५३ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा एकैदिन विभिन्न कम्पनीको हकप्रद र बोनस गरी सो मात्राको सेयर थपिएका हुन् । सो मध्ये प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद र बोनस गरी कुल एक करोड १७ लाख सेयर सूचिकृत भएको छ । कम्पनीको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद र १९ लाख ८३ हजार १५० कित्ता बोनस गरी सो मात्राको सेयर सूचिकृत भएको हो । त्यस्तै, सिद्धार्थ बैंकको ६८ लाख २६ हजार ११७ कित्ता र वेष्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार कित्ता सेयर सूचिकृत भएका छन् । त्यसैगरी, मल्टीप्रपोज फाइनान्स कम्पनीको एक लाख ६४ हजार ७३६ कित्ता बोनस नेपाल स्टक एक्स्चेञ्जमा थपिएको छ ।

शिवम सिमेन्टले शुरु गर्यो विश्वकप भविष्यवाणी कार्यक्रम, विजेतालाई आकर्षक पुरस्कार

काठमाडौं । शिवम् सिमेन्टले आगामी ‘फिफा विश्वकप २०१८’ को अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजनाअन्तर्गत वर्ल्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएकाे छ । हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रिडिक्ट एण्ड वीनपोष्टको लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ । साथै, हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही निकटत्तम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने छ । हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा गएर  पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । पछिल्लो २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको उक्त प्रिडिक्ट एण्ड वीन खेल यस पटक पनि निरन्तर्ता दिएको कम्पनीले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुने व्यक्तिहरुले रोमाञ्चक खेलको थप मज्जा लिनुका साथै आकर्षक पुरस्कारहरु पनि प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यसरी शिवम सिमेन्टले विश्वकपको मौसममा आम व्यक्तिहरुलाई थप उत्साह एवं मनोरञ्जन प्रदान गर्ने गरि यस प्रिडिक्ट एण्ड वीन खेल संचालन गरिरहेको छ ।

पञ्चेश्वर विकास प्राधिकरणको सीईओमा एएस गोयल नियुक्त

काठमाडौं । पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा एएस गोयल नियुक्त भएका छन् । हालका सीईओ महेन्द्रबहादुर गुरुङको कार्यकाल सकिएपछि भारतको तर्फबाट गोयल नियुक्त भएका हुन् । प्राधिकरणको पहिलो सीइओको रुपमा गुरुङले आफनो ३ वर्षे कार्यकाल पुरा गरेका छन् । गोयलले आजैदेखि कार्यभार सम्हालेका हुन् । बहुउद्धेशिय परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा सहमति हुन सकेको छैन् । डीपीआरको तयारी भारतको वापकोर्स इण्डिया लिमिटेडले गरेको छ ।

माछापुच्छ्रे बैंकको सीईओमा सुमन शर्मा, कर्जा र जोखिम व्यवस्थापनमा उत्कृष्ट

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । नवनियुक्त शर्माले नियुक्त भएकै दिन(आज)देखि कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसबिआई बैंकबाट बैंकिङ्ग शुरु गरेका थिए । त्यसपछि शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । शर्माले माछापुच्छ्रे बैंकमा यसअघि  झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिदै आएका छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । साथै, नवनियुक्त सीईओ शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।

सहयोगी विकास बैंकले महिन्द्राको बाइकमा ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्राण्डको दुई चक्के सवारी साधान(मोटरसाइकल)मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा जनकपुरमा रहेको माहा गणपति अटो सेल्स प्रालिसँग सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र महा गणपति अटो सेल्स प्रालिको तर्फबाट प्रबन्ध सञ्चालक दिपेन्द्रकुमार दासले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार माहा गणपति अटो सेल्सले विक्री गर्ने दुई चक्के सवारी साधानलाई कम्पनीले सिफारिस गरे अनुसार बैंकले रित पुर्याई कर्जा लगानी गर्नेछ । बैंकले मोटरसाइकल मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । कर्जा लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा बैंकलाई मोटरसाइकल विक्रेता कम्पनी महा गणपति अटो सेल्सले समेत सघाउनु पर्ने भएको छ । उक्त कम्पनीको मोटरसाइकलमा कर्जा लगानी गरिदिएवापत कम्पनीले बैंकलाई प्रति मोटरसाइकल दुई देखि चार हजार रूपैयाँसम्म कमिशन भुक्तानी गर्नुपर्ने छ । यो सम्झौता २०७७/३/३१ सम्म लागू हुने छ । तर आपसी सहमतिमा निश्चित अवधिका लागि यो अवधि थप गर्न सकिने बैंकले जानकारी दिएको छ । सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिएका छन् । आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरू प्रदान गर्ने उनले बताए ।

सेयर बजार करेक्सनतर्फ, नेप्से ९ अंकले बढ्यो, दुई कम्पनीले कमाए ९ प्रतिशत बढी

काठमाडौं । केही दिनदेखि घट्दै आएको सेयर बजार अब करेक्सनको बाटो तर्फ लागेकाे छ। सोमबार बजार ९.५५ अंक बढेर १ हजार २४१ अंकमा पुगेको छ । आइतबार बजार २५ अंकले घटेर १२३१ अंक तल पुगेको थियो । लगातार घट्दै गएको बजार बढेपछि एउटा विन्दुमा आएर करेक्सन भएको बुझिन्छ । आज एक दिनको वृद्धिलाई आधार मानेर विश्लेषण गर्न नसकिने र आगामी दिनमा यसले निरन्तरता पाउँछ की पाउदैन भन्ने लगानीकर्तामा चासोको विषय बनेको छ । अघिल्लो दिनको तुलनामा सेयर कारोबार रकममा गिरावट आएको छ । आइतबार ४४ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा ४३ करोडको सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर किनबेच भएको छ । बैंकको दिनभरमा ३ करोड ८५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ रहेको छ । सोमबार बीमा समूह १०२ अंकले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स, होटल, उत्पादनमूलक, बैंकिङ्, हाइड्रोपावर र अन्य समूह हरिया भएका छन् भने बाँकी समूह ओरालो लागेका छन् । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्शका लगानीकर्ताले एकैदिन ९ प्रतिशत बढी कमाएका छन् । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ९.९६ र ९.५२ प्रतिशतले बढेको छ । यस्तै गुमाउनेमा एभरेष्ट बैंक लिमिटेडका कन्भर्टिभल प्रिफेरेन्स सेयरका लगानीकताले ५८१ रुपैयाँ गुमाएका छन् । जुन प्रतिशतको आधारमा ९.२२ प्रतिशत घटी हो ।

२१ कम्पनीको ८ अर्ब ८८ करोडको आईपीओ र एफपीओ, कसको कति हेर्नुहोस (सुचिसहित)

काठमाडौं । नेपालको पुँजी बजारमा अर्बौ रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) र थप निष्कासन (एफपीओ) आउने भएको छ । जलविद्युत, बैंक तथा वित्तीय संस्था र सिमेन्ट उद्योगले आईपीओ र एफपीओ निष्कसन गर्न लागेका हुन् । नेपाल धितोपत्र बोर्डमा २१ कम्पनीले ८ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ निष्कासन गर्न अनुमति मागेका छन् । यसमध्ये ३ कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । ३ कम्पनीले मात्रै ६ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ बराबरको एफपीओ र आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । जसमध्ये अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता र नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन् । यस्तै एनएमबी बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ बराबर एफपीओ निष्कासन गर्न अनुमति पाएको हो । नेपाल बैंकले प्रतिकित्ता २८० रुपैयाँमा ४ अर्ब ९४ रुपैयाँको एफपीओ निष्कासन गर्ने भएको छ । उसले एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । सिटिजन्स बैंकले पनि एफपीओ निष्कासन गर्न लागेको छ । सिटिजन्सले ४ लाख ६३ हजार कित्ता एफपीओ निष्कासन गर्न लागेको छ । सिवम् सिमेन्ट लिमिटेडले पनि आईपीओ निष्कासन गर्न लागेको हो । कसको कति ? निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिनेमा अधिकाँश जलविद्युत कम्पनी छन् । स्थानीयबासिन्दालाई न्युनतम १० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था आएपछि धमाधम पब्लिक कम्पनीमा रुपान्तरण हुन थालेका छन् । बोर्डले आयोजना प्रभावित स्थानिबासिन्दालाई आईपीओ १० प्रतिशतसम्म निष्कासन गर्न पाउने व्यवस्था गरेको छ । सबैभन्दा बढी रकमको आईपीओ निष्कासन गर्नेमा अपर तामाकोसी र एफपीओमा नेपाल बैंक रहेको छ । पाइपलाईनमा एफपीओ र आईपीओ भएका कम्पनीमा सीईडीबी हाइड्रो फण्ड लिमिटेड, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड, हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड, सीबीआईल क्यापिटल लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, युनियन हाइडेल लिमिटेड, मैलुङखोला हाइड्रोपावर लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेड रहेका छन् । निष्कासनका लागि अनुमति दिने अन्य कम्पनीमा लाफिङ बुद्धपावर लिमिटेड, युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, पञ्चकन्य हाइड्रोपावर लिमिटेड र कालिका पावर लिमिटेड रहेका छन् ।  

नेपाली होमस्टेलाई बुकिङ्ग डट्कमकाे ३ करोड १५ लाख सहयोग

काठमाडौं । होमस्टे संजाल विकास गर्नका लागि बुकिङ्ग डट्कमले ३ करोड १५ लाख सहयोग गरेको छ । बुकिङ्ग डट्कमले नेपालमा संचालित कम्युनिटी होमस्टेलाई आर्थिक सहयोग गरेर हो । बुकिङ्ग डट्कमले बुकिङ्ग बूस्टर कार्यक्रम मार्फत विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीरुमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै करीब सवा ३ करोड (यूरो २२५,०००) राशीको अनुदान कम्युनिटी होमस्टे नेटवर्कलाई प्रदान गरेको छ । होमस्टे नेटवर्कले नेपाली संस्कृति, रहनसहन, भेषभूषा, खानपीन लगायत विविध स्थानीय पक्षहरुको बारे विश्व समुदायमा प्रचारप्रसार गर्दै आइरहेको छ । यो कार्यक्रम नेपालभरी १३ वटा समुदायहरुमा सञ्चालन गरिएको छ । बुकिङ्ग डट्कमले विश्वभरीबाट चयन भएका प्रत्येक कम्पनीहरुलाई ५० हजार यूरो राशी बराबरको अनुदान प्रदान गर्दै आएको छ । नेपालबाट प्रथम पटक चयन भएको कम्युनिटी होमस्टेले यूरो २ लाख २५ हजार धन राशी प्राप्त गरेको हो ।

एनआईसी एसिया बैंकको आकर्षक मुद्धति योजना, १२ प्रतिशत ब्याज र ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । एनआईसी एसिया बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको छ । ११ प्रतिशत ब्याज दिदै आएको एनआईसी एसियाले १ प्रतिशत बढाएको हो । बैंकले धनवर्षा मुद्दती निक्षेप योजनामा मासिक भुक्तानीको सुविधा सहितवार्षिक १२ प्रतिशत ब्याज दिने भएको हो । कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । एक बर्षको अवधिका लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधासमेत उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । धनवर्षा मुद्दती खाता’ योजनाबाट बढी भन्दा बढी व्यक्तिगत एवम् संस्थागत ग्राहकले उच्चतमलाभ लिने विश्वास बैंकले लिएको छ । चैतसम्म सबैभन्दा बढि निक्षेप संकल नगर्न सफल तथा कर्जा प्रवाहको हिसावले निजी क्षेत्रको बैंकहरुमध्ये दोश्रो ठुलो बैंकको रुपमा एनआईसी एसिया स्थापित भएको छ । यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्चब्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना लोकप्रिय भएको थियो । एनआईसी एसियाको हालसम्म २१८ शाखासहित निजी क्षेत्रको सबैभन्दा ठुलो शाखा सञ्जाल भएको तथा २१० एटिएम सहित मुलुककै सबै भन्दा ठुलो एटिएम सञ्जाल भएको भएको छ । १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५ हजार ५०० भन्दा बढि रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५ हजार ९५१ भन्दा बढि भौतिक सञ्जालमार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबै भन्दा ठुलो बैंक भएको आईसी एशियाले जनाएको छ ।

बैंकको सेयर कर्जा ५४ करोड घट्यो, यस्तो छ कारण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दिने सेयर कर्जा (मार्जिन नेचर लोन) लगानी घटेको छ । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले ७२ करोड रुपैयाँ मात्र सेयर कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा १ अर्ब २६ करोड ११ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो । गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी ५४ करोड रुपैयाँ घटेको छ । लगानीयोग्य पुँजीको संकट चुलिएपछि सेयर कर्जा घटेको छ । हालसम्म सेयर कर्जा ४१ अर्ब १९ करोड रुपैयाँ छ । समीक्षा अवधिमा १ करोड रुपैयाँ माथिको लगानी ०.९ प्रतिशत मात्र बढेको छ । ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर कर्जा ८.२, २५ देखि ५० लाखसम्म ३.९ र २५ लाखभन्दा मुनिको सेयर कर्जा ३.८ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ । यो वर्ष पनि बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले सेयर कर्जा लगानी घटाउँदा यसको असर पुँजी बजारमा परेको छ । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ । लगानीयोग्य पुँजी नुहुनु सेयर बजार घट्नुको मुल कारण भएको लगानीकर्ताको भनाई छ । बैंकसंग लगानीयोग्य पुँजी नभएपछि ब्याजदर बढ्यो र सेयरबाट आउने प्रतिफल घट्दा थप लगानी आउन सकेन यसको असर सेयर कारोबारमा परेको हो । बजारमा हकप्रद, थप निष्कासन (एफपीओ) र साधारण सेयर (आईपीओ) को आपूर्ति बढेको र महंगो ब्याजदर र लगानीयोग्य पुँजी नभएपछि ठुला लगानीकर्ता बजारमा नआएको लगानीकर्ताको भनाई छ । १८० दिनको र हालको कारोबार मूल्यमा जुन कम छ त्यही आधारमा बैंकले सेयर धितोराखी कर्जा दिन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

लालबाबुको अर्को आक्रामक निर्णय: अब सरकारी खर्चमा कर्मचारी विदेश भ्रमणमा जान नपाउने

काठमाडौं । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीहरुलाई विदेश भ्रमणमा अंकुस लगाएको छ । आइतबार बसेको मन्त्री स्तरको बैठकले ६ बुँदे निर्णय गर्दै कर्मचारीलाई आफु खुसी विदेश भ्रमणमा रोक लगाएको हो । अधिकृत लिलाराज काफ्लेद्धारा हस्ताक्षर गरिएको निर्णयको नम्बर ३ मा सरकारले खर्च बेहोर्ने गरी कुनैपनि स्थानीय तहका पदाधीकारी र कर्मचारी विदेश भ्रमणमा जान नपाउने उल्लेख गरिएको छ । यस्तै बुँदा नम्बर ६ मा नेपाल सरकारको नियर्णय बिना वैदेशिक भ्रमणमा जाने प्रवृतिलाई निरुत्साहन गर्न राहदानी विभागले भिसा स्वीकृत गर्नुपुर्व मन्त्रालयको सिफारिस अनिवार्य रुपमा लागू गर्ने उल्लेख गरिएको छ । यस्तो छ मन्त्रालयको निर्णयहरु

रेमिट्यान्स आप्रवाह ७०० अर्ब नजिक, शोधानान्तर घाटा १८ अर्ब ९३ करोड

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढेको छ । गत बैंशाखसम्म रेमिट्यान्स आप्रवाह ७ प्रतिशत वृद्धि भई ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाहमा भने ०.१ प्रतिशतले कमी आई ६ खर्ब ९२ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.३ प्रतिशत बढेको थियो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.९ प्रतिशतले घटेको थियो । अघिल्लो वर्षको १० महिनामा चालू खाता ७ अर्ब ५७ करोड रुपैयाँ घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई १ खर्ब ९१ अर्ब २ करोड पुगेको छ । समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खातामा उच्च घाटा भएको हो । अघिल्लो वर्षको १० महिनामा ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा १८ अर्ब ९३ करोड रुपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १५ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु. ११ अर्ब ६१ करोड रुपैयाँ थियो ।