
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दिने सेयर कर्जा (मार्जिन नेचर लोन) लगानी घटेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले ७२ करोड रुपैयाँ मात्र सेयर कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा १ अर्ब २६ करोड ११ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो ।
गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी ५४ करोड रुपैयाँ घटेको छ । लगानीयोग्य पुँजीको संकट चुलिएपछि सेयर कर्जा घटेको छ । हालसम्म सेयर कर्जा ४१ अर्ब १९ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा १ करोड रुपैयाँ माथिको लगानी ०.९ प्रतिशत मात्र बढेको छ । ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर कर्जा ८.२, २५ देखि ५० लाखसम्म ३.९ र २५ लाखभन्दा मुनिको सेयर कर्जा ३.८ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ ।
यो वर्ष पनि बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले सेयर कर्जा लगानी घटाउँदा यसको असर पुँजी बजारमा परेको छ । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ ।
लगानीयोग्य पुँजी नुहुनु सेयर बजार घट्नुको मुल कारण भएको लगानीकर्ताको भनाई छ । बैंकसंग लगानीयोग्य पुँजी नभएपछि ब्याजदर बढ्यो र सेयरबाट आउने प्रतिफल घट्दा थप लगानी आउन सकेन यसको असर सेयर कारोबारमा परेको हो ।
बजारमा हकप्रद, थप निष्कासन (एफपीओ) र साधारण सेयर (आईपीओ) को आपूर्ति बढेको र महंगो ब्याजदर र लगानीयोग्य पुँजी नभएपछि ठुला लगानीकर्ता बजारमा नआएको लगानीकर्ताको भनाई छ ।
१८० दिनको र हालको कारोबार मूल्यमा जुन कम छ त्यही आधारमा बैंकले सेयर धितोराखी कर्जा दिन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।