
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढेको छ । गत बैंशाखसम्म रेमिट्यान्स आप्रवाह ७ प्रतिशत वृद्धि भई ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो ।
खुद ट्रान्सफर आप्रवाहमा भने ०.१ प्रतिशतले कमी आई ६ खर्ब ९२ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.३ प्रतिशत बढेको थियो ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.९ प्रतिशतले घटेको थियो ।
अघिल्लो वर्षको १० महिनामा चालू खाता ७ अर्ब ५७ करोड रुपैयाँ घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई १ खर्ब ९१ अर्ब २ करोड पुगेको छ । समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खातामा उच्च घाटा भएको हो । अघिल्लो वर्षको १० महिनामा ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा १८ अर्ब ९३ करोड रुपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १५ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु. ११ अर्ब ६१ करोड रुपैयाँ थियो ।